काठमाडौं, १८ माघ ।
राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गरिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । न्युजकारखाना
सर्लाही, १८ माघ ।
सर्लाहीमा एक युवती मृत फेला परेकी छन् । बलरा नगरपालिका–४ जब्दीस्थित आफ्नै घरमा २१ वर्षीया श्रीमती पूजा देवी मृत फेला परेकी हुन् ।
मंगलबार राति शंकास्पद अवस्थामा पूजा मृत फेला परेपछि उनका पति छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार भएका छन् । जसले घटना शंकास्पद देखिएको हो । मृतक पूजा देवीको घाँटीमा डामसमेत देखिएको प्रहरीले जनाएको छ ।
मृतक पूजाका पति छोटेलाल र ससुरा जयनारायण फरार भए पनि सासु बनारसी देवीलाई नियन्त्रणमा लिइएर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । न्युजकारखाना
बारा, १८ माघ ।
दोस्राे चरणको मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको काम तोकिएको समयभित्रै पूरा नहुने देखिएको छ । डिसेम्बरमा सम्पन्न हुने भनिएको दोश्रो चरणको पाइपलाइनको काम मार्च मा समेत समपन्न नहुने देखिएको हो ।
डिसेम्बरभित्र पूर्वाधार निर्माणको काम सम्पन्न गरेर जनवरी २४ भित्र पाइपलाइनबाट पेट्रोल आयात गर्ने भनिएको सो परियोजनाको म्याद मार्चसम्म थपिए पनि अहिले सम्म ५० देखि ५५ प्रतिशत मात्रै काम भएपछि पाइपलाइनबाट समयमै पेट्रोल आयात हुनेमा आशङ्का उब्जिएको हो ।
भारतीय आयल निगमसँगको सम्झौता अनुसार पाइपलाइनको दोस्रो चरणको सम्पूर्ण काम लिखिता इन्फ्रास्ट्रक्चरले गरिरहेको छ । ‘डिजल, पेट्रोल र पानीको ट्यांकी निर्माणको काम धमाधम भइरहेको भए पनि ठेकेदार कम्पनीको चरम लापरबाहीको कारण मार्चसम्म पनि दोस्राे चरणको मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको काम समपन्न नहुने देखिएको छ ।
डिपोमा पेट्रोल भण्डारणका लागि चार हजार एक सय किलोलिटर क्षमताका दुई वटा भण्डारण ट्याङ्क तथा डिपो सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताका दुई वटा पानी टयाङ्की तथा दुई सय ५० किलोलिटर क्षमताका दुई वटा ‘ट्रान्समिक्स ट्याङ्क’ निर्माण भइरहेको छ ।

एउटै पाइपलाइनबाट क्रमशः डिजल, मट्टितेल र पेट्रोल एकपछि अर्को ल्याउँदा मिसिएको पेट्रोलियम पदार्थको छुट्टै भण्डारण गर्न ट्रान्समिक्स ट्याङ्क निर्माण गरिएको निगमका इञ्जिनियर प्रशान्त भट्टराईले जानकारी दिए ।
मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम तोकिएको समयमै समपन्न हुने सम्भावना कम भएको निगमले जनाएको छ । जनवरीमा संचालनमा आउनु पर्ने पाईपलाइन को काम अहिले ५० देखि ५५ प्रतिशत सम्म मात्र समपन्न भएकोले गर्दा मार्च सम्म पनि दोस्राे पाइपलाईनको काम सम्पन्न नहुने नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अम्लेखगञ्जका डिपो प्रमुख बिनितमनि उपाध्यायले बताए ।
निगमले मोतीहारी–अमलेखगन्ज पाइपलाइनमार्फत २०७६ भदौदेखि डिजेल आयात गरिरहेको छ । मोतीहारी–अमलेखगन्ज पाइपलाइन परियोजना डिजेल र पेट्रोल दुवै ल्याउने भए पनि पेट्रोल भण्डार गर्न ट्यांकी नहुँदा डिजेल मात्रै आयात भइरहको थियो । दोस्रो चरणको परियोजनाका लागि निगम र आइओसीले संयुक्तरूपमा लगानी गर्नेगरी सम्झौता भएको थियो ।

जसअन्तर्गत दुई वटा पेट्रोल ट्याङ्कमध्ये निगम र आइओसीले एक÷एक वटा ट्याङ्कको लागत व्यहोर्ने छन् । मिश्रित इन्धन राख्नका लागि २ वटा ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि ‘फायरवाटर’ ट्याङ्क भारतीय पक्षबाट निर्माण हुनेछ । आइओसीले करिब ७५ करोड भारतीय रुपैयाँ खर्च गर्नेछ ।
निगमले भने एउटा पेट्रोल ट्याङ्क, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टमलगायत पूर्वधार निर्माण गर्नेछ । निगमको एक अर्ब ५४ करोड भारतीय रुपैयाँ बराबरको खर्च हुने अनुमान छ । सिभिल संरचनाअन्तर्गत विभिन्न उपकरण जडानका लागि भवन तथा पेट्रोलियम पदार्थको शुद्धता परीक्षणका लागि अत्याधुनिक प्रयोगशाला पनि निर्माण भइरहेको छ । परियोजनाको हालसम्मको प्रगति करिब ५५ प्रतिशत रहेको छ ।
पाइपलाइन नहुँदा डिजल लिनका लागि भारतको बरौनीसम्म ट्याङ्कर पठाउनुपथ्र्यो । ट्याङ्करबाट ढुवानी गर्दा सीमा क्षेत्रमा हुने अवरोध, सडक जाम, बन्द, हड्ताल लगायतले समस्या पार्दे आएको थियो । ‘अब ती समस्या सधैँका लागि समाधान भएका छन्, पाइपलाइन निर्माण सम्पन्न भएपछि सहजरुपमा आफ्नै देशमा निगमको डिपोमा पेट्रोलिमय पदार्थ आयात भइरहेको छ’, डिपो प्रमुख बिनितमनि उपाध्यायले भन्नुभयो । पाइपलाइनबाट आयात भएको डिजल अहिले लुम्बिनीको भैरहवा, बाग्मतीको थानकोट, गण्डकीको पोखरा, कोशीको विराटनगर र मधेस प्रदेशको जनकपुरमा आपूर्ति भइरहेको छ । देशभरको मागको करिब ७० प्रतिशत डिजल अमलेखगञ्ज डिपोले आपूर्ति गरिरहेको डिपो प्रमुख उपाध्यायले बताए ।
विसं २०७६ भदौ २४ गते परियोजनाको औपचारिकरुपमा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।न्युजकारखाना
काठमाडौँ, १८ माघ :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण मधेश प्रदेशलाई ज्ञान–विज्ञानको केन्द्र भएको बताएका छन् ।
राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज संबोधन गर्दै प्रधानमन्त्रीले राजा जनकले ज्ञानी ऋषिमुनीहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेकोसमेत उल्लेख गरेेका छन् ।
प्रधानमन्त्री प्रचण्डले भने “सङ्घीय संरचनाअन्तर्गत मधेश प्रदेशमा रहेको सम्पूर्ण मधेश प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीति छ ।” ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यले राजर्षिजनकको नाममा विश्वविद्यालय खोलिनु प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको अगाध आस्था भएको प्रधानमन्त्रीले उल्लेख गरेेका छन् ।
विश्वविद्यालयको आवश्यकता र औचित्यबोध गर्दै नीतिगत र प्राज्ञिक मार्गदर्शन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने, “वर्तमान नेतृत्वले विश्वविद्यालयको गरिमा र प्राज्ञिक छवि निर्माणका निम्ति अनवरत पहल लिएको छ । यहाँहरूको अथक प्रयास, अटल प्रतिवद्धता, प्राज्ञिक कर्मका निम्ति आभार व्यक्त गर्दछु ।´न्युजकारखाना
काठमाडौँ, १८ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन्।
राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज संबोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपार्इंहरूको साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताएका हुन् ।
राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्वीर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा पद्धतिलाई यगानुकूल परिस्करण गर्दै लैजानुपर्नेमा जोड दिए ।

राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै उहाँले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्ने उनको भनाई छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको वर्तमान परिप्रेक्ष्यमा विश्वविद्यालयहरूको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा गुणात्मक सुधार गर्नुपर्ने अवस्था आएको उनको भनाई छ । उनले भने, “नवप्रवर्तनमा आधारित प्रतिस्पर्धी शिक्षामा जोड दिनुपर्छ मेरो अपेक्षा त्यही छ ।”
विश्वविद्यालय स्थापनाको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि विषयहरूमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकोमा आभार प्रकट गर्दै अपेक्षित सफलताका निम्ति क्रियाशील हुन प्रधानमन्त्रीले सुझावसमेत दिएका छन् ।
विश्वविद्यालयको जग्गा र भवन पूर्वाधारको अभावमा झेल्नुपरेका कठिनाइहरू अर्थतन्त्रमा आउने सुधारसँगै क्रमशः सम्बोधन गरिने विश्वास पनि दिलाउँदै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका अन्य प्राज्ञिक कार्यक्रमहरू व्यवस्थित तुल्याउन सरकारको तर्फबाट गर्नुपर्ने नीतिगत र व्यवस्थापकीय सहयोगमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।न्युजकारखाना
बारा, १८ माघ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका स्थित अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको प्रादेशिक कार्यालयको लापरवाहीका कारण बुधबार एक विद्यार्थीको ज्यान गएको छ ।
विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडले छेडिएर जीतपुसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का ललित गोलेको ११ वर्षीय छोरा लक्की गोलेको घटनास्थलमै ज्यान गएको हो ।
घरबाट विद्यालयका लागि निस्किएका गोले निगमको कार्यालयअगाडि पोलमा भ¥याङ बनाउन राखिएको रडमा ठोक्किएर छेडिएका थिए । रडले गोलेको टाउको छेडेको र घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
गोले जीतपुरसिमरा वडा नम्बर १ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए । उनी विद्यालय पोशाक लगाएर आयल निगमअगाडि रहेको पार्किङस्थलतर्फ जादै थिए । सधै झैं पार्किङ स्थलतर्फ हिडेका गोलेको सडक पेटीमा राखिएको पोलको रडमा छेडिएर मृत्यु भएको हो ।
अमलेखगञ्जका स्थानीयले आयल निगमको चरम लापरबाहीका कारण बालकले ज्यान गुमाउनु परेको भन्दै आक्रोश पोखेका छन् ।न्युजकारखाना
काठमाडौ, १८ माघ ।
नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएको भन्दै धमाधम निक्षेप संकलन गर्न लगातार आज तेस्रो दिन पनि २० अर्ब तान्ने भएको छ ।
अघिल्लो दुईदिन अर्थात माघ १६ गते २० अर्ब र माघ १७ गते ३० अर्ब गरि बजारबाट ५० अर्ब तानेको केन्द्रीय बैंकले आज फेरी २० अर्ब रुपैयाँ तान्न लागेको हो ।
बैंकले आज २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो ।
यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् २० अर्ब रुपैयाँ तान्ने लागेको राष्ट्र बैंकले जनाएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति फागुन ३ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।
बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । न्युजकारखाना
रौतहट १८ माघ।
रौतहट स्थित प्रहरी गस्ती टोलीले एकलाख रुपैया भन्दा बढी मूल्य बराबरको अबैध सालको गोलिया काठ बरामद गरेको छ।
राष्ट्रीय बन बाट अवैधरुपमा कटानी गरेर कटहरीया नगरपालिका १ भसेड्वा स्थित बकेया खोलाको नजिकै स्थानिय सोनेलाल यादवको गोठमा लुकाई छिपाइ राखेको ३ थान सालको गोलिया काठ बुधवार साँझ प्रहरिले बरामद गरेको हो।
गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट छेदिचौकका प्रमुख असई विनय कुमार झाको कमाण्डमा गएको टोलीले उक्त गोठ तथा गोठ छेउमा परालको कुन्यु मुनि लुकाई छिपाइ राखेको १ लाख ८ हजार बराबरको काठ बरामद गरी आवश्यक कारवाहीको लागि सेक्टर वन कार्यालय जंगलासहियामा बुझाएको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।न्युजकारखाना
काठमाडौ, १८ माघ ।
नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।
निगमले बिहीबार (माघ १८ गते) राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।
पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँका दरले भाउ बढाएको हो । पहिलो वर्गलाई पेट्रोलको भाउ प्रतिलिटर १६७.५० रुपैयाँ, दोस्रोलाई १६९ पैसा र तेस्रो वर्गलाई १७० रुपैयाँ पर्न जानेछ ।
त्यसैगरी, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर पहिलो वर्गलाई १५५.५० रुपैयाँ, दोस्रोलाई १५७ रुपैयाँ र तेस्रोलाई १५८ रुपैयाँ पर्न जान्छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने १५ रुपैयाँले बढेको १९१० रुपैयाँ कायम भएको छ ।न्युजकारखाना
काठमाडौं, १८ माघ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै, लुम्बिनी र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थानहरू तथा मधेश प्रदेशका साथै कोशी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ।
दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगयत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक दूई स्थानमा फाटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राती भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक दूई स्थानमा फाटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक दूई स्थानमा फाटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
साथै, तराईका केही स्थानहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।न्युजकारखाना