काठमाडौं, २८ माघ ।
कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दामा पेसी आइतबार (आज)का लागि तोकिएको छ । आइतबारदेखि निरन्तर सुनुवाइ हुने बताइएको छ ।
ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरलगायतका आरोपमा आलमसहित ११ जनाविरुद्ध दायर रिटको सुनुवाइ हुन थाालेको हो ।
यसअघि गत २२ कात्तिकमा न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । त्यसपछि वादी तथा प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीले बहस नोट बुझाइसकेका छन् ।
१८ कात्तिक २०७६ रौतहट जिल्ला अदालतमा उनीहरुसवरुद्ध मुद्दा दर्ता भएको थियो ।
पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते रौतहट गाविसको राजपुर फरहदवा वडा नम्बर ४ मा रहेको प्रतिवादी आलमको काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको र सो क्रममा घाइते भएकालाई आफ्नै इँटा भट्टाको चिम्नीमा जलाएर मारेको आरोप आलममाथि लगाइएको छ । तर, आलमले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । न्युज कारखाना
काठमाडौं, २९ माघ ।
हाल नेपालमा पश्चिमी वायुको आन्शिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ। न्युज कारखाना



सिरहा, २८ माघ ।
सिरहा नगरपालिका-७ स्थितबाट कटुवा पेस्तोल १ थानसहित औरही गाउँपालिका-४ कमलपुर घर भएका २० वर्षीय सरोज कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा डेरा गरी बस्ने औरही गाउँपालिका-३ का २२ वर्षीय संजित कुमार यादवसमेत सँग विवाद भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले विवादमा संलग्न सरोजलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । न्युज कारखाना
चितवन, २८ माघ ।
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा आएका छन् । पूर्व राजा शाह ११ दिन बस्ने गरी पूर्वरानी कोमल लक्ष्मी शाह लगायत परिवारका सदस्यसहित चितवन आएका हुन् ।
चितवनको विभिन्न स्थान घुम्ने गरी पूर्व राजपरिवार चितवन आएको हो । पूर्व राजा शाहलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।
पूर्व राजालाई विमानस्थल बाहिर निकाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । पूर्व राजा शाह आफैँले गाडी चलाएर विमानस्थलबाट बाहिरिएका हुन् । उनी आज पटिहानीको होटल सोल्टीमा बस्ने बताइएको छ ।न्युज कारखाना
काठमाडौं, २८ माघ ।
नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले निकालेको पुस्तक विरोधका बीच सार्वजनिक गरिएको छ ।

पुस्तकमा महासंघ संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्नेमा कृष्णप्रसाद भट्टराईको नाम उल्लेख गरिएको भन्दै आपत्ति जनाउँदै आदिवासी जनजाति पत्रकार संघ (फोनिज)ले विरोध गरेको छ ।

नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममै फोनिजले विरोध गरे पनि पुस्तक भने सार्वजनिक गरिएको छ ।

सार्वजनिक पुस्तक नै च्यातेर फोनिजले आपत्ति जनाउँदै विरोध गरेको छ । न्युज कारखाना
काठमाडाैं, २८ माघ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक राष्ट्रिय सभागृहमा जारी छ।

बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको रिपोर्ट चलिरहेको छ। बैठकमा प्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षहरूले रिपोर्ट राखिरहेका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरू, केन्द्रीय आयोगका सदस्य, विभागका पदाधिकारी र जेष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरू सहभागी छन् ।न्युज कारखाना








काठमाडौं, २८ माघ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच झगडाको विषयमा प्रतिवेदनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
आइतबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले सो घटनाबारे छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदनअनुसार दोषीलाई कारबाही गरिने जानकारी दिएका हुन् ।
विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको झगडा लज्जास्पद भएको बताउँदै उनले दोषीलाई कारबाही गरिने दोहोर्याएका हुन् ।
घटना भएलगत्तै अपराध अनुसन्धानले छानबिन गरेको पछि काठमाडौं परिसरबाट अभियोजनको प्रक्रिया अघि बढेको जानकारी दिँदै बैठकमा गृहमन्त्री श्रेष्ठले भने, ‘घटना दुःखद हो, प्रतिवेदनअनुसार कारबाही अघि बढाउँछौँ ।’
घटना भएलगत्तै छानबिन गर्न समिति गठन गरिएको उनको भनाइ छ ।न्युज कारखाना
काठमाडौं, २८ माघ ।
बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका-६ का ६७ वर्षीय रामभक्त थापा रहेका छन्। उनलाई शुक्रबार कोटेश्वरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारी उनले बैंकिङ कसुर गरेको आरोप थियो।
उक्त मुद्दामा उनलाई ९ करोड ७ लाख ६ हजार २७८ रुपैयाँ जरिवाना र तीन वर्ष कैद फैसला भएको थियो।
उच्च अदालत पाटनले २०७१ साल वैशाख २९ गते फैसला गर्दै थापालाई जरिवाना र कैद सजाय तोकेको थियो।
त्यसयता थापा फरार रहेका थिए। फरार प्रतिवादी खोजीको सिलसिलामा ब्युरोको टोलीले थापालाई पक्राउ गरेको अधिकारीले बताए।
थापाविरूद्ध नेपाल राष्ट्र बैंकले मुद्दा दायर गरेको थियो। थापा सञ्चालक रहेको काभ्रे ब्रोइलर सप्लायर्सले फर्जी कागजात तयार गरी ८ करोड ५० लाख रुपैयाँ कर्जा लिएको थियो। कर्जा दुरुपयोग भएपछि राष्ट्र बैंकले उनीविरूद्ध मुद्दा दायर गरेको थियो। थापालाई प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।न्युज कारखाना
काठमाडौं, २८ माघ ।
प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशहरूमा कार्यरत श्रमिक नेपालीलाई आकस्मिक रूपमा आइपर्ने समस्या सम्बोधन गर्न एक करोड नेपाली रुपैँयाको “प्रवासी नेपाली मञ्च श्रमिक राहत कोष” खडा गर्ने निर्णय गरेको छ ।
मञ्चको पन्ध्रौँ बैठकले उक्त कोष सञ्चालनको लागि एक महिनाभित्र आवश्यक कार्यविधि निर्माण गर्न लागि कमलमणि गुरागाईँ (कतार) को संयोजकत्वमा भक्त गुरुङ (हङकङ), बलराम गिरी (साउदी अरेबिया), शालिग्राम पन्त (बहराइन), मोहन रायमाझी (जापान) र दयाराम कुमाल (मलेसिया) सदस्य रहेको समिति गठन गरेको छ ।
मञ्चका अध्यक्ष सञ्जय थापाको अध्यक्षता तथा नेकपा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा फरबरीको १० र ११ गते मलेसियाको राजधानी कोललमपुरमा भएको १५ औँ बैठकले सो निर्णय गरेको हो । बैठकले प्रवासी नेपालीलाई समस्या पर्दा चौबिसै घण्टा परामर्श सेवा दिने उद्देश्यले नेपालमा हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ । उक्त डेस्क सञ्चालनको लागि शिशिर नेपाल (अष्ट्रेलिया) को नेतृत्वमा प्रत्येक महादेशबाट एक/एक जना रहने गरी सञ्चालन समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले प्रवासी नेपाली मञ्च मलेसियाले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहँदा औद्योगिक दुर्घटना लगायत विविध कारणले मृत्युवरण गर्नुभएका श्रमिक नेपालीको मृत शरीरलाई निःशुल्क हवाई टिकटको व्यवस्था गरी नेपाल पठाउने, विविध कारणले अलपत्र परेका श्रमिक नेपालीहरूलाई निःशुल्क हवाई टिकट उपलब्ध गराई नेपाल उद्धार गरिदिने, उपचार खर्चको अभावले पीडामा परेका श्रमिक नेपालीहरूलाई औषधोपचारको व्यवस्था गरिदिने, श्रमसम्बन्धी विविध कानुनी अप्ठ्यारोमा पर्नुभएका श्रमिक नेपालीहरूलाई निःशुल्क कानुनी सेवाको व्यवस्था गरिदिने लगायतका मानवीय कल्याणकारी सेवा प्रदान गर्दै आएकोमा प्रवासी नेपाली मञ्च मलेसियालाई धन्यवाद दिएको छ ।
बैठकले नेपालको संविधान २०७२ अनुसार गैरआवासीय नेपाली नागरिकता सम्बन्धी ऐन जारी भई नागरिकता वितरणको कामहरू भइरहेको सन्दर्भमा नेपाल सरकारले उक्त नागरिकता वितरणको लागि आवश्यक नियम, कानुन र कार्यविधिहरू बनाउन नसक्दा अस्पष्टता र अन्यौलता सृजना भई प्रवासी नेपालीले पीडा भोगिरहेको, गैरआवासीय नेपाली नागरिकतावाहकले नेपाल जाँदा भिसा लिनुपर्ने स्थिति बनेको, र गैरआवासीय नेपाली नागरिकतामा गरिएको नागरिक हकको सिमाबन्दिले नेपालीको जन्मसिद्ध अधिकारलाई नै कुण्ठित गरेको हुँदा नेपाली नागरिकताको निरन्तरता हुने गरी गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेको छ ।
त्यस्तै प्रवासमा बसेका बालिग मताधिकार प्राप्त नेपालीहरूका लागि नेपालको प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहका प्रत्यक्ष र समानुपातिक निर्वाचनमा मतदान गर्न नेपाली पासपोर्ट, नागरिकता वा परिचयपत्रको आधारमा प्रवासबाटै कूटनीतिक नियोग मार्फत वा इन्टरनेटको विद्युतीय माध्यमबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने, मतदाता नामावलीलाई अद्यावधिक गर्ने, प्रमाणित मतदाता नामावलीको आधारमा जुन देशमा बसोबास गरेको हो सोही देशको नेपाली कूटनीतिक नियोगमा प्रत्यक्ष वा विद्युतीय मतदान यन्त्रको माध्यमबाट मतदान गर्न पाउने गरी व्यवस्था गर्न बैठकले नेपाल सरकारसँग माग गरेको छ ।
बैठकले युद्धग्रस्त युक्रेन र रुसको सेनामा विभिन्न कारणले भर्ना भई जीवन जोखिममा पर्न गएका नेपाली युवाहरूको जीवन रक्षाका लागि तत्काल आवश्यक व्यवस्था गर्न र नेपालमा उद्धार गर्न नेपाल सरकारसँग माग गरेको छ ।
मध्यपूर्वमा इजरायल–हमासबीच चलिरहेको नरसंहारकारी युद्धका कारण मृत्युवरमा पर्नुभएका नेपाली युवाहरूका पीडित परिवारलाई आर्थिक राहत स्वरूप जनही १ लाख ४० हजार र चार जना घाइतेलाई प्रतिव्यक्ति ३० हजार नेपाली रुपैँयाका दरले दरले मञ्चले राहत प्रदान गरेको कुरालाई स्मरण गर्दै सोही युद्धमा परी हालसम्म बेपत्ता रहनुभएका विपिन जोशीको अविलम्ब खोजी गरी तत्काल उद्धार गर्न नेपाल सरकार समक्ष बैठकले माग गरेको छ ।
गैरआवासीय नेपाली संघको प्रचलित विधान अनुसार गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्को निर्वाचन गत १९ अक्टोबर २०२३ मा सम्पन्न भई नयाँ कार्यसमिति निर्वाचित भएर विधिपूर्वक काम गरिरहेकोमा, नेपाल सरकारले उक्त कार्यसमितिलाई नेपालको परराष्ट्र मन्त्रालयमा अद्यावधिक गरिनुपर्नेमा कानुनी व्यवस्था बमोजिम नवीकरण नगरी विभिन्न बहानाबाजीमा आलटाल गरिरहेको जनाउँदै बैठकले बिना कुनै पूर्वाग्रह अविलम्ब सो समितिलाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा नवीकरण गर्न बैठकले माग गरेको छ ।
नेपालको वर्तमान सरकार महँगी, भ्रष्टाचार, अनियमितता, तस्करी, हत्याहिंसा र कुशासनमा चुर्लुम्म डुबेकोले नेपालको अर्थतन्त्र दुरावस्थामा पुगेको बैठकले निष्कर्ष निकालेको छ । जसको परिणामस्वरुप नेपाली युवा शक्ति बिदेसिन बाध्य भएको बैठकको निष्कर्ष छ ।
सरकारले नेपाललाई विदेशी शक्तिहरूको क्रिडास्थल बनाई नेपालको सार्वभौमिकताको रक्षामा समेत खलल पुग्ने गरी गम्भीर परिस्थिति खडा गरेको बैठकको निचोड छ । नेपालको विकास निर्माणका कामहरूलाई अलपत्र पारी देश विकासको गतिलाई ठप्प बनाइएको परिस्थितिमा समृद्ध नेपाल, सुखी नेपालीको एउटै मात्र सङ्कल्प बोकेका नेपाली जनताको भावनालाई कदर गर्दै सोही अनुरूप काम गर्न नेपाल सरकार समक्ष बैठकले माग गरेको प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।न्युज कारखाना