सञ्जय मिश्रा ,रौतहट १२ फागुन।
रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिका स्थित जग्गाको बिषय लिएर भएको दुईपक्षीय झडपमा एकजनाको मृत्यु भएको छ भने एकजना पक्राउ परेका छन्।
दुर्गा भगवती २ भलोहिया स्थित भएको दुईपक्षीय झडपमा स्थानिय बर्ष ४० का जयप्रकाश दासको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्गा भगवती २ भलोहिया हाल पिपरा सिमानामा बस्दै गरेका ४० बर्षिय जयप्रकाश दास र सोही स्थानका ५० बर्षिय चन्देश्वर महतो बीच शुक्रवार अपरान्ह झडप हुँदा महतोले दासलाई धकेल्दा उनी भुइँमा लडेका थिए । लडेर अचेत भएका जयप्रकाश गाउँमा सामान्य उपचार पछि थप उपचारका लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
हत्यामा संलग्न एकजना मानिस पक्राउ गरिएको तथा घटना बारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनास्थल सदरमुकाम गौर देखि झण्डै १५ किलोमीटर उत्तर पूर्वमा पर्छ।
रौतहट,११ गते फागुन ।
बिजयपुर–रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा दादुरा–रुबेला खोप अभियान फागुन २० गतेदेखि सुरु हुने भएको छ ।

आज फतुवा बिजयपुर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको पालिका स्तरीय खोप समन्वय समिति अभिमूखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो ।
बिजयपुर स्थित शहिद मनरुप स्मृती भवनमा ११ वटै वडाका वडाध्यक्षहरु,बिधालयका प्रधानाध्यापकहरु,स्वास्थ्य संस्थाका इन्चार्ज ,सञ्चारकर्मी,यूवा कल्ब संगको अभिमूखीकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रौतहटका जनस्वास्थ्य अधिकृत हरेन्द्र गुुप्ताले दादुरा–रुबेला खोप अभियान सुरु गर्न लागिएको जानकारी गराए ।
फतुवा बिजयपुरका स्वास्थ्य संयोजक प्रमोद गुप्ताका अनुसार दोस्रो चरण अन्तर्गत फागुन २० गतेदेखि सुरु हुने उक्त अभियान अन्तर्गत १४ हजार ५ सय ८१ जना बालिबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ । सो अभियान नगर भरि फागुन २४ गते सम्म चल्ने छ ।

उनका अनुसार, दादुरा–रुबेला खोप अभियान अन्तर्गत नगरका स्वास्थ्य संस्था, शिक्षण संस्था लगायतका स्थानमा गरी ५८ खोप केन्द्र स्थापना गरिने छ । सो अभियान सफल पार्न २२ जना कर्मचारी परिचालन गरिने बताए । शुक्रबार भएको अभिमूखीकरण कार्यक्रममा गुुप्ताले यो अभियानलाई सफल पार्न सबैजनाको भूमीका महत्वपूर्ण हुने भन्दै सहयोगका लागि आग्रह गरे ।

सो अवसरमा सबै वडाका वडाध्यक्ष,प्रधानाध्यापकहरु, स्वास्थ्य शाखा
का कर्मचारी,सञ्चारकर्मी लगायतका व्यक्तीहरुको पनि सहभागीता रहेको थियो ।
रौतहट,११ गते फागुुन ।
कटहरिया–सामाजिक उक्तरदायित्व अन्तर्गत डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड कटहरिया शाखाको वित्तीय साक्षरता एवम् केन्द्र प्रमुखको गोष्ठी बिहिवार सम्पन्न भएको छ । कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित रहेको विवाह मण्डप भवनमा एक दिने गोष्ठी आयोजन गरिएको हो ।

कटहरिया नगरपालिकाकी उपप्रमुख रिता देवी यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कटहरिया शाखा अन्र्तगतका केन्द्र प्रमुखहरुलाई वित्तीय साक्षरता तथा बैंकिङ कारोबारमा हुने अपराध(सम्पत्ती सुद्धिकरण),कर्जा तथा बचतको महक्तव ,कर्जाको सही उपयोग ,लिएको कर्जा कति लिने र कसरी तिर्ने,संस्थाले उपलब्ध गरेका कर्जा निति ,नेपाल राष्ट्र बैंकको पहिलो श्रेणीको संस्था निति र व्यवसायीक बन्नको लागि आवश्यक पर्ने विभिन्न तालिमहरु लगायतका विषयहरुको बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको डिप्रोक्स लघुविक्त कटहरिया शाखाले जनाएको हो ।

संस्थाको उदेश्यको बारेमा सहभागीहरुलाई भिडियो मार्फत समेत जानकारी गराइएको थियो । सो कार्यक्रममा कटहरिया शाखा अन्तर्गत ८ वटा पालिकाबाट ७५ जना केन्द्र प्रमुख महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले यस्ता कार्यक्रमले समाजमा लघुविक्त विक्तिय संस्था विरुद्ध फैलाइएको अफवाह हटाउन मदत पुुग्ने विश्वास व्यक्त गरेका थिए । अन्य वक्ताहरुले लघुविक्त संस्थाले विना धिता ऋण दिने भएकोले नेपालमा गरिबी उन्मूलनमा लघुवितको ठूूलो भूमिका रहेको उल्लेख गरेका थिए ।

विना धितो ७ लाख सम्म ऋण उपलब्ध गराउने भएकोले लघुविक्त संस्था सबैको हकहितका लागि फाइदाजनक रहेको धारण राखेका थिए । कार्यक्रममा सहभागि बौधीमाइ नगरपालिका वडा नम्बर २ इनरवा केन्द्र नम्बर १४५ कि प्रमुख रेखा कुमारी पटेल गाउँघरमा पुुरुष माथि निर्भर रहेका पिछडीएका महिलाहरुको हकमा लघुविक्त संस्था वरदानको रुपमा स्थापित भएको बताइन्् ।

उनले भनिन्,‘हामी लघुविक्त संस्था बाट जुुन प्रायोजनको लागि ऋण उठाएका छौं । त्यसमा खर्च नगरी अन्य शिर्षकमा खर्च गरेको कारण अहिले ऋण तिर्न नसक्ने अवस्था उत्पन्न भएको बताइन् । अहिले जुन ऋण काढेर ऋण सधाउने मानसिकता बसेको छ ।
त्यसलाइ परिवर्तन गर्नुपर्दछ उनले भनिन् । लघुविक्त बैंकले सानो सानो व्यापार गराएर आफनो खुुट्टा उभिन सिकाएको बताइन् । लघुुविक्त केवल कर्जाको लागि नभइ बचत गरेर आफनो भविष्य सुरक्षित राख्ने भरपर्दो माध्यम रहेको बताइन् । यता कार्यक्रममा बैंकिङ अपराध तथा साक्षरता सम्बन्धि जानकारी मधेश प्रदेश प्रमुख देशबन्धु चौधरीले गराएका थिए । कार्यक्रममा कटहरिया शाखा प्रबन्धक बैजु दासले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

वि.स २०७० साल जेठ २१ गते कटहरिया बजारमा स्थापना भएको यस शाखामा २ हजार ८ सय ९५ सक्रिय सदस्य रहेका छन् । १७ सय ५५ जना ऋणीमा संस्थाले ४२ करोड भन्दा बढी लगानी गरेको जनाइएको हो । सो अवसरमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका मधेश प्रदेश प्रमुख देशबन्धुु चौधरी सहित अनुुगमन अधिकृत सूूर्य विष्ट, लगायत केन्द्रका प्रमुखहरु,लघुविक्तका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
फागुन, ११ वीरगन्ज ।
वीरगन्ज महानगरपालिकामा दादुरा–रुबेला खोप अभियान फागुन १३ गतेदेखि सुरु हुने भएको छ। शुक्रबार वीरगन्ज महानगरपालिाकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो।
महानगरको सभाकक्षमा महानगरका ३२ वटै वडाका वडाध्यक्षहरुसंगको अभिमूखीकरण कार्यक्रममा महानगरका स्वास्थ्य महाशाखाका प्रमुख अनिल यादवले वीरगन्ज महानगरमा दादुरा–रुबेला खोप अभियान सुरु गर्न लागिएको जानकारी गराए। यादवका अनुसार, महानगरमा फागुन १३ गतेदेखि सुरु हुने उक्त अभियानअन्तर्गत पहिलोदिन वीरगन्ज महानगरपालिका वडा नम्बर ३ वीर्तास्थित त्रिजुद्ध माविको परिसरमा ९ महिनादेखि १५ वर्षमुनीका बालबालिकालाई खोप लगाएर अभियानको सुभारम्भ गरिनेछ।
त्यसपछि दोश्रो चरणमा फागुन २७ देखि चैत ५ गतेसम्म महानगरका बाँकी ३१ वटा वडामा दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने यादवले जानकारी गराए।
यो अभियानमा महानगरका ७४ हजार चार सय जना बालिबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको महाशाखाका सह–संयोजक अनिशकान्त कुशवाहाले जानकारी गराए। उनका अनुसार, दादुरा–रुबेला खोप अभियानअन्तर्गत महानगरका स्वास्थ्य संस्था, शिक्षण संस्था लगायतका स्थानमा गरी दुई सय ९८ खोप केन्द्र स्थापना गरिनेछ। एउटा खोप केन्द्रमा न्युनतम दुई सय ५० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जानकारी पनि उनले गराए।
अभियानका क्रममा दादुरा–रुबेलाको खोप लगाउने क्रममा हुनसक्ने सम्भावित अवाञ्छित घटना व्यवस्थापनका लागि नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंह, डाक्टर शैलेश ठाकुर लगायत तीन जना चिकित्सकलाई जिम्मेवारी पनि दिइएको उनले बताए।
शुक्रबार वडाध्यक्षहरूसँगको अभिमूखीकरण कार्यक्रममा कुशवाहाले यो अभियानलाई सफल पार्न वडाध्यक्षहरुको भूमीका महत्वपूर्ण हुने भन्दै सहयोगका लागि आग्रह गरे। कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत फागुन १३ गते वीरगन्जमहानगरसंगै पर्सा जिल्लाभरनै दादुरा–रुबेला खोप अभियान सुरु हुने जानकारी गराए। पहिलोचरणमा फागुन १३ देखि फागुन २१ गतेसम्म वीरगन्ज महानगरको वडा नम्बर ३ तथा जिल्लाको पोखररिया नगरपालिका, पर्सागढी नगरपालिका, जीराभवानी, सखुवाप्रसौनी, जगरनाथपुर र पटेर्वासुगौली गाँउपालिकामा यो खोप अभियान सञ्चालन गरिने उनले बताए।
दोश्रो चरणमा भने फागुन २७ गतेदेखि चैत ५ गतेसम्म वीरगन्ज महानगरका बाँकी ३१ वटा वडा, बहुदरमाई नगरपालिका, पकाहामैनपुर, ठोरी, छिपहरमाई, विन्दवासिनी, धोबिनी र कालिकामाई गाँउपालिकामा दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने जानकारी ठाकुरले गराए।
ठाकुरका अनुसार, दुई चरणको अभियानमा पर्सा जिल्लाभरिमा दुई लाख एक हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ। वडा नम्बर २२ का वडाध्यक्ष द्वारिका महत्तोको अध्यक्षतामा भएको कार्यक्रममा महानगरका ३२ वटै वडाका वडाध्यक्ष, महानगरको स्वास्थ्य महाशाखाका कर्मचारी, सञ्चारकर्मी लगायतको पनि सहभागीता थियो।
सुरुचि भण्डारी/,बारा, ११ फागुन ।
तामागढी–सिम्रौनगढ सडक योजना निर्माण पूरा भएको तीन वर्ष वित्दा पनि सडक छेउछाउबाट अधिग्रहण भएको जग्गावापत जग्गाधनीलाई सरकारले अझै मुआब्जा नदिएको भन्दै प्रभावित स्थानीयले गरेको आन्दोलन शुक्रबार पनि जारी छ।

सरकारले निर्धारण गरेको मुआब्जा रकम सरकारलाई पटक-पटक अनुरोध गर्दासमेत रकम पाउन नसकेका उनीहरूको कुनै सुनुवाइ नभएको भन्दै तामागढी–सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराको अगुवाइमा बिहीबारबाट आन्दोलन र रिले अनशन सुरु गरीएको थियो।
सरकारको ध्यानाकर्षण गराउँदै चरणवद्धरुपमा संघर्ष गर्दै आएको तामागढी–सिम्रौनगढ संघर्ष समितिले बिहीबार तामागढीमा सडक अवरुद्ध पारेका हुन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत तामागढीबाट हुलाकी सडक प्रवेश गर्ने स्थानमा मुआब्जा नपाएका स्थानीयले यातायातमा अवरोध पुर्याएका हुन्। सयौंको संख्यामा रहेका स्थानीय हुलाकी सडक हुँदै मुख्य राजमार्गमा प्रवेश गर्न सक्ने देखेपछि तामागढी क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले आन्दोलित स्थानीयलाई पूर्वपश्चिम राजमार्ग प्रवेश गर्न रोक लगाएका थिए।
सडक अवरुद्ध पारेका उनीहरूले माग पुरा नभएसम्म अनिश्चित कालिन रिले अनसन समेत सुरु गरेका छन्। करिव ६५ देखि ७० विघा जग्गाधनीले सरकारबाट पाउनुपर्ने २ अर्ब ९७ करोड ७८ लाख ४० हजार ६ सय २५ रुपैयाँ बराबरको मुअब्जा रकम नपाएका हुन्।

सबै मन्त्रालय, प्रशासन गुहार्दा पनि कसैले सुनुवाई नगरेको तामागढी–सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराका अध्यक्ष सिम्रौनगढ नगरपालिका ६ का अनवर अन्सारीले बताए। ‘योजना सम्पन्न भएको तिन वर्ष पुग्न लागिसक्दा पनि मुआब्जा वापतको रकम नपाएपछि हामीले बाध्य भएर आन्दोलन गर्नु परेको हो, सरकारले नै निर्धारण गरेको मुआब्जा वापतको रकम माग गर्न पटकपटक विभिन्न मन्त्रालयदेखि प्रधानमन्त्रीलाई समेत जानकारी र ज्ञापनपत्र बुझएका थियौं। तर, हामी गरिबको समस्यामा सरकारले कुनै चासो नदिएका कारण हामी आन्दोलीत भएका हौँ,’ अध्यक्ष अन्सारीले भने। मन्त्रालय जाँदा आउँदा नै तीन लाख खर्च भइसकेको छ। तर, हाम्रो माग तफ कसैको ध्यान भएको नपाएपछि दवावमूलक आन्दोलनसँगै रिले अनसन सुरु गरेको बताए।
२० लाख प्रतिकठ्ठा मुआब्जा दिन मुआब्जा मूल्यांकन निर्धारण समितिले दर कायम पनि गरेको थियो। मुआब्जा पाउने जग्गाधनीले सम्बद्ध निकाय धाउँदाधाउँदै तीन वर्ष बिताइसकेको तर अहिलेसम्म मुअब्जा नपाएको अर्का अगुवा रामबावु शाहले बताए।

उता मुआब्जा निर्धारण समितिका पदाधिकारी ओम खड्काले मुआब्जाको लागि जिल्लामा गर्नुपर्ने सबै काम पूरा भई माथि पत्राचार गरिसकिएको बताए। सरकारले रकम निकासा नदिएर वितरण रोकिएको उनको भनाई छ।
स्थानीयले मुआब्जा नपाएपछि बारा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनालीले संसद पटक-पटक उक्त विषयमा आवाज उठाउँदै आएका छन्। मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संसदमा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा समेत तामागढी–सिम्रौनगढ हुलाकी सडकको मुआब्जाको विषयमा ध्यानाकर्षण गराएका थिए।
प्रतिनिधिसभा सदस्य मैनालीले भने पीडित जग्गाधनीलाई मुअब्जा बापतको रकम उपलब्ध गराउने प्रक्रिया सुरु भएको बताए। उनले आफू प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि सरोकारवाला निकायसँग कुरा भइरहेको बताए।
गत असोज २ मा अर्थ मन्त्रालयले पहिलो चरणमा १५ करोडको व्यवस्था मिलाई मुआब्जा वितरण गर्न भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयलाई पत्र लेखे पनि बजेट नभएको भन्दै फर्काउने गरेको उनीहरूको भनाई छ। अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयलाई विनियोजित बजेटबाटै १५ करोड रुपैयाँ उपलब्ध गराउन भने पनि वास्ता नगरेको र स्थानीय जग्गाधनीले प्रतिकठ्ठा २० लाखको दरले हुन आउने १ करोड ५२ लाख रुपैयाँका दरले सम्बन्धित जग्गाधनिलाई उपलब्द गराउनु पर्ने उनीहरूको माग रहेको छ।
संघीय सरकारअन्तर्गत हुलाकी मार्ग आयोजना वीरगन्ज कार्यालयको कार्य क्षेत्रभित्र पर्ने यो सडक बन्दा दायाँ बाँयाबाट १५/१५ मिटर अधिग्रहण गरिएको थियो। ३९.७५ किलोमिटर लम्बाईको यो सडक दक्षिणमा भारतीय सिमाको दशगजादेखि उत्तरतर्फ महेन्द्र राजमार्गको निजगढ–काठमाडौं ‘फास्टट्रयाक’ जोड्ने जिल्लाको महत्वपूर्ण सडक हो। साविकको १२ वटा गाविस र अहिले सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका तथा बारागढी गाउँपालिका र आदर्श कोतवाल गाउँपालिका गरी चारवटा पालिका अन्तर्गत पर्ने यो सडक ७ मिटर चौडाइमा बनेको छ।
न्युज कारखाना
फागुन, ११ वीरगन्ज ।
पर्साको धोबिनी गाउँपालिकास्थित लंगडीका दुई जना बेसहारा दिदीबहिनीको पीडादायी अवस्थालाई मध्यनगर गर्दै सामाजिक क्षेत्रमा सक्रिय सानो पाइला संस्थाले लालनपालनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ। केहीदिन पहिलामात्र एउटी सहारा रहेकी हजुर आमासमेतको मृत्यु भएपछि बेसहारा भएका उनीहरूको सम्पूर्ण जिम्मेवारी सानो पाइला संस्थाले लिने उक्त संस्थाका संस्थापक एवम् पूर्वसञ्चालक समाजसेवी कन्चन झाले जानकारी दिए।
बुबाको मृत्यु भएसँगै आमाले छोडेर एक्लो भएका प्रियंका र अनिषा ठाकुरलाई हजुरआमा कहाँ बस्दै आएका हुन् र सानोदेखि हेरचाह तथा पालनपोषण गर्दै आएकी हजुरआमाको समेत हालसालै मृत्युपछि उनीहरूको जीवनमा अर्को दुःख थपिएको थियो। पर्साको धोबिनी गाउँपालिका लङ्गडीमा बस्ने उनीहरूलाई खानसमेत गाह्रो भइरहेको बेला सानो उमेरमै प्रियंका आफ्नो हजुरआमाको क्रियामा बसिरहेकी छन्।
हजुरआमाको क्रियाको काम सोमबार समाप्त हुनेछ। सोमबार क्रिया समाप्त हुने बित्तिकै वीरगन्जस्थित सानो पाइलाको सानो घरमा दुवै बहिनीलाई ल्याइने बताइएको छ।
यस्तै उनीहरूको सहयोगको लागि पहिलेदेखि आह्वान गरिएकोले अब सम्पूर्ण सामान, पैसालगायतको कलेक्सन तुरुन्तै रोकिदिन सानु पाइलाले आग्नुरह गरेको छ।
न्यूज करखाना।
महोत्तरी, ११ फागुन ।
महोत्तरीका पालिकाहरूमा मेयर र उपमेयरको जिम्मेवारी र अधिकार क्षेत्रको विषयमा वेलावेलामा प्रश्न उठ्ने गर्दछ ।संविधानले निदृष्ट गरेका काम, कर्तव्य र अधिकारका विषयमा जानकार बन्न नसक्दा मेयरले उपमेयरका जिम्मेवारी हस्तक्षेप गर्ने र उपमेयरले मेयरका अधिकार क्षेत्र हस्तक्षेप गर्ने जस्ता कार्यहरू चर्चाको विषय बन्ने गरेको छ ।
अझ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले जनप्रतिनिधिका काम, कर्तव्य र अधिकार स्पष्ट विभाजन गरिदिएको छ । यसमध्ये उपमेयरले मुख्यतः न्यायिक समितिको संयोजक भई कार्य गर्ने, प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने, गैरसरकारी संघ संस्थाका क्रियाकलापको समन्वय गर्ने, उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने, योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेस गर्ने, सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वय गर्ने जस्ता रहेका छन् ।

तर, गौशाला नगरपालिकामा भने उपमेयर रेणु कुमारी महतोले प्राप्त जिम्मेवारीहरूलाई कार्यान्वयन गर्न खोज्दा मेयर दिपेन्द्र महतोले छेक्ने र विफल बनाउने भूमिका खेलेको आरोप छ ।
योजना तथा कार्यक्रमको अनुगमनमा कडाइ गर्दा मेयरको निशानामा
राजनीतिक पृष्ठभूमिमा नै हुर्किएकी उपमेयर महतोका बुबा सर्लाही बरहथवा नगरपालिकाका पूर्व मेयर हुन् । बुबा मेयरमा निर्वाचित भएदेखि जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारको खोजी गर्न लागेकी महतो गौशालामा आफैँ उपमेयरमा निर्वाचित भइन् ।
पहिला त उनले उपभोक्ता समिति, ठेकेदारहरूले गरेको कामको निगरानी बढाइन् । अनुगमनको क्रममा भएका कामहरू निकै कमसल र गुणस्तरहीन भएको पहिचान गरेपछि भुक्तानी रोक्न सिफारिस गर्ने प्रक्रियाअगाडि बढाएकी थिइन् ।
‘विकास निर्माणका कामहरूमा निगरानी बढाउन थालेपछि यो टाउको दुखाई ठेकेदारको मात्र बनेन,’ उनले भनिन्, ‘स्वयं मेयर दिपेन्द्रले नै आपत्ति जनाउनुभयोे, मलाई रोक्ने प्रयास भयो ।’
स्थानीय सरकार संचालन ऐन २०७४ मा उपमेयरले अनुगमन गरेपछि यदि चित्त नबुझेको खण्डमा भुक्तानी रोक्न सकिनेसमेत उल्लेख छ । निर्वाचित भएदेखि नै विकासका कामहरूको अनुगमनमा लागेकी उपमेयरले दर्जनाँै कामहरू गुणस्तरहीन भएको पहिचान गरिन् ।
यही विषय नै मेयरको मुख्य असन्तुष्टि बन्यो । त्यसपछि उपमेयरले प्रमाणित नगरेका कतिपय विकास निर्माणका कामहरूको भुक्तानी धमाधम हुन थाल्यो ।
कर्मचारीहरूको समेत असहयोग
गुणस्तरहिन कामहरूको पहिचान गरेपछि भुक्तानी रोक्न योजना शाखालाई उपमेयर रेणुले निर्देशन दिए पनि मेयरको आडमा भुक्तानी भएको छ ।पटकपटक लिखित, मौखिक निर्देशन दिए पनि कर्मचारीहरूले अटेर गरेपछि उपमेयरले सुरुमा फाइल नै नियन्त्रणमा लिने प्रयास गरेकी थिइन् ।
यही विषयमा कर्मचारीहरूले मेयरको उक्साहटमा लागेर हातपात गरेको आरोप समेत लगाए । उनिहरूले कारबाहीको माग गर्दै उपमेयरविरुद्ध सामूहिक विज्ञप्तिसमेत निकालेका थिए ।
‘तर, मैले त्यसको बेवास्ता गर्दै आफ्नो काम, कर्तव्य र अधिकारलाई निरन्तरता दिइरहेँ,’ उपमेयर रेणुले भनिन्, ‘उनीहरूले तोड्न खोजे, मैले रोक्न खोजे ।’ यदपी केही कर्मचारीहरूले भने उपमेयरविरुद्ध विज्ञप्ति निकाल्नु बाध्यता रहेको प्रतिक्रिया दिएका थिए ।
उपमेयरलाई सशंकित बनाउने प्रयास
उपमेयर महतोले आफ्ना अधिकार क्षेत्रमा आक्रामक ढंगले लाग्न थालेपछि कमिसनको प्रतिशत लिने कर्मचारीदेखि जनप्रतिनिधिहरूको टाउको दुखाई बनेको स्थानीय बताउँछन् ।
परिणामस्वरूप उनलाई एक्ल्याउने, मनोबल कमजोर बनाउने र मेयरको स्वार्थअनुसार काम गर्न बाध्य बनाउने चलखेल सुरु भयो । यही क्रममा उनी चढेको गाडीलाई पछ्याउने, आक्रमण प्रयाससमेत हुन थाल्यो । मेयर समर्थक केही समूहको उपमेयरलक्षित हुलहुज्जत बढ्न थालेपछि उनले मेयरबाटै आफ्नो ज्यानको असुरक्षा भएको भन्दै पत्रकार सम्मेलन गरेर उपमेयर रेणुले सार्वजनिक रुपमा जानकारी गराएकी थिइन् ।
गत जेठमा पत्रकार सम्मेलन गर्दै उपमेयर रेणुले अधिकारको बेवास्ता गरी मेयर डा. दिपेन्द्र महतोले आफूखुसी गर्न खोज्ने र आफू अनुकूल मिलोमतोमा मनोमानी ढंगबाट बजेट सिध्याउने दाउमा धमाधम नियमविपरीत काम गर्न दबाब दिएको बताएकी थिइन् ।
सम्पूर्ण अधिकारलाई बाइपास गर्दै मेयरले गरेको अनैतिक कार्यमा संलग्न गराएर बदनाम गर्ने प्रपञ्च फेल भएपछि सांघातिक आक्रमणमा समेत उत्रिएको उपमेयर रेणुको आरोप छ । उनलाई सोही समयमा कार्यकक्षमा नै मेयरका नाता पर्ने व्यक्तिहरूले हातपातको प्रयास समेत गरेका थिए ।
अदालतको सहारा
नगरप्रमुख दिपेन्द्र महतोले उपमेयर विना नै धमाधम निर्णय गर्न थालेपछि उनले अदालतको सहारा लिन सुरु गरिन् । यसअघिको नगरसभामा नगरप्रमुख महतोले मनोमानी ढंगले निर्णय गरेको भन्दै अदालतमा पुगेकी उपमेयर कै पक्षमा फैसला भएपछि नगरप्रमुख थप आक्रामक बनेका थिए ।नगरसभा कार्यान्वयन नगर्न जनकपुर उच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि आफूलाई थप सुरक्षाको चुनौती बढेको उपमेयर रेणु बताउँछिन् ।
उपमेयरको चालक मेयरको निशानामा
एकदिन उपमेयर जनकपुर जाँदै थिइन् । एक्कासि लालगढमा पुगेपछी उनको गाडी ट्राफिक प्रहरीले रोके । जनताको कामले नै जनकपुर जान लागेकी उपमेयरलाई ट्राफिक प्रहरीहरूले विना कारण झन्डै १ घण्टा त्यहीँ रोके ।
१ घण्टापछि मेयरको चालक त्यही बाटो भए आए अनि उपमेयरलाई यति लामो समयसम्म रोकेछन् भन्दै सान्त्वना दिन थाले । उपमेयरलाई यो हर्कत मेयरको नै निर्देशनमा हो भन्ने शंका लाग्न थाल्यो ।
अर्कैलाई गरेको फोन अचानक उपमेयरको ड्राईभरलाई आयो र मेयरकै निर्देशनमा उपमेयरको गाडी रोकिएको उक्त आवाजवाट पुष्टि भयो । सोही रेकर्ड सुरक्षित गरेर ड्राईभरले उपमेयरलाई मात्र त्यो आवाज सुनाएनन् कानुनी प्रक्रियामा समेत पुष्टि गर्ने आधार बनेपछी उनी पनि मेयरको निशाना बनेका थिए ।
यहीबीचमा मेयरले अनुशासनको कारण देखाउँदै उपमेयरको चालकलाई निष्काशन गरे । पछि रोक्ने प्रहरीकाविरुद्ध कानुनी प्रक्रियाअगाडि बढाएपछि उनले समेत मेयरकै नाम लिएका थिए ।
चेतावनीकाे एक वर्षपछि उपमेयरको गाडीमा आगजानी
नगरप्रमुख दिपेन्द्र महतोले करिब एक बर्ष अगाडि भनेका थिए, ‘ड्राईभर मैले भनेको राख्नुस्, नत्र गाडीमा केही भयो भने हामी जिम्मेवारी हुने छैनौँ ।’
उपमेयर महतोले गाडी आगजानी भएपछि सवैभन्दा पहिला मेयरले भनेको कुरा सम्झिन् । विहान उठेर हेर्दा उनी चढ्ने प्र २ – ००२ – ०००१ झ ०००५ नम्बरको गाडीमा दायाँतर्फको टायर पूर्णरुपमा क्षतिग्रस्त भएको थियो भने पछाडि आधा भाग जलेको थियो ।
आफ्नै घरमा पार्किङ गरेर राखेको गाडी आगजनी भएपछि उपमेयर रेणुले पहिले मेयरले गरेका हर्कतहरू सम्झिन् । ‘मलाई मेयरले दिएको चेतावनी मात्र हैन गाडी पछ्याउनेदेखि सांघातिक आक्रमण यसैको शृङ्खला हो भन्ने लाग्यो ।’
मेयरप्रति उनी निकै सशंकित बनिन् । प्रहरीलाई खवर गरिन् । तर, दोषी अझै पक्राउ परेका छैनन् भने मेयरको निर्देशनमा अन्य जनप्रतिनिधिहरू उपमेयरलाई दोषी देखाउन थालेका छन् । अझ बनिबनाउ निर्णय कार्यापालिका वैठकमा प्रस्तुत गरि उपमेयरलाई गाडी आगजनी हुनुमा दोषी देखाइएको छ ।
कार्यापालिकाको बैठकमा उपमेयर नै दोषी रहेको निष्कर्ष
गत माघ २६ गते बसेको बैठकले उपमेयरले नै सुरक्षा सतर्कता नअपनाएको भन्दै सम्पूर्ण दोष लगाइएको छ । घटना घटेको थाहा पाउनासाथ खोजतलास गर्ने प्रयास नगरिएको, रिस उठेको व्यक्तिलाई आरोप लगाइएको, व्यक्तिगतरुपमा आफैले ड्राईभर राखेको जस्ता आरोप लगाउदै गाडीको क्षतिपूर्ति र ममर्तसम्भार खर्च आफैँले बेहोर्नु पर्ने निर्णय गरिएको छ ।
दोषीलाई तत्काल खोजी गर्न पनि उपमेयरलाई बैठकबाट नै निर्देशन दिएको छ । तर, उपमेयर रेणुले सोही बैठकको निर्णय १०औँ बुँदामाथि आपत्ति जनाएकी छन् । घरमा नै राखेको ठाउँमा आगजानी गर्दा पनि दोषी उपमेयरलाई नै बनाएर मेयरले घटनालाई गुपचुप बनाउन खोजेको कतिपय स्थानीयको आरोप छ । स्थानीयले मेयरमाथि नै अनुसन्धान गर्नुपर्ने माग राखेका छन् ।
माइन्युटको खाका तयार गरेपछि मात्र बैठक
स्थानीय सरकार संचालन ऐन २०७४ मा बैठकमा एजेन्डाहरू प्रस्तुत गरेर छलफल गरेपछि मात्र निर्णयको सहमति र असहमति लिने प्रचलन छ ।तर, नगरप्रमुख लगायत केही व्यक्तिहरू बसेर निर्णय र छलफलपछि मात्र हस्ताक्षर गर्न माइन्युट बैठकमा पेश गरिने उपमेयर रेणु बताउँछिन् ।
‘एजेन्डाहरू पारित गर्नुभन्दा पहिला सन्तुष्टि, असन्तुष्टि रहन सक्छन । तर, त्यो नगरिकन सिधै हस्ताक्षर गर्न पेपर अगाडि ल्याइन्छ,’ उनले भनिन्, ‘वास्तवमा लोकतान्त्रिक प्रक्रियामा यो जत्तिको निरकुंश के नै हुन सक्ला र ।’
के विषयमा छलफल हुँदै छ भन्ने समेत थाहा नदिइकन कार्यापालिकामा हस्ताक्षर गर्ने प्रक्रिया लोकतान्त्रिक नभएको भन्दै उनले मेयर दिपेन्द्रको अत्याचार बढ्दै गएको बताइन् ।
बैठक लाइभ गर्न माग
उपमेयर महतोले नगरपालिकामा हुने सम्पूर्ण निर्णय सार्वजनिक गर्न माग गरेकी छन् । जनतावाट निर्वाचित जनप्रतिनिधिहरूले गरेको निर्णय र छलफल जनताले सुन्न र हेर्न पाउने अधिकार रहेको उनको भनाइ छ ।
‘जनतालाई लुकाएर गर्नुपर्ने निर्णय नै के पो हुन्छ र । यसमा पार्दर्शी हुनुपर्छ,’ उनले भनिन्, ‘जनताको कार्यापालिकामा जनताले थाहा पाउनुपर्छ कि आफ्ना जनप्रतिनिधिहरूले के–के गरिरहेका छन् भनेर ।’
मेयर दिपेन्द्रले गर्ने रवैया मात्र हैन आफूहरूको समेत मुल्यांकन कार्यापालिका बैठकवाट नै जनताले गर्न सक्ने बताउँदै लाइभ गर्ने विषयलाई अस्वीकार गर्नु गलतलाई प्रश्रय दिइरहेको प्रमाणित हुने उपमेयर रेणु बबताउँछिन् । आफू यस्तै बेथितिविरुद्ध लडिरहेको उनको भनाइ छ ।
तर, नगरप्रमुख दिपेन्द्र महतोले उपमेयरले लगाएको सबै आरोप निराधार झुटो रहेको भन्दै खण्डन गर्छन् । सुशासनको लागि आफू लागिपरेको बताउदै उनले उपमेयर रेणु स्वयं बिफल बनाउने अभियानमा लागेको आरोप लगाए ।
आर्थिक समृद्धिका कामहरू अगाडि बढेको र आफ्नो कार्याकालमा महसुस हुनेगरी विकास गर्ने उनको दाबी छ । न्युज कारखाना
रौतहट,१० गते फागुन ।
भारतको तमिलनाडु प्रान्त स्थित कोयम्बतुरमा रहेको अमृता स्कुल अफ एग्रिकल्चरल साइन्सेजमा अध्ययनरत चौथो वर्षका विद्यार्थीहरुले किसानसित अन्तरक्रियात्मक प्रदर्शन गरेका छन् । विश्वविद्यालयको रावे RAWE कार्यक्रमको एक भाग को रूपमा बीउ प्राइमिंग र बीउ छर्राबारे कोयम्बतुर जिल्लाको माइलेरिपलायम पञ्चायत अन्तर्गत एलुर गाउँमा विद्यार्थीहरुद्वारा एक प्रदर्शन आयोजित गरिएको थियो ।
सीड प्राइमिङ भनेको बीउको नियन्त्रित हाइड्रेशनको प्रक्रिया हो जसले प्रि–जर्मिनेटिभ मेटाबोलिक गतिविधिलाई अगाडि बढ्न अनुमति दिन्छ, तर रेडिकलको वास्तविक उदयलाई रोक्छ । यसले उदयको द्रुत गतिमा मद्दत गर्दछ । यसले प्रतिकूल कृषि–जलवायु परिस्थितिहरूमा पनि बीउ अंकुराउन र उभर्न सक्षम बनाउँछ । बीज प्रिमिङले बीउको शेल्फ लाइफ बढाउँछ भनेर विद्यार्थीहरुले कृषकलाई बुझाउन सफल भएका छन् ।
साथै सीड पेलेटिङ् भनेको बायोएक्टिभ केमिकलसहितको टाँसेको प्रयोग गरी फिलर सामग्रीमा बीउलाई घेर्नु हो र सजिलैसँग ह्यान्डल गर्नको लागि बीउको एकल र आकार बढ्छ । बीउको टुक्राले सानो बीउको आकार र तौल बढाउन मद्दत गर्छ, यसरी सटीक रोपण बढाउँछ र यसले खेत वा ट्रेमा एकै किसिमको बिरुवा निस्कन मद्दत गर्छ । एक समान आकार र आकार, पर्याप्त तौलको साथमा, मेकानिकल पृथकीकरणलाई हावा बनाउँदछ र रोपण कार्यको क्रममा सहज, सहज प्रवाह सुनिश्चित गर्दछ ।
एभििभतष्लनले वृद्धि नियामकहरू र सूक्ष्म पोषक तत्वहरू आपूर्ति गर्न मद्दत गर्दछ र प्रत्येक बिरुवाको लागि, फंगी वा कीराहरूबाट सुरक्षात्मक ढाल प्रदान गर्दछ । हामीले सहभागी कृषकहरूलाई यस्तो महत्वपूर्ण विषयको बारेमा जानकारी दिएकोमा सकारात्मक प्रतिक्रिया पायौ ं। विद्यालयका डीन डा.सुधीश मनालिलका साथै समूह सहजकर्ताहरू, डा. वी मार्तण्डन, डा. जी. बुपाथी र डा. वी वनिताको नेतृत्वमा प्रदर्शन सफलतापूर्वक सम्पन्न भएको प्रदर्शनमा सहभागी रौतहटकी छात्रा सृष्टि गुप्ताले जानकारी गराएकी छन् ।
वीरगञ्ज, १० फागुन ।
प्रहरीले बाराबाट नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। नक्कली नोटसहित प्रहरीले बाराको बारागढी गाउँपालिका–२ दौरवा टोल बस्ने ३४ वर्षीय दीपेन्द्र माझीलाई पक्राउ गरेको हो।
प्रहरीले निजगढ नगरपालिका–९ निजगढस्थित हाटबजारमा नेपाली एक हजारको नक्कली नोट दिई सामान खरिद गरिरहेको अवस्थामा माझीलाई पक्राउ गरेको हो।
पक्राउ परेका माझीको साथबाट एक हजार दरको दुई वटा नेपाली नक्कली नोट बरामद गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
पक्राउ परेका माझीविरुद्ध मुद्दासम्बन्धी कसुर मुद्दा दर्ता अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
न्युज कारखाना
पर्सा, १० फागुन ।
बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कालिकामाई गाउँपालिका-९ कटिबलुवा बस्ने ४४ वर्षीय दिपेन्द्र गिरी र पोखरिया नगरपालिका-९ बैरियाबिर्ता बस्ने ३७ वर्षीय शिवपुजन मुखिया रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.१२ प ४९७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो ।
न्युज कारखाना