२०८३ बैशाख १८
२०८३ बैशाख १८

काठमाडौं, २२ कात्तिक ।

पर्यटन तथा नागरिक  उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संघ संस्थाहरूले ४ करोड भन्दाबढी रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग गरेका छन् ।

बुधबार बिहान बालुवाटारमा पर्यटन मन्त्री सुदन किरातीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ लाई भेटी सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

यसरी सहयोग गर्नेहरुमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण संघ, लुम्बिनी विकास कोष रहेका छन् । त्यसैगरि गोरखा ब्रअरी प्रा.लि. ले पनि राहत कोषमा १ करोड सहयोग गरेको छ ।

काठमाडौं, २२ कात्तिक ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिकसहितका विषयमा छलफल भइरहेको छ ।

पार्टीले सञ्चालन गर्न लागेको मध्यपहाडी लोकमार्ग अभियान,  भूकम्पलगायतका विषयमा छलफल भइरहेको छ ।

एमालेले आगामी मंसिरमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्दै छ ।

पोखरा, २२ कात्तिक ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदुत छन् सङमार्फत् जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री बुझेका छन् । बुधबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मुल्य बराबरको सामाग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त गरे ।

नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुबै मुलुक एकअर्काको दु:खमा साथमा रहेको र यो द्रुत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

त्यसक्रममा राजदूत सङले पश्चिम नेपालको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो  दु:ख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा  समवेदना व्यक्त गरे । नेपाल र नेपाली जनताको दु:खमा आफ्नो देशको सधैं साथसहयोग रहने र राष्ट्रपति सि जिन पिङले समेत पत्र पठाएर त्यो संवेदना जाहेर गरेकाे उनले बताए ।

दुईवटा एयरक्राफ्टबाट चार हजार ६ सय ब्लाङ्केट र ६ सय टेन्ट आएको छ। यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको छ, जसमा २ हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्। बुधबार बिहान काठमाडौं आइपुगेको उक्त सामाग्री तत्काल प्रभावित क्षेत्रमा पठाइनेछ भने पोखरा आएको सागाग्री पनि प्रभावित क्षेत्रमा  पठाउने तयारी छ।

 

सिरहा, २२ कात्तिक । मुकेश कुमार यादव

 

सिरहाको नरहा गाउँपालिकाका वडा अध्यक्षहरूले आन्दोलनको चेतावनी दिएका छन् ।  आर्थिक वर्ष २०७९/८० को आयव्यय विवरण, प्रत्येक वडामा एकजना कम्प्युटर अपरेटर, तत्काल कार्यक्रमहरूको कार्यादेश दिनुपर्ने लगायतका माग सात दिनभित्र सम्बोधन नभए आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिएका हुन्।

 

वडा नम्बर १ का अध्यक्ष अशोक कुमार महतो, ४ का वडा अध्यक्ष रामविलेक्षण यादव र ५ का वडा अध्यक्ष हुकुमदेव यादवले आफूहरूको माग सम्बोधन नभए सेवा नै ठप्प पारेर आन्दोलनमा उत्रिने चेतावनी दिए ।


वडा अध्यक्ष हुकुमदेव यादवले सूचनाको हक प्रयोग गरेर करिब एक महिनाअघि दिएको निवेदनको बेवास्ता गरेको भन्दै तत्काल माग गरेको सूचना दिनुपर्ने बताए।

उनले नयाँ आर्थिक वर्षको ४ महिना बितिसक्दा पनि कार्यालय सञ्चालन खर्च नदिएको, कार्यक्रमको कार्यादेश नदिएको भन्दै प्रशासकीय प्रमुख विधिसम्मत ढङ्गले चल्न नसकेको आरोप लगाए ।

 

‘हामीले ताली ठोकेर गाउँपरिषद् गरिदिएका छौं । कार्यक्रमहरू बनेको छ। कार्यालय प्रमुखले कसको निर्देशन पर्खेर बस्नुभएको हो ? हामीलाई तत्काल कार्यादेश चाहिन्छ,’ उनले भने ।

 

उनीहरूले आफूहरूको माग एक साताभित्र सम्बोधन नभए पालिका कार्यालयको गेटमै बसेर सेवा ठप्प पार्ने र वडा कार्यालय त्यहीँबाट सञ्चान गर्ने बताए ।

काठमाडौं, २२ कार्तिक ।

भूकम्पपीडितको राहत लिएर चिनियाँ सेनाको जहाज पोखरामा अवतरण भएको छ ।

 

चीन सरकारले भुकम्प पीडितलाई दिने राहात सहयोग सामग्री लिएर आएका चिनियाँ सेनाको दुइ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गरेका हुन् ।

 

उत्तरी छिमेकी चीनले दिने उक्त सहयोग सामाग्री बुझ्नका लागि उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ आजै पोखरा पुगेका छन भने चिनियाँ राजदूत छन सोङले सामान गृहमन्त्री श्रेष्ठलाई उक्त सहयोग सामाग्री हस्तान्तरण गर्दैछन् ।

 

चीनले आफनो वायु सेनामार्फत पोखरामा पठाएको सहयोग सामाग्री नेपालले भने त्यहाँवाट कर्णाली पु¥याउनेछ । चिनियाँ सेनाको जहाजमा समान आउने भनिए पनि त्यसलाई  ‘ह्युमनेटिरियन फ्लाइट’ भनिएको छ, जुन बिहान ९३० र ९ ४० मा अवतरण भएका हुन ।

 

चीन सरकारले घोषणा गरे अनुसार करिब १० करोड बराबरको सामग्री लिएर चिनियाँ सेनाका जहाज चीनको छेन्दुबाट जहाज उडेका थिए ।

बेइजिङ, २२ कार्तिक ।

चीनमा विगत केही दशकदेखि लगातार बढिरहेको जनसंख्या वृद्धिका कारण यो देशको जनसङ्ख्या अर्ब नाघेको थियो ।

 

यो बढ्दो जनसङ्ख्यालाई कम गर्न सन् १९८० मा चीनले दम्पतीलाई एउटा मात्र बच्चा जन्माउन दिने नीति लागू गरेको थियो। जसलाई  ‘एक सन्तान नीति’ नाम दिइएको थियो ।

 

चीनको यो नीति ३६ वर्ष अर्थात २०१६ सम्म जारी रह्यो तर यी नीतिको परिणामस्वरुप आज यो देशको जनसंख्या ‘नकारात्मक वृद्धि’को चरणबाट गुज्रिरहेको छ ।

 

हालै भएको चीनमा जनसङ्ख्या सर्वेक्षण रिपोर्टले चीनको जनसंख्या बृ्द्दी भन्दा मृत्युदर बढी देखाइएको थियो, जसले चीनलाइ चिन्तामा लगेको छ । सो  सर्वेक्षणका अनुसार सन् २०२२ मा चीनको जनसंख्या सन् २०२१ को तुलनामा ८ लाख ५० हजारले घटेको छ ।

 

सन् १९६१ मा चीनको भयंकर अनिकालपछि यो देशले पहिलो पटक यति ठूलो जनसंख्या घटेको तथ्यांक सार्बजनिक भएको हो ।

 

सन् २०२२ को अन्त्यसम्ममा चीनको कुल जनसङ्ख्या १.४ बिलियन हुने अनुमान गरिएको थियो, जुन गत वर्षको तुलनामा ८ लाख ५० कमी देखिन आयो । यस बाहेक चीनमा जन्मदर पनि प्रति हजार ६.७७ छ भने मृत्युदर प्रति हजार ७.३७ रहेको छ, जसका कारण जन्मदर शून्यदेखि ०.६ प्रति हजारमा पुगेको छ । जसले गर्दा चीन तनाबमा परेकाे छ ।

 

ग्लोबल टाइम्सका समाचार अनुसार चाइनिज एकेडेमी अफ सोशल साइन्सका पूर्व उपनिर्देशक काई फेङले एक सेमिनारमा यस प्रश्नको जवाफ दिँदै जन्मदरमा आएको गिरावटलाई लिएर निराशावादी हुनुपर्ने आवश्यकता नरहेको बताए । उनले बरु, यो कमीलाई पूर्ति गर्न चीनले जनसङ्ख्याको गुणस्तर सुधार गर्ने अवस्था र योजना बनाउने समय आएको सुझाव दिएका छन् ।

 

घट्दो जनसङ्ख्या र कोभिड–१९ ले चीनमा ठूलो प्रभाव पारेको उनको विश्वास छ । जनसङ्ख्या घट्दा देशलाई हुने नोक्सानीबाट जोगाउन सबैभन्दा पहिले श्रम शक्तिलाई न्यायोचित र प्रभावकारी रूपमा बाँडफाँड गर्नुपर्ने, न्यून पारिश्रमिक पाउने व्यक्तिको आम्दानी बढाउनु पर्ने र आधारभूत सार्वजनिक वस्तु जनता माझ बाँडफाँट गर्नुपर्ने उनले सुझाव दिएका छन् ।

 

काठमाडौं, २२ कार्तिक ।

भूकम्पपीडितको राहत लिएर चिनियाँ सेनाको जहाज आज नेपाल आउँदैछ ।

 

चीन सरकारले भुकम्प पीडितलाई दिने राहात सहयोग सामग्री लिएर आउने दुई वटा चिनियाँ सेनाको जहाज आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गर्नेछ ।

 

उत्तरी छिमेकी चीनले दिने उक्त सहयोग सामाग्री बुझ्नका लागि उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ आजै पोखरा पुग्दैछन । चिनियाँ राजदूत छन सोङले सामान गृहमन्त्री श्रेष्ठलाई उक्त सहयोग सामाग्री हस्तान्तरण गर्नेछन् ।

चीनले आफनो वायु सेनामार्फत पोखरामा पठाएको सहयोग सामाग्री नेपालले भने त्यहाँवाट कर्णाली पु¥याउनेछ । चिनियाँ सेनाको जहाजमा समान आउने भनिए पनि त्यसलाई  ‘ह्युमनेटिरियन फ्लाइट’ भनिएको छ, जुन बिहान ९ बजे अवतरण गर्ने भनिएकाे छ ।

चीन सरकारले घोषणा गरे अनुसार करिब १० करोड बराबरको सामग्री लिएर चिनियाँ सेनाका जहाज चीनको छेन्दुबाट जहाज उड्नेछ ।

 

काठमाडौं, २२ कार्तिक ।

नेकपा एमालेका सांसद सुर्य थापाले जाजरकोट र रुकुमका भुकम्प पीडितलाई राहात दिन एक एकजना मन्त्रीलाई ‘फोकल ब्यक्ति’को रुपमा तोकेर काम गर्नुपर्ने बताएका छन् ।

 

गत शुक्रबार राती गएको भुकम्पमा परी ज्यान गुमाएका, घाइते भएका तथा धनजनका क्षति भएका परिवारलाई राहात दिनका लागि ‘फोकल ब्यक्ति’ तोकेर काम गर्न सुझाव दिएका हुन । उनले जाजरकोट भुकम्पमा अनावश्यक भिभिआइपी र भिआईपीको लस्कर प्रति पनि असन्तुष्टी जनाएका छन् ।
‘जाजरकोट र पश्चिम रूकुममा भूकम्पको बहाना गरी अनावश्यक पर्यटन आवश्यक छैन, प्रभावित पालिकामा सर्वदलीय संयन्त्रको मार्गदर्शनमा उद्दार, राहत र पुनस्स्थापना कार्य अघि बढाउन आवश्यक स्रोत र जनशक्ति सरकारले व्यवस्था मिलाउनु अत्यावश्यक छ, उनको सुझाव छ, ‘संघीय र प्रदेश सरकारका एक एक जना मन्त्री समन्वय मिलाउन त्यहाँ फोकल व्यक्तिका रूपमा तोकेर संघीय सांसद, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिहरू र जिल्ला प्रशासनको जवाफदेही सहकार्यमा पीडित केन्द्रित, ठोस र आवश्यक कार्य गरिनुपर्छ, ओहदा केन्द्रित सवारी आवश्यक छैन।’

थापाले सुझाव दिदै अगाडी भनेका छन, ‘प्रचारमुखी स्टन्टबाजी र सजावटी देखावटी अभिनयले पीडितलाई खाना, नाना र छाना बन्दैनन् । २०७२ को भूकम्प र बाराको हावाहुरी पीडितका लागि सरकारले गरेको कामबाट सिकेर अघि बढ्नु जरूरी छ।’
केही दिन यता के काम भन्दा जाजरकोट जामजस्तो फजुल खर्च गरेर पीडितको नाममा राज्यकोष स्वाहा पार्ने कार्य उचित  छैन।

 

काठमाडौं, २२ कार्तिक ।

चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै छन् ।

नेपालको पाँचदिने औपचारिक भ्रमणका लागि उनी आज बुधबार नेपाल आउन लागेका हुन् ।

तिब्बतको पार्टी सेक्रेटरी छुङछेङ नेपाल भ्रमणको क्रममा द्धिपक्षिय तथा आपसी हितका बारेमा छलफल गर्नेछन । प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल हुने जनाईएको छ ।

 

पाँचदिन नेपाल रहने उनले भोली बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नेछन भने यस भ्रमणको क्रममा उनी पोखरा पनि जानेछन् ।

हेमन्त केसी,जाजरकोट , २२ कात्तिक /

राष्ट्रपति रामचन्द्र पौडेल हेलिकोप्टरमा सहारामा भूकम्पबाट थिलो थिलो भएको जाजरकोट सदरमुकामसँगै बारेकोट पुगे ।

 

सदरमुकामबाट पठाएको राहत सामग्री अझैँ राम्रोसँग गाउँमा पुग्न नसकेको समयमा राष्ट्रपति राहत भन्दा अगाडी गाउँ पुगेका हुन् ।

 

अगुवा ,पछुवा गरेर सदरमुकाम हुँदै बारेकोट पुगेको राष्ट्रपति पौडेलले जनता जनधनको क्षती प्रति दुखी भएको भन्दै सरकारले सबैको घर निर्माण गरिदिने समेत बताए । राष्ट्रपति बारेकोट पुग्दा त्यहाँका सर्बसाधारणले राहत ल्याएर आएको अनुमान लगाएका थिए तर राष्ट्रपति खाली हात भाषण मात्र लिएर भत्किएका संरचना हेर्न बारेकोट पुग्दा यहाँका जनताले हाती आयो , हाती आयो सुस्सा भनेझैँ भएको बताएका छन् । बारेकोट गाउँपालिका–१ रामीडाँडामा भूकम्पको केन्द्र विन्दु रहेको थियो । केही काम गरौँला भनेर आशा लिएर आएका छौँ , हाम्रो भरोसा मान्नुहोस भन्दै आसपासनको पोको सुनाएर फेरी राष्ट्रपति पौडेल काठमाडौँ हुइकिए ।

 

त्यस्तै राष्ट्रपति पौडेलले सदरमुकाम स्थित माथिल्लो थाप्लेमा भत्किएका संरचनाको स्थलगत अनुगमन गरेका थिए । उनले पहिले थाप्ले बास बसेको स्मरण गर्दै यसको पूर्ण निर्माण गर्न सरकारसँग कुरा गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

 

जाजरकोट अस्पतालमा बिरामी भेटन गएका राष्ट्रपति पौडेललाई भेरी नगरपालिका १ कि सीतली विकले पहुँचवालाको मात्र बाहिर उपचार भएको भन्दै आलोचना गरेकी थिइन । उनले आफ्नो बुहारी विदेशमा रहेकाले तत्काल फिर्ता ल्याइदिन समेत राष्ट्रपतिसँग आग्रह गरेकी थिइन् । भूकम्पका कारण अर्का मेरुदण्डमा समस्या आएर अस्पतालमा उपचार गरिरहेको नलगाडका बीरबहादुर पुनले समेत आफूलाई पक्षपात गरेर जाजरकोट अस्पतालमै उपचार गर्न बाध्य बनाएको आरोप लगाउदै राष्ट्रपतिसँग गुनासो गरे । अरु भूकम्प पीडितको उपचार बाहिर भएको तर आफ्नो मात्र जिल्ला अस्पतालमा किन गरेको होला भन्दै आफूले बुझन नसकेको उनले राष्ट्रपतिलाई सुनाए ।

राष्ट्रपति पौडेलले बीरबहादुरलाई बाहिर लिएर उपचार गर्ने भन्दै आश्वस्त परे । तर राष्ट्रपति काठमाडौँ पुग्ने समयसम्म बीरबहादुर जाजरकोट अस्पतालको बेडमै उपचाररत छन् । राष्ट्रपति पौडेललाई ल्याएको हेलिकोप्टर अवतरण गर्न भूकम्प पीडितलाई आवासको लागि बनाएको टेन्ट समेत हटाएको थियो ।

 

बारेकोट गाउँपालिकाले ३ हजार पाल माग गरेकोमा हाल सम्म २ हजार थान त्रिपाल पठाएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बताए । १ हजार ३०० कम्मल , ४०० थान म्याटिस  बारेकोट पठाएको उनले बताए ।

 

त्यस्तै हिजाे देखि कुशे गाउँपालिकामा पनि हवाइ मार्गबाट केही सामग्री पठाएको छ । जुनिचाँदे गाउँपालिकामा बुधबार मात्र पठाउने कार्ययोजना रहेको छ । जिल्ला स्थित सुरक्षा अधिकारीबाट राहत सामग्रीको बारेमा जानकारी लिन खोज्दा कोही पनि तथ्यांक दिन तयार छैनन् ।

 

राहत सामग्री गाडीमा, मन्त्री तथा नेताहरु हेलिकोप्टरमा जाँदा राहतको सामग्री पुग्न समय लागेको हो । यो भन्दा अगाडी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ , भौतिक पूर्वाधार मन्त्री प्रकास ज्वाला , स्वास्थ्यमन्त्री शेरबहादुर बस्नेत , उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडका आउने र जाने गरिरहेका छन् । उर्जामन्त्री शक्तिबहादुर बस्नेत जाजरकोट बसेर राहत सामग्री संकलन तथा वितरणको काममा खटिरहेका छन् । त्यस्तै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह समेत जाजरकोटमै रहेका छन् । मन्त्री देखि राष्ट्रपति सम्म जिल्लामा आउने र जाने भीड लागेपनि भूकम्प पीडित सम्म अझैँ राहत सामग्री पुग्न नसक्दा समस्य उत्पन्न भएको छ ।

 

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले आकाशमा हेलिकोप्टर आतंक बन्द गर्न चेतावनी दिएका छन् । घर्तीले लेखेका छन् , ‘बिभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकप्टर आतङ्क बन्द गर । सम्बिधानले व्यवस्था गरेको स्थानीय बिपद ब्यवस्थापन समितीको अधिकार मिच्न नखोज । ’ उनले थप लेखेका छन् , भेरी नगरपालिकामा ५ हजार त्रिपाल चाहियो ।

 

 

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।