२०८३ बैशाख १२
२०८३ बैशाख १२

काठमाडौँ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटालाई सांसद पदबाट हटाउन अस्वीकार गरेका छन् ।

राउत नेतृत्वको जनमत पार्टीले सांसद सापकोटालाई स्पष्टीकरण सोधेर कारबाही स्वरूप पार्टीबाट निष्कासन गरेको पत्र गत फागुन २७ गते संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो ।

तर सभामुख घिमिरेले जनमत पार्टीले पठाएको पत्रबाट सापकोटाले दल त्याग गरेको नदेखिएको र निजलाई दलबाट निष्कासन गरेको नपाइएको भन्दै सांसद पद कायम रहने निर्णय गरेका हुन् ।

सांसद सापकोटाको स्वकीय सचिव राख्ने विषयमा पार्टीमा विवाद भएको बताइएको छ । पार्टीले आफुले तोकेको व्यक्तिलाई स्वकीय सचिव नियुक्त गर्नुपर्ने भन्दै दबाब दिएको र सांसद सापकोटाले त्यसलाई अस्वीकार गरेकी थिइन् ।

के छ कानुनी व्यवस्था ?

राजनीतिक दल सम्बन्धी ऐनको दफा ३२ मा कुनै पनि सांसदले दलको सदस्यबाट राजीनामा दिएमा, अर्को दलको सदस्यता लिएमा वा आफैं संलग्न भई अर्को दल गठन गरेमा दल त्याग गरेको मानिने ब्यवस्था गरेको छ । यी कारण भएमा सांसदलाई दलले निष्कासन गर्न सक्ने छ । यसरी निष्कासन गर्नुअघि सांसदलाई सफाइको मौका दिनुपर्ने उल्लेख छ । जाँचबुझका लागि समिति गठन गर्नुपर्ने र सफाइ सन्तोषजनक नभएमा केन्द्रीय समितिको निर्णय गरेर विधानको व्यवस्था बमोजिम आधार र कारण खुलाई कारबाही गर्नुपर्ने व्यवस्था छ ।

जनमत पार्टीले यी प्रावधान पुरा नगरेको देखिएको सभामुखको निर्णयमा उल्लेख छ । न्युज कारखाना

काठमाडौँ ।

बैशाख १५ गते इलाम- २ मा हुने उपनिर्वाचनमा दलहरुले उम्मेदवार छान्ने क्रम जारी रहेको छ ।

अहिलेसम्म नेकपा एमालेले सुहाङ नेम्वाङलाई, रास्वपाले मिलन लिम्बुलाई, राप्रपाले लक्ष्मी गुरुङलाई र एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । त्यस्तै कोशी प्रदेशको नाम सच्याउन माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएका छन् ।

अब नेपाली कांग्रेस र माओवादी केन्द्रले उम्मेदवार चयन गर्न बाँकि रहेको छ ।

२०७९ को आम निर्वाचनमा नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी बनेका थिए । उनी केवल ११४ मत अन्तरले विजयी भएका थिए ।

उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका थिए । कांग्रेसका उम्मेदवारलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन रहेको थियो ।

त्यस्तै यस क्षेत्रमा रास्वपाका प्रकाश सापकोटाले एक हजार ३८० मत ल्याएका थिए । त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनका मणि बहादुर लिम्बुले १३६३,  राष्ट्रिय जनमुक्तिका खड्ग प्रसाद पालुवाले १२७२, जसपाका यम प्रसाद लिम्बुले ७२४, राप्रपाका गणेश प्रसाद दुलालले ५१० मत प्राप्त गरेका थिए ।

त्यसैगरी समानुपातिकतर्फ एमालेले २६ हजार ५६२, कांग्रेसले २२ हजार ३३३, माओवादीले ५ हजार १५३ र रास्वपाले ४ हजार ६८६ मत ल्याएका थिए । त्यस्तै राप्रपाले ११९१ मत, जसपाले ९०६ मत, एकीकृत समाजवादीले ५८६ मत प्राप्त गरेका थिए ।  न्युज कारखाना

 

काठमाडौं, १६ चैत ।

इन्डिया फाउन्डेशनका अध्यक्ष राम माधवले नेपालमा हुने विभिन्न गतिविधिहरू नेपाली समाजको इच्छा अनुसार नै हुने बताएका छन्। नेपाल-भारत संस्कृत सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा हुने गतिविधिहरू यहाँकै समाजको इच्छा अनुसार हुने बताएका हुन्।

‘यहाँ बेलाबखत राजनीतिक कुरा चलिरहन्छन्। यदि कोही हिन्दु राष्ट्रको कुरा गर्छ भने त्यसलाई भारतको षडयन्त्र भन्ने गरिन्छ। म तपाईंलाई आश्वस्त पार्छु, यसमा कुनै षडयन्त्र छैन,’ उनले भने।

नेपाल र भारत दुवै लोकतान्त्रिक मुलुक भएकाले भारतले नेपालको लोकतन्त्र समृद्ध र सफल होस् चाहने उनले बताए। आफूहरूको नेपालको लोकतन्त्र समृद्ध होस् भन्ने चाहना भए पनि यसलाई समृद्ध पार्ने जिम्मा भने नेपालीहरूको नै भएको उनको भनाइ छ।

‘नेपालको लोकतन्त्रलाई समृद्ध पार्ने कुरामा कसैले षडेन्त्र गर्दैन। यसमा कसैको हस्तक्षेप पनि रहँदैन। भारत नेपालको समृद्ध लोकतन्त्रका लागि सधैँ सहयोगी नै रहन्छ,’ उनले भने।

नेपालमा कस्तो शासन व्यवस्था चाहिन्छ भन्ने कुरा यहाँकै नागरिकले तय गर्नुपर्ने उनले बताए। नेपाल र भारतबीच साझा संस्कृति र साझा विरासत रहेको उनको भनाइ छ। साझा संस्कृति र विरासत राजनीतिक विषय नभएको उनले प्रस्ट पारे। ‘यो सभ्यताको विषय हो। एउटै सभ्यताका व्यक्ति भएको नाताले हामीले एकआपसमा मिलेर काम गर्नुपर्छ,’ उनले भने।

यूरोपका २७ देश मिलेर त्यहाँका कयौं मुद्दामा सामूहिक तवरले छलफल गरेर समाधान गर्ने गरेको स्मरण गर्दै उनले नेपाल र भारत मिलेर भाषा, संस्कृति र सभ्यताको पुनर्उत्थानका लागि काम गर्नुपर्ने बताए। उनी राष्ट्रिय स्वयंसेवक संघ भारतका अखिल भारतीय कार्यकारी मण्डल सदस्य र भारतीय जनता पार्टीका पूर्व महासचिव पनि हुन्।न्युज कारखाना

काठमाडौं, १६ चैत ।

कांग्रेस केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य जितजङ्ग बस्नेत एक समारोबीच अभिनन्दित भएका छन्। नेपाल तरुण दलमा आफ्नो योगदान दिएर पार्टीको मूल राजनीति हुँदै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकोमा नेपाल तरुण दल केन्द्रीय समितले बस्नेतलाई अभिनन्दन गरेको हो।

नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष विद्वान गुरुङले माननीय जितजङ्ग बस्नेतलाई दोसल्ला ओढाएर अभिनन्दन पत्रसहित कार्यकाल सफलताको शुभकामनासहित सम्मान गरेका हुन्।

कार्यक्रममा पूर्वतरुण दल अध्यक्ष एवम् कांग्रेस केन्द्रीय तथा प्रतिनिधि सभा सदस्य उदय शमशेर राणा र पूर्वतरुण दल अध्यक्ष विनोद कायस्थ विशेष अतिथि रहेका थिए।न्युज कारखाना

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसर संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको सो विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । न्युज कारखाना

हेटौंडा।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडि बढेको बताएका छन् ।

मकवानपुरमा आज नेकपा(माओवादी केन्द्र)का स्थानीय नेता एवं कार्यकर्तासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुने र सोहीअनुसार नयाँ योजनाहरू तयार गर्न सरकार लागिपरेको बताए ।

“पछिल्लो समीकरण सरकारको गति बढाउन र जनताका आकांक्षा पूरा गर्ने उद्देश्यका साथ निर्माण भएको हो,” प्रधानमन्त्री प्रचण्डले भने, “नयाँ समीकरण बनेको एक महिना नपुग्दै धेरै राम्रा काम अगाडि बढेका छन्, अब देशको आर्थिक क्षेत्र पनि चलायमान हुन्छ ।”

आगामी दिनमा सरकारले विकास र समृद्धिको यात्रालाई जोड दिएर जनताका आकांक्षालाई सम्बोधन गर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन र विकासमा केन्द्रित रही आगामी दिनमा सकारात्मक नतिजा दिने विश्वास व्यक्त गरे । “दिनदिनै काठमाडौँमा जुलुस गर्नुपर्ने अवस्था बदलिएको छ, सहकारी पीडितको समस्या समाधानतर्फ अगाडि बढेको छ,” प्रधानमन्त्री प्रचण्डले भने ।

माओवादी धारका पार्टीहरूबीच एकता प्रक्रिया अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आगामी दिनमा माओवादीहरू एकताबद्ध हुने र २०८४ को आम निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टी बन्ने विश्वास व्यक्त गरे । न्युज कारखाना

हेटौंडा ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर कार्यान्वयनमा लैजाने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले खरिद प्रक्रियामा रहेका प्रक्रियागत ढाँचालाई सरलीकृत गरिने स्पष्ट पारे ।

“सार्वजनिक खरिद नियमावली पटकपटक संशोधन हुँदै आए पनि त्यसले हाम्रो राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “खरिद प्रक्रियाका प्रक्रियागत ढाँचालाई सरलीकृत गर्दै निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकतामा छ ।”

निर्माण व्यवसायीहरूको समेत सहभागितामा ऐन संशोधन गरी पूर्वाधार विकासलाई गति दिन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले निर्माण कम्पनीहरूको पुँजीगत सामथ्र्य, प्रविधि र जनशक्तिका आधारमा निर्माण कार्यसम्बन्धी वैज्ञानिक नीति र मापदण्ड निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

निर्माण व्यवसायीहरूले प्राप्त गर्नुपर्ने बक्यौता रकम भुक्तानीको प्रक्रिया अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बाँकी बक्यौता रकम तुरून्त भुक्तानी दिन अर्थ मन्त्रालयलाई निर्देशित गरिसकेको जानकारी दिए । उनले भने, “छिटोभन्दा छिटो बक्यौता रकम भुक्तानी गरी पूर्वाधार विकासका कामलाई गति दिनसमेत सरकार प्रतिबद्ध छ ।”न्युज कारखाना

काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सहकारी विभाग र आदिवासी जनजाति विभागका सदस्य मनोनयन गरेका छन् ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले पार्टीको विधान बमोजिम सहकारी र आदिवासी जनजाती विभागमा १०-१० जना सदस्य मनोनित गरेका हुन् ।

कांग्रेसको सहकारी विभागमा केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल प्रमुख रहेका छन् ।

सहकारी विभागमा मनोनित सदस्यहरु:

१. भानुभक्त ढकाल, बागमती प्रदेश
२. चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेश
३. डिल्लीराम तिवारी, गण्डकी प्रदेश
४. राजेन्द्र पौडेल, बागमती प्रदेश
५. गोमा नेपाल, कोशी प्रदेश
६. पदम दाहाल, कर्णाली प्रदेश
७. विश्वप्रकाश पौडेल, सुदूरपश्चिम प्रदेश
८. शम्भु घिमिरे, बागमती प्रदेश
९. नवराज न्यौपाने, लुम्बिनी प्रदेश
१०. कृष्ण खनाल, कोशी प्रदेश

त्यसैगरी केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको आदिवासी जनजाति विभागमा मनोनित सदस्यहरु

१. नगेन्द्रकुमार कुमाल, इलाम
२. रेशमबहादुर गुरुङ, गोरखा
३. आनन्दसन्तोषी राई, धनकुटा
४. आङपासाङ शेर्पा, दोलखा,
५. चन्द्रकुमार आङ्दम्वे, पाँचथर
६. सलाम सिंह तामाङ, काभ्रेपलाञ्चोक
७. थममाया छन्त्याल, बाग्लुङ
८. रमेश जिमी, संखुवासभा
९. धनबहादुर श्रेष्ठ, काठमाडौं
१०. कृष्ण घिसिङ, रामेछाप

न्युज कारखाना

काठमाडौं, १६ चैत ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् ।

 

अन्तर–व्यवस्थापिका सङ्‍घको १४८ औँ महासभामा भाग लिएर सभामुख घिमिरे स्वदेश फर्किएका हुन् ।

 

महासभामा नेपालको सहभागिता लगायतका विषयमा त्रिभूवन विमानस्थल आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको उपस्थिति बलियो रहेको जनाए ।

 

अन्तर व्यवस्थापिका सङ्‍घको १४८औँ महासभा जेनेभा, स्वीजरल्याण्डमा २३ मार्च देखी २७ मार्चसम्म भएको थियो ।

न्युज कारखाना

काठमाडौं, १६ चैत्र।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् ।

 

महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

 

प्रधानमन्त्रीले भने,  ‘‘विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ। तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्नँ। त्यसैले महिला सशक्तिकरणका लागि सबैको हातेमालो आवश्यक छ। त्यसैले आजको दुनियामा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ।’’

 

सशक्तिकरणको सवाल आजको दुनियाँमा शक्तिसँग जोडिएकोमा प्रधानमन्त्रीको भनाइ छ ।

 

उनले अगाडी भने,  ‘‘सशक्तीकरण आजको दुनियामा शक्तिसँग जोडिएको छ। शक्ति अर्थसँग जोडिएको छ। आर्थिकरूपमा सशक्त नभई साँचो सशक्तिकरण हुन सक्दैन। यसलाई सरकारले उच्च प्राथमिकता दिएको छ।’’

 

सो अवसरमा प्रधानमन्त्रीले महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायहरूमा करछूट र सहुलियतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिँदै भविष्यमा त्यसलाई बढाउँदै लगिनेसमेत बताएका छन ।

‘‘महिला उद्यमशीलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्ने कुरा महत्वपूर्ण छ। सरकारले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरूलाई प्रबद्र्धन गर्न कर छूटदेखि अन्य सहुलियतपूर्ण प्रबन्धहरू गरेको छ, आगामी दिनमा त्यसलाई बढाउँदै लगिने छ,’ प्रधानमन्त्रीले भने ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।