काठमाडौं, २८ फागुन ।
राष्ट्रियसभाको भावी अध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ ।
संसदसचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार मा० नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन् ।

उनका प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र मोहम्मद खालिद (जसपा) रहेका छन् ।
उता प्रतिपक्ष नेपाली कांग्रेसको तर्फबाट
राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा युवराज शर्माले उम्मेदवारी दिएका छन् ।

उनका प्रस्तावकमा आनन्द प्रसाद ढुङ्गाना
समर्थकमा किरणबाबु श्रेष्ठ र शेखर कुमार सिंह (लोसपा) रहेका छन्।न्युज कारखाना
भक्तपुर, २८फागुन ।
भक्तपुरमा अन्तर नगर महिला कब्बडी प्रतियोगिता हुने भएको छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा अन्तरनगर महिला कबड्डी प्रतियोगिता गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन २९, ३० र चैत्र १,२,३ गतेसम्म गर्न लागेको जानकारी गराइयो ।
पत्रकार सम्मेलनमा नगर प्रमुख सुनिल प्रजापतिले शहीद दिवसको अवसरमा प्रतियोगिता गर्न लागेको जनाए ।
प्रत्येक वर्ष एउटा अन्तरनगर खेलकुद प्रतियोगिता गर्ने योजना अनुसार यो वर्ष कबड्डी प्रतियोगिता गर्न लागेको उनले जानकारी गराए ।
त्यसका लागि आफनै संयोजकत्वमा एक सय ५१ सदस्यीय मूल समिति र ११ वटा उपसमितिहरू गठन गरिसकेको उनले जनाए । प्रतियोगितामा देशका विभिन्न १७ वटा नगरपालिकाहरूबाट भाग लिन नाम दर्ता गराइसकेको जनाइयो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु. १ लाख ५० हजार, दोस्रोलाई रु. १ लाख, तेस्रो र चौथोलाई रु. ५०÷५० हजार प्रतिसमूह नगद पुरस्कारको व्यवस्था गरेको सम्मेलनमा जनाइयो । साथै सहभागी खेलाडी र अफिसियलहरुलाई खाने र बस्ने व्यवस्था पनि गर्ने जनाइयो ।
फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुने कबड्डी प्रतियोगिता उद्घाटन रयाली भक्तपुर नगरपालिका वडा नं ९ दत्तात्रय प्राङ्गणबाट बिहान १० बजे शुरु भई तचपाल, इनाचो, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दुधपाटी हुँदै नगरको मुख्य बजार परिक्रमा गरी शहिद स्मृति खेलमैदानमा पुगी उद्घाटन कार्यक्रम हुनेछ । प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) बाट गराउने कार्यक्रम तय गराइएको छ ।
नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथलेटिक्स, चौथो वर्ष बुद्धिचाल र गत वर्ष खो खो खेलको प्रतियोगिता सफलताका साथ सम्पन्न गरिसकेको छ । न्युज कारखाना
काठमाडौँ, २८ फागुन ।
अस्ट्रेलियाले न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ ।
सोमबार बिहान सम्पन्न दोस्रो टेस्टमा अस्ट्रेलियाले ३ विकेटको जित हासिल गर्दै सिरिज २-० ले जितेको हो ।
न्यूजील्याण्डले दिएको २७९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले टेस्टको पाँचौं दिन ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
अस्ट्रेलियाको जितका लागि एलेक्स केरीले अविजित ९८ र पाट कमिन्सले अविजित ३२ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका लागि मिचेल मार्शले महत्वपूर्ण ८० रन बनाएका थिए ।
यस अघि न्यूजील्याण्डले पहिलो इनिंगमा १६२ रन बनाएको थियो भने अस्ट्रेलियाले पहिलो इनिंगमा २५६ रन बनाएको थियो । त्यस्तै न्यूजील्याण्डले दोस्रो इनिंगमा ३७२ रन बनाएसँगै अस्ट्रेलियाले २७९ रनको लक्ष्य पाएको थियो ।
योसँगै अस्ट्रेलियाले सिरिज २-० ले जितेको छ । यस खेलको प्लेयर अफ द म्याच अस्ट्रेलियाका एलेक्स केरी बनेका छन् भने प्लेयर अफ द सिरिज न्यूजील्याण्डका माट हेनरी बनेका छन् ।
हेनरीले २ टेस्टमा कुल १७ विकेट लिएका थिए । न्युज कारखाना
चितवन, २८ फागुन ।
मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनले बाग्लुङमा चैते दसैँ मेलाको अवसरमा यस वर्ष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले ‘मौलिक लोक संस्कृतिको पहिचान, स्रष्टालाई प्रोत्साहन र सम्मान’ गर्नका लागि मेलाको आयोजना गरिएको बताए।
चैते दसैँ मेलामा आयोजना गरिने सांस्कृतिक कार्यक्रमलाई सफल पार्नका लागि मिडिया हाउसले चितवनबाट भेटघाट तथा अन्तक्रिया कार्यक्रम गर्न लागेको कार्कीले जानकारी दिए।
लोक संस्कृतिसँग सम्बन्धित एवं गीत तथा संगीतको क्षेत्रमा काम गरेका विभिन्न व्यक्ति तथा संघ/संस्थासँग भेटघाट गरेर अन्तरक्रिया गर्न लागिएको कार्कीको भनाइ छ ।
भेटघाटका क्रममा बाग्लुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरको पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण तथा परम्पराको निरन्तरता दिने विषयमा समेत अन्तरक्रिया गरिने उनले बताए ।
लक्की सांस्कृतिक कार्यक्रमको बारेमा प्रचार गर्नका लागि चितवनबाट सुरु हुने भेटघाट तथा अन्तरक्रिया काठमाडौँ, पोखरा, बाग्लुङ, बेनीलगायत देशका मुख्य ठाउँहरुमा हुने उनको भनाई छ।
कार्कीले ‘मौलिक लोक संस्कृतिको पहिचान, सष्टालाई प्रोत्साहान र सम्मान’ भन्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको बताए ।
बाग्लुङमा चैते दसैँको अवसरमा आयोजना गरिने लक्की सांस्कृतिक कार्यक्रममा आउने दर्शकहरुले निःशुल्क सहभागिता जनाउन पाउने कार्कीको भनाइ छ ।
अबको केही दिनमा चितवनमा औपचारिक कार्यक्रम गर्दै भेटघाट तथा अन्तरक्रियाको सुरुआत गर्न लागिएको जानकारी दिए।
आफ्नो बेग्लै महत्व र इतिहास बोकेको मेलाले धार्मिक पर्यटनका लागि यात्रा गर्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ । यस मेलामा देशभरिबाट तथा भारतबाट समेत भक्तजन आउने गरेकाले पनि लक्की सांस्कृतिक कार्यक्रम गर्न लागिएको कार्कीको भनाइ छ ।
तत्कालीन पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिका मूर्ति घना जङ्लको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ ।
चैते दसैँमा आयोजना हुने मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमसहित घरायसी प्रायोजनका सामग्री डाला, नाङ्ला, ठेकी आदि बस्तुको किनमेल हुने गरेको छ ।न्युज कारखाना
काठमाडौं, २८ फागुन ।
स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेल्टा भिगोलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र अर्दा गुलेरले एक एक गोल गरेका थिए भने सेल्टा भिगोका भिसेन्ट गुइटा र कार्लोस डोमिंगगुएजले एक एक गोल आत्मघाती गोल गरेका थिए ।
यो जितपछि रियल म्याड्रिडको २८ खेलमा ६९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । रियल म्याड्रिड दोस्रो स्थानमा रहेको जिरोना भन्दा ७ अंकले अगाडी रहेको छ ।
त्यसैगरी सेल्टा भिगोको २८ खेलमा २४ अंक रहेको छ र लिगमा १७औं स्थानमा छ ।न्युज कारखाना
पथरी हत्याकाण्ड :
विनोद र विनिता ठानेर धिरेनले हानेका थिए खुकुरी, तर पर्यो ज्ञानमतिलाई
पथरी (मोरङ), २७ फागुन – ३६ वर्षीय धिरेन खाँ चौधरी अहिले इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा छन्। उनीमाथि पथरी-शनिश्चरे नगरपालिका-७ लामाटोलीकी १५ वर्षीया ज्ञानमति थुलुङको हत्या गरेको आरोप छ।
प्रहरीले ज्ञानमति हत्याको अनुसन्धान करिब टुंगोमा पुर्याइसकेको छ। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की ज्ञानमति हत्याकाण्ड निचोडमा पुगिसकेको बताउँछन्।
‘ज्ञानमति हत्याका मुख्य व्यक्ति उनै धिरेन हुन्, जसले हत्या स्वीकार गरिसके,’ कार्की भन्छन्, ‘धिरेन ज्ञानमति हत्याबारे खुल्न थालेका छन्।’
फागुन २१ गते राति १०:१० मा ज्ञानमतिको हत्या भएको थियो। त्यसको भोलिपल्टै दिउँसो धिरेनलाई प्रहरीले पक्राउ गरिसकेको थियो।
अनुसन्धान गर्दैजाँदा ज्ञानमति हत्याका विभिन्न ‘कहानी’हरू आउन थालेका छन्।
त्यसमध्ये एक हो – पक्राउपछि मात्रै धिरेनले ज्ञानमति मारिएको थाहा पाए। त्यसअघि उनले आफूले ज्ञानमति आफ्नो हातबाट मारिएकी होइनन् भन्ने ठानिरहेका थिए। जब प्रहरीले धिरेनलाई सार्वजनिक गर्यो, अनि मात्र उनले आफूले हानेको खुकुरी ज्ञानमति माथि परेको थाहा पाए।
हत्याको भोलिपल्ट २२ गते धिरेन पक्राउ परे। २३, २४ गते धिरेन प्रहरीसँग केही बोलेनन्। उनी यत्तिमात्र बोलिरहेका थिए – म बाट ठूलो गल्ती भो, मलाई फाँसीको सजाय दिनू।
जब फागुन २५ गते पुग्यो, त्यसपछि धिरेन प्रहरीसँग खुल्न थाले। प्रहरी उपरीक्षक कार्कीका अनुसार उनले आफूले हानेको खुकुरी ज्ञानमतिलाई नभएर अर्कैलाई हो भन्न थाले।
चौधरीले खुकुरी हानेका व्यक्ति ती को थिए?
प्रहरी उपरीक्षक कार्की भन्छन् – ती ज्ञानमतिका फूपूका छोरा विनोद वा उनकी श्रीमती विनिता राई थिए।
चौधरी किन विनोद वा उनकी श्रीमती विनितालाई मार्न चाहन्थे?
कार्की भन्छन् – चौधरीले खुकुरी हान्न खोजेको विनोदलाई थियो। विनोद नभए उनकी श्रीमती विनितालाई हो। नभए पनि चौधरी विनोद र विनिताका दुई छोराछोरीमध्ये एकलाई मार्ने उद्देश्यले नै हिँडेका थिए बाराबाट।
तर, त्यो खुकुरी ज्ञानमतिलाई पर्यो। जुन कुरा धिरेनले खुकुरी हानेको भोलिपल्ट मात्रै थाहा पाएका थिए। उनी ज्ञानमतिलाई मार्न पथरी आएका थिएनन्।
कसरी?
मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रन्जनकुमार दाहालका अनुसार ज्ञानमतिका बुवा र विनोदकी आमा सौतेनी हुन्, अर्थात् आफ्नैपट्टीका सन्तान होइनन् – विनोद र ज्ञानमति।
खोटाङ ऐंसेलुखर्क-६ सल्लेरीकी ज्ञानमति तीन वर्षअघि बुवाले आत्महत्या गरेपछि तराई झरेकी थिइन्।
ज्ञानमति फूपूकी छोरी विष्णुकुमारी राईको घर पथरीमा बसिरहेकी थिइन्। २०७८ साल माघ २८ गते निधन भयो। त्यसपछि उनी विनोदकहाँ पुगेकी थिइन्।
विष्णुकुमारीको मृत्यु भएपछि ज्ञानमतिलाई विनोदले ‘जबरजस्त’ अपनाउनुपर्ने बाध्यता आइलागेको थियो।
विनोद अटो चलाउँछन्। उनकी श्रीमती होटल चलाउँछिन् घरमै।
ज्ञानमतिले आफ्नोपन भन्ने खासै अनुभूति गर्नै पाइनन्, विनोदको घरमा। धिरेनसँग सामाजिक सञ्जालमा चिनजान भएर ‘प्रेम’मा परेपछि उनले आफ्ना दु:ख-पीडाहरू उनै चौधरीलाई सुनाउँथिन्।
‘विनोद र उनकी श्रीमती विनिताले होटलको काममा ज्ञानमतिलाई अत्यधिक खटाउने, दु:ख-पिर-समस्यामा खासै वास्ता नगर्ने गर्दा रहेछन्,’ हिरासतमा रहेका धिरेनको बयान उद्धृत गर्दै डिएसपी दाहालले भने, ‘बुवाको मृत्युपछि पथरीमा विनोदकी दिदीको घरमा उनी आइन्, दिदीको मृत्युपछि आफ्नो ठानेर विनोदको घरमा पुगिन्, त्यहाँ पनि ममता नपाएपछि विरक्तिएकी ज्ञानमतिले धिरेनलाई कुरा सुनाउन थालिन्।’
१४ वर्षका छोरा, आमा र श्रीमतीलाई बारा जितपुर सिमरामा छोडेर कुवेत हिँडेका धिरेन परिवारबाट बेखुसी थिए। उनी पूर्वप्रहरी जवान हुन्। उनकी श्रीमती कतारमा छिन्। उनका बुवा कान्छी श्रीमतीसाथ मोरङ ग्रामथान गाउँपालिका-४ मा बस्छन्।
ज्ञानमतिको मोबाइल थिएन। विनोदकै मोबाइलबाट धेरैजसो फेसबुक चलाउँथिन्। यसबाहेक जसको फोन पाउँथिन्, फेसबुक खोलेर धिरेनसँग कुरा गरिहाल्थिन्।
उनले विनोदको घरमा आफूलाई ‘राम्रो व्यवहार नभएको’ सुनाउँथिन्। किशोरावस्थाकी ज्ञानमतिसँग एक वर्षअघि नै भेटेर जोगबनी नाकासम्म पुगेका छँदैथिए धिरेन। दुबै परिवारले छुट्याएर ल्याए पनि धिरेन र ज्ञानमतिको प्रेमको गाँठो ‘कसिलो’ भइरहेको थियो।
धिरेनलाई ज्ञानमतिले भन्थिन् – मलाई बिहे गरेर लैजानू।
तर, धिरेनको अवस्था थाहा पाइसकेका विनोद त्यो सम्बन्धलाई लिएर रुष्ट थिए।
धिरेनको पारिवारिक अवस्था जे भए पनि ज्ञानमति उनीसँग छुट्टिन नसक्ने भइसकेकी रहेको प्रहरी अनुसन्धानले देखाएको छ।
तेस्रो, धिरेनले प्रहरीका अनुसन्धान अधिकृतसँग भन्न थाले – मैले ज्ञानमतिलाई खुकुरी हानेकै होइन।
किन?
डिएसपी दाहाल भन्छन् – ज्ञानमतिसँग धिरेनको अत्यधिक प्रेम थियो, धिरेनसँग ज्ञानमति पनि उत्तिकै प्रेममा थिइन्।
यसको पुष्ट्याइँका लागि धिरेनसँग अनुसन्धान अधिकृतले प्रश्न सोध्न थाले। अहिले धिरेन बल्ल खुलेर बोल्न थालेका छन्।
दाहालका अनुसार धिरेनले फागुन २६ गते हिरासतमै ज्ञानमतिको किरिया गर्ने अनुमति मागे। धिरेनले भने – मलाई सेतो कपडा ल्याइदिनू।
अनुसन्धान अधिकृतले भने – ‘त्यो मिल्दैन।’
त्यसपछि धिरेनले अधिकृतलाई अनुरोध गरे – म ज्ञानमतिको लाश जलाएको ठाउँमा जान्छु।
अधिकृतले भने – दाप मात्र भेटिएको छ, खुकुरी कहाँ फाल्यौ?
धिरेनले भने – पहिले ज्ञानमतिलाई जलाएको ठाउँ पुग्छु अनि भनौंला।
अनुसन्धान अधिकृतले धिरेनलाई हिरासतबाट निकालेर ज्ञानमति जलाएको सुनझोडा खोला पुर्याए। त्यहाँ धिरेनले लाश जलाए ठाउँतिर अन्जुलीमा पानी लिएर फालिदिए।
त्यसपछि धिरेनले खुकुरी कहाँ छ भन्छु भने।
उनले जसो भने, अनुसन्धान अधिकृतले पत्याए। धिरेनले ज्ञानमति बसेको विनोदको घरको पूर्वपट्टीको पानी बगिरहेको खोलो देखाइदिए।
‘खुकुरी यहाँ फालेको छु भनेर भनिदिए,’ डिएसपी दाहाल भन्छन्, ‘उनले जहाँ भनेका थिए, खोलामा छिर्दा खुकुरी भेटियो।’
हत्यापछि खुकुरीको दाप धिरेनले घटनास्थल छेउमै छोडेका थिए। ‘भेटिएको खुकुरी र दापको आकार मिल्यो,’ डिएसपी दाहालले भने।
घटना अनुसन्धानमा ज्ञानमतिका दाइ विनोदले खासै सहयोग गरेका छैनन्। उनलाई प्रहरीले शंकाको घेरामा राखिरहेकै थियो। ‘अहिले पनि छन् शंकाको घेरामै,’ दाहालले भने, ‘अब लगभग अनुसन्धान सकियो, धिरेनले नै सबै कुरा स्वीकारेका छन्।’
हत्याको अघिल्लो दिन नै धिरेन बाराबाट पथरी आएका थिए। पथरीमा गाडीबाट उत्रिएपछि उनले ‘केही योजना बनाए’ भन्ने डिएसपी दाहालको भनाइ छ।
तर, धिरेन त्यो दिन अर्थात् फागुन २० गते विर्तामोड पुगेका छन्। त्यहाँ जाँदा उनले ‘केटी साथी’लाई भेटेको भनेका छन्।
भोलिपल्ट धिरेन दिउँसो २:४८ मा पथरी आइपुगे। त्यहाँ आएपछि उनले मोबाइल अफ गरे। त्यहाँबाट सिधै धिरेन लामाटोली पुगे। लामाटोली उनै विनोदको होटलमा गएर चाउमिन खाए, त्यो पनि ज्ञानमतिकै हातबाट।
त्यो समय साढे ३-४ बजेभित्रको हो। त्यसपछि धिरेन विनोद वा उनकी श्रीमती विनिता जो भेटे पनि सिध्याउँछु भनी रुँघेर बसेका छन्।
‘जतिबेला महिलाजस्तो मानिस ट्वाइलेटबाट निस्कियो, धिरेनले खुकुरी छपाछप हाने, त्यो खुकुरी उनले विनोदको श्रीमती विनितालाई हानेको हुनुपर्छ,’ डिएसपी दाहालले भने, ‘तर, त्यो खुकुरी ज्ञानमतिमाथि परेको छ। धिरेनले ज्ञानमतिलाई मार्न चाहँदैनथे।’
ज्ञानमतिको मृत शरीर भेटिएको ट्वाइलेट अगाडि हो। त्यहाँ बत्ती पनि जडित छ। तर, त्यसबेला बत्ती बलेको थियो वा थिएन भन्ने कुराको पुष्ट्याइँका निम्ति ज्ञानमतिका दाजू विनोदले बताएका छैनन्।
‘अनुसन्धान जारी नै छ, अनुसन्धानमा ज्ञानमतिका दाजू पनि छन्, हत्यामा धिरेन एक्लै छन् र उनले हत्या गरेकोमा कुनै शंका बाँकी रहेन,’ डिएसपी दाहालले भने।
ज्ञानमतिको हत्यामा उनको पालनपोषणको जिम्मा लिएको परिवार बढी जिम्मेवार देखिन्छ। धिरेन विनोदको होटल पुगेका दिउँसै थिए। उनीसँग अर्का व्यक्ति पनि पुगेका थिए। तर, ती व्यक्ति को थिए भन्ने यकिन भइसकेको छैन।
‘धिरेन लामाटोली पुगेको दिउँसै हो, सिसिटिभी फुटेजहरूबाट पत्ता लागेको छ, उनी पथरी चोकबाट हिँड्दै त्यहाँ पुगेका हुन् भन्ने पुष्टि भइसकेको छ,’ दाहालले भने।
धिरेन नै हत्यारा हुन् भन्ने प्रमाण प्रशस्त संकलन भएका छन्। धिरेनले लगाएको जुत्ता र हत्यापछि भाग्दा भेट्टाइएका जुत्ताका पाइला मिलेका छन्।
‘अब ज्ञानमति हत्याबारे धेरै लम्बाइ-चौडाइ बाँकी रहेन,’ डिएसपी दाहाल भन्छन्।
सिराहा,२८ फागुन।
सिरहाको एक सरकारी कार्यालयमा कार्यालय प्रमुखकै मिलोमतोमा करार सेवामा कार्यरत्त कार्यालयका सहयोगीले सेवाग्राहीसँग अनुदानको ट्याक्टर मिलाइदिने भन्दै लाखौं रुपैयाँ ठगेर फरार भएको रहस्य वाहिरिएको छ।

जिल्लाको कृषि ज्ञान केन्द्र, सिरहाका कार्यालय प्रमुख नरेन्द्र कुमार महासेठकै मिलोमतोमा करार सेवामा कार्यालय सहयागीको रुपमा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानहरुलाई अनुदानमा ट्याक्टर दिलाइदिने भन्दै लाखौं रकम असुल गरी फरार भएका हुन्।

कार्यालय सहयागीको रुपमा कार्यरत कर्णले कृषि ज्ञानकेन्द्रबाट अनुदानमा वितरण गरिने कृषि औजारहरु ट्याक्टर, थ्रेसर, पावर ट्रेलरलगायतका कृषि उपकरण लिन कार्यालय प्रमुखलाई आग्रीम घुस रकम दिनुपर्ने भन्दै ११ जना किसानहरुसंग कर्णले करिव ९६ लाख रकम ठगेर फरार रहेको पिडित किसानहरु बताउछन्।

कार्यालय सहयागी कर्णले लक्ष्मीपुर पतारी ५ का लालु यादवसंग अनुदानको ट्रयाक्टर मिलाइदिने भन्दै ५ लाख रकम लिएको थियो। यादवले नत अनुदानको ट्याक्टर नै पाय नत रकम नै फिर्ता पाए। उनले भने, ‘रकम दिएपनि मैले ट्याक्टर पाइनँ, पछि रकम फिर्ता गनुपर्ने भनेपछि कर्णले २०८१÷४÷१७ गतेको मिति उल्लेखित पाचँ लाखको चेक दिए। अहिले सुन्छु उनी फरार छन्।’

औरही गाउँपालिका–२ स्थित तुलसीपुरकी पुनिता महतोले ‘ठगी गर्ने कर्ण चिनजानकै व्यक्ति हुन्। कृषि ज्ञान केन्द्रका कर्मचारी पनि भएकाले विश्वास गरी ट्र्याक्टर पाउने आशले आग्रिम अनुदानको आधा रकम बुझाईदिए।

तर, ‘अहिले न ट्याक्टर पाइयो, न रकम फिर्ता नै।’ उनका अनुसार कर्णले गत कात्तिक १९ र २० गते नबिल र ग्लोबल आइएमई बैंकको चेक दिएका थिए। तर उक्त खातामा चेक वरावरको रकम नभएको बैंकले बताए।

पीडितले पटक–पटक बैंक जाँदा पनि उक्त खातामा रकम नभएको जानकारी पछि चेक अनादारमा बैंकिङ कसुरसम्बन्धी जिल्ला प्रहरी प्रशासन कार्यालयमा बैंकको अनादार चेक रिपोर्टसहित निवेदन दिएका बताइएको छ।

अर्नामा गाँपा ४ का मनोज कुमार यादवलाई पनि कर्णले ठगर फरार भएपछि मानसिक तनावमा परेको बताए। कर्णले सिराहाको औरही, अर्नामा, कल्यानपुर, मिर्चैया, वरियारपट्टी, लक्ष्मीपुर पतारीलगायतका स्थानबाट ११ जना किसानको करिव ९६ लाख कर्णलाई ट्याक्टर पाउने आशमा बुझाएको पीडितहरुले बताए।

पीडितहरुको यकिन तथ्यांक नभए पनि सयौंको सङ्ख्यामा हुनसक्ने स्थानीय मनोज यादव बताउँछन्। उनका अनुसार नागरिकको कम्तीमा पनि १० करोड बराबरको रकम हिनामिना गरी कर्ण फरार भएका छन्। फरार कर्ण सिराहा नगरपालिका १० स्थायी बाासिनदा हुन्। अहिले दैनिक दर्जनौं पीडित व्यक्ति घर पुग्ने गरेको बताइन्छ।

कृषि ज्ञान केन्द्र सिराहाले भने फरार रहेका कर्ण कार्यालय सहयोगीमात्र भएको जानकारी दिएको छ। बजारमा कार्यालय सहयोगी कर्णले रकम असुलि गरेको भन्ने हल्ला चलेकाबेला आफूहरुले अनुसन्धान गर्दागर्दै कार्यालय छोडेर भागेको ज्ञानकेन्द्रका प्रमुख महासेठले बताए।
उनले भने, ‘केहि दिनदेखि हामीले पनि हल्ला सुनिरहेका थियौं, हामीले पनि सोधी खोजी गर्न थालेपछि उनी फरार छन्।’ कर्ण कृषि ज्ञानकेन्द्र स्थापना भएपछि २०७७ मा किसुनदेव राउत कार्यालय प्रमुख भएका बेला करार सेवाका कार्यालय सहयोगी नियुक्त भएका थिए।
प्रत्येक पीडितहरुबाट कर्णले पाँचदेखि नौ लाखसम्म लिइएको थियो। केही बैंकमार्फत त केही नगदमा उक्त रकमको कारोबार गरिएको पिडितहरु बताए। ट्याक्टर नपाउने सबैको रकम फिर्ता गरिदिने जनाउँदै विभिन्न मितिमा नबिल र ग्लोबल आइएमई बैंकको चेक सहीछाप गरी पीडितलाई दिएका थिए।
कर्णले नायव सुब्बाको परिचयपत्र झुन्ड्यार ठगीगरेको पीडितहरु बताउँछन्।न्युज कारखाना
काठमाडौ, २७ फागुन ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा २००, भारतीय सुन्तला ९०, आभोकाडो ५०० र स्ट्रबेरी भुईऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, भारतीय ठूले गोलभेडा ७०, अदुवा २००, रातो आलु ३२ र रातो भारतिय आलु ३५ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ३०, लौका ५०, कागती २२०, लोकल काक्रो १००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा २५, हाइब्रीड सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी १०० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ र टाटे सिमी ९० रुपैयाँ, हरियो फर्सी लाम्चो ३० र हरियो डल्लो फर्सी ५० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ७० र जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७२, हरियो प्याज ५० र पुदीना २५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ३०, चाइनिज सुकेको लसुन २२०, हरियो लसुन ९० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ५०, भिण्डी १०० र हरियो धनिया ५० रुपैयाँ पाइने समितले जनाएको छ।
उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ।न्युज कारखाना
काठमाडौ, फागुन २८ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७६ पैसा कायम गरिएको छ । आइतबार पनि सोही मूल्यमा यसको कारोबार भएको थियो ।
सोमबार एक युरोको खरिददर १४४ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४५ रूपैयाँ २३ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०७ पैसाले बढेको हो । आइतबार युरोको खरिददर १४४ रूपैयाँ ५० पैसा र बिक्रीदर १४५ रूपैयाँ १६ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ ५० पैसाले बढेर एकको खरिददर १६९ रूपैयाँ ९४ पैसा र बिक्रीदर १७० रूपैयाँ ७२ पैसा कायम गरिएको छ । आइतबार बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६९ रूपैयाँ ५५ पैसा र बिक्रीदर १७० रूपैयाँ ३२ पैसा तोकिएको थियो ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ६० र बिक्रीदर ८७ रूपैयाँ ९९ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ०४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४९ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९९ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ ०३ पैसा तथा बिक्री दर १० रुपैयाँ ०८ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २४ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४० पैसा, युएई दिराम एकको खरिददर ३५ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रूपैयाँ १४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २८ रूपैयाँ २१ पैसा र बिक्रीदर २८ रूपैयाँ ३४ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ७७ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ७२ पैसा र बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।न्युज कारखाना
आजमिति २०८० साल फागुन २८ गते तदअनुसार मार्च ११ , २०२४ सोमबार, शुक्लपक्षको प्रतिपदा तिथि, उत्तरभाद्र नक्षत्र, सुभ योग । मिन राशिमा चन्द्रमा । शुभ कार्यकाल लागि यो शुभ योग हो ।
• अभिजित् मुहूर्त: बिहान ११:५१ देखि १२:३८ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०६:१८
• सुर्यास्त: बेलुका ०६:११ बजे
मेष
समय मध्यम छ । स्वस्थ जीवनशैली अनुसरण गर्नुहोस्। आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। साथीसँग संबंध विकसित गर्नुहोस् र उनीसँग समय बिताउनुहोस्। परिवारसँग समय दिनुहोला ।
• शुभ रंग: निलो
• शुभ अंक – ८
वृष
समय राम्रो छ । स्वास्थ्यको लागि समय दिनुहोस् र कार्यमा आनन्द लिनुहोस्। आर्थिक संकटहरूको समाधान हुने समय हो। वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूलाई समर्थन गर्नुहोस्।
• शुभ रंग: सेतो
• शुभ अंक – ३
मिथुन
समय मध्यम छ ।
धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्।
• शुभ अंक – ६
• शुभ रंग : रातो
कर्कट
समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा संबंध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।
• शुभ रंग: पहेलो
• शुभ अंक – ६
सिंह
समय मध्यम छ । शारीरिक र मानसिक स्वास्थ्यको लागि समय दिनुहोस् र आराम लिनुहोस्। आर्थिक संगठन र निवेश गर्नुहोस्। वित्तीय सावधानी राख्नुहोस्। प्रेम संबंध बलियो बनाउनुहोस् र आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारसँग धेरै समय बिताउने प्रयास गर्नुहोस्।
• शुभ रंग: हरियो
• शुभ अंक – २
कन्या
समय ठिकै छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।
• शुभ रंग: हरियो
• शुभ अंक – ९
तुला
समय मध्यम छ। अती रिसबाट बच्नुहोस् । शारीरिक र मानसिक स्वास्थ्यको ध्यान गर्नुहोस्। आर्थिक योजना बनाउनुहोस् र वित्तीय सम्पत्ति विकसित गर्नुहोस्। साथीसँग आत्मीयता र सहजताको साथमा संबंध बढाउनुहोस्। परिवारसँग समय बिताउदै उनीहरूको समर्थन गर्नुहोस्।
• शुभ रंग: पहेलो
• शुभ अंक – २
बृश्चिक
समय मध्यम छ । आफ्नो कार्य क्षेत्र व्यवस्थित बनाउनुहोस्। आर्थिक स्थिति सुधार हुन सक्छ। निवेशमा विचार गर्नुहोस्। साथीसँग आत्मीयता र समर्थन बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् ।
• शुभ रंग: कालो
• शुभ अंक – ७
धनु
आज समय राम्रो छ । ध्यान र नियमित व्यायाममा समय बिताउनुहोस्। आर्थिक स्थिति सुधार हुने संकेत छ। साथीसँग बिछोड नगर्ने र मनोबल बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् र सम्बन्ध सुधार्नुहोस्।
• शुभ रंग: निलो
• शुभ अंक – ६
मकर
समय मध्यम छ । शारीरिक र मानसिक स्वास्थ्यको लागि ध्यान दिनुहोस् र समय दिनुहोस्। आर्थिक सुधारका लागि उचित प्रयास गर्नुहोस् र बचत गर्नुहोस्। प्रेममा साथीसँग आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारको साथमा समय बिताउनुहोस् ।
• शुभ रंग: रातो
• शुभ अंक – १
कुम्भ
समय ठिक छ । स्वास्थ्यमा समस्या हुनसक्छ, ध्यान दिनुहोस् र निजी क्षेत्रमा आराम लिनुहोस्।आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। प्रेमकालागि साथीसँग भ्रमण गर्नुहोस् र उनीसँग सम्बन्ध बढाउनुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्।
• शुभ रंग: कालो
• शुभ अंक – २
मिन
समय ठिकै छ । शारिरिक र मानसिक स्वास्थ्यको लागि ध्यान दिनुहोस् खर्च बढ्नेछ यसर्थ आर्थिक वचत गर्नुहोस्। प्रेम संबंध बलियो बनाउन समय दिनुहोस् । परिवारसँग आत्मियता देखाउनुहोस् ।
• शुभ रंग: निलो
• शुभ अंक – ७
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युज कारखाना