२०८३ श्रावण २८
२०८३ श्रावण २८

काठमाडौँ, ६ चैत ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तयार भएका जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न गरिने बताएका छन् ।

प्रतिनिधिसभाका सांसदहरूले सोधेकाे प्रश्नहरूको मंगलबार जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले विभिन्न कारणले जग्गाधनी प्रमाणपत्र नभएकाहरूलाई उपलब्ध गराइने जानकारी दिए ।

 

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको बडा नं ७ र ८ का जनताले नापीको समस्याका कारणले ५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र पाउन नसकेको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न निर्देशन दिइसकेको बताए ।

“त्यस क्षेत्रमा २०३२/३३ सालतिर नापी हुँदा फिल्डबुकमा ९० प्रतिशतसम्म दर्ता भैसक्दा पनि सिमाना विवादलगायत कारणले स्थानीयबाट विरोध हुँदा प्रमाणपत्र दिने काम हुन सकेको थिएन,” प्रधानमन्त्री प्रचण्डले भने, “पछिल्लो समयमा यातायात पूर्वाधार निर्माण, अनौपचारिक रूपमा जग्गाको स्वामित्व हस्तान्तरणलगायत कारणले साविकमा नापजाँच हुँदा र अहिलेको अवस्थामा फरक हुन आएको कारण दर्तामा समस्या देखिएको रहेछ ।”

 

उनले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको दुईवटा भवन मकवानपुरको चित्लाङमा निर्माण भएको र पाँचखाल नगरपालिकामा संरचना निर्माणका लागि विश्विद्यालय अनुदान आयोगको सिफारिस समेतका आधारमा मित्रराष्ट्र चीन सरकारको सहयोगमा संरचना निर्माणका लागि प्रक्रिया अघि बढाइसकिएको बताए ।

 

सुनकोशी तेस्रो जलविद्युत आयोजना संयुक्तरूपमा कार्यान्वयनका लागि नेपालका तर्फबाट नेपाल विद्युत प्राधिकरण तथा बङ्गलादेशका तर्फबाट बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डलाई लाइन एजेन्सी तोकिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले  दुई देशबीचको सचिवस्तरीय बैठकको निर्णयानुसार संयुक्त लगानीको कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढेको स्पष्ट पारे ।न्युज कारखाना

 

काठमाडौँ, ६ चैत ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाका सांसदहरूले सोधेकाे प्रश्नहरूको म‌ंगलबार जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारेका हुन् ।

“सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन ।”

सुशासनको सङ्कल्प लिएर आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका काण्डहरूको छानबिन भइरहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यलाई अझै प्रभावकारी बनाइने बताए ।

 

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी दलहरूले उठाएको विषयमा प्रधानमन्त्री प्रचण्डले भने, “हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै जोडिएको देखिएको छैन ।”

प्रधानमन्त्री प्रचण्डले सहकारीमा रवि लामिछानेको नाममा प्रवाह भएको भनिएको ऋण फर्छ्योट भएको देखिन आएकाले उनको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ‘ब्रिफिङ्ग’ भएको सदनलाई जानकारी गराए ।न्युज कारखाना

 

धनगढी, ६ चैत ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफुतिर नलागेको झोंकमा गृहमन्त्री रवी लामिछानेलाई फसाउन लागेको बताएका छन् ।

प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भने, ‘रवि लामेछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरु कुनै कुरा प्रमाणित भएको छैन तर काँग्रेसले आफुतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ।’

 

आफू प्रधानमन्त्री भएको बेला शेरबहादुर तामाङ र गोकुल बास्कोटाको प्रसङ्ग थप्दै उनले भने,  ‘मैले बोलाई चिप्लेकै कारण शेरबहादुर तामाङ र गोकुल बास्कोटालाई फिर्ता बोलाए, तर भएको केही पनि थिएन । नेपाली काँग्रेसका मन्त्री त झण्डा हल्लाउदै अख्तियार गएका थिए, सबैले देखेको होईन, अनि अहिले गृहमन्त्रीका बारेमा कुन नैतिकताले प्रश्न उठाउने ?’

उनले का‌ंग्रेसले सरकार छोडनुपरेको पिडामा छाती पिटिरहेको ब्यंग्यसमेत गरे ।  ‘काँग्रेसको अहिलेको कदम, सरकारबाट बाहिरिएको पीडा हो । उसले सरकारबाट बाहिरिएको पिडामा छाति पिटेर रुदै के भन्छ ? त्यसलाई धेरै महत्व दिईराख्नुपर्ने आवश्यकता छैन,’ अध्यक्ष ओलीले भने ।

 

उनले सुनकाण्डमा माओवादीका उपाध्यक्ष पक्राउ परेको घटनामा पत्रकारहरुले राखेका जिज्ञासामा कानूनअनुसार हूने बताए । ’‘सोमबार माओवादीका नेता पक्राउ परेका होईनन । माओवादीका नेता पक्राउ पर्दैनन तर अनुसन्धानभीत्र आएका जो कोही पनि पक्राउ पर्न सक्छन,’ अध्यक्ष ओलीले भने ।

अध्यक्ष ओलीले  नेकपा एमालेले सुनकाण्डका बारेमा आयोग वा छानविन समिति गठन हुनुपर्छ भनेर पहिला नै राखेको अडान अहिले पुस्टि भएको बताए । ‘त्यतीबेला हामीले आयोग गठन हुनुपर्छ भन्यौ, तर काँग्रेसले २ महिला ढिलो गरिदियो’अध्यक्ष ओलीले भने ।

एक अर्को प्रसङ्गमा ओलीले अबको बाँकी कार्यकाल प्रचण्डनै प्रधानमन्त्री हुने संकेत गरे । पत्रकारहरुको जिज्ञासामा ओलीले भन्नुभयो, ‘मलाई अहिले प्रधानमन्त्री खान मन छैन, अरु कोई तयार भएको छैन । उहाँले (प्रचण्ड)ले नै खानुहोला जस्तो पो देखिएको छ त।’

नयाँ गठबन्धनलाई बाग्मती, गण्डकी र कोशीमा प्रदेश सरकार गठन गर्न असहज भएको छ ।

प्रदेशको भागबण्डा र यी तीन प्रदेशको समिकरण बारे पत्रकारहरुले सोधेका प्रश्नको जवाफमा ओलीले भने, ‘अहिले त्यस बारेमा म केही नभनौं । किनकि मैले पत्रकारलाई भएको कुरा भन्नुपर्छ । अनुमानका भरमा भन्नुहुँदैन ।’न्युज कारखाना

काठमाडौं, ६ चैत ।

यसवर्षको प्रतिक्षित फिल्म ‘महाजात्रा’ सम्पूर्ण वर्गका दर्शकले हेर्न पाउने भएका छन् । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई हेर्दै ‘यु’ अर्थात् युनिभर्सल प्रमाणपत्र दिएको छ । अर्थात् चैत ९ गतेदेखि नेपालसहित विश्भर एकसाथ प्रदर्शन हुने फिल्म सम्पूर्ण वर्गका दर्शकले हेर्न पाउनेछन् । फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले फिल्मले मनोरञ्जनसँगै संदेश दिने भएकाले यो सम्पूर्ण वर्गका दर्शकलाई लक्षित गरेर तयार गरिएको बताए ।

‘हामीलाई आइडिया फुरेपछि त्यसलाई जात्राकै सेटअपमा तीन पात्रमार्फत व्यक्त गर्दा न्यायपूर्ण हुने लागेर यसमा राखिएको हो । यसमा राजनीति जोडिएको छ तर फिल्म त्यसमा केन्द्रीत भने छैन । यो जात्राकै सेटअपमा तयार भएको फिल्म हो’, निर्देशक भट्टराईले भने ।


आफूले भन्नु पर्ने राष्ट्रिय विषय भएकाले त्यसलाई जात्रामार्फत व्यक्त गर्न लागेको बताउदै निर्देशक भट्टराईले तीन पात्र बाहेक नयाँ कलाकार र परिवेश रहेको बताए ।

‘यसमा फडिन्द्र, मुन्ना र जोएशसँगै नयाँ अनुहारले नयाँ परिवेशलाई भित्राएका छन् । फिल्म हेरेपछि उस्तै कथा वा परिवेशलाई लिएर उठिरहेको प्रश्नको जफाव पाउनु हुनेछ भन्नेमा विश्वस्त छु । जात्रा शृङ्खलाकै निरन्तरता भएकाले त्यसमा जोडेका हौँ’, निर्देशक भट्टराईले भने ।
अभिनेतासँगै कार्यकारी निर्माता रहेका रवीन्द्रसिंह बानियाँले फिल्म बजार र दर्शकलाई हेरेर तयार गरिएको बताए ।

‘हामीले जात्रा शृंखलाको लिगेसीलाई बढाउने गरी महाजात्रा तयार गरेका छौँ । यसमा हरिवंश दाई जोडिनु भएकाले महाजात्रा भएको छ । फिल्मले सामाजिक दायित्व र दर्शकलाई मनोरञ्जन दिने दुवै दायित्वलाई निर्वाह गरेको छ’, अभिनेता बानियाँले भने ।


अभिनेता हरिवंश आचार्यले आफू ‘जात्रा’ मार्फत नै गायकको रुपमा शृङ्खलामा जोडिएको बताउदै यसपटक भूमिकामै रहेको जानकारी दिए । उनले निर्देशक भट्टराई र षटकोण आर्ट्सले निर्माण गर्ने फिल्म प्रति आफू ढुक्क भएर काम गर्न सक्ने वातावरण रहेको बताए ।

 

‘अहिले महाजात्रा नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको सन्दर्भ नेपाली फिल्मकै लागि गौरवको विषय बनेको छ । किनकि यो भव्य रुपमा प्रदर्शन हुँदै गरेको आभास सार्वजानिक पोस्टरले दिएको छ । अहिले नेपालीले मात्र हेरिरहेको फिल्म विस्तारै विदेशी दर्शकले पनि हेर्ने दिन आउनेछ । त्यो स्थानमा पु¥याउन महाजात्रा पनि एक खुड्किलो हो’, अभिनेता आचार्यले भने ।

फिल्ममा अभिनेता आचार्यले भ्रष्ट नेताको भूमिका निर्वाह गरेका छन् । नकारात्मक भूमिकाले पर्दामार्फत सकारात्मक संदेश पनि प्रवाह गर्ने उनले बताए ।

उनले भने,‘नकारात्मक कार्य वा गतिविधि गर्न हुँदैन भन्ने यसले मनोरञ्जनात्मक शैलीमा ज्ञान समेत दिन्छ । यही कारण पनि म यस भूमिकालाई निर्वाह गर्न सहमत भएको हुँ ।’


फिल्म ‘जात्रा’ मार्फत मुन्नाको रुपमा दर्शकसँग साक्षात्कार गरेका रवीन्द्र झा अहिलेका व्यस्त कलाकार हुन् । प्राय निर्माता तथा निर्देशक उनलाई स–साना भूमिकामा अभिनय गराउन तत्पर छन् । तर, उनलाई फिल्ममा स्थापित गराउने ‘जात्रा’ शृङ्खलामा उनको भूमिका सशक्त छ ।
‘मुन्ना सोझो व्यक्ति हो । तर, उसको जिम्मेवारीले उसलाई प्रलोभनमा पर्न उत्प्रेरित गर्छ । मधेशबाट काठमाडौँ आएको मुन्नाको आवश्यकता बढ्दै गएपछि उसले साथीहरूसँग विविध काममा सहकार्य गरेको हो’, अभिनेता झाले भने ।

सुन र पैसा देखेर भाग्ने मुन्नालाई आवश्यकता र परिस्थितिले गडबड गर्न बाध्य बनाएपनि उसले कसैको हत्या वा नोक्सानी गर्ने नियत नभएको उनले बताए । यसपटक ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ रमाइलोसँगै संदेश मुलक बनेको उनले बताए ।

 

‘फिल्मले अघिल्ला शृङ्खला भन्दा बढी रमाइलो दिन्छ नै साथै यसले संदेश पनि दिन्छ । गम्भीर विषयवस्तुलाई निर्देशक भट्टराईले फिल्मी शैलीमा रमाइलो किसिमले प्रस्तुत गर्नुभएको छ । यो फिल्ममा सबै वर्गले आफ्नो कथा भेट्नुहुनेछ’, अभिनेता झाले भने,‘मेरो भूमिकाले धेरै कुरालाई इङ्गित गरेको छ । मधेशबाट आएको पात्रले कसरी काठमाडौँमा सङ्घर्ष गरिरहेको छ भन्ने यसमा देख्न सकिन्छ ।’

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म चैत ९ मा नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुँदैछ । नेपाल र भारत बाहेकको प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेन्मेन्टस्का अनुसार संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई वितरण र प्रदर्शन गर्दैछ ।

यो फिल्म मार्च २८ देखि साउदी अरेबियामा प्रदर्शन हुँदैछ । पहिलोपटक कुनै नेपाली फिल्म साउदी अरेबियामा प्रदर्शन हुन् लागेको हो । यस्तै फिल्मले प्रदर्शन मिति नजिकिदै गर्दा गरिरहेको प्रचारप्रसारले नेपालसँगै विदेशमा समेत दर्शकलाई फिल्मप्रति चाख बढाएको छ ।
नेपाल भ्रमणका क्रममा फिल्म ‘महाजात्रा’ ले मजदुरदेखि मेयर हर्क साम्पाङसम्म, रिक्सा, बस, सफारीदेखि रत्नपार्कको पुलसम्म प्रचार सामग्री राखेको छ । नेपालमा यस किसिमको भव्य प्रचारप्रसार कमै फिल्मको हुने गरेको छ । क्रिकेट लाइभदेखि अनलाइन विज्ञापन गरिरहेको फिल्मले नेपालसँगै विश्वव्यापी विष्फोटक व्यापार गर्ने अनुमान गरिएको छ । फिल्मका कलाकारसँगै कार्यकारी निर्माता समेत रहेका अभिनेता बानियाँले नेपाली फिल्मको बजार बढाउन प्रचारप्रसारमा कम्जुस्याई गर्न नहुने बताए ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।
फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र काली प्रसाद बाँस्कोटा सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।न्युज कारखाना

बारा, ६ चैत ।

जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा सोमबार कलैया क्रिकेट क्लब बिजयी भएको छ । समूह ‘ए’ को अन्तिम खेलमा कलैयाले आयोजक जीतपुरसिमरा स्पोर्टस् क्लबमाथि ९ विकेटको फराकिलो जीत हात पारेको हो ।

सेज क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आयोजकले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८५ रन जोडेको थियो । आयोजकका लागि पुजन श्रेष्ठले २६, अजय पटेलले १२ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।

आयोजकलाई सस्तोमा समेटने क्रममा शंकर पौडेल र अरनिको यादवले समान दुई विकेट लिए भने अनिलकुमार साह, कुमार थापा र मनु हवारीले एक–एक विकेट लिए । ८६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको कलैयाले ७.३ ओभरमै जीत हात पारेको हो ।

 

कलैयाको जीतमा निरज यादवले बिष्फोटक ब्याटिङ गर्दै ५० रन बनाए । खेलमा अविजित रहेका उनले २२ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । यसैगरी कलैयाका ओपनर साहिल पटेलले १६ र कप्तान त्रितराज दासले १० रन बनाए । आयोजकका लागि प्रभात लामाले एक विकेट लिए ।

 

टिमलाई सानदार जीत दिलाएका निरज प्लेयर अफ दि म्याच घोषित भए । उनलाई जनता माध्यमिक विद्यालयका सहप्रध्यानाध्यापक बरुण गौतमले पुरस्कार वितरण गरेका थिए ।

 

आयोजकविरुद्ध सानदार जीत हात पारेपनि कलैया प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह ‘ए’ बाट लगातार दुई खेल जित्दै चार अंकका साथ पर्सा क्रिकेट संघ फाइनलमा पुग्दा कलैया र आयोजक उपाधी होडबाट बाहिरिएका हुन् ।

 

कलैयाले आफ्नो पहिलो खेलमा आइतबार पर्सा क्रिकेट संघसंग पाँच विकेटको हार व्यहोरेको थियो । पहिलो खेलमा हार व्यहोरेको कलैयाले दोस्रो खेलमा आयोजकविरुद्ध सान्त्वना जीत हात पार्दै दुई अंक बटुलेको हो । यता लगातार दुई खेलमा पराजित हुँदै आयोजक अंकविहिन बनेको छ । आयोजकले आफ्नो पहिलो खेलमा पर्सा क्रिकेट संघसंग ७७ रनले पराजित भएको थियो ।

 

प्रतियोगिता अन्तर्गत मंगलबारदेखि समूह ‘बी’ का खेल हुनेछन् । समूह ‘बी’ को पहिलो खेलमा मकवानपुर क्रिकेट संघ र जनकपुर पिस फाउण्डेशन भिड्दैछन् । यस समूहको तेस्रो टोलीको रुपमा खुकुरी क्रिकेट क्लब भैरहवा रहेको छ ।

 

समूह ‘बी’ को शिर्ष टोलीले पर्सा क्रिकेट संघसंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल चैत्र १० गते हुनेछ । अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।न्युज कारखाना

काठमाडौं, ६ चैत।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंलबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९६ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा डलरको भाय ५ पैसाले बढेको हो। यसअघि सोमबार यसको खरिददर १३२ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९१ पैसामा कारोबार भएको थियो।

मंगलबार २६ पैसाले बढेर एक युरोको खरिदमूल्य १४४ रूपैयाँ ३३ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ९८ पैसा तोकिएको छ। सोमबार भने यसको खरिददर १४४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ७३ पैसामा कारोबार भएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ ०४ पैसाले वृद्धि भइ यसको एकको खरिददर १६८ रूपैयाँ ६१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३८ पैसा कायम गरिएको छ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ९९ र बिक्रीदर ८७ रूपैयाँ ३८ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ७८ पैसा र बिक्रीमा ९८ रूपैयाँ २२ पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८८ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९२ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९८ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३६ रूपैयाँ २१ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २८ रूपैयाँ ०५ पैसा र बिक्रीदर २८ रूपैयाँ १८ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ७१ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ६६ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १२ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ७२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।न्युज कारखाना

न्युयाेर्क, ६ चैत  ।

भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसरी गाड्छन् ? भन्ने पत्ता लगाएका छन् ।

 

एउटा नयाँ अध्ययन अनुसार उत्तरी बंगालको चिया बगानकाे एक खाल्डोमा माउ हात्तिले मरेका सन्तानलाइ गाडेकाे पत्ता लगाएका हुन्  ।

 

अफ्रिकी हात्तीहरूले पनि मरेका छावाका गाड्ने गरेकाे यसअघि पत्ता लागे पनि एसियाली हात्तिमा भने त्याे देखिएकाे थिएन । तर, भारतकाे पश्चिम बंगालमा एउटा घटनाले त्यसलाइ पुष्टी गरेकाे सिएनएनले उल्लेख गरेकाे छ ।

 

‘तर यो पहिलो पटक हो कि एसियाली हात्तीहरूमा व्यवहार दस्तावेज गरिएको छ,Ú अध्ययन लेखक आकाशदीप रोयले भने । उनी  इन्डियन इन्स्टिच्युट अफ साइन्स एजुकेशन एन्ड रिसर्च (आईआईएसईआर) का अनुसन्धानकर्ता हुन ।

 

‘चिया बगानजस्ता खेतीयोग्य जमिन, टुक्रा-टुक्रा भएको जङ्गल भएको ठाउँमा दफन गरिएको छ,’ रोयले अनुसन्धान पछि भने । हात्तीको बथानले चिया बगानकाे हुदैँ यात्रा गर्ने क्रममा साे बाटो प्रयोग गरेकाे देखिएकाे छ ।

 

‘विगतमा हात्तीहरू प्रायजसो जङ्गलमा बस्ने गर्दथे तर पछिल्ला दशकहरूमा तिनीहरू मानव बसोबास भएको क्षेत्रमा बढी सहज भएका छन्,’ रोयले भने, ‘मानव व्यस्त हुने उच्च सम्भाव्यताका कारण हात्तीहरूले आफ्नो मृतकलाई गाउँमा गाड्दैनन् तर चिया बगानका नालीहरू छावा गाड्नका लागि “उत्तम ठाउँ” हुने सक्ने उनीहरूले बुझेकाे हुनुपर्छ ।’

 

“उनीहरूले शवलाई खुट्टा वा सुँडले समात्छन्, यो शवलाई समात्ने एकमात्र तरिका हो,” रोयले भने, ;जसले शवलाई खाडलमा राखेर माटोले छोप्नु हात्तीहरूको लागि सबैभन्दा सजिलो तरिका हो ।’ रोयले भने कि उनी र उनका सह-लेखक भारतीय वन सेवाका परवीन कासवान अन्य अनुसन्धान गर्न यस क्षेत्रमा थिए, जब उनीहरूले छावा गाडिएको प्रमाण फेला पारे। रोयले भने, “यसबाट हामी छक्क पर्यौं।

 

‘अन्वेषकहरूले अफ्रिकी हात्तीहरू झैं एसियाली हात्तीहरूले दफन स्थलहरूमा पुनः भ्रमण गर्छन कि गर्दैनन भनेर पनि हेरेका थिए तर पछि यो पत्ता लगाए कि तिनीहरूले यस क्षेत्रलाई बेवास्ता गर्ने रहेछन, मानौं अब त्यो ठाउँ हेर्नै नपरोस भन्ने ठानेको देखियो,’ रोयले भने।

‘भारतीय वन सेवाले त्यहाँवाट छावाको शव हटाए पनि यही अवस्था छ, माउहरू मात्रै होइन, अरू पनि त्यहाँ फर्केर आएनन्,’ रोयले भने, ‘जसले दफन गर्ने विभिन्न बथानका हात्तीहरूले पनि गाडिएको ठाउँ महसुस गर्न सक्छन् भन्ने विश्वास गर्न सकिन्छ ।’

 

‘उनीहरूलाई धेरै कुरा थाहा छ, जुन हामीलाई थाहा छैन,’ उनले भने। रोयका अनुसार उत्तरी बंगाल र असममा छावा गाड्ने थप घटनाहरू खोजिरहन चाहन्छन्, जहाँ धेरै चिया बगानहरू रहेका छन्।

 

‘अब टोलीले ड्रोन प्रयोग गर्नेछ, साथै चिया बगानका प्रबन्धकहरू र स्थानीय बासिन्दाहरूलाई कुनै दफन स्थलहरू रिपोर्ट गर्न सोध्नेछ,’ उनले थपे।

 

तर, न्यूयोर्कको हन्टर कलेजका मनोविज्ञानका सहायक प्राध्यापक जोशुआ प्लोटनिक, जो यस अध्ययनमा संलग्न थिएनन् तर उनी पनि यो विश्वास गर्दैनन । उनी हात्तिले सन्तालाक्ष दफन गरेकाे कुरामा थप अध्ययन गर्न जरूरी छ ।

‘हात्तीहरूले छावाको  शव बोकेको घटनाहरू देखिए पनि मेरो जानकारीमा, मेरा कुनै पनि सहकर्मीहरू, जसले दशकौंसम्म हात्तीका अध्ययन गरेका छन्, ती सबै हात्तीहरूले मरेकाहरूलाई गाडेको देखेका छैनन्,’ हात्ती र अन्य जनावरहरूमा अनुभूति अध्ययन गर्ने प्लोटनिकले भने।

 

छावा खाडलहरूमा खसे भने उनीहरू बाहिर निस्कन सक्दैनन् र त्यहीँ मर्छन् कि त तिनीहरूको मृत्यु पछि प्राकृतिक रूपमा फोहोरमा परेको वा बथानका अन्य सदस्यहरूले असफल उद्धारको प्रयास गरेको भन्ने धेरै प्रमाणहरू भेटिन्छन् ।

 

‘उसो हो भने यहाँ महत्त्वपूर्ण कुरा यो हो कि यो कुराका लागि थप प्रमाणहरू आवश्यक छ, त्यसका लागि हात्तीहरूको त्यस्ताे व्यवहारको प्रत्यक्ष अवलोकन गर्नु पर्छ, उदाहरणका लागि त्यहाँ के भइरहेको छ ? कसरी पुर्छन ? भन्ने जानकारी लिनु पर्छ, त्यसपछि मात्रै कुनै निष्कर्ष निकाल्न सकिन्छ,’ प्लोटनिकले भने।

 

रोयले भने उनको कुरामा सहमति जनाउँदैनन, भन्छन, ‘मरेका छावाको ढाडमा भएको कन्ट्युसनले बथानका अन्य सदस्यहरूले मृतकलाइ दफन गर्न तानेकाे देखिन्छ ।’

सो अध्ययन फेब्रुअरी २६ मा जर्नल अफ थ्रिटेन्ड ट्याक्सामा प्रकाशित भएको थियो ।न्युज कारखाना

प्योङयाङ, ६ चैत ।

उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका छन् ।

 

उनले पुटिनलाई दिएको बधाई सन्देशमा रूसी जनताले अटल समर्थन जनाएको उल्लेख गरेका छन् ।

 

‘रूसी मतदाताहरूले उनीहरूको पुनः निर्वाचित राष्ट्रपतिलाई अटल समर्थन देखाएका छन्,’ बधाइ सन्देशमा भनिएको छ, ‘राज्यको प्रमुखको भारी जिम्मेवारीमा तपाई पुनः निर्वाचित हुनु भनेको राष्ट्रको नेताको रूपमा उच्च प्रतिष्ठाका साथ राज्यका गतिविधिहरूमा तपाईंले देखाउनु भएको उत्कृष्ट नेतृत्व र दृढ कार्यकारी क्षमता हो, जसलाइ रूसी जनताको मूल्यवान मत हो ।’

 

उत्तरी कोरियाली राज्य नियन्त्रित समाचार संस्थाका अनुसार पुटिनको विजयले रुसी मतदाताको रुसी नेताप्रतिको अटल समर्थन र विश्वासको अभिव्यक्ति भएको बताएको उल्लेख गरिएको छ ।

 

रसिया र उत्तर कोरिया ऐतिहासिक सहयोगी देश हुन तर दुबै विश्वव्यापी प्रतिबन्धको चपेटामा रहेका छन् । मस्कोले युक्रेनमा आक्रमण गरेको र प्योंगयांगले आणविक हतियारको परीक्षण गरेको भन्दै दुवै देश प्रतिबन्ध र नाकाबन्दीको सामना गरिरहेका छन ।

गत सेप्टेम्बरमा पुटिन र किमले रुसको सुदूर पूर्वमा शिखर सम्मेलन गरे पछि संयुक्त राज्य अमेरिकाले प्योङयाङले मस्कोलाई हतियार उपलब्ध गराउन थालेको दाबी गरेको थियो।

 

तर, किमले भ्रमणको क्रममा घोषणा गरेका थिए कि मस्कोसँगको सम्बन्ध ‘आफ्नो देशको नम्बर एक प्राथमिकता हो ।’ प्योङयाङ युक्रेनमा मस्कोको आक्रमणको कट्टर समर्थक देश समेत हो ।

 

यसैबिच, गत जुलाईमा देखि उत्तर कोरियाले युक्रेनसँगको युद्धका लागि रुसलाई करिब ७ हजार कन्टेनर हतियार पठाएको दक्षिण कोरियाका रक्षामन्त्रीले सोमबार दाबी गरेका छन् ।

 

केसीएनएका अनुसार किमले आफ्नो सन्देशमा भनेका छन्, ‘तपाईंको ऊर्जावान र सही मार्गदर्शनमा रुसी जनताले देशको सार्वभौमसत्ता र सुरक्षाको विश्वस्ततापूर्वक रक्षा गर्ने उद्देश्यमा विजय पक्कै जित्नेछन् भन्नेमा म पक्का छु।’

 

पुटिनले पश्चिमी शक्तिहरूले गैरकानूनी भन्दै तीन दिनसम्म चलेको मतदानमा ८७ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका थिए।न्युज कारखाना

मुम्बइ, ६ चैत ।

भारतमा सिनेमाको कुरा गर्ने हो मुख्य कुरा फिल्मले बक्स अफिसमा १०० करोड कमायो कि कमाएन भनेर हेरिन्उँछ ।

 

धेरै पटक कुनै फिल्म १०० करोड कमाएर पनि फ्लपको श्रेणीमा पर्छ किनभने यसको बजेट धेरै हुन्छ। यसै वर्ष रिलिज भएको ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म ‘फाइटर’ यसको ठूलो उदाहरण हो, जसको बजेट २०० करोड रुपैयाँ रहेको बताइएको छ ।

 

तर एउटा मलयालम फिल्म ‘प्रेमालु’ चर्चामा छ । मात्र १० करोडको बजेटमा बनेको यो फिल्मले विश्वभर १०९ करोड कमाएको छ ।

 

मिडिया रिपोर्टमा भनिएको छ कि यो सन् २०२४ को अहिलेसम्मको सबैभन्दा ठूलो ब्लकबस्टर हो । फिल्मका सबै पात्र युवा कलाकारले नै निर्वाह गरेका छन् । करिब एक महिना अघि रिलिज भएको ‘प्रेमालु’ सर्वाधिक कमाउने मलयालम फिल्मको सूचीमा पाँचौं स्थानमा पुगेको छ ।

 

प्रेमलुका निर्देशक गिरीश एडी हुन् । फिल्ममा नास्लेन के. गफुर, ममिता बैजु, संगीत प्रताप, श्याम मोहन एम, मीनाक्षी रविन्द्रन, अखिला भार्गवन र अल्ताफ सलीम जस्ता कलाकारहरूले काम गरेका छन्। विक्रम र पुष्पा जस्ता चलचित्र निर्माण गरेका फहद फासिलले चलचित्र निर्माण गरेका हुन् ।

 

यो फिल्म पहिलो पटक मलयालममा रिलिज भएको थियो। प्रतिक्रिया राम्रो आए पछि निर्माताले तेलुगु भाषामा पनि रिलिज गरेका छन् । इन्डस्ट्री ट्र्याकर सक्निल्कको रिपोर्ट अनुसार प्रेमलुको बजेट करिब १० करोड रुपैयाँ रहेको छ । फिल्मले विश्वभर १०९ करोड कमाएको छ । भारतमा सबै भाषामा फिल्मको कलेक्सन ५७.९७ करोड रहेको छ ।

 

यो फिल्म छिट्टै ओटीटीमा रिलिज हुँदैछ । रिपोर्टका अनुसार यो फिल्म डिज्नी हटस्टारमा रिलिज हुन लागेको हो । यद्यपी यस सम्बन्धमा अहिलेसम्म आधिकारिक जानकारी आएको छैन । हिन्दी सिनेमा प्रेमलुको नाम धेरैले सुनेका छैनन् तर यो फिल्मले दक्षिणमा चमत्कार गरेको छ, जसले मलयालम फिल्म उद्योगलाई नयाँ ऊर्जा दिएको छ।न्युज कारखाना

काठमाडौं, ६ चैत ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ ।

 

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परे पछि भिन्न परिस्थितिमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो । बैठक बिहान ८ बजे देखी सुरू भएको हो ।

 

बैठकमा समसमायिक राजनीतिक बिषयमा कुराकानी हुने तथा पदाधिकारी देखी केन्द्रिय नेताहरूको कार्यबिभाजनको बारेमा पनि छलफल हुने जनाइएको छ ।

 

महरामाथि विद्युतीय चुरोट (भेप) मा सुन तस्करी गरेको आरोप छ । महराका छोरा राहुलविरुद्ध पनि मुद्दा चलिरहेको छ । राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको आरोप छ ।

 

महरालाई अनुसन्धानका लागि ४ दिन पुर्पक्षमा राख्रन अदालतले अनुमति दिए पछि माअोवादीले पदाधिकारी बैठक बोलाएको हो।  न्युज कारखाना

ताजा अपडेट

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी,  काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।  बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।  बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।  बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ ।  निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।  बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।  यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।