इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरुले बदनाम गर्न विभिन्न ढंगले हिलो छ्यापेको बताएका छन् ।
कसैको नाम नलिइकन उनले भने, ‘कहिले हामीमाथी सहकारीको कुरा उठाएर प्रहार गरिन्छ त कहिले के विषय उठाएर प्रहार गरिन्छ । तपाईंहरुले बुझ्नु होला जनताको पक्षमा काम गरेकै कारण यी प्रहार भएका हुन ।’ इलाम उपनिर्वाचनको पूर्वसंध्यामा रास्वपाले इलामको दउमाई नगरपालिकाको मंगलबारेमा आयोजना गरेको बृहद आमसभालाई सम्बोधन गर्ने क्रममा सभापति तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेले त्यस्तो बताएका हुन् ।
रास्वपाका सभापति लामिछानेले भने, ‘पार्टीको सटर बन्द गर्न परे गर्छु तर कुनै लुटेराको पैसा र चन्दा लिएर पार्टी चलाउने छैन । पैसाको बलमा लोकतन्त्र किन्नेहरुलाई खबरदारी गर्न तपाईंहरुले बैशाख १५ मा घण्टीमा भोट हाल्नु पर्नेछ ।’
०८४ को निर्वाचनसम्म आफूहरुलाई पुराना शक्तिहरुले थिलथिलो बनाउने बताउँदै उनले भने, ‘०८४ सम्म हामीलाई थिलथिलो पार्नेछन् हेर्नु होला । जनताको पक्षमा काम गर्नेहरुलाई झुठा मुद्दा लाग्छन्, उनीहरुको विषयमा अनर्गल प्रचार गरिन्छ । तपाईंहरु त्यसले आत्तिनु पर्दैन ।’
नेपाली काँग्रेसले सहकारीको मुद्दा उठाएको बारे सांकेतमा कुरा गर्दै उनले राजनीतिक षडयन्त्रमा आफूलाई फसाईएको बताए । त्यसैको फलस्वरुप आफ्नो पुत्लासमेत जलाईएको उनको कुरा थियो । उनले भने, ‘अहिले धेरै ठाउँमा मेरो पुत्ला जलाउन थालिएको छ, मैले पुत्ला जलाउने साथीहरुलाई अलिक राम्रो फोटो राखेर पुत्ला बनाउनु भनेको छु ।’
यसका साथै उनले जनताबाट प्रत्येक दिन भ्रष्टाचारीलाई पक्रने दबाब भए पनि प्रत्येक दिन धेरै मानिस पक्राउ गर्न नसकिने बताए । ‘मैले प्रत्येक महिनामा ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु तर तपाईंहरु प्रत्येक दिन भ्रष्टाचारीलाई थुन्नु पर्यो भन्नु हुन्छ । तपाईंहरु धेरै आत्तिनु हुँदैन । तपाईंहरु अर्को महिना सप्राइज कुरेर बस्नु होला आउँदैछ ।’
सरकारले अर्को महिना कसलाई पक्रन लागेको र उनीमाथी के आरोप छ भन्नेबारे गृहमन्त्री लामिछानेले केही पनि खुलाएनन् । तर उनले ठूलै सप्राइज आउने बताए ।
उनले आफूहरु देश बनाउने अभियानमा आएको बताउँदै व्यक्तिगत रुपमा त्यसले कसैलाई फाइदा नगरे पनि देशका लागि फाइदाजनक भएको बताए । कार्यक्रममा रास्वपा उपसभापति तथा तनहुँका सांसद स्वर्णीम वाग्ले, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी लगायतले मन्तब्य राखेका थिए ।न्युज कारखाना
काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको फिल्म ‘घरज्वाइँ’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ ।
सार्बजनिक पोस्टरले फिल्म ग्रामीण परिवेशमा बनेको बुझ्न सकिन्छ । पोष्टरमा दयाहाङ र मिरुनासहित शिशिर वाङ्गदेल, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आलेलाई समेत फिचर गरिएको छ ।
पूर्वी रुकुमको तकसेरा क्षेत्रमा छायांकन भएको ‘घरज्वाइँ’मा निर्देशक अनिल मगरकै कथा छ भने पटकथा तथा संवाद लेखन विनोद खतिवडा र सुभाष कोइरालाले गरेका छन् ।
जिएम मुभिज र एबिएम सिनेमा प्रोडक्सनले मिलेर निर्माण गरेको फिल्ममा भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, सुनिल मगर, विवेश बुढा मगर, विना थापा मगर, सोनाम लामा लगायतको पनि अभिनय छ ।
आगामी असार २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । नेपालमा भने आरआर फिल्म्सले ‘घरज्वाइँ’को वितरण गर्नेछ ।न्युज कारखाना
काठमाडौं । बुधबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ०.१५ अंकले बढेर १९६९.१७ विन्दुमा रोकिएको छ ।
त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.१७ प्रतिशतले बढेको छ । आज ३१३ कम्पनीका ७२ लाख ८४ हजार २७२ कित्ता सेयर ३६ हजार ३८३ पटक कारोबार हुदै २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९८ रुपैयाँमा कारोबार भएका थिए ।
त्यस्तै आज पोखरा फाइनान्सको शेयरले सकारात्मक सर्किट लागेको थियो भने गुराँस लघुवित्त वित्तीयको ९.९२, सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको ७.५५ प्रतिशतले बढेको थियो । आज सबैभन्दा बढी माइ खोला हाइड्रोको शेयर मुल्य ७.८४ प्रतिशतले घटेको छ ।
आज ३ समूहको उपसूचकबाहेक अन्यको सूचक नकारात्मक रहेका छ, जसमा फाइनान्स समूहको उपसूचक २.४४ प्रतिशतले बढेको छ । न्युज कारखाना
काठमाडौँ । बैशाख १५ गते शनिवार इलाम-२ र बझाङमा उपनिर्वाचनमा आज रातिदेखि मौन अवधि शुरु हुदै छ । आयोगले बुधबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने हुनाले मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जानकारी गराएको छ ।
आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सुक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने विशेष संयन्त्रमार्फत सुक्ष्म अनुगमन गराउने व्यवस्थासमेत मिलाइसकेको जनाएको छ ।
आयोगले प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनैपनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सन्जालबाट समेत मत माग्न निषेध गरिसकेकोले सोको पालना गर्न गराउन सम्बन्धित सबैमा पुनःस्मरण गराएको छ ।
साथै, निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारणजस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले आग्रह गरेको छ ।
उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई समेत गराउन सम्बन्धित निकायलाई देहाय बमोजिमको निर्देशन दिएको छ-
१. नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सम्बन्धित सबै एकाइ, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृतले नियमित अनुगमन गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता, निष्पक्षता कायम गर्ने ।
२. उपनिर्वाचन हुने सम्बन्धित जिल्लाका निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, संचारकर्मी, तथा निर्वाचनमा संलग्न व्यक्ति, सङ्घ/संस्था र निकाय बाहेक निर्वाचन कार्यसंग असम्बन्धित बाह्य जिल्ला वा क्षेत्रका व्यक्ति र व्यक्तिहरूको अवान्छित आवागमन र अनधिकृत गतिविधिलाई निगरानी गरी निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा अनुगमनमा खटिएका टोली र सम्बन्धित सुरक्षा निकायले नियन्त्रणमा लिई कानूनबमोजिम कारवाही प्रक्रिया अघि बढाउने ।
३. निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ बमोजिम उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेवापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रुपमा नगद वा जिन्सी दिन वा दिन मन्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मन्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुने जस्ता कार्य निर्वाचन कसुर भएकाले त्यस्तो कार्य कहीं कतै भए गरेको पाइएमा कानुनबमोजिम तत्काल कारवाही गर्ने ।
न्युज कारखाना
काठमाडौँ । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद स्थापना भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद स्थापनाका लागि बुधबार दुवै चेम्बरबीच सम्झौता भएको हो ।
कतारका अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानी ले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो । परिषदले व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्नेछ ।
तिव्र आर्थिक वृद्धि भैरहेको खाडी मुलुक कतारसंग सम्वादका लागि परिषद स्थायी संयन्त्र बनेको छ । संयुक्त वाणिज्य परिषद्को उद्देश्य कतार र नेपालका निजी क्षेत्रबीच सहकार्य र समझदारी बढाउनु हो ।
नेपालीहरुको कामको गन्तव्यका रुपमा चिनिदै आएको कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषदले प्रभावकारी भूमिका खेल्नेछ । खाडि मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडिवुटि, मसला र मसलाजन्य वस्तु लगायतको अत्यधिक माग छ । तिव्र आर्थिक विस्तारका कारण कतार लगानी गन्तव्यका रुपमा रहेको हुँदा नेपालमा लगानी आकर्षित गर्न परिषदले प्रभावकारी भूमिका निर्वाह गर्नेछ । यसैगरि पर्यटन प्रवर्द्धनका क्षेत्रमा पनि परिषदले काम गर्नेछ ।
परिषद स्थापनापछि दुइ चेम्बरबीचको सहकार्य थप प्रगाढ भएको र यसले लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने दुवै अध्यक्षले धारणा राख्नु भएको छ । ‘यस सम्झौताले अगामी दिनमा सहकार्यलाई थप बढाउनेछ,’ कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले भने ।
यसैगरि महासंघ अध्यक्ष ढकालले परिषदका मार्फत थप सहकार्यका लागि थप काम गरिने बताए । ‘कतारको तिव्र आर्थिक बिकासबाट फाइदा लिन परिषदले निरन्तर काम गर्नेछ, ’ महासंघका अध्यक्ष ढकालले भने । यसैगरि महासंघ अध्यक्ष ढकालले परिषदको स्थापना पछि नेपालको जल विद्युत, पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानी बढाउन सहज हुनेछ बताए ।
यसैगरि महासंघ र कतार चेम्बरबीचको समझदारी पनि नविकरण भएको छ । नयाँ समझदारीपत्रमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले हस्ताक्षर गरे ।
उक्त सम्झौता पनि कतारका अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको उपस्थितिमा नै भएको हो । महासंघ र कतार चेम्बरबीच सन २००५ मा पहिलोपटक समझदारी भएको हो । त्यसयता दुइ चेम्बरले लगानी र व्यापार प्रवर्द्धनमा विविध सहकार्य गर्दै आइरहेका छन । न्युज कारखाना
सिरहा, १२ बैशाख। जिल्ला ट्राफिक प्रहरी कार्यालय लाहान र यातायात व्यवस्था कार्यालय लहानको सेटिङ्गमा सवारी चालक अनुमतीपत्र (ड्राइभिङ्ग लाईसेन्स)खरिद विक्रि हुने गरेको पाइएको छ।
कर्मचारीहरुले विचौलीया मार्फत मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागी १५ हजार र चार चक्काको लाइसेन्स लिन ३० देखि ३५ अजार सम्म घुस दिएपछि मात्र लिखित र ट्रायलमा पास हुने गरेको पाईएको हो।
ट्राफिक प्रहरी वा यातायातका कर्मचारीलाई घुस नबुझाए जतिपटक परीक्षा र ट्रायलमा सहभागी भएपनि पास नहुने तर घुस वापत रकम बुझाएपछि सजिलै लाईसेन्स हातलाग्ने सेवाग्राहीहरु बताउछन्।
सिरहा गोलबजारका एक युवकले लिखित पास गरेर तीन पटक मोटरसाईकलको लाईसेन्सका लगी ट्रायल दिए। तर, उनी एक पटक पनि पास हुन सकेन। तर, उनीसँगै गएकाहरुले १५ हजार तिरेर लिखित र ट्रायल दुवै पास गरे।
यहाँ जुन सुकै गाडीको लाईसेन्स लिन घुस रकम विचौलियामार्फत बुझाए सजिलै लाईसेन्स पाईने ती युवकले बताए। उनले भने, ‘म विगत १० वर्षदेखि मोटरसाइकल चलाई रहेको छु, लिखित पहिलो पटकमै पासगरें। तर, तीन पटक ट्रायल दिँंदापनि पास हुन सकिएन्। घुस नदिई लाईसेन्स लिउँ भनेको मुस्किल रहेछ।’
‘घुस नदिई काम गराउँछु भन्ने लागेर खुरुखुरु ट्रायल दिएँ। पासै हुन सकिएन। अव त्यसै एक वर्ष पछाडी परियो।’ उलने थपे, ‘अर्काे पटक घुस दिएरै भएपनि पास गर्नुपर्ने अवस्था आयो।’
सिरहा धनगढीमाईका रमेश यादव (परीवर्तीत नाम) पाँच वर्ष देखि गागन खोलामा बालुवा ओसार्ने ट्याक्टर चलाउँछन्। तर, उनीसँग ड्राईभिङ लाइसेन्स थिएन। उनी लेखपड समेत जान्दैन तर, उनले ३५ हजार रुपैयाँ तिरेर लाईसेन्स लिए।
उनले भने, ‘म ट्याक्टर चलाउन जान्दछु, लेखपढ गर्न पनि जान्दिन। पैसा नदिई लाईसेन्स पाइँदैन भन्ने सवै साथीले सुनाएपछि मैले पनि यातायात कार्यालय वाहिरै विचौलीया संग अवैध रकम बुभाएर लाईसेन्स लिएँ।’
ट्याक्टर, म्याजिक र विङ्गरचालकमात्र हैन यहाँबाट लाईसेन्सलिने धेरैले रकम तिरेर र भनसुनकोभरमामात्र लाईसेन्स पाउने गरेको एक विचौलियाले बताए। ति बिचौलियाले भने, ‘रकम नबुझाएसम्म लाईसेन्स नै पाइँदैन, हामीहरुलाई पनि थौरै कोटा दिएको हुन्छ। त्यहि अनुसार सेटिङ्गमा काम हुने हो।’
यस विषयमा यातायात कार्यालय लहानका प्रमुख कुसेश्वर साहसँग फोन सम्पर्क गर्दा उनले फोन उठाएनन्।
रकम नबुझाई ट्रायल पास गराउनु हुन्न भन्ने सेवाग्राहीले गुनासो गरेको विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक डम्वर पुरीसँग जिज्ञासा राख्दा उनले भने, ‘ट्रायल सेन्टरमा गएका हाम्रो ट्राफिक प्रहरीले रकम माँग्ने गरेको भन्ने मलाई जानकारी छैन। भएको भए मलाई जानकारी गराउनुस तुरुन्त कारवाही गछु।’
उनले ट्राफिक प्रहरीले ट्रायल हेर्ने र नतिजा दिनेमात्र हो, बाँकी काम यातायत कार्यलयले गर्नेभएकोले हाम्रो खासै भुमिकापनि हुँदैन । सिरहामा विना विचौलीयाको लाईसेन्स नै बन्दैन भनी जिज्ञासा राख्दा प्रहरी निरिक्षक पुरीले केहि सुनिएन भनी फोन काटे।
यातायात र ट्राफिक प्रहरीले लाईसेन्स वापत अवैध रुपमा उठाईएको रकम जिल्ला , प्रदेश र विभाग सम्म समेत बुझाउने गरेको विगत लामो समयदेखि यातायात कार्यालयमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा जनाएको छ। उनले भने, ‘यातायातका केही कर्मचारी र ट्राफिक प्रहरीहरुको मिलोमतोमय विचौलीया खडा गरेको हुन्छ, लाईसेन्सको लिखित सकिएर ट्राईल सकिने दिन नै अवैध असुली गरेको रकम वाडफाड गर्नेगरेको बताए।’
ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयले विचौलीया खडागरी खुलेयाम रुपमा ड्राइभिङ लाईसेन्स विक्रिवितरण गरिरहेको सेवाग्राहीहरु बताउछन्। ड्राइभिङ लाईसेन्स लिन विचौलीयासंग सेटिङ नमिले लाईसेन्स नपाईने सेवाग्राहीहरुको भनाई छ। न्युज कारखाना
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।
रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।
बिहीबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री कँडेल चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादी केन्द्रसँग मन्त्रालय भागबण्डामा कुरा नमिले पछि उनले अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् ।न्युज कारखाना
पोखरा । कास्की जिल्ला पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।
अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ् गरिरहेका ५ जना फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए ।
दुर्घटना लगत्तै नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा तैनाथ विपद् व्यवस्थापन सहितको टोलीले उनीहरुको तत्कालै सकुशल उद्धार गरेको हो । न्युज कारखाना
क्यार्लिफोनिया, १२ बैशाख । हलिउडकी चर्चित अभिनेत्री एनी ह्याथवेले आफ्नो बारेमा चकित पार्ने खुलासा गरेकी छिन् ।
एक अन्तर्वार्ताका क्रममा अभिनेत्रीले सन् २००० को दशकमा आफूसँग भएको एउटा घटनालाई सम्झिन्, जब उनलाई केमिस्ट्री टेस्टको नाममा एक दिनमा १० जना पुरुषलाई किस गर्न भनिएको थियो । यो उनको लागि निकै स्तब्ध पार्ने घटना थियो। त्यतिबेला कलाकारसँग सम्बन्ध माग्नु सामान्य मानिन्थ्यो । तर, अडिसनका क्रममा यसो गर्नु भन्दा नराम्रोबाहेक अरु कुनै हुनै नसक्ने उनको विश्वास छ ।
हालै वी म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा अभिनेत्री एनी ह्याथवेले यो अनौठो अडिसनको उल्लेख गरेकी छिन् । अभिनेत्रीले भनिन्, ‘यो सन् २००० को दशकको कुरा हो, जब यो मेरो साथमा भएको थियो । मलाई केमिस्ट्री टेस्टको नाममा एक दिनमा १० जना पुरुषलाई किस गर्न भनियो । मलाई भनियो कि आज १० जना आउँदैछन् र तपाईलाई छनोट गरिएको छ। के तपाईं ती सबै मानिसहरूसँग सम्बन्ध बनाउन तयार हुनुहुन्छ ?’
ओस्कार विजेता अभिनेत्री एनी ह्याथवेले अगाडी भनिन्, ‘निर्देशकको यो माग सुनेर म छक्क परें । एक पलको लागी मलाई लाग्यो कि सायद मसँग केहि गलत छ, यसबारे म पटक्कै उत्साहित भइनँ । मलाई साह्रै नराम्रो लागेको थियो ।’
अभिनेत्रीले भनिन्, ‘मैले केही गर्न सकिनँ त्यसैले उत्साहित भएको नाटक गरें। मलाई चिनेपछि कसैले मलाई दुव्र्यवहार गर्न खोजेको थिएन वा मलाई चोट पुर्याएको थिएन तर त्यो समय थियो। यो सबै सामान्य कुरा थियो।’
एनी ह्याथवे अहिले फिल्म ‘द आइडिया अफ यु’ को कारण चर्चामा छिन् । यो एक रोमान्टिक कमेडी फिल्म हो, जसमा अभिनेत्रीले धेरै उमेरकी महिलाको भूमिका निभाएकी छिन् । यसमा उनी एकल आमाको भूमिकामा छिन् ।
कथाको बारेमा कुरा गर्दा, फिल्ममा एनी ह्याथवे आफ्नी छोरीको मनपर्ने पप स्टार निकोलस ग्यालिट्जिनको प्रेममा पर्छिन्। वास्तवमा, निकोलस ग्यालिट्जिन भूमिकामा एनी ह्याथवे भन्दा धेरै कान्छी छन्। ‘द आइडिया अफ यु’ मे २ बाट प्राइम भिडियोमा स्ट्रिम हुँदैछ। न्युज कारखाना
काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गरेका हुन् ।
मंगलबार काठमाडौँ आएका कतारका अमिर थानीले राष्टपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका थिए भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरको रात्री भोजमा सहभागी भएका थिए ।
त्यसपछि बुधबार बिहान अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वान टू वान र त्यसपछि द्विपक्षिय प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेका थिए । द्विपक्षिय भेटवार्तापछि नेपाल र कतारबीच बिभिन्न क्षेत्रमा सहमति र सम्झौता गरिएको थियो ।
नेपाल कतारबीच कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
त्यस्तै युवा तथ खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले हस्ताक्षर गरेका थिए ।
यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरेका थिए । न्युज कारखाना