काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ । यस अघि यही वैशाख २८ गते बस्ने भनिएको बैठक ३१ गतेदेखि काठमाडौँमा बस्ने भएको हो ।
पार्टी महासचिव घनश्याम भुसालले आन्तरिक तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिएका छन् ।
वैशाख ३१ देखि दुई दिनसम्म चल्ने बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत हुने पार्टीको वैचारिक दृष्टिकोण, जनवर्गीय सङ्गठनका कार्यप्रगति, समसामयीक राजनीतिक अवस्था, नवीकरण गरिएका सङ्गठित सदस्यको अनुमोदनलगायत विषयमा छलफल केन्द्रित रहने महासचिव भुसालले जानकारी दिएका छन् ।
एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न लागेको छ । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गरेका छन् ।
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको सिष्टम देखिएका समस्या, जनतास्तरमा उठेका विषयहरू र विभागले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा केन्द्रित रहेर विभागसँग छलफल गरेका हुन् ।
छलफलमा प्रधानमन्त्रीले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएको बताउँदै त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिए ।
प्रधानमन्त्रीले भने, “सवारी चालक अनुमतिपत्रका बारे बाहिर गम्भीर प्रश्नहरू उठेका छन्। यसमा जनताले गम्भीर आलोचना, असन्तुष्टि, आक्रोश देखिन्छ। खासगरी युवाहरूले समयमै सेवा नपाएको लगायतका गुनासो राख्ने गरेका छन्। लाइसेन्स जसरी बितरण हुनुपथ्र्यो, त्यस्तो भएको छैन। नक्कली लाइसेन्स बितरणको कुरा पनि मैले सुनेको छु । यो समस्यालाई मैले गम्भीरतापूर्वक लिएको छु। यो समस्या तत्काल समाधान गर्नुस्।”
छलफलमा उनले लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्नसमेत निर्देशन दिए ।
प्रधानमन्त्रीले भने, “यो नीतिगत समस्या हो कि संरचनागत हो वा हाम्रो नियतमा समस्या हो ? यसको गम्भीरता हेरी सोहीअनुरूप निरूपण गर्नुपर्छ। तसर्थ, जनतास्तरमा उठेका जिज्ञासा र प्रश्नहरूको गम्भीरतापूर्वक समाधान गर्नुस्। भइरहेको सिष्टमलाई अपडेट र अपग्रेड गर्दै नयाँ सिष्टममा अगाडि जाने तयारी गर्नुस्।”
सो क्रममा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेटको समय भएकाले कस्तो नीति र उपायहरू अपनाउँदा यस क्षेत्रको समस्या समाधान हुन्छ, सोबारे ठोस सुझाव प्रस्तुत गर्नसमेत निर्देशन दिए ।
छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाल लगायतका अधिकारीहरूको उपस्थिति थियो ।न्युज कारखाना
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान नम्बरको जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रोकिएको छ ।
३१८ जना यात्रु चढेको कतारेयरवेजको विमान आज बिहान ११:४५ बजे कतारका लागि उड्ने तयारीका क्रममा धुँवा उडेको देखिएपछि उडान रोकिएको हो ।
अहिले विमानमा प्राविधिक परिक्षण गरिएको र फेरी उड्ने तयारीमा रहेको विमानस्थलको कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिएका छन् ।न्युज कारखाना
काठमाडौँ । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि त्यसलाई केही कडाई गर्ने भएको छ । मन्त्रालयले सोमबार यसबारे तीन बुँदे निर्देशन जारी गरेको छ ।
निर्देशनअनुसार शारीरिक एवं मानसिक रुपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरु जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा मात्र अस्पताल लैजानुपर्नेछ ।
अस्पताल लग्नुपर्ने विकल्पको रुपमा हिरासतमा नै सरकारी अस्पताल अथवा नेपाल मेडिकल काउन्सिल दर्ता चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने/नपर्ने सम्बन्धमा निर्णय गर्ने गृहको निर्देशनमा छ ।त्यस्तै अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नु परेमा उपयुक्त कारण खुलाउनु पर्ने निर्णय पनि छ ।
प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई चिकित्सकीय सहायता उपलव्ध गराउने हालको कानूनी प्रबन्ध र अभ्यासलाई बस्तुगत, तथ्यपूर्ण र विश्वसनीय बनाउन मन्त्रालयले चैत १३ गते नेपाल मेडिकल काउन्सिललाई अध्ययन गरी रायसहितको प्रतिवेदन दिन अनुरोध गरेको थियो। काउन्सिलले वैशाख २३ गते बुझाएको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले ३ बुँदे निर्णय गरेको हो। गृहको आग्रहअनुसार अध्ययन गर्न काउन्सिलले सदस्य डा. विश्वराज दवाडीको संयोजकत्वमा ९ सदस्यीय समिति बनाएको थियो ।
‘आवश्यक पर्दा उपचार पाउनु सबैको हक हो। राज्यले त्यो हक सुरक्षित गर्छ नै। तर, कतिपय घटनामा हिरासत छल्न नै अस्पताल जाने प्रवृत्ति पनि देखिएकाले सबैलाई समान व्यवस्था र व्यवहार होस् भनेर केही ‘क्लज’ राख्ने निर्णय भएको हो’ लामिछानेको सचिवालयद्वारा जारी प्रेस नोटमा छ ।न्युज कारखाना
काठमाडौँ । इजरायली सेनाले दक्षिणी गाजाको रफाह सहरबाट मानिसहरूलाई बाहिर निकाल्ने प्रक्रिया सुरु गरेको छ । रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिएका छन् ।
इजरायली सीमा नजिक पूर्वी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई खान युनिस र अल-मवासी जान भनिएको छ ।
इजरायली सेनाले त्यहाँ टेन्ट, खाना, पानी र औषधिको सुविधा उपलब्ध गराइने दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री नेतन्याहुले हमासलाई पराजित गर्न रफाहमा भएको आक्रमण आवश्यक रहेको बताएका छन् ।
धेरै मानवअधिकार संगठनहरूले इजरायललाई रफाह आक्रमण नगर्न अपील गरेका छन् । इजरायलले रफाहमा आक्रमण गरे हजारौं प्यालेस्टाइनीको ज्यान जान सक्ने मानवअधिकार संगठनहरूले डर व्यक्त गरेका छन्।न्युज कारखाना
काठमाडौं । वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पुर्याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ बस्ने ४७ वर्षीय श्याम बाबु बराकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ बाट पक्राउ गरेको हो ।
श्याम बाबु समेतले पीडितलाई नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा कुवेत पठाईदिने भनि झुक्याई २०७९ माघ २५ गते भिजिट भिसामा कुवेत पुर्याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको एअरपोर्टमा देखाउने कागजातहरू समेत फरक-फरक बनाई पठाएको, कुवेतको एअरपोर्टमा पुगे पश्चात जाहेरवालाको सक्कल नेपाली राहदानी लगायतका कागजातहरू नियन्त्रणमा लिई श्रीलंकन मुलको एजेन्टलाई जिम्मा लगाएको र कुवेती नागरिकको घरमा पुर्याई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै पीडितले कुवेतमा काम नगर्ने नेपाल फिर्ता गरिदिन भनि आग्रह गर्दा ५ लाख रकम माग गरेको र नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी श्याम बाबु समेतले उपलब्ध गराएको खातामा ३ लाख रकम जम्मा गरे पश्चात पीडित कुवेतबाट २०७९ फागुन २१ गते नेपाल फर्कन सफल भएका थि ए ।
उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ । न्युज कारखाना
काठमाडौँ । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको छ ।
गत वर्ष चैत मसान्तसम्म १२ अर्ब १६ करोड राजश्व संकलन भएको थियो । यो वर्ष चैत मसान्तसम्म उक्त रकममा १.५३ प्रतिशतले वृद्धि भएको आन्तरिक राजश्व कार्यालयका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए ।
उनले चालु आर्थिक वर्षको बाँकी दुई महिनामा सो वृद्धिदर थप बढ्ने अनुमान गरे । देशभर ३९ वटा करदाता सेवा कार्यालय छन् ।
ती कार्यालयहरुले करदातालाई पायक पर्ने स्थानबाट आयकर, मुल्य अभिवृद्धिकर, अन्तशुल्क तथा शिक्षा र स्वास्थ्य क्षेत्रको कर संकलन गर्दै आएका छन् ।
यसैबीच आन्तरिक राजश्व कार्यालयले ३९ वटै करदाता सेवा कार्यालयका प्रमुखसहित कर्मचारीहरुको कार्यसम्पादन समीक्षा सम्पन्न गरेको छ । सबै कार्यालयका कर्मचारीसँग आफूले भर्चुअल माध्यमद्वारा कार्यसम्पादन समीक्षा गरेको जानकारी दिए ।
समीक्षामा उनले राजश्व निगरानी र करदाता सचेतना बढाउन निर्देशन दिए । तिवारीले अनुशासित भएर सरल र बिना झण्झट सेवा प्रवाह गर्न आग्रह गरे ।
न्युज कारखाना
काठमाडौं । काठमाडौं ताहाचल डेरा गरी बस्ने सविना खड्काको कोठाबाट ल्याप्टप १ थान, मोवाइल १ थान र करिब २ तोला सुन लगायतका विभिन्न गहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२७ बस्ने ३७ वर्षीय जोन खड्गी र सोही महानगरपालिका-३० मैतिदेवी बस्ने ३४ वर्षीय संजय खड्गी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं धुमबाराहीबाट पक्राउ गरेको हो । विभिन्न मितिमा काठमाडौं उपत्यका अन्तर्गतका प्रहरी कार्यालयमा ५ पटक चोरी सम्बन्धी लगायतका कसूरमा उनीहरू उपर मुद्दा दर्ता भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।न्युज कारखाना
काठमाडौँ । इजरायली प्रहरीले जेरुसेलमस्थित एम्बेसेडर होटलमा रहेको अल जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा मारेको छ । छापा मार्दा प्रसारण उपकरणहरू जफत गरिएको बताइएको छ ।
इजरायलका सञ्चारमन्त्रीले सोशल मिडियामा पोष्ट गरेको भिडियोमा पुलिस अधिकारीहरू अल-जजीरा टिभी नेटवर्कको कार्यालयमा प्रवेश गरेको देखिन्छ ।
आइतवार, इजरायली सरकारको मन्त्रिपरिषद्ले अल-जजीरा टिभी नेटवर्कलाई देशको राष्ट्रिय सुरक्षाको लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको थियो ।
अल-जजीरा टिभी नेटवर्कले इजरायली सरकारको ‘राष्ट्रिय सुरक्षा’ खतराको दाबीलाई ‘झूटो’ भनेको छ । अल-जजिरा टिभी नेटवर्कको टोलीले पनि कानुनी जवाफको तयारी गरिरहेको छ । इजरायली सरकारको यो कदमको मानवअधिकार संगठन र धेरै प्रेस समूहहरूले आलोचना गरेका छन् ।
इजरायलको नागरिक अधिकारको संस्थाले प्रतिबन्ध हटाउन सर्वोच्च अदालतमा निवेदन दिने जनाएको छ ।
विदेशी प्रेस एसोसिएसनले इजरायली सरकारको प्रतिबन्धलाई प्रेस स्वतन्त्रतामा खतरा भएको भन्दै यो निर्णय फिर्ता लिन इजरायली सरकारलाई अपील गरेको छ ।न्युज कारखाना
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन् ।
बैठकमा संसद अधिवेशन बारे छलफल हुने बताइएको भएपनि जसपा नेपाल विभाजित भएपछि विभाजनको भय एकीकृत समाजवादीमा पनि देखिएको मिडियामा समाचार आएपछि बैठक बोलाइएको बुझिएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेससँग मिलेर वैकल्पिक गठबन्धन बनाउन पहल गरेपछि सशंकित भएको सत्ता समीकरण आफ्नो बहुमत पुर्याउन र वैकल्पिक गठबन्धनको विकल्प समाप्त पार्न जसपा विभाजन गरिएको विश्लेषण भइरहेको छ ।न्युज कारखाना