२०८३ असार ३१
२०८३ असार ३१

आरके श्रीवास्तव,राैतहट,२६ गते कार्तिक । 

मधेसी जनतालाई सधैं अवसरबाट बञ्चित गरिएकाे आराेप जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लगाएका छन् । राैतहटकाे गढिमाई नगरपालिका वडा नम्बर ८ विरनगरामा आयाेजित जनसभालाई समबाेधन गर्दै उनले यस्ताे आराेप लगाएका हुन् ।

उनले भने-आफूलाई ठुला दल भन्नेहरूले सधैं मधेस लाई उपनिवेश समझे । हरेक क्षेत्रमा प्रचुर सम्भावना भएको मधेसलाई काँग्रेस कम्युनिस्टले हेपेरै राखे ।

 

संविधान जारी भएको नाै वर्षमा सुशासन आउन सकेन यसकाे जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरे ? हामीले याे संविधानकाे विराेध गर्दै आएका छाैं । तर याे संविधानलाई जारी गराउने काँग्रेस कम्युनिस्टले सुशासन कायम गराउनु सक्नुपर्छ कि पर्दैन ? भन्ने प्रश्न गरे ।

मधेसमा मधेसीकाे शासन हुनुपर्नेमा उनले जाेडदिए । मधेसलाई १२ प्रतिशत हाेईन् अब ५२ प्रतिशत बजेट चाहिएकाे छ । देशमा जनसंख्याकाे आधारमा भागिदारी हुनुपर्छ । मधेसीले जनसंख्याकाे आधारमा भागीदारी पाउनुपर्छ ।

त्यसैले उनले भने-हामीलाई यदि अधिकार बाट बञ्चित गरियो भने सबै ठाउँमा पराजित गराैं, आफनाे अधिकार प्राप्त गराैं ।

 

उनले एक अर्को प्रसंगमा भने-लाेकतन्त्रकाे नाउँमा भईरहेकाे लुटतन्त्रलाई अन्तय गर्न लडनुपर्ने अहिलेकाे आवश्यकता हाे । ३७ वर्षकाे लामाे लाेकतन्त्रमा देश कंगाल भयाे । अब कंगाल बनाउनेहरू विरूद्व लडनु पर्छ ।

 

कार्यक्रममा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गदिले जसपा नेपाल तमाम उत्पिडनमा परेका व्यक्तिहरूकाे  आवाज उठाउने एक मात्र पार्टी रहेकाे दाबी गरे ।

त्यस्तै मधेस अर्का पूर्व मुख्यमन्त्री सराेजकुमार यादवले जसपा पार्टी रहेसम्म कसैले संघियतालाई हल्लाउन नसक्ने ठाेकुवा गरे ।

कार्यक्रमलाई समापन गर्दै जनता समाजवादी पार्टी नेपालका राैतहटका अध्यक्ष श्यामबिहारी प्रसाद यादवले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा जसपा नेपालकाे तर्फबाट राैतहटकाे गढिमाई नगरपालिका वडा नम्बर ८ मा आफनाे पार्टीकाे तर्फबाट वडा अध्यक्ष उम्मेदवारकाे रूपमा संदेश यादव रहेकाे घाेषणा गरे । उपनिर्वाचनमा जसपाकाे जित सुनिश्चित रहेको समेत दाबी गरे ।

जनसभामा जसपाका नेताहरू गाेविन्द चाैधरी, पूर्व कृषि राज्यमन्त्री याेगेन्द्र यादव,प्रदेश सांसद शाेभा देवी,किशाेरी यादव,राजकुमार दास लगायतका नेताहरूकाे सहभागीता रहेको थियो ।

राैतहट,२५ गते कार्तिक । 

सरकारको मनोमानी कर र भ्रष्टाचारको विरोधमा आजपाद्धारा एकै दिन मधेसमा जागरण अभियान र काठमाडौंमा विरोध प्रदर्शन

“सरकारको अनावश्यक कर हटाउ, देशको व्यापार ब्यवसाय बचाउ” भन्दै आजपाद्धारा काठमाडौंमा विरोध प्रदर्शनसंगै मधेसमा भ्रष्टाचार विरोधी जागरण अभियान

भ्रष्टाचार र सरकारको मनोमानी करका विरुद्धमा सडक संघर्षमा उत्रेको आजपाद्धारा काठमाडौं र मधेसमा एकै दिन अभियान

काठमाडौं ।
पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले आउदो १ मंसिरमा एकै दिन काठमाडौंमा विरोध प्रदर्शनका साथै मधेसमा भ्रष्टाचार बिरोधी विशेष जागरण अभियान सुरु गर्दैछ ।

मुलुकमा बढदै गईरहेको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महंगी विरुद्ध आजपाले आन्दोलन गर्दै आएको छ । सोही बिषयलाई लिएर आजपाले काठमाडौंमा विरोध प्रदर्शन गर्नुका साथै मधेस प्रदेशमा विशेष जागरण अभियान सञ्चालन गर्न लागेको हो ।

आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापामगरले सरकार कुम्भकरण जस्तै सुतिरहेको अवस्थामा आम जनताको समस्याको बारेमा जानकारी गराउनका लागि पार्टीले काठमाडौं सहित मधेसमा एकै दिन विरोध प्रदर्शनका साथै विशेष अभियान सञ्चालन गर्न लागेको बताए ।

‘सरकारलाई आम जनताको समस्या, चाहना के हो भन्ने बारेमा कनै चासो देखिएन् । कुम्भकरण जस्तो सुतेको सरकारलाई आम जनताको समस्या र सरकारको मनपरी कार्यशैलीका विरोधमा अब जनता सडकमा आउँन बाध्य भएका छन्’ आजपा वरिष्ठ उपाध्यक्ष थापाले भने, ‘मुलुकमा भ्रष्टाचार बढदै गईरहेको छ, कुशासन, अनियमितता बढदैछ । सोझासाझा जनतामाथि अनावश्यक करमाथि कर थुपार्ने काम सरकारले गरेको छ । यस्तो अवस्थामा सरकारलाई सचेत गराउन सडक संघर्षको बिकल्प नै भएन् ।’

आईतबार काठमाडौं स्थित आजपाको केन्द्रीय कार्यालयमा बसेको पार्टीको काठमाडौं उपत्यका बिशेष कमिटीको बैठकले देशको अर्थतन्त्र बचाउन यही १ मंसिरमा “सरकारको अनावश्यक कर हटाउ, देशको व्यापार ब्यवसाय बचाउ” भन्ने मुल नाराका साथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

काठमाडौंको शान्तिवाटिकामा बृहत् प्रदर्शन गर्ने निर्णय गरेको आजपाले सरकार पिच्छे सरकारको अनावश्यक करले देशको व्यापार ब्यवसाय बर्वाद भईरहेको, देशको अर्थतन्त्र बचाउन युवाहरु उठन आवश्यक रहेको आजपा सचिव नारायण पाण्डेले जनाकारी दिए ।

‘हामीले मंसिर १ गते काठमाडौंको शान्तिवाटिमा बृहत विरोध प्रदर्शन गर्ने निर्णय गरेका छौं । सरकारको मनपरी करमाथिको कर हटाउनुपर्ने, युवालाई रोजगार दिनुपर्ने, भ्रष्टाचार, कुशासन, अनियमितता लगायतको विरोधमा हामी शान्तिपूर्ण प्रदर्शन गर्न लागेको हो’ आजपा सचिव पाण्डेले भने ।

यस्तै छठपर्व अघि वीरगंजमा बसेको आजपाको प्रदेश कमिटीको पदाधिकारी बैठकले भ्रष्टाचारको विरोधमा मधेसमा विशेष जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । आजपा मधेस प्रदेशका प्रवक्ता एवं केन्द्रीय सदस्य डा. हेमप्रसाद साहले यो अभियान मधेस प्रदेशका आठवटै जिल्लामा हुने बताए ।

मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सञ्चालन हुने जागरण अभियान एक हप्तासम्म चल्ने उनले बताए । पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह सहित पार्टीका नेताकार्यकर्ताहरुको विशेष सहभागिता अभियानमा हुने प्रवक्ता साहले जनाएका छन् ।

सप्तरीबाट सुरु हुने सो अभियान पर्सामा आएर सम्पन्न हुनेछ । मधेसका प्रमुख शहरहरुमा सभा, प्रदर्शन, बैठक, भेला लगायतका गतिविधि हुने अभियानले पार्टीले पहिलो चोटी गर्न लागेको छ । यस अघि आजपाले काठमाडौं सहित बिभिन्न शहर एवं जिल्लाहरुमा बिशेष प्रदर्शन गर्दै आएको छ । भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महंगी, बेरोजगारी, बैदेशिक रोजगारको ठगी, भन्सारको मनोमानी कर लगायतका बिषयमा आजपाले आवाज उठाउदै आएको छ ।

‘हाम्रो महान तथा गौरवशाली पार्टी आम जनता पार्टी, मधेस प्रदेश कमिटीको विशेष संयोजनमा यही मंसिर १ गतेदेखी देशमा बढदो लुट आतंक, भ्रष्टाचार एवं विभेद विरुद्ध मधेस जागरण अभियान संचालन गर्ने तथा देशमा तीन तहका सरकारहरुले सरकार पिच्छे मनपरी रुपमा कर आतंक खडा गरी आम नेपाली जनतालाई दुख दिईरहेको स्थितीलाई बदल्न एवं देशभर शून्य कर नीतिलाई प्रोत्साहन गर्ने गराउने पुनित उदेश्यका साथ मंसिर १ गते नै उपत्यका विशेष कमिटीको आयोजनामा संघीय राजधानी काठमाडौंमा विशेष प्रदर्शन गर्ने निर्णय समेत गरिएको छ’ आजपा प्रवक्ता चन्द्रभुषण साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,२५ गते कार्तिक ।

आफ्नो अभियानको माध्यमले बैंक वा सहकारी संस्थाबाट लिएको २० लाख भन्दा मुनिका ऋण मिनाहा गराएरै छाड्ने दुर्गा प्रसाईले उदघोष गरेका छन् ।

नागरिक बचाउ महा अभियानका जिल्ला कमिटीले रौतहटको गरुडामा आज आयोजना गरेको विशाल जनजागरण सभालाई सम्वोधन गर्दै अभियानका केन्द्रिय संयोजक प्रसाईले सो कुरा बताएका छन्।

त्यस्तै बैंक, सहकारी, लघुवित्त संस्था वा मीटर व्याजबाट पीडित गरिव, विपन्न, असाहाय एवं सर्वहारा वर्गलाई ऋण र ब्याज बाट मुक्ति दिलाएरै छाड्ने समेत उनले दाबी गरे ।

बैंक, सहकारी, वित्तीय संस्था र मीटर ब्याजबाट पीडित जनताले न्याय नपाएसम्म आफ्नो आन्दोलन जारी नै रहने उनले बताए।

भ्रष्ट नेता, चोर, दलाल, तस्कर, पूँजीवाद, लोकतन्त्र र गणतन्त्रका विरुद्ध आफ्नो सांस रहुन्जेलसम्म लडिरहने उनले बताए।

आफू बैंक, सहकारी, लघुवित्त संस्था र मीटर व्याजबाट पीडित गरिव, शोषित, पीडित एवं सर्वहारा वर्गका लागि लडिरहेकोले राज्यबाट दमन शोषणमा परेका सम्पूर्ण पीडित नागरिकलाई आफ्नो अभियानलाई साथ दिन उनले सबैलाई आग्रह गरे।

राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले लोकतन्त्र एवं गणतन्त्र रहेसम्म नेताहरु धनी हुँदै जाने र देश कंगाल हुँदै जाने भएकोले अहिलेको वर्तमान व्यवस्थालाई नै फाल्नुपर्ने बताएका छन्।

अहिलेका नेताहरु लोकतन्त्रको नाममा भ्रष्टाचार गरी अकुत सम्पति आर्जन गरेर आफू धनी भएको र देश तथा आम जनता गरिव हुँदै गएकोले संघीयता एवं लोकतन्त्रलाई फालेर जनता मालिक हुने व्यवस्था ल्याउनुपर्ने प्रसाईले बताएका हुन् ।

 

लोकतन्त्रमा जनता मालिक हुने भनिएपनि यहाँ नेता र नेताका आसेपासेहरुको मात्र हालीमुहाली रहेको र आम जनता निरिह एवं लाचार भएर बसेको उनले टिप्पणी गरे ।

लोकतन्त्रमा जनतालाई मालिक बनाउने भनी एमाले, कांग्रेस लगाएतका दलले जनतालाई आन्दोलन गर्न उक्साएर राजतन्त्रलाई ढाली लोकतन्त्र स्थापना गराएको भएपनि आज जनता लाचार भएको र नेता मालामाल हुँदै गएको उनले बताए।

कुनै बेला अरु देशलाई सहयोग गर्ने नेपाललाई अहिलेका नेताहरु भिख माग्ने देश बनाइदिएको र एउटा नेपालीको टाउकोमा ८० हजार वैदेशिक ऋण बोकाएर सर्वसाधारण जनतालाई जाँतोमा पिस्ने काम गरेकोले संघीयता एवं लोकतन्त्रलाई खारेज गरी जनता मालिक हुने व्यवस्था ल्याउनका लागि आफू देश व्यापी रूपमा जनतालाई जागरुक गराउन अभियान नैं चलाएको उनले बताए ।

१६ जना मारवाडी, १० जना बिचौलिया, ३० जना भ्रष्ट नेता लगाएत ६० जना मिलेर यो देशलाई चरम गरिवीको भुमरीमा फसाएर देशलाई बर्बाद गर्ने तर्फ लागेकोले देशलाई बर्बाद हुनबाट जोगाउन आफू लागि परेको उनले बताए।

अहिले अधिकांस जनता बैंक, सहकारी, लघुवित्त संस्था र मीटर व्याजबाट पीडित हुँदा पनि राज्यले जनताको यी समस्या समाधान गर्ने तर्फ ध्यान नदिएको उनले बताए ।

बैंक, सहकारी, लघुवित्त संस्था र साहु महाजनबाट चर्को ब्याजदरमा लिएको ऋण अर्थात् कर्जाको सावाँ तथा व्याज तिर्न नसकेर जनताका छोरछोरी कोही विदेश पलायन भएका छन् भने कोही ऋणको भारीले आत्महत्या गर्न बाध्य हुँदा पनि राज्य निरिह भएर बसेका कारण आम नागरिकको रक्षाका लागि आफूले नागरिक बचाउ अभियान सञ्चालन गरेको उनले बताए।

काठमाडौं ।

नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्राध्यापक डाक्टर मोदनाथ मरहठ्ठा नियुक्त हुनु भएको छ । काठमाडौं विश्वविद्यालयले प्रा.डा. मरहठ्ठालाई आगामी तीन वर्षका लागि प्रिन्सिपलमा नियुक्त गरेको हो ।

विगत तीन वर्षदेखि कलेजको अस्पताल निर्देशकको भूमिकामा रहनु भएका डा. मरहठ्ठालाई शुक्रबार कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले प्रिन्सिपल पदमा पदस्थापन गराउनु भयो । कलेजमा आयोजित कार्यक्रममा अध्यक्ष प्रा.डा. अन्सारीले नवनियुक्त प्रिन्सिपललाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा डा. मरह्ठाले महत्वपूर्ण योगदान दिने विस्वास व्यक्त गर्नुभयो । ‘यहाँले तीन वर्ष अस्पताल निर्देशकको भूमिकामा रहेर गर्नु भएको कामबाट हामी सन्तुष्ठ नै छौं । अब प्रिन्सिपलको भूमिका पनि कुशलतापूर्वक निर्वाह गर्नुहुन्छ भन्ने विस्वास छ ।’ उहाँले भन्नुभयो ।
काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायत नेपाल सरकारका नियामक निकायहरुसँग समन्वय गर्न, कलेजको शैक्षिक र प्राज्ञिक विकासमा प्रिन्सिपलले समन्वयकारी भूमिका निर्वाह प्रिन्सिपलको महत्वपूर्ण भूमिका रहने बताउँदै अध्यक्ष प्रा.डा. अन्सारीले त्यसका लागि सबैले सकारात्मक भएर काम गर्नुपर्ने बताउनु भयो । साथै उहाँले नवनियुक्त प्रिन्सिपलसँग सहकार्य, समन्वय गरेर काम गर्न विभागीय प्रमुख, फ्याकल्टी र कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

पदस्थापन कार्यक्रममा बोल्दै नवनियुक्त प्रिन्सिपल प्रा.डा. मरहठ्ठाले नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गर्दै पदीय दायित्व निर्वाह गर्ने क्रममा सबैसँग सहकार्य गरी सामुहिक सल्लाह सुझाब अनुसार अगाडी बढ्ने बताउनु भयो । कलेजका अस्पताल निर्देशकका रुपमा रहेर काम गर्दा हासिल गरेको अनुभव र सिकाईलाई प्रिन्सिपलको भूमिकामा काम गर्दा उपयोग गर्दै अधिकतम कलेजको हित र श्रीवृद्धिका लागि आफू लागिपर्ने उहाँको प्रतिबद्धता छ । ‘यो संस्थाको गरिमा बढाउन, यसको शैक्षिक, प्राज्ञिक र स्वास्थ्य क्षेत्रको विकास, स्तरोन्नतीका लागि हामी सबैको ऐक्यबद्धता हुनुपर्दछ । म प्रिन्सिपलको भूमिकामा रहँदै गर्दा यहाँहरु सबैसँग सहकार्य गरेर अगाडी बढ्नेछु ।’ पदस्थापन कार्यक्रममा उपस्थित भएका कलेजका भाइसप्रिन्सिपल, प्रबन्ध निर्देशक, निर्देशक लगायत विभागीय प्रमुख, फ्याकल्टीहरुलाई संवोधन गर्दै डा. मरहठ्ठाले भन्नुभयो ।

कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यासमिनले नवनियुक्त प्रिन्सिपल डा. मरहठ्ठालाई कार्यकालको शुभकामना दिँदै म्यानेजमेन्टको तर्फबाट कलेजको शैक्षिक विकास, प्रवद्र्धन र जस्तोसुकै सहयोग र सहकार्य गर्न तयार रहेको बताउनु भयो । उहाँले प्रिन्सिपल भनेको कलेजको गरिमालाई उच्च बनाउने पद भएकोले डा. मरहठ्ठाको कार्यकाल सफल रहने विस्वास गर्नुभयो । साथै, सो अवसरमा उहाँले प्रिन्सिपललाई सफल बनाउन विभागीय प्रमुख, फ्याकल्टी, म्यानेजमेन्ट सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । ‘उहाँ यसअघि ३ वर्ष नेपालगञ्ज मेडिकल कलेजको प्रिन्सिपल भइसक्नु भएको छ । यसै कलेजमा ३ वर्षदेखि अस्पताल निर्देशकको भूमिका समेत निर्वाह गरिसक्नु भएकोले हामीलाई विस्वास छ प्रिन्सिपलको भूमिका पनि उहाँले न्यायोचित रुपमा निर्वाह गर्नुहुनेछ ।’ डा. साविहा यासमिनले भन्नुभयो ।

त्रिवि शिक्षण अस्पतालको एनेस्थेसिया विभागको प्रमुख भएर काम गरिसक्नु भएका डा. मरहठ्ठासँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन समेत भएर सफलतापूर्वक कार्य गरेको अनुभव छ ।

कलेज व्यवस्थापनले प्रिन्सिपल पदका लागि तीन जनाको नाम विश्वविद्यालयलाई सिफारिस गरेकोमा विश्वविद्यालयले प्रा.डा. मरहठ्ठालाई प्रिन्सिपल नियुक्त गरेको हो । काठमाडौं विश्वविद्यालय अन्तरगतका कलेजहरुमा विश्वविद्यालयले नै प्रिन्सिपल नियुक्त गर्ने प्रावधान छ । यसअघि प्रा.डा. प्रमोदकुमार क्षेत्रीले ६ वर्ष कलेजको प्रिन्सिपलको भूमिकामा हुनुहुन्थ्यो । पारिवारिक कारणले उहाँले राजिनामा दिएपछि नयाँ प्रिन्सिपल नियुक्त गरिएको हो ।

बज्जिकाञ्चल संवाददाता, चितवन,२३ गते कार्तिक । ।

राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखा चितवनको पत्रकार सन्तोष बस्ताकोटीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । सौराहामा शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रामेश्वर रिजाल, सचिव रामु आचार्य, सहसचिव निराजन घिमिरे, कोषाध्यक्षमा हिरालाल गुरुङ र सदस्यहरुमा पुजन लामिछाने, अस्मिता पराजुली, आयुष न्यौपाने, सागर गिरी, बन्दना देवकोटा, अर्जुन चापागाईँ चयन भएका छन् । युवा पत्रकार बस्ताकोटी डेढ दशक अघिदेखि चितवनको पत्रकारितामा सक्रिय रुपमा काम गर्दै आएका छन् । आरुषी मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रा.लि.का सञ्चालक समेत रहेका बस्ताकोटी कुशल कार्यक्रम प्रस्तोता पनि हुन् ।

नेपाल स्काउटको सहायक राष्ट्रिय प्रशिक्षक समेत रहेका उनी पूर्वी चितवन पत्रकार मञ्चका प्रबक्ता तथा प्रेस सेन्टर रत्ननगरका अध्यक्ष हुन् । जिल्ला अधिवेशनले संस्थापक अध्यक्ष राजेन्द्र आचार्य, जिल्ला अध्यक्ष सन्तोष बस्ताकोटी, उपाध्यक्ष रामेश्वर रिजाल, सचिव रामु आचार्यलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन गरिएको छ ।

अधिबेशनको बन्दसत्रले संस्थापक अध्यक्ष राजेन्द्र आचार्यलाई केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सर्वसम्मत निर्णय गरेको नवनिर्वाचित अध्यक्ष बस्ताकोटीले जानकारी दिए । सो अबसरमा अध्यक्ष बस्ताकोटीले आफ्नो कार्यकालमा फोटो पत्रकारिता तालिम, फोटो प्रर्दशनी र फोटोको माध्यवबाट चितवनको सफारी तथा धार्मिक पर्यटनलाई विश्वमा परिचित गराउने गरी काम गर्ने प्रतिबद्धता जनाए । जिल्ला शाखामा २५ जना फोटो पत्रकारितामा क्रियाशिल पत्रकारहरु आबद्ध रहेका छन् ।

रौतहट – २३ कार्तिक २०८१। 

रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं.८ आँकडपाथरमा सांस्कृतिक कार्यक्रम ’ सम्पन्न भएको छ । वृन्दावन नगरपालिका वडा नं.८ र ९ को युवाहरुले संयुक्त रुपले सो कार्यक्रमको आयोजना गरेका थिए। रिबन काटेर सो सांस्कृतिक कार्यक्रमको उद्धघाटन गर्दै नगर प्रमुख विनोद प्रसाद कुर्मीले आफू युवाहरुको भविष्य उजागर गर्नका निम्ति कुनै पनि कसर न छोड्ने बताउनु भयो । नगर प्रमुख कुर्मीले आफु स्थानीय सरकारको प्रमुख भए पश्चात् चौतर्फी रुपले विकास निर्माण को कार्य गर्दै आएको र बाँकी कार्यकालमा पनि गर्दै जाने बताउनु भयो ।

 

कार्यक्रमको प्रमुख अथितिको रुपमा बोल्दै नगर प्रमुख कुर्मीले वडा नं.८ र ९ मा विगतका जनप्रतिनिधिले विगत पाँच वर्षमा गर्न न सकेको हरेक कार्यलाई आफुले २.५ वर्षकै कार्यकालमा पुरा गरेर देखाएको  ध्यानाकर्षण समेत गराउनु भयो ।

 

नगरपालिकाभित्र रहेका सांस्कृतिक बाजा,स्थानीय कलाकारहरु, कवि, संस्कृतिविद्, विभिन्न विद्यालयका विद्यार्थीहरु, सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, संचार माध्यम,नाटक तथा रंगमञ्च लगायत सम्पूर्ण विधा तथा क्षेत्रहरुलाई समेट्दै अगाडि बढिरहेको बताउनु भयो। उनले फिल्म खेलिरहेका कलाकारहरु पनि विगत तथा बाल्यकालमा यस्तै नाटक र सांस्कृतिक कार्यक्रममा भाग लिएर सिक्दा सिक्दै अहिले ठुलो कलाकार बन्न पुगेको दर्साउदै आफ्ना पालिका भित्रका सांस्कृतिक क्षेत्रमा रुचि राख्ने युवाहरुलाई पनि यस्तै सांस्कृतिक कार्यक्रमको आयोजना गरि आफुभित्र लुकेको प्रतिभाई उजागर गर्न संदेश दिदै आफुले सो कार्यमा आफु सकेसम्मको सहयोग गर्दै जाने प्रतिबद्धता समेत जाहेर गर्नुभयो।

 

कार्यक्रममा स्वागत मन्तव्य त्यहाँका स्थानीय शिक्षक अच्छेलाल पटेलले गरेका थिए भने सो कार्यक्रमको अध्यक्षता सो सांस्कृतिक कार्यक्रम समितिको अध्यक्ष अरबिन्द पटेलले गरेका थिए। त्यसैगरी  कार्यक्रमको प्रमुख अथितिको रुपमा वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मी,विशिष्ट अथितिमा मुस्लिम इतेहाद संगठन नेपाल मधेस प्रदेशका अध्यक्ष सलामोदिन दर्जी,वडा नं.८ का वडा अध्यक्ष रवीन्द्र प्रसाद साह र वडा नं.९ का वडा अध्यक्ष प्रवेज आलम रहेका थिएभने अथितिमा वृन्दावन नगरपालिकाका नगर कार्यपालिका सदस्य राजेश पासवान(निर्माणी),युवा समाजसेवी नेता धिरेन्द्र पटेल,दशरथ राम र राजिन्द्र पटेल रहेका थिए भने कार्यक्रम सञ्चालन श्याम पटेलले गरेका थिए।

आरके श्रीवास्तव,राैतहट,२३ गते कार्तिक 

तराई मधेसकाे लोकआस्थाको पर्व छठकाे आज उदाउँदो  सूर्यलाई अर्घ दिई छठ पर्व समापन भएको छ ।

मंगलबार देखि श्रद्धा र निष्ठापूर्वक मनाइने पर्व छठ व्रत शुरु भएको थियोे । व्रत विधिअनुसार मंगलबार पहिलो दिन बर्तालुले ‘नहाय–खाय’ विधि सम्पन्न गरेका थिए ।

 

कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ सम्पन्न गरिने छठपर्व यसपालि मंगलबार देखि शुरु भएको थियो । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो अर्थात् चौथी तिथिका दिन बर्तालुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखोनितो खाएर व्रत सङ्कल्प गर्दछन् । यसलाई मधेसमा ‘नहाय–खाय’ भनिन्छ ।

त्यसैगरी दोस्रो दिन पञ्चमी तिथिका दिन बर्तालुले दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खानेछन् । दोस्रो दिनको यो विधिलाई मधेसमा ‘खरना’ भनिन्छ । पर्वको मुख्य दिन षष्ठी तिथिका दिन बर्तालुले निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ दिएका थिए ।

 

यसक्रममा ठेकुवा,कसार अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझिया अरख’ भनिन्छ । षष्ठीको रात सूर्यदेव र षष्ठीमाता को आराधना गर्दै घाटमै रात बिताउने चलन छ ।

 

पर्वको अन्तिम अर्थात् आज सप्तमी तिथिका दिन पानीमा खडा भएर सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्दै बर्तालुले गीत गाएका थिए । सूर्य देखिनासाथ अघिल्लो साँझ अर्घ देखाइएका सामग्री उदाउँदाे सूर्यलाई देखाउँदै दोस्रो अर्घ दिएपछि पर्व विधिवत सम्पन्न भएको छ । मधेसमा आज अन्तिम दिनको विधिलाई ‘भोरवा अरख’ वा ‘पारन’ भनिन्छ । याे सँगै छठ पर्व समापन भएको छ ।


सञ्जय साह मित्र,२२ गते कार्तिक । 

पहिले साठी धानको बिना कोही छठको कल्पना गर्दैनथे तर अहिले यो आलंकारिक हुन थालेको छ । यद्यपि ग्रामीण क्षेत्रमा भने साठी धानको खोजी अझै पनि गरिन्छ । पहिले साठी धानप्रति मानिसमा छठसँग जोडिएर नै श्रद्धा उम्रेको देखिन्थ्यो ।
सुथनी र अरुवा हराइ नै सके । कसैले खोजी गरेको पाइँदैन । करिब पाँच दशक पहिलेसम्म छठ पबनीमा अनिवार्य आवश्यकता थिए यिनीहरु । हेर्दाहेर्दै गागलनिमो÷गागरनिमो वा भोगटेको चलन लोप नै भइसक्यो । अझै निबुआको उपयोग छठ पबनीमा भइरहेको छ ।
छठको एउटा विशाल सुन्दरता थियो घाटमा दन्ड दिनुपर्ने । सायदै कोही युवा हुन्थे जो दन्ड दिँदैनथे । आजभोलि यो पनि आलंकारिक मात्र हुन गएको छ । अत्यन्त कम मानिसले यो गरेको देखिन्छ ।
याद गर्नुभएको होला, पहिले पाँचओटा दतिवन (दतुवन) बाँड्ने चलन थियो । विशेष गरी बालक तथा किशोरहरुले आँपको दतुवन व्रतालुहरुकहाँ बाँड्ने गर्दथे । अहिले यो चलन छ कि हरायो ?
गुन्डी अर्थात् चंगा कतै उडाइन्छ होला तर यो छठ पर्वको एउटा बालसुलभ सौन्दर्य थियो । बालबालिकाहरुले हाथमा गुन्डी लिएर छठघाटमा उडाएको रमाइलो आज पूर्णतः एन्ड्रोइड मोबाइलमा परिवर्तन भइसकेको छ । कसरी नयाँले पुरानोलाई विस्थापित गर्दो रहेछ त ?
छठमा सबैले सम्भव भएसम्म नयाँ लगाएर जान्थे तर परम्परागत पहिरन हुन्थ्यो । अहिले आधुनिक जमानाको छठ भइसक्यो । सम्भव भएसम्मको देखावटी पहिरन छठमा हुन्छ । लाग्दछ, पश्चिमा संस्कृतिको प्रभाव परिरहेको छ । सुटमा ठाँटिएकाहरु धेरै हुन्छन् ।
कामनामा पनि बदलाव आएको हो ? पहिले मुख्यतः दुई कामना हुन्थे – सन्तान प्राप्ति र चर्मरोग निवारण । अहिले अन्य कामना पनि बढेर गएको पाइएको छ । अर्थात्, छठपर्वको कामनामा पनि विस्तार भएको छ । लोकआस्थाको महापर्व हो, आस्था र कामनाको अदभुत समन्वय भएको देखिन्छ । यसको विस्तार निकै हार्दिक पक्ष हो ।
पचास वर्ष पहिले कात्तिकमा यो छठ मनाइँदा पबनइतिनभन्दा दर्शक नै बढी हुन्थे । हरेक वर्ष यो उद्भवस्थलमा पनि विस्तार भइरहेको छ । दुबोले जस्तै यसले बलियो सम्बन्ध माटोसित गाँसेको छ । सम्बन्धको बलियोपनाले यो पर्व बलियो हुँदै आजभोलि कात्तिकमा जस्तै चैतमा पनि अत्यन्त धुमधामका साथ मनाइन थालिएको छ । यद्यपि पहिले पनि चैतमा मान्नेहरु थिए तर चैतमा मान्नेहरुले मनौती अर्थात् भाकलअनुसार तोकिएको वर्ष छठ मान्ने गर्दथे तर आजभोलि यो निरन्तरताझैँ हुन गएको छ कात्तिमा जस्तै ।
साँच्चिकै छठको प्रियता निरन्तर विस्तार भइरहेको छ । हाम्रा पूर्वजहरुले यस संस्कृतिलाई परिपालन गरेर हामीलाई गर्व गर्ने बाटो विस्तार गरिदिनु भएको छ ।
गोधनको दिन संकल्प लिने, भोलिपल्ट बिराउने, तेस्रो दिन नहाखाएके, चौथो दिन खरना, पाँचौ दिन सँझियाघाटे र छैटौँ दिन पारन हुने छठ पबनी हाम्रो यथार्थमा लोकसंस्कृति हो । दश दिनको दशैँ भएजस्तै छ दिनको यो छठ हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।