राैतहट, ४ वैशाख । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ८ मा रहेको मर्धर सिमसार क्षेत्रको जमिन भू-माफियाले हत्याएपछि मर्धर सिमसार बचाउ संघर्ष समिति गठन भएको छ ।
मर्धर सिमसार क्षेत्रमा बसेको स्थानीयहरुको भेलाले शिवप्रसाद आचार्यको संयोजकत्वमा १७ सदस्यीय सिमसार क्षेत्र बचाउ संघर्ष समिति गठन गरेको स्थानीय युवा सुदिप गिरीले जानकारी दिएका छन् । समितिको सहसंयोजकमा राजन कार्की र सचिवमा सरोज बछार रहेका छन् ।
यसैगरी समितिको सदस्यहरुमा सुदिपराज गिरी, थिर कुमारी कार्की, सबिता आचार्य, राजु पराजुली, धुब्र घिमिरे, अमृत सापकोटा, जोखन बिक, शेरबहादुर तामाङ, थलराज भारती, तेजबहादुर महत, जंगबहादुर थापा, कुमार पहाडी, बिनोद कार्की, र बिद्या सापकोटा रहेका छन् ।
समितिले सिमसार क्षेत्रको संरक्षणको लागी सोमबारदेखि नै नगर प्रमुख लगायतका जनप्रतिनिधिहरुसँग छलफल गरेर काम अगाडि बढाउने संघर्ष समितिका संयोजक आचार्यले जानकारी दिएका छन् । समितिले सोमबार १० बजे चन्द्रपुर नगरपालिकाका नगर प्रमुख लगायत जनप्रतिनिधिहरुसँग छलफल तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको समितिका संयोजक आचार्यले बताए ।
जिल्लाकै ऐतिहासिक र्मधर सिमसार क्षेत्रलाई भू- माफियालले आफ्नो नाममा गरेपछि स्थानीय नागरिकहरु आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । भू- माफियाले मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीको मिलेमतोमा १० कठ्ठाका दरले २० टुक्रा गरेका छन् ।
मरधर सिमसार क्षेत्र माफियाको नाममा गएपछि मरधरको विकासका लागि प्रदेश सरकारले दिएको एक करोड ५० लाख रुपैया फिर्ता भएको चन्द्रपुर नगरपालिकाले जनाएको छ । सिमसारको सुख्खा स्थान कब्जा भएकोमा पछिल्लो समय माफियाले पानी भएको क्षेत्र समेत बिभिन्न २० जनाको नाममा नामसारी गरेकाछन् ।
आरके श्रीवास्तव,गरुडा,३ गते बैशाख ।
रौतहट जिल्लाको एक पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको ठाउँमा उपसचिवको आगमन भएको छ ।जिल्लाको गुजरा नगरपालिकामा हाकिम परिवर्तन गरिएको छ । सो नगरपालिकामा नयाँ हाकिम हाजिर भएका हुन् । गुजरा नगरपालिकाले नयाँ कार्यालय प्रमुखमा प्रशासकीय अधिकृतको रूपमा उपसचिव राज कुमार अधिकारी आएका हुन ।

आइतबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख सन्तलाल चौधरी तथा उपप्रमुख रत्न लामासहित वडाध्यक्षहरु र कार्यालयका कर्मचारीहरुको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा (उप–सचिव) अधिकारीलाई टीका माला र खादा ओढाएर स्वागत गरि कार्यालयमा हाजिर गराएका हुन् । फाल्गुन १६ गते नियुक्त भएका अशोक कुमार महर्जन २ महिना भित्र नै उनको वहिर्गमन भएको छ । यस अघिका कार्यालय प्रमुख महर्जनको ठाउँमा अधिकारी आएपछि स्थानीय जनतामा कौतुहलता रहे पनि जनताको सेवामा कुनै कमिकमजोरी नहोस भनि नगरवासीले अपेक्षा राखेका छन् ।

धनगढी, ३ वैशाख ।
कैलालीमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरकी एक जना वृद्ध महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका वरिष्ट जनरल फिजिसियन डा. शेरबहादुर कमरका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो ।
चैत २६ गते कारोना संक्रमण पुष्टि भएकी ती महिलालई आईसियुमा राखिएको थियो ।
उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन् ।
काठमाडौं, ३ वैशाख ।
शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार दुई खेल हुँदै छन् ।
च्यासल मैदानमा अपराह्न ३ बजे संकटा क्लब र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ भने साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं, ३ वैशाख ।
दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि चैत २८ गते आईपीओ निष्कासन गरेको थियो ।
लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिनुपर्ने हुन्छ । कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसअनुसार दोल्तीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
यसमध्ये ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । कम्पनीले १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ ।
बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओमा एनआईसी एसिया क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
रेटिङ एजेन्सी इक्रा नेपालले दोल्ती पावरलाई ‘इक्रा एनपी इस्यूअर डबल बी’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत जनाउँछ ।
इन्दीप कोइराला,बारा, ३ बारा ।
नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं. २ मा नेकपा एमालेको जित सुनिश्चित रहेको बताएका छन् ।
चुनावी अभियान अन्तर्गत बाराको पचरौता र तेतरियामा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले बारा २ का जनता एमाले जिताउन आतुर रहेको बताए ।
पचरौतामा आयोजित नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उम्मेदवार पौडेलले मधेसको मुद्दा उठाएर चुनाव जित्नेहरुको दिन अब सकिएको बताए । उनले बारा २ मा अब एमालेले नेतृत्व गर्ने र क्षेत्रको विकासलाई द्रुत गतिमा अघि बढाउने बताएका छन् ।
‘बारा २ का जनता एमालेलाई मतदान गर्न आतुर रहेको पाए, यो सबै यसअघि जितेकाहरुले काम नगर्दाको परिणाम हो’ उम्मेदवार पौडेलले भने ‘अब एमालेले चुनाव जितेपछि विकास भनेको के हो देखाउनेछ ।’
बारा २ का मतदातालाई सत्तामा पुग्ने खुड्किलोको रुपमा प्रयोग गर्न केही नेताहरु चुनावी मैदानमा देखिएको भन्दै उम्मेदवार पौडेलले अब यस क्षेत्रका मतदाताले त्यस्तो हुन नदिने दाबी गरे । उनले बारा २ का जनता सचेत रहेको र क्षेत्रको विकासका लागि काम गर्ने नेता चयन गर्न योग्य रहेको समेत बताए ।
यसैगरी तेतरियामा आयोजित सभामा बोल्दै उम्मेदवार पौडेलले बारा २ नेकपा एमालेको क्षेत्र रहेको बताए । बारा २ कम्युनिष्ट नेता सोहन चौधरीले चुनाव जितेको क्षेत्र रहेको स्मरण गराउदै उम्मेदवार पौडेलले अब पुनः एमालेको झण्डै फहरिने बताए । उनले एमालेले जितले मात्रै बारा २ को मुहार फेरिने बताएका छन् ।
काठमाडौं, ३ वैशाख ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
आइतबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । आइतबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा कायम गरिएको छ । यसअघि शुक्रबार उक्त डलरको खरिदबिक्री सोही मूल्यमा भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोपियन युरोमा ४२ पैसाले उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ७९ पैसाले बढेको हो । शुक्रबार युरो एकको खरिदमूल्य १४४ रुपैयाँ र बिक्रीमूल्य १४४ रुपैयाँ ६६ पैसा कायम गरिएको थियो।
आइतबार बेलायती पाउण्ड स्टर्लिङको कारोबार स्थिर रहेको छ । आज यसको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १९ पैसा तोकिएको छ। शुक्रबार यसको कारोबार पनि सोहि मूल्यमा भएको थियो ।
त्यसैगरी, आइतबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८८ रुपैयाँ ५५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५२ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।
आइतबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६८ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसामा पाइनेछ ।
उता, कुवेती दिनार एकको खरिदमा आइतबार ४२७ रुपैयाँ एक पैसा र बिक्रीमा ४२८ रुपैयाँ ९७ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ २१ पैसा तोकिएको छ।
काठमाडौ, ३ वैशाख ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला ११० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु ३२ रुपैया, सेतो आलु २६ रुपैयाँ रहेको छ भने स्थानीय काउली ३५ रुपैयाँ, कागती २४० रुपैयाँ, कुरीलो २५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ५० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौला ३० रुपैयाँ, चमसूरको साग १०० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैया, तराइ परवर र न्यूरो ९० रुपैया, भारतीय सुकेको प्याज ३१ रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदीना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ केजी कायम गरिएको छ ।
ब्रोकाउली ६० रुपैयाँ, भान्टा लाम्चो ३० रुपैयाँ, भिण्डी ६० रुपैया केजी, मूला सेतो २० रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुई कटहर १८० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ३० रुपैयाँ र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ ।
काठमाडौं, ३ वैशाख ।
स्पेनिस ला लिगामा रियल म्याड्रिडले क्याडिजलाई २–० ले पराजित गरेको छ ।
क्याडिजमा शनिबार राति भएको खेलमा रियलले घरेलु टोली क्याडिजलाई पराजित गरेर शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरी छोट्यायो। रियलको जितमा नाँचो फर्नान्डेस र मार्काे एसेन्सियोले गोल गरे ।
यो जितसँगै रियलले बार्सिलोनासँगको अंक दूरी १० मा छोट्याएको छ । एक खेल कम खेलेको बार्सिलोनाको ७२ अंक रहँदा रियलको ६२ अंक छ । पराजित क्याडिज ३१ अंक जोडेर १५औं स्थानमा छ ।
धनगढी, ३ वैशाख
बैतडीमा एक युवकको हत्या गरिएको छ।
जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हो।
बैतडी प्रहरीका अनुसार शनिवार राति ८ बजे उनी हत्या गरिएको अवस्थामा फेला परेका थिए। जोशीमाथि धारिलो हतियार प्रहार भएको पाइएको हो। उनका हत्यारा फरार भएका छन्। घटनाबारे अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।