२०८३ भाद्र १३
२०८३ भाद्र १३

 

बर्दिया, २२ वैशाख ।

बर्दियामा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

राजापुर नगरपालिका–६, जोगीपुर बस्ने २६ वर्षीय राजाराम थारु र सोही ठाउँ बस्ने २२ वर्षीय शनीराम थारुलाई बालिका बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

ती बालिकालाई बुधबार राति बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको टोलीले बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

काठमाडौं, २२ वैशाख ।

ठमाडौंका विभिन्न स्थानबाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट घर भई काठमाडौं टोखा नगरपालिका-७ बस्ने ३१ वर्षीया सम्झना गहतराज र बाँके नेपालगंज घर भई काठमाडौं बागबजारस्थित होटलमा बस्ने ३२ वर्षीय सादाय हलुवाई रहेका छन् ।

 

गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती क्षेत्रमा नक्कली नोटहरुबाट सामान किनबेच हुने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले सम्झना गहतराजलाई एक हजारको १ थान नक्कली नोटसहित फेला पारी पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा काठमाडौं बागबजारस्थित सादाय हलुवाईको कोठाबाट एक हजार दरको ४९ थान नक्कली नोट, प्रिन्ट गरेको काट्न बाँकी एकहजार दरको नोट १ सय २६ थान, पाँच सय दरको नोट २ थान, प्रिन्ट गरेको काट्न बाँकी पाँच सय दरको नोट ६० थान, प्रिन्टर मेसिन १ थान, बैंकको चेक बुक १ थान, नेपाली नागरिकता १ थान, फलामको रूलर १ थान, मसि ५ थान, रंगिन पेपर ५० थान, फोटोकपि पेपर र मोबाइल २ थान फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर मुद्रा सम्बन्धी कसूरमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।

 

सुनसरीकाे ईटहरी उपमहानगरपालिका-१ आपगाछीबाट एक हजार दरको ६ थान र पाँच सय दरको २२ थान नक्कली नोटसहित गढी गाउँपालिका-२ बस्ने ३८ वर्षीय जमिल खातुनलाई  प्रहरीले पक्राउ गरेको छ ।

 

उक्त स्थानमा लागेको सिरुवा मेलामा खातुनले जेरी किनमेल गरी एक हजार दरको नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई तलासी गर्दा उनको साथबाट उक्त नक्कली नोट फेला परेको हो ।

 

 

काठमाडौं, २२ वैशाख

बङ्गलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको विमान बङ्गलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण भएको छ ।

विमानमा खराबी देखिएपछि जहाजलाई पटनामा आकस्मिक अवतरण गराइएको र विमानस्थलको प्राविधिक टोलीले चार घण्टाको परीक्षणपछि पुनः उडान भरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विमानमा ७७ जना यात्रु थिए । दिउँसो १२ बजे पटना विमानस्थलमा आकस्मिक अवतरण गरेपछि विमानबाट हतार हतार यात्रुलाई बाहिर निकालिएको थियो ।

 

खोटाङ, २२ वैशाख 

रवि लामीछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले खोटाङमा सम्पर्क कार्यालय स्थापना गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको भानुचोक, बरगाछीमा रास्वपाले शुक्रबार सम्पर्क कार्यालय स्थापना गरेको हो ।

हालका लागि मुकुण्दकृष्ण थापा, पारस बिराट र सोनामहाङ राईलाई सम्पर्क व्यक्ति तोकेर सम्पर्क कार्यालय स्थापना गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सदस्य मञ्जु विष्टले जानकारी दिएकी छन् ।

तीन जना सम्पर्क व्यक्तिलाई पार्टीको बारेमा जान्न चाहने व्यक्तिलाई आवश्यक जानकारी दिने र सदस्य बन्न इच्छुक व्यक्तिलाई सदस्यता वितरण गर्न सहजीकरण गर्ने जिम्मेवारी दिइएको रास्वपाले जनाएको छ । रास्वपाले डा. राजकुमार राई, बागमती प्रदेश सदस्य गणेश बस्नेत लगायतको उपस्थितिमा सम्पर्क कार्यालय स्थापना गरेको हो । ‘सदस्य साथीहरुको संख्या वृद्धिसँगै केन्द्रका नेताहरुको उपस्थितिमा निकट भविष्यमा जिल्ला कार्य समिति गठन हुनेछ,’ बिष्टले भनिन्, ‘तत्पश्चात जिल्ला कार्य समितिले गाउँ तथा नगरपालिका र वडा तहमा संगठन विस्तार गरिने छ ।’

कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलका कतिपय नेता समेत रास्वपामा प्रवेश गर्नेगरी नियमित सम्पर्क र छलफलमा रहेको प्रदेश सदस्य बिष्टले जानकारी दिएकी छन् । ‘जान्नेलाई छान्ने’ अर्थात राजनैतिक बिरासतभन्दा पनि पार्टीमा क्षमता र विज्ञताको आधारमा नेताले पद पाउने रास्वपाले जनाएको छ । रास्वपाको संगठन विस्तारलाई अन्य दलले चासोकासाथ हेरेका छन् । ‘हाल जिल्लाबाट पनि सदस्यताका लागि अनलाईन आवेदन परिरहेको छ तर कति जनाको आवेदन पर्‍यो भन्ने कुरा केन्द्रमा बुझ्न बाँकी छ,’ सम्पर्क व्यक्ति पारस बिराटले भने, ‘धेरै अग्रज नेताहरु रास्वपामा आउन चाहनुहुन्छ तर बिरासतले अलि असहज भइरहेको छ । फेरी हाम्रो नारा नै जान्नेलाई छान्ने छ ।’

पुराना दलहरु नेपाली जनताको परिवर्तनकारी आकांक्षा पुरा गर्न पूर्णरुपमा असफल भएको सन्दर्भमा रास्वपाको उपस्थितिलाई सान्दर्भिक, जनभावना अनुकुल बनाउन मुलुकको हरेक कुना–कुनामा आफ्नो संगठन विस्तारलाई मुर्त रुप दिने सिलसिलामा जिल्लामा संगठन विस्तार सुरु गरिएको विज्ञाप्तीमा उल्लेख छ । न्युज कारखाना

 

काठमाडौं, २२ वैशाख

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक सुरू भएको छ ।

पार्टी कार्यालय बसन्धारामा आज संयुक्त बैठक बसेको हो ।

सरकारलाई दिएको समर्थन कायमै राख्ने कि प्रतिपक्षमा बस्ने भन्नेबारे आज रास्वपाले निर्णय लिने सम्भावना छ ।

 

काठमाडौं, २२ वैशाख

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ ।

मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै जनप्रतिनिधि र कर्मचारीलाई जथाभाबी विदेश भ्रमणमा नजान निर्देशन दिएको हो । जनप्रतिनिधि तथा कर्मचारी वैदेशिक भ्रमण जाँदा कतिपय कार्यक्रम औचित्य पुष्टि नहुने देखिएकाले त्यस्ता कार्यक्रममा नजान मन्त्रालयको निर्देशन छ ।

जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पठाएको परिपत्रमा कार्यक्रम सम्बन्धित देशमा रहेका तर आधिकारिकता पुस्ट्याइँ हुन नसक्ने किसिमका निमन्त्रण स्वीकृतिको लागि मन्त्रालयमा निवेदन बढिरहेको मन्त्रालयले जनाएको छ ।

वर्तमान आर्थिक संवेदनशीलता,चालू आर्थिक वर्षको अन्तिम र नयाँ आर्थिक वर्षको बजेट निर्माणको महत्त्वपूर्ण समयलाई मनन गरी अत्यावश्यक र औचित्यपूर्ण अवस्थामा बाहेक वैदेशिक भ्रमण स्वीकृतिका लागि नपठाउनु सूचनामा उल्लेख छ ।

आधिकारिकता पुस्ट्याइँ हुन नसक्ने तथा गलत कागजात तयार गरी पठाएका अनुरोध पत्र माथि मन्त्रालयले कारबाही गर्ने चेतावनी समेत दिएको छ । परिपत्र अनुसार वैदेशिक भ्रमणमा जाने प्रयोजनका लागि आधिकारिक स्रोतबाट प्राप्त आयोजक कार्यक्रम भ्रमण अवधि भ्रमणका लागि स्रोत साधनको व्यवस्थापन लगायतका विषयमा स्पष्ट पुष्टि हुने कागजातहरू संलग्न मन्त्रालयलाई पेस गर्नुपर्ने भएको छ ।

काठमाडौं, २२ बैशाख । चन्द्र ग्रहणको एउटा भौगलिक घटना मानिन्छ । यो सालको पहिलो चन्द्रग्रहण बैशाख २२ गते लाग्दैछ  । यस बर्षको चन्द्रग्रहण यस अर्थमा पनि खास छ कि यो बुद्ध पुर्णिमाका दिनमा लाग्दैछ, जो १३९ बर्ष पछि लाग्न लागेको हो ।

 

यो चन्द्रग्रहण तुला राशी र स्वाती नक्षत्रमा लाग्दछ । बैशाख २२ गते राती ८ बजेर ४४ मिनेट देखी सुरु भएर मध्यरात अर्थात करिब १ बजेर २ मिनेटसम्म रहन्छ । यो चन्द्रग्रहणको कुल अबधी ४ घन्टा पन्ध्र मिनेटको हुनेछ ।

 

चन्द्र ग्रहणको सुतक काल ९ घन्टा अगाडीवाट सुरु हुन्छ तर यो चन्द्रग्रहण नेपालवाट भने देखिने छैन, जसकाकारण यहाँ सुतककाल मानिदैन् । यो उपछायाँ चन्द्रग्रहण हो, चन्द्रमामा पृथ्वीको छाया मात्र एउटा क्षेत्रमा मात्रै देखिने

भएकाले सबैतिरवाट यो देखिदैँन् ।

काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धमा भौतिकबादी र द्वन्द्ववादी दुबै गुण रहेको बताएका छन् ।

 

आज २५६७ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना दिदै  प्रधानमन्त्री प्रचण्डले वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर बुद्धले भिक्षु संघको परिकल्पना र अभ्यास गरेको समेत जनाएका छन् ।

 

‘आजभन्दा २५६७ वर्ष पहिला नेपालको लुम्विनीमा जन्मिनुभएका बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहिआएको छ । बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुबै हुनुहुन्थ्यो, वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर उहाँले भिक्षु संघको परिकल्पना र अभ्यास दुबै गर्नुभयो,’ बुद्धलाई स्मरण गर्दै प्रधानमन्त्रीले भनेका छन, ‘दर्शनको क्षेत्रमा मात्र नभएर चिन्तन र समाज विज्ञानको क्षेत्रमा उहाँको योगदान विश्वव्यापी रूपमा सर्वमान्य छ । तसर्थ, पूर्वीय दर्शन र सभ्यताको पछिल्लो युगमा बुद्ध सबैभन्दा प्रख्यात र मान्य व्यक्तित्व हुनुभयो ।’


नेपालको भूमिमा जन्मिएका शान्तिका अग्रदुत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गर्नुभएको प्रसङ्ग आज पनि उत्तिकै महत्वपूर्ण मानिने गरिएको प्रधानमन्त्रीको भनाई छ । ‘बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उहाँका विचारहरू विश्वभरि लोकप्रिय र कालजयी रहन सकेका हुन्,’ उनले आफनो शुभकामना सन्देशमा भनेका छन, ‘मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि उहाँले गर्नुभएको त्याग, लिनुभएको विचार र अभ्यास नेपालीहरूका लागि विशेष ऐतिहासिक गौरवका विषय हुन् । आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जान्छ ।’

 

यस महत्वपूर्ण अवसरमा बुद्ध दर्शन, बुद्धको जन्मभूमि लुम्बिनी र महत्वपूर्ण सबै बौद्धक्षेत्रहरूको प्रवद्र्धन र विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले बुद्ध जयन्तीले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वासका साथ फेरि एकपटक सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

काठमाडौं, २२ बैशाख । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्नेछ ।

 

गत बुधवार पनि बसेको सत्तारुढ दलको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो ।

 

बैठक अपरान्ह बस्नेछ ।

काठमाडाै‌‌, २२ बैशाख ।  प्रकृतिको पुजारी किराँत समुदायले बैशाख पुर्णिमाका दिनमा पर्ने उभौली पर्व धुमधामसहित मनाउदै छन् ।

 

मुख्यत अन्न बाली सप्रियोस्, खेतबारीमा राम्रो बालीनाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै किरात समुदायले यस उभौली पर्व मनाउँने गरिन्छ ।

 

किरात समुदायले मुख्यत: दुई पर्व उभौली र उधौली मनाउँछन् । वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रूपमा उनीहरुले मान्दै आएका छन । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।

 

यस दिन चण्डी नाचिन्छ, जसकाकारण यसलाई बोलिचालीको भाषामा आज चण्डी पूर्णिमा पनि भनिन्छ ।

 

आजको दिनमा सुम्निमा अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनको रुपमा किराँतहरुले यस दिनलाई सम्झने गरेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।