लन्डन, ८ जेठ ।
विदेशमा रहेका नेपाली समुदायको हित तथा ताजा सूचना, मनोरञ्जनात्मक र खेलकुदलगायत समाचार प्रवाहमा अनलाइन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण विश्वास प्रधानमन्त्री पुष्पकमल दाहालले लिएका छन् ।
नेपाल ब्रिटेन डटकमको १६ औं वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिँदै प्रधानमन्त्री दाहालले भनेका छन्, ‘हरेक विधामा निष्पक्ष रुपमा निर्धक्क भएर यथार्थ समाचार ल्याउन अनलाइन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने विश्वास लिएको छु ।’
शुभकामना सन्देशमा प्रधानमन्त्री दाहालले भनेका छन्, ‘बेलायतबाट प्रकाशन भैरहेको नेपालब्रिटेन डट कमले १६ औं वसन्त पार गरेको खबर सुन्दा खुशी लागेको छ । सूचना तथा प्रविधिको विकासले गर्दा सारा संसार विश्व ग्राम (ग्लोबल भिलेज) मा परिवर्तन भै रहेका बेला मानव जातिका सामु उपस्थित प्रमुख चुनौतीहरुबारे जनचेतना जगाउन र ति सँग जुध्न सामूहिक प्रयत्नलाई बढावा दिन पनि संचार माध्यमको महत्वपूर्ण भूमिका रहन्छ । विदेशमा रहेका संचार माध्यमहरुले त नेपाल र बाह्य विश्वलाई आपसमा जोड्ने सेतुको काम गरिरहेका छन् ।’
विकसित देशहरुमा अनलाइन मिडिया तथा सामाजिक संजाल मानव समुदायका लागि आधारभूत आवश्यकताको वस्तु नै भैसकेको उल्लेख गर्दै नेपालजस्ता विकासोन्मुख देशहरुमा पनि यसको लोकप्रियतामा बढ्दै जानुका साथै जनतामा यसको पहुँचमा पनि वृद्धि हुँदै गएको प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा उल्लेख छ ।
काठमाडौं, ८ जेठ ।
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन् ।
जसअनुसार एउटा खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र फ्रेन्डस क्लब बिचमा प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
यसैगरी, च्यासल खेल मैदानमा चर्च ब्वाईज र हिमालय शेर्पा क्लब एक अापसमा भिडने छन् । जुन खेल पनि दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
काठमाडौं, ८ जेठ ।
यस सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन टोली म्यानचेस्टर सिटीले पुनः जीत हासिल गरेको छ ।
लिग सकिनु अघि नै च्याम्पिनन भएकाे म्यानचेस्टरले चेल्सी माथी १-० को जीत हासिल गरेको हो ।
इतिहाद स्टेडियम म्यानचेस्टरमा आइतबार राति भएको खेलमा अल्भारेजले पहिलाे हाफकाे १२औं मिनेटमा गरेको गोल नै निर्णायक हुन पुगेको थियो ।
लिग च्याम्पियन बनेकाे सिटीलाई चेल्सीसँगको खेलपछि ट्रफी प्रदान गरिएको छ ।
यस जितसँगै सिटीको ३६ खेलबाट ८८ अंकसहित शिर्ष स्थानमा छ भने पराजित चेल्सी ३६ खेलबाटै ४३ अंक जोडेर १२औं स्थानमा छ ।
काठमाडौं, ८ जेठ ।
केलिएन एम्बाप्पेको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जीत हासिल गरेको छ ।
फ्रेन्च लिग वानको उपाधितर्फ लम्किएको पिएसजीको जीतमा एम्बाप्पे एक्लैले गरेको दुई गोल निर्णायक हुन पुगेको छ । आइतबार राति अक्सेरेमाथि २–१ को जित निकाल्दै पिएसजी उपाधि भन्दा एक कदम पछाडी रहन पुगेकाे हाे ।
आइतबारको खेलको छैटौ मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई १–० को सुरुवाती अग्रता दिलाए । त्यसको दुई मिनेट पछि अर्थात ८ औं मिनेटमा उनै एमबाप्पेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।
त्यसपछि कुनै गोल हुन नसक्दा पहिलो हाफ २–० मा टुंगियो ।
तर, दोस्रो हाफको सुरुवाती अर्थात ५१औं मिनेटमा लासिन सिनायोकोले गोल गर्दै खेललाई २–१ को स्थिति फर्काए । तर, त्यसपछि दुवैतर्फवाट कुनै गोल हुन सकेन अन्तत खेल २-० मा नै टुंगिन पुग्यो ।
फ्रेन्च लिग वानमा पिएसजीले अब दुई खेल खेल्न बाँकी छ । तर, उपाधि जित्नका लागि बाँकी रहेको दुई खेलबाट १ अंक मात्र जोडेमा पनि पिएसजी कीर्तिमानी ११औं पटक च्याम्पियन बन्नेछ ।
काठमाडौं, ८ जेठ ।
सरकारको नीति तथा कार्यक्रम माथीको छलफल आज पनि जारी रहने भएको छ ।
गत शुक्रवार सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथी आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो ।
हिजो देखी सुरू भएकाे छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए ।
आज पनि सोही नीति तथा कार्यक्रम माथी छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । बैठक बिहान ११ः०० बजेवाट सुरु हुनेछ ।
काठमाडौं, ८ जेठ ।
नक्कली भुटानी शरणार्थीमा मुछिएकाहरु माथीकाे अनुसन्धान प्रतिवेदन आज बुझाईदैछ ।
जिल्ला प्रहरी कार्यालयले हालै पक्राउ परेका माथी गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज प्रतिवेदन बुझाउन लागिएको हो ।
सो प्रकरणमा पुर्व गृहमन्त्री बालकृष्ण खाँड, पुर्व मन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतलाई पक्राउ गरी झन्डै दुई महिना देखी जारी अनुसन्धानको प्रारम्भिक प्रतिवेदन बुझाउन लागेको प्रहरीले जनाएको छ । हिजै बुझाउने भनिए पनि कागजातका अपुग भए पछि आज बुझाउन लागिएको हो ।
काठमाडौं, ८ जेठ ।
आज राष्ट्रिय सभा बैठक बस्दैछ ।
संघीय संसद भवन, वानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनमा उल्लिखत आर्थिक वर्ष २०८० ८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममामाथि छलफल हुनेछ ।
बैठक अपरान्ह १:०० बस्नेछ ।
काठमाडौं, ८ जेठ ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागहरूको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।
राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
चितवन, ७ जेठ
ट्रकको ठक्करबाट चितवनमा स्कुटर चालकको ज्यान गएको छ । आइतबार बिहान चितवन भरतपुर महानगरपालिका-१२ टिकौली जाँदै गरेको ट्रकले सोही दिशामा जाँदै गरेको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ना.४ ख ६६७४ नम्बरको ट्रकले बागमती प्रदेश ०३-००२प ७६८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भरतपुर महानगरपालिका-११ का २० वर्षीय सागर तामाङको मृत्यु भएको हो ।
उनको स्कुटर पछाडि सवार २० वर्षीय विशान्त ढकालको उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको पनि अवस्था गम्भीर छ । विशान्तको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
ट्रक चालक तनहुँ घुमाउने नगरपालिका-४ बस्ने ५० वर्षीय ढकबहादुर गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं, ७ जेठ
नेकपा एमालेका सांसद दयालबहादुर शाहीले बोलेको शब्द संसद्को रेकर्डबाट हटाइएको छ ।
आइतबारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि टिप्पणी गर्ने क्रममा उनले बोलेका शब्द संसदीय मर्यादा प्रतिकूल भएको भन्दै सभामुखको आसनमा बसेकी उपसभामुख इन्दिरा रानामगरले रेकर्डबाट हटाउन निर्देशन दिएकी थिइन् ।
एमाले सांसद शाहीले संसद्मा कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री बद्रि पाण्डेको नामै लिएर टिप्पणी गरेका थिए ।
बूढा महामन्त्रीहरू पद खाँदाखाँदा बुद्धि धमिल्लिनु स्वाभाविकै भएको तर तेज करार महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्रि पाण्डेको नाम लिएर उनले सत्ता स्वार्थको निम्ति बीपीको सिद्धान्त छोड्न अलिकता पनि संकोच लागेन ? भन्दै प्रश्न गरेका थिए । उनले ७ वटा मन्त्रीको निम्ति कांग्रेसले गहतको झोलमा जात फालेको आरोपसमेत लगाएका थिए ।
त्यसपछि कांग्रेस सांसद ईश्वरी न्यौपानेले नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेकोमा उक्त अभिव्यक्ति हटाइएको हो ।