काठमाडौं, ९ जेठ
बुधबारका लागि संघीय संसदको संयुक्त बैठक आह्वान भएको छ ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले सूचना निकालेर संघीय संसदको संयुक्त बैठक आह्वान भएको जानकारी दिए ।
सूचना अनुसार बुधबार दिउँसो ४ बजे संयुक्त बैठक बोलाइएको छ । बैठकमा संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
काठमाडौं, ९ जेठ
सीके रावत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । सरकार, गठबन्धन, संगठन निर्माणलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो ।
पार्टी संगठन विस्तार तथा सुदृढीकरण, देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्नका लागि यही जेठ १२ गते बैठक आह्वान गरिएको पार्टीकी सचिव अनिता साहले बताइन् ।
सिमरा, ९ जेठ
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१४ स्थित खयरघारीमा बाघले आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीय प्रमिला थिङ रहेको प्रहरीको भनाइ छ ।
बाघले आक्रमण गर्दा उनको अनुहार, पेटलगायत शरीरको विभिन्न भागमा चोट लागेको छ । प्रमिलाको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
स्थानीय कपिल खरेलका अनुसार महिलालाई घर नजिकैको जंगलमा बाघले आक्रमण गरेको हो ।
आरके श्रीवास्तव,रौतहट,०९ जेठ ।
रौतहटको गरुडा नगरपालिकामा आजदेखि लामखुट्टे मार्ने औषधी छर्ने काम सुरु भएको छ । गर्मीयाम बढेसँगै झिँगा, लामखुटे विभिन्न प्रजातिका किराहरुको प्रकोप बढेको छ । मंगलवार देखि सो नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्म औषधी छर्ने काम सुरु भएको छ ।

आज पहिलो दिन नगरपालिका अन्तर्गत वडा नम्बर १ जयनगर बाट सो वडाका वडा अध्यक्ष शेख वहाबको अध्यक्षतामा औषधी छर्ने कामको थालनी गरिएको हो । गरुडा नगरपालिका भित्रका गाउँहरुमा लामखुटे, झिँगा विभिन्न प्रजातिका किराहरु गाउँमा देखा पर्ने गरेको देखिएको छ ।

उक्त जोखिमलाई उन्मुलन गर्न रेफेल नाम गरेको औषधी छरेको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवालले बताए । लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण फैलन नदिन औषधी छर्न सुरु गरिएको नगर प्रमुख जयसवालले बताउनुभयो ।

उनले भने नगरभरी लामखुट्टेको प्रकोप बढन थालेपछी कार्यपालिका बोर्ड बैठक बसी निर्णय गरेबमोजिम नै औषधी छर्ने काम भइरहेको छ । धेरै दिन देखि लामखुट्टे मार्ने औषधी छर्ने सोच थियो ।

त्यो आज सफल भएको छ । लामखुट्टेको प्रकोप बाट नगरवासीहरुले राहत पाउने भएका छन् । गर्मी बढेसँगै लामखुट्टेको प्रकोप पनि बढी रहेको छ । लामखुट्टेको टोकाइबाट हुने विभिन्न रोग बाट बच्न औषधी छर्कने काम सुरु भएको छ । गाउँमा औषधी छर्दा स्थानीयहरु खुशी भएका छन् ।

विशाल बस्नेत,महोत्तरी, ९ जेठ ।
मधेश प्रदेशमा मेघ गर्जनसहित चलेकाे हावाहुरीबाट अन्नबालीमा असर गरेकाे छ । मंगलबार बिहान करिब एक घण्टा चलेकाे हावाहुरीले अन्नबालीमा नोक्सान पुर्याएको किसानहरुले जानकारी दिएका छन् ।
`फल लाग्ने बेला भएको मकैमा नोक्सान पुर्याएको छ,´ बर्दिबास-९ का किसान राम नरेशले भने, ` वर्षामात्र भएको भए नोक्सान हुदैनथ्यो, हावाहुरीले समस्या बनायो ।´ अहिले पनि पानी परिरहेकाे छ ।
वर्षा हुने समयमा हुरिबतास चल्नु जलवायु परिवर्तनको असर भएको विज्ञहरुको बुझाइ छ । मौसमको अनियमित फेरबदल र बेमौसमी हावाहुरी जलवायु परिवर्तनको कारक भएको जलवायुविज्ञ विराट पन्त बताउँछन । अघिल्लो साता आएको हावाहुरीले पनि फल्दै गरेको आँप, लिची जस्ता फलफूल र बालीनालीमा असर पुर्याएको थियो ।
महोत्तरीका किसानहरुले क्षतिपूर्तिको मागसहित जिल्ला कृषि कार्यालय, कृषि ज्ञान केन्द्र र सम्बन्धित स्थानीय तहमा ध्यानाकर्षण समेत गराएका थिए । तराईमा केही दिनदेखि गर्मी पनि अत्याधिक बढेको छ । केही वर्ष अगाडि र अहिलेको तुलना गर्दा गर्मीमा नै निकै ठूलो फेरबदलको महसुस गरिरहेको स्थानीयहरु बताउँछन् ।
लामो समयदेखि खडेरी पर्ने र एकैचोटी वर्षा र हावाहुरी आउँदा किसानहरु समेत चिन्तित बनेका छन । `पानी आउँदैन, आउन लाग्यो भने बौलाएर आउँछ, के हुन्छ भन्नेमा नै डर लागेर आउँछ,´ बर्दिबास-३ का किसान द्रोण खड्काले चिन्ता व्यक्त गर्दै भने ।
डडेल्धुरा, ९ जेठ
डडेल्धुराको साहुखर्कका खिर बाजेको निधन भएको छ । डेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक शेरबहादुर देउवाको निधन भएको हो ।
गन्यापधुरा गाउँपालिका-१ निवासी उनको ७२ वर्षको उमेरमा निधन भएको छ । २०३२ सालदेखि भिमदत्त राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रीलाई स्वादिष्ट खिर खुवाउँदै आएका देउवा देशभरमै चर्चित व्यक्ति हुन् ।
नयाँदिल्ली, ९ जेठ ।
कांग्रेस आईका नेता राहुल गान्धी ट्रकमा चढेर दिल्लीवाट चण्डीगढ गएका छन ।
उनले सो क्रममा ट्रक ड्राइभरसँग कुराकानीसमेत गरेका छन ।
यसै क्रममा उनले ट्रक ड्राइभरको मुद्धा र समस्याका बारेमा जानकारी लिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । अहिले उनले ट्रक यात्रा गरेको भिडियो भाइरल भएको छ ।
कर्नाटक बिद्यानसभा निर्वाचनको जीत पछि उनी ट्रकको यात्रामा निस्केको तस्विरहरु सार्र्वजनिक भएका हुन ।
कर्नाटक निर्वाचन पछि उनले प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनिएको संसद भवनको उदघाटन प्रति उनले आपत्ति जनाएका छन् ।
उनले सो संसद भवनको उदघाटन राष्ट्रपतिको हातवाट गर्नु पर्ने माग राख्दै आएका छन् । हालै सो संसद भवनको निमार्ण कार्य पुरा भएको थियो, सावरकर जयन्तीको अवसरमा २८ मेमा सो नयाँ संसद भवनको उदघाटन गर्ने जनाईएको छ ।
लोकसभाका सभामुख ओम बिरलाले २८ मेमा माेदीले सो संसद भवन उदघाटन गर्ने जानकारी यसअघि नै गराईसकेका छन् ।
रियाद, ९ जेठ ।
पहिलो महिला अरबी अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) पुगेकी छिन् ।
एक्जिओम स्पेसको दोस्रो निजी मिसनमा जाने दुई साउदीहरू मध्ये रेयानाह बर्नावी पहिलो महिला अरबी अन्तरिक्ष यात्री हुन् ।
जसले आइतबार अमेरिकाबाट स्पेसएक्स फाल्कन रकेटबाट उडान भरेको थियो। जो १० दिन उनी अन्तरिक्षमा रहने छिन ।
यस अवधिमा ३४ वर्षीया बायोमेडिकल वैज्ञानिकले स्टेम सेल र स्तन क्यान्सरकाे अनुसन्धान गर्ने योजना बनाएकी छिन्। उनको यो यात्राले मध्य पूर्वका महिलाहरूलाई प्रेरित गर्ने आशा गर्छिन्।
आईएसएसमा पुग्नुअघि अन्तरिक्षमा खिचिएको भिडियोमा उनले भनिन्, ‘विश्वभरका मानिसहरूका लागि, भविष्य धेरै उज्ज्वल छ। म चाहन्छु कि तपाईं ठूला सपनाहरू हेर्नुहोस्, आफूमा विश्वास गर्नुहोस् र मानवतामा विश्वास गर्नुहोस्।’
बर्नावी एक्सियोम मिशन– २ मा साथी साउदी मिसन विशेषज्ञ अली अल्कार्नीसहित पुगेकी हुन । जो अन्तरिक्षमा जाने खाडी राज्यका दोस्रो पुरुष अन्तरिक्ष यात्री पनि हुन । उनीहरुको टोलीमा दुई अमेरिकी कमाण्डर पेगी ह्वाइटसन र पाइलट जोन शफनरसँग सामेल रहेका छन् ।
काठमाडौं, ९ जेठ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भ्रष्टाचार निवारणका लागि कठोर कानुन निर्माण गर्नुपर्ने बताएका छन्। मुलुकको विकास र समृद्धिको बाधकका रूपमा भ्रष्टाचार नै प्रमुख कारण रहेको बताउँदै संसद्को चालु अधिवेशनबाट नै सांसदले भ्रष्टाचारविरुद्धको कडा कानुन बनाउनु पर्ने बताएका हुन्।
‘भ्रष्टाचार निवारण हुनुपर्छ भन्ने सार्वभौमसत्ता सम्पन्न संसद्मा सांसदहरूको मागमात्रै हो कि चालु अधिवेशनबाटै कठोर कानुन निर्माण गर्ने?,’ महरले सोमबार बिहानै सामाजिक सञ्जालमा प्रश्न गरेका छन्। उनले भ्रष्टाचार निवारण जस्तो गम्भीर विषयमा सरकार अकर्मण्य बन्न नहुने टिप्पणी गरे।
‘भ्रष्टाचार निवारणको गम्भीर विषयमा के संसद् अकर्मण्य बन्न लागेको हो? जवाफ खोजेका छन् जनताले,’ नेता महरले भने। नक्कली भुटानी शरणार्थी प्रकरणमा देशकै जिम्मेवार व्यक्तिहरू मुछिनु र देशमा भ्रष्टाचार मौलाउँदै जानुले खतराको संकेत गरेको उनको भनाइ छ।
‘भ्रष्टाचारले मुलुकको विकासमा मात्र प्रभाव पार्ने नभएर जिम्मेवार व्यक्तिहरूको नैतिकतामा समेत प्रश्न उठिरहेको छ। यसले हामीलाई विश्व जगतमा नै लज्जित हुनुपर्ने अवस्था छ। त्यसैले भ्रष्टाचारलाई निर्मूल पार्न कडा कानुन किन नबनाउने? यसमा हामीलाई केले रोकिरहेको छ?,’ उनको प्रश्न छ।
यसतर्फ नेताहरू समयमै सचेत नभए पछि यही विषय नेताहरूलाई भारी पर्ने महरले चेतावनी दिए।
आरके श्रीवास्तव,राैतहट,जेठ ०९ गते ।
राैतहटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान माैलापुर नगरपालिका वडा नम्बर ४ का ३५ वर्षीय प्रतिमा देविको चट्याङ लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय माैलापुरले जनाएको छ।
मंगलबार बिहान हैण्ड पाईप बाट पानी भर्ने क्रममा चट्याङ्ग लागेर उनकाे मृत्यू भएकाे हाे ।
चट्याङकाे घटना भएको ठाउँ प्रहरी पुगेर जाँच मुचुल्का उठाइरहेको र मृतककाे शव पाेष्ट मार्टमका लागि प्रादेशिक अस्पताल गाैर पठाउने तयारी भईरहेकाे ईलाका प्रहरी कार्यालय माैलापुरका प्रहरी निरिक्षक नन्दकिशोर चौहानले बताएका छन् ।