काठमाडाैं, २ असार ।
हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती भने कोशी प्रदेश, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश सहित बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी प्रदेशको एकदुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ।
प्रदीप कुमार दास, रौतहट,०१ गते असार
रौतहटमा धार्मिक अगुवा तथा स्थानीय सरकारबीच सहकार्य सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । रौतहट जिल्लाको मध्यभागमा अवस्थित माधवनारायण नगरपालिकाको सभाहलमा निरन नेपाल र वर्ल्ड भिजन नेपालको सहकार्यमा आयोजना गरिएको धार्मिक अगुवाहरू तथा स्थानिय सरकारबीच सहकार्य सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।
निरन नेपाल रौतहटको जिल्ला अध्यक्ष अनिशुर रहमानको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बैजनाथ प्रसाद यादव , विशिष्ठ अतिथि नगर उप प्रमुख निर्मला देवी रमन, लगायत विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।
साथै कार्यक्रममा धर्म गुरुहरू ,स्थानिय महिला / पुरुषहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उपस्थित स्थानिय सरकारका जनप्रतिनिधिहरु ” हाम्रो समाजमा विद्यमान रहेका कुरीति /विकृतिका रूपमा रहेका महिला हिंसा , बाल विवाह ,दाइजो प्रथा,बालश्रम शोषण ,
छुवाछुत लगायतका विकृतिहरुको बिरुद्ध जनचेतना फैलाउने र लडने यस संस्थाले मात्र सफल एवं कुशल समाजको निर्माण गर्न सक्ने देखिएको र यस्ता संस्थाहरूलाई जुन परिस्थितिमा पनि सहयोग हुने प्रतिबद्धता जनाएका थिए ।
यस्तै , यो कार्यक्रम सबै पालिकामा सञ्चालन होस् र आफ्नो बालबच्चालाई पढाउने तर्फ ध्यान दिनु अभिभावकहरुको ध्यान जाओस् भनि नगर प्रमुख बैजनाथ प्रसाद यादवले सल्लाह दिनुभएको थियो । कार्यक्रमको उदघोषण निरन नेपालकाे जिल्ला सचिव शिवशंकर पासवानले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष रेष्मा साह राखेकी थिइन् ।
ब.स.,चन्द्रपुर,०१ गते असार
नेपाल प्रेस युनियन रौतहट शाखाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले प्रिमेश शिवाकोटीको नेतृत्वमा १३ जना कार्य समिती सर्वसम्मत रुपमा चयन गरेको हो ।

प्रेस युनियन केन्द्रीय प्रतिनिधी गणेश रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले अध्यक्षमा प्रिमेश शिवाकोटी,उपाध्यक्षमा राजेश्वर पाण्डे(खुल्ला) र समावेसी उपाध्यक्षमा दिपुकुमार मिश्र,सचिबमा सागर हुमगाई,उप-सचिबमा राम प्रकाश चौधरी,

कोषाध्यक्षमा लक्ष्मी बस्नेत चयन भएका छ्न भने सदस्यहरुमा राजेश पौडेल ,बिश्नु आचार्य,बिबेक चौधरी,मो.मोजिबुल्लाह,मनोज यादब,मो.ओजिर आलम र प्रेम यादब चयन भएका हुन ।

अधिबेशनमा नेपाल पत्रकार महासङका केन्द्रिय सदस्य शिब पुरी,प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्की,निवर्तमान अध्यक्ष यादबराज पुरीको आतिथ्यता रहेको थियो ।
ब.स.,राैतहट,०१ गते
असार राैतहटकाे देवाहीगाेनाही नगरपालिकामा उपप्रमुख परनिया देवी पटेलकाे अडानका कारण नयाँ हाकिम शम्भु यादव हाजिर हुन पाएनन् । उनलाई संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट देवाहीगाेनाहीकाे प्रमुख प्रशासकीय अधिकृतको रुपमा नियुक्त गरेर पठाएको हाे । शुक्रबार उनी हाजिर हुन आउँदा हाजिर गराउने र नगराउने पक्षकाे दर्जनौं मानिसहरूकाे नगरपालिकामा भिडभाड थियाे ।

देवाहीगाेनाहीका नगर प्रमुख प्रेमलाल साह पक्षले हाजिर गराउन चाहेका थिए भने उप प्रमुख परनिया देवी पक्षले हाजिर गराउन मानिरहेका थिएनन् । दुवै पक्षले हाकिम हाजिरकाे विषयलाई लिएर जुँगाकाे लडाइँ बनाएपछि त्यहाँ स्थिती केहिबेर तनावग्रस्त बनेकाे थियाे ।

स्थितिलाई साम्य पार्न ईप्रका देवाहीगाेनाही,ईप्रका गरूडा र ईप्रका कटहरिया बाट जनपद प्रहरी र सशस्त्र प्रहरी समेतकाे टाेली पुगेको थियाे । नयाँ हाकिमकाे रूपमा हाजिर हुन आउनु भएका शम्भु यादवलाई उपप्रमुख पटेलले आईतवार मात्र हाजिर हुन आग्रह गरेकि थिईन् ।

जवाफमा नेपाल सरकारका उपसचिव समेत रह्नु भएका यादवले आफू सबैकाे साझा हाकिम बन्नकाे लागि यहाँ आएकाे भन्दै आईतवार मात्रै हाजिर हुने प्रतिक्रिया दिए । स्मरणीयहाेस् साे नगरपालिकामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच तालमेल नहुँदा विकास निर्माणका काम प्रभावित भएको छ ।

देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, उपमेयर परनिया देवी पटेल र प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहबीच रहेको आपसी विवाद तथा टकरावका कारण नगरमा विकास निर्माणका कामहरु ठप्प भएका छन् । आर्थिक वर्ष २०७९/८० को अन्तिम महिना असार सुरू पनि मेयर साह, उपमेयर पटेल र प्रशासकीय अधिकृत साहबीचको विवादका कारण अझै विकासका कामहरु अगाडि बढ्न नसक्दा करोडौं रकम फ्रिज हुने अवस्थामा पुगेको जनप्रतिनिधिहरूले नै गुणासाे गर्न थालेका थिए ।

अन्ततोगत्वा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले यादवलाई प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी दिएर पठाएकाे हाे ।

मेयर प्रेमलाल साहले प्रशासकीय अधिकृत सिकेन्द्र साहलाई हटाएर अर्को हाकिम ल्याउन खोजेको र उपमेयर परनिया देवी पटेलले सिकेन्द्र साहलाई नै हाकिम राख्न खोजेको कारण तिनै जनाबीचको विवाद उत्कर्षमा पुगेको स्राेतकाे भनाइ छ । जनप्रतिनिधिबीच विवादले नगरपालिका अस्तव्यस्त समेत बनेको छ ।


काठमाडौं, १ असार ।
रौतहटस्थित श्रीराम सुगर मिल्सको सम्पत्ति लिलाम हुने भएको छ ।
नेपाल बैंकले बिहीबार सूचना जारी गर्दै कम्पनीको सम्पत्ति लिलामीमा राखेर बिक्री गर्न लागेको जानकारी दिएको हो ।
गोल्छा समूहको लगानी रहेको मिल्स दुई अर्ब रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको जनाईएको छ । मिल्सले ऋण तिर्न नसकेपछि बैंकले लिलामीको सूचना निकालेको हो ।

कम्पनीले ०७६ फागुन १३ मा सार्वजनिक सूचना प्रकाशित गरेर स्थायी रूपमा बन्द भएको घोषणा गरेको थियो, सो उद्योग बन्द भएको तीन वर्ष चार महिनापछि लिलामीमा परेको हो । कम्पनीले ०७६ फागुनमा आर्थिक वर्ष ०७५/७६ सम्म दुई अर्ब १७ करोड ७५ लाख रुपैयाँ खुद घाटा पुगेको जनाएको थियो ।
सो बैंकले ४ साउनसम्म इच्छुकले कम्पनी प्राप्तिका लागि आवेदन दिन सक्ने जनाएको छ । कम्पनीमा जेजस्तो अवस्थामा मेसिनरीहरू छन्, त्यो लिनुपर्ने भन्दै बैंकले लिलाम गर्ने न्यूनतम मूल्य ३८ करोड ११ हजार रुपैयाँ कायम गरेको छ ।
इच्छुकले यसको १० प्रतिशत रकम बुझाएर लिलाम प्रक्रियामा भाग लिन सकिने आज जारी सूचनामा उल्लेख छ ।
नयाँदिल्ली, १ असार । विगत केही सातादेखि मणिपुर हिंसाको आगोमा जलिरहेको छ ।
आमजनतासँगै प्रशासनिक अधिकारी र राजनीतिज्ञलाई पनि बदमासहरुलेले निशाना बनाउँदै लगेको छ ।
यसै सन्दर्भमा बिहीबार राति केन्द्रीय विदेश राज्यमन्त्री आरके रञ्जन सिंहको इम्फालको कोङ्बामा रहेको घरमा भीडले आगजनी गरेको छ । मणिपुर सरकारले यस विषयमा जानकारी दिएको छ ।
यो घटना बाहिर आएपछि समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै विदेश राज्यमन्त्रीले भने, ‘म अहिले आधिकारिक कामका लागि केरलामा छु । धन्यबाद हिजो राती मेरो घरका कोही पनि घाइते भएनन्। बदमाशले हानेको पेट्रोल बमले मेरो घरको भुइँ तल्ला र पहिलो तल्लामा क्षति पुगेको छ ।’
यसबाहेक, उनले भने कि ‘मेरो गृह राज्यमा के भइरहेको छ देख्दा धेरै दुःख लागेको छ। म अझै पनि शान्तिको लागि अपील गरिरहनेछु। यस्तो हिंसा गर्नेहरू पूर्णतया अमानवीय छन्।’
नयाँदिल्ली, १ असार ।
ब्राजिलबाट पठाइएको ४१ करोड ६० रुपैयाँ भन्दा बढीको कोकिन दिल्लीमा बरामद भएको छ ।
राजस्व गुप्तचर निर्देशनालय (डिआरआई) को गुप्तचर जानकारीको आधारमा यति ठुलो मात्रामा कोकिन बरामद गरेको हो ।
सो कोकिन ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोबाट कुरियर सेवामार्फत दिल्ली पठाइएको थियो। सूचना प्राप्त भएपछि डिराआई को दिल्ली क्षेत्र एकाइले सो पार्सलको खोजतलास गरेको थियो ।
पार्सलको खोजीका क्रममा १९२२ ग्राम कोकिन बरामद भएको दिल्ली प्रहरीले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य ४२ करोड भएको अनुमान गरिएको छ । यसरी आएको कोकिन दुईवटा बक्समा राखिएको थियो ।
अनुसन्धान अधिकारीहरूले ती केही पार्सल माथी शंका गरेका थिए, जसमध्ये कोकिन रहेको पार्सल अस्वभाविक रुपमा भारी भएको अनुभव गरियो र तीनलाई खोलेर हेर्दा कोकिनको ठुला मात्रामा फेला पर्न गयो ।
अनुसन्धानका क्रममा ९७२ बल भित्रबाट पोलिथिनमा प्याक गरिएको कोकिनका पाउडर बरामद भएको थियो । परीक्षण गर्दा ती सेतो रंगको पाउडर पार्सल भित्र थियो ।
सो बारेमा थप अनुसन्धान भईरहेको जनाईएको छ ।
काठमाडौं, १ असार ।
राष्ट्रिय परिचयपत्र बनाउँदा आफ्नो सांस्कृति, रीतिरिवाजअनुसार लगाइएका श्रृंगार र पोशाक लगाउन नपाइने नियम हटाउन माग गरिएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद अब्दुल खानले सांस्कृति, रीतिरिवाजअनुसार लगाइएका श्रृंगार पुछ्नुपर्ने र पोशाक लगाउन नपाउने नियमले आमनागरिक राष्ट्रिय परिचयपत्र बनाउने कार्यलाई बहिस्कार गरिरहेको जानकारी दिए । यसका साथै यस्ता प्रावधान हटाउनुपर्ने उनको माग छ ।
‘आफ्नो संस्कृतिअनुसार महिलाले लगाएको सिन्दुर पुछ्नुपर्ने, दोपट्टा टाउकोबाट हटाउनुपर्ने, कन्ठी फुकाल्नुपर्ने र टीका पुछ्नुपर्ने नियमले राष्ट्रिय परिचयपत्र बनाउन नागरिकले बहिस्कार गरेका छन्,’ उनले भने, ‘यस्तो बाध्यकारी नियम हटाउन सरकारको ध्यानाकर्षण गराउँछु ।’
गण्डकी, १ असार
गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जीतप्रकाश आलेले ०८०/८१ का लागि शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् ।
गण्डकीमा चालु वर्षको भन्दा २ अर्ब ४८ करोड १८ लाख रुपैयाँ कम बजेट ल्याइएको हो । चालु वर्षमा ३५ अर्ब ९० करोड ९० लाखको बजेट आएको थियो ।
मन्त्री आलेले प्रस्तुत गरेको बजेटको ३८.१ प्रतिशत चालुतर्फ विनियोजन भएको छ । १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार रुपैयाँ चालुतर्फ विनियोजन गरेको उनले जानकारी दिए ।
पुँजिगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार विनियोजन भएको छ । यो कुल बजेटको ६०.५ प्रतिशत हो। वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ विनियोजन भएको छ ।
काठमाडौं, १ असार
राहदानी विभागले सेवाग्राहीलाई असार १ गतेबाट ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालयहरुले १० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको उक्त राहदानी आगामी आइतबारबाट ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको हो ।
परराष्ट्रमन्त्री एनपी साउदले गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानीबराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।
‘जनतालाई असुविधा नहोस् र सुपथ मूल्यमा फ्रिक्वेन्ट फ्लायरले लिँदै आएको पासपोर्ट सर्वसाधारणलाई उपलब्ध गराउन निर्णय गरेका हौँ,’ उनले भने ।
यसअघि राहदानी विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट फ्रिक्वेन्ट फ्लायर (समय–समयमा विदेश गइरहने)लाई ६६ पृष्ठको राहदानी १० हजार रुपैयाँमा सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको थियो ।
यस्तै सामान्यतया विदेश जाने सेवाग्राहीलाई विभागले ३४ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा दिँदै आएको थियो ।
विभागले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालय, राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालयहरु र विदेशस्थित सबै नेपाली नियोगहरुलाई परिपत्र गरेर राहदानी दस्तुरसम्बन्धी जानकारी गराएको विभागका निर्देशक दुरपदा सापकोटाले जानकारी दिइन् ।
परिपत्रमा मन्त्रिपरिषद्को निर्णयअनुसार ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर ३४ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर सरह कायम गर्ने गरी संशोधन गरिएको र असार ३ गतेबाट संशोधित दस्तुर लागु गर्न निर्देशन दिइएको छ । राहदानी दस्तुरसम्बन्धी व्यवस्था पूर्ववत् रहेको निर्देशक सापकोटाले बताइन् ।