लमजुङ २३ असार ।
लमजुङको सुन्दरबजार नगरपालिकाले पालिका अन्तर्गतका विभिन्न खोलामा माछाका भुरा छोडेको छ । नगरपालिकाले पाउँदी, नाउँदी र किरिञ्चे खोलामा विभिन्न जातका १ हजार ८ सय ४० वटा माछाका भुरा छोडेको हो ।
सुन्दरबजार नगरपालिका पशु सेवा शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिका भित्रका खोलामा सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाले माछाको भुरा छाडेका हुन । अहिले खोलामा माछाका संख्या निकै कम भएको र स्थानीय माछाको संरक्षण र प्रबद्र्धनका लागि यो कार्यक्रम गरिएको नगरप्रमुख कोइरालाले वताए । उनले खोलाको संरक्षण गर्ने सबै नगरबासीको दायित्व भएकाले यस अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गरेका छन् । खोलामा करेन्ट लगाएर तथा बिष हालेर माछा मार्ने क्रमलाई रोक्न सम्बन्धित वडा, स्थानीय र प्रशासनसँग परामर्श गरेर अगाडि बढ्ने उनको भनाई छ ।
चालु आर्थिक वर्ष २०७९/०८० को कार्यक्रम अन्तर्गत खोेलामा स्थानीय रहु, नैनी, र चर जातका माछाका भुरा छाडिएको सुन्दरवजार नगरपालिका पशु सेवा शाखा प्रमुख लोकराज कोइरालाले वताए । स्थानीय पाउँदी खोलाको वडा नं. १० काँडेपानी, वडा नं. ३ लामिखेत, वडा नं. ४ र ५ सीमा क्षेत्रमा रहेको किरिञ्चे दोभान तथा वडा नं. ६ खत्रीठाँटी र नाउँदी खोलाको टुहुरे पसल नजिक माछाका भुरा छाडिएको हो ।
मत्स्य बिकास केन्द्र बेगनास कास्कीबाट ल्याइएका तिनै जातका माछाहरू खोलाहरूमा निकै प्रभावकारी तरिकाले उत्पादन हुने र छिटो बढ्ने पशु सेवा शाखाका प्रमुख कोइरालाको भनाई छ । खोलामा भुरा छाड्ने कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्ष तथा सदस्यहरू, पालिकाका कर्मचारीहरू, स्थानीयहरू लगायतको उपस्थिति थियो ।
पशु सेवा शाखाले चालु वर्ष नै मत्यविकास कार्यक्रम अन्तर्गत माछापालक किसानहरुलाई ५० हजार माछाका भूरा वितरण गरेको जनाएको छ ।
नयाँदिल्ली, २३ असार ।
ओडिशाको बालासोरमा जुन २ मा भएको रेल दुर्घटनामा सीबीआईले शुक्रबार ३ रेलवे कर्मचारीलाई पक्राउ गरेको छ ।
यसरी पक्राउ परेका तीनै जनालाई आईपीसी धारा ३०४ (हत्या नभएको अपराधी हत्या) अन्तर्गत मुद्दा चलाइएकाे छ । केन्द्रीय अनुसन्धान एजेन्सीले यस रेल दुर्घटनामा आपराधिक षड्यन्त्रको सम्भावनाको अनुसन्धान गरिरहेको थियो। पक्राउ पर्नेमा रेलवेका सिनियर सेक्शन इन्जिनियर अरुणकुमार महन्तो, सिनियर सेक्शन इन्जिनियर मोहम्मद अमिर खान र प्राविधिक पप्पु कुमार रहेका छन् ।
कानुकाे व्याख्या अनुसार धारा ३०४ अन्तर्गतको सजाँयमा आजीवन कारावास र जरिवाना वा कठोर कैद समावेश छ। यी तीनको लापरवाहीका कारण यति ठूलो दुर्घटना भएको स्रोतको भनाइ छ ।
बालासोरको बहंगा बजार रेलवे स्टेसननजिकै जुन २ मा साँझ ७ बजे कोरोमण्डल एक्सप्रेस स्टेशनमा उभिरहेको मालगाडीसँग ठोक्किएको थियो । बेंगलुरु-हावडा सुपरफास्ट एक्सप्रेस पनि यसको चपेटामा परेका थियाे । यो रेल दुर्घटनामा २९२ जनाको मृत्यु भएको थियो भने १००० भन्दा बढी घाइते भएका थिए ।
जसकाकारण बहनगा बजार स्टेशनमा कुनै पनि रेल रोकिने छैनन्, बहनगा बजार रेलवे स्टेशनबाट दैनिक लगभग १७० रेलहरू गुज्र्छन्।
CRS ले कथित रूपमा केही भूमि अधिकारीहरूको लापरवाही पर्दाफास गरेको थियो, जसले तीन वर्ष अघि सुरक्षा चिन्ताको कारण डिजाइन परिवर्तन गरेपछि निरीक्षणको पर्याप्त सुरक्षा प्रक्रियाहरू पालना नगरेको भन्ने थियो।
जुन ३ मा ओडिशा ट्रिपल ट्रेन दुर्घटनाको सम्बन्धमा बालासोरको जीआरपीएसमा एफआईआर दर्ता गरिएको थियो। पछि, रेलमन्त्रीले घटनाको सीबीआई जाँचको माग गरे। केन्द्र सरकारको सहमतिपछि सीबीआईले मुद्दालाई आफ्नो हातमा लिएको थियो।
बेइजिङ, २३ असार । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप अन्त्य हुने भनिए पनि तर यसको खतरा अझै धेरै देशहरूमा कायम छ। कोरोना भाइरस फैलाउन जिम्मेवार मानिने चीनको कुरा गर्दा त्यहाँ कोभिड–१९ का कारण मृत्यु हुने क्रम जारी छ । यद्यपि चीनले अधिकांश रोकथामका उपायहरू हटाएको छ।
जुन महिनामा कोरोनाबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढेको छ । चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले जुन महिनामा २३९ जनाको मृत्यु भएको पुष्टि गरेको छ, जुन पछिल्लो ३ महिनामा सबैभन्दा धेरै मृत्यु भएको महिना बनेको छ।
चीनले बिहीबार कोभिड–१९ को फैलावट रोक्न विगतमा धेरै कडा नियमहरू लागू गरिएको बताएको छ । तर विगतमा धेरैजसो रोकथामका उपायहरू हटाइएका थिए। उनीहरुलाई हटाएपछि जुन महिनामा ज्यान गुमाउनेको संख्यामा ठूलो वृद्धि भएर २३९ पुगेको छ । चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार मे महिनामा १६४ जनाको मृत्यु भएको र अप्रिल र मार्चमा भने कुनै पनि मृत्यु भएको छैन।
सन् २०२० को सुरुमा चीनले शून्य कोभिड रोकथाम रणनीति अपनाउन थालेको थियो। विशेष गरी कडा लकडाउन, क्वारेन्टाइन, सीमा बन्द र अनिवार्य सामूहिक परीक्षण जीवन बचाउन महत्त्वपूर्ण भएको छ।
तर डिसेम्बरमा केही तयारी पछि उपायहरू खुकुलो पारियो र हटाइयो, जसका कारण कोरोना संक्रमितको संख्यामा अन्तिम ठूलो उछाल आयो, जसमा करिब ६० हजार जनाको मृत्यु भयो। यस वर्षको जनवरी र फेब्रुअरीमा मृत्युको चरम सीमा थियो, चिनियाँहरूका अअनुसार, जनवरी ४ मा ४,२७३ को शिखरमा पुग्यो, तर त्यसपछि क्रमशः फेब्रुअरीमा शून्यमा झर्यो।
काठमाडौं, २३ असार ।
पूर्वराजा ज्ञानेन्द्र शाहको आज ७७औं जन्मदिन रहेको छ । जन्मदिनको अवसरमा राजावादीले शुभकामना दिँदै राजतन्त्रको पुनर्स्थापनाको पक्षमा वकालत गरिरहेका छन् ।
पूर्वराजाको जन्मदिन भव्यताका साथ मनाउन राजावादीले एक समितिनै गठन गरेका छन् । सोही समिति शनिबार पूर्वराजालाई शुभकामना व्यक्त गर्न निर्मल निवास पुगेका थिए । पूर्वराजालाई शुभकामना र अभिनन्दन गर्नका लागि पुगे पनि ज्ञानेन्द्र नभेटिएपछि उनीहरू पूर्वराजाका प्रतिनिधिलाई अभिनन्दन पत्र र पुष्पगुच्छा बुझाएर गेट बाहिरबाटै फर्किएका थिए ।
पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजा निर्मल निवासमा नरहेको बताए । जन्मदिन मनाउनका लागि पूर्वराजा राजधानीकै एक रिसोर्टमा परिवारसहित रहेका छन् ।
बेलुका पूर्वराजाको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै ७७ वटा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । ७ बजेर ७ मिनेट जाँदा निर्मल निवासमै दीप प्रज्वलनको तयारी रहेको उनले जानकारी दिए ।
लमजुङ २३ असार
दोर्दी गाउँपालिकाले किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । पालिकाले ७५ प्रतिशत अनुदानमा पालिका भित्रका ६० जना किसानलाई हाते ट्याक्टर वितरण गरेको हो ।
धान रोपाईको समयमा लम्पि स्किन रोगका कारण गोरु मरेपछि मारमा परेका १३ किसान र यस अघि नै हाते ट्याट्क्टर माग आवेदन पेश गरेका ४७ जनालाई हातेट्याक्तर वितरण गरिएको छ । दोर्दी गाउँपालिका कृषि शाखाका कृषि प्रसार अधिकृति नरहरी घिमिरेका अनुसार लम्पीस्किन रोगले गोरु परेपछि रोपाइनै प्रभावित भएका १३ जना किसानलाई गाउँपालिकाको विपद व्यवस्थापन कोष मार्फत हातेट्याक्तर वितरण गरिएको हो । सो कृषि शाखाको चालु वर्षको कार्यक्रम अन्र्तगत ४७ जनालाई अनुदानमा हातेट्याक्टर वितरण गरिएको छ ।
कृषकहरुलाई ६ हर्ज पावरको ५५ वटा र ७ हर्ज पावरको ५ वटा हातेट्याक्टर वितरण गरिरेको कृषि शाखाले जनाएको छ । गाउँपालिकाले ६ हर्ज पावरको प्रति हाते ट्याक्टर ५७ हजारमा खरिद गरि पालिकाको ७५ प्रतिशत लागत र किसानहरुको २५ प्रतिशत १४ हजार रुपैयाँ पर्ने गरी उपलव्ध गराएको हो । यसैगरी ६८ हजार मुल्य बरावरको ७ हर्ज पावरको हाते ट्याक्टर किसानको २४ हजार २ सय ५० रुपैया पर्ने गरी उपलव्ध गराएको कृषि प्रसार अधिकृत घिमिरेले बताए ।
आफुले पालेका पशुमा रोग सक्रमणले मारमा परेका किसानलाई ट्याक्टर वितरणले केहि राहत मिलेको बताउदै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले हाते ट्याक्टरको प्रयोगले कम लागत, थोरै समयमा सहज रुपमा धेरै काम गर्न सकिने बताए।
पछिल्लो समय किसानहरुले गोरु पाल्ने क्रम निकै कम भएको छ । केहि किसानले पालेका गोरुहरु पनि लम्पी स्किन रोग संक्रमण भएपछि चिन्तित बनेका वेला पालिकाले अनुदानमा हाते ट्याक्टर उपलव्ध गराएपछि ठूलो राहत मिलेको किसानहरुले बताएका छन् । दोर्दी गाउँपलिकामा मात्र लप्पी स्किन संक्रमणका कारण १५ भन्दा बढी गोरु मरेको पशु शाखाले जनाएको छ ।न्युज काराखाना
इन्दीप कोइराला,बारा, २३ असार ।
लघुवित्त र सहकारीको ऋण तिर्नु पर्दैन भन्ने अभियानले बाराका सहकारी संस्थाहरुमा समेत नकारात्मक प्रभाव पारेको सहकारीकर्मीहरुले बताएका छन् ।
सो गलत अभियानका कारण जिल्लाका अधिकांश सहकारी संस्थामा ठुलो परिणाममा ऋण भाखा नाघेको साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रिलाल सहनीले बताए ।
जिल्लाका १६ वटा साना किसान कृषि सहकारी संस्थाहरु र १ सय ५० को हाराहारीका बचत तथा ऋण सहकारी संस्थाहरुमा यस्तो प्रभाव परेको हो । उनका अनुसार भाखा नाघेको ऋणको अनुपात १५ प्रतिशत सम्म पुगेको छ । जबकी यस्तो ऋण ५ प्रतिशत भन्दा कमै रहेको राम्रो मानिन्छ, उनले बताए ।
‘गलत हौवाको पछाडी लाग्ने सदस्यहरुको कारण सहकारीमा ऋण जोखिम बढेको हो, सदस्यहरुको बचत रकम नै ऋणका रुपमा परिचालन हुने हुँदा कहीँ कसैले मिनाह गर्ने कुरा हुँदैन तरपनि मानिसहरु भ्रममा परेर ऋणमा डुविरहनु भएको छ,’ अध्यक्ष सहनीले भने ।
यसै सन्दर्भमा छलफल गर्न विहिबार संघको जितपुर सिमरा उपमहानगरपालिकाको वडा नं.१५ डुमरवानमा बसेको बैठकले ऋण तिर्नु पर्दैन भन्ने अभियानलाई निरुत्साहित गर्ने निर्णय गरेको छ ।
यस अभियानका कारण सहकारी संस्थाहरुले लगानी गरेका कर्जा असुलीमा नकारात्मक असर परेको भन्दै गलत अभियान संचालन गर्ने उपर कारबाही गर्न माग गरेको छ ।
गलत अभियान संचालन गरेर सामाजिक आर्थीक संरचनामा समस्या ल्याउने प्रयास भएको छ । यसर्थ जिल्ला प्रशासन कार्यालय बारा र पालिकाहरु मार्फत त्यस्ता ब्यक्तिहरुको पहिचान गरी कार्वाहीका लागि अनुरोध गर्ने निर्णय भएको संघका सचिव रामएकवाल चौधरीले जानकारी दिए ।
बारामा करिब ४५ हजार घरपरिवार सहकारीमा आवद्ध छन् । झण्डै १५ अर्ब बराबरको कारोबार सहकारीहरुले गरिरहेका छन्, उनले भने ।
सहकारी संस्थाहरुबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने गलत अभियान संचालन गर्नेहरुलाई राज्यले कार्वाही गर्नुपर्ने बारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सत्यन्द्र ठाकुरले बताए । राज्य मुखदर्शक बन्दा यस्ता अभियानकर्मीले समाजमा आर्थिक कठिनाई उत्पन्न गरिरहेका उनको भनाई छ ।
महोत्तरी, २२ असार ।
जलेश्वर नगरपालिका-३ स्थित जलेश्वर भिठ्ठामोड सडकबाट स्रोत नखुलेको नगद १० लाख ३० हजार रूपैयाँसहित भारत बिहार प्रान्त सितामढी थाना सुरखण्ड ग्राम सिखण्डी-५ बस्ने २० वर्षीय चन्दन कुमार साफीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भिट्टामोडबाट खटिएको प्रहरीले बिआर ३० डब्लु ५३१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चन्दनको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
सर्लाही, २२ असार । सर्लाहीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हरिवन नगरपालिका-५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश भन्ने अर्जुन महतो रहेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
अर्जुनले आज दिउँसो घरायसी झग्डाको कारण श्रीमती २८ वर्षीया नैन कुमारी महतोलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
घाँटीमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
काठमाडौं, २३ असार । नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएको छ ।
महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो ।

राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।
काठमाडौं, २३ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूका साथै बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै देशको तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ।
तसर्थ हावाहुरी भारी वर्षा, मेघगर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।