२०८३ भाद्र ६
२०८३ भाद्र ६

एथेन्स, १० साउन ।

ग्रिसको इभियामा जंगलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ ।

सो दुर्घटनामा विमानमा सवार दुवै पाइलटको मृत्यु भएको जनाइएको छ ।

मिडिया रिपोर्टका अनुसार सीएल–२१५ विमान इभियाको जंगलमा लागेको आगो निभाउनका लागि प्रयोग गरिएको थियो। सोही क्रममा विमानको पखेटा रुखमा अड्कियो । केही समयपछि विमान जमिनमा खस्यो, आगो लाग्यो ।

हाल ग्रिसको जंगलमा लागेका कारण हजारौं मानिसहरू बिस्थापित हुन पुगेका छन् । ग्रिस सरकारले स्थानियलाइ स्थानतरण गरेर जंगलमा लागेको आगो  निभाउनका लागि सम्पुर्ण प्रयत्न जारी राखेको जनाएको छ ।

नयाँदिल्ली, १० साउन ।

भारतको उत्तर पूर्वी राज्य मणिपुरमा ८० दिनभन्दा बढी समयदेखि हिंसा जारी छ, जसका कारण भारतको संसद बैठकमा हंगामा भएको छ।

मणिपुरमा हिंसा भइरहेका बेला विपक्षीले बुधबार (जुलाई २६) सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ । हिजो अर्थात मंगलबार  मणिपुरको मुद्दामा सदनमा हंगामा भएको थियो । कांग्रेस सभापति तथा राज्यसभामा विपक्षी दलका नेता मल्लिकार्जुन खर्गेले यसबारे सदनमा प्रधानमन्त्रीसँग जवाफ मागेका छन् ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले मंगलबार भने कि प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरको अवस्थाको बारेमा संसदमा विस्तृत बयान दिनुपर्छ र देशलाई विश्वासमा लिनुपर्छ। विपक्षी गठबन्धन  ‘भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन’ (भारत)  का घटक दलको बैठक पछि खर्गेले पनि मणिपुरमा जे भइरहेको छ, त्यो देशका लागि राम्रो नभएको बताए ।

उनले ट्वीट गरेका छन्, ‘प्रधानमन्त्रीले मणिपुरमा ८३ दिनदेखि जारी हिंसाबारे संसदमा विस्तृत बयान दिन आवश्यक छ। चरम डरलाग्दो कथाहरू बिस्तारै अगाडि आउँदैछन्।’ मणिपुर हिंसामा बिपक्षी गठबन्धन भारतले मोदी सरकारसँग जवाफ मागेको पहिलो पटक हो ।

कांग्रेस अध्यक्षले भने, ‘पूर्वोत्तरको अवस्था नाजुक छ र मणिपुर हिंसा अन्य राज्यहरूमा पनि देखिन्छ। यो हाम्रो संवेदनशील सीमावर्ती राज्यका लागि राम्रो होइन । अब प्रधानमन्त्री मोदीले आफ्नो अहंकार त्यागेर मणिपुरमा देशलाई विश्वासमा लिने समय आएको छ।’

उनले भने, ‘प्रधानमन्त्री मोदीले आफ्नो सरकारले अवस्था सुधार गर्न के गरिरहेको छ र मणिपुरमा कहिले स्थिति सामान्यमा फर्कन्छ भनेर बताउनु पर्छ।’

मणिपुरको मुद्दामा विपक्षी दलले आज मोदी सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने भएको छ भने अर्कोतर्फ मणिपुरको विषयमा छलफल गर्न दुवै सदनमा विपक्षी सांसदहरूले स्थगन प्रस्तावको सूचना दिएका छन् ।

काठमाडौ, १० साउन ।

नेपाल एसबीआई बैंकले साउन १८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

एसबीआईले १० वर्ष अवधिको ‘९% नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ जारी गर्न लागेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । योमध्ये सामूहिक लगानी कोषलाई ५% अर्थात् ४० हजार इकई ऋणपत्र छुट्याएको छ ।  यसमा वार्षिक ९% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

यस ऋणपत्रमा साउन २२ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने साउन ३२ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

मुम्बइ, १० असार ।

अक्षय कुमार स्टारर फिल्म  ‘ओएमजी २’ यतिबेला सेन्सर बोर्डमा फसेको छ । यसैबीच बोर्डको परिमार्जन समितिले फिल्म हेरेको जनाइएको छ ।

ई–टाइम्सको रिपोर्ट अनुसार समितिले फिल्मलाई २० कटसहित ए–सर्टिफिकेट दिने निर्णय गरेको छ। तर, यस विषयमा निर्मातालाई कारण देखाउ सूचना पनि पठाइएको छ । स्क्रिनिङमा बोर्डका अध्यक्ष प्रसुन जोशी पनि उपस्थित रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उता दैनिक भास्करसँग भने फिल्मको निर्माण टिमले त्यस्तो केही नभएको बताएका छन । चलचित्र परिमार्जन समितिले अहिलेसम्म नहेरेको फिल्म टोलीले जनाएको छ । समितिले आज २६ जुलाइमा हेरेर थप निर्णय गर्नेछ । तर, अहिलेसम्म यस विषयमा निर्माताको आधिकारिक धारणा आएको छैन । यस्तो अवस्थामा फिल्म अहिले कुन अवस्थामा छ ? भन्ने अनुमान गर्न गाह्रो छ ।

अचम्मको कुरा के छ भने फिल्म रिलिज हुन १६ दिन मात्र बाँकी रहे पनि बोर्डबाट ‘क्लियरन्स’ भने आउन सकेको छैन । यस्तो अवस्थामा यो विवादका कारण फिल्मको प्रचारप्रसारमा असर परिरहेको छ ।

ओएमजी २’ अगस्ट ११ मा रिलिज हुँदैछ । हालै फिल्मको गीत पनि रिलिज भएको थियो, जसमा रिलिज मिति भने उल्लेख गरिएको थिएन । अहिले बिदामा रहेका अक्षय कुमारले फिल्मको हलको मिति तय गर्ने विश्वास गरिएको छ ।

वास्तवमा यो फिल्म यौन शिक्षा जस्ता बोल्ड विषयमा आधारित छ । यस्तो अवस्थामा सेन्सर बोर्डले  ‘ओएमजी २’ समीक्षा समितिमा पठाएको छ । समीक्षा समितिको जवाफपछि सेन्सर बोर्डले फिल्मको भाग्य तय गर्नेछ ।

साथै, बिबादका कारण ओएमजी २ को ट्रेलर पनि रिलिज हुन सकेको छैन । सेन्सर बोर्डबाट २७ गतेसम्म ‘क्लियरन्स’ नआएमा यो ट्रेलर पनि जुलाई ३१ सम्ममा रिलिज गर्ने तयारीमा छन् ।

यो फिल्म २०१२ मा रिलिज भएको परेश रावल र अक्षय कुमार स्टारर फिल्म  ‘ओएमजी’ को सिक्वेल हो। उक्त फिल्ममा अक्षयले श्रीकृष्णको भूमिका निभाएका थिए ।

महोत्तरी, १० साउन ।

महोत्तरीमा मिडिया व्यवसायीले नै मिटर व्याजवाट पीडित बनाएको आरोपमा पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

जिल्लाको बर्दिबासमा ‘प्रभात सन्देश’ नामक पत्रिका सञ्चलन गर्दै आएका आशा तोलाङ्गे र मनोज थापाविरुद्ध उनीहरूले  निवेदन दिएका हुन् । बर्दिबास-३ मा स्थायी घर भएका दुवै जना श्रीमान्, श्रीमती हुन् ।

घर छेउमा नै बसोबास गर्ने उनीहरूका छिमेकी र आफ्न्तले आफूहरू पीडित भएको भन्दै प्रशासन कार्यालयमा मंगलबार निवेदन लिएर आएको  जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । निवेदक मध्ये रामकुमार परियारले ४ लाख ९५ हजार सावा ऋण लिएर ७ लाख ९५ हजार बुझाउँदा पनि जालसाजी गरेर आफ्नो घर नै उनीहरूले आफ्नो नाममा बनाएको निवेदनमा उल्लेख गरेका छन् । पत्रकार थापाकाे कारणले आफू सडकमा आइपुगेको र बत्ती, पानीसमेत आफ्नो नाममा ल्याएर घरबाट निकाल्ने धम्की दिँदै आएको पीडित परियारले बताएका छन् ।

यसैगरी अर्का पीडित अनिता तोलाङ्गेले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएकी छन् । घरायसी खर्चको लागी मिडिया व्यवसायी तोलाङ्गेसगँ २ लाख ५० हजार ऋण लिएको र उक्त ऋण ५० प्रतिशत भन्दा बढी चर्को ब्याज तिरेर सावासमेत चुक्ता गर्दा पनि विभिन्न घरमा आएर धम्की दिने गरेको उनको भनाइ छ । परियार र तोलाङ्गे जस्तै अन्य दुई जनाले पनि मिडिया व्यवसायी तोलाङ्गेका विरुद्ध न्यायको माग गर्दै निवेदन दिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

नेपाल पत्रकार माहासंघ महोत्तरीको कार्यसमिति सदस्यसमेत रहेकी तोलाङ्गेका विरुद्ध परेको निवेदनमाथि अनुसन्धान प्रक्रिया अगाडी बढाइ सकिएको पनि जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । पत्रकारिताको आडमा चर्को ब्याज असुलेर ठगी धन्दा गरेको भन्दै उनीहरूका छिमेकी एकाएक सार्वजनिक भएपछि घटना बाहिरिएको हो ।

न्युयोर्क, १० साउन ।

मौसममा आएको परिवर्तन (ग्लोवल वार्मिङ) का कारण अहिले विश्वमा ठूलो उथलपुथल देखिएको छ ।

बाढी र गर्मी दुवै एउटै देशमा देखिएका छन् । अमेरिकामा चर्को गर्मी छ । गर्मीमा यति धेरै गर्मी हुन्छ कि मानिसहरु घरबाट निस्कने वित्तिकै जल्ने भएका छन्, छाला पोलेको घटना समेत बढेको छ ।

अमेरिकामा गर्मीको लहर यति चर्को छ कि मानिसहरु फुटपाथमा खसेर नराम्ररी जलिरहेका छन्, जसका कारण तापक्रम चर्को अवस्थामा पुगेको छ ।  डाक्टरहरू भन्छन, एरिजोनाका केही भागहरूमा बर्न युनिटहरूमा एक तिहाइ बिरामीहरू यस प्रकारको चोटबाट पीडित छन्। र यो घटनाले जीवन धम्कीपूर्ण परिणामहरू निम्त्याइरहेको छ।

बीबीसीका अनुसार फिनिक्सको भ्याली वाइज हेल्थका बर्न सर्भिसका निर्देशक डा केभिन फोस्टरले आईसीयूमा रहेका आधाभन्दा बढी बिरामी आफैँ लडेर बेहोस भएका मानिसहरू हुन । फिनिक्स सहरमा अहिले लगातार २४ दिनसम्म ११० फरेनहाइट (४३ डिग्री सेल्सियस) माथिको तापक्रम रेकर्ड तोडिएको छ।

अधिकारीहरूले चेतावनी दिएका छन् कि जमिनको तापक्रम चरममा पुग्न सक्छ र मानिसहरूलाई अत्यधिक गर्मीबाट आश्रय खोज्न आग्रह गरेको छ। एरिजोना बर्न सेन्टरका डाक्टर केभिन फोस्टरले बीबीसी न्यूजलाई भने कि केन्द्रमा सबै  ४५ अस्पतालका बेड भरिएको छ। र ती बिरामीहरू मध्ये लगभग एक तिहाइ कंक्रीट र डामर सतहहरूमा जलेको कारण अस्पताल आएका हुन ।

उनका अनुसार यो गर्मीमा हालसम्म नयाँ बिरामीको दर सन् २०२२ भन्दा नाघेको छ । उनी भन्छन्, ‘गर्मी व्यस्त समय हो, त्यसैले यो अचम्मको कुरा होइन तर संख्या अपेक्षा गरेभन्दा अलि बढी छ।’ धेरै बिरामीहरू गर्मीमा असन्तुलनका कारण लडेका वृद्धवृद्धाहरू वा लडेपछि छिट्टै जमिनबाट उठ्न नसक्ने बालबालिकाहरू रहेका छन ।

यद्यपि, डाक्टर केभिन भन्छन् कि सबैभन्दा ठूलो समस्या ड्रग प्रयोगकर्ताहरू हुन्, जो प्रायः निर्जलित हुन्छन् र फुटपाथमा बाहिर निस्कन सक्छन्।

डा. फोस्टर भन्छन्, ‘जब मानिसहरू तातो सतहमा जान्छन् र त्यहाँ बस्छन्, गर्मीको थकान, जलन र अन्य समस्याहरू भोग्न १० देखि १५ मिनेट मात्र लाग्छ।

यस केन्द्रले अस्पतालमा भर्ना नभएका तर कार, सिट बेल्टजस्ता समान छुदाँ  पोलेको उपचार आवश्यक पर्ने ५० भन्दा बढी बिरामीको पनि उपचार गरिरहेको छ।

अनुसन्धानले देखाएको छ कि कारको भित्री भाग वा सडकको डामरको सतह हावाको तापक्रम भन्दा धेरै तातो हुन्छ। केही सेकेन्डका लागि मात्र धातु वा डामर छोएर गम्भीर रुपमा शरिर जलाउन पर्याप्त हुन सक्छ।

काठमाडौं, १० ।

राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्षा बिष्णुप्रसाद सुवेदीलाइ भ्रष्टचारको मुद्दा चलाउन सिफारिस गरेको छ ।

तोक आदेशको आधारमा करारमा पत्रकारसहित १२ जनालाइ नियुक्त गरेको भन्दै भ्रष्टचारको मुद्दा चलाउन मन्त्रालयलाई निर्देशनसमेत दिएको हो ।

विधि र प्रक्रिया विपरीत तोक आदेशको भरमा नियुक्ति दिइएको भन्दै सतर्कता  केन्द्रले कार्यकारी अध्यक्ष सुवेदीसहित पाँच जनालाई कारबाही गर्न समेत निर्देशन दिएको पत्रमा उल्लेख गरिएको छ ।

सुवेदी कार्यकारी निर्देशक बनेर आए पछि गोरखापत्र संस्थानमा दुईजना उपसम्पादक, ७ जना समाचारदाता, एकजना परामर्शदाता र दुई जना वरिष्ठ सहायक पदमा नियुक्त गरेका थिए । यसरी नियुक्त गर्दा बिद्यि र प्रक्रिया मिचेको केन्द्रको निष्कर्ष छ ।

‘गोरखापत्र संस्थान कर्मचारी सेवा शर्त विनियमावली २०५२ को विनियम ४१ बमोजिम पदपूर्ति समितिको सिफारिसको आधारमा उपयुक्त व्यक्तिलाई गर्नुपर्नेमा पदपूर्ति समितिको गठन एवं सिफारिस विना नै उक्त विनयमावलीको प्रक्रिया पालना नगरी टिप्पणी आदेशको भरमा नियुक्ति गरिएको पाइयो,’ सतर्कता केन्द्रले भनेको छ । उसका अनुसार सो कार्य छानबिनको क्रममा गोरखापत्र संस्थानले उपलब्ध गराएको जवाफ तथा कागजातबाट समेत पुष्टि हुन पुगेको थियो ।

सो नियुक्तिहरु खारेज गरी गोरखापत्र संस्थानको कर्मचारी प्रशासन शाखाका वरिष्ठ सहायक रुपचन्द्र भट्ट, वरिष्ठ प्रशासन अधिकृत विमला खड्का, शाखा प्रमुख विक्रमबाबु राई, प्रशासन विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाल र कार्यकारी निर्देशक विष्णुप्रसाद सुवेदीलाई कारबाही गर्न सतर्कता केन्द्रले सञ्चार मन्त्रालयलाई निर्देशन दिएको हो ।

पर्थ, १० साउन ।

स्कटल्याण्ड पछि पश्चिमी अस्ट्रेलियाको तटमा ५० भन्दा बढी पाइलट ह्वेल मरेका छन्।

बुधबार बिहान पार्क्स एण्ड वाइल्डलाइफ सर्भिसले सामाजिक सञ्जालमा पोष्ट गर्दै भने, ‘पश्चिमी अष्ट्रेलियाको चेनेस किनारामा ठूलो मात्रामा फसेको कारण रातारात ५१ पाइलट ह्वेल मरेको भेटिए।’ यससँगै ४६ पाइलट ह्वेललाई गहिरो पानीमा ल्याउने प्रयास भइरहेको पनि जानकारी दिइएको छ ।

द गार्डियनको रिपोर्टका अनुसार मंगलबार बिहान पाइलट ह्वेलहरूको समूह अल्बानीबाट ६० किलोमिटर पूर्वमा चेनेस बीचमा पौडी खेलिरहेको देखिएको थियो ।  यसपछि साँझ पर्न थालेपछि पाइलट ह्वेलको समूह किनारतर्फ सरेको देखेर प्रशासन चिन्तित हुन थालेको थियो र मंगलबार साँझ ४ बजे चिनियाँ समुद्री तटलाई पाइलट ह्वेलले ढाकेको थियो ।

रात परे पछि डीबीसीए पार्क र वन्यजन्तु सेवाका कर्मचारीहरू आइपुगे र संरक्षित क्षेत्रमा ह्वेलहरूको कल्याणको निगरानी गर्न रातभर बस्नको लागि शिविर स्थापनासमेत गरे।टोलीमा पर्थ चिडियाखानाका पशु चिकित्सक र समुद्री जीव बैज्ञानिकहरू, जहाजहरू र स्लिङहरू लगायतका विशेष उपकरणहरू समावेश गरिएकोसमेत थियो ।

यसैबीच ती ह्वेलहरू आफुलाई बचाउन मद्दत मागेको जस्तो देखियो तर उनीहरू बचाउन प्रयास भने सम्भवः भएन । समुद्री किनारमा पाइलट ह्वेल माछाहरूको समूहको आगमन धेरै चिन्ताजनक मानिन्छ । वन्यजन्तु विशेषज्ञहरूले ह्वेलको असामान्य व्यवहार समुन्द्र भित्र तनाव वा रोगको सूचक हुनसक्ने अनुमान गरेका छन्।

स्मरण रहोस, एक हप्ता अघि स्कटल्याण्डको लुईस आइलको ट्राघ म्होर समुद्र तटमा ५५ ह्वेलहरूको समूह मृत फेला परेको थियो। स्थानीय समयअनुसार आइतबार बिहान सबेरै ह्वेलको समूह नराम्ररी फसेको सूचना पाएपछि प्रहरी, समुद्री उद्धार टोली र तटरक्षक टोलीलाई घटनास्थलमा बोलाइएको थियो । यहाँ पुगेपछि उद्धार टोलीले ५५ ह्वेलको समूहमा रहेका अधिकांश ह्वेल मरेको थाहा पाएका थिए ।

तपाईहरुले यो जानकारी राख्नुहोस कि कि पायलट व्हेलको विशेषता यो हो कि तिनीहरू जहाँ जान्छ, तिनीहरू सँगै जान्छन्। अन्य सबै ह्वेलहरू पछि पछ्याउँछन्। र, एउटा फसे भने सबै फस्छन् ।

न्युर्योक, १० साउन ।

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाका निजी शेफको घर नजिकै मृत्यु भएको छ ।

४५ वर्षीय टाफारी क्याम्पबेल अर्थात ओबामाको व्यक्तिगत शेफको शवलाई म्यासाचुसेट्स राज्य पुलिसले भ्याकेसन टापुको दक्षिणी किनारमा ओबामाको घर नजिकैको एडगर टाउन ग्रेट पोन्डबाट फेला पारेको थियो।

प्रहरीलाई क्याम्पबेलका प्याडल बोर्डर साथीहरू मध्ये एकले उनी पानीमा गएको र फर्केर नआएको जानकारी दिएका थिए । त्यसलगत्तै आकस्मिक टोलीले साँझसम्म उनको खोजी गरिरहे पनि भेटाउन सकेनन । पछि उनको शव सोनारको प्रयोग गरेर निकालिएको थियो ।स्थानीय प्रहरीले टाफारी क्याम्पबेलको मृत्युबारे अनुसन्धान गरिरहेको छ । तर, अहिलेसम्म ठोस कारण भने खुलेको छैन ।

क्याम्पबेल उनकी श्रीमती र जुम्ल्याहा बच्चाहरु सँग रहदैँ आएका थिए । जब बराक ओबामा सन् २००८ देखि २०१६ सम्म अमेरिकाको राष्ट्रपति थिए । त्यो समयमा टफारी क्याम्पबेलले उनीसँग काम सुरु गरेका थिए । सन् २०१६ पछि पनि उनी ओबामा परिवारसँग व्यक्तिगत रुपमा काम सुरू गरेका थिए । क्याम्पबेलले ओबामाको राष्ट्रपतिकालमा व्हाइट हाउसमा सहायक शेफको रूपमा काम गरेका थिए । जब ओबामाकाे कार्याकाल सकियाे,  तब उनले केहीलाइ आफ्नो घरमा कर्मचारीकाे रूपमा राख्न थाले, क्याम्पबेल पनि साेही क्रममा उनको घरको कर्मचारीको हिस्सा बन्न पुगेका थिए ।

तर, सो घटना हुँदा ओबामा र उनकी पत्नी पूर्व प्रथम महिला मिशेल ओबामा भने घरमा उपस्थित थिएनन्।

 

 

 

उनकाे निधन पछि ओबामाले भनेका छन, ‘त्यसबेला देखि नै उनी हाम्रो जीवनको महत्वपूर्ण हिस्सा बनेका छन्, आज उहाँको बिदाइको खबरले हामीलाई मर्माहत बनाएको छ । उनलाई चिन्ने र माया गर्ने सबैसँग हाम्रो समवेदना छ, विशेष गरी उनकी श्रीमती, शेरिस, र तिनीहरूका जुम्ल्याहा बच्चाहरू जेभियर र सेविन। यस्तो प्रफुल्लित व्यक्तिको प्रस्थान अपूरणीय क्षति हो ।’

जाकर्ता, १० साउन ।

इन्डोनेसियामा दुई महिलाले आफ्नो कुकुरहरूको निकै भव्य ढंगले विवाह गरिदिएका छन् ।

सो घटनाको ब्यापक आलोचना भए पछि दुवैले माफीसमेत माग्न बाध्य भएको समाचार बाहिर आएको छ ।

इन्डोनेसियाको राजधानी जकार्ताको एउटा मल अलास्का मालामुट दुई कुकुरहरुकोको विवाह गराईएको थियो । दुई कुकुरको परम्परागत जाभानीज पहिरन लगाएका आफ्ना मालिक र आफन्तहरूको उपस्थितिमा सो विवाह भएको थियो। कुकुरको विवाहमा करिब १८ लाख रुपैयाँ खर्च भएको थियो ।

ती कुकुरको बिहेको खबरले सामाजिक सञ्जालमा हंगामा मच्चायो, जाभानीज संस्कृति अनुसार कुकुरसँग विवाह गरेकोमा सामाजिक सञ्जालमा मानिसहरू आक्रोशित भएका थिए।  त्यसपछि मालिकले अगाडि आएर माफी मागेको थियो । लुना कुकुरकी मालिक्नी इन्दिरा रत्न सारीले बुधबार इन्डोनेसियाली जनतासँग माफी मागेकी छिन् ।

संसारको चौथो सबैभन्दा धेरै जनसंख्या भएको देशमा धनको दिखावटी प्रदर्शनलाई तिरस्कार गरिएको छ। विश्व बैंकले इन्डोनेसियाका २७ करोड मानिसमध्ये एक दशांश अझै गरिबीको रेखामुनि रहेको बताएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।