२०८३ भाद्र ६
२०८३ भाद्र ६

 

काठमाडौं, ११ साउन

 

नेपाल एसबीआई बैंकले साउन १८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । एसबीआईले १० वर्ष अवधिको ‘९% नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ जारी गर्न लागेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । योमध्ये सामूहिक लगानी कोषलाई ५% अर्थात् ४० हजार इकई ऋणपत्र छुट्याएको छ ।  यसमा वार्षिक ९% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

यस ऋणपत्रमा साउन २२ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने साउन ३२ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । न्युज कारखाना

 

काठमाडौं, ११ साउन ।

निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलेको छ। लाइसेन्सका लागि कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने शिक्षक सेवा आयोगले जनाएको छ।

 

आयोगको यही १० साउनको निर्णयअनुसार इच्छुकले आजदेखि आवेदन दिन सक्नेछन्। आयोगका अनुसार ११ भदौसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर १८ भदौसम्म दिन सकिनेछ।

 

आवेदन अनलाइनबाट दिन सकिनेछ।

 

काठमाडौं, ११   साउन

 

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ९० पैसा र बिक्री दर १३१ रूपैयाँ ५० पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रूपैयाँ ०६ पैसा र बिक्री दर १४५ रूपैयाँ ७३ पैसा रहेको छ।

 

हिजो डलरको खरिद दर १३० रूपैयाँ ७० पैसा र बिक्री दर १३१ रूपैयाँ ३० पैसा रहेको थियो। युरो एकको खरिद दर १४४ रूपैयाँ ३७ पैसा र बिक्री दर १४५ रूपैयाँ ०३ पैसा रहेको थियो।

 

यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८८.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.८८  रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५५ पैसा रहेको छ।

 

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ १२ पैसा र बिक्री दर १६९ रूपैयाँ ८९ पैसा रहेको छ।

 

दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ २७ पैसा र बिक्रीदर  १० रूपैयाँ ३१ पैसा रहेको छ।

 

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

साउदी रियाल एकको खरिद दर ३४.९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.७७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.९० रुपैयाँ रहेको छ।

 

यसैगरी, कुवेत दिनार १ को खरिदमूल्य ४२६.५५ पैसा  विक्रीदर ४२८.५१ पैसा रहेको छ। न्युज कारखाना

रौतहट,साउन १० गते
जिल्ला प्रहरी कार्यालय गौर रौतहटले वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । आज गौरमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रहरी कार्यालय गौरले आर्थिक वर्ष २०७९। ०८० को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा रौतहटका प्रहरी उपरीक्षक एसपी वीर बहादुर बुढामगरले यस आर्थिक वर्षमा प्रहरीद्धारा गरिएको विभिन्न कामहरुको विवरण प्रस्तुत गरेका थिए ।
सार्वजनिक गरिएको विवरण अनुसार आर्थिक वर्ष २०७९। ०८० मा जिल्लामा विभिन्न प्रकृतिको गरी ८ सय ५ वटा मुद्धा दर्ता भई कार्यवाही प्रकृया अगाडि बढेको पाइएको छ ।
कुल ८ सय ५ वटा मुद्दा दर्ता भएकोमा ५ सय ७५ वटा मुद्दा फछर्यौट भइसकेको र २ सय २९ वटा मुद्दा फछर्यौट हुन अझै बाँकी रहेको पत्रकार सम्मेलनमा एसपी बुढामगरले बताए ।
जबकी आर्थिक वर्ष २०७८। ०७९ मा ७ सय ४८ वटा मुद्दा दर्ता भएको थियो भने त्यसमध्ये ४ सय ६९ मुद्दा फछर्यौट भइसकेको र २ सय ७९ वटा मुद्दा फछर्यौट हुन अझै बाँकी थियो ।
आर्थिक वर्ष २०७९। ०८० मा जघन्य अपराध तर्फ कर्तव्य ज्यान सम्बन्धी १९, जबरजस्ती करणी उद्योग अन्र्तगत २६, अपहरण तथा शरीर बन्धक सम्बन्धी ३, सवारी ज्यान सम्बन्धी ४३, लागु औषध सम्बन्धी ३६, हातहतियार सम्बन्धी ३, ज्यान मार्ने उद्योग सम्बन्धी ४२, खोटा मुद्रा सम्बन्धी ११ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
त्यस्तै ७३ जनाको झुण्डीएर मृत्यु भएको छ भने बिष सेवनबाट १७ जनाको मृत्यु भएको छ । चोरीको ७० वटा घटना घटेको पाइएको छ ।
लागु औषध सम्बन्धी ३६ वटा मुद्दा दर्ता भएकोमा ३५ वटा फछर्यौट भइसकेको र एउटा मुद्दा मात्र फछर्यौट गर्न बाँकी रहेको छ । यस लागु औषध सम्बन्धी कसुरमा ४८ जनालाई पक्राउ गरिएको विवरणमा उल्लेख छ ।
उनिहरुको साथबाट ४ सय ८७ केजी ४ सय ग्राम गाँजा, १५ सय ७२ पिस डाईजेपाम ईन्जेक्सन, १५ सय ७९ पिस फेनारगन ईन्जेक्सन र १५ सय ८० पिस ब्रुफिन ईन्जेक्सन बरामद गरिएको प्रहरीले जनाएको छ ।
मुद्दाको फैसला कार्यान्वयन गर्न अनुसन्धान गर्ने क्रममा १ सय २ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ भने फैसला कार्यान्वयन पश्चात ३ सय ३६ जना पक्राउ परेको विवरणमा उल्लेख छ ।
पक्राउ परेका प्रतिवादीहरुबाट ५५ लाख ८ हजार ३ सय ३३ रुपैया दण्ड जरिवाना गरिएको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०७८। ०७९ को तुलनामा आर्थिक वर्ष २०७९÷०८० मा राजस्व संकलन दोब्बर भन्दा बढीले वृद्धि गरेको छ ।
आर्थिक वर्ष २०७८। ०७९ मा २ करोड ३ लाख ३ हजार ४ सय ६८ रुपैया राजस्व संकलन गरिएकोमा यस आर्थिक वर्ष २०७९। ०८० मा ५ करोड २६ लाख ५७ हजार ६१ रुपैया राजस्व संकलन गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
आर्थिक वर्ष २०७८। ०७९ भन्दा यस आर्थिक वर्ष २०७९÷०८० मा ३ करोड २६ लाख २३ हजार ५ सय ९३ रुपैया बढी राजस्व संकलन गरिएको छ ।
त्यस्तै यस वर्ष श्रोत नखुलेको ३ करोड ६१ लाख ४ हजार ४ सय रुपैया सहित ९ जना पक्राउ परेका छन् । त्यस्तै यस वर्ष २ लाख ४३ हजार नेपाली नक्कली जाली नोट बरामद भएको छ । जाली नोटको कारोबार गर्ने २२ जना व्यक्ति पक्राउ परेका छन भने ११ जनामाथी मुद्दा दर्ता गरिएको छ ।
आर्थिक वर्ष २०७९। ०८० मा कटुवा पेस्तोल २ थान र एक थान गोली सहित एक जना व्यक्ति पक्राउ परेका छन भने १२ बोरको २ नाले बन्दुक एक थान, लाइफ राउण्ड गोली ११ थान, खोका ३ वटा सहित ८ जनालाई पक्राउ गरिएको छ । त्यस्तै एक थान एकनाले भरुवा बन्दुक समेत बरामद भएको छ ।
आर्थिक वर्ष २०७९। ०८० मा आगलागी सम्बन्धी भएको १ सय ९४ वटा घटनामा परी ३ महिला र एक पुरुषको मृत्यु भएको छ ।


आगलागीमा परेर ९८ वटा पशुचौपायाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । वर्षा र बाढीको ८ वटा घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ भने हावाहुरीको २३ वटा घटना हुँदा पनि कसैको ज्यान गएको छैन ।
करेन्ट सम्बन्धी ३५ वटा घटना हुँदा करेन्ट लागेर ११ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको छ भने जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु भएको छ । यसरी दैवि प्रकोप सम्बन्धी घटेको घटनामा १९ जना पुरुष र ८ जना महिलाको दुखद निधन भएको पाइएको छ ।
१९ वटा अबैध दारु भट्ठी नष्ट गरिएको छ भने तयारी मदिरा ९ हजार ११७ लिटर र ३ हजार १५० लिटर कच्चा पदार्थ नष्ट गरिएको छ ।
नदि खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ ढुवानी गर्ने विभिन्न ६० वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको छ भने १२ जना मानिसलाई पक्राउ गरिएको छ ।
आर्थिक वर्ष २०७९। ०८० मा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने ३८ हजार ५ सय ८२ जना चालकलाई कार्यवाही गर्दा ३ करोड १ लाख ४ हजार रुपैया राजस्व संकलन भएको छ ।
जिल्लाभरीमा भएको कुल ६ सय ४५ वटा सवारी दुर्घटनामा परी ५० जनाको मृत्यु भएको छ भने १ हजार ४७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गौरले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
११ सय १७ वटा ठाडो उजुरी परेकोमा ३ सय १४ वटा उजुरी मिलापत्र गरिएको छ भने ४ सय ४५ वटा उजुरी मातहतमा मिलापत्र गरिएको छ । २ सय ६४ उजुरी छलफल गर्ने प्रकृयामै रहेको छ भने ९४ जना सम्पर्कमा नआएको बताइएको छ ।

 

काठमाडाैं, १० साउन ।

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् ।  कञ्चनपुरकाे पुनर्वास नगरपालिका-४ कारगिल डाँडाबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्रामसहित दुईजनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-५ मटियारी बस्ने २९ वर्षीय लक्ष्मण खड्का र २० वर्षीय आदित्य चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले भारतको बसहीबाट नेपालतर्फ आउदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको सु.प.प्र.०१-००८ प ९७८३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

 

बर्दिया, बासगढी नगरपालिका-६ मोतिपुर गाउँस्थित सडकबाट अवैध लागुऔषध जस्तो देखिने खैरो पदार्थ १ ग्राम २ सय ७० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय ओमकार थारु र सोही नगरपालिका-५ बस्ने २४ वर्षीय तुल्सीराम थारु रहेका छन् । ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले मैनापोखरबाट बासगढीतर्फ साईकलमा जाँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

बाँकेकाे कोहलपुर नगरपालिका-११ स्थित कोहलपुर कटेज रेष्टुरेण्ट एण्ड लजको कोठा नम्बर १०६ बाट अवैध लागुऔषध अफिम जस्तो देखिने पदार्थ ५ केजी ३ सय ६९ ग्रामसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला तिला नगरपालिका-३ बस्ने ४१ वर्षीय हरि प्रसाद भट्टराई, ३० वर्षीय देवी प्रसाद भट्टराई र ४० वर्षीय भवानी प्रसाद भट्टराई रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुर र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले तलासी गर्ने क्रममा उनीहरूलाई उक्त लागुऔषध र ३ थान मोबाइलसहित पक्राउ गरेको हो ।

 

कैलालीकाे टीकापुर नगरपालिका-९ खग्रौलाबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ ग्राम ६० मिलिग्रामसहित भारत हरनिक सुथाना बरसोला खिरी उत्तर प्रदेश बस्ने ५१ वर्षीय हरिओम सिंह राजपुतलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा र आरआईटीबाट खटिएको संयुक्त टोलीले युपि ३१ बिएक्स ६८९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक राजपुतलाई पक्राउ गरेको हो ।

 

मोरङकाे विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९४ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने ३६ वर्षीय पूर्ण तामाङलाई प्रहरीले पक्राउ गरेको  छ । लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

झापाकाे मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हरोईन जस्तो देखिने पदार्थ ३५ ग्रामसहित इलाम चुलाचुली गाउँपालिका-४ आइतबारे बस्ने २७ वर्षीय धिरज हिमाङ्लाई प्रहरीले पक्राउ गरेको   छ । ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

 

कैलाली, १० साउन ।

गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-३ बोराडाडीस्थित अर्जुन क्लिनिकका सञ्चालक ४५ वर्षीय अर्जुन कुँवर र सोही उपमहानगरपालिका-७ देवरियास्थित अभिनव हेल्थ क्लिनिकका संचालक गौरीगंगा नगरपालिका-१० घर भएकी २१ वर्षीया कमला बोहरा रहेका छन् ।

धनगढी क्षेत्रमा ईजाजतबिना मेडिकल, फार्मेसी तथा औषधि पसलहरु संचालन गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय धनगढी कैलालीसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा गैह्र कानूनी रूपमा क्लिनिक संचालन गरी औषधि बिक्री तथा चिकित्सा सेवा प्रदान गरेको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरेको हो ।

 

उनीहरुउपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ईलाज सम्बन्धी कसूरमा जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।

 

कपिलवस्तु, १० साउन ।

कपिलवस्तु नगरपालिका-१ स्थित नयाँ टोल डेरा गरी बस्ने ४७ वर्षीय सुनिल कुमार गुप्तालाई स्रोत नखुलेको विभिन्न दरको २४ लाख १३ हजार २ सय ५५ नेपाली रूपैयाँ र विभिन्न दरको १४ लाख ९४ हजार ९ सय २० भारतीय रूपैयाँसहित दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

उनले अवैध रूपमा भारतीय रूपैयाँको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई लुकाई छिपाई राखेको उक्त रकमसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

काठमाडौं, १० साउन ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीयबासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि पाँचवटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्ने भएको छ ।

औद्योगिक विस्तारको प्रचुर सम्भावना रहेको परासी क्षेत्रमा बुटवल, सुनवल, गण्डक तथा हकुई १३२ केभी र नयाँ बुटवल २२० केभी सबस्टेसन जोडी विद्युत् आपूर्तिका लागि प्रसारण लाइनको रिङ बनाइनेछ । नेपाल विद्युत प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता बृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल–हकुई १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढाएको छ ।  गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिंगल सर्किट प्रसारण लाइन चालू अवस्थामा छन् ।

सुनवल सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निर्माणाधीन ३३ केभीका डबल सर्किट थप तीन वटा फिडरहरुमध्ये एउटा सञ्चालनमा आएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त डबल सर्किट लाइन उद्घाटन गरेका छन् । घिसिङले नयाँ लाइन सञ्चालनमा आएसँगै यस क्षेत्रका उद्योगहरु र स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि पूर्वाधार बनेको बताए । उनले निर्माणाधीन ३३ केभी डबल सर्किटका दुईवटा फिडरहरुको निर्माण तत्काल सम्पन्न गर्न निर्देशन दिनुभयो । सुनवल सबस्टेसनबाट यसअघि ३३ केभीका तीन वटा फिडरहरुबाट त्यस क्षेत्रमा सञ्चालित सिमन्ट, स्टील उद्योगसहित स्थानीय रुपमा विद्युत् आपूर्ति भइरहेको थियो । साथै, सबस्टेसनबाट ११ केभीका फिडर लाइन पनि निकालिएको छ ।

परासी क्षेत्रमा सञ्चालित सिमन्ट, स्टीललगायतका ठूला तथा साना उद्योगहरुले अहिले करिब ७५ मेगावाट विद्युत् खपत गरिरहेका छन् । सञ्चालित उद्योगहरुको क्षमता विस्तार र नयाँ खुल्ने उद्योगहरुका लागि करिब ४० मेगावाट गरी त्यस क्षेत्रमा एक सय १५ मेगावाट विद्युत् खपत हुने प्रक्षेपण गरिएको छ । साथै, रुपन्देही जिल्लाको भैरहवासहित त्यस क्षेत्रमा करिब तीन सय मेगावाट विद्युत् खपत हुने अनुमान छ ।

कालीगण्डकी र यसका सहायक नदीहरुमा  निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् कालीगण्डकी करिडोर २०० केभी प्रसारण लाइनबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्ने छ । कालीगण्डकी करिडोरको यही साउनभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ ।

साथै, हेटौंडा–भरतपुर–बर्दघाट र बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइनमार्फत नयाँ बुटवल सबस्टेसनमा विद्युत् आपूर्ति हुने छ । त्यस क्षेत्रमा विद्युत् आपूर्ति र नेपाल–भारतबीच विद्युत् व्यापारका  लागि नयाँ बुटवल सबस्टेसन अर्को ठूलो विद्युत् हब बन्ने छ ।

हेटौंडा–भरतपुर २२० केभी प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ । भरतपुर–बर्दघाट प्रसारण लाइनलाई यही साउनभित्र र नयाँ बुटवल–बर्दघाटलाई आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
अहिले पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनको क्षमतालाई नधान्दा भरतपुरबाट पश्चिम (बुटवल)तर्फ विद्युत् प्रवाहका लागि समस्या छ । हेटौंडा–भरतपुर–बर्दघाट र बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि उक्त समस्या समाधान हुनेछ ।

 

काठमाडौं, १० साउन ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-२ पाँचधारा घर भई सोही नगरपालिका-६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । महर्जनले ती बालिकालाई सोही नगरपालिका-४ सितापाईलास्थित पार्किङमा राखेको हाल नम्बर नखुलेको बसभित्र लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उता १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङकाे घोराही उपमहानगपरलिका-१५ गोरक्ष टोल बस्ने २० वर्षीय श्रवण खनाललाई प्रहरीले पक्राउ गरेको छ । खनालले ती किशोरीलाई बिवाह गर्छु भन्दै विभिन्न प्रलोभन देखाई गत असार १० गते दिउँसो आफ्नै घरमा बोलाई जबरजस्ती करणी गरी शारीरिक तथा मानसिक यातनासमेत दिएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

 

काठमाडौं, १० साउन ।

लघुवित्त तथा वित्तीय संस्थापीडित संघर्ष समितिले आफ्नो आन्दोलन जारी राखेको छ । बुधबार आन्दोलनकै क्रममा नयाँबानेश्वरस्थित संसद भवन घेर्न पुगेका लघुवित्तपीडित र प्रहरीबीच धकेलाधकेल भएको छ ।

माइतीघर मण्डलाबाट बिजुली बजार हुँदै गएको पीडितको र्‍यालीलाई नयाँबानेवश्रको निषेधित क्षेत्रमा पुगेपछि  प्रहरीले रोकेको थियो । नयाँबानेवश्रस्थित एभरेष्ट होटलअगाडि पुगेपछि प्रहरीले उनीहरूलाई रोक्न खोजेपछि धकेलाधकेल भएको हो ।

घेरा तोडेर संसद भवनको गेटमा पुगेका केही पीडितहरूलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

पीडितहरूले सावाँसहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै काठमाडौ केन्द्रित आन्दोलन जारी राखेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।