आरके श्रीवास्तव,राैतहट,२४ गते वैशाख ।
कटहरिया । राैतहट जिल्लाको गुजरा नगरपालिका–८ मा अवस्थित मुस्लिम समुदायका लागि महत्वपूर्ण मानिने कब्रगाह/कब्रस्थान (धेरा बेरा) निर्माण कार्यकाे शिलान्यास कार्यक्रम बुधबार सभ्य तथा भव्य रूपमा सम्पन्न भएको छ ।

उक्त निर्माण कार्यका लागि युवा, खेलकुद तथा समाज कल्याण मन्त्रालय,मधेश प्रदेश सरकार मार्फत करिब २५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

शिलान्यास कार्यक्रमका प्रमुख अतिथि राैतहट निर्वाचन क्षेत्र नम्बर ३ क बाट निर्वाचित प्रदेश सांसद एवम् पूर्व राज्यमन्त्री केशव राय चौधरीको विशेष पहलमा साे घेराबेरा हुन लागेको हाे ।

शिलान्यास कार्यक्रममा स्थानीय नेता, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, उपभोक्ता समिति सदस्यहरू, समाजसेवीहरू तथा स्थानिय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

कब्रगाह निर्माणले मुस्लिम समुदायमा धार्मिक कार्य सम्पन्न गर्न सहज हुने भन्दै स्थानीयवासीहरूले पूर्व राज्यमन्त्री रायकाे यस पहलप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

शिलान्यास कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री चौधरीले धार्मिक सहिष्णुता र सामाजिक समरसता कायम राख्दै विकासका कार्यहरूलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्थानीय तह,प्रदेश सरकार तथा समाजसेवीहरूको सक्रियताले धार्मिक तथा सामाजिक पूर्वाधार विकासमा टेवा पुर्याउने विश्वास स्थानीय बासिन्दाहरूले व्यक्त गरेका छन् ।
आरके श्रीवास्तव,राैतहट,२४ गते वैशाख ।
नेपाली कांग्रेस विद्यार्थी विभाग रौतहटको आयोजनामा चन्द्रपुर–८ बेतौनास्थित कोटिहोम क्रिकेट मैदानमा ‘जय नेपाल कप’ अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्लाका विभिन्न ६ क्याम्पस सहभागी प्रतियोगितामा कटहरिया बहुमुखी क्याम्पसले पनि आफ्नो सहभागिता जनाएको छ ।

आज दिउँसो १ बजे कटहरिया बहुमुखी क्याम्पस र केवल रामसुरत क्याम्पस सिमराभवानीपुरबीच प्रतिस्पर्धा हुनेछ । आज कटहरिया बहुमुखी क्याम्पसकाे प्रांगणमा खेल प्रारम्भअघि एक सानो कार्यक्रमका बीच क्याम्पस प्रमुख गजेन्द्र प्रसाद यादवले खेलाडीहरूलाई पोशाक वितरण गर्दै शुभकामना व्यक्त गरेका छन् ।

“खेलकुद शारीरिक विकास मात्र होइन, अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकासको मूल आधार हो,” प्रमुख यादवले मन्तव्य दिँदै भने, “हामी हाम्रो क्याम्पसका खेलाडीहरूलाई पूर्ण समर्थन र हौसला दिन्छौं। यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई एकता र सहकार्य सिकाउने अवसर दिन्छ।”

उक्त कार्यक्रममा लेखा प्रमुख रामनिवास प्रसाद यादव र प्रअ जगरनाथ प्रसाद पटेलको पनि उपस्थिति रहेको थियो । प्रतियोगिता भरि विभिन्न क्याम्पसका टिमहरूबीच मैत्रीपूर्ण तर प्रतिस्पर्धात्मक खेल देखिने अपेक्षा गरिएको छ ।
क्याम्प प्रमुख यादवले खेलाडीहरूलाई अनुशासन र खेल भावना कायम राखी उत्कृष्ट प्रदर्शन गर्न शुभकामना पनि व्यक्त गरेका छन् ।
मुकेश कुमार साह,चन्द्रपुर, २३ वैशाख।
मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले शिक्षा र खेलकुद दुवै क्षेत्रमा सशक्त विद्यार्थीहरू तयार पार्न सके देशले सक्षम नेतृत्व पाउने विश्वास व्यक्त गर्नुभएको छ ।
रौतहटको चन्द्रपुर–८, बेतौनास्थित कोटिहोम क्रिकेट मैदानमा सुरु भएको ‘जय नेपाल कप’ अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री यादवले भन्नुभयो, “विद्यार्थीहरूलाई पढाइसँगै खेलकुदमा पनि सशक्त बनाउन सकियो भने, देशले नेतृत्वका असल अनुहारहरू पाउँछ।”

नेपाली कांग्रेस विद्यार्थी विभाग, रौतहटको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन समारोहमा विद्यार्थी विभाग प्रमुख श्यामहरि चौलागाईंको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य धनलाल ठोकर, कांग्रेस जिल्ला सचिव मिथिलेश कुमार मिश्र, प्रदेश प्रवक्ता सूर्यबहादुर थापा, सञ्चार विभाग प्रमुख नितेश कुमार गुप्ता, चन्द्रपुर नगरप्रमुख सञ्जय कुमार काफ्ले, माधवनारायण नगरप्रमुख बैजनाथ यादव सहित विभिन्न वडाध्यक्ष र नेताहरूको उपस्थिति रहेको थियो ।
उद्घाटन खेलमा लक्ष्मी श्री बहुमुखी क्याम्पस समनपुर र सिधुरेघारी बहुमुखी क्याम्पस चन्द्रपुरबीच प्रतिस्पर्धा भएको थियो। लक्ष्मी श्री क्याम्पसले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९३ रन बनायो । जवाफमा सिधुरेघारी क्याम्पसले १९.१ ओभरमा लक्ष्य पूरा गर्दै ५ विकेटको जीत हात पार्यो । कप्तान राजेश यादव म्यान अफ द म्याच घोषित भएका थिए ।
आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूबीचको मित्रता, अनुशासन र खेल प्रतिभा विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
राजन श्रीवास्तव,गाैर,२२ गते वैशाख ।
गाैर । रौतहटको एक सुधार केन्द्र यातना दिने केन्द्र बनेको छ । सदरमुकाम गौर स्थित एक सुधार केन्द्रमा एक जनालाई यातना दिइरहेको भिडियो सार्वजनिक भएको छ । रौतहट को गौर नगरपालिका वडा नं ४ स्थित रहेको राइजिङ नेपाल सुधार केन्द्र मा एक जनालाई चरम यातना दिइरहेको भिडियो बाहिरिएको छ।
भिडियो बाहिरिए सँगै हल्ला खल्ला नै मच्चेकाे छ । कतिपयले पुरानै भिडियो भनिरहेका छन् । पुरानै भिडियो भए पनि सुधारकाे नाउँमा यसरी यातना दिनु अपराध रहेको सर्वसाधारणकाे भनाइ छ ।

गौर २ महादेबपट्टीका २२ वर्षीय रितेश कुमार यादवलाई राइजिङ नेपाल सुधार केन्द्रमा पाइपले निर्घात कुटपिट गरिएको भिडियो सार्वजनिक भएको हो ।
सुधार केन्द्रका सञ्चालक वीरगंजका सुरज साह कानु रहेका छन्। कबिर चौकदेखि पश्चिमपट्टि रहेको सुधार केन्द्रमा अमानवीय तरिकाले शारीरिक यातना दिएको दृश्य सार्वजनिक भएको हो। सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको दृश्यमा एक युवकलाई पाइपले दुवै खुट्टाकोे पैतालामा पिटिरहेको र अन्य ३ जना मिलेर समातेको देखिन्छ।
सुधार केन्द्रमा भएको अमानविय घटनामा संग्लग्न लाई कारवाहीको दायरामा ल्याउन स्थानिय ले माग समेत गरेका छन्।जिल्ला प्रहरी प्रमुख नेत्रमणि गिरीले भने घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२२ गते वैशाख ।
वृन्दावन नगरपालिका वडा नम्बर ६ स्थित हर्षाहा उत्तर चौकमा निर्माण हुन लागेको सभागृह भवनको शिलान्यास एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सोमबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाका पूर्व सदस्य तथा नेकपा (एस) का स्थायी कमिटी सदस्य कल्याणी खड्का र वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले संयुक्त रूपमा भवन निर्माणको शिलान्यास गर्नुभएको हो ।

करीब १ करोड रुपैयाँको लागतमा संघीय सहरी तथा बस्ती विकास कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको सभागृह नगरको सामाजिक, सांस्कृतिक तथा धार्मिक गतिविधिका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।
साे अवसरमा मधेश प्रदेश सभा सदस्य कनिस पटेल,वृन्दावन नगरपालिकाको वडा नम्बर ५ का वडाअध्यक्ष फेकु दास , ८ का वडाअध्यक्ष रबिन्द्र साह, ९ का वडाअध्यक्ष प्रवेज आलम, स्थानीय जनप्रतिनिधिहरू,नगर कर्मचारी, बुद्धिजीवी, समाजसेवी ,संचारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
आरएन पटेल,रौतहट, २२ गते वैशाख ।
जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी महिला संघको राष्ट्रिय महाधिवेशनको लागि रौतहटमा जसपा नेपालको बैठक सम्पन्न भएको छ। जसपा नेपाल पार्टी कार्यालय गौर रौतहटको सभाहलमा सोमबारका जिल्ला अध्यक्ष राजीव रंजन यादवको अध्यक्षतामा पदाधिकारी बैठक सम्पन्न भएको हो।

जसपा नेपाल जिल्ला कार्य समिति रौतहटको आयोजनामा बैठक बसी यही बैशाख २७ र २८ गते जनकपुरधाम धनुषामा हुन गईरहेको संगठन समाजवादी महिला संघ नेपालको राष्ट्रिय महाधिवेशनको लागि विभिन्न शीर्षकमा छलफल गरिएको हो।
समाजवादी महिला संघ नेपालको यस महाधिवेशनलाई सफल पार्न सहयोग गर्न तथा जनता समाजवादी पार्टी नेपालको केन्द्रिय परिपत्र अनुसार सम्पूर्ण जनवर्गीय तथा पेशागत संगठनको जिल्ला अधिवेशन यही वैशाख महिनाभित्र गर्नु परेकाले सम्पूर्ण जनवर्गीय संगठनले आ-आफ्नो समितिको बैठक गरी जिल्ला अधिवेशनको मिति तय गरी पार्टी लाई सुचित गर्न आजको बैठकबाट निर्णय गरिएको छ ।
साथै जनता समाजवादी पार्टी नेपाल रौतहटको प्रत्येक पालिका तहमा रहेको संगाठनिक प्रतिवेदन नगर अध्यक्ष र सचिवबाट १५ दिन भित्र पार्टी कार्यालयमा बुझाउन बैठकबाट निर्णय गरिएको जिल्ला अध्यक्ष राजीव रंजन यादवले बताएका छन।

बैठकबाट राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट, संगठनात्मक संरचना सुदृढीकरण, महिलाको नेतृत्व विकास तथा पार्टीको भावी रणनीति सम्बन्धी विषयमा गम्भीर छलफल भएकोअध्यक्ष यादवले बताए ।
रौतहट जिल्लाले विगतमा पार्टीभित्र महिला नेतृत्वको सशक्त उपस्थिति र सामाजिक रूपान्तरणका सवालमा प्रभावशाली भूमिका निर्वाह गर्दै आएको छ। यही सन्दर्भमा, समाजवादी महिला संघको महाधिवेशनले पनि नयाँ उत्साह, जोश र राजनीतिक दृष्टिकोण विकास गर्ने विश्वास गरिएको छ।
बैठकमा महाधिवेशनको व्यवस्थापन, सहभागीहरूको तयारी, स्थानीय सञ्जाल सुदृढीकरण, महिला सहभागिता विस्तार लगायतका विविध विषयमा कार्ययोजना तय गरिएको छ।
जसपा नेपाल रौतहटका नेताहरूले महाधिवेशनलाई संगठन सुदृढीकरणको अवसरका रूपमा लिने तयारी गरेका छन्। राजनीतिक स्थायित्व, समावेशीता, लैंगिक समानता र संघीयताको पक्षमा पार्टीको दीर्घकालीन अडान पुनः पुष्टि गर्ने अवसर पनि महाधिवेशनले दिने विश्वास गरिएको छ।
बैठकमा जसपा नेपाल रौतहट अन्तर्गतका केन्द्रीय र प्रदेश स्तरका पदाधिकारीहरू, सदस्यहरू, जिल्ला पदाधिकारीहरू तथा नगर अध्यक्षहरूको उपस्थिति रहेको उपाध्यक्ष पारस भण्डारीले बताएका छन।
आरके श्रीवास्तव,राैतहट,२२ गते वैशाख ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोेसपा) नेपाल रौतहटकाे विस्तारित बैठक आइतबार सम्पन्न भएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष तथा संविधानसभा सदस्य निलम वर्माको प्रमुख आतिथ्यता र जिल्ला संयोजक भरत साहको अध्यक्षतामा सदरमुकाम गौर स्थित रामजानकी धर्मशालामा बैठक सम्पन्न भएको हो ।
कार्यक्रमकाे विशिष्ट अतिथिकाे रूपमा केन्द्रीय उपाध्यक्ष एवम् पूर्व प्रदेश सांसद बाबुलाल साह रहनु भएको थियोे ।

बैठकमा लाेसपा मधेस प्रदेश उपाध्यक्ष विन्देश्वर यादव, केन्द्रीय सदस्य रामप्रवेश दास,प्रभा सिंह,नेता योगेन्द्र यादव लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

बैठकबाट हाललाई भरत साहको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ। जिल्ला अध्यक्ष साहका अनुसार समितिले आगामी पहिलो बैठकमार्फत पदाधिकारी चयन गरी पूर्णता पाउनेछ ।
पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक कार्यक्रमहरूलाई प्रभावकारी बनाउन बैठकले रणनीति तय गरेको बताइएको छ । विस्तारित बैठकबाट लाेसपा नेपालले राैतहटमा तिव्रता पाउने विश्वास व्यक्त गरिएकाे छ ।

बैठकबाट जिल्ला कार्य समितिमा चयन हुने सदस्यहरूमा भाग्यनारायण साह,हरिशंकर पाण्डे,विश्वम्भर यादव, उपेन्द्र यादव र शेख अतिउल्लाह रहेका छन् । त्यस्तै प्रमोद यादव, जयमंगल दास, भाेला ठाकुर, रामप्रताप सिंह, तसलिम हुसेन र रुपा कुमारी रहेका छन् ।
यसैगरी शान्ति झा, पुनकली देवी सहनी, मन्सारुल हक, विनोद साह र रुपेश प्रसाद यादव ,मिना बैठा, लालवावु यादव, शेख ओहाव र पवन जयसवाललाई जिल्ला कार्य समितिकाे सदस्यमा चयन गरिएकाे जानकारी गराइएकाे हाे ।
आरके श्रीवास्तव,गरूडा,२२ गते वैशाख ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिका–२ स्थित शितलपुर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तक वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयले सहभागिता जनाउँदै विद्यार्थीहरूलाई पुस्तक वितरण गर्नुका साथै शिक्षाको महत्वबारे सम्बोधन गर्नु भएको छ । उहाँले विद्यार्थीहरूलाई समयको सदुपयोग गर्दै अध्ययनमा लाग्न आग्रह गर्नु भएको हाे ।

साे विद्यालयका प्रधानाध्यापक मुकेश यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । प्रधानाध्यापक यादवले सबै विद्यार्थीहरूलाई समयमै पुस्तक उपलब्ध गराउन सकिएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा विद्यालयको शैक्षिक स्तर अझै उकास्ने प्रतिबद्धता जनाउनु भएको छ ।

यसैगरी जिल्लाकाे अधिकांश सामुदायिक बिद्यालयमा पाठ्यपुस्तक वितरण भएकाे खबर छ । शिक्षक आन्दोलनले ठप्प रहेकाे शैक्षिक संस्थान अब सक्रिय भएका छन् । बिद्यालयकाे रिज्ल्ट निकाल्ने देखि लिएर भर्ना अभियान पनि सञ्चालन गरिरहेका छन् ।

आरके श्रीवास्तव,राैतहट,२१ गते वैशाख ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिका–२ मा अवस्थित श्री माध्यमिक विद्यालय शीतलपुरमा शिक्षक सेवा आयोग मार्फत नाम निकालेर आएका दुई जना नयाँ शिक्षकले पदभार सम्हालेका छन् । विद्यालयमा नयाँ शिक्षकहरूको उपस्थितिलाई स्वागत गर्दै वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयले स्वयम् उनीहरूलाई विद्यालयमा हाजिर गराएका छन् ।

शिक्षक सेवा आयोगबाट नाम सिफारिस भएका यी शिक्षकहरू औपचारिक प्रक्रिया अनुसार विद्यालयमा कार्यभार सम्हाल्न पुगेका हुन् । आजदेखि उनीहरूले आआफ्नो कक्षा पनि लिएका हुन् ।

वडा अध्यक्ष यादवले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा नयाँ शिक्षकहरूको आगमनले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।
विद्यालय व्यवस्थापन समिति तथा स्थानिय अभिभावकहरूले पनि नयाँ शिक्षकहरूको स्वागत गर्दै आगामी दिनमा विद्यालयको शैक्षिक सुधारमा योगदान दिन अनुरोध गरेका छन् ।

अंग्रेजी शिक्षिका सबिता हुमागाई र विज्ञान शिक्षब उतिलाल साह बिधालयमा आएपछि विद्यार्थी तथा अभिभावकहरूमा उत्साह देखिएको प्रधानाध्यापक मुकेश यादवकाे भनाइ छ । पढाइमा सुधार हुने अपेक्षा गरिएको छ ।

ग्रामीण क्षेत्रका बिद्यालयमा राम्रा शिक्षकहरू आउनै मान्दैनन् । तर वडा अध्यक्ष यादवले अथक प्रयास गरेपछि उनीहरू दुई हाजिर भएका हुन् । निर्वाचित भएदेखि नै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । सामुदायिक बिद्यालयकाे अवस्था सुधार गर्न उनी कम्मर कसेर लागेका छन् ।
आरएन पटेल,राैतहट,२१ गते वैशाख ।
रौतहटको राजपुर नगरपालिका वडा नं ५ मा अवस्थित अधुरो ब्रह्म स्थान र हनुमान मन्दिरको निर्माण कार्यको उद्घाटन तथा माथिल्लो भागको गुजुङ (गुम्बज) को शिलान्यास जनमत पार्टीका रौतहट क्षेत्र नं. २ (क) को प्रदेश सभा सदस्य प्रत्याशी शेख मोहम्मद आलम उर्फ बाबू साहेबले गर्नुभएको छ।
कार्यक्रमको सञ्चालन लोकनाथ ठाकुरले गर्नुभएको थियो भने आयोजना पर्यटन विकास कार्यालयमार्फत संचालन गरिएको हो। उपभोक्त समितिका अध्यक्ष श्याम बाबू साह रहेका थिए।
करीब १६ लाख रुपैयाँ लागतमा निर्माण कार्य सम्पन्न गरिने जनाइएको छ। मन्दिर पुनर्निर्माण हुने खबरले राजपुर नगरपालिकावासीहरुमा उत्साह छाएको स्थानीयले बताएका छन्।

सो अवसरमा जनमत पार्टीका नगर इन्चार्ज मो. जमिलउल्लाह, शेख रहुलहक, पूर्व नगर इन्चार्ज शेख फेराज, युवा नेता शेख नसिम, राम बाबू ठाकुर, लखिन्द्र साह, रमेश जैसवाल, रामलगन पण्डित लगायतका नेताहरू र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।