२०८३ भाद्र १२
२०८३ भाद्र १२

आरके श्रीवास्तव,राैतहट,३१ गते वैशाख । 

रौतहट – नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्य तथा रेडियो सुप्रिमका सञ्चालक,अन्नपूर्ण पोस्टका रौतहटकर्मी पत्रकार फणीदेव महतको उपचारका क्रममा निधन भएको छ ।

लामो समयदेखि टाउकोमा रहेको ट्युमरको उपचार गराइरहनुभएका महतको गएराति असामयिक निधन भएको हो । तीन वर्ष अघि बिरामी परेका महत नेपाल र भारतका विभिन्न सहरमा उपचाररत थिए ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाले एक शोक विज्ञप्ति जारी गर्दै पत्रकार महतको निधनले रौतहटले भुइँमान्छेका आवाज बुलन्द गर्ने साहसी तथा निर्भीक पत्रकार गुमाएको बताएको छ । विज्ञप्तिमा उहाँको निधनलाई रौतहटको पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति उल्लेख गरिएको छ ।

स्वर्गीय महतका श्रीमती र दुई छोरा रहेका छन् । महासंघले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

महासंघका सचिव गौतम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भगवान पशुपतिनाथले शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,३१ गते वैशाख । 

रौतहट । अन्नपूर्ण पाेष्ट दैनिकका राैतहट संवाददाता,सुप्रिम सञ्चार प्रा.लि. अन्तर्गत सञ्चालित रेडियो सुप्रिम तथा अनलाइन पोर्टल कलमपाटी डटकमका सञ्चालक, प्रेस चौतारी मधेश प्रदेशका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार फणि देव महतको असामयिक निधनले सम्पूर्ण सञ्चार क्षेत्र शोकमग्न बनेको छ ।

बिगत लामो समयदेखि ब्रेन ट्युमर राेगका सिकार पत्रकार महतको मंगलबार उपचारकै क्रममा दुःखद निधन भएको छ । ४८ वर्षिय उहाँको निधनको खबरले रौतहट मात्र होइन, देशैभरिका पत्रकारलाई स्तब्ध तुल्याएको छ । लामो समयदेखि सञ्चार क्षेत्रको सशक्तिकरण तथा समाज रूपान्तरणमा सक्रिय महतले जनताको आवाज बुलन्द पार्न आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नुभएको थियो ।

पत्रकारितामा उहाँको निष्ठा, समर्पण र निर्भीकता उदाहरणीय रहेको पत्रकार तथा उहाँका सहकर्मीहरूले बताएका छन् ।  उहाँको योगदान सदैव स्मरणीय रहने छ । पत्रकार महतको निधनले रौतहटको पत्रकारिता क्षेत्रमा ठूलो शून्यता उत्पन्न भएको छ ।

उहाँको निधनप्रति रौतहट लगायत देशैभरिका पत्रकारहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै गहिरो समवेदना प्रकट गरेका छन् । नेपाल पत्रकार महासंघ मधेस प्रदेश लगायत विभिन्न सञ्चार संस्थाहरूले पनि उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यस दुःखद घडीमा शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै, दिवंगत आत्माको चिरशान्तिको कामना गरिएकाे छ । उनकाे परिवारमा एक श्रीमती र दुई छोरा छन् । चन्द्रनिगाहपुरमा आज दिउँसो उनकाे अन्त्येष्टि गर्ने कार्यक्रम रहेको रेडियाे सुप्रिमका स्टेसन मैनेजर मुकेश कुमार साहले जानकारी गराएका हुन् ।

आरके श्रीवास्तव,गरूडा,३० गते वैशाख ।

रौतहटकाे गरुडा नगरपालिका वडा नं. ६ स्थित पोठियाहीमा आज एक विशेष कार्यक्रमका बीच आधारभूत विद्यालयको कक्षा ६ को औपचारिक उद्घाटन गरिएको छ । नगर प्रमुख कन्थमनी जयसवालले समारोहमा उपस्थित भई कक्षाको उद्घाटन गर्नु भएकाे छ ।

उक्त अवसरमा नगरप्रमुख जयसवालले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा शिक्षाको महत्त्वपूर्ण भूमिका हुने बताउँदै विद्यालय पूर्वाधार विस्तारलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको जानकारी दिएका हुन् । कक्षा ६ को सञ्चालनसँगै विद्यार्थीहरूलाई आवश्यक सम्पूर्ण पाठ्यपुस्तकहरू पनि वितरण गरिएको छ ।

“नगरवासीहरूको साथ, अभिभावकहरूको विश्वास र विद्यार्थीहरूको उत्साहले हामीलाई अझ बढी जिम्मेवार बनाउँछ,” नगरप्रमुख जयसवालले भन्नुभयो । उहाँले गरुडा नगरपालिका शिक्षामा गुणस्तर सुधार तथा भौतिक पूर्वाधार विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता पनि जनाउनु भएको छ ।

कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव,राैतहट,२९ गते वैशाख । 

गरुडा – सहयोगी मनका धनी तथा दयालु स्वभावका स्वर्गीय मनोज कुमार चौधरीको चौथो पुण्यतिथिको अवसरमा गरुडा नगरपालिकाकी नगर उप प्रमुख पूनम कुमारी चौधरी र स्व. चौधरीका सुपुत्र आरुष चौधरीले वंशीराम जयसवाल अनाथालयमा खाद्यान्न, स्टेशनरी सामग्री तथा विभिन्न खानेकुरा हस्तान्तरण गरेका छन् ।

भावनात्मक वातावरणमा सम्पन्न उक्त कार्यक्रममा स्व. चौधरीको स्मृतिमा अनाथालयमा रहेका बालबालिकालाई माया र स्नेहसहित सामग्री वितरण गरिएको थियो ।

त्यसै अवसरमा नगर उप प्रमुख पूनम कुमारी चौधरीले स्वास्थ्य समस्याका कारण अस्पतालमा उपचाररत अनाथालयका सञ्चालक वंशीराम जयसवालको स्वास्थ्य अवस्था बुझेकी थिइन् । अस्पताल पुगेर उनले जयसवाललाई दोसल्ला ओढाएर सम्मान गर्दै शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी थिइन् ।

स्व. मनोज कुमार चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारले सामाजिक सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गरेकाे छ ।

 

प्रेमचन्द्र झा, रौतहट,२९ गते वैशाख । 

तराई–मधेसको सांस्कृतिक पहिचान बोकेको परम्परागत वस्तु ‘डाला’ अहिले अस्तित्व संकटमा परेको छ । बाँसबाट बनाइने यो कलात्मक सामग्री विवाह, बर्तबन्ध, पूजापाठ जस्ता शुभ कार्यहरूमा अपरिहार्य भए पनि यसको निर्माण गर्ने समुदाय—डोम—अझै सामाजिक विभेदको शिकार छ ।

‘डाला’ केवल एक घरेलु सामग्री होइन, यो मधेसी सभ्यता, संस्कार र जातीय इतिहासको प्रतीक हो। पौराणिक कालदेखि पवित्र मानिएको बाँसबाट बनाइने डाला आज पनि विवाह समारोहमा सम्मान र सम्पन्नताको प्रतीकको रूपमा प्रयोग हुन्छ। दुलहापक्षबाट डुलहीको घरमा डाला पुर्याउनु सामाजिक संस्कारको एक महत्वपूर्ण भाग हो ।

डाला निर्माणमा उच्च सीप आवश्यक पर्छ। बाँसलाई काट्ने, सुकाउने, चोइट्याउने र बुन्ने क्रम अत्यन्त समय लाग्ने प्रक्रिया हो । डोम समुदायका हातबाट बनाइने यी डाला आज पनि ग्रामीण क्षेत्रका घर–घरमा प्रयोग हुन्छन्। तर उनीहरूलाई समाजले सधैं ‘तल्लो जात’को दृष्टिले हेर्दै आएको छ । एक वृद्ध डोम कलाकारको भनाइमा, “हम डाला बनाबई छी, लोगके पूजा होअलई, मुदा हम्मर पानि तक नहि पिअलई,” भन्ने कथनले मधेसको जातीय विभाजन झल्काउँछ ।

हाल वर्षेनी डालाको प्रयोग घट्दै गएको देखिन्छ ।  प्लास्टिकका ट्रे, कागजका प्याकेज र एलुमिनियमका डब्बाले यसको स्थान लिन थालेका छन् । यसले डाला निर्माणको परम्परालाई संकटमा पार्दैछ । यद्यपि, केही युवा मधेसीहरू र स्थानीय संस्था डोम समुदायको सीप र योगदानलाई सम्मान गर्ने अभियानमा लागेका छन् ।

गौर नगरपालिकाका पूर्व नगर उपप्रमुख किरण कुमारी ठाकुर भन्छिन्, “हाम्रो परम्परा डोम समुदायको सीपसँग गाँसिएको छ । डोमहरूले बनाउने डाला बिनाको विवाह सम्भव छैन् । अब तिनीहरूको सम्मान र पारिश्रमिक दुबै सुनिश्चित गर्नुपर्छ।”

डाला संरक्षणका लागि विज्ञहरूले विभिन्न उपायहरू सुझाएका छन्—डोम समुदायका युवालाई सीप तालिम दिने, हस्तकला मेलामा डाला प्रदर्शनी गराउने, शैक्षिक पाठ्यक्रममा यसको महत्व समावेश गर्ने र कला–साहित्यमा डाला पात्रहरूलाई उजागर गर्ने।

डाला केवल बाँसको सामग्री होइन, यो मधेसको आत्मा हो । यदि आज संरक्षणको पहल भएन भने, भोलिको पुस्ताले डाला केवल पुस्तकमा पढ्ने वस्तु बन्नेछ ।

आरके श्रीवास्तव,राैतहट,२९ गते वैशाख । 

लोकतान्त्रिक पत्रकार संघ केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माको नेतृत्वमा संघ दिनप्रतिदिन सक्रिय बन्दै गएको छ । पत्रकारहरूकाे हक, अधिकार र पेशागत पहिचानलाई सशक्त बनाउने उद्देश्यसहित संघले हालै धमाधम जिल्ला संयोजकको मनोनयन प्रक्रिया अघि बढाएको छ ।

अहिलेसम्म संघले मधेस प्रदेशका चार जिल्लामा संयोजक तोकिसकेको छ । बारा जिल्लामा विनोद प्रजापति, रौतहटमा राजु कुमार श्रीवास्तव, सर्लाहीमा राजिव कुमार साह तथा महोत्तरीमा राजिव राय कुर्मी जिल्ला संयोजकको रूपमा चयन भएका छन् ।

संघका अनुसार यी सबै संयोजकहरू सक्रिय रूपमा संगठन विस्तार र पत्रकारहितका गतिविधिमा जुटिरहेका छन् ।

अध्यक्ष वर्माले बाँकी जिल्लाहरूमा समेत चाँडै संयोजक मनोनयन गरिने जानकारी दिएका छन् । यसकाे लागि कुरा भईसकेकाे उनी बताउँछन् ।

 उनका अनुसार संघमा पत्रकारहरूको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ, जसले आफूलाई थप उत्साहित बनाएको बताए ।

“अन्य पत्रकार संगठनहरू भन्दा फरक ढंगले हाम्रो संघले पत्रकारहरूको सशक्त पहिचान निर्माण गर्ने लक्ष्य लिएको छ,” अध्यक्ष वर्माले भने, “हामी लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र पेशागत मर्यादा कायम गर्न कटिबद्ध छौं ।”

संघले आगामी दिनमा पत्रकारहरूको क्षमता अभिवृद्धि, पेशागत सुरक्षा र सामाजिक उत्तरदायित्वका सवालमा विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । संघले आगामी दिनहरूमा केन्द्रदेखि जिल्ला तहसम्म अझ प्रभावकारी रूपमा काम गर्ने योजना बनाएको छ ।

आरके श्रीवास्तव,गरूडा,२९ गते वैशाख । 

राैतहटकाे गरुडा नगरपालिका वडा नम्बर ४ मा अवस्थित जीवन विज्ञान योग केन्द्रको वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । “गरौँ योग, बनौँ निरोग” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नगर प्रमुख कन्थमनी जयसवनल लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम मार्फत केन्द्रले आफ्नो पहिलो वर्ष सफलतापूर्वक सम्पन्न गरी दोस्रो वर्षमा प्रवेश गरेको खुशी सँगै स्थानीय समुदायमा स्वास्थ्य, मानसिक सन्तुलन तथा सकारात्मक जीवनशैलीप्रति जागरूकता फैलाउने कार्यमा केन्द्रले पुर्याएको योगदानप्रति सराहना व्यक्त गरिएकाे छ ।

बुद्ध जयन्तीको पावन अवसरमा सोही कार्यक्रममा “माँ दुर्गा ऊर्जा ध्यान योग प्रयोगशाला” नामकरण गरि औपचारिक रूपमा उद्घाटन पनि गरिएको छ । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख जयसवालले यस्तो सकारात्मक प्रयासले नगरवासीको शारीरिक, मानसिक र आत्मिक शुद्धिकरणमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्दै नगरपालिकाबाट निरन्तर साथ र समर्थन रहने प्रतिवद्धता जनाएका छन् ।

स्थानीय बासिन्दाहरूले समेत यस्तो पहललाई स्वागत गर्दै आगामी दिनहरूमा अझ व्यापक सहभागिता हुने अपेक्षा व्यक्त गरेका छन् ।

आरके श्रीवास्तव,राैतहट,२९ गते वैशाख ।

रौतहट । मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय अन्तर्गत विनियोजित २५ लाख रुपैयाँको बजेटबाट गुजरा नगरपालिका वडा नम्बर ८ जोगौलिया देवीपुरस्थित ऐतिहासिक ईदगाहको स्तरोन्नति तथा घेराबेराको कार्यका लागि शिलान्यास सम्पन्न भएको छ ।

पूर्व राज्यमन्त्री तथा प्रदेश सांसद केशव राय चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न शिलान्यास समारोहमा वडाका स्थानीय नेता, समाजसेवी, उपभोक्ता समिति सदस्य, कार्यकर्ता तथा जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।  कार्यक्रममा सहभागिता जनाएका अधिकांश व्यक्तिहरूले चौधरीको दीर्घ प्रयास र निरन्तर पैरवीकै परिणामस्वरूप यो योजना कार्यान्वयनमा आएको बताएका छन् ।

स्थानीय धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ईदगाह क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि लामो समयदेखि उठ्दै आएको मागलाई सम्बोधन गर्दै मधेस प्रदेश सरकारसँग समन्वय गरी चौधरीले यस योजनालाई मूर्तरूप दिएका हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले धार्मिक सद्भाव, सामाजिक विकास तथा सामुदायिक संरचनाको समुन्नतिमा यस्ता आयोजनाहरू महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले आगामी दिनमा पनि विकासका थप योजनाहरू गाउँसम्म पुर्‍याउन आफू प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन् ।

स्थानीय बासिन्दाहरूले ईदगाहको स्तरोन्नति कार्यलाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै पूर्व राज्यमन्त्री चौधरीप्रति आभार व्यक्त गरेका छन् ।

उक्त कार्यले न केवल धार्मिक स्थलको सौन्दर्य र सुरक्षालाई बढावा दिनेछ, तर समुदायबीचको एकता र सहकार्यलाई समेत सुदृढ बनाउनेछ भन्ने अपेक्षा गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,२८ गते वैशाख । 

गौर । ‘रामा यादव स्मृति प्रतिष्ठान’द्वारा प्रदान गरिने पत्रकारिता पुरस्कार २०८२ सालका लागि शारदा पोखरेल (बारा, रातोपाटी अनलाइन) र चाँदनी झा (महोत्तरी, टिभी टुडे) लाई प्रदान गरिने भएको प्रतिष्ठानका संरक्षक जयप्रकाश यादवले जानकारी दिनुभएको छ ।

स्वर्गीय रामा यादवको चौंथो पुण्यतिथिको अवसरमा गौरमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट अध्यक्ष सञ्जय कार्कीले दुबै महिला पत्रकारको नाम घोषणा गर्दै स्वास्थ्य पत्रकारितामा योगदान पुर्‍याएकोमा सम्मान गरिएको जानकारी दिए ।

 

स्व. रामा यादवको चौथो स्मृतिमा प्रदान गरिने यस पुरस्कारको राशी २६ हजार एक रुपैयाँ रहेको छ । कोरोना महामारीका बेला २०७८ मा दिवंगत यादव सफल सञ्चार उद्यमी थिए । कार्यक्रममा विभिन्न सञ्चारकर्मीहरूले रेड टेलिभिजन र यादवको योगदानको चर्चा गर्दै संस्थाको प्रगतिको कामना गरेका छन् ।

साे अवसरमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षद्वय शैलेन्द्रकुमार गुप्ता,प्रेमचन्द्र झा,कान्तिपुरका उपसम्पादक शिवपुरी,प्रभाकुमार झा,नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष डिल्लीबहादुर कार्की,श्रमजीवि पत्रकार महासंघका अध्यक्ष सन्तोष पौडेल सहितका सञ्चारकर्मीहरूकाे उपस्थिति रहेको थियो ।

बज्जिकाञ्चल संवाददाता,सर्लाही,२७ गते वैशाख । सर्लाही । कुशवाहा बुद्धिजीवी सेवा समाज, जिल्ला समन्वय समितिको आयोजनामा शनिबार एक भव्य भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा समिति अध्यक्ष राम विश्वास कुशवाहाको अध्यक्षतामा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको विशेष आकर्षणको रुपमा नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय सचिव भरत महतोको सम्मान गरिएको थियो। बाल्यकालदेखि नै मातापिता, दिनदुःखीको सेवा तथा कुशवाहा समाजको समर्पित सेवामा अग्रसर रहँदै आएका महतो हाल नेपाल सरकारको निजामती सेवामा सहायक प्रशासन अधिकृत पदमा सिफारिसमा परेका छन्। यस योगदानको उच्च मूल्यांकन गर्दै बुद्धिजीवी समाजले उनलाई भव्य सम्मान प्रदान गरेको हो।

कार्यक्रमको स्वागत मन्तव्य बुद्धिजीवी समाज सर्लाहीका सचिव तथा प्रधानाध्यापक जवाहर लाल कुशवाहाले दिनुभएको थियो। कार्यक्रममा नेपाल कुशवाहा कल्याण समाज सर्लाहीका अध्यक्ष लक्ष्मण महतो, बुद्धिजीवी सल्लाहकार समिति संयोजक रामचन्द्र कुशवाहा, समाज सचिव तथा प्राध्यापक वीरेन्द्र कुशवाहा, निवर्तमान अध्यक्ष कपिलेश्वर कुशवाहालगायत विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बुद्धिजीवी समाजका उपाध्यक्ष आशादेवी, उपाध्यक्ष श्याम महतो, लेखा अधिकृत तथा कोषाध्यक्ष सीकिन्द्र कुशवाहा, सहसचिव जितेन्द्र महतो, समिति सदस्य तथा समाजसेवी पवन कुशवाहा, शिक्षक चन्द्र भुषण कुशवाहा, दिव्या कुशवाहा, सन्तलाल महतो, सविता कुशवाहा, हरिपुर नगर अध्यक्ष बिकाउ महतो, धनकौल नपा अध्यक्ष मदन कुशवाहा र बरहथवा नपा अध्यक्ष राम किसुन महतोलगायतले आ–आफ्नो सान्दर्भिक मन्तव्य राख्दै कार्यक्रममा जीवन्तता थपेका थिए।

उक्त अवसरमा नेपाल कुशवाहा कल्याण समाजको केन्द्रीय क्यालेन्डर विमोचन गरिएको थियो। साथै निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रमपश्चात बुद्धिजीवी समाजको बैठकसमेत सम्पन्न भएको थियो। बैठकको प्रस्ताव नम्बर ३ अन्तर्गत, नेपाली कांग्रेसका निवर्तमान उप-प्रधानपञ्च तथा वरिष्ठ समाजसेवी स्व. सुखदेव महतो कुशवाहाको नाममा बनाइएको सालिकको निर्माण सम्पन्न भएको जानकारी गराइएको थियो। साथै “शहीद सुखदेव कुशवाहा प्रतिष्ठान” दर्ता भई सञ्चालनको चरणमा पुगेको घोषणा गरिएको थियो। स्व. कुशवाहाको योगदानको स्मरण गर्दै उनका सुपुत्र पिताम्बर कुशवाहा र सम्पूर्ण परिवारलाई उपस्थितले ताली बजाउँदै धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भन्दै आयोजकले सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।