आरके श्रीवास्तव,राैतहट,१३ गते जेठ ।
राैतहटकाे राजपुर नगरपालिकाले कृषक हितमा एक ऐतिहासिक र अत्यन्त सराहनीय कदम चालेको छ । नगरप्रमुख डा. राजिक आलमको नेतृत्वमा नगरपालिका भित्रका सम्पूर्ण सिंचाई ग्राहकहरूको विद्युत महसुल स्वरूप जम्मा रु ६ लाख ९२ हजार ८ सय २२ रूपैयाँ ९१ पैसाको चेक नेपाल विद्युत प्राधिकरण गाैर कार्यालय प्रमुख रामअयोध्या यादवलाई हस्तान्तरण गरिएको छ ।
नगरप्रमुख डा. आलमको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरको नेतृत्वमा गएको टोलिले उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

यो सहयोगले कृषक वर्गलाई तत्काल राहत पुर्याउने विश्वास गरिएको छ भने दीर्घकालीन रूपमा सिंचाई प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउने लक्ष्य लिएको छ । नगरपालिकाको यो कदमले कृषकहरूको उत्पादनशक्ति बढाउने र आर्थिक स्थायित्वमा टेवा पुर्याउने देखिन्छ ।
स्थानीय तहबाट लिइएका यस्ता दूरदर्शी र किसानमैत्री निर्णयहरूले मात्र आत्मनिर्भर, समृद्ध समाजको निर्माण सम्भव हुन्छ । कृषकहरूले नगर प्रमुख डा. राजिक आलम र सम्पूर्ण राजपुर नगरपालिका परिवारप्रति गहिरो आभार व्यक्त गरेका छन् ।
यसप्रकारका पहलहरू नै सामाजिक उत्तरदायित्व र सेवा प्रवाहको उत्कृष्ट नमूना हुन् ।
आरके श्रीवास्तव, रौतहट, २०८२ जेठ १२ ।
रौतहटको चन्द्रपुर नगरपालिका स्थित होटल आरोहीमा सोमबार साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा तथा नेपाल पत्रकार महासंघ रौतहटको समन्वयमा आयोजना गरिएको थियो ।

कार्यक्रमको पहिलो सत्रमा उद्घाटन चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले गरेका थिए । कार्यक्रम आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खडकाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले गरेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा एआई अध्येता तथा अभ्यासकर्ता जीवन भण्डारीले एआईको प्रयोग, प्रभाव र सम्भावनाका विषयमा प्रशिक्षण दिएका थिए । तेस्रो सत्रमा पत्रकार प्रकाश मैनालीले डिजिटल मिडियाका अवसर र चुनौतीबारे सहजीकरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुरका नगरप्रुख काफ्लेले पत्रकारिता राष्ट्रलाई अग्रगामी दिशा देखाउने माध्यम भएको उल्लेख गर्दै लुकेका तथ्यहरू उजागर गरी समाजमा नयाँ आयाम दिन पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए ।

नेपाल पत्रकार महासंघ रौतहटका पूर्व अध्यक्ष प्रेमचन्द्र झाले अभिमुखीकरण कार्यक्रमले पत्रकारहरूलाई समाजप्रति उत्तरदायी र सुसूचित बनाउने दृष्टिकोण प्रदान गर्ने बताए । पूर्व केन्द्रीय सदस्य शिवपुरीले कार्यक्रम आयोजना गरेकोमा आमसञ्चार प्राधिकरणलाई धन्यवाद दिंदै पत्रकारले यस्ता विषयमा ज्ञान लिन आवश्यक रहेको उल्लेख गरेका थिए ।
नेपाल पत्रकार महासंघ राैतहटकी उपाध्यक्ष विनाराउत श्रीवास्तवले प्रविधिको विकाससँगै पत्रकारितामा नयाँ पुस्ताको अग्रसरता उल्लेखनीय रूपमा देखिएको बताएकी छन् ।
उनले अहिलेको डिजिटल युगमा पत्रकारिता पनि तीव्र रूपमा परिवर्तन हुँदै गएको उल्लेख गरिन्। उनले भनिन्, “प्रविधिले नयाँ पुस्ताका पत्रकारलाई धेरै अगाडि लगिसकेको छ। उनीहरूले प्रविधिको सही उपयोगमार्फत समाचार संकलन, सम्प्रेषण र विश्लेषणमा नयाँ आयाम थपिरहेका छन्।”

एआई (कृत्रिम बुद्धिमत्ता) को प्रयोगबारे पनि उनले सबै पत्रकारले आधारभूत ज्ञान लिनुपर्ने आवश्यकता औंल्याइन् । “आजको पत्रकारितामा एआईको भूमिका बढ्दो छ, त्यसैले यसको प्रयोग, सम्भावना र चुनौतीबारे सबैले जान्न जरुरी छ,” उनले भनिन् ।
आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खडकाले प्रविधिसँग नजिक रहेका पत्रकारहरूलाई दक्ष बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले मोफसलमा कार्यरत पत्रकारहरूलाई साइबर सुरक्षा र एआईसम्बन्धी जोखिमबारे सजग गराउने उद्देश्यले तालिम दिइएको बताए ।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत प्रशन्नराज कर्णले मधेस प्रदेशका आठै जिल्लामा यस्ता कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै पत्रकारहरूलाई यसको लाभ पुग्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरिएको थियो ।
कार्यक्रममा सञ्चारकर्मीहरू, विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरू र पत्रकारहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,१२ गते जेठ ।
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका–१, बैरगनियामा करिब २५ लाख रुपैयाँको लागतमा सडक स्तरोन्नति तथा आरसीसी ढलान कार्यको शिलान्यास सम्पन्न भएको छ । मधेश प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा निर्माण हुने यस योजनाले ग्रामीण क्षेत्रको यातायात र पूर्वाधारमा उल्लेखनीय सुधार ल्याउने विश्वास गरिएको छ ।

शिलान्यास कार्यक्रममा प्रदेश सांसद तथा पूर्व राज्यमन्त्री केशव राय चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । उनले कार्यक्रममा बोल्दै भने, “यो योजना केवल सडक निर्माणको कार्य होइन, यो यहाँको जनताको जीवनशैलीमा परिवर्तन ल्याउने माध्यम हो। यातायात सुगम भएपछी शिक्षा, स्वास्थ्य र व्यापार सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ। हामी जनताको सेवा र विकासमा सधैं प्रतिवद्ध छौं ।”

उनले थपे, “सरकारले ग्रामीण भेगका आधारभूत पूर्वाधार निर्माणमा प्राथमिकता दिएको छ। यसरी एकपछि अर्को विकास आयोजना कार्यान्वयनमा आउँदा मात्र समृद्ध मधेश निर्माण सम्भव हुन्छ ।”
स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूले आगामी दिनमा थप यस्ता योजनाको अपेक्षा व्यक्त गरेका थिए ।
सागर संगम ठाकुर, रौतहट, ११ गते जेठ ।
रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीमा स्थानीय किसानहरूलाई स्प्रे टंकी वितरण गरिएको छ । वडा अध्यक्ष वीर बहादुर साहको अगुवाइमा आयोजित कार्यक्रममा कृषि उत्पादन वृद्धिको उद्देश्यका साथ किसानहरूलाई यो उपकरण वितरण गरिएको हो ।
वडा अध्यक्ष साहले आर्थिक वर्ष २०८१/८२ को वडा स्तरीय योजनाअन्तर्गत कूल ५ लाख रुपैयाँको लागतमा खरिद गरिएका स्प्रे टंकी १११ जना किसानलाई वितरण गरिने जानकारी दिए । “कृषिप्रति आश्रित किसानहरूको समस्यालाई ध्यानमा राख्दै स्प्रे टंकी वितरण गरिएको हो, यसले बालीको संरक्षणमा सहयोग पुर्याउने विश्वास लिएको छु,” अध्यक्ष साहले बताए ।

शनिबार वडा कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह र उपमेयर परनिया देवी पटेलले संयुक्तरूपमा किसानहरूलाई स्प्रे टंकी हस्तान्तरण गरे।कार्यक्रममा वडा सदस्य खुबलाल दास, महिला सदस्य संजोगिया देवी, प्रमिला देवी तथा स्थानीय बुद्धिजीवी र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२०८२ जेठ ०९ गते ।
चुरे तथा वनजंगल संरक्षण अभियानले मधेश प्रदेशका वन सचिव उद्धव घिमिरेलाई तत्काल बर्खास्त गरी कारबाहीको माग गरेको छ । शुक्रबार जारी प्रेस विज्ञप्तिमा अभियानले घिमिरेमाथि गम्भीर लापरवाही र वन संरक्षणमा असक्षमता देखाएको आरोप लगाउँदै उनलाई अन्यत्र सरुवा गरी योग्य व्यक्तिको नियुक्तिको माग गरेको हो ।
रौतहट डिभिजनका विभिन्न सव-डिभिजन कार्यालयहरू — गैडाटार, चन्द्रपुर, वृन्दावन, चोचा र पौराही क्षेत्रमा फैलिएको अवैध वन अतिक्रमण, काठ तस्करी र सरकारी संरचना निर्माणप्रति अभियानले गम्भीर चिन्ता व्यक्त गरेको छ। विशेष गरी चन्द्रपुर–२ मा पाँच बिगाहा भन्दा बढी वन क्षेत्र अतिक्रमण भई सयौं सिसौका रुख फँडानी गरिएको दाबी गरिएको छ ।

Oplus_0
अभियानले सार्वजनिक गरेको भिडियोमा अतिक्रमणको प्रमाण देखिएपछि उक्त प्रमाण मेटाउने उद्देश्यले वैशाख महिनाको अत्यधिक गर्मीमा वृक्षारोपण गरिएको उल्लेख छ। यस्तै, गुजरा–३ स्थित सिम्री सिक्टि टोलमा झण्डै पाँच बिगाहा वनमा मकै खेती भइसकेको छ।
२०८१ पुसमा भएको काठ लिलामी प्रक्रियामा समेत अनियमितता भएको भन्दै अभियानले राजदेवी, परवेज, सुरज, आरएन, कल्याणी, नन्दनी, सुरेन्द्र, लक्ष्मी लगायत काठ मिलहरूसँग गोप्य अवैध सम्झौता गरिएको आरोप लगाएको छ। रु. २२०० को दरमा काठ बिक्री गर्नुपर्नेमा रु. १४८० मा टेन्डर गरिएर राज्यलाई ठगी भएको दाबी गरिएको छ।

अभियानले मधेश प्रदेश सरकार, वन मन्त्रालय र सम्बन्धित निकायहरूलाई निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न आग्रह गरेको छ। साथै, चुरे तथा वनजंगल संरक्षणमा सबै सरोकारवालाहरू — राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाज — को सक्रिय सहकार्यको आवश्यकता औंल्याएको छ।
यसैबीच, पूर्व वनमन्त्रीको बर्खास्तीलाई अभियानले सकारात्मक कदम भन्दै स्वागत गरेको छ र नव नियुक्त वनमन्त्री सञ्जय यादवलाई सफल कार्यकालको शुभकामना दिएको छ। मुख्यमन्त्री सतिश सिंहलाई वैशाख २१ मा बुझाइएको ज्ञापनपत्रपछि सुरु भएको विरोध कार्यक्रमले मन्त्री बर्खास्तीको मार्ग प्रशस्त गरेको अभियानको दाबी छ।
आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ ०९ गते । राैतहट जिल्लाको कटहरिया नगरपालिका–५ मा अवस्थित माध्यामिक विद्यालय वलिरामपुरमा आज एक स्वागत कार्यक्रम आयोजना गरी नवआगन्तुक प्रधानाध्यापक अनिल कुमार निधिलाई स्वागत गरिएको छ ।
अनिल कुमार निधि कटहरिया नगरपालिकाको शिक्षा शाखामा समेत सक्रिय रहँदै आएका छन् । शिक्षा क्षेत्रमा लामो अनुभव बोकेका निधिले वलिरामपुर माविमा प्राचार्यको रूपमा कार्यभार सम्हाल्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रधानाध्यापक निधिले विद्यालयको गुणस्तरीय शिक्षामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षसँग सहकार्यमा अघि बढ्ने जनाएका छन् ।
कटहरिया नगरपालिका शिक्षा शाखाले समेत प्रधानाध्यापक निधिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
राजेश निर्माणी,राैतहट,२०८२ जेठ ०९ ।
रौतहटको वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मीले शुक्रबार एक समारोहका बीच विद्यालय भवनको शिलान्यास गरेका छन् ।
वृन्दावन नगरपालिका वडा नम्बर २ स्थित श्री नेपाल माध्यमिक विद्यालय,बिश्रामपुरमा आयोजित कार्यक्रममा मेयर कुर्मीले ३५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको सुविधा सम्पन्न दुईतले भवनको शिलान्यास गरेका छन् ।

उक्त विद्यालयमा भवनको अभावका कारण विद्यार्थीहरू खुला चौरमा बसेर अध्ययन गर्न बाध्य हुँदै आएका थिए। सोही अभाव हटाउने र शिक्षा क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले भवन निर्माण थालिएको नगरप्रमुख कुर्मीले जानकारी दिएका छन् ।

उनका अनुसार विद्यालयकै जमिनमा पठनपाठनको सहज वातावरण सिर्जना गर्न नगरपालिका आफैंले बजेट विनियोजन गरी भवन निर्माण प्रक्रिया अघि बढाएको हो ।

स्थानीय बासिन्दा, विद्यालय परिवार तथा विद्यार्थीहरूले उक्त कदमलाई स्वागत गर्दै गुणस्तरीय शिक्षाको बाटो खोल्ने विश्वास व्यक्त गरेका छन् ।
आरके श्रीवास्तव,गरूडा,०९ गते जेठ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा राैतहटकाे परोहा नगरपालिका–७ मा २५ लाख रुपैयाँको लागतमा सडक ढलान कार्य सुरु गरिएको छ । सो सडक निर्माणको शिलान्यास लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका मधेस प्रदेश सचिव ओम लोक पटेलले एक कार्यक्रमकाबीच गरेका हुन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पटेलले भने, “स्थानीय तहको समुचित विकास बिना समृद्धि सम्भव छैन । जनताको प्रत्यक्ष सुविधा हुने पूर्वाधार निर्माणमा हामी प्रतिबद्ध छौं । यो सडक ढलान परियोजना परोहाका बासिन्दाको लागि सुविधा र गर्वको विषय हो ।”
उनले थपे, “मधेसका प्रत्येक वस्तीमा बाटो, बिजुली, पानी र शिक्षा स्वास्थ्य जस्ता आधारभूत पूर्वाधार पुर्याउने हाम्रो लक्ष्य हो। हामी जनतासँग गरेका वाचा पूरा गर्दै अघि बढिरहेका छौं ।”

सडक ढलान सम्पन्न भएपछि सो क्षेत्रका स्थानीय बासिन्दाहरूले आवागमनमा सहजता पाउने र वर्षायाममा देखिने समस्याहरूको समाधान हुने विश्वास लिइएको छ । परियोजना चालू आर्थिक वर्ष भित्र सम्पन्न गरिने उनले जानकारी गराएका हुन् ।
कार्यक्रममा स्थानीय प्रतिनिधि, समाजसेवी तथा बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२०८२ जेठ ०८ गते ।
रौतहटको चन्द्रनिगाहपुरस्थित एएन प्लाजा होटलमा डिभिजन वन कार्यालयको आयोजनामा “वन संरक्षण प्रणालीमा आधारित दिगो वन व्यवस्थापन” विषयक दुईदिने तालिम सुरु भएको छ । तालिम सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई लक्षित गर्दै सुरु गरिएको हो ।
तालिम उद्घाटन समारोहमा डिभिजन वन प्रमुख हेमन्त प्रसाद साहले वन संरक्षण तथा सुशासनका सवालमा कडा धारणा प्रस्तुत गरे । उनले योजनाहरू स्थानीय उपभोक्ताको आवश्यकता अनुसार निर्माण हुनुपर्नेमा जोड दिँदै भने, “काठमाडौँ वा जनकपुरमा बसेर तयार गरिने कार्ययोजनाले वनको दिगो विकास सम्भव छैन। योजना समुदायकै आवश्यकता र वास्तविकता अनुरूप बन्नुपर्छ ।”

उनले सामुदायिक वनमा रूख कटानी गर्दा सुकिसकेका, बुढा, ढलेका वा मर्न लागेको रूख मात्र काट्न निर्देशन दिए। वन सफाइको नाममा हुने अनावश्यक रूख फडानी रोक्न उनले कडा चेतावनी पनि दिए । “यस्तो कार्यमा संलग्न भए कडा कानुनी कारबाही हुनेछ,” साहले स्पष्ट पारे ।
वन क्षेत्रमा अनधिकृत संरचनाहरू—जसमा पोखरी, पैनी, मन्दिर, सामुदायिक भवन आदिको निर्माण भइरहेको सूचनामा प्रतिक्रिया दिँदै उनले भने, “यस्ता संरचना हटाउने प्रक्रिया अघि बढिसकेको छ। सम्बन्धित निकायलाई पत्राचार भइसकेको छ। अब त्यसमा कसरी भुक्तानी हुन्छ? यस्तो लगानी डुब्ने पक्का छ ।”
साहले सहभागीहरूलाई लाभान्वित घरधुरीको यथार्थ डेटा संकलन गर्न, महिला–पुरुष सहभागीताको विवरण राख्न र तथ्यमा आधारित अभिलेख राख्न आग्रह गरे। उनले वन व्यवस्थापनमा पारदर्शिता र जवाफदेहिता अनिवार्य रहेको उल्लेख गर्दै भने, “सुशासनका लागि कसैसँग सम्झौता हुँदैन ।”

तालिममा डिभिजन वन कार्यालयका विभिन्न विज्ञहरूले सहभागीहरूलाई दिगो वन व्यवस्थापन, वन ऐन तथा नियमावली, र प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी विषयमा प्रशिक्षण दिइरहेका छन् । तालिममा रौतहट जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, सचिवलगायतका पदाधिकारीहरूको उपस्थिति रहेको छ ।
सहभागीहरूले तालिमबाट आफूहरू थप जिम्मेवार र सचेत हुने विश्वास व्यक्त गरेका छन् । तालिमको उद्देश्य सामुदायिक वन व्यवस्थापनलाई प्रभावकारी बनाउँदै पर्यावरणीय सन्तुलन कायम राख्नु र उपभोक्ताको क्षमता अभिवृद्धि गर्नु हो ।
आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ ०८ गते ।
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय ई.बसन्त कुशवाहा दोस्रोपटक मधेश प्रदेश सरकारमा मन्त्री नियुक्त भएका छन् । उनले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै सपथ ग्रहण गरेका छन् ।
यसअघि कुशवाहा तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादवको नेतृत्वको सरकारमा कृषि मन्त्री रहेका थिए । दोस्रोपटक मन्त्रिपदमा पुनः नियुक्त भएपछि रौतहटबासीबीच विकासको अपेक्षा अझ बलियो बनेको छ ।

जनमत पार्टीले हालै मधेश प्रदेश सरकारबाट आफ्ना दुई मन्त्रीहरूलाई फिर्ता बोलाएको छ । मन्त्री फिर्ता गरिएपछि वसन्त कुशवाहालाई उद्योग,वाणिज्य तथा पर्यटन मन्त्रालय र सञ्जय यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

रौतहट जिल्लाबाट पुनः एकपटक मन्त्री नियुक्त भएसँगै स्थानीयवासीमा उत्साह छाएको छ भने जिल्लाको समग्र विकासमा नयाँ गति आउने विश्वास गरिएको छ ।

पार्टी तथा शुभेच्छुकहरूले मन्त्री कुशवाहालाई सफल कार्यकालको शुभकामना दिएका छन् ।