चन्दन यादव,राैतहट,२७ गते जेठ ।
राैतहटमा अदालतको फैसला कार्यान्वयन गर्न खटिएको प्रहरी टोलीले फरार रहेका १५ जना प्रतिवादीलाई पक्राउ गरेको छ । ती सबै प्रतिवादीहरू विभिन्न मुद्धामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका थिए ।
प्रहरीका अनुसार मिति २०८२ साल जेठ २७ गतेसम्ममा रौतहट जिल्ला अदालतबाट सजाय पाएका तर फरार रहेका प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका ईकाइहरूबाट परिचालित टोलीले खोजी गरी पक्राउ गरेको हो ।

पक्राउ परेका सबै व्यक्तिहरूलाई आवश्यक कारबाहीको लागि सम्मानित रौतहट जिल्ला अदालतमा बुझाइएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक कुमार रायले जानकारी दिएका छन् ।
रायका अनुसार अदालतको फैसला कार्यान्वयनमा शून्य सहनशीलता नीति अपनाउँदै फरार प्रतिवादीहरूलाई खोजी गरी कारबाही अघि बढाउने कार्यलाई प्रहरीले अझ प्रभावकारी बनाउँदै लगेको छ ।
आरके श्रीवास्तव,राैतहट,२७ गते जेठ ।
नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रले सूचित गरेअनुसार भोलि मिति २०८२ जेठ २८ गते (बुधबार) मौलापुर क्षेत्रमा ५ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ।
गौर वितरण केन्द्रबाट प्राप्त जानकारी अनुसार,हर्षाहा ३३ केभी लाइन अन्तर्गत बसन्तपुर क्षेत्रमा अवस्थित दुई थान पोल भाँचिन लागेकोले ती पोलहरुको मर्मत तथा बद्ली कार्य गर्नुपर्ने भएको हो । यस कार्यका लागि बिहान ७:३० बजेदेखि दिउँसो १२:३० बजेसम्म मौलापुर सब स्टेसनबाट सञ्चालित सम्पूर्ण विद्युत् आपूर्ति बन्द रहने जानकारी दिइएको छ ।

Oplus_0
विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्तालाई केही असुविधा पर्न सक्ने भएकाले मौलापुर वितरण केन्द्रले सबै ग्राहक वर्गमा क्षमायाचना गर्दै आवश्यक वैकल्पिक व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
मौलापुर वितरण केन्द्रका प्रमुख रामदिनेश यादवले जानकारी दिनु भएको छ कि पोल मर्मत कार्य सम्पन्न भएपछि पुनः नियमितरूपमा विद्युत् आपूर्ति सुरु गरिनेछ ।
आरके श्रीवास्तव,रौतहट, २०८२ जेठ २६ गते ।
जनता समाजवादी पार्टी (जसपा), नेपालका केन्द्रिय सल्लाहकार समिति सदस्य राजकुमार दासमाथि गम्भीर आक्रमण भएको छ । उक्त आक्रमण आइतबार साँझ करिब ६:३० बजे गरुडा नगरपालिका–८ अन्तर्गत बिर्ता चौक नजिकको मस्जिद छेउमा भएको हो ।
पार्टीका अनुसार केही आपराधिक समूहले योजनाबद्धरूपमा दासमाथि संघातिक आक्रमण र दुर्व्यवहार गरेका छन् । यस घटनाप्रति जनता समाजवादी पार्टी नेपाल, रौतहट जिल्ला समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

जिल्ला अध्यक्ष राजीव रंजन यादवद्वारा जारी विज्ञप्तिमा उक्त घटनाको घोर भर्त्सना गर्दै दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।

पार्टीले सुरक्षा निकायलाई दोषी पहिचान गरी तुरुन्त कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । साथै, यस्ता आपराधिक घटनाले मुलुकको शान्ति, स्थायित्व र राजनीतिक सहिष्णुतामाथि प्रश्न उठाउने भन्दै चौतर्फी चिन्ता व्यक्त गरिएको छ ।
सागर संगम ठाकुर, रौतहट, जेठ २३
रौतहटको देवाही गोनाही नगरपालिकामा डेंगु रोगसम्बन्धी एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ। समुदायमा डेंगु रोगको जोखिम बढ्दै गएकाले स्थानीय स्तरमै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबार नगर स्वास्थ्य शाखाको आयोजनामा तालिम कार्यक्रम सम्पन्न गरिएको हो।
तालिमको उद्घाटन नगर प्रमुख डा. रामप्रवेश पटेलले गरेका थिए। उनले तालिमको दौरान डेंगु रोग सामान्य ज्वरो जस्तो देखिए पनि गम्भीर परिणाम ल्याउन सक्ने भएकाले यसको समयमै पहिचान, रोकथाम र नियन्त्रण अत्यावश्यक रहेको बताए। उनले भने, “डेंगु नियन्त्रण सामूहिक प्रयासबाट मात्र सम्भव छ। यसमा समुदायको सक्रिय सहभागिता अपरिहार्य छ।”
कार्यक्रममा नगर स्वास्थ्य शाखाका संयोजक जग्गा रामले डेंगु रोगको लक्षण, संक्रमणका तरिका, बच्ने उपाय र नियन्त्रण रणनीतिका बारेमा विस्तृत जानकारी दिएका थिए। सहभागीहरूले घर वरपर पानी जम्न नदिने, पूर्ण शरीर ढाकिने लुगा लगाउने, लार्भा नष्ट गर्नेजस्ता व्यावहारिक उपायहरूबारे जानकारी प्राप्त गरेका थिए।
उक्त तालिममा उपमेयर परनिया देवी पटेल, स्वास्थ्य शाखाका सह-संयोजक रंदीप साह, विभिन्न वडाका स्वास्थ्यकर्मी, शिक्षक, आमा समूहका प्रतिनिधिहरू, वडा अध्यक्ष तथा सामाजिक अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले तालिममा प्राप्त ज्ञानलाई समुदायमा फैलाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा आयोजक संस्थाले सबै सहभागीप्रति आभार प्रकट गर्दै तालिम औपचारिक रूपमा समापन गरेको थियो।
आरके श्रीवास्तव,राैतहट,२३ गते जेठ ।
राैतहटकाे मौलापुर नगरपालिकाले शिक्षाको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै यस वर्षको “प्यान उत्कृष्ट नगरपालिका २०८२” को सम्मान प्राप्त गरेको छ । उक्त पुरस्कार नेपाल प्रधानाध्यापक संघ बाट प्रदान गरिएको हो।

प्रा. डा. विद्यानाथ कोइरालाको संयोजकत्वमा गठित पाँचजना विज्ञहरूको मूल्याङ्कन समितिले देशभरका नगरपालिकाहरूको शिक्षासम्बन्धी २५ वटा मापदण्डको आधारमा मूल्याङ्कन गरी मौलापुर नगरपालिकालाई मधेस प्रदेशमा उत्कृष्ट ठहर गरेको हो ।
पुरस्कार पाेखरामा आयोजित समारोहमा संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तबाट मौलापुर नगरपालिकाका नगर प्रमुख रिनाकुमारी साहले ग्रहण गर्नुभएकाे छ ।

शिक्षाको समग्र स्थिति, बाल शिक्षा तथा ईसीडी व्यवस्थापन, सिपमूलक शिक्षा, शिक्षक/विद्यार्थी सन्तुष्टि, विद्यालय बाहिर रहेका बालबालिकाका लागि गरिएको प्रयास, विद्यालयको भौतिक संरचना, स्थानीय पाठ्यक्रमको कार्यान्वयन, आधुनिक प्रविधिको प्रयोग, छात्रालाई शिक्षामा समावेश गराउने पहल, आवधिक शैक्षिक योजना निर्माण तथा गुनासो व्यवस्थापन प्रणाली लगायतका सूचकहरूमा मौलापुर नगरपालिकाको प्रदर्शन उच्च रहेको मूल्याङ्कन समितिको निष्कर्ष रहेको छ ।
नगरपालिकालाई उत्कृष्ट बनाउन सक्रिय योगदान पुर्याउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षकमण्डल, अभिभावक, विद्यार्थी तथा सरोकारवालाप्रति मौलापुर नगरपालिकाले विशेष कृतज्ञता प्रकट गरेको माैलापुर नगरपालिकाका प्रमुख अधिकृत रामबाबु साहले जानकारी गराएका हुन् । साथै निष्पक्ष मूल्याङ्कन तथा पुरस्कार छनौटका लागि प्यान प्रति आभार व्यक्त गरिएको छ ।
आरके श्रीवास्तव,राैतहट,२३ गते जेठ ।
राैतहटकाे कटहरिया नगरपालिका–५ स्थित श्री जनता माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष नसरुदिन अंसारीले आज औपचारिक रूपमा आफ्नो पदबाट राजिनामा दिएका छन् । उनले राजिनामा पत्र शिक्षा शाखाका प्रतिनिधिलाई नगरपालिकामा बुझाएका हुन् ।

आफ्नो कार्यकाल इमानदारीपूर्वक पुरा गरेपछि पटक–पटक नयाँ समिति गठनका लागि आग्रह गर्दा पनि नगरपालिकाको उदासीनता र बालबालिकाको भविष्यप्रति देखिएको लापरवाहीले गम्भीर चिन्ता व्यक्त गर्दै अंसारीले पदबाट अलग हुने निर्णय गरेका हुन् । उनले भने, “चुनावी प्रक्रिया सहज होस् भनेर मैले राजिनामा दिएको हुँ ।”
कतिपयले अंसारीको राजिनामालाई कटहरियाको राजनीतिक समिकरणमा सम्भावित फेरबदलका रूपमा समेत हेरिरहेका छन् । जानकारहरूका अनुसार, नगरपालिकाले आफू नजिकका व्यक्तिलाई विव्यसमा मनोनयन गर्ने अभ्यासको विरोधमा आएको यो राजिनामा शिक्षा क्षेत्रमा पारदर्शिता र जवाफदेहिताको लागि ठुलो सन्देश हो ।

अंसारीको अध्यक्षतामा विद्यालयमा उल्लेखनीय विकास कार्यहरू सम्पन्न भएका छन् । चारकोठे दुईतले भवन निर्माणाधिन, विद्यालयमा सीसीटीभी जडान, प्राविधिक ल्याब तथा थप कम्प्युटर व्यवस्थापन, विद्यार्थीहरूको डिजिटल आइडी कार्ड निर्माण, विद्यालय प्रांगणमा सौन्दर्यकरणका लागि फूलका विरुवा रोपण, पोशाक व्यवस्थापन, सवारी साधन पार्किङका लागि स्ट्यान्ड निर्माण, बाउण्ड्री वाल, फलामको घेराबेरा तथा थप चारकोठे भवनको शिलान्यास जस्ता कार्यहरू सफलतापूर्वक सम्पन्न गरिएका छन् ।

अब, अभिभावक, शिक्षक, विद्यार्थी तथा नागरिक समाजको सहकार्यमा शिक्षा क्षेत्रलाई पारदर्शी, जवाफदेही र गुणस्तरीय बनाउने बेला आएको अंसारीको राजिनामा सन्देश दिएकाे छ ।
आरके श्रीवास्तव,राैतहट,२३ गते जेठ ।
आगामी मनसुनमा सम्भावित प्राकृतिक विपद्बाट उत्पन्न जोखिम न्यूनीकरण गर्ने उद्देश्यले रौतहटको गौरस्थित बरहवाको झोलुङ्गे पुल नजिक आज एक दिवसीय कृत्रिम उद्धार अभ्यास सम्पन्न गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपालद्वारा आयोजित उक्त अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल गरी तीनवटै सुरक्षा निकायको सक्रिय सहभागिता रहेको थियो । मनसुन पूर्वानुमानअनुसार औसतभन्दा बढी वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै विपद्को समयमा गरिने उद्धार तथा राहत कार्यमा समन्वय र तयारी अभिवृद्धि गर्ने उद्देश्यले सो अभ्यास गरिएको हो ।

कार्यक्रममा आरडिसी नेपाल, मान्डवी लगायतका विभिन्न गैरसरकारी संघसंस्थाहरूको समन्वय रहेको थियो । अभ्यासका क्रममा नदीमा फसेका व्यक्तिहरूको उद्धार, आकस्मिक उपचार तथा सुरक्षित स्थानमा स्थानान्तरण लगायतका गतिविधिहरू देखाइएको थियो ।

सुरक्षा निकायका प्रतिनिधिहरूले यस्ता अभ्यासले विपद् व्यवस्थापनमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन् । स्थानीय तह, सरोकारवालाहरू र सर्वसाधारणबीच समन्वय बढाउने यस्ता अभ्यासले भविष्यमा हुने सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरणमा ठुलो योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
बिना राउत श्रीवास्तव, गौर, २३ गते जेठ ।
राैतहटकाे गौर र इशनाथ नगरपालिकालाई जोड्ने टीकुलिया घाटको पुल निर्माण कार्य पुनः सुरु गरिएको छ । तर सो स्थानमा काम गरिरहेका केही निर्माण मजदुरहरूले त्यहाँबाट दैनिक आवतजावत गर्ने महिलाहरूलाई जिस्क्याउने, अश्लील र आपत्तिजनक टिप्पणी गर्ने जस्ता अभद्र व्यवहार देखाइरहेका छन् भन्ने गम्भीर गुनासो आएको छ ।
एक पीडित महिलाका अनुसार, ती मजदुरहरूले ठूलो स्वरमा फोहरफाल कुराहरू गरेर महिलाहरूलाई असहज बनाउने, हेरेर जिस्क्याउने, र आत्मसम्मानमा ठेस पुर्याउने कार्य नियमित रूपमा गर्दै आएका छन् । “हामीले अब त्यो बाटो हिँड्न पनि डराउनुपरेको छ। साँझपख त एक्लै जान त झन् जोखिमपूर्ण लाग्छ,” उनले बताइन् ।
महिलाहरूले आफूलाई असुरक्षित महसुस गरिरहेका छन् र यथाशीघ्र समाधानको माग गरेका छन् । पीडितहरूले ठेकेदार र स्थानीय जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै ती कामदारहरूलाई तत्काल निर्माण स्थलबाट हटाउनुपर्ने माग राखेका छन् ।
“यदि यस्ता कामदारलाई तुरुन्त नहटाइयो भने भविष्यमा कुनै महिला दिदीबहिनीमाथि अप्रिय घटना घट्न सक्छ,” स्थानीय महिलाहरूको चेतावनी छ ।
सम्बन्धित निकाय र स्थानीय जनप्रतिनिधिहरूको तुरुन्त ध्यान जानु आवश्यक छ । पुल निर्माण जस्तो विकासको काम महिला सुरक्षाको मूल्य चुकाएर हुनुहुन्न भन्ने चेतावनीसहित स्थानीय महिलाहरूले आफ्ना आवाज उठाइरहेका छन् ।
आरके श्रीवास्तव,राैतहट,२०८२ जेठ २२ गते ।
रौतहटको कटहरिया नगरपालिका–५ प्रगतिनगरमा रहेको श्री बाल कल्याण विधा मन्दिरले विश्व वातावरण दिवसको अवसरमा विविध कार्यक्रम गरी दिवस मनाएको छ । विद्यालयका विद्यार्थीहरूले प्लेकार्डसहित कटहरिया बजार परिक्रमा गर्दै वातावरण संरक्षणका सन्देशमूलक नाराहरू गुन्जाएका थिए ।

“हरियो वन नेपालको धन”, “रूख रोपौं, वातावरण बचाऔं”, “हरियाली छ जीवनको शान”, “प्रकृति हो हाम्रो पहिचान” जस्ता नाराहरू सहित विद्यार्थीहरू वातावरणप्रति जनचेतना फैलाउने उद्देश्यले बजार परिक्रमा गरेका थिए ।

कार्यक्रम अन्तर्गत कटहरिया नगरपालिकाको प्राङ्गण, ईप्रका कटहरियाको प्राङ्गण, बौद्धीमाताको मन्दिर नजिकसहितका स्थानहरूमा वृक्षारोपणसमेत गरिएको विद्यालयका प्रबन्ध निर्देशक बैजुदास बनियाँले जानकारी दिए ।

उनका अनुसार यस्तो खालका कार्यक्रमले विद्यार्थीहरूमा वातावरणप्रतिको जिम्मेवारीको भावना विकास गर्नुका साथै स्थानीयवासीहरूमा पनि चेतना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

विश्व वातावरण दिवसका अवसरमा गरिएको उक्त कार्यक्रमले वातावरण संरक्षणप्रति सामूहिक जिम्मेवारीबोध गराएको सहभागीहरूले बताएका छन् ।
आरके श्रीवास्तव,राैतहट,२२ गते जेठ ।
राैतहटकाे बौधिमाई नगरपालिकाका नगरप्रमुख प्रदीप यादवले ऐलानी जग्गा खाली गराउने क्रममा वर्षाैंदेखि बसोबास गर्दै आएका स्थानीय गरिब नागरिकहरूको घर भत्काएका छन् । प्रभावितहरूका अनुसार वर्षाको बेला घर भत्काउँदा उनीहरू असहज र पीडामा परेका छन् ।
घर भत्काइएका महादेव राय यादव, सिकिलदेव राय यादव, धर्मदेव राय यादव, हरदेव राय यादव र गंगनदेव राय यादवले मेयर यादवले व्यक्तिगत रिसइवीका आधारमा आफूहरूलाई उठिबास लगाएको गुनासो गरेका छन् । उनीहरूले मेयर आफैंले पालिकाभित्र पाँच कठ्ठा भन्दा बढी ऐलानी जग्गा कब्जा गरेर राखेको आरोप समेत लगाएका छन् ।

स्थानीयवासीहरूका अनुसार मेयर यादवले विकास निर्माणको नाममा विभिन्न ठाउँका घर भत्काउने, खाली गराउने काम त गरेका छन्, तर ती ठाउँहरूमा अहिलेसम्म कुनै ठोस विकासका काम भने हुन सकेका छैनन् । यसले जनतामाझ शंका उत्पन्न गराएको छ कि विकासको नाममा गरिबमाथि अत्याचार भइहेको हो कि?
यसबारे नगरप्रमुख प्रदीप यादवसँग बुझ्दा उनले जग्गा खाली गराउनुको कारण स्पष्ट पारेका छन् । उनका अनुसार कोल्ड चेम्बर निर्माणका लागि ४७ लाख रुपैयाँको बजेट आएको छ र सो बजेट फ्रिज हुने अवस्थामा पुगेपछि बाध्य भएर जग्गा खाली गराइएको हो । उनले आफूले कुनै पनि ऐलानी जग्गा कब्जा नगरेको र गरिबको घर तोड्दा पटकपटक सूचना दिएर कानुनी प्रक्रिया पूरा गरेरमात्र प्रशासनको सहयोगमा घर हटाइएको स्पष्ट पारेका छन् ।
” आफूमाथि लागेको आरोप प्रमाणित गर्न सके खुला चुनौती दिन्छु,” मेयर यादवले भने । पाेखरिकाे डिलमा नै अन्य विकास निर्माणकाे भएकाे र कार्यपालिकाकाे निर्णय अनुसार त्यहाँ काेल्ड चेम्बर बनाउन जग्गा खाली गराइएको बताए ।
यो विषयले स्थानीय तहमा सत्ता र जनताको सम्बन्धबारे गम्भीर बहस सिर्जना गरेको छ । विकासको नाममा गरिब जनताको अधिकार हनन हुने हो कि भन्ने प्रश्न उठिरहेका बेला, सम्बन्धित निकायले निष्पक्ष छानबिन गर्दै पीडितहरूको आवाजलाई समेत सम्बोधन गर्नुपर्ने माग उठेको छ ।