आरके श्रीवास्तव,राैतहट,कार्तिक १९ गते ।
रौतहटको कटहरिया नगरपालिकामा करार र ज्यालादारीका कर्मचारीहरूले तलब–भत्ताको बक्यौता भुक्तानीको माग गर्दै सुरु गरेको तालाबन्दी बुधबार आठौं दिनमा पुगेको छ ।
तलबभत्ता नपाएपछि असन्तुष्ट कर्मचारीहरूले वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालयहरू तथा नगरपालिकाको मुख्य कार्यालयमा तालाबन्दी गर्दै कार्यालय परिसरमै धर्ना दिएका छन् ।
लगातारको तालाबन्दीका कारण नगरपालिकाका जनसाधारणका धेरै महत्वपूर्ण कामहरू ठप्प भएका छन् । नागरिकता, सिफारिस,राजस्व संकलनलगायतका सेवा रोकिँदा स्थानीय बासिन्दा निकै मर्कामा परेका छन् ।
कर्मचारीहरूले आफूहरूले लामो समयदेखि काम गर्दा पनि तलब र भत्ता नपाएको गुनासो गर्दै बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गरेका छन् । उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।
नगरपालिकाले भने समस्या समाधानका लागि पहल भइरहेको जनाउँदै छिट्टै समझदारीमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
स्थानीयहरूले भने तालाबन्दीका कारण दैनिक सेवा प्रभावित हुँदा समस्या चाँडो समाधान होस् भन्ने आग्रह गरेका छन् ।
आरके श्रीवास्तव,राैतहट,कार्तिक १९ गते ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिका–१०, दुधिअवास्थित श्री माध्यमिक विद्यालयमा ७ करोड १० लाख रुपैयाँको लागतमा निर्माण भएको नयाँ सुविधा सम्पन्न तीन तले नमूना भवनको बुधबार उद्घाटन गरिएको छ ।
भवनको भौतिक निर्माणका लागि ५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएकोमध्ये ४ करोड १ लाख ४९ हजार ९८२ रुपैयाँ ४ पैसा खर्च भएको शिक्षक रञ्जन खरेलले जानकारी दिनुभयो ।
कार्यक्रमकी प्रमुख अतिथि तथा फतुवा बिजयपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले विद्यालयमा निर्मित नमूना भवनले विद्यार्थीको सिकाइ वातावरण सुधारमा ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रको गुणस्तर बढाउन गर्न पूर्वाधार निर्माण महत्वपूर्ण छ, अब यस भवनमार्फत विद्यार्थीले अझ सहज र सुरक्षित वातावरणमा अध्ययन गर्न पाउने छन्।”
कार्यक्रमका विशिष्ट अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले भवन निर्माणमा देखाएको पारदर्शिता र सामुदायिक सहभागिताको प्रशंसा गर्नुभयो । उहाँले थप्नुभयो, “नगरपालिकाले शिक्षा क्षेत्रमा प्राथमिकता दिएको प्रमाण नै यो भवन हो, यसले नगरपालिका स्तरमै आदर्श परियोजना बन्नेछ।”
उद्घाटन कार्यक्रममा साे वडाका वडा अध्यक्ष मञ्जय चाैधरी, बिद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय जनप्रतिनिधि र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,१८ गते कार्तिक ।
रौतहटको कटहरिया नगरपालिकामा करार र ज्यालादारीका कर्मचारीहरूले तलब–भत्ताको माग गर्दै सुरु गरेको आन्दोलन सातौं दिनमा पुगेको छ । तलब–भत्ता बक्यौता भुक्तानी नहुँदा असन्तुष्ट कर्मचारीहरूले बुधबारदेखि वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालय र नगरपालिकाको मुख्य कार्यालयमा तालाबन्दी गरी धर्ना कार्यक्रम जारी राखेका छन् ।
नगरपालिकाको कटहरिया–६ स्थित फत्तेपुर आधारभूत स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी रामविनोद राय यादवले भने, “पहिलो चरणको आन्दोलनमा आश्वासन पाएर रोकिएका थियौं, तर यसपालि भने निर्णायक आन्दोलनका लागि निस्किएका हौं।”
कर्मचारी प्रमोद कुमार गुप्ताले अधिकांश कर्मचारीको दुई वर्षभन्दा बढीको तलब बाँकी रहेको बताए। “मेरो करिब तीन वर्षको तलब बाँकी छ,” उनले भने, “अब हामी तलब पाएरै छाड्छौं।”
त्यसैगरी, रामानन्द पासवानले नगरपालिकाले कर्मचारीको दुःखप्रति गम्भीरता नदेखाएको भन्दै असन्तुष्टि जनाए । “झुठा आश्वासन मात्रै पायौं,” उनले भने। रञ्जित कुमार रामले भने, “मेरो २८ महिनाको तलब बाँकी छ, तर नगर प्रमुख अजयप्रकाश जयसवालको कुनै अत्तोपत्तो छैन।”
कटहरिया–८ मा कार्यरत मुकुन्द यादवले आन्दोलनको मूल कारण नै नगर प्रमुख भएको आरोप लगाए। “सबै समस्या जयसवालकै कारण भएको हो, अब उहाँले नै यसको समाधान गर्नुपर्छ,” उनले बताए।
कर्मचारी मुकेश कुशवाहाले भने, “मेयर साहेबले तिहारअघि तलब दिने भनेर प्रतिबद्धता गर्नुभयो, तर अहिलेसम्म पाएका छैनौं।”
उता, कटहरिया नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष समिश विक्रम शाहले पनि आन्दोलनरत कर्मचारीप्रति समर्थन जनाएका छन् । उनले भने, “गत वर्ष पनि तलब दिने निर्णय भएको थियो, तर कार्यान्वयन भएन् । हाकिमविहीन नगरपालिका छ अहिले । हामी पनि कर्मचारीको मागमा साथ छौं।”
तालाबन्दीका कारण अहिले नगरपालिकाका अधिकांश प्रशासनिक कार्यहरू ठप्प भएका छन् । नागरिकका महत्त्वपूर्ण काम प्रभावित भएका छन् । वडा अध्यक्ष शाहले समस्या चाँडो समाधान होस् भनेर आग्रह गरेका छन् ।
यस विषयमा प्रतिक्रिया लिन नगर प्रमुख अजयप्रकाश जयसवाललाई सम्पर्क गर्ने प्रयास गर्दा उनको मोबाइल स्विच अफ रहेको पाइएकाे छ ।
आरके श्रीवास्तव,रौतहट,१७ गते कार्तिक ।
रौतहटको कटहरिया नगरपालिकामा करार तथा ज्यालादारीका कर्मचारीहरूले सुरु गरेको तालाबन्दी सोमबार पनि जारी रह्यो । तालाबन्दीको छैठौं दिनमा पुगेको आन्दोलनमा आज नगरका वडाअध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यहरूले समेत ऐक्यबद्धता जनाउँदै आन्दोलनरत कर्मचारीहरूको पक्षमा उभिएका छन् ।
कर्मचारीहरूले माग गरेका बक्यौता तलबभत्ता तत्काल भुक्तानी गर्नुपर्नेमा जनप्रतिनिधिहरू पनि एकमत भएका छन् । उनीहरूको भनाइमा, तलबभत्ता नपाउँदासम्म तालाबन्दी र आन्दोलन जारी रहनेछ ।
सोमबारको ऐक्यबद्धता कार्यक्रममा वडा नं. १ का अध्यक्ष भूपेन्द्र महतो, वडा नं. २ का अध्यक्ष हरिन्द्र साह, वडा नं. ३ का अध्यक्ष श्यामाकान्त यादव, वडा नं. ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा नं. ५ का अध्यक्ष सर्फलाल गुप्ता, वडा नं. ६ का अध्यक्ष जयराम चौधरी, वडा नं. ७ का अध्यक्ष सहिद मियाँ धोबी, वडा नं. ८ का अध्यक्ष समिश बिक्रम शाह, साथै वडा सदस्य रामेश्वर राय यादव र कार्यपालिका सदस्य मनोज जयसवाल उपस्थित थिए ।

कर्मचारीहरूले बुधबारदेखि नगरपालिका मातहतका सबै ९ वटा वडा कार्यालयहरू र नगरपालिकाको केन्द्रिय कार्यालयमा तालाबन्दी गर्दै दैनिक धर्ना दिइरहेका छन् । उनीहरूले भनेका छन्, “विगतमा भएको आन्दोलनपछि दिपावली र छठअघि बाँकी तलबभत्ता भुक्तानी गर्ने लिखित आश्वासन दिइए पनि कार्यान्वयन नभएकाले हामी बाध्य भएर फेरि आन्दोलनमा उत्रिएका हौं।”
कर्मचारीहरूले लामो समयदेखि सेवा दिँदै आएको भए पनि पारिश्रमिक नपाउँदा उनीहरूको दैनिकी प्रभावित भएको गुनासो गरेका छन् ।
यसबीचमा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीलाई मन्त्रालयले फिर्ता बोलाएपछि कार्यालय प्रमुख बिहीन बनेको छ । आन्दोलनरत कर्मचारी र जनप्रतिनिधिहरूले भनेका छन्— “समस्या समाधानका लागि नयाँ प्रशासकीय अधिकृत पठाइनु आवश्यक छ।”
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि यथासिघ्र नयाँ कार्यालय प्रमुख खटाई तालाबन्दीको समस्या समाधान गर्न आग्रह गरिएको छ ।
यसअघि पनि कर्मचारीहरूको आन्दोलनका क्रममा कटहरिया नगरपालिकाका पूर्व नगरप्रमुख सियाराम कुशवाहाले ऐक्यबद्धता जनाएका थिए ।
तालाबन्दीका कारण नगरपालिकाका सेवा–सुविधा प्रभावित भएका छन् भने सेवाग्राहीहरू समस्या झेलिरहेका छन् । कर्मचारी र जनप्रतिनिधिहरूले भने भनेका छन्— “तलबभत्ता उपलब्ध नगराइएसम्म आन्दोलन जारी रहनेछ।”
रौतहट, १७ कात्तिक ।
आम जनता पार्टी (आजपा)ले बाढीपीडित किसान एवं सर्वसधारणलाई राहत तथा मुअब्जा उपलब्ध गराउन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारसंग माग गरेको छ ।
आजपा रौतहट क्षेत्र नंं. १ क्षेत्रिय कमिटीले आज (सोमबार) रौतहट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई ज्ञापनपत्र बुझाउदै बाढीपीडितलाई न्याय र किसानलाई राहत तथा मुअब्जा उपलब्ध गराउन माग गरेको छ ।
रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनीति तिवारीलाई आजपाले ज्ञापनपत्र बुझाउदै बाढीपीडितलाई न्याय तथा किसानलाई राहत एवं मुअब्जा उपलब्ध नगराए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।
आजपा निकट आम उधोग बाणिज्य संघका केन्द्रीय अध्यक्ष एवं नेता साजन जयसवालको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीले आफूहरुको माग यथासिघ्र सम्बोधन गर्न माग गर्दै किसान एवं सर्वसधारणलाई न्याय दिने कार्यमा ढिलाई भए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।
‘हालैको बाढी र अबिरल वर्षाका कारण जिल्लाका विभिन्न गाउँहरू डुबानमा परेका छन् । धेरै किसानहरूको खेतबारी, बाली, घर र पशु सम्पत्ति नष्ट भएको छ । बाढीपीडितहरू अस्थायी टहरामा बस्न बाध्य भएका छन् र खाद्यान्न, लत्ताकपडा र औषधिको अभावमा कष्टकर जीवन व्यतित गर्दैछन् । यस्तो अवस्थामा सरकारले न्याय दिनुपर्ने हाम्रो माग हो,’ आजपा सचिवालय सदस्य समेत रहेका जयसवालले जनाएका छन् ।
यस गम्भीर परिस्थितिमा आम नागरिकको पीडा र किसानको दुःखलाई सम्बोधन गर्न आजपाले “बाढीपीडित राहत र किसान मुआब्जा पदयात्रा” कार्यक्रम सञ्चालन गरेको थियो ।
बाढीपीडित परिवारलाई तत्काल खाद्यान्न, लत्ताकपडा र स्वास्थ्य सामग्री वितरण गर्नुपर्ने, क्षति पुगेका किसानहरूलाई उचित मुल्यांकन गरी तत्काल मुआब्जा दिनुपर्ने, प्रभावित क्षेत्रमा कृषि ऋण स्थगन र ब्याज माफीको व्यवस्था गर्नुपर्ने, बाढी नियन्त्रण र राहत वितरणमा पारदर्शिता सुनिश्चित गर्नुपर्ने माग आजपाको छ ।
यसैगरी दीर्घकालीन समाधानका लागि नदी तटबन्ध र जलनिकास प्रणाली सुधार गर्नुपर्ने लगायतका माग आजपाले सरकारसंग गरेको छ । आजपा नेताहरु अमित साह, श्रीभगवान पटेल, अनिल झा, जयलाल महतो, दिनेश सहनी, कात्र्तिक जयसवाल, राजेश साह, महेश यादव लगायतका नेता जिल्ला प्रशासन कार्यालय गौरमा ज्ञापनपत्र बुझाउन पुगेका थिए ।
आरके श्रीवास्तव,राैतहट,१७ गते कार्तिक ।
राैतहटकाे गुजरा नगरपालिकामा लामो समयपछि नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त भएका छन् । उप–सचिव शान्ति विश्वकर्माले आज एक विशेष समारोहबीच प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी औपचारिक रूपमा ग्रहण गर्नुभएको हो ।
नगरप्रमुख सन्तलाल चौधरीले नव प्रमुख प्रशासकीय अधिकृत विश्वकर्मालाई हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गुजरा नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण प्रशासनिक कामकाज प्रभावित हुँदै आएको थियो । अब शान्ति विश्वकर्माको नेतृत्वमा नगरपालिका पुनः गति लिनेछ भन्ने विश्वास छ।”
लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाका कर्मचारीहरूले तलब–भत्ता समेत पाउन नसक्ने अवस्था सिर्जना भएको थियो । यसले नियमित सेवासुविधा र विकास निर्माणका कामहरूमा समेत असर पारेको थियो । दशैं, तिहार र छठ जस्ता प्रमुख पर्वहरूमा समेत कर्मचारीहरूले तलब नपाएका कारण असहज परिस्थितिको सामना गर्नुपरेको बताइन्छ ।
नगरप्रमुख चौधरीले नगरपालिकाको तर्फबाट विश्वकर्मालाई पूर्ण सहयोग र सहकार्यका लागि प्रतिबद्धता जनाउँदै धन्यवाद व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा नगर कार्यपालिकाका पदाधिकारी, जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थितिमा नयाँ प्रमुख प्रशासकीय अधिकृतले पदभार ग्रहण गर्नुभएको हो ।
आरके श्रीवास्तव,राैतहट,१६ गते कार्तिक ।
राैतहटकाे फतुवा विजयपुर नगरपालिकामा कागजी प्रक्रिया नमिलाई कानुन विपरीत भुक्तानी गर्न दबाब दिइएको भन्दै कार्यवाहक नगरप्रमुख अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत भरत यादव र लेखा प्रमुख कामेश्वर सहनीले आपत्ति जनाएका छन् । उनीहरूले कानुनी प्रक्रिया अनुसार मात्र भुक्तानी गर्न सकिने भन्दै सामाजिक सञ्जालमार्फत आफूहरूलाई बदनाम गर्ने प्रयास भएको दाबी गरेका छन् ।
नगरपालिकाका अनुसार २० लाख र १० लाख गरी जम्मा ३० लाख रुपैयाँ बराबरका एउटै प्रकृतिका कामहरूलाई टुक्रा पारेर गरिएको र ती कार्यहरू सन्तोषजनक नभएको बुझिएको छ । नगरस्तरीय बजेटबाट सो काम गरिए पनि आवश्यक कागजी प्रक्रिया पूरा नगरिएकाले भुक्तानी रोकिएको बताइएको छ ।
टावर लाइटका सप्लायर ललित श्रीवास्तवले भने सबै कागजात दुरुस्त रहेको दाबी गर्दै करिब छ महिनादेखि भुक्तानी रोकिएको भन्दै असन्तोष व्यक्त गरेका छन् । उनका अनुसार आफूले तोकिएको कार्य सम्पन्न गरी सबै प्रमाणसहित बिल पेश गरेको भए पनि इन्जिनियरदेखि हाकिम र लेखापालले अनावश्यक ढिलाइ गरेको आरोप लगाएका छन् ।
तर नगरपालिका प्रशासनले श्रीवास्तवका आरोप अस्वीकार गर्दै, “कागजी प्रक्रिया पूरा नगरी भुक्तानी गर्न नमिल्ने कानुनी व्यवस्था छ,” भन्दै उनले हाकिम, लेखापाल, इन्जिनियर, जिन्सी शाखा र कार्यवाहक मेयर अम्बेया खातुनका श्रीमान् मोहमद सेराज आलमलाई समेत नाम जोडेर बदनाम गर्न खोजेको बताएका छन्।
लेखापाल कामेश्वर सहनीले भने, “नगरपालिकाको लेखा प्रणाली पारदर्शी छ । कुनै पनि भुक्तानी कानुन विपरीत गर्न सकिँदैन । सबै कागजात दुरुस्त भएपछि मात्रै भुक्तानी हुनेछ,” भने।
त्यस्तै कार्यवाहक मेयर अम्बेया खातुनका श्रीमान् मोहमद सेराज आलमले पनि आफूलाई अन्यायपूर्वक विवादमा तानिएको बताएका छन् । उनले भने, “म कुनै निर्णय प्रक्रियामा संलग्न छैन् । राजनीतिक वा व्यक्तिगत लाभका लागि मेरो नाम प्रयोग गरी बदनाम गर्ने प्रयास भएको छ।”
नगरपालिकाले सो विवादका सम्बन्धमा आन्तरिक समीक्षा अघि बढाएको र आवश्यक परे कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।
आरके श्रीवास्तव,राैतहट,१५ गते कार्तिक ।
राैतहटको कटहरिया बहुमुखी क्याम्पसमा केही दिनदेखि चलेको विवाद अन्ततः स्थानीय भद्रभलादमी र सुरक्षाकर्मीहरूको सक्रिय पहलमा साम्य भएको छ ।
आय–व्यय प्रस्तुत गर्ने बेला क्याम्पसमा झडप हुने सम्भावना देखिएपछि त्यहाँ उपस्थित सम्पूर्ण पक्ष — आन्दोलनरत युवाहरू,वडा अध्यक्ष, प्राध्यापक तथा शिक्षक वर्ग, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, सञ्चालक समिति सदस्य तथा अभिभावकहरूबीच आपसी छलफल गरी अवस्था नियन्त्रणमा ल्याइएको हो ।
युवाहरुको मागअनुसार अब क्याम्पसको आय–व्यय विवरण आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिने निर्णय गरिएको छ । बैठकपछि जानकारी दिँदै प्राध्यापक जयमंगल प्रसाद साहले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का आम्दानी र खर्च विवरण वेबसाइटमा राख्ने निर्णय सर्वसम्मत रूपमा पारित गरिएको बताए । उनका अनुसार, प्रस्तुत विवरणबारे चित्त नबुझेमा कटहरिया नगरपालिकाको शिक्षा शाखा वा सम्बन्धित निकायमा औपचारिक रूपमा गुनासो गर्न सकिने व्यवस्था मिलाइएको छ ।
बैठकपछिकाे निर्णयमा युवाहरूले समेत सहमति जनाउँदै हस्ताक्षर समेत गरेका छन् ।
क्याम्पस प्रमुख गजेन्द्र प्रसाद यादवले विवाद समाधानका लागि सबै पक्षले देखाएको संयम र जिम्मेवारीप्रति धन्यवाद व्यक्त गर्दै भने, “हाम्रो प्राथमिकता शैक्षिक वातावरणलाई स्थिर र पारदर्शी बनाउने हो । अबदेखि सबै आर्थिक विवरण खुला रूपमा सार्वजनिक गरिनेछ, ताकि कुनै भ्रम वा अविश्वास नरहोस्।”
त्यस्तै, क्याम्पसका लेखाप्रमुख रामनिवास यादवले भने, “आर्थिक विवरणहरू यथासक्य शीघ्र वेबसाइटमा अपलोड गरिनेछ । सबै आय–व्यय प्रमाणसहित अभिलेख सुरक्षित रूपमा राखिएका छन्, जसले क्याम्पसको वित्तीय पारदर्शिता सुनिश्चित गर्नेछ।”
बैठकले यस सूचना विपरीत कुनै पनि हुलदंगा वा अराजक गतिविधि भएमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी पनि दिएको छ ।
आय–व्यय प्रस्तुत गर्ने क्रममा क्याम्पस परिसरमा झडपको अवस्था सिर्जना भएको थियो । स्थिति जटिल बन्दै जाँदा गाउँगाउँबाट धेरै संख्यामा सर्वसाधारण क्याम्पस परिसरमा भेला भएका थिए, जसका कारण सुरक्षाकर्मीहरू उच्च सतर्कतामा रहेका थिए ।
आरके श्रीवास्तव,राैतहट,कार्तिक १४ गते ।
मधेस प्रदेश सरकारका निवर्तमान अर्थमन्त्री सुनिलकुमार यादव (जितेन्द्र) ले आज नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गरेका छन् । उनले कटहरिया र जमुनिया लगायतका स्थानहरूमा पुगेर स्थानीय नेताहरूसँग समसामयिक राजनीतिक अवस्था, विकासका प्राथमिकता र पार्टी सुदृढीकरणका विषयमा छलफल गरेका हुन् ।
भेटका क्रममा अर्थमन्त्री यादवले प्रदेश सरकारमा रहेर आर्थिक पारदर्शिता, समावेशी विकास र मधेस प्रदेशको आर्थिक सशक्तीकरणका लागि गरेका कामहरूको जानकारी दिएका थिए । उनले आगामी दिनमा पनि जनताका समस्या समाधानमा आफू सधैं प्रतिबद्ध रहने बताएका छन् ।
सो क्रममा यादवले कटहरिया वडा नं. २ निवासी प्रहरी हवलदार विजय राय यादव सँग पनि भेट गरेका थिए । साथै, भेटघाट कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा कटहरिया नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता, नेता राकेश गिरी, महादेव साह लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
अर्थमन्त्री यादवले भेटघाटका क्रममा पार्टीभित्र एकता र जनताप्रति उत्तरदायित्वलाई प्राथमिकता दिन सबैलाई आग्रह गरेका थिए ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,कार्तिक १४ गते ।
राैतहटको कटहरिया नगरपालिका–४ मा रहेको दलित प्राथमिक विद्यालय बिहीबारदेखि तालाबन्दी गरिएको छ । शुक्रबारसम्म तालाबन्दीको दोस्रो दिन पुगेको छ भने विद्यालयको पठनपाठन ठप्प भएको छ ।
स्थानीय लालबाबु दासका अनुसार विद्यालयमा वित्तीय अनियमितता र पारदर्शिताको अभावका कारण स्थानीयहरूले तालाबन्दी गरेका हुन् । उनकाे भनाइमा विद्यालयका जिम्मेवारहरूले लेखा–जोखा माग्दा पनि विवरण नदिएपछि तालाबन्दी गर्नुपरेको हो । “विद्यालयमा करिब १६ लाख रूपैयाँ हिनामिना भएको आशंका छ,” दासले भने, “हामीले हिसाब माग्दा नदिएको र स्थायी शिक्षक माग समेत पूरा नभएकाले तालाबन्दी गर्न बाध्य भयौं।”
उता कटहरिया नगरपालिकाका शिक्षा सह–संयोजक सुरेन्द्र ठाकुरले तालाबन्दी खुलाउन पहल भइरहेको बताए । “छात्रवृत्तिसम्बन्धी विषयमा तालाबन्दी गरिएको बुझिएको छ,” उनले भने, “हामी विद्यालय सञ्चालन सामान्य बनाउन प्रयासरत छौं।”
तालाबन्दीका कारण विद्यालयका विद्यार्थीहरू निरन्तर पठनपाठनबाट वञ्चित भएका छन् । स्थानीय अभिभावकहरूले विद्यालयमा देखिएको विवाद छिटो समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।