आरके श्रीवास्तव,राैतहट,कार्तिक २४ गते ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेश प्रदेशमा भएको मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई संवैधानिक व्यवस्थाको असफलताको प्रमाण भएको बताएका छन् । उनले यो घटनाले वर्तमान संविधान र राजनीतिक प्रणालीको नैतिकता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष साहले भनेका छन्, “मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिले फेरि एकपटक पुष्टि गर्यो कि वर्तमान संवैधानिक व्यवस्था असफल मात्र होइन, अनैतिक राजनीतिक र लुट–भ्रष्टाचारको ओडार हो।”
उनका अनुसार समस्या व्यक्तिमा होइन, प्रणालीमै रहेको छ। साहले गलत संवैधानिक प्रावधानलाई वास्तविक समस्या मानेर त्यसको विरोधमा उत्रिन सबैलाई आह्वान गरेका छन्। उनले भने, “समस्याको मुख्य जडको रूपमा रहेको गलत संवैधानिक प्रावधानलाई छोडेर एक–अर्कालाई मात्र दोषारोपण गर्नु अर्को बेइमानी हुनेछ।”
अध्यक्ष साहले संविधान निर्माणका क्रममा भएका त्रुटिहरूको जिम्मेवारी संविधान निर्माताहरूले लिनुपर्ने बताएका छन्। “संविधान निर्माताहरूले आफ्ना गल्ती स्वीकारेर आत्मालोचित भई संविधान खारेजीको पक्षमा आउनु जरुरी छ,” उनले भने, “यसैमा सबैको भलाई निहित छ।”
उनले देशवासीलाई वर्तमान ‘लुटकारी व्यवस्था’माथि पुनर्विचार गर्न आग्रह गर्दै नयाँ र न्यायसंगत राजनीतिक व्यवस्थाको आवश्यकता औंल्याएका छन् ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,कार्तिक २३ गते ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले नगरपालिकामा उत्पन्न विभिन्न विवादका विषयमा पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।
खातुनका अनुसार करारका कर्मचारीहरूलाई हटाउने कुनै निर्देशन आफूले नदिएको स्पष्ट पार्दै उनले भनिन्, “मैले कसैलाई रोक्न भनेकी छैन, संघीय मामिला तथा सरकारका निर्देशनअनुसार प्रमुख प्रशासकीय अधिकृत भरत यादवलाई आवश्यक प्रक्रिया पूरा गरेर अघि बढ्न भनेकी छु।”
उनका अनुसार कर्मचारी व्यवस्थापन हाकिमको जिम्मेवारी हो र आफूले दरबन्दीअनुसार मात्र कर्मचारी राख्न सुझाव दिएको बताइन् । कार्यपालिका बैठकका विषयमा पनि उनले आफू कहिल्यै पछि नहटेकी स्पष्ट पारिन्। “शान्ति सुरक्षा कायम भए र कुनै किसिमको हल्ला नभए जुनसुकै बेला बैठक बस्न तयार छु,” उनले भनिन्।
खातुनले जेनजी आन्दोलनका क्रममा जलेको नगरपालिकाको कार्यालय भवन पुनःनिर्माणका लागि बजेट छुट्याइएको जानकारी दिँदै भनिन्, “जलेको भवन मर्मत गर्ने काम हाकिमको हो, र कार्यालय स्थानान्तरणबारे छलफल कार्यपालिका बैठकमा हुनेछ।”
उनका अनुसार हाल प्रयोग भइरहेको भवनको भाडा ३८ लाख रुपैयाँ रहेको र नयाँ प्रस्तावित स्थानमा ५ लाख रुपैयाँमै फलैट उपलब्ध भएको कारण खर्च घटाउने उद्देश्यले कार्यालय सार्ने प्रस्ताव ल्याइएको बताइन् । तर, उक्त प्रस्तावप्रति वडा अध्यक्षहरूले असहमति जनाइरहेको पनि उनले बताइन् ।
खातुनले भनिन्, “वडा अध्यक्षहरूको काम वडा चलाउने हो, मेरो काम नगरपालिका सञ्चालन गर्ने हो।”
यसैबीच, कार्यवाहक नगरप्रमुख खातुनका श्रीमान् मोहमद सेराजले वडा अध्यक्षहरू विद्युत महसुल बुझाउने बारे लगाएको आरोप गलत हाे । उनका अनुसार माथिबाट विद्युत महसुल र वितरणमुखी कार्यक्रममा बन्देज लगाइएको भए पनि, “यदि नियमले अनुमति दिन्छ भने भुक्तानी गर्नुपर्छ,” भन्दै उनले नियम अनुसार काम गर्न आग्रह गरे ।
सेराजका अनुसार नगरपालिकाको १० कराेडकाे बजेट शीर्षकमा माइनस इण्ट्री गरिएको छ, जुन अस्वाभाविक भएको बताउँदै उनले थपे, “जसको जति बजेट छ, त्यत्तिकै चलाउनु पर्छ, मनोमानी गर्न मिल्दैन।”
उनले प्रमुख प्रशासकीय अधिकृतले अधिकांश बजेट कार्यक्रम सञ्चालनमा राखेको आरोप पनि लगाए । साथै, कर्मचारी हाजिरीमा विवाद सिर्जना गर्ने, रजिष्टार लुकाउने जस्ता कार्य नगरपालिकामा भइरहेका छन् भनेर असन्तुष्टि जनाए ।
खातुनले थपिन्, “तिहार र छठ पर्वको बेला मैले अधिकार अनुसार हस्ताक्षर गरेर सहयोग गरेकी थिएँ, अहिले हाकिमले मनपरि खर्च गर्न खोजिरहेका छन्।”
उनले आरोप लगाइन् कि, रिसइबीका क्रममा आफ्नै औषधि पसलमा आगजनी गरी करोडौंको क्षति पुर्याइएको छ। “कहिले मेयरको गाडी कब्जा गर्ने, कहिले अनावश्यक बहाना गर्ने—यी सबै घटनाले हामीलाई दुःखी बनाएका छन्,” खातुनले भनिन्।
अन्त्यमा उनले भनिन्, “यी सबै घटनाको मूल्यांकन अब फतुवा बिजयपुर नगरवासीहरूले गर्नुपर्नेछ।”
रौतहट, कार्तिक २२ गते ।
नेपाली कांग्रेस रौतहट जिल्ला कार्यसमितिले पार्टीका पूर्व सभापति, केन्द्रीय कार्यसमितिका पूर्व सदस्य तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमको निधनप्रति गहिरो दुःख प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
शनिबार बिहान ३ बजे ६३ वर्षको उमेरमा काठमाडौं मेडिकल कलेज हस्पिटलमा उपचारको क्रममा उहाँको असमायिक निधन भएको हो ।

स्व. आलमले नेपाली कांग्रेसको संगठन सुदृढीकरण र नेपालको लोकतान्त्रिक आन्दोलनमा दिएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै, जिल्ला कार्यसमितिले उहाँको निधनले रौतहटले एक कुशल संगठक, असल अभिभावक र परिपक्व नेता गुमाएको जनाएको छ ।
नेपाली कांग्रेस रौतहटका सभापति एवम् मधेस प्रदेश सरकारका पूर्व अर्थमन्त्री सुनिल कुमार यादवद्वारा जारी शोक वक्तव्यमा स्व. आलमको आत्माको चिरशान्तिको कामना गर्दै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।
जनकपुरधाम,कार्तिक २२ ।
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार ‘सोनल’ले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आजैका मितिमा प्रदेश प्रमुखलाई सम्बोधन गरी लिखित राजीनामा पेश गरेका हुन् ।
मुख्यमन्त्री सोनारले राजीनामा पत्रमा लेखेका छन्, “मधेश प्रदेश सरकारको मुख्यमन्त्री पदबाट राजीनामा दिएको छु। मुख्यमन्त्री पदमा रहँदा सबैबाट प्राप्त सहयोगका लागि सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।”

सोनारको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिएको छ । उनले आफ्नो कार्यकालका क्रममा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।
प्रदेश प्रमुखको स्वीकृतिपछि औपचारिक रूपमा सोनारको कार्यकाल समाप्त हुनेछ र नयाँ मुख्यमन्त्री चयनका लागि संविधान अनुसारको प्रक्रिया अघि बढ्नेछ।
आज बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन लाग्दा सांसदहरुबीच उत्पन्न विवादकाबीच मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएको घोषणा गरेका थिए ।
त्यसपछि सभामुख रामचण्द्र मण्डलले मेधश प्रदेश सभाको बैठक अर्को सूचना नहुन्जेलसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको घोषणा गरेका थिए ।
आरके श्रीवास्तव,राैतहट,२२ गते कार्तिक ।
नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले शनिबार कटहरिया नगरपालिका–४ मा आयोजित पार्टीको वडा स्तरीय भेलामा “गौरवशाली इतिहास र उज्ज्वल भविष्य”को नारा दिएर जनतालाई एकता, विकास र स्वाभिमानको बाटोमा अघि बढ्न आह्वान गर्नुभएको छ ।

भेलाको अध्यक्षता महान कम्युनिस्ट नेता हरदयाल महतोका छोरा रामपुकार महतोले गर्नुभएको थियो भने कार्यक्रममा स्थानीय अगुवाहरू, ज्येष्ठ नागरिक, महिला, युवा र कटहरियाका सयौं जनताको उपस्थितिले उत्साहपूर्ण माहोल सिर्जना भएको थियो ।
भेलामा सम्बोधन गर्दै केन्द्रीय सदस्य कुशवाहाले कटहरियाको ऐतिहासिक योगदान र जनताको संघर्षको प्रशंसा गर्दै देशमा बढ्दो भ्रष्टाचार, लुटपाट र विदेशी हस्तक्षेपको विरुद्ध सचेत रहन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो,“देश फेरि संकटको मोडमा छ । आतंक र अव्यवस्थाले जनजीवन असुरक्षित बन्दैछ । हामी हाम्रो प्यारो नेपाललाई सिरिया वा युक्रेन बन्न दिन सक्दैनौं। त्यसैले अब इतिहासले फेरि हामीलाई पुकारेको छ । राष्ट्र र जनताको हितका लागि एकताबद्ध भएर अघि बढ्न।”
उहाँले हरदयाल महतोको नेतृत्वमा भएको ऐतिहासिक संघर्षको स्मरण गर्दै कटहरियाको भूमिलाई “इतिहास बोल्ने भूमि”को रूपमा वर्णन गर्नुभयो । उहाँका अनुसार, विकासका प्रत्येक चरणमा कटहरियाले अग्रणी भूमिका खेलेको छ र भविष्यमा पनि जनताको अधिकार, समानता र न्यायका लागि निरन्तर संघर्ष जारी रहनेछ।

कुशवाहाले कटहरियाको आगामी लक्ष्यबारे चर्चा गर्दै भन्नुभयो,“अबको मुख्य लक्ष्य युवालाई रोजगारी, आमाबुबालाई निःशुल्क स्वास्थ्य सेवा, बालबालिकालाई गुणस्तरीय शिक्षा र किसानलाई बजारको पहुँच सुनिश्चित गर्नु हो ।
त्यसका लागि सबै दल, धर्म र वर्गभन्दा माथि उठेर हामी एक परिवार कटहरिया परिवार बनेर अघि बढ्नुपर्छ।”
कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष चन्दन कुशवाहा, सर्फलाल महतो, बिनोद साह र नजिर मियाँले पनि सम्बोधन गर्दै पार्टीका गतिविधि निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँहरूले कटहरिया नगरपालिकामा देखिएको बेथिती र विकासका अवरोधहरूबारे कडा टिप्पणी गर्दै पारदर्शिता र जवाफदेहिताको माग गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा उपस्थित जनसमुदायले एमालेको संगठन सुदृढीकरण, विकास र सुशासनका अभियानमा साथ दिने प्रतिबद्धता जनाएका थिए ।
आरके श्रीवास्तव,राैतहट,कार्तिक २१ गते ।
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा लामो समयदेखि तलबभत्ता नपाएका १२ जना छुट बालविकास सहजकर्तालाई तलब भत्ता उपलब्ध गराउने आदेश कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले आज जारी गरेकी छन् ।
नगरपालिकाले आज मिति २०८२ साल कार्तिक २१ गतेका दिन शिक्षक आन्दोलनका माग सम्बोधन गर्दै सहजकर्ताहरूलाई तलब भत्ता नियमानुसार उपलब्ध गराउने लिखित आदेश जारी गरेको हो । पिडित सहजकर्ताहरूकाे ज्ञापनपत्र बुझ्दै कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवलाई नियमअनुसार सहजकर्ताहरूको तलब भत्ता वितरणका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाउन लिखित निर्देशन दिएकी छन् ।
“बालविकास सहजकर्ताहरूले गरेको योगदानको कदर गर्दै, तिनीहरूलाई तलब भत्ता दिने प्रक्रिया सुरु गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएकी छु,” कार्यवाहक नगर प्रमुख खातुनले बताइन्।
शिक्षक आन्दोलनका अगुवा सुबोध प्रसाद यादवले पनि उक्त निर्णयलाई सकारात्मक स्वागत गरेका छन् ।
“हाम्रो निरन्तरको प्रयासपछि अन्ततः नगरपालिकाले सहजकर्ताहरूको हक अधिकार सुनिश्चित गर्ने निर्णय गरेको छ, यो शिक्षक आन्दोलनको महत्वपूर्ण उपलब्धि हो,” यादवले भने।
बालविकास सहजकर्ताहरूले यसअघि तलब नपाएको भन्दै निरन्तर आन्दोलन गर्दै आएका थिए । नगरपालिकाको आजको निर्णयपछि उनीहरूको मागको एउटा प्रमुख पक्ष सम्बोधन भएको मानिएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,कार्तिक २१ गते ।
रौतहटकाे फतुवा बिजयपुर नगरपालिकाका वडा अध्यक्षहरूले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवलाई बिभिन्न मागहरू राख्दै संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन् ।
वडा नम्बर २ का अध्यक्ष अनिरुद्ध प्रसाद यादव (सञ्जय)को नेतृत्वमा बुझाइएको उक्त ज्ञापनपत्रमा वडा नम्बर १ का अध्यक्ष बिजय यादव, वडा नम्बर ६ का अध्यक्ष रामएकवाल यादव, वडा नम्बर ७ का अध्यक्ष रामविश्वास यादव, वडा नम्बर १० का अध्यक्ष मञ्जय चौधरी र वडा नम्बर ११ का अध्यक्ष ज्ञानेन्द्र चौधरी पनि उपस्थित थिए ।
ज्ञापनपत्रमा समावेश प्रमुख मागहरूमा मिति २०६२/०४/२३–२४ मा जेनजेड आन्दोलनको क्रममा क्षति पुगेको भाडाको कार्यालय भवन मर्मत गरी पुनः सञ्चालनमा ल्याउने,सेवा करारमा कार्यरत कर्मचारीहरूको म्याद २०८२ असोज मसान्तसम्म मात्र नवीकरण गरिएको हुँदा त्यसपछिका करार नवीकरणका लागि पेश भएका निवेदनहरूमा निर्णय गर्नुपर्ने। साथै योजना सम्झौता प्राविधिकको म्याद नथपिएकाले ईस्टिमेट मूल्यांकन लगायतका कामहरू रोकिएका हुँदा प्रक्रिया अघि बढाउन निर्णय गर्नुपर्ने रहेको छ ।
त्यस्तै हाल कार्यालय कुन भवनबाट सञ्चालन गर्ने भन्ने विषयमा स्पष्ट निर्णय गर्नुपर्ने,विद्यालय भवन निर्माणका अधुरा काम तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने रहेको छ ।
वडा अध्यक्षहरूले यी मागहरू समयमै पूरा नभए कानूनी प्रक्रिया अवलम्बन गर्ने चेतावनीसमेत दिएका छन् ।
जवाफमा प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले स्थानीय सरकार सञ्चालन ऐनअनुसार नै सबै प्रक्रिया अघि बढाइने बताएका छन् । उनले सहमतिको माध्यमबाट समस्या समाधान खोज्न सुझाव दिँदै वडा अध्यक्षहरूलाई संयमित रहन अनुरोध गरेका छन् ।
यसैबीच, कार्यवाहक नगरप्रमुख अम्बेया खातुनसँग बुझ्दा उनले उक्त विषयमा कार्यपालिका बैठक बस्न तयारी रहेको बताइन् । तर “सबै निर्णय पारदर्शी रूपमा हुनुपर्छ र शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक छ,” उनले भनिन्।
उनका अनुसार, करारमा रहेका कर्मचारीहरूको विषयमा प्रमुख प्रशासकीय अधिकृतलाई नियमअनुसार कार्य गर्न निर्देशन दिइसकिएको छ ।
“संघीय मामिला तथा सरकारको निर्देशन अनुसार नै काम हुनुपर्छ,” कार्यवाहक नगरप्रमुख खातुनले स्पष्ट पारिन् ।
राैतहट,कार्तिक २२ गते ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको ६३ वर्षको उमेरमा शनिबार निधन भएको छ । उच्च रक्तचाप, सुगरलगायतका स्वास्थ्य समस्या देखिएपछि एक महिनादेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचाररत रहेका आलमको भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको हो ।
पारिवारिक स्राेतले पुष्टि गरेकाे छ ।
आलमका छोरा राजपुर नगरपालिकाका नगरप्रमुख डा. राजिक आलमका अनुसार डेढ महिना अघि उनलाई भारतको गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचारका लागि लगिएको थियो । “त्यहाँ सुधार आएपछि घर ल्यायौं, तर केही समयपछि स्वास्थ्य झनै बिग्रियो,” राजिकले बताए। दशैंअघि उनलाई थप उपचारका लागि पुनः अस्पताल भर्ना गरिएको थियो ।
गएको जेठ १४ गते नख्खु कारागारबाट मुक्त भएका आलमलाई केही दिनमै मस्तिष्कघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि डिस्चार्ज गरिएका आलमलाई पुरानै समस्या बल्झिएपछि केएमसीमा भर्ना गरिएको थियो।
राैतहटका पत्रकार अभिमनु पटेलले आफ्नो सामाजिक संजालमा लेखेका छन् -२०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोट आरोपमा आलमलाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको थियो । तर उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले उक्त फैसला उल्टाउँदै आलमसहित चार जनालाई सफाइ दिएको थियो । त्यसपछि उनी र उनका भाइ महताब गौर कारागारबाट मुक्त भएका थिए ।
रौतहट क्षेत्र नम्बर २ लाई नेपाली कांग्रेसको बलियो गढ मानिन्छ, जहाँ आलमले लगातार चार पटक प्रतिनिधित्व गरेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा भने उनी आफ्नै भान्जा मुस्ताक राजासँग पराजित भएका थिए । २०७४ सालमा उनले पुनः सो क्षेत्रबाट जितेर प्रतिनिधि सभा सदस्य बनेका थिए ।
२०३६ सालमा नेपाल विद्यार्थी संघमार्फत राजनीतिमा प्रवेश गरेका आलमले २०३९ सालमा नेविसंघको रौतहट जिल्ला अध्यक्ष भएर राजनीतिक यात्रा अघि बढाएका थिए। त्यसपछि २०४५ सालमा कांग्रेसको जिल्ला सभापति बने र २०५१ सालको उपनिर्वाचनमा पहिलो पटक सांसद निर्वाचित भएका थिए।
राजनीतिक जीवनमा उनले श्रम, वन, स्थानीय विकास र भूमिसुधार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
आलमका परिवारमा श्रीमती, दुई छोरा—डा. फिरदोस र डा. राजिक (राजपुर नगरपालिकाका नगरप्रमुख)—र एक छोरी छन्। उनका बुवा मोहम्मद सिद्धिक बेदिल र आमाको निधन भइसकेको छ ।
नेपाली कांग्रेसले आलमको निधनलाई पार्टीका लागि ठूलो क्षति भनेको छ। पार्टीका नेता तथा कार्यकर्ताहरूले उनको योगदान र संघर्षको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
आरके श्रीवास्तव,राैतहट,कार्तिक २० गते ।
रौतहट जिल्लाको गरुडा नगरपालिका–५ स्थित झाझपुलमा कार्तिक पूर्णिमाको अवसरमा आयोजित विराट कुस्ती (दंगल) प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ ।
सो प्रतियोगिताको उद्घाटन वडा नं. ५ का वडाध्यक्ष रामबिनोद जैसवालले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै वडाध्यक्ष जैसवालले परम्परागत कुस्ती खेल हाम्रो सांस्कृति
क पहिचान र गौरवको प्रतीक भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले स्थानीय प्रतिभा पहिचान र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले भने, “कुस्ती खेलले युवामा अनुशासन, साहस र आत्मविश्वास विकास गर्छ, त्यसैले यस्ता सांस्कृतिक तथा खेलकुदमूलक कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक छ।”

कार्तिक कुवर मेला झाझपुल, रौतहटद्वारा आयोजित सो प्रतियोगितामा विभिन्न ठाउँबाट आएका पहलवानहरूले भाग लिएका छन् । कार्यक्रमस्थलमा स्थानीय बासिन्दा, खेलप्रेमी र सांस्कृतिक उत्सवमा सहभागी दर्शकहरूको ठूलो भीड रहेको थियो ।

आयोजक समितिका अनुसार यो प्रतियोगिता बिहिवार सम्पन्न भएको छ । अन्तिम दिनमा विजेता पहलवानहरूलाई पुरस्कार तथा सम्मानपत्र वितरण गरिएकाे थियोे ।
सो दंगलले झाझपुल क्षेत्रको सांस्कृतिक उत्सव र खेलकुदको माहोललाई झनै जीवन्त बनाएको सहभागीहरूले बताएका छन् ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,कार्तिक २० गते ।
रौतहटको कटहरिया नगरपालिकामा करार र ज्यालादारीका कर्मचारीहरूले तलब–भत्ताको बक्यौता भुक्तानीको माग गर्दै नौ दिनदेखि आन्दोलन जारी राखेका छन् । असन्तुष्ट कर्मचारीहरूले बिहीबार टायर बालेर प्रदर्शन गरेका छन् र “पिडित कर्मचारीलाई दुःख दिन पाइँदैन, असक्षम मेयर राजिनामा देउ, करार कर्मचारीलाई हेप्न पाइँदैन” जस्ता नारा लगाएका थिए ।
कर्मचारीहरूले वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालयहरू साथै नगरपालिकाको मुख्य कार्यालयमा तालाबन्दी गर्दै कार्यालय परिसरमै धर्ना दिइरहेका छन् । लगातारको तालाबन्दीका कारण नगरपालिकाका जनसाधारणका महत्वपूर्ण कामहरू ठप्प भएका छन् । नागरिकता सिफारिस, राजस्व संकलन लगायतका सेवा रोकिँदा स्थानीय बासिन्दा निकै मर्कामा परेका छन् ।
कर्मचारीहरूले लामो समयदेखि काम गरे पनि तलब र भत्ता नपाएको गुनासो गर्दै बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गरेका छन् । उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी पनि दिएका छन् ।
नगरपालिकाले भने समस्या समाधानका लागि पहल भइरहेको जनाउँदै छिट्टै समझदारीमा पुग्ने विश्वास व्यक्त गरेको छ ।
नगर प्रमुख अजय प्रकाश जयसवालसँग सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन नसकेको जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीले आफू विदामा रहेको बताउँदै भने, “मेयर साहेबलाई अर्को व्यवस्था गर्न भनिसकेको छु।”
स्थानीयहरूले भने कर्मचारीको आन्दोलन र नगरपालिकाको निष्क्रियताले जनजीवन प्रभावित भएको भन्दै छिटो समाधानको माग गरेका छन् ।