२०८३ असार २३
२०८३ असार २३

 

काठमाडौं मंसिर १८,/ 

अक्षयकुमारको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘हाउसफुल ५’ को नयाँ प्रदर्शन मिति तय भएको छ। यो फिल्म सन् २०२५ को जुन ६ मा रिलिज हुनेछ।

यसअघि यो फिल्म सन् २०२४ को दिपावलीको अवसरमा रिलिज हुने तय गरिएको थियो। तर, अक्षयले एक्समा फिल्मको नयाँ पोस्टर सेयर गर्दैँ मिति सरेकोबारे पुष्टि गरे। फिल्मको कथाअनुसार उच्च स्तरको भिएफफएक्स राख्न नयाँ मिति तय गरिएको बताइको छ।

तरुण मनसुखानीको निर्देशन रहेको फिल्ममा अक्षयका साथै रितेश देशमुख, नोरा फतेही, सौन्दर्या शर्मा लगायतको अभिनय रहेको छ।
यो फिल्म चर्चित फिल्म ‘हाउसफूल’ को सिरिज हो। हाउसफुलको पहिलो पार्ट सन् २०१० मा रिलिज भएको थियो। जुन फिल्ममा अक्षयसहित रितेश देशमुख, लारा दत्त, दीपिका पादुकोण, बोमन इरानी, अर्जुन राजपालको अभिनय थियो।

काठमाडौँ, ९ मङ्सिर :

शुक्रबार साँझ काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा एक हजारभन्दा बढी गीतमा स्वर दिनुभएकी लोकगायिका तीर्थकुमारी थापा एकल साँझमा प्रस्तुत हुनुभएको छ । ‘तीर्थकुमारी स्वर्णिम साँझ–२०८०’ नाम दिइएको उक्त कार्यक्रममा उहाँले आफ्ना लोकप्रिय १९ गीत गाउनुभयो । एकल र युगल गायनमा प्रस्तुत हुनुभएकी गायिका थापाले आफ्नो एकल साँझमा गाउने सपना पूरा भएको भन्दै सहभागीलाई धन्यवाद दिनुभयो । “मेरो गीतहरू पुनः गाउने अवसर पाएँ । मेरो यो इच्छालाई पूरा गर्न सहयोगी भूमिका खेल्नु हुने सम्पूर्णप्रति आभारी छु”, उहाँले भन्नुभयो, “केही दिन अभ्यास गरेर गीत गाएँ । यो खुसीलाई शब्दमा व्यक्त गर्न सकिरहेकी छैन ।” विसं २०२८ मा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन यात्राको सुरुआत गर्नुभएकी ७३ वर्षीया गायिका थापालाई युगल गायनमा उहाँका छोरा सुरज थापा, ध्रुवराज खड्कालगायतले साथ दिनुभयो । “देश तथा विदेशमा मैले धेरै साङ्गीतिक कार्यक्रम गरेकी छु । विविध कारणले एकल साँझमा प्रस्तुत भएकी थिइन् । यो उपस्थितिले गायनलाई निरन्तरता दिन हौसला थपेको छ”, उहाँले भन्नुभयो । गायिका थापाका छोरा सुरजले आमाको इच्छालाई पूरा गर्न पाउँदा आफ्नो जीवन सफल भएको आभास गरेको बताउनुभयो । उहाँ गायक तथा सङ्गीतकार पनि हुनुहुन्छ । “मैले एकल साँझ गर्ने उद्देश्यले केहीसँग छलफल गरेँ । उहाँहरूले पुराना गीतसङ्गीत र स्रष्टालाई प्रवद्र्धन गर्न हामी तत्पर छौँ भनेपछि यसको सुरुआत भयो”, उहाँले भन्नुभयो, “आमाले देख्नुभएको सपना पूरा गर्ने मेरो सपना आज पूरा भएको छ । यसलाई पूरा गर्न पाउँदाको खुसी शब्दमा व्यक्त गर्न सक्दिन ।” अन्नपूर्ण चेम्बर अर्केष्ट्राको आयोजना तथा काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भवन कन्स्ट्रक्सनको सहआयोजनामा सम्पन्न कार्यक्रममा गायिका थापाले ‘डाँडामा माथि बिहानै…’ गीतबाट साँझको सुरु गरेर आफ्ना लोकप्रिय गीतहरू ‘म त खाँदिन कुवाको पानी हो…’, ‘ढुङ्गे बगर माया…’,‘झम्के फूली नाकैमा बुलाकी…’,‘उकालीमा पनि हजुर…’,‘बारीको डिलमा ओखरबोट…’,‘माछी मार न हे दाइ हो…’ लगायत गीत नेपाली र नेपाल भाषाकमा गाउनुभएको थियो । उपस्थित दर्शकको अनुरोधपश्चात् उहाँले ‘माछी मार न हे दाइ हो…’ दुईपटक गाउनुभयो । कार्यक्रममा वरिष्ठ सङ्गीतकार रञ्जित गजमेर, गायिका ज्ञानु राणा, गीतकार दिनेश अधिकारी, गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यलगायत गीतसङ्गीतसँग जोडिनुभएका व्यक्तित्वको उपस्थिति थियो । रासस

 मंसिर ८

स्टार कलाकार कास्ट गर्यो भने फिल्म लगानी उठ्ने निर्माताहरूको विश्वास छ। कलाकारको स्टारडमले फिल्म बिक्छ।

तर दक्षिण भारतीय फिल्म ‘मलिकापुरम’ मार्फत ८ वर्षकी बालिकाले बक्स अफिसमा तहल्का मच्चाएकी थिइन्। उनी हुन् देवा नन्दा। फिल्ममा उनले ‘कल्लू’ नामकी पात्रको भूमिका निर्वाह गरेकी थिइन्।

उनी फिल्ममा सबरीमाला मन्दिर गएको देखिन्छिन्। उक्त मन्दिरमा १० देखि ५० वर्षको महिलाले प्रवेश गर्न नमिल्ने हुन्छ। तर उनको भक्तिको कारण बालिका मन्दिरमा जान्छिन्।

महिलाको प्रवेश निषेध गरेकै कारण यो मन्दिर विवादमा छ। यही मन्दिरको बारेमा फिल्ममा देखाइएको छ। फिल्मको मुख्य भाग नै यही मन्दिर रहेको छ। त्यसैले फिल्मलाई दर्शकले धेरै मनपराएका थिए।

१० करोड भारू बजेटमा बनेको फिल्म सन् २०२२ मा प्रदर्शन भएको थियो। फिल्मले ५२ करोड ९ लाख भारू कमाएको थियो।

विष्णु शशी शंकरले निर्देशन गरेको फिल्मको कथा अभिलाष पिल्लईले लेखेका हुन्। फिल्ममा देवा नन्दासँगै उन्नी मुकुन्दन, श्रीपथ, सैजु कुरूप, रमेश पिशारोडी, टिजी रविलगायत कलाकारको अभिनय छ।

यो फिल्मलाई ओटिटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा देख्न सकिन्छ।

२०८० मंसिर ८ गते,काठमाडौं ।

बलिउड अभिनेता रणवीर कपुरले नेपाली गायिका मेनुका पौडेललाई ‘संगीतकी देवी’ भन्दै प्रशंसा गरेका छन् । इण्डियन आइडलको पछिल्लो एपिसोडमा रणवीरले मेनुकाको पाउ छोएर सम्मान दर्शाए ।

आगामी फिल्म ‘एनिमल’ प्रवर्द्धनका लागि रणवीर र अभिनेत्री रश्मिका मन्दाना इण्डियन आइडलमा पुगेका थिए । मेनुकाले रणवीरकै अघिल्लो फिल्म ‘अगर तुम साथ हो’ गाएर मन्त्रमुग्ध तुल्याएकी थिइन् ।

मेनुकाको गीतमा भावविह्वल रणवीर र रश्मिकाले स्टेजमा गएर मेनुकालाई सम्मान दर्शाए । रणवीरले साक्षत देवी भन्दै निहुरिएर मेनुकाको पाउ छोए । मेनुकालाई अँगाल्दै उनले भने, ‘मेनुकाजी मेरो नाम रणवीर हो । म तपाईंबाट आशिर्वाद लिन चाहन्छु । जब श्रेयाजीले ठूलो मञ्चमा गाउँदा दर्शकलाई यस्तै महसुस भएको हुन सक्छ । श्रेयाजीलाई देवी भन्छौं । देवी नम्बर २ हाम्रो साथमा साक्षात् रुपमा उपस्थित हुनुहुन्छ ।’

साथै रणवीरले मेनुकाको लागि भोट पनि मागे । मेनुकाले इण्डियन आइडलमा पछिल्लो समय चर्चा बटुलिरहेकी छन् । अनलाइनखबर

 

मुम्बई, ३० कार्तिक ।

सलमान खानको टाइगर ३ बक्स अफिसमा धुम मच्चिरहेको छ ।

 

सलमान खान, कट्रिना कैफ र इमरान हाश्मी अभिनित स्पाइ थ्रिलर फिल्मले रिलिजको पहिलो तीन दिनमै दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । तर अहिले टाइगरको चमक अलि घटेको देखिन्छ । जस अनुसार यो फिल्मले अपेक्षित ब्यापार नगरेको जनाइएको छ ।

 

रिपोर्टमा विश्वास गर्ने हो भने टाइगर ३ को चौथो दिनको कमाई पहिलो तीन दिनको तुलनामा आधाले घटेको छ ।

 

सकनिल्कको रिपोर्ट अनुसार सलमान खान र कट्रिना कैफको फिल्मले चौथो दिन २२ करोड कमाएको छ । यद्यपि यो प्रारम्भिक रिपोर्ट अनुमान हो र यसमा  केही तथ्याङ्कहरू थोरै फरक हुन सक्छन् । रिपोर्टका अनुसार टाइगर ३ ले पहिलो तीन दिनमा सबै भाषा मिलेर १४७‍.५० करोड कमाएको थियो । अर्थात् अहिलेसम्म फिल्मको कुल कलेक्सन १६९.८० करोड भइसकेको छ ।

 

सलमान खान, कट्रिना कैफ र इमरान हाश्मीको फिल्म टाइगर ३ ले सनी देओलको गदर २ लाई कमाईको मामिलामा कडा टक्कर दिइरहेको छ । सक्कनिल्कको रिपोर्ट अनुसार गदर २ ले पनि पहिलो दिन ४० करोडभन्दा बढी कमाई गरेको थियो भने चार दिनमा १७४.३ करोड कमाएको थियो । योसँगै टाइगर ३ को तथ्यांक पनि गदर २ सँग मिल्ने देखिन्छ । टाइगर फ्रेन्चाइजीको तेस्रो किस्ता मनिष शर्माले निर्देशन गरेका हुन् ।

 

फिल्ममा सलमान खानसँगै कट्रिना कैफ र इमरान हाश्मी मुख्य भूमिकामा छन् । यस बाहेक शाहरुख खान र ऋतिक रोशनको क्यामियो रोल देख्न सकिन्छ ।

 

पोखरा, २४ कार्तिक  ।

राप्रपा नेपाल कास्किद्वारा पोखराको चाउथे चोकमा आज सभा आयोजना गर्ने भएको छ ।

 

उक्त  सभालाई सम्बोधन गर्न अध्यक्ष कमल थापा हिजै पोखरा पुगिसकेका छन् ।

राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ

संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभुमी निर्माण गर्न जिल्ला केन्द्रित भएको हो। २०६२/६३ को मार्गचित्र असफल भएकोले अब गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको बिकल्पमा राजा सहितको प्रजातन्त्र ,सनातन हिन्दु अधिराज्य , र संघीयता खारेज गर्दै सुदृढ स्थानिय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ ।

 

सभालाई अध्यक्ष थापा सहित उपाध्यक्ष तारानाथ लुइँटेल , महामन्त्रीद्वय राजाराम बर्तौला ,कृष्ण कार्की लगायतका नेताहरुले सम्बोधन गर्ने र विभिन्न ब्यक्तिहरु पार्टी प्रबेश गर्ने समेत राप्रपा नेपाल कास्किले जनाएको छ।

काठमाडौं, २३ कात्तिक ।

गीतकार, कवि, संगीत, साहित्यसहित कलाको विभिन्न विधामा सक्रिय रहेकी साबु गदाल कार्की अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबलको वरिष्ठ उपाध्यक्ष पदमा सर्वसम्मत चुनिएकी छन् ।
इनासको पाँचौँ महाधिवेशनबाट चुनिएको अध्यक्ष रामचन्द्र थापा (अष्ट्रेलिया) को कार्यसमितिमा उनले दुई वर्ष वरिष्ठ उपाध्यक्षको हैसियतले कार्यभार सम्हाल्नेछिन् ।

‘मेरो कार्यकालमा नेपाली संस्कृति, कला, साहित्य र सिनेमालाई प्रवर्द्धन गर्न कुनै कसर बाँकी राखे छैन । सकारात्मक प्रभाव पार्ने परोपकारी कार्यक्रमहरू, सामाजिक परियोजनाहरूमा मेरो साथ र सहभगि अझैँ बढ्ने छ’, वरिष्ठ उपाध्यक्ष कार्कीले भनिन् ।

पाँचवटा सांगीतिक एल्बमको निर्माण र लेखनको अनुभव, म्युजिक भिडियो र फिल्म निर्माणको अनुभव, रेडियो नेपालमा प्रस्तोता, पटकथा लेखक र निर्माताको रूपमा काम गरेको अनुभवलाई सामाजिक कार्यमा प्रयोग गर्ने उनले बताइन् ।

 

‘अहिले प्रवासमा विस्तार भइरहेको चलचित्रको बजारलाई हामीले बलियो बनाउनुका साथै नयाँ बजार खोज्नु पर्छ । हाम्रो कला र संस्कृतिलाई जिवन्त राख्ने यो बलियो माध्यम हो’, उनले भनिन्,‘हामी एकतृत भएर आगामी दिनमा इनासको प्रभावकारितालाई झनै बलियो बनाउन सर्वसम्मत कार्यसमिति निर्माण गर्न सफल भएका छौँ ।’

 

नेपाली संगीत, सिनेमा र सञ्चार क्षेत्रमा स्थापित बनेकी कार्कीले सन् २००६ मा ‘सहारा’ र २०११ मा ‘रिवाज’ नामक म्युजिक एल्बम, २०१५ मा म्युजिक भिडियो ‘हे आमा’ गीतकार रहिसकेकी छिन् । उनले सन् २०१७ मा फिल्म ‘दर्पण छाया २’ निर्माण गरेकी थिइन् ।

 

साथै, महाधिवेशनले नयाँ कार्यसमितिसँगै महादेशीय (क्षेत्रीय), राष्ट्रिय र राज्य समितिका संयोजक र सहसंयोजक एवं पदाधिकारीलाई नयाँ कार्यकालका लागि जिम्मेवारी दिएको छ ।

 

नवनिर्वाचित कार्यसमितिमा अन्य पदाधिकारी अन्तर्गत उपाध्यक्षमा मित्रलाल पार्दै (पोल्याण्ड), अर्जुन काफ्ले (बेल्जियम), मनिषकुमार श्रेष्ठ (बेलायत), राधी क्षेत्री (इटाली) रहेका छन् । त्यसैगरी महासचिवमा राजमान तामाङ (डेनमार्क), सचिवमा आनन्दु लामा (अमेरिका) कोषाध्यक्षमा कुलराज थापा (नेपाल) रहेका छन्।

क्षेत्रीय संयोजकहरूमा प्रकाश तिवारी (युरोप) रुपा न्यौपाने (दक्षिण एसिया), कन्हैया सिङ्ग परियार (उत्तर अमेरिका) रहेका छन् । सह–संयोजकहरूमा श्याम श्रेष्ठ (युरोप) रहेका छन् ।

काठमाडौं, २३ कात्तिक ।

किरण भुजेल र  सोफी धरेलको अभिनयमा रहेको ‘आँखी झ्यालैमा‘ गीत सार्वजनिक भएको छ ।

 

सार्वजनिक गीतमा गायक उमेश मुस्कान र गायिका प्रयुषा न्यौपानेको स्वर रहेको छ । उमेश मुस्कानको शब्द/सङ्गीत रहेको गीतको  सङ्गीत संयोजन केशव बडुले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमील रुपमा गीतमा प्रस्तुत गरिएको छ ।

 

प्रकाश खड्काको छायाङ्कन, बन्दे प्रसादको सम्पादन तथा केशवराज भट्टको निर्देशनमा भिडियो तयार गरिएको छ । भिडियोमा किरण भुजेल र  सोफी धरेलको अभिनय रहेको छ । प्रेम र समपर्णलाई आम दर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको निर्माता सुनिल दवाडीले बताए ।‘

 

गीतको भिडियो लिंक : https://www.youtube.com/watch?v=zSt_QA6bDsw

काठमाडौं, २३ कत्तिक । 

चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङखला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा भइरहेको छ । गत कात्तिक १५ गतेबाट सुरु भएको छायाङ्कन मह स्टुडियो र नरदेवीको विभिन्न स्थानमा भइरहेको छ ।चलचित्रका मुख्य कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत छायाङकनमा व्यस्त छन् ।

जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने चलचित्रको छायाङ्कन बुधबार नरदेवीमा गरियो । छायाङ्कन हेर्न आइपुगेका स्थानीयवासीले शृङखलाको प्रतीक्षा रहेको प्रतिक्रिया दिइरहेका थिए । उक्त स्थानबाट गन्तव्यका लागि निस्किएका अधिकास एकछिन रोकिन्थे ।

आफ्नो प्रिय शृङ्खला र कलाकारलाई अगाडि पाउँदा धेरैले ‘चलचित्र कहिले हेर्न पाइन्छ ?’ भन्ने जिज्ञासा राख्थे । निर्देशक प्रदीप भट्टराईले योजना अनुरुप नै छायाङकन भईरहेको जानकारी दिए । उनले भने,’हामीले योजनाबद्ध रुपमा काम गरिरहेका छौँ । युनिटका सम्पूर्ण सदस्यले मेहनतका साथ काम गरिरहनुभएको छ ।’

 

उनको निर्देशकीय शैली र कौसलता देखेर टिममा जोडिएका नयाँ सदस्य खुशी देखिन्थे । ‘जात्रा’ र ‘जात्रै जात्रा’ कै निरन्तरता भएकाले कथा कसरी अगाडि बढ्छ भन्ने जिज्ञासा स्वाभविक नै हुन्छ । निर्देशक भट्टराईले चलचित्रले प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए । अर्थात् चलचित्रमा हासो र रोदनको मिश्रण छ ।

 

अर्गानिक र यथार्तलाई प्रस्तुत गरिएकै कारण यो शृङखला दर्शकको प्रिय बनेको छ । यसले नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमार्फत पाउने सर्वाधिक रकम पाइसकेको छ । नेपालमा पनि यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन् । चलचित्रको ‘वर्ड अफ माउथ’ ले पनि यसलाई नयाँ नयाँ रेकर्ड बनाउन सहयोग गर्ने विश्वास चलचित्रकर्मीको छ ।

 

दृश्यमा व्यस्त रहेका अभिनेता विपिन कार्कीले छायाङकनमा रमाइलो भईरहेको बताए । ‘हामी तेस्रोपटक काम गर्दैछौँ । अधिकाँसलाई के गर्ने र कसरी गर्ने भन्ने ज्ञान छ । यसपटक महाजात्रा छ, दर्शकले गर्ने अपेक्षालाई बुझेर नै काम गरिरहेका छौँ’, अभिनेता कार्कीले भने ।

 

अभिनेता रवीन्द्र झाले ‘मुन्ना’ अवतारलाई दर्शक अनुरुप नै प्रस्तुत गर्ने बताए । उनले यो चलचित्र आफ्नो लागि खास रहेको भन्दै काठमाडौँमा अधिकाँस र तराई केही छायाङ्कन हुने बताए । अघिल्लो दुई शृङखलाकै लेखक तथा निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भइरहेको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।

 

‘जात्रा’ मा गायकको रुपमा जोडिएका अभिनेता आचार्यले यस शृङखलासँग अभिनेताको रुपमा जोडिएका छन् । चलचित्रलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । ‘जात्रा’ चलचित्रको लोकप्रियताले छायाङकन नहुँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

 

यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङगीतकार, शमशेर लामा शृङगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

काठमाडाै, २२ कार्तिक ।

नेपालीहरुको महान चाड तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको रोमान्टिक र डान्सिङ भावको गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर छ । गीतमा सिवाकोटीकै शब्द तथा संगीत छ ।

 

सन्तोष अधिकारी फिल्मस्को ब्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको फिल्म ‘चित्रा’को छायांकन सकिएसँगै प्रचारप्रसार स्वरुप यो गीतको अडियोलाई विशेषगरि, सामाजिक सञ्जाल टिकटक र तिहारमा देउसी भैलो कार्यक्रममा नाँच्नका लागि लक्षित गरी तयार पारेर सार्वजनिक गरिएको छ ।

 

प्रवीण सिंहको कोरियोग्राफी रहेकोे भिडियोलाई पोखराका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ । यो गीतमा फिल्मका मुख्य कलाकारहरु सन्तोष अधिकारी र शुभेच्छा खड्कालाई फिचरिङ गरिएको छ । यी दुबैलाई कोरियोग्राफर प्रवीण सिंहले रमाइलो स्टेपहरुमा नचाएका छन् ।

 

घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ले बाबु र छोरीको कथालाई सूक्ष्म रुपमा उठान गरेको छ । फिल्मलाई माघे सङ्क्रान्तिको छेकोमा पौषको २७ गतेबाट नेपाल र अष्ट्रेलीयामा रिलिज गरिने छ ।

 

यो फिल्ममा सन्तोष र शुभेच्छाका साथै मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।

 

आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’ मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा छ । साथै तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन, महेश पौडेलको छायांकन छ ।

 

फिल्ममा प्रोडक्सन हेडमा प्रतिमा थापा, लाइन प्रोड्यूसरमा कृष्ण बहादुर थापा, कला निर्देशकमा डुक राज घिमिरे, मेकअपमा सोनाली शिल्पकार, निर्माण नियन्त्रकमा तेज विक्रम केसी र अनलाइन सम्पादनमा सन्देश शाहले काम गरेका छन् ।

 

यो फिल्मको नेपाल वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले लिएको छ । यस्तै अष्ट्रेलीया अधिकार अविनाश रोका मगरले लिएका छन् ।

निर्माता अधिकारीको  ‘डलर एयुडी’ नामक फिल्मको छायांकन तिहार पछि सुरु हुनेछ । ‘घर’ र ‘आमा’ फिल्मका सह–निर्माता समेत रहेका सन्तोष अधिकारीले निर्माण गरेको अर्को फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।