राैतहट,२३ गते असार ।
लोकतन्त्रको मेरुदण्ड भनेकै जवाफदेहिता र पारदर्शिता हो । राज्यको स्रोत र साधन जनताको सम्पत्ति हो र यसको सदुपयोग गर्दै विकास सुनिश्चित गर्नु सरकार र स्थानीय तहहरूको प्रमुख दायित्व हो। तर, हालै रौतहटका विभिन्न पालिकामा देखिएको आर्थिक अनियमितता र भ्रष्टाचारले सरकारको करोडौं रुपैयाँ क्षति पुर्याएको छ। यसले न केवल कानुनको उपहास उडाएको छ, बरु जनतामा राज्य प्रतिको विश्वासमा गहिरो दरार पैदा गरिरहेको छ ।
नेपालको सार्वजनिक खरिद ऐन र पब्लिक प्रोक्युरमेन्ट मोनिटरिङ अफिस (PPMO) को स्पष्ट व्यवस्था अनुसार, कुनै पनि सरकारी ठेक्काको प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र जवाफदेही हुनुपर्दछ। ठेक्काको सूचना समयमै सार्वजनिक गरिनु, ई-बिडिङमार्फत खुल्ला प्रतिस्पर्धाको वातावरण सिर्जना गरिनु र मूल्याङ्कन निष्पक्ष हुन जरुरी छ। तर रौतहटका विभिन्न पालिकाहरूमा यी सबै कानुनी मान्यताहरूलाई लत्याउँदै आफू अनुकूलका सिमित व्यापारीहरूसँग मिलेर प्रक्रिया नचलाइएको पाइएको छ।
उक्त पालिकाहरूले आ.ब. २०८१/८२ मा ल्याएको गोप्य सूचना सार्वजनिक नगरी सिमित फर्महरूबीच मात्र झूटो प्रतिस्पर्धा देखाएर ठेक्का बाँडेको प्रमाण फेला परेको छ। ठेक्का प्रक्रिया नाम मात्रको मात्रै बनाइएको र झण्डै सतप्रतिशत अनुमानित लागतमा ठेक्का स्वीकृत गरिएको छ। यो स्पष्ट रूपमा योजना निर्माण गर्ने, स्वीकृति दिने र ठेक्का दिने निकायबीचको मिलेमतो हो, जसले प्रतिस्पर्धात्मक प्रक्रियालाई ध्वस्त पारेको छ।
सूचना सार्वजनिक गर्नुपर्ने कानुनी दायित्वलाई उल्लंघन गर्दै पालिकाले गोप्य रूपमा सूचना छापेका छन्। झन्, केही राष्ट्रिय दैनिक पत्रिकाहरूले पैसा लिई सूचना “पछिल्लो मितिमा” छाप्ने चलन विकास गरेका छन्। यस प्रकारका कार्यले सूचना सार्वजनिक गर्ने प्रक्रियाको नै मजाक बनाएको छ। यसले सरकारी ऐन, सूचना प्रवाहको अधिकार र नागरिकको सहभागिता सबैलाई कमजोर बनाएको छ।
पछिल्ला केही वर्षमा, ठेक्का पाएका सीमित व्यक्ति र फर्मका संचालकहरू अत्यन्तै छिटो अमीर बनेका छन्। दर्जनौं गाडी, घर-घडेरी, गोडाम, होटेल, मदिरा उत्पादन कम्पनी लगायतका सम्पत्तिहरू उनीहरूले जोडेका छन्। यिनीहरूको आयश्रोत, कर विवरण, सम्पत्ति विवरण लगायत विषयमा गहिरो अनुसन्धान गर्नु आजको आवश्यकता हो। सरकारले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, अख्तियार, राजस्व अनुसन्धान विभाग लगायतका निकायहरूलाई यसमा संलग्न गराई पारदर्शिता कायम गर्नुपर्छ।
सूचना प्रवाहको माध्यम बन्नुपर्ने सञ्चार जगतकै केही अंगहरू आफू लाभान्वित हुन खोज्दै भ्रष्टाचारको हिस्सेदार बन्न थालेका छन्। सरकारी सूचना समयमा नछापी पछि छाप्ने वा हप्ता, पन्ध्र दिन, महिनापछि प्रकाशित गर्ने कार्यले नागरिकको जानकारी लिने अधिकारमा चोट पुगेको छ। सूचना लुकाउने यस्ता पत्रिकाहरूको अनुसन्धान गरी आवश्यक कारबाही गर्नु अत्यावश्यक छ।
रौतहटका पालिकाहरूमा भएको सार्वजनिक स्रोतको दोहनले सम्पूर्ण राज्य संयन्त्रमा प्रश्न उठाएको छ। पारदर्शिता, जवाफदेहिता र सुशासनको सिद्धान्तलाई अपमान गर्दै गरिएको यस्ता कार्यहरूले शासनमा असमानता, बेइमानी र अविश्वासको वातावरण सिर्जना गरेको छ। सार्वजनिक खरिद ऐनको प्रभावकारी कार्यान्वयन र उल्लंघनमा संलग्न सबै पक्षमाथि निष्पक्ष छानविन हुनुपर्छ। ठेक्का प्रक्रिया पारदर्शी बनाउन अनिवार्य अनलाइन सूचना प्रणालीको प्रयोग गरिनु जरुरी छ। सीमित फर्म र व्यापारीको मिलेमतोको सूक्ष्म अनुसन्धान गर्दै सम्पत्ति विवरण सार्वजनिक गरिनु अपरिहार्य देखिन्छ।
सम्पत्ति शुद्धिकरण बोर्ड, राजस्व अनुसन्धान र अख्तियारलाई सक्रिय बनाइ आर्थिक अनुशासनको पुनः स्थापन गरिनुपर्छ। सूचना लुकाउने संचार माध्यम र पत्रिकाहरूमाथि पनि छानविन र कानुनी कारबाही गरिनुपर्छ। स्थानीय सरकार, प्रदेश र संघीय सरकारबीच समन्वय गरी भ्रष्टाचार निवारणका लागि एकीकृत नीति निर्माण आवश्यक छ। अब नयाँ आर्थिक वर्षदेखि यस्ता आर्थिक अत्याचार नदोहोरिऊन् भन्ने सुनिश्चितता सरकारले जनतालाई दिनैपर्ने समय आएको छ।
आरके श्रीवास्तव,राैतहट, २३ गते असार ।
लोकतान्त्रिक पत्रकार संघको संशोधित विधानअनुसार रामसुकुल मण्डललाई संघको बागमती प्रदेश अध्यक्ष पदमा मनोनयन गरिएको छ । संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले उक्त मनोनयनको जानकारी दिँदै मण्डललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
“मण्डलले देश, मधेश, पत्रकारिता र पार्टीको हितमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुहुनेछ भन्ने हाम्रो दृढ विश्वास छ,” अध्यक्ष वर्माले भने, “उहाँको नेतृत्वमा प्रदेशस्तरीय संगठन अझ मजबुत, सशक्त र दिगो बन्नेछ।”
मण्डलले लामो समयदेखि संघमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । पत्रकारिताको क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय रहेको संघले जनाएको छ ।
आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले रामसुकुल मण्डललाई औपचारिक रूपमा मनोनयन पत्र हस्तान्तरण गरेका छन् । कार्यक्रममा संघका अध्यक्ष वर्मा तथा लोसपाका महासचिव एवं प्रवक्ता मनिष मिश्रको पनि उपस्थिति थियो ।
अध्यक्ष ठाकुरले मण्डलको नेतृत्व क्षमताप्रति विश्वास व्यक्त गर्दै भने, “पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो । यो संरचनालाई बलियो बनाउन मण्डलजस्तो अनुभवी र प्रतिबद्ध नेतृत्व आवश्यक थियो।”
लोसपाका महासचिव मिश्रले पनि संघ र पार्टीबीच समन्वयात्मक भूमिकाको आवश्यकता औंल्याउँदै मण्डलको नियुक्तिलाई सशक्त निर्णयका रूपमा स्वागत गरेका छन् ।
आरके श्रीवास्तव,राैतहट, २३ गते असार ।
लोकतान्त्रिक पत्रकार संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माको कुशल नेतृत्वमा संघ दिनप्रतिदिन सशक्त बन्दै गएको छ । लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र पेशागत मर्यादाका पक्षमा स्पष्ट अडान राख्दै संघले पत्रकारहरूको हक–अधिकार सुरक्षित गर्न उल्लेखनीय कार्यहरू अघि बढाएको छ ।
अध्यक्ष वर्माको नेतृत्वमा संघले हालै मधेस प्रदेशका आठवटै जिल्लामा सक्रिय र प्रतिबद्ध पत्रकारहरूलाई संयोजकको जिम्मेवारी सुम्पिएको छ । पर्सामा समसुदिन मियाँ, बारामा साहबाज मन्सुर, रौतहटमा राजु कुमार श्रीवास्तव, सर्लाहीमा राजिव कुमार साह, महोत्तरीमा राजिव राय कुर्मी, धनुषामा सनाेज यादव, सप्तरीमा शसिचन्द्र चौधरी र सिरहामा विसुनदेव सरदार जिल्ला संयोजकको रूपमा मनोनयन भएका छन् ।

संघका अध्यक्ष वर्माले जिल्ला संयोजक मनोनयनसँगै जिल्लामा संगठन विस्तारको निर्देशन दिएका छन् । अब छिट्टै जिल्ला संयाेजकहरूकाे प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने अध्यक्ष वर्माले बताएका हुन् । लुम्बिनी प्रदेशमा पनि प्रदेश अध्यक्ष मनाेनय गर्ने तयारी भईरहेकाे उनको भनाइ छ ।
यस कदमले संघको सांगठनिक संरचना अझ मजबुत भएको छ र पत्रकारहरूबीच विश्वास र आकर्षण समेत बढाएको छ ।
“अन्य पत्रकार संगठनहरू भन्दा फरक ढंगले हाम्रो संघले पत्रकारहरूको सशक्त पहिचान निर्माण गर्ने लक्ष्य लिएको छ,” अध्यक्ष वर्माले बताएका छन्, “हामी लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र पेशागत मर्यादा कायम गर्न कटिबद्ध छौं ।”
त्यस्तै, बागमती प्रदेशमा रामसुकुल मण्डल र काठमाडौं जिल्लामा प्रिन्स चन्द्र पाललाई जिम्मेवारी दिइएको छ । देशैभर संगठनको प्रभावकारी उपस्थिति बनाउँदै लगिएको संघले निकट भविष्यमै पत्रकारहरूको क्षमता अभिवृद्धि, पेशागत सुरक्षा तथा सामाजिक उत्तरदायित्वमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ ।
अध्यक्ष वर्माको दूरदर्शी नेतृत्व र स्पष्ट कार्यदिशाका कारण संघ पत्रकारहरूका लागि आशाको केन्द्र बन्दै गएको छ । उनकाे सक्रियता, समावेशी दृष्टिकोण र क्रियाशील कार्यशैलीले लोकतान्त्रिक पत्रकार संघलाई मुलुककै अग्रणी पत्रकार संगठनको रुपमा स्थापित गर्ने दिशामा महत्वपूर्ण फड्को मारेको छ ।
आरके श्रीवास्तव,राैतहट,२२ गते असार ।
लोकतान्त्रिक पत्रकार संघको संशोधित विधानअनुसार सनोज कुमार यादवलाई मधेश प्रदेश अन्तर्गत धनुषा जिल्ला संयोजक पदमा मनोनयन गरिएको छ ।
संघका अध्यक्ष कामरेन्द्र वर्माले एक मनाेनयन पत्र जारी गर्दै यादवलाई मनोनयन गरिएको जानकारी गराएका हुन् । सन्देशमा उनले देश, मधेश, पत्रकारिता क्षेत्र र पार्टीको हितमा यादवको कार्यकाल उल्लेखनीय रहने विश्वास व्यक्त गर्दै हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।

नवनियुक्त संयोजक यादव विगत ५ वर्ष देखि नै पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनको मनोनयनसँगै धनुषा जिल्लामा लोकतान्त्रिक पत्रकार संघको संगठनात्मक सुदृढीकरणमा थप गति मिल्ने अपेक्षा गरिएको छ ।
हाल वहाँ एवन न्यूजमा कार्यरत हुनु हुन्छ । याे सँगै मधेस प्रदेशकाे आठ वटै जिल्लामा जिल्ला संयाेजक मनाेनय गर्ने काम सकिएको छ । अब जिल्ला कमिटी विस्तार गर्न अध्यक्ष वर्माले जिल्ला अध्यक्षहरूलाई निर्देशन दिनु भएको छ ।
आरके श्रीवास्तव,राैतहट,२० गते असार ।
लोकतान्त्रिक पत्रकार संघले पत्रकार शशिचन्द्र चौधरीलाई मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्ला संयोजकको पदमा मनोनयन गरेको छ । संघको संशोधित विधान अनुसार गरिएको उक्त मनोनयनको जानकारी संघका अध्यक्ष कामरेन्द्र वर्माले दिएका हुन् ।
मनोनयनसँगै अध्यक्ष वर्माले चौधरीलाई बधाई दिँदै देश, मधेश, पत्रकारिता क्षेत्र र पार्टीको हितमा उहाँको कार्यकाल उल्लेखनीय रहने विश्वास व्यक्त गरेका छन् ।
चौधरी अहिले सप्तरीबाट प्रकाशित हुँदै आएको ‘मधेस प्रवाह दैनिक’ मा कार्यरत छन् । उहाँले विगत ८ वर्षदेखि पत्रकारितामा सक्रिय योगदान दिँदै आउनुभएको छ । स्थानीय तहदेखि प्रदेश राजनीति, सामाजिक मुद्दा र मानव अधिकारजस्ता विषयमा निरन्तर रिपोर्टिङ गर्दै आएका चौधरी पत्रकारिता क्षेत्रमै निष्ठा, समर्पण र निष्पक्षता प्रस्तुत गर्दै आएका छन् ।
संघको उक्त निर्णयले सप्तरी जिल्लामा लोकतान्त्रिक पत्रकारहरूको संगठनात्मक सशक्तिकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
आरके श्रीवास्तव,राैतहट,१९ गते असार ।
लोकतान्त्रिक पत्रकार संघको संशोधित विधान अनुसार रामसुकुल मण्डललाई बागमती प्रदेश अध्यक्ष पदमा मनोनयन गरिएको छ ।
संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले मनोनयनको जानकारी दिँदै मण्डललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनले देश, मधेश, पत्रकारिता तथा पार्टीको हितमा मण्डलको भूमिका उल्लेखनीय रहने विश्वास व्यक्त गरेका छन् ।
संघमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका मण्डलको नेतृत्वमा प्रदेशस्तरीय संगठनलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।
आरके श्रीवास्तव,रौतहट,१९ गते असार ।
गरुडा – सुनौलो हजार दिनका विपन्न महिलाहरूको पोषण अवस्था सुधार्न आय आर्जनसम्बन्धी जनचेतनामूलक तालिमको उद्घाटन सत्र आज गरुडामा सम्पन्न भएको छ। श्री राम सोगारथ शर्मा, अध्यक्ष, सृजनात्मक समाज कल्याण केन्द्र नेपालको अध्यक्षतामा भएको यस कार्यक्रमले महिलाहरूलाई आत्मनिर्भर बनाउँदै पोषणमा सुधार ल्याउने लक्ष्य राखेको छ।
उक्त तालिमको उद्घाटन गरुडा नगरपालिकाका नगर प्रमुख श्री कन्थमनि प्रसाद कलवारले गर्नुभयो। प्रमुख अतिथि कलवारले ब्यानर पढेर विधिवत् रूपमा तालिमको सुरुवात गर्नुभयो। यस तालिममा १५० जना महिला सहभागी छन्।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा श्री माध्यमिक विद्यालय गेडही गुठीका प्रधानाध्यापक श्री मौजेलाल साह, स्वास्थ्य चौकी गेडही गुठीका प्रमुख रामपुकार यादव, गरुडा नगरपालिकाको पञ्जीकरण शाखा प्रमुख श्री मुकेश कुमार साह र गरुडा नगरपालिका वडा नं. २ का वडा सचिव श्री रुपनारायण महतोको उपस्थिति थियो।
यो तालिमले विपन्न महिलाहरूको जीवनस्तर उकास्न र पोषणमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
आरके श्रीवास्तव,रौतहट,१९ गते असार ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिका–२ सितलपुरका कृषकहरूले अब सहज रूपमा सिंचाइ सुविधा पाउने भएका छन् । वडास्तरीय बजेट अन्तर्गत कृषकहरूको सुविधाका लागि कृषि पोल गाडिएको हो ।
वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव (उर्फ संजय) ले आफ्नो वडास्तरीय रु १० लाखको बजेटबाट सो कार्य सम्पन्न गराएको जानकारी दिएका छन् । प्रमुख प्रशासकीय अधिकृत भरत यादवमार्फत सो बजेटको जानकारी प्राप्त भएको तीन दिनभित्र नै काम सम्पन्न गरिएको अध्यक्ष यादवले बताए ।
“कृषकहरूलाई खेतमा सिंचाइका लागि वर्षौंदेखि समस्या थियो । हामीले तत्काल प्राथमिकता दिएर पोल गाड्ने काम सम्पन्न गरेका छौं,” अध्यक्ष यादवले भने ।
स्थानीय कृषकहरूले सिंचाइका लागि अब सहज हुने विश्वास व्यक्त गर्दै अध्यक्ष यादव र नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका छन् । उनीहरू यो कार्यबाट निकै उत्साहित छन् । किसान गिरिजा पटेलले भने, “हामी वर्षौंदेखि सिंचाइको समस्याले हैरान थियौँ। अहिले पोल गाडिएपछि मोटर जडान गर्न सहज हुने देखिन्छ।”
त्यस्तै अर्का किसान देवनाथ यादवले भने, “सिँचाइ सजिलो भएपछि खेती प्रणालीमा परिवर्तन आउने छ, उत्पादन पनि बढ्नेछ। यो सानो लगानीले ठूलो राहत दिने काम भएको छ।”
शंकर यादवले पनि वडा कार्यालय र अध्यक्षप्रति आभार प्रकट गर्दै भने, “हामी किसानका आवाज सुनेर तत्कालै काम गरिदिनु भएकोमा धन्यवाद दिन चाहन्छौँ। यसले हाम्रो हौसला बढाएको छ।”
कृषि उत्पादन वृद्धि गर्नका लागि सिँचाइ पूर्वाधार मजबुत बनाउनु आवश्यक रहेको भन्दै स्थानीयवासीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।
आरके श्रीवास्तव,राैतहट,१८ गते असार ।
राैतहटकाे देवाही गोनाही नगरपालिका र मानव कल्याण केन्द्र, देवाही गोनाही–८ को संयुक्त आयोजनामा दलित सशक्तीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम भएको छ । कार्यक्रम देवाही गोनाहीस्थित मधेस संग्रहालयमा बुधबारदेखि सुरू गरिएको हो ।

उक्त कार्यक्रमको उद्घाटन देवाही गोनाही–९ का वडा अध्यक्ष बिरबहादुर साहले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख प्रशिक्षक उषा साहि र रामबिर यादवले सहभागीहरूलाई दलित सशक्तीकरण, अधिकारबारे सचेतना र सामाजिक समावेशीताका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा दर्जनौँ महिला सहभागिहरूको उत्साहजनक उपस्थिति रहेको आयोजक संस्था मानव कल्याण केन्द्रका प्रतिनिधि कामेश्वर बैठाले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै सुरेन्द्र पासवानले दलित समुदायको सशक्तीकरणका लागि निरन्तर प्रयास आवश्यक रहेको धारणा राख्नुभएको थियो ।
सो अवसरमा मो. मनिरूदिन फहमी, राकेश साह तेली, रामनारायण पण्डित,पत्रकार लगायत विभिन्न सामाजिक अभियन्ताहरूको पनि उपस्थिति रहेको थियो ।
दलित समुदायको सशक्तीकरण र समान अधिकारको सुनिश्चितताका लागि यस्ता कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ ।
आरके श्रीवास्तव,राैतहट,१७ गते असार ।
लोकतान्त्रिक पत्रकार संघको संशोधित विधानअनुसार पत्रकार प्रिन्स चन्द्र पाललाई बागमती प्रदेशअन्तर्गत काठमाडौं जिल्ला संयोजक पदमा मनोनयन गरिएको छ ।
संघका अध्यक्ष कामरेन्द्र वर्माद्वारा पालको मनोनयन गरिएको हो । पत्रकारिता क्षेत्रमा विगत ४ वर्षदेखि सक्रिय रहेका पाल हाल आरबिपी न्यूजमा कार्यरत छन् ।
संघको विधानअनुसार गरिएको यस मनोनयनप्रति अध्यक्ष वर्माले पालको कार्यकाल देश, मधेश, पत्रकारिता क्षेत्र र पार्टीको हितमा उल्लेखनीय रहने विश्वास व्यक्त गरेका छन् ।
संघका तर्फबाट पाललाई संयोजक पदमा सफल कार्यकालको शुभकामना दिइएको छ ।