जनकपुरधाम, २२ पुस :
राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको राष्ट्रिय सम्मेलन जनकपुरधाममा हुने भएको छ । मञ्चका महासचिव लागेन्द्र सदाले आगामी फागुन १२ र १३ गते जनकपुरधामको रङ्गभूमि मैदान बाह्र बिघामा राष्ट्रिय सम्मेलनको आयोजना गर्नेगरी तयारीमा जुटेको जानकारी दिनुभयो ।
यसअघि नयाँ नेतृत्व चयनका लागि गत असोज २७ देखि यही पुस २० गतेसम्म प्रदेशका आठवटै जिल्लामा सम्मेलन सम्पन्न गरेपछि फागुनमा राष्ट्रिय सम्मेलनका लागि तयारी सुरु गरिएको उहाँले बताउनुभयो । मञ्चले धनुषामा असोज २७, सप्तरीमा मङ्सिर २९, सिराहमा यही पुस १२, पर्सामा १५, बारामा १६, रौतहटमा १८, सर्लाहीमा १९ र महोत्तरीमा २० गते जिल्ला सम्मेलनको आयोजना गरी नयाँ नेतृत्व चयन गरिसकेको छ ।
जिल्ला सम्मेलनअघि मुक्त हरवाचरवा बाहुल्य यहाँका ६० भन्दा बढी पालिकामा पालिकास्तरीय सम्मेलन सम्पन्न गरिएको मञ्चका अगुवा एवं धनुषा जिल्ला अध्यक्ष राजदेव मुखियाले जानकारी दिनुभयो । “पालिका तथा जिल्लामा सम्मेलन सम्पन्न भएपछि अब हामी राष्ट्रिय सम्मेलनमा जुटेका छौँ । जहाँ हजारौँ मुक्त हरवाचरवा तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता रहने छ”, उहाँले भन्नुभयो ।
अभियानमा सहयोग गरिरहेको संस्था राष्ट्रिय दलित नेटकर्व (आरडिएन)का कार्यकारी निर्देशक हुकुमबहादुर सार्कीका अनुसार हरवाचरवाले यही सङ्गठनको सहयोगमा हरवाचरवा समस्याबाट मुक्तिका लागि आन्दोलन गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । त्यही आधारमा सरकारले २०७९ साउन २ गते मुक्तिको घोषणा गरिसकेको छ ।सरकारले हरवाचरवा प्रथालाई नेपालको संविधान तथा विद्यमान कानुन र मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रविपरीत भएको स्वीकार गर्दै उहाँहरूको नाममा रहेको अनुचित ऋणको खारेजी, लगत सङ्कलन, भूमि उपलव्ध गराउने, कसैले हरवाचरवा राखेको भेटिएमा कानुनी कारबाही गरिने उल्लेख गर्दै हरवाचरवा मुक्तिको घोषणा गरेको थियो ।
तर सरकारका नीति तथा कार्यक्रम र बजेटमा हरवाचरवा पुनःस्थापनासम्बन्धी कुनै कार्यक्रम नल्याएको जनाउँदै सङङ्गठनको अगुवाइमा निरन्तर आन्दोलन भइरहेको छ । यसैक्रममा गत वर्ष चैत २५ देखि २९ गतेसम्म राजविराज र वीरगञ्जबाट जनकपुरसम्म एकसाथ अधिकारयात्रा गर्दै सरकारको ध्यानाकर्षण गराइएको थियो । त्यही दबाबमा मधेस प्रदेश सरकार र २५ भन्दा बढी स्थानीय पालिकाले हरवाचरवाको लगत सङ्कलन तथा पुनःस्थापनासम्बन्धी कार्यक्रम घोषणा गरेका थिए । सो घोषणा पनि सार्थक ढङ्गले अघि नबढेको मञ्चले जनाएको छ ।
मुक्त गरिएका हरवाचरवाको लगत सङ्कलन, प्रमाणीकरण गरी परिचयपत्र वितरण, कम्तीमा पाँच कठ्ठा जमिन, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षासहित पुनःस्थापनाको एकीकृत ‘प्याकेज’ घोषणा हुनुपनुपर्नेलगायतका माग मुक्त हरवाचरवाले गरिरहेका छन् । सो कार्य गर्न प्रदेश सरकारले पुनःस्थापनासम्बन्धी निर्देशिका तथा कार्ययोजना मन्त्रिपरिषद्बाट पारित गर्नुपर्ने उनीहरूको मागअनुसार आवश्यक प्रक्रिया सुरु गरिसकेको भनेर प्रदेश सरकारका मन्त्रीहरूले जानकारी दिए पनि आफूहरू विश्वस्त हुन नसकेको मञ्चका महोत्तरी जिल्ला अध्यक्ष सावित्री सदाले बताउनुभयो ।
“सरकारका मन्त्रीले आवश्यक प्रक्रिया सुरु भइसकेको भन्नुहुन्छ । तर त्यसमा ठोस प्रगति नभएमा जनकपुरदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने योजनामा छौँ । त्यसको आधार तयार गर्न आगामी राष्ट्रिय सम्मेलन एक सशक्त माध्यम हुने हाम्रो विश्वास छ”, उहाँले राससलाई भन्नुभयो ।(रासस)
काठमाडौँ, २२ पुस :
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको जानकारी दिनुभयो ।
राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो । राष्ट्रियसभाको निर्वाचनका लागि भोलि सोमबार उम्मेदवार मनोनयन दर्ता हुँदैछ । राष्ट्रियसभाको निर्वाचन भने अगामी माघ ११ गते हुने निर्वाचन आयोगले जनाएको छ । कांग्रेसले बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ ।(रासस)
पुस २१ गते।
जनता समाजवादी पार्टी जसपा नेपाल निकट समाजवादी ट्रेड युनियन महासंघको बागमती प्रदेश समिति पुनर्गठन भएको छ ।
शनिबार जोरपाटी नयाँबस्तीस्थित गोल्डेन कार्पेटको प्राङ्गणमा आयोजित भेलाबाट योगेन्द्र साम्पाङ राईको अध्यक्षतामा १७ सदस्यीय समिति पुनर्गठन गरिएको महासंघका केन्द्रीय उपाध्यक्ष सुरेश मोक्तानले जानकारी गराएका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन संयुक्त संयन्त्रका प्रमुख रणध्वज कन्दङ्वा, महासंघका केन्द्रीय अध्यक्ष अर्जुन लम्साल, उपाध्यक्ष सोनाम लामालगायत उपस्थित रहेका थिए ।
पुस २१ गते ।
जनता समाजवादी पार्टी ९जसपा० नेपालनिकट दलित मुक्ति संगठनको केन्द्रीय समिति पुनर्गठन भएको छ ।
शनिबार जनकपुरमा आयोजित भेलाले चमेली देवी दासको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी समिति र ९९ सदस्यीय केन्द्रीय समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षहरुमा चन्देश्वर सदा, रमेश सि।के नेपाली, सुनिता देवी मोची, सावित्रा बिश्वकर्मा, भीम विश्वकर्मा र नरभान पार्की रहेका छन् ।
भेलाले संगठनको मुख्यसचिवमा प्रदीप घताललाई चयन गरेको छ भने सचिवमा बालकुमार मुदेल, देवनाथ पासवान, राजेशकुमार दास, रामप्रित महरा, किरण देवी दास र कोषाध्यक्षमा कृष्णकुमारी तामाङ दास चयन भएका छन् ।
काठमाडौँ, २१ पुस :
चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव शि युगाङको नेतृत्वमा नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग आज हरितगृह लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गरेको छ ।
त्यस अवसरमा उपराष्ट्रपति यादव र उपसचिव युगाङबीच दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, भ्रमण, सहयोग, व्यापार तथा पर्यटनलगायतका विविध आयामका विषयमा संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपति यादवले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको सौहार्दपूर्ण एवं अति घनिष्ट सम्बन्ध हालैका वर्षहरूमा बहुआयामिक क्षेत्रमा अझ व्यापक, थप घनिष्ट र अरु उच्च बनेकामा खुसी व्यक्त गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, “नेपाल र युनानका भौगोलिक तथा सामाजिक र सांस्कृतिक विशेषतामा धेरै समानता छ, नेपाल र युनानबीचको सम्बन्ध हालका वर्षहरूमा व्यापार, लगानी, संस्कृति, शैक्षिक आदान–प्रदान र जनताबीचको सम्बन्धमा निरन्तर बढ्दै गएकामा खुसी व्यक्त गर्दछु ।”
उपराष्ट्रपति यादवले चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहँदै झण्डै सात दशकयता नेपालको विकासमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवादसमेत व्यक्त गर्नुभयो ।
चिनियाँ कम्युनिष्ट पार्टी, युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव महामहिम शि युगाङले सन् २०२४ मा चिनियाँ उच्च प्रतिनिधिमण्डलले नेपालबाटै आफ्नो भ्रमण सुरु गरेको जनाउँदै नेपाललाई विशेष महत्व दिएरै यो सम्भव भएको बताउनुभएको थियो । (रासस)
सप्तरी, २१ पुस :
सप्तरीबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले आज पत्रकार सम्मेलन गरी राजगढ गाउँपालिका–२ झौराचोकबाट पक्राउ परेका भारत मधुवनी भरफोर ग्राम पञ्चायत–३ सुब्बाटोलका २५ वर्षीय सञ्जयकुमार यादवलाई नगदसहित सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न सवारीसाधन जाँच गर्ने क्रममा बिआर५०बी १५४२ नंको मोटरसाइकल रोकी जाँच गर्दा यादवलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्दी ब्रजाचार्यले बताउनुभयो । मोटरसाइकलको डिक्कीमा लुकाई भारु नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा यादव पक्राउ परेका हुन् ।
उनीसँग भारु पाँच सयका तीन सय ३९ थान, दुई सय का पाँच सय ३० थान, एक सयका एक हजार नौ सय ८० थान, ५० का एक हजार ३४ थान, २० का एक सय ९७ थान, १० का आठ सय ८३ थान नोट फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।(रासस)
काठमाडौँ, २१ पुस :
सर्लाहीको बरहथवा नगरपालिकामा प्रदर्शनका क्रममा मानवीय क्षति भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।
उक्त घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा आज तीन सदस्यीय समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
समितिमा प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहनुभएको छ । सर्लाहीमा यही पुस २० गते प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तरोन्नति गर्ने–नगर्ने भन्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा बरहथवा नगरपालिका वडा नं ५ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको थियो ।(रासस)
पर्वत, २१ पुस :
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सङ्घीय निजामती सेवा ऐन पारित गरेर तत्काल कार्यान्वयनमा ल्याउन माग गर्नुभएको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठन पर्वतको जिल्ला परिषद् तथा प्रशिक्षण कार्यक्रमलाई आज पर्यटकीय गाउँ भुकदेउरालीमा सम्बोधन गर्दै नेता ज्ञवालीले निजामती ऐन कार्यान्वयनमा नल्याउँदा प्रशासनिक क्षेत्रमा समस्या पैदा हुँदै गएको धारणा राख्नुभयो । उहाँले सरकारले तत्काल सदनमा लगेर निजामती ऐन पारित गराउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले निजामती सेवा तथा शिक्षा ऐनलगायतका विधेयक पारित नहुँदा सङ्घीयता कार्यान्वयनमा समस्या भएको बताउनुभयो । “आम कर्मचारीको मनोबल बढाउनका लागि पनि तत्काल यो पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्छ”, उहाँले भन्नुभयो ।
संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि नयाँ संविधानअनुरूप सङ्घीयता कार्यान्वयनसम्बन्धी कानुन निर्माण हुन नसक्नु आश्चर्यको विषय भएको उहाँको भनाइ थियो । पूर्वमन्त्रीसमेत रहनुभएका ज्ञवालीले आसन्न राष्ट्रियसभा निर्वाचनमा एमालेले सबै पदमा उम्मेवार उठाउने बताउनुभयो । राष्ट्रियसभा निर्वाचनमा एमालेसँग सहकार्य गर्न खोजिएको बताउँदै कसैको विश्वासमा लागेर एमालेले कुनै सहमति र सम्झौता नगर्ने दाबी गर्नुभयो । एमाले सरकारको खेलमा भन्दा पनि पार्टी मजबुत बनाउनतर्फ लागेको बताउँदै ज्ञवालीले २०८१ साललाई शुद्धीकरण वर्षका रूपमा मनाउन तयारी गरेको बताउनुभयो ।
कार्यक्रममा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सङ्घीय निजामती ऐन पारित गर्न सरकारले आनाकानी गरेको आरोप लगाउनुभएको छ । उहाँले कर्मचारी आम नागरिकका सेवक भएको बताउँदै नागरिकलाई चुस्तदुरुस्त सेवा प्रवाह गर्नसमेत आग्रह गर्नुभयो । स्थायी सरकारका रूपमा रहेका कर्मचारीलाई राज्यले उचित सम्बोधन गर्न नसकेको बताउनुभयो । (रासस)
काठमाडौँ, २१ पुस :
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाल मुलुकको विद्युत् प्रणालीमा दुई हजार आठ सय ५२ मेगावाट बिजुली उपलब्ध रहेको बताउनुभएको छ । नेपाल उद्योग व्यापार महासङ्घको दोस्रो साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कूल जडित क्षमता तीन हजार पाँच सय मेगावाट पुग्ने बताउनुभयो ।
ऊर्जामन्त्री बस्नेतले २०७२ पछि मुलुकको ऊर्जा क्षेत्रले अपेक्षित प्रगति गरेको बताउँदै पछिल्लो एक वर्षमा पाँच सय मेगावाट बिजुली थप भएको र आगामी तीन महिनामा पाँच सय मेगावाट विद्युत थपिने उहाँले जानकारी दिनुभयो ।
मन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा थप प्रगति गर्न अझ मेहनत जरुरी रहेको उल्लेख गर्दै समस्याको जगमा नै समाधान खोज्न सकिने बताउनुभयो । उहाँले बहकिएर मात्रै मुलुकको अर्थतन्त्रलाई सहि बाटोमा अगाडि बढाउन नसकिने धारणा राख्नुभयो । उहाँले अर्थतन्त्रको दबाव चिर्दै राष्ट्रिय पुँजी निर्माण गर्न सरकार र व्यवसायी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
“तथ्य तथ्याङ्कले भन्छ, मुलुक आर्थिक विकास र समृद्धिको दिशातर्फ अघि बढेको छ”, ऊर्जामन्त्री बस्नेतले भन्नुभयो, “एक वर्षको निरन्तर मेहनतबाट अर्थतन्त्र सुधारको अवस्थामा छ । देश उन्नतितर्फ अघि बढिरहेकाले अब निरासाजनक नभइ उत्साहकासाथ अघि बढ्नुपर्छ ।”
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा व्यक्त महासङ्घको वार्षिक साधारण सभाको सफलताको शुभकामना सन्देश ऊर्जामन्त्री बस्नेतले सुनाउनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले सरकारले समस्याग्रस्त अर्थतन्त्रलाई सुधार्न उपयुक्त कदम चालेकाले मुलुकको अर्थतन्त्र गतिशील बन्दै गएको बताउनुभयो । उहाँले यसलाई गतिशील बनाउन जलविद्युत, ऊर्जा, कृषिलगायत क्षेत्रमा लगानी अभिवृद्धि गर्दै आन्तरिक उत्पादन र रोजगारी बढाउनेतर्फ अग्रसर हुनुको विकल्प नरहेको बताउनुभयो ।
आर्थिक समृद्धिका लागि उद्योग, व्यापार क्षेत्रको महत्वपूर्ण योगदान रहने भन्दै श्रेष्ठले राष्ट्रिय पुँजी निर्माण र औद्योगिक प्रवद्र्धनमा केन्द्रित हुन जरुरी भएको खाँचो औँल्याउनुभयो ।
पूर्वमन्त्री टेकबहादुर बस्नेतले मुलुकको अर्थतन्त्रलाई सकारात्मक दिशामा अगाडि बढाउन सरकार, राजनीतिक दल र निजी क्षेत्रबीच प्रभावकारी समन्वय र सहकार्य जरुरी रहेको बताउनुभयो । पूर्व मुख्यसचिव लिलामणि पौडेलले मुलुकले सामना गरिरहेको अर्थतन्त्रको दबावलाई नीतिगत र संरचनागत सुधार गर्न महासङ्घले सरकारलाई उपयुक्त सुझाव दिनुपर्ने बताउनुभयो ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले सकारात्मक दिशामा रहेको अर्थतन्त्रलाई थप प्रभावकारी बनाउन सरकार र निजी क्षेत्रको साझेदारिता फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
नेपाल राष्ट्रिय उद्योग व्यापार महासङ्घका अध्यक्ष नन्द बहादुर केसी, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष मोहन कटुवाल, व्यवसायी कृष्णप्रसाद आचार्यले साना उद्योगको संरक्षण तथा प्रवद्र्धनमा सरकारले विशेष ध्यान दिनपर्ने बताउनुभयो । महासङ्घका अध्यक्ष खिमलाल भण्डारीले अर्थतन्त्रको सुधारका लागि महासङ्घले सरकारलाई नीतिगत सुझाव प्रस्तुत गर्दै आएको बताउनुभयो । (रासस)