काठमाडौं, २० माघ ।
प्रभु साह नेतृत्वको आम जनता पार्टीले भ्रष्टाचार बिरुद्ध बिशाल मोटरसाईकल ऱ्याली निकालेको छ ।

सो पार्टीको उपत्यका संयोजन समितिले आज काठमाण्डूमा भ्रष्टाचार बिरुद्ध बिशाल मोटरसाईकल ऱ्याली निकालेको हो ।

“भ्रष्टाचारीलाई कारवाई गर, जनता लुट्न पाईदैन, लुटकारी व्यवस्था चाहिदैन” भन्ने नारा सहित निकालिएको उक्त ऱ्याली थापाथलीबाट त्रिपुरेश्वर हुदै रत्नपार्कमा पुगेर समापन भएको थियो ।

भ्रष्टाचारले आम जनता आजित भएको र देश बर्वाद भईरहेको सन्दर्भमा युवाहरुले भ्रष्टाचार बिरुद्ध काठमाण्डूमा देखाएको साहसिक प्रदर्शन असाध्यै सराहनीय कार्य भएको अध्यक्ष साहले जनाएका छन । ‘यसले आम जनसमुदायमा भ्रष्टाचार विरुद्ध लड़ने आत्मबिश्वास जागृत गर्ने र भ्रष्टाचारीलाई करवायीको लागि राज्यमाथी जनदवाव पुगने बिश्वास सहित यस महान कार्यमा सहयोग गर्ने र सहभागी हुने सम्पूर्णमा बिशेष धन्यवाद ज्ञापन गर्दछु ।’न्युजकारखाना





सिन्धुली, २० माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको बताएका छन ।
सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा आज दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै उहाँले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताएका हुन् ।
स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिँदै उहाँले त्यस्ता उद्योग सञ्चालनका लागि सम्बिन्धत मन्त्रालय र विभागलाई निर्देशन दिएको बताए । भारत र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीका रुपमा आफूले कृषिको यान्त्रिकीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न पहल गरेकोसमेत बताए ।
नेपालको कृषिको विकासका लागि छिमेकी मुलुकबाट पनि प्रतिबद्धता व्यक्त भएको उहाँको भनाइ छ ।
वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको स्प्ष्ट दृष्टिकोणसहित अघि बढेको उल्लेख गर्दै प्रधामन्त्री दाहालले सरकारबाट थालनी भएका जनपक्षीय कामबाट जनतामा सरकारप्रति आशा र भरोसा बढेको बताए । ‘सरकारले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकता दिएको छ, सुशासनको पक्षमा सरकारले महत्वपूर्ण कदम चालेको छ’, उहाँले भन्नुभयो, ‘जनताले पाइरहेको सास्तीलाई मध्यनजगर गर्दै सेवा प्रवाहलाई सहज बनाइएको छ ।”

प्रधानमन्त्रीको रुपमा आफूले द्विपक्षीय र बहुपक्षीय मञ्चमा नेपालका तर्फबाट जलवायु परिवर्तनका असरका मुद्दालाई प्रमुखताका साथ उठान गरेको जानकारी दिँदै उनले नेपालजस्ता पर्वतीय मुलुकका समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको स्मरण गर्नुभयो ।
मुलुकको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउन महत्वपूर्ण निर्णय लिइएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पछिल्ला समय अर्थतन्त्र सही अवस्थामा फर्किएको स्पष्ट पारेका छन । “अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन बृद्धि भएको छ”, उनले भने, “यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।”
प्रधानमन्त्री दाहालले दुधौली नगर अस्पताललाई आवश्यक पर्ने उपकरण, दक्ष जनशक्ति र कर्मचारीको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन । यस क्षेत्रमा विषालु सर्पको टोकाइबाट धेरैको ज्यान जाने गरेको जानकारी आफूले प्राप्त गरेको उल्लेख गर्दै उहाँले दुधौली अस्पतालमा सर्पदंश उपचारको व्यवस्था गरिने बताए ।
गरिब, दलित, उत्पीडित जनताको हकहितबाट मात्रै गणतन्त्र संस्थागत हुने भएकाले न्यून वर्गीय जनताको हकहितमा लाग्नुपर्नेमा जोड दिँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रण्को बिकल्प सुदृढ र समुन्नत गणतन्त्र नै रहेको त्यसको अर्को बिकल्प हुनै नसक्ने उनकाे भनाइ छ ।न्युजकारखाना
काठमाडाैं, २० माघ ।
के तपाई आफ्नो लेखलाई घर बसीबसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा ! त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाईं आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ ।
इन्टरनेटको पहुँच, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पाठकसम्म लेख पुग्ने सहजता तथा गुगल एडसेन्सलगायतका विज्ञापनदातासँग सहजै जोडिन सकिने कारणले लेखबाट घर बसीबसी सजिलै कमाउन सकिने भएको हो ।
ब्लग के हो ?
वास्तवमा कागज पानामा अनलाइन लेख्ने डायरी एउटा ब्लग हो, जसमा हाम्रो समाजका गतिविधिहरू र विचारहरू र विचार व्यक्त हुन्छन् ।
जुन इन्टरनेटमा विश्वका विभिन्न भागहरू मार्फत देखा पर्दछ, जहाँ सल्लाह र प्रतिक्रिया विश्वका सबै ठाउँबाट साझा गर्न सकिन्छ । यसैले त्यहाँ वेब माध्यममा एक डायरी लेखिएको छ, यसलाई वेब ब्लग भनिन्छ, जुन छोटो ब्लग हो ।
सबै चीज परिवर्तन हुँदैछ, समयको चक्रमा सबै परिवर्तन हुँदैछ। इन्टरनेटमा पनि यही लागू हुन्छ । प्रारम्भिक पश्चिमी देशहरूमा बढ्दो परिष्कृत इन्टरनेट टेक्नोलोजी र द्रुत अनलाइन व्यापारका कारण व्यवसाय प्रबर्द्धनका लागि विभिन्न वेबसाइट र ब्लगहरू सिर्जना गरिएका छन् । विभिन्न अनलाइन विज्ञापन एजेन्सीहरू र अनलाइन रोजगार एजेन्सीहरूको स्थापना भएको छ ।
ब्लग कसरी बनाउने ?
यसका लागि सुरुमा गुगलको ब्लगर, वर्ड प्रेसजस्ता निःशुल्क साइटमा अकाउन्ट बनाउनुपर्छ । ब्लग बनाउन सजिलो छ । गुगलको ब्लगरमा बनाउन चाहनुहुन्छ भने यसमा हेर्नुहोस् कस्तो बन्छ । यसमा गएर कसरी बनाउने सामान्य तरिका हेर्नुहोस् ।
यो ब्लग वर्डप्रेसको साइट हो । वर्डप्रेसमा बनाउन चाहनुहुन्छ भने यसमा गएर हेर्नुहोस् । जुन यहाँले हेरेर आफ्नो पनि सोही अनुसार बनाउन सक्नु हुन्छ । त्यसपछि त्यहाँ आफ्नो चाहना अनुसारको ब्लग डिजाइन गर्नुपर्छ र लेख्न थाल्नुपर्छ ।
कमाउनका निम्ति आफूले धेरै भन्दा धेरै पाठक भने तान्न सक्नुपर्छ । किनभने जति धेरै पाठकले आफ्नो लेख पढ्छन् उति नै पटक आफ्नो ब्लगमा आएको विज्ञापन हेर्छन् र आफूले उत्तिकै धेरै कमाउन सकिन्छ । त्यसैले पाठकले रुचाउने लेख लेख्नेतर्फ ध्यान दिनुपर्छ ।
भाषा
सकेसम्म अन्तर्राष्ट्रिय रूपमा प्रचलित भाषा प्रयोग गर्नुपर्छ । एडसेन्सजस्तै अन्य केही विज्ञापनदाताले सबै भाषा सपोर्ट गर्छन्, तर प्रचलित विज्ञापनदाताहरू जस्तै गुगलको एडसेन्स तथा माइक्रोसफ्ट अनि याहुले सञ्चालन गरेका एड नेटवर्कहरूले भने नेपाली भाषालाई सपोर्ट नगर्ने हुँदा आफूले कमाउने रकम घट्न सक्छ ।
त्यसैले सकेसम्म अंग्रेजी वा अरू कुनै प्रचलित भाषा प्रयोग गरेर आम्दानी बढाउन सकिन्छ । तर यदि नेपालीमा ब्लग लेख्नुहुन्छ भने अन्य केही एड नेटर्वकहरुबट पैसा कमाउन सकिन्छ त्यसको लागि अर्कोमा लेखौंला ।
पैसा कसरी कमाउन सकिन्छ त ?
तपाईंले अब ब्लग कुन भाषामा लेख्नु भएको छ त्यसमा भर पर्छ । यदी तपाईंले अङ्ग्रेजी भाषामा लेख्नु भएको छ भने एड्सेन्स तपाईंलाई राम्रो विकल्प हुन सक्छ । पैसा कमाउनको लागि तपाईंल आफ्नो ब्लगमा ३० भन्दा धेरै लेख तयार गर्नुहोस् र एडसेन्स अप्लाई गर्नुहोस् । तपाईंको लेख अन्य साइटबाट कपी भएको हुनु हुँदैन ।न्युजकारखाना
काठमाडौं, २० माघ ।
नेपाली कांग्रेसका युवा नेता तथा पार्टी केन्द्रीय सदस्य नैनसिंह महरले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कांग्रेसको ढाडमा टेकेर टाउकोमा हिर्काउने रणनीति अनुसारको व्यवहार गर्न थालेको बताएका छन् ।
नेपाली कांग्रेस चाँगुनारायण नगर प्रथम सम्मेलनको आज भक्तपुर दुवाकोटमा उद्घाटन गर्दै नेता महरले गठबन्धनको ठूलो दल नेपाली कांग्रेस भए पनि सरकारले जनपक्षिय काम गर्न नसक्दा आफ्नो असफलताको भारी कांग्रेसलाई बोक्न बाध्य पारेको बताएका हुन् ।
जनताका जनजिविकाका सवालहरु बिर्सिएको सरकार भ्रष्टीकरणतर्फ जान थालेको बताउँदै नेता महरले प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुले स्वंय कार्य सम्पादनमा सफलता प्राप्त गर्न नसकेको स्वीकार्न थालेकाले सरकार अकर्मण्यतार्फ उन्मुख भएको उनको टिप्पणी छ ।
सरकारले सुशासनका पक्षमा काम गर्न नसकेका कारण कांग्रेसको देश र जनता केन्द्रित मिसन असफल हुनेतर्फसमेत नेता महरले चिन्ता व्यक्त गरेका छन् । कांग्रेसको सहारा लिएर कांग्रेसलाई असफल देखाउने प्रपञ्च सह्य नहुने भन्दै उनले प्रधानमन्त्री प्रचण्डलाइ चेतावनी समेत दिएका छन् ।
कांग्रेसलाई असफलताबाट जोगाउन प्रधानमन्त्री प्रचण्डको राजिनामा माग्नुपर्ने महरको भनाई थियो ।न्युजकारखाना
पाेखरा, २० माघ ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारका कारण देश संकटमा पर्दै गएको बताएका छन ।
प्रेस चौतारी नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले गठबन्धनले सत्ता टिकाई राख्नको लागि सबै खालका हरकत गरेकोसमेत बताए ।
‘देश वहुआयामिक सङ्कट तिर धकेलिरहेको अवस्था छ, यो सङ्कटले समाजमा ठुलो छटपटी, नैराश्य र व्यापक अन्यौलता बढेको छ’, उनले भने, ‘राज्यले कोही नभए पनि सरकार छ भन्ने विश्वास जगाउनु पर्नेमा सरकारकोतर्फबाट त्यो हुन सकेको अवस्था छैन ।’ देशको हरेक क्षेत्र ओरालो लाग्दै गएको पनि ज्ञवालीको टिप्पणी रहेको छ ।
युवाहरूमा अब देश बन्दैन, देशमा भविष्य छैन भन्ने निराशा बाँड्ने काम सरकारले गरेको ज्ञवालीले बताए । मुलुकको बाह्य सम्बन्धमा समेत आँच आउने काम सरकारबाट भएको भन्दै ज्ञवालीले चिन्ता व्यक्त गरेका छन ।
देश र जनतालाई कमजोर बनाएर सरकार बलियो बनाउने प्रयासमा गठबन्धन लागेको उनको भनाइ छ । सरकार उल्टो दिशामा हिँडेको कारण यो सरकारको विकल्प खोज्ने बेला आएको ज्ञवालीको भनाइ छ । देशमा मौलाउँदो बेथिति एमालेले टुलुटुलु हेरेर बस्न नसक्ने उहाँले स्पष्ट पारेका छन ।
देशका थुप्रै योजना भारतलाई हस्तान्तरण गरेर भारतको आसिर्वाद लिने काम गरिएको ज्ञवालीले भनाइ छ । यसरी लिएका योजना भारतले होल्ड गरेर राख्ने काम मात्र गरेको ज्ञवालीले जनाएका छन ।न्युजकारखाना
काठमाडौं, २० माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताएका छन ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारीको योगदान धेरै नै महत्वपूर्ण रहेको बताएका हुन् ।
सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा सरकारलाई कर्मचारी क्षेत्रको अझ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन ।
उनले सुशासन कायम गर्न तथा कर्मचारीतन्त्रभित्र देखापरेका समस्या समाधान गर्न कर्मचारी सङ्गठनबाट सहयोगको अपेक्षा गरिएकोसमेत बताए ।न्युजकारखाना
रौतहट, १९ माघ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीहरूप्रति बढ्दै गएको निराशालाई चिर्न ग्रास रुटमा बसोबास गर्ने आम नागरिकको समस्यालाई बुझेर समाधानको प्रयासमा कांग्रेसले समुदायमा जाने अभियान सञ्चालन गरेको बताए।
आम नागरिकमा निराशा रहेको बताउँदै उनले यस्तो अवस्थामा पार्टीप्रति वितृष्णा बढ्दै गएकाले त्यो चिर्नुपर्ने बताए। समुदायमा जान मेचीदेखि महाकालीसम्मको यात्रा प्रारम्भ गरेर जनताको कुरा बुझ्ने प्रयास गर्नुका साथै सम्बोधन गर्ने अभियानमा आफूसहितका शीर्ष नेताहरू जनताहरूसँग संवाद गरेर हिँडेको स्पष्ट पारे।
नागरिकद्वारा उठाइएको कुराको जवाफ दिँदै महामन्त्री थापाले मधेशको प्रमुख समस्या भनेको कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारको समुचित रुपमा सम्बोधन र व्यवस्थापन नभएको हुँदा जनताहरुमा निराशा छाएको हुँदा उक्त निराशालाई चिर्ने प्रयास कांग्रेसले गर्ने उनले प्रष्ट पारे। ‘कुनै पनि पूर्वाधार समयमा पुरा नहुनु निकै विडम्बनापूर्ण रहेको बताउँदै नेपाली निर्माण व्यवसायी कतारमा काम गर्दा ६ महिना वर्ष दिन नवित्दै पुरा गर्छन्। तर, त्यही निर्माण व्यवसायीहरू नेपालमा किन गर्न सक्दैनन्,’ उनले भने।
पूर्वाधारको कार्यमा कानुन अप्ठ्यारो भए सांसदहरूले कानुनलाई परिवर्तन गरेर पूर्वाधारको कार्यलाई खुकुलो बताउनु पर्ने बताए। मधेशका किसानलाई सिंचाईको सुविधा नरहेको हुँदा सुनकोशी मरिन डाइभर्सनलाई पुरा गराएर बागमती, कमला लगायतका नदीहरूमा पानीको बहाव तीव्र बनाइ त्यसबाट निस्किएका नहरलाई सुचारु गराई सिंचाईको पूर्ण सुविधा दिन कांग्रेसले जोड दिएको उनको भनाइ छ। शिक्षाको स्तर सुधारी कुशल व्यवसायी, दक्ष प्राविधिक, दक्ष जनशक्तिको उत्पादन भएमा मात्रै विकसित मुलुक बन्ने ठोकुवा गरे।
संघीय सरकार, प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी रहेको हुँदा आफ्नो एकमात्र मिशन २०८० सालमा जनताको निराशालाई आशामा परिणत गराउदै मिशन ८४ लाई नेपाली कांग्रेसमय बनाउने अभियानमा कांग्रेसले जनजनको आवाजलाई सहित ढंगबाट सम्बोधन गरेरअघि बढ्मा मात्रै पुरा हुने बताए।न्युजकारखाना
काठमाडौं, १९ माघ ।
नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने गरी १० जना संयोजकको जिम्मेवारी दिएको छ।
नेपाली कांग्रेस संसदीय दलको बैठकले अर्थ समितिको संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा. नारायण खड्का, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रमा कोइराला पौड्याललाई संयोजक तोकेको छ।
कानुन न्याय तथा मानव अधिकार समितिमा नागिना यादव, कृषि, सहकारी तथा प्राकृति स्रोत समितिमा कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिला समितिमा आशा विकलाई संयोजकको जिम्मेवारी दिइएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिमा दिलेन्द्रप्रसाद वडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लिलादेवी बोखिम (लिम्वू) र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरे संयोजक तोकिएका छ।न्युजकारखाना
सर्लाही, १९ माघ ।
हरिवन नगरपालिका-११ कडरिया चोकबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट १ सय ७२ थान र अवैध लागूऔषध गाँजा ८ ग्राम ८१० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट माधव नारायण नगरपालिका-२ बस्ने ३६ वर्षीय संजय सहनी र सर्लाही बलरा नगरपालिका-७ बस्ने २३ वर्षीय अम्रेन्द्र महरा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले प्र.०२-०२७ प ४२५६ नम्बर र बिआर ३० एसी८३१८ नम्बरका दुई वटा मोटरसाइकललाई जाँच गर्न खोज्दा दुवै चालकहरू भाग्न खोजेपश्चात दुवैलाई नियन्त्रणमा लिई तलासी गर्दा प्र.०२०२७ प ४२५६ नम्बरको मोटरसाइकल चालक संजयको साथबाट उक्त परिमाणको नक्कली नोट र बिआर ३० एसी८३१८ नम्बरको मोटरसाइकल चालक अम्रेन्द्रको साथबाट लागूऔषध गाँजा फेला पारी पक्राउ गरेको हो ।
संजयको साथमा रहेका २५ बन्डलमध्ये २१ बन्डलमा तल र माथि १ हजार दर साइजको नक्कली नोट र बिचमा नोटको साइजमा काटेको सादा कागज र ४ बन्डलमा टेस्टी बिस्कुटको २० पुरियामा तल माथि नक्कली जस्तो देखिने १ हजार दरका नोट प्लाष्टिक र टेपले बेरेको अवस्थामा रहेको फेला परेको हो ।न्युजकारखाना
सिरहा, १९ माघ ।
सिरहाको लहान नगरपालिकाले दलित तथा विपन्न परिवारलाई चिसो छल्न च्यातिएको कम्बल वितरण गरेको पाइएको छ। नगरपालिकाका प्रत्येक वडाका लागि ५० देखि ८० जना दलित, गरिव, विपन्न र ज्येष्ठ नागरिकलाई चिसो छल्न वितरण गरिएको कम्बल अधिकांश च्यातिएको पाइएको हो।

एक वर्षअघि खरिद गरि राखिएको कम्बल जाडो सकिन लागेपछि पालिकाले वितरण गरेको छ। पुस मसान्तमा ह्वातै चिसो बढेर जनजीवन प्रभावित बने पनि कम्बल जाडो कम हुँदै गएपछि वितरण गरिएको छ।
कुनै न कुनै वहानामा मिडियामा छाइरहने बानी परेका लहान नगरपालिका नगर प्रमुख महेश चौधरी यो पटक पातलो र च्यातिएको कम्बल लिएर दलित, गरिवको वस्तीमा पुगेका छन्। दलित गरिवहरूले राम्रो सामान प्रयोग गर्न हुँदैन भन्ने जनप्रतिनिधिहरूको मानसिकता कम्बल वितरणले देखाएको दलित अधिकारकर्मीहरू बताउँछन्।

लहान नगरपालिका-१७ बलानसेरकी ४५ वर्षीय फुलवा सदका अनुसार नगरपालिकाले वितरण गरिएको कम्बल साह्रै पातलो त्यसमा पनि अधिकाम्स कम्बल भ्वाङ परेका छन्। उनी भन्छीन्, ‘हामी दलितहरू कहिलेसम्म यसरी जनप्रतिनिधिबाट अपहेलित भएर बस्नु? यो कम्बल चिसो छल्न दिएकको हो कि खुट्टा पुछ्न ? च्यातिएको कम्बलले पनि चिसो छल्न सकिन्छ ? मेयर साव।’
जाडोबाटा गरिवलाई बचाउने भन्दा पनि ‘राहत’को नाममा कमिशन खाने जनप्रतिनिधी र कर्मचारीको मेलो भएको सोही वडाका ३५ वर्षीय लिलम सदा बताउँछिन्। उनी भन्छन्, ‘हामीलाई जाडो बाट बचाउने भन्दा पनि कमिशन कुम्ल्याउने मेलो देखियो। पतलो र च्यातिएको कम्बलले जाडो जान्छ?’

स्थानीय जनप्रतिनिधी र कर्मचारीले असहाय, गरिव, दलितको नाममा लुट नै मचाएको सदायले आरोप लगाएकी छिन्। जनप्रतिनिधीले एक सयमा खरिद गरिएको समानको पाँच सयदेखि हजार रुपैयाँ सम्मको विल बनाएर खाने गरेको उनको आरोप छ। उनी भन्छिन्, ‘एक त पातलो कम्बल त्यसमापनि च्यातिएको कम्बलले कतिदिन चिसो छल्ने ? यो भन्दा राम्रो त नदिए कै जाती हुन्थ्यो।’

वडा नम्बर १७ मा नगरप्रमुख महेश चौधरीकै हातबाट दलितग, गरिव, ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिलासहित ८० जनालाई कम्बल वितरण गरेका थिए। वितरण गरिएका अधिकाम्स च्यातिएको कम्बल रहेको नाम नबताउने शर्तमा एकजना कर्मचारीले नै जानकारी दिए। उनले भने, ‘अहिले वितरण गरेको कम्बल गत आर्थिक वर्षको असार मसान्तमा मेयर चैधरीको ठाडो आदेशमा विपद व्यव्स्थापन अन्र्तगतको वजेटबाट हतार–हतारमा गोप्य सुचना जारीगरी खरिद गरिएको थियो। त्यसवेला करिव एक हजारका दरले खरिद गरिएको एकहजार थान कम्बल अहिले वितरण भईरहेको ती कर्मचारीले जानकारी दिए।

यस विषयमा लहान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु प्रसाद साहसँग पटक पटक फोन गरेपनि उनको फोन स्विच अफ रहेको थियो। १७ नम्बर वडाका वडा अध्यक्ष प्रथमलाल चौधरीसंग प्रतिकृयाका लागी सम्पर्क गर्दा उनीसँगपनि सम्पर्क हुन सकेन्।

लहान नगरपालिका जिन्सि शाखा प्रमुख भवानी चौधरीले गत आर्थिक वर्षमा १ देखि २४ वटै वडाको लागी करिव १ हजार थान कम्बल खरिद गरिएको जानकारी दिए। कम्बल कुन प्रकृयाबाट कुन र्फमले, कति दररेटमा खरिद गरिएको प्रश्नमा भनृ उनले आफू बाहिर रहेकाले तत्काल जानकारी गरान असमर्थ रहेको बताए। उनले भने, ‘म अहिले बाहिर छु, तपाई अफिस आउनुस्, सुचना मागँ गर्नुहोला हामी सूचना दिउला। अहिले फोनमा दिन नमिल्दैन।’

त्यही कुराहुँदै गर्दा उनले फोनमै पालिका तिरै आउनुस्न यतै बसेर मिलाउला भन्दै प्रलोभन समेत दिन खोजेका थिए।
स्थानीय जनप्रतिनिधी र कर्मचारीहरु लक्षित वर्गलाई राहत दिनुभन्दा पनि कमिसनबापत ठूलो रकम कसरी कमाउने भन्ने उद्देश्यले मात्र दैविक प्रकोपको नाममा रकम विनियोजन गर्ने र सामाग्री खरिद गरेर व्यापक अनियमितता गर्ने गरेको जानकारहरु बताउछन्।न्युज कारखाना