महोत्तरी, २१ माघ ।
महोत्तरीमा पहिलो पटक खाना सडक महोत्सव हुने भएको छ ।
जिल्लाको उत्तरवर्ती नगरपालिका बर्दिवासमा फाल्गुन ५ देखि ३ दिनसम्म महोत्सव हुने भएको हो ।
होटल तथा पर्यटन व्यवसायी संघको आयोजनामा हुने उक्त खाना सडक महोत्सव नितान्त पर्यटन प्रवद्वन गर्ने उदेश्य रहेको आयोजक पक्षले जनाएको छ । आर्थिक मन्दिका कारण व्यवसाय धराशयी बनिरहेको बेला महोत्सवले व्यवसायलाई समेत चलायमान बनाउन सक्ने पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले वताए ।
अझ मौलिक खानाको माध्यमवाट जिल्लाको खाना संस्कार समेत अनुभव गर्न सकिने आयोजक पक्षको भनाई छ । मौलिक खानाको साथै मौलिक संस्कार र संस्कृती पनि सडकमा देख्न सकिने महासचिव नारायण घिमिरेले जानकारी दिए । उनका अनुसार बर्दिवासस्थित सिन्धुली सडक खण्डको दायाँतर्फ झण्डै २ सय मिटरको लम्बाईमा ५० भन्दा बढी स्टल राखिने र स्थानिय र राष्ट्रिय कलाकारहरुको माध्यमवाट भरपुर मनोरञ्जन प्रदान गर्ने आयोजक पक्षले तयारी गरेको छ ।
नि:शुल्क प्रवेश गर्न सकिने उक्त महोत्सवको व्यवस्थापनको लागी बर्दिवास नगरपालिकाले ६ लाख ५० हजार सहयोग गरेको छ भने १० लाख भन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । वाँकी लागत स्टल र अन्य माध्यमवाट संकलन गरिने अध्यक्ष कार्कीले बताए ।
संस्कृती , पर्यटन तथा पर्वद्वन समिती बर्दिवासको समेत सहभागीमा मौलिक संस्कारलाई यथेष्ट प्रचारप्रसार गरेर पर्यटन विकासमा भुमिका खेल्ने आयोजक पक्षले जनाएको छ । स्टलमा राखिएका खानाहरुमा अधिकतम २० देखि ४० प्रतिशतसम्म छुट हुने आयोजक पक्षले जानकारी दिएको छ ।न्युजकारखाना
काठमाडौं, २१ माघ ।
नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बस्दैछ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ८ बजे बोलाइएको छ।
भोली देखी सुरू हुने संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषय र पार्टीको पोजिसनको बिषयमा छलफल हुने जनाइएको छ ।न्युजकारखाना
काठमाडौं, २१ माघ ।
हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भू-भागको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भू-भागको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका हल्का हिमपातको सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भू-भागको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।न्युजकारखाना
सिरहा, २० माघ ।
लागूऔषधसहित प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ। विभिन्न प्रकारका प्रतिबन्धित लागूऔषधसहित लहान नगरपालिका ७ घर भई हाल ८ नम्बर वडामा डेरा गरी बस्ने ५५ वर्षीय राजकुमार ठाकुर र उनका छोराहरू २९ वर्षीय प्रमोद र २५ वर्षीय राकेशलाई नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा लागूऔषध ब्युरो जनकपुर शाखा कार्यालय गोलबजार र इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको संयुक्त टोलीले उनीहरूको साथबाट कोडबिल सय एमएलको १५ बोतल, वीक्सडीन सय एमएलको ६५ बोतल, डाईजीफाम ६ एम्पुल, फेनारगन ७ एम्पुल र नुरफ्रेन ६ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट एक लाख ३९ हजार नगद समेत बरामद गरेको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ। न्युजकारखाना
विराटनगर, २० माघ ।
मोरङका दुई भिन्नाभिन्नै स्थानमा सडक हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार दिउँसो मोरङको रंगेली नगरपालिका रंगेली–३ रन्जनीस्थित आनन्द इँटा भट्टाभित्र को १ त ८५७८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको हो।
दिउँसो करिब साढे ३ बजेतिर इँटा भट्टाभित्रै माटो ओसारपसार गर्ने क्रममा इँटा भट्टामा काम गर्ने कामदार भारतको कुचबिहार बंगालका ५५ वर्षीय बिसन्दु मियाँलाई ठक्कर दिएको थियो।
ट्र्याक्टरको ठक्करबाट मियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। दुर्घटनापछि फरार रहेका ट्रयाक्टर चालक रंगेली–३ रन्जनीका २१ वर्षीय विवश मुर्मुलाई रंगेली प्रहरीले नियन्त्रणमा लिएको छ। मियाँको शव भने पोस्टमार्टमका लागि रंगेलीस्थित रंगेली अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।
यस्तै, मोरङको लेटाङ नगरपालिकामा दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारका क्रममा आज मृत्यु भएको छ। माघ १४ गते दिउँसो २:५० बजे लेटाङ–२ स्थित भित्री सडकखण्डमा लेटाङबाट बुधबारेतर्फ जाँदै गरेको को २७ प ३७६८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो।
जसमा मोटरसाइकल चालक लेटाङ–३ का २४ वर्षीय राजन राई घाइते भएका थिए। घाइते उनको विराटनगरस्थित विराटनगर नर्सिङ होममा उपचारका क्रममा आज बिहान ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। न्युजकारखाना
सुनसरी, २० माघ ।
सुनसरीमा भैँसी चोरको साथबाट प्रहरीले कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको छ। हरिनगरा गाउँपालिका-१ हर्षाही बस्ने ४० वर्षीय किसान यादवलाई प्रहरीले कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा लाग्ने गोलीको खोका एक थानसहित पक्राउ गरेको छ।
भोक्राहा नर्सिङ गाउँपालिका-४ लबटोलिया बस्ने जुगेश्वर यादवको २ वटा भैँसी चोरी गरी भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी चिरौलीबाट खटिएको प्रहरीले चोरीमा संलग्न यादवलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो। प्रहरीले चोरीमा संलग्न हाल फरार अन्य व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ।न्युजकारखाना
उदयपुर, २० माघ ।
प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन्।

उदयपुरको त्रियुगा नगर वडा नम्बर ६ जलजले पुगेर उनले उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गरेका हुन्।

प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर बस्नेतले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए।
सो क्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर चलाउनुपर्ने बताए। आफूले उद्योगको समस्यालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले उद्योगलाई दीर्घकालीनरुपमा सञ्चालन गर्न सरकार तयार रहेको बताए।

उदयपुर सिमेन्टर नेपाल सरकारद्वारा सञ्चालित सिमेन्ट उद्योग हो। नेपाल र जापान सरकारको संयुक्त लगानीमा सो उद्योगको स्थापना भएको थियो।न्युजकारखाना
रौतहट २० माघ ।
रौतहटमा छुटाछुटै दुई स्थानबाट ४ वटा सालको गोलियासहित वन सुरक्षा टोलिले तस्करलाई पक्राउ गरेको छ।
वृन्दावन र चेतनगर सब-डिभिजन क्षेत्रको वनबाट लुकिछिपी कटान गरी ल्याइरहेको अवस्थामा चार थान साइकल, चार थान सालको गोलिया‚ एक थान मोटरसाइकलसहित तस्करलाई सुरक्षाटोलीले पक्राउ गरेको हो। सहायक वन अधिकृत अनिल महतोको कमाण्डमा गएको टोलीले काठ तस्कर गढीमाई नगरपालिका-९ का राकेशकुमार साहलाई पक्राउ गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए। साथै उनले प्रयोग गरेको बिआर ०६ बिके ५७६९ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रमुख मिश्रले जानकारी दिए।
बरामद १८ क्युफिट काठ‚ साइकल , मोटरसाइकल वृन्दावन सब-डिभिजन वन कार्यालयको नियन्त्रणमा रहेको छ। पक्राउ परेका काठ तस्कर राकेशलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुर पठाइएको बताइएको छ।न्युज कारखाना
चितवन, २० माघ ।
प्रणय दिवसलक्षित १८औं ‘सौराहा फुड फेस्टिबल २०८०’ आगामी माघ २८ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने भएको छ।
रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाको आयोजनामा रत्ननगर नगरपालिका–७ सौराहा (पर्यटक बस पार्क जाने बाटोको उत्तर तर्फ)मा पाँच दिनसम्म फुड फेस्टिबल सञ्चालन हुने भएको हो।
खाना, संगीत र संस्कृतिको अवधारणासहित हरेक वर्ष प्रणय दिवसको अवसर पारेर उक्त फेस्टिबलको आयोजना गर्दै आइरहेको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए। ‘सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरी हामीले फेस्टिबलका गतिविधिलाई अगाडि बढाउँदै आएका छौँ’, उनले भने, ‘यस्ता गतिविधिले कालान्तरसम्म पर्यटक भित्र्याउन टेवा पुग्ने विश्वास लिएका छौं।’
सम्पूर्ण पर्यटन व्यवसायीहरुमा उत्साह थप्दै विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी र विदेशी खानाको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक सूर्य बहादुर रिमालले जानकारी दिए।
रिमालका अनुसार फेस्टिबलमा बहुल जातजातीहरुको झाँकी प्रदर्शनी, प्रीति आले, मिलन लामा र पशुपति शर्मा लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, ‘दि एक्सीस ब्याण्डको प्रस्तुती, हाँस्य कलाकारको प्रस्तुती, अन्तर विद्यालय नृत्य प्रतियोगिता, स्थानीय जातजातीका खाना प्रर्दशनी तथा प्रतियोगिता लगायतका विविध सांस्कृतिक कार्यक्रम समेत हुनेछन्।
कार्यक्रममा महिलाको विशेष प्रस्तुती रहने थापा मगरको लोपोन्मुख बाजा ‘सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजा’ को समेत प्रस्तुती रहने रेवानका पूर्वअध्यक्ष एवम् कार्यक्रमका झाँकी संयोजक सुवास चन्द्रले जानकारी दिए।
कार्यक्रम सम्पन्न गर्न करिब ६० लाख खर्च हुने आयोजकको अनुमान छ। सौराहा क्षेत्रभित्र कार्यक्रम अवधिभर करिब तीन करोडसम्म कारोबार हुने र दैनिक पाँच हजार पर्यटकले फेस्टिबल अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ।
फेस्टिबलमा सामान्य दिनमा टिकटको मूल्य २० रुपैयाँ राखिएको छ भने प्रणय दिवसको दिनमा २५० रुपैयाँ तोकिएको अध्यक्ष गिरीले जानकारी दिए। ‘दुई/ चार पैसा भएपनि जोगाएर सौराहालाई व्यवस्थित बनाउन टिकट दर तोकिएको हो,’ उनले भने।न्युज कारखाना
काठमाडौं, २० माघ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग आक्रोशित भएका छन् ।
पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले राष्ट्रपति पौडेलको पछिल्लो भुमिकालाइ लिएर आक्रोशित भएका हुन् ।
सो क्रममा ओलीले राष्ट्रपति पौडेल आफ्नो पदीय मर्यादामा नबसेको बताए । राष्ट्रपतिलाई संविधान अनुसार काम गर्नु पर्नेमा सो नगरी पार्टी भन्दा माथी उठन नसकेको पनि आरोप लगाए । ‘राष्ट्रपतिजी तपाईँ कांग्रेसको प्रतिनिधि होइन, सिङै देशको राष्ट्रपति हो, आफ्नो थान्कामा बस्नुस्, आफूले पाएको अधिकार प्रयोग गर्नुस्, जथाभाबी अधिकारको प्रयोग नगर्नुस्, गठबन्धनका प्रतिनिधि होइन राष्ट्रपतिज्यू तपाई, देशको प्रतिनिधि हो, देशको प्रतिनिधि भएर काम गर्नुस्’, उनले भने ।
राष्ट्रपतिले तनहुँमा गएर कांग्रेस भएर भाषण गरेको भन्दै ओलीले आलोचना गरेका हुन । आफू राष्ट्रपति भएको कुराको ख्याल नै नभएकोसमेत उनको भनाई छ ।
ओलीले राष्ट्रपति कानुनभन्दा माथि होइन भन्ने कुरा नबिर्सन पौडेललाई आग्रह गरेका छन । ‘राष्ट्रपति संविधानभन्दा माथि होइन, हामीले राजालाई त संविधान भित्र ल्याएर संविधानभन्दा माथि नहुने गराएका थियौँ, त्यो दायरा नाघ्दा राजतन्त्र समाप्त भयो, संविधानको दायरा नाघ्यो भने कसैको पनि भलो हुँदैन’, उनले भने ।
पौडेलसँग राष्ट्रपति पदको सचेतता होइन, गठबन्धन र बहुमतको दम्भ रहेको टिप्पणी गर्दै ओलीले राष्ट्रपति पौडेललाई दम्भ त्याग्न आग्रह गरेका छन ।न्युजकारखाना