काठमाडौं –
नेपाली लगानीकर्तालाई शेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यसहित ‘इन्भेष्टमेन्ट गुरु’ नामक संस्था शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
काठमाडौंमा आयोजित एक समारोहबीच लोकतान्त्रीक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिप प्रज्वलन र चार्टर्ड एकाउन्टेन्ट तथा
वित्तीय विश्लेषक अनुपमा संग्रौलाले रिवन काटेर औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै संग्रौलाले संस्थाले शिक्षित र सचेत लगानीकर्ता तयार पार्न सघाउने विश्वास व्यक्त गरिन् ।
संस्थाका सिइओ अमित झाका अनुसार इन्भेष्टमेन्ट गुरु आम नागरिकलाई वित्तीय साक्षरता दिलाउने र सशक्त लगानीकर्ता तयार पार्ने लक्ष्यसहित स्थापना गरिएको हो । उनले विशेषगरी नयाँ लगानीकर्ता तथा शेयर शिक्षा सिक्न चाहनेहरूलाई लक्षित गरेर कक्षा सञ्चालन गरिने जानकारी दिए ।
इन्भेष्टमेन्ट गुरुले अनलाइन र भौतिक दुवै माध्यममार्फत् शिक्षा प्रदान गर्नेछ। यसका लागि संस्थाको कार्यालयमा सुविधा सम्पन्न कक्षा कोठा तयार गरिएको छ जहाँ एकसाथ भौतिक र अनलाइन कक्षा सञ्चालन गर्न सकिने सुविधा छ ।
शेयर बजारका आधारभूत सिद्धान्त, लगानीका तरिका, जोखिम व्यवस्थापन, बजार विश्लेषण, प्रतिफल मूल्याङ्कन जस्ता विषयमा प्रशिक्षण, सेमिनार तथा परामर्श सेवा प्रदान गरिने संस्थाले जनाएको छ ।
संस्थापक झा स्वयं विगत पाँच वर्षदेखि शेयर सम्बन्धी प्रशिक्षण तथा परामर्श क्षेत्रमा सक्रिय छन्। उनले बताएअनुसार ‘इन्भेष्टमेन्ट गुरु’मार्फत आधारभूतदेखि एड्भान्स स्तरसम्मको शेयर शिक्षा प्रदान गरिनेछ ।
निकट भविष्यमा शेयर शिक्षा देशका विभिन्न भागहरूमा विस्तार गर्ने योजना पनि संस्थाले लिएको छ ।
आरके श्रीवास्तव,राैतहट,०७ गते असार । काठमाडौंमा लोसपा नेपाल निकट सर्लाही–काठमाडौं सम्पर्क समिति को तदर्थ समिति गठन गरिएको छ । उक्त कार्यक्रमको अध्यक्षता लोसपा नेपालका सचिव रामेश्वर यादवले गर्नुभएको थियो । कार्यक्रममा लोसपा नेपालका उपाध्यक्ष श्याम गुप्ता प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथि रूपमा पार्टीका महासचिव तथा प्रवक्ता मनिष कुमार मिश्रको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लोकतान्त्रिक महिला संघकी अध्यक्ष मिनु ठाकुर, लोकतान्त्रिक स्वास्थ्य व्यवसायी संघका महासचिव मृत्युन्जय महासेठ लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

नवगठित तदर्थ कार्यसमितिलाई लोसपा नेपालका उपाध्यक्ष माननीय रामप्रकाश चौधरीले अबिर लगाई बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रमको उद्घोषणा लोकतान्त्रिक युवा संघका
अध्यक्ष सुजन यादवले गरेका थिए ।
कार्यक्रममार्फत ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो, जसले चाँडै भेला गरी समितिलाई पूर्णता दिने तयारीमा रहेको छ । गठित तदर्थ समिति निम्नानुसार रहेको छ ।
जसकाे संयाेजकमा विजय यादव,सह संयोजकमा,रामनिवास यादव,सचिवमा शान्ति साह रहेका छन् ।
यस्तै सदस्यहरूमा चन्दन यादव,गौतम साह,नरेश मण्डल, पुरुषोत्तम साह,मिथलेश यादव,अनिल यादव रहेका छन् । 
नवगठित सम्पर्क समिति सम्पर्क विस्तार, संगठन सुदृढीकरण र प्रवासी कार्यकर्तालाई समेट्ने कार्यमा क्रियाशील रहने अपेक्षा गरिएको छ । सम्पूर्ण नवगठित कार्यसमितिका सदस्यहरूलाई पार्टी तथा शुभेच्छुकहरूबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
आरके श्रीवास्तव,राैतहट,०७ गते असार
रौतहटकाे बौधीमाई नगरपालिका–४ ईनरवारीमा वडा अध्यक्ष तुरन्तनारायण यादवको सक्रिय नेतृत्वमा पछिल्लो समय उल्लेखनीय विकास कार्यहरू सम्पन्न भएका छन् । स्थानीय पूर्वाधारको स्तरोन्नति र जनजीविकासम्बन्धी योजनाहरूले वडालाई नयाँ गति दिइरहेका छन् ।

यादवको पहलमा हालै मात्रै करिब १५ लाख रुपैयाँको लागतमा ४ सय ३५ मिटर लम्बाइको माटो, ग्रेभल र सडक ढलान सम्पन्न भएको छ । साथै, करिब १७ लाख रुपैयाँको लागतमा ३ सय ६४ मिटर लम्बाइको अन्डरग्राउण्ड नाला निर्माण सम्पन्न गरिएको छ, जसमा हिलटेक पाईप प्रयोग गरिएको छ ।

सडक संरक्षण र दीर्घकालीन पूर्वाधार निर्माणतर्फ उन्मुख हुँदै करिब ११ लाखको लागतमा ५४ मिटर लामो रिटेनिङ्ग वाल निर्माण गरिएको छ । शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले चार कोठे विद्यालय भवन निर्माण कार्य सम्पन्न गरिएको छ ।

त्यसैगरी, वडामा नयाँ सडक निर्माण, कृषि क्षेत्रको प्रवर्द्धनका लागि ट्रान्सफरमर जडान, र १३ वटा अधुरा पोलमा विद्युत् तार जडान लगायतका कार्यहरू पनि प्रगति क्रममा छन् । उज्यालो अभियान अन्तर्गत एकवटा नयाँ विद्युत टावर निर्माण गरिनुका साथै दुईवटा जीर्ण टावरहरू मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ ।

यी सम्पूर्ण विकास कार्यहरूले ईनरवारीका बासिन्दाहरूमा सकारात्मक उत्साह सिर्जना गरेको छ । वडा अध्यक्ष तुरून्तनारायण यादवको नेतृत्व र प्रतिबद्धता नै यी उपलब्धिहरूको आधार भएको स्थानीयवासीहरूले बताएका छन् । उहाँले “विकास र समृद्धिको लागि जनप्रतिनिधि जिम्मेवार र उत्तरदायी हुनुपर्छ” भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्दै वडालाई अग्रगामी बनाउने दिशामा काम गरिरहनुभएको छ ।
फाेटाे फिचर:


कामरेन्द्र वर्मा,काठमाडौं, ०७ गते असार ।
काठमाडौं स्थित भारतीय राजदूतावास र वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहआयोजनामा नेपालका विभिन्न १० शहर र नगरपालिकाहरूमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस भव्य रुपमा मनाइएको छ । “एक पृथ्वी, एक स्वास्थ्यको लागि योग” भन्ने मुख्य सन्देशका साथ आयोजना गरिएका कार्यक्रमहरूमा हजारौं सहभागीहरुले उत्साहजनक उपस्थिति जनाएका थिए ।

अन्तर्राष्ट्रिय योग दिवस आउन ७५ दिनअघि नै भारतीय राजदूतावासले श्रद्धेय पशुपतिनाथ मन्दिरबाट योग अभियानको शुभारम्भ गरेको थियो । त्यसपछि ईसीएचएस पोलिक्लिनिक र नेपाली सेनाको मुख्यालय मैदान लगायत काठमाडौं उपत्यकाका छ वटा युनेस्को विश्व सम्पदा स्थलहरूमा क्रमशः योग आसन प्रदर्शन गरियो। यी स्थानहरूमा नेपाली नागरिक, भारतीय डायस्पोरा र स्थानीय प्रशासनको सक्रिय सहभागिता देखियो ।

काठमाडौंको केन्द्रीय विद्यालयमा आयोजित कार्यक्रममा १५० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा योग सत्र सञ्चालन गरिएको थियो, जसमा “सात्विक आहारका फाइदाहरु” सम्बन्धी प्रस्तुति पनि समावेश गरिएको थियो ।
पोखरामा योग दिवसको विशेष उत्सव मनाइएको थियो, जसमा सराङकोट, पुम्दीकोट र अनदु डाँडामा योग प्रदर्शन गरियो। असार ६ गते फेवा ताल किनारमा आयोजना गरिएको ध्यान तथा योग सत्रमा ५०० भन्दा बढी सहभागी थिए। लुम्बिनीमा लुम्बिनी विकास कोषसँगको सहकार्यमा भएको कार्यक्रममा पनि ५०० भन्दा बढीले भाग लिए। कार्यक्रमको प्रमुख आकर्षणको रुपमा असार ७ गते पोखरा रंगशालामा आयोजित बृहत योग प्रदर्शन थियो, जसमा ७००० भन्दा बढी योग अभ्यासकर्ताहरू उपस्थित रहेकाे थियोे । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखराका मेयर धनराज आचार्य र भारतीय राजदूत नवीन श्रीवास्तवले कार्यक्रममा विशेष सम्बोधन दिनुभयो ।

राजदूतावासले लमजुङ, जनकपुर, चितवन, वीरगञ्ज, हेटौँडा, रौतहट र बरियारपुरमा पनि विविध योग कार्यक्रमहरू आयोजना गर्यो ।
योग मार्फत नेपाल–भारत सम्बन्धलाई सुदृढ पार्दै, स्वास्थ्य र समग्र कल्याणको सन्देश फैलाउने लक्ष्यका साथ सम्पन्न यस वर्षको अन्तर्राष्ट्रिय योग दिवस नेपाली र भारतीय समुदायबीचको सांस्कृतिक सहकार्यको उत्कृष्ट उदाहरण बनेको भारतीय राजदूतावासले जनाएको छ।
काठमाडौं, ७ असार । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरुको पक्षधर भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आज (शनिबार) बसेको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा भाग लिने क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
उनले भने,‘नेपालमा दुई किसिमका जनता छन् । एउटा विदेशमा कमाएर नेपाल ल्याउँछन् । अर्को नेपालमा लुटेर विदेश लैजान्छन् । वर्तमान सरकार कुन जनताको पक्षधर हो ? नेपाललाई लुटेर विदेश लैजाने दलाल र भगौडाहरुको पक्षधर हो कि ? नेपालकोलागि मर्ने र लड्नेहरुको पक्षधर हो ? आज सरकारको कार्यक्रम र बजेट हेर्दा यो सरकार देशमा लुटेर विदेश पुर्याउने भगौडा दलालहरुको पक्षधर देखिन्छ ।’
उनले विदेशमा नेपाल र नेपाली जनताको लागि काम गरेकाहरु ठगिएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने,‘आज नेपालको लागि मर्नेहरु झनै प्रताडित भएका छन् । उनीहरु ठगिएका छन् । तिनीहरु रूनुपरेको स्थिति छ । विदेशमा गएकाहरुको लागि तपाईंहरुले के गर्नुभयो ? उनीहरु आज मरिरहेका छन्, के गर्नुभयो ? दिनको तीन÷चार वटा लाश आउँछ । युवाहरुको लाश आउँछ । तिनीहरुको बचाउको लागि के गर्नुभयो ?’ नेपालबाट मेडिकल टेष्टमा पास भएर गएका होनाहोर युवाहरु आज विदेशी भूमिमा ज्यान गुमाउन बाध्य भएको भन्दै यसप्रति सरकार संवेदनशील हुन नसकेको साहको आरोप छ ।
सरकारले नै डिमाण्ड स्विकृत र श्रम स्विकृत गरेपछिमात्रै युवाहरु रोजगारीको लागि विदेश जानसक्ने भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुको बारेमा प्रश्न सोध्दा हामी मेनपावर व्यवसायी हो र ? भन्दै प्रश्नबाट पन्छिएको विषयमा पनि साहले गम्भीर आलोचना गरे । उनले भने,‘तपाईंहरुकै डिमाण्ड स्विकृत र श्रम स्विकृतबाट होईन हाम्रा युवाहरु श्रम गन्त्वय मुलुकमा पुगेको ? तर तपाईंको सरकारको प्रमुखले भन्नुहुन्छ हामी मेनपावर व्यवसायी होईन भनेर । सरकारको छापबिना कोही माइकालाल विदेश जान सक्छ ? यदि सक्दैन भने सरकारले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’
फ्रि–भिसा र फ्रि–टिकटको नाममा अहिलेपनि युवाहरु ठगिएको भन्दै यो बेथिति रोक्न सरकारले कुनै पहल नगरेकोमा पनि साहले आलोचना गरे । उनले भने,‘आज दिनादिनु युवाहरु ठगिएका छन्। फ्रि–भिसा र फ्रि–टिकट भनिएको छ, तर वैदेशिक रोजगारीको नाममा दिनदिनै गाउँमा एजेन्टहरु पुगेका छन्, यो ठगी निरुत्साहित गर्नुपर्ने होईन ? वैदेशिक रोजगारमा ठगिएकाहरुलाई न्याय दिनुपर्छ । ठगी मुद्दा सरकारवादी मुद्दा होईन र ? सरकारले आफ्नो दायित्व पूरा गरेको छैन् । गरिबहरुलाई रुवाएर लुटेर विदेश पुर्याउने काम भएको छ । यसको अन्त्य हुनुपर्छ ।’
उनले सरकारले गरिब, निमुखा जनताका छोराछोरीलाई सरकारी जागिरमा बाटो छेकेको र स्थायी बनाउन गम्भीर नभएकोमा पनि आपत्ति जनाए । उनले श्रेणीविहीन कर्मचारीहरुको सेवा भरमग्दुर लिने गरेको तर उनीहरुको वृत्तिविकास र स्थायीको लागि कुनै पहल नगरेकोमा आलोचना गरे । उनले भने,‘सरकारी स्थायी जागिरमा गरिबका छोराछोरी आउनै हुँदैन । माथिल्लो पोष्टमा काम गर्नेहरु स्थायी हुनुपर्ने ? अनि तल्लो तहमा काम गर्नेहरु तड्पिनुपर्ने ? सवारीचालकको जीवन जीवन होईन ? त्यसले पेन्सन पाउनुहुँदैन् । उसको पनि वृत्तिविकास हुनुपर्दैन र ? तपाईंहरुलाई स्वादिष्ट परिकार खुवाउने ती भान्सेहरु स्थायी हुनुपर्दैन ? गरिबलाई ताला लगाईदिने, गरिब त स्थायी हुनुैहुँदैन है ? शासक स्थायी हुनुपर्छ । राज गर्नुपर्ने, अनि मरेपछि पनि सुविधा पाउनुपर्छ । गरिबले केही पाउनुहुँदैन ? नैतिकता खोई ?’
पूर्वमन्त्री साहले निजामती विद्येयकमा राखिएको २ वर्षे कुलिङ पिरियडको बहस चलिरहेको भन्दै अहिलेसम्म कसैले पनि श्रेणीविहीनहरुको भविष्यको लागि नसोचेकोमा गम्भीर चिन्ता व्यक्त गरे । उनले थपे,‘अहिले कुलिङ पिरियडको बहस छ । हाईलेभल कर्मचारीहरु, सचिवहरुलाई आफ्नो रिटार्यड भएपछिको जीवनको चिन्ता छ । तपाईंहरुको कुकर्मको कारण ती नागरिक गरिब भए, उसले पढ्न पाएन । जसको काम तपाईं गराउनुहुन्छ, कि तपाईंहरुलाई सवारीचालक चाहिएको छैन ? माली चाहिएको छैन ? स्विपर चाहिएको छैन ?तपाईंहरु कार्यालयमा बसेर पिसाब गर्नेले सुविधा पाउनुपर्ने तर त्यसलाई सफा गर्नेले सुविधा पाउनुहुँदैन ? यो अत्याचार होईन भने के हो ? यो सरकार कुन वर्गको हो ?’
उनले आज करोडौं मान्छे देशमा तड्पिरहँदा र करोडौं मान्छे विदेशमा मरिरहँदा त्यसको बारेमा आवाज उठाउन नसकेको भन्दै सरकारको आलोचना गरे । उनले भने,‘ती नागरिकको विषयमा एक अक्षर लेख्न नसक्ने ? लुटेरा वर्ग, दुनियाँमाथि राज गर्ने र लुटेको पैसा नेपालमा नराख्ने विदेशमा पुर्याईहाल्ने तीनीहरुको बारेमा बहस गरिराख्ने स्थितिको अन्त्य हुनुपर्छ ।’
सो क्रममा साहले गत वर्षको बाढी÷पहिरोबाट भएका क्षतिग्रस्त संरचना अझै नबनेको र अहिलेको बजेट तथा कार्यक्रम हेर्दा अझै बन्न नसक्ने टिप्पणी गरे । उनले भने,‘ती बाढीले क्षति भएका हाम्रा संरचना कहिले बन्ने हो ? अहिलेको रेडबुक हेर्दा यसले पूनःसंरचना हुँदैन । पहाडको पानीले तराई क्षेत्रका बाँध, तटबन्धमा ठूलो असर पर्दै आएको छ, ती कसले बनाउने ?’ साहले क्रमागत योजना काटिएकोमा चिन्ता व्यक्त गरे । खानेपानीको समस्या अहिलेपनि उस्तै रहेको भन्दै नागरिकले शुद्ध पानी कहिले पाउने ? भनेर प्रश्न राखे । उनले काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानी नदिएकोमा आक्रोश पोखे । उनले भने,‘कि गरिबको ट्याक्स लिँदैनौं भन्नुहोस, उनीहरुको श्रम चाहिँदै भन्नुहोस, वा चुनावमा भोट लिँदैनौं भन्नुहोस, होईन उनीहरुसँग कर लिनुहुन्छ, श्रम चाहिन्छ र भोट पनि चाहिन्छ भने खानेपानी दिनुहोस न । यसरी मानवताविरोधी अपराध गर्न मिल्छ ?’
सांसद साहले एकीकृत सेवा केन्द्र के आधारमा बनानिएको भन्दै गृहमन्त्री रमेश लेखसँग प्रश्न गरे । उनले भने,‘म माननीय गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु–सेवा केन्द्र के आधारमा बनाउनुहुन्छ ? रौतहटको कटहरिया किन सेवा केन्द्र भएन ?’ सिमा सुरक्षाको नामा खटाईएका प्रहरी लुट्न बसेको भन्दै उनीहरुको भूमिकामाथि पनि साहले प्रश्न उठाए ।
स्वस्थ्य निःशुल्क भनिएको र १०० थरी औषधी निःशल्क भनिएको भएपनि त्यो सुविधा गरिब तथा निमुखा जनताले पाउनै नसकेको साहको गुनासो छ । उनले भने,‘एक सय थरी औषधी निःशुल्क पाउँछ भनिएको छ, त्यो औषधी कहाँ पाउँछ ? म सोध्न चाहन्छु । पायो भने पनि सायद मन्त्रीजीहरुको घरमा पाउँछ होला । सरकारी अस्पतालमा गरिबले पालो नै पाउँदैन, पायो भने कुनै सुविधा नै पाउँदैन । यस्तै बेथितिको निर्माण गर्न सरकार बनाएको हो र ?’ उनले विश्वविद्यालयको आम्दानी, सरकारी कलेज र सामूदायिक विद्यालयका आम्दानीलाई लुटको अड्डा बनाउने काम भएको आरोप लगाए ।
आरके श्रीवास्तव,गरूडा,०७ गते असार ।
रौतहटकाे गढीमाई नगरपालिकाको १२ औं नगर सभा शनिबार समनपुरस्थित कार्यपालिका भवनमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादवले नगर सभाको उद्घाटन ब्यानर पढेर गरेका थिए ।

नगरप्रमुख श्यामप्रसाद यादवले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५४ करोड ९१ लाख ७२ हजार १०८ रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । बजेटमा संघीय र प्रदेश सरकारबाट प्राप्त विभिन्न शीर्षकको अनुदान तथा आन्तरिक स्रोत समेटिएको छ ।
नगरप्रमुख यादवका अनुसार बजेटमा संघीय सरकारबाट
समानीकरण अनुदान ११ करोड २१ लाख,सशर्त अनुदान २५ करोड ५७ लाख,राजस्व बाँडफाँड १० करोड ८७ लाख ६५ हजार १०८,प्रदेश सरकारबाट समानीकरण अनुदान ७७ लाख ४९ हजार,विशेष अनुदान ३० लाख,समपूरक अनुदान: २० लाख,राजस्व बाँडफाँड ६३ लाख ५८ हजार,सशर्त अनुदान: ९५ लाख,सडक बोर्ड नेपाल ४० लाख रहेको छ ।
त्यसैगरी, मालपोतबाट राजस्व बाँडफाँड अन्तर्गत २ करोड र आन्तरिक श्रोतबाट पनि २ करोड रुपैयाँ बजेटमा समेटिएको छ ।

चालु खर्चतर्फ ३५ करोड ७६ लाख २३ हजार १०८ रुपैयाँ र पूँजीगत खर्चतर्फ १९ करोड १५ लाख ४९ हजार रुपैयाँ विनियोजन गरिएको नगरप्रमुख यादवले जानकारी दिए ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख यादवले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा धार्मिक क्षेत्रमा उल्लेखनीय काम भएको जनाउँदै आउँदो दिनमा गढीमाईलाई अन्य पालिकाभन्दा अगाडि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विशेषगरी कृषि क्षेत्रलाई प्राथमिकता दिँदै मोटर, स्प्रे ट्यांकी, कृषि विधतीकरण, कृषि मिटरको बिल पालिकाले व्यहोर्ने व्यवस्था गरिने जानकारी दिए ।
कार्यक्रममा उपप्रमुख अस्मिता यादवले स्वागत मन्तव्य दिँदै सम्पूर्ण अतिथिहरूलाई स्वागत गरिन् । वडाध्यक्षहरूले प्रस्तुत नीति तथा कार्यक्रममाथि आ–आफ्ना धारणा राखेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिएका छन् ।
आरके श्रीवास्तव,गरूडा,०७ गते असार ।
रौतहटकाे ईशनाथ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ४९ करोड ६४ लाख ५२ हजार ४ सय ९७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार नगरसभाको सभाहलमा बसेको ११ औं अधिवेशनमार्फत नगर प्रमुख कौशलया देवी सिन्हाले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत नन्दनकिशोर गुप्ताले भने, “आगामी वर्षको बजेट समावेशी, दिगो र नतिजामुखी विकासलाई ध्यानमा राखेर तयार गरिएको हो । हाम्रा सबै योजना स्थानीय आवश्यकता र सम्भावनाको मूल्यांकनका आधारमा तय गरिएका छन् ।”
उनका अनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगार सृजना, कृषि प्रवर्द्धन र सफा खानेपानीका कार्यक्रमहरूमा बजेटको विशेष ध्यान केन्द्रित गरिएको छ । गुप्ताले थपे, “विगतका वर्षमा सिकेका अनुभवका आधारमा हामीले कार्यान्वयन योग्य र परिणाम दिने योजना छनोट गरेका छौं । बजेट पारदर्शिता र जिम्मेवारीताका साथ कार्यान्वयन हुनेछ ।”

नगर प्रमुख सिन्हाले पनि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समावेशी विकास, डिजिटल सेवा विस्तार, बालमैत्री नगरपालिका निर्माण, महिला सशक्तिकरण, वातावरण संरक्षण तथा सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएकी थिइन् ।
नगरपालिकाको यो बजेटले स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, कृषि, र सामाजिक सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,०६ गते असार ।
रौतहट– देवाहीगोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेलले जय किसान बहुप्राविधिक शिक्षालय धरहरीको भौतिक पूर्वाधार सुधारमा निरन्तर सहयोग गर्दै आएकी छन् । शिक्षालयको मुलगेटदेखि प्रशासनिक भवनसम्मको सडक ढलान तथा ग्रेभलको काम हालै सम्पन्न भएको छ, जुन कार्य उपप्रमुख पटेलको बजेट सहयोगमा सम्पन्न भएको हो ।

“शिक्षालयको वातावरण राम्रो बनाउनु सबैको दायित्व हो । मेरो तर्फबाट सकेको सहयोग गर्दै आएको छु र आगामी दिनमा पनि यसैगरी साथ रहनेछु,” उपप्रमुख पटेलले भनिन् । शिक्षालय भित्र रहेको ठुलो खाल्डाखुल्डी पुर्न लगाएको र आउजाउ गर्न सहजहाेस् भन्ने अभिप्रायले बाटाे बनाउन लगाएको उनकाे भनाइ छ ।

प्रत्येक आर्थिक वर्षमा उनले आफ्नो तर्फबाट केही न केही बजेट विनियोजन गरी शिक्षालयको आवश्यक पूर्वाधार निर्माण तथा सुधारमा निरन्तरता दिँदै आएकी छिन् । यस प्रकारको स्थानीय तहको सक्रिय सहभागिताले शिक्षालयको शैक्षिक वातावरण सुधार हुनुका साथै विद्यार्थी तथा कर्मचारीहरूको दैनिक गतिविधिमा सहजता ल्याएको छ ।
शिक्षालयका प्रमुख इन्जिनियर धनोज कुमार यादवका अनुसार, “उपप्रमुखज्यूको निरन्तर सहयोगले हाम्रो संस्थाको वातावरण अझ व्यवस्थित र पहुँचयोग्य भएको छ । उहाँको सक्रियता र शिक्षाप्रतिको प्रतिबद्धता प्रशंसनीय छ । हरेक वर्ष उहाँले आफ्नै तर्फबाट बजेट विनियोजन गरी शिक्षालयको सुधारमा महत्त्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ ।”
उपप्रमुख पटेलको पहलमा सम्पन्न यो विकास कार्यले शिक्षालयमा अध्ययनरत विद्यार्थीहरू, शिक्षकहरू तथा आगन्तुकहरूको सुविधामा ठुलो सहजता ल्याएको छ । स्थानीय तहबाटै प्राविधिक शिक्षाको गुणस्तर अभिवृद्धिमा गरिएको यस्तो योगदान उदाहरणीय रहेको भन्दै शिक्षालय परिवारले कृतज्ञता व्यक्त गरेको छ ।