२०८३ बैशाख १०
२०८३ बैशाख १०

बज्जिकाञ्चल संवाददाता,राैतहट,१५ गते असार । 

“सम्पूर्ण किसान एकजुट हौं, धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ आइतबार रौतहटको कटहरिया नगरपालिका–२, जमुनियामा राष्ट्रिय धान दिवस विशेष कार्यक्रमका साथ मनाइएको छ ।

कार्यक्रमको आयोजना अखिल नेपाल किसान महासंघ, जिल्ला समिति रौतहटले गरेको थियो भने कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष किशोरी कुशवाहाले गर्नुभयो । धान रोपाइँ कार्यक्रममार्फत कृषि उत्पादन सघन बनाउने, खाद्य सुरक्षालाई प्रवर्द्धन गर्ने र आत्मनिर्भर अर्थतन्त्रतर्फको यात्रामा टेवा पुर्‍याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यद्वय कुन्दन कुशवाहा र उद्वव रेग्मी, मधेस प्रदेश सभा सदस्य केसव चौधरी, तथा नेकपा एमाले चन्द्रपुर नगर कमिटी अध्यक्ष शिव आचार्य,कटहरिया २ का वडा अध्यक्ष हरिन्द्र साहको विशेष उपस्थिति रहेको थियो । अतिथिहरूले कृषि क्षेत्रलाई राजनीतिक भाषणको भरमा सीमित नराखी व्यवहारमा आत्मनिर्भरता र नवप्रवर्तनको मेरुदण्ड बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी किसानहरूले परम्परागत शैलीमा खेतमै धान रोपी राष्ट्रिय धान दिवसको महत्व व्यवहारमा उतारे। उनीहरूले दहीच्युरा खाँदै सांस्कृतिक र उत्सवमय वातावरणमा दिवस मनाएका छन् ।

नेताहरूले कृषि अनुदान, प्रविधि हस्तान्तरण, र किसान शिक्षालगायतका विषयमा स्पष्ट नीति निर्माण तथा कार्यान्वयनको माग समेत अघि सारेका थिए ।

नेपालमा हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवसको रूपमा मनाइन्छ । यस दिन देशभर किसानहरू धान रोपेर र दहीच्युरा खाएर कृषि, माटो र किसानको सम्मानमा दिवस मनाउने परम्परा छ ।

आरके श्रीवास्तव,राैतहट,१५ गते असार । 

रौतहटकाे कटहरिया नगरपालिका वडा नम्बर ४ को आयोजनामा एक दिवसीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक प्रतिनिधिहरू, आधारभूत विद्यालय फतेपुरका प्रधानाध्यापकसहित सम्पूर्ण विद्यालय परिवार तथा फतेपुर बासीहरूको उपस्थिति उल्लेखनीय रहेकाे थियोे ।

साे वडाका वडा अध्यक्ष जयराम चौधरी, रामाकान्त कुशवाहा, उमाकान्त कुशवाहा, अन्चित कुशवाहा, वडा अध्यक्ष पदका प्रत्यासी रामाशंकर यादव लगायत विभिन्न  व्यक्तिहरूको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई उज्वल भविष्यको शुभकामना व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तित्व तथा संस्था, विद्यालय र सहयोगी हातहरूलाई आयोजकले हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, तत्परता र ज्ञान विकासमा सहयोग पुग्ने विश्वास आयोजक कटहरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले लिएका छन् ।

आरके श्रीवास्तव,राैतहट,२०८२ असार १५ गते असार । 

रौतहट – नेपाल किसान महासंघ रौतहट जिल्ला कार्य समितिको आयोजनामा सम्पन्न धान रोपाई कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव “जितेन्द्र”ले किसानको उन्नति, प्रगति र पीरमर्का हटाउन आवश्यक बजेट व्यवस्थापनमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“कार्यक्रम आफ्नो देशको उत्पादन हाम्रो शान ! कृषिमा उन्नति हाम्रो अभियान” भन्ने नारासहित नेपाली कांग्रेस नगर कार्य समिति गौरको समन्वयमा गौर–४, सोबर्नामाईको प्राङ्गणमा आइतबार बिहान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस मधेस प्रदेश सभापति तथा पूर्व मन्त्री कृष्ण प्रसाद यादव थिए। विशिष्ट अतिथिका रूपमा मधेस सरकारका अर्थमन्त्री यादवसहित प्रदेश सांसद नागेन्द्र साहको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कृषकको जीवनस्तर सुधार्न बीउ, मल, सिँचाइ सुविधा तथा आधुनिक प्रविधिको पहुँच बढाउने कुरामा जोड दिइयो। प्रमुख अतिथि कृष्ण प्रसाद यादवले कृषिमा दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्नेमा बल दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला तथा नगर तहका नेताहरू, कार्यकर्ता, सञ्चारकर्मी, सुरक्षाकर्मी र स्थानीय कृषकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव,राैतहट,२०८२ असार १५ गते । 

फतुवा विजयपुर -“धान बालिमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ आज २२ औं राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्व फतुवा विजयपुर नगरपालिका–२ स्थित श्री मावि सितलपुरमा उत्साहपूर्वक मनाइएको छ ।

कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक, शिक्षिका तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । असार १५ लाई विशेष रूपमा धान रोपाइँसँग जोडिएको दिनको रूपमा लिइने गरिन्छ, जसले कृषिमा आधारित नेपाली समाजको परम्परागत महत्व झल्काउँछ । यस अवसरमा सहभागीहरूले स्थानीय उत्पादनको सम्मान स्वरूप परम्परागत परिकार दही चिउरा खाने चलनलाई निरन्तरता दिएका थिए ।

साे विद्यालयका प्रधानाध्यापक मुकेश यादवले राष्ट्रको आर्थिक समृद्धिमा कृषिको भूमिका महत्वपूर्ण रहेको बताउँदै यस्तो दिवसले बिद्यार्थीहरूमा कृषि प्रतिको रुचि बढाउन टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

अमृता मुखिया,सर्लाही,२०८२ असार १५ गते असार । 

गोडैता — सानो उमेर, सानो गाउँ, तर असाधारण सोच । यिनै विशेषताले परिचित छन् — सर्लाहीको गोडैता नगरपालिका–७ निवासी, १५ वर्षीय बालक वेद प्रकाश झा । जन्म २०६७ साल माघ १ गते जनकपुरधाममा भएको वेद हाल श्री बेनी भोला नमूना माध्यमिक विद्यालयमा कक्षा ९ मा प्राविधिक धाराका विद्यार्थी हुन् ।

 

पिता प्रदीप कुमार झा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन् । बाल्यकालदेखि राजनीतिक र सामाजिक चेतनाको सुसंस्कार पाएका वेद आज बालबालिका, समाज र राष्ट्रको सशक्त आवाज बनेका छन् ।

 

बाल क्लबको नेतृत्वबाट सुरु भएको परिवर्तनको यात्रा वेद हाल गोडैता नगरपालिका स्तरीय बाल क्लब सञ्जालका अध्यक्ष छन् । नेतृत्वमा रहँदै उनले बाल अधिकार, शिक्षा, स्वच्छता र वातावरण संरक्षणका क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् ।

 

उनको प्रेरणादायी अभियान यस्ता रहेका छन् । ५२ हप्ता निरन्तर सरसफाइ अभियान । स्वच्छ समाज निर्माणको प्रतिबद्धता । १० हजार ५०० भन्दा बढी वृक्षारोपण — हरित भविष्यको जग,बाल विवाह, बाल श्रम विरुद्ध सामुदायिक जागरुकता । निषेध होइन, सचेत समाज निर्माण,साक्षर वडा घोषणा,शिक्षाको पहुँच सबैका लागि,विद्यालय भर्ना, खेलकुद र सिर्जनात्मक कार्यक्रमहरू समावेशी र सक्रिय बाल जीवनको प्रवर्द्धन रहेका छन् ।

 

वेद प्रकाश झा आज बालक मात्र होइनन् — उनी सामाजिक जागरणका संवाहक, न्याय र समानताको पक्षधर, र गोडैता हुँदै राष्ट्रसम्म परिवर्तनको सन्देश फैलाउने संकल्पशील अनुहार हुन् ।

 

उनको यात्रा सन्देश दिन्छ -“सङ्घर्षले उमेर हेर्दैन, परिवर्तनले ठाउँ खोज्दैन। साहस र सोच भए, एउटा सानो आवाजले पनि राष्ट्रलाई गुञ्ज्याउन सक्छ।”

काठमाडौं,१४ गते असार 

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सरकारले जनताको रगतपसिना बेचेर भए पनि कर असुल्ने गरेको बताएका छन् । सरकारपिच्छेको कर आतंकले सबै क्षेत्र धरासायी बन्दै गईरहेको बताउदै उनले करको दायरा र शिर्षक घटाउनुपर्ने सुझाव सरकारलाई दिएका छन् ।

प्रतिनिधिसभाको आज (शनिबार)को बैठकमा बोल्दै आजपा अध्यक्ष साहले कयौं कम्पनीले करोबार नगर्दा वा नाफा नगर्दा समेत सरकारलाई कर तिर्नुपर्ने बाध्यता रहेको बताउदै यसलाई कर भन्ने की सरकारको लुट भन्ने प्रश्न गरेका छन् ।

‘सम्मानिय सभामुख महोदय, आम्दानीको केही प्रतिशत राज्यलाई बुझाउनु, राज्यले लिनुलाई कर भनिन्नछ । आम्दानी होईन, उसको मुल धनलाई जबरजस्ती लिनु भनेको लुट भन्छ । आज नेपालमा कायौं कम्पनीहरु कारोबार नै नगरी कर तिरिरहेको छ, आम्दानी नगरे पनि कर तिर्नुपरिरहेको छ । कम्पनी खारेज गर्दा पनि कर तिर्नुपरेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘यसलाई कर भन्ने की लुट भन्ने म प्रश्न गर्न चाहन्छु । यस्ता प्रावधानहरु हटाउन म विशेष माग गर्दछु ।’

आज देशमा सरकारपिच्छे सरकारको कर आतंक रहेको उनले बताए । विश्वमै जिडिपीको २० प्रतिशत नबढने गरी कर लगाउने मान्यता रहेको बताउदै उनले नेपालमा करको दायारा पीडादायी अवस्थामा रहेको बताए । नेपालमा ७ सय ६१ वटा सरकारले कर लिईरहेको र करको दायारा एवं शीर्षक पनि बढी रहेको बताउदै उनले यसबाट सर्वसधारण, उधोगी, व्याापारी लगायतका सबै मारमा परेकोमा चिन्ता व्यक्त गरे ।

‘केन्द्र सरकारले चालु आर्थिक बर्षमा जिडिपी ५७ खर्ब थियो । र केन्द्र सरकारले साढे १४ खर्ब राजस्व उठाउने लक्ष्य राखेको छ । प्रदेशहरुको एकीकृत गर्ने हो भने झण्डै दुई खर्ब र स्थानीयको एकीकृत गर्ने हो भने ३ खर्ब । यि सबैलाई एक ठाउँमा ल्याउने हो भने साढे १९ खर्ब हुन्छ । ५७ खर्बको साढे १९ खर्ब कति हुन्छ एक चोटी बिचार गर्न म अनुरोध गर्न चाहन्छु,’ आजपा अध्यक्ष साहले भने, ‘यसरी दुनियामा नभएको कथा नेपालमै ल्यायो । अरु देशमा दुई टायरको सरकार छ, कर लिने सरकार थोरै छ । एक सय ४५ करोड जनसंख्या भएको इण्डिया (भारत) जहाँ ३७ वटा सरकारले कर लिन्छ । चीनमा ३४ वटा सरकारले कर लिन्छ । अमेरिकामा ५१ वटा सरकारले कर लिन्छ । तर नेपालमा ७ सय ६१ वटा सरकारले कर लिन्छ । नेपालमा करको शिर्ष पनि बढी छ, दर पनि बढी छ र दायरा पनि बढी छ, निकाय पनि बढी छ । सरकारले यसरी कर लिईरहेको छ की जनताको रगतपसिना बेचेर पनि कर तिर्नुपर्छ । यस्तो अवस्थाको अन्त्य होस् भन्ने मेरो आग्रह छ ।’

नेपालमा कर लिने निकाय, करको दर र दायरा बढी भएको उनले बताए । ७ सय ६१ वटा सरकारले कर उठाउने र कर तिरेवापत जनताले केही रिटर्न नपाउने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए ।

अन्तर्राष्ट्रिय मान्यता अनुसार कर हुनेसंग लिनुपर्ने र नहुनेलाई छुट दिनुपर्ने साहको तर्क रहेको छ । ‘तर हामी हेर्छौं एउटा पानीको बोतलमा पनि १३ प्रतिशत भ्याट र रक्सीको बोतलमा पनि १३ प्रतिशत भ्याट । एउटा साईकल किन्दा पनि १३ प्रतिशत भ्याट र ठुलो गाडी किन्दा पनि १३ प्रतिशत भ्याट । एउटा चिया पसलमा खादा पनि १३ प्रतिशत भ्याट फाईप स्टार होटलमा खादा पनि १३ प्रतिशत भ्याट । यो कहाँको न्याय हो भन्ने म प्रश्न गर्न चाहन्छु,’ आजपा अध्यक्ष साहले सरकारसंग प्रश्न गरे ।

छिमेकी मुलुक जिएटी मार्फत आवश्यक, अनावश्यक बस्तु छुटयाएर कर लिईरहेको बताउदै नेपालमा सरकारले सबैलाई सबै बस्तुमा करमाथि कर लिनु भनेको अपराध र लुट भएको बताए । नेपालमा कर लिने सरकारको शैली र व्यवहार अव्यवहारिक भएको बताउदै साहले त्यसलाई सच्याउनुपर्ने माग गरेका छन् । नेपालमा ठुलो बर्ग जो करको दायरामै छैन् तिनलाई करको दायारामा ल्याउँनुपर्ने माग समेत उनले गरे ।

‘वकिल, डाक्टर, ठुला म्यानेजर, सिइओ लगायतका करको दायरमा नभएको र कर सही तरिकाले नतिरेकाले करको दायरामा ल्याउनुपर्छ । यि वर्ग सही तरिकाले कर नतिर्ने तर तल्लो बर्गका मान्छेलाई हामीले रोवाईरोवाई कर लिनु कतिको जायज हो ?’ साहले प्रश्न गरे, ‘नेपालमा हेर्ने हो भने किसानहरु जो मजबुरीको पेशा हो । हामी किसानले प्रयोग गर्ने, उपभोग गर्ने औजार, मल, बिउबिजन, किसानले उत्पादन गर्ने बस्तुमा किन कर नहाटाएको ? किसानसंग लिने कर सरकारले किन नहटाएको भन्ने म प्रश्न गर्न चाहन्छु ।’

पुरुषको तुलनामा महिला बेरोजगार रहेको, पीडतामा रहेको, आर्थिक अवस्था पनि ठिक नभएकाले महिलाले प्रयोग गर्ने बस्तुमा कर फ्रि गर्नुपर्ने सुझाव समेत उनले सरकारलाई दिएका छन् । महिलालाई की रोजगार दिनुपर्यो की उनीहरुले प्रयोग गर्ने बस्तुहरुमा कर हटाउनुपर्ने उनले बताए । महिलाले प्रयोग गर्ने बस्तु पुरुषले प्रयोग नगरेको बताउदै उनले महिलाले प्रयोग गर्ने बस्तु कर फ्रि हुनुपर्ने बताए ।

यस्तै उनले नेपाली युवाहरुलाई नेपालमै रोजगार दिन सरकार असफल भएको र युवाहरु बिदेशमा मर्न बाध्य भएको टिप्पणी गर्दै रेमिट्यान्समा सरकारले कर लिनु अपराध र लुट भएको बताए । अबैधानिक बाटोबाट पठाउँदा केही नहुने तर बैधानिक बाटोबाट रेमिट्यान्स आउँदा सरकारले कर लिनु भनेको अबैध रुपमा कारोबार गर्नेहरु पुरस्कृत हुने र बैध माध्यबाट पठाउँदा दण्डित हुनुपर्ने अवस्थाको अन्त्य सरकारले गर्नुपर्ने माग उनले गरे ।

करको दर, दायरा, जिडिपी सहित सबै क्षेत्र बढे पनि सरकारले उठाउने कर लक्ष्यअनुसार नउठनु भनेको सरकारले खोटाला गरिरहेको गम्भिर आरोप उनले लगाए ।

आरके श्रीवास्तव,राैतहट,१४ गते असार । 

रौतहटकाे गरुडा नगरपालिका वडा नम्बर ७ स्थित पिपरीया गाउँमा अधुरो अवस्थामा रोकिएको पूल निर्माण कार्य पुनः सुरु गराउनका लागि आज एक महत्वपूर्ण किसान भेला सम्पन्न भएको छ । स्थानीय किसानहरूको अगुवाइमा आयोजित भेलामा पूल निर्माणलाई प्राथमिकता दिएर तत्काल काम अघि बढाउन जोड दिइएको छ ।

 

भेलाका प्रमुख अतिथि आम जनता पार्टीका स्थायी कमिटी सदस्य रविन्द्र यादव रहनु भएको थियो । विशिष्ट अतिथिका रूपमा अमिन्द्र यादव, कनहाई शाह, रुदल पटेल, मधेस पटेल, राम बहादुर यादव, विस्नाथ यादव, राधेश्याम यादव, राम विश्वास शाह कानु तथा पाण्डा लाल यादवको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता स्थानीय समाजसेवी पाण्डा लाल यादवले गर्नुभएको थियो ।

 

भेलामा वक्ताहरूले पूल निर्माण कार्य लामो समयदेखि अलपत्र परेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै, यसले किसानहरूको दैनिक आवागमन, उत्पादनको ढुवानी तथा बालबालिकाको पठनपाठनमा समेत प्रतिकूल असर परेको बताए । उनीहरूले स्थानीय, प्रदेश र संघीय सरकारसँग तत्काल पूल निर्माण कार्य पुनः सुरु गराउन माग गरेका छन् ।

 

किसान भेलाले सर्वसम्मत रूपमा निर्णय गर्दै, पूल निर्माण कार्य पुनः सुरु नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी समेत दिएको छ ।

 

यस कार्यक्रममा पिपरीया लगायत आसपासका क्षेत्रका सयौं किसानको उल्लेखनीय सहभागिता रहेको थियो ।

सागर संगम ठाकुर, रौतहट, १३ गते असार । 

रौतहटको देवाही गोनाही नगरपालिकामा लैङ्गिक समानता र लैङ्गिक हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले एकदिने तालिम सम्पन्न भएको छ । देवाही गोनाही नगरपालिका वडा नं. ९ को आयोजनामा तथा नगरपालिकाको सहयोगमा सौगात नेपाल संस्थाको समन्वयमा आयोजित तालिममा करिब ५० जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो ।

प्रेमपुर गोनाहीस्थित मधेस संग्रहालयमा आयोजना गरिएको सो तालिम कार्यक्रम वडा अध्यक्ष वीर बहादुर साहको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै वडा अध्यक्ष साहले गाउँघरमा हुने लैङ्गिक हिंसाका विविध पक्षहरूबारे प्रकाश पार्दै यस्ता तालिमहरूले समुदायमा चेतना फैलाउने र दीर्घकालीन रूपमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

तालिममा प्रशिक्षकहरूले महिला, पुरुष, बालबालिका तथा वृद्धहरू सबैमा हुने दुर्व्यवहार तथा हिंसाका प्रकार, यसको सामाजिक असर र न्यूनीकरणका उपायबारे जानकारी दिएका थिए । साथै लैङ्गिक विभेद अन्त्य, समान अवसरको सुनिश्चितता, र समुदायमा सकारात्मक सोच विकास गर्न आवश्यक रणनीतिबारे समेत व्यापक छलफल गरिएको थियो ।

कार्यक्रमको समापनमा सौगात नेपाल संस्थाका प्रमुख सुरेन्द्र पासवानले तालिममा सहभागी रहेका नगरपालिका कर्मचारी, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाहरूलाई गम्छा ओढाएर सम्मान प्रकट गरेका थिए ।

यस किसिमका तालिमले महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्ने तथा लैङ्गिक न्यायको पक्षमा समुदायलाई एकजुट गराउने अपेक्षा गरिएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१३ गते असार । 

नेपाल विद्युत प्राधिकरण मौलापुर सवस्टेसन अन्तर्गत अत्यावश्यक मर्मत तथा स्तरोन्नति कार्यका कारण देवाही गोनाही नगरपालिका तथा कटहरिया नगरपालिकाका केही क्षेत्रहरूमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।

प्राधिकरणका अनुसार मिति २०८२ असार १४ गते शनिवार, बिहान ७:०० बजे देखि बेलुका ५:०० बजे सम्म कटहरिया ११ के.भी. फिडर अन्तर्गत बुस कटिङ तथा कटहरिया बजार क्षेत्रमा एसिएसआर तारको सट्टा एबिसी केवल जडानको कार्य सम्पन्न गरिनेछ । उक्त कार्य सम्पन्न गर्नुपर्ने भएकाले मौलापुर सवस्टेसनबाट प्रशारण हुने सम्पूर्ण लाइन बन्द रहनेछ ।

विद्युत अवरुद्ध हुने क्षेत्रहरू देवाही गोनाही नगरपालिका अन्तर्गत टिकुलिया, कर्कच, पिप्रा र कटहरिया नगरपालिका अन्तर्गतको सम्पूर्ण क्षेत्रकाे लाईन अवरुद्ध हुने भएको छ ।

प्राधिकरणले सो समय अवधिमा विद्युत सेवा बन्द रहने जानकारी दिंदै सर्वसाधारणलाई वैकल्पिक व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

यदि तोकिएको कार्य समय भन्दा अगाडि सम्पूर्ण मर्मत कार्य सम्पन्न भएमा विद्युत आपूर्ति तोकिएको समयभन्दा पहिले नै पुन: सञ्चालन गरिने प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरणले अस्थायी असुविधाप्रति उपभोक्तामाझ क्षमायाचना गर्दै सहयोग र सहनशीलता अपनाउन आग्रह गरेको छ ।

 

बज्जिकाञ्चल संवाददाता, १३ गते असार । 

जनकपुरधाम । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का सचिवालय सदस्य तथा आम सांस्कृतिक मोर्चाका केन्द्रीय इन्चार्ज विजय यादव ‘निर्विज’ ले मधेश प्रदेश सरकारले चलचित्र तथा लोक सञ्चार प्रवर्धन बोर्डको अध्यक्षमा किशोर कुमार लेखीलाई नियुक्त गरेकोमा गम्भीर आपत्ति जनाएका छन्।

यादवले लेखीको नियुक्तिको आधार र योग्यतामाथि प्रश्न उठाउँदै तत्काल सच्याउन माग गरेका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत कडा टिप्पणी गर्दै यादवले गृह तथा सञ्चार मन्त्रालयका राजकुमार लेखीका भाइ भएकै आधारमा किशोर कुमार लेखीलाई नियुक्त गरिएको आरोप लगाएका छन्। उनले किशोर कुमार लेखीलाई चलचित्र, नाट्य, संगीत वा साहित्य कुनै पनि विधामा अनुभव नभएको व्यक्ति भन्दै यस किसिमको नियुक्तिले मुख्यमन्त्री सतीश कुमार सिंहको सुशासनको नारामाथि प्रश्नचिह्न खडा गरेको बताएका छन्।

यादवले मधेश प्रदेशमा सक्षम कलाकार तथा संस्कृतिविद्हरूको अभाव नहुँदा नहुँदै पनि अनुभवहीन व्यक्तिलाई नियुक्ति गरिनुले ‘कार्यकर्ता भर्ना’को प्रवृत्ति देखिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले मुख्यमन्त्री सिंहलाई यस विषयमा तत्काल ध्यानाकर्षण गराउँदै यदि यो नियुक्ति नसच्याइएमा आम सांस्कृतिक मोर्चाले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

यादवले यदि किशोर कुमार लेखीलाई पदबाट नहटाइए तत्काल सडकमा उत्रिने चेतावनीसमेत दिएका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।