बज्जिकाञ्चल संवाददाता,मकवानपुर, २८ गते असार – लोहार समुदायको हकहित, पहिचान र अधिकार सुनिश्चित गर्न उद्देश्यसहित विश्वकर्मा लोहार सेवा समिति को मकवानपुर जिल्ला समिति गठन गरिएको छ । एक औपचारिक कार्यक्रमका बीच गठन गरिएको उक्त समितिको अध्यक्षमा रामपुकार ठाकुर चयन भएका छन् ।
समितिको गठन कार्यक्रममा विश्वकर्मा लोहार सेवा समितिका वरिष्ठ उपाध्यक्ष आशीर्वाद ठाकुर प्रमुख अतिथि तथा नेपाल विश्वकर्मा संघका अध्यक्ष विवेक शर्मा विशिष्ट अतिथि थिए । कार्यक्रमको सञ्चालन नेपाल विश्वकर्मा संघका सचिव रामलाल ठाकुर ले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले लोहार समुदायमाथि राज्यबाट हुँदै आएको विभेदको अन्त्यका लागि सबै लोहारहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले जातीय एकताको माध्यमबाट मात्र राज्यबाट प्राप्त हुने सेवा-सुविधाहरू सुनिश्चित गर्न सकिने धारणा राखे। शर्माले आफ्ना सन्तानलाई शिक्षित बनाउन र हरेक घरबाट सामाजिक तथा आर्थिक विकासको थालनी गर्न आग्रह गरेका छन् । साथै, उनले मकवानपुरमा बसोबास गर्ने सम्पूर्ण लोहार समुदायलाई नवगठित समितिमा आबद्ध हुन आह्वान गरेका छन् ।
प्रमुख अतिथि ठाकुरले संघीय शासन प्रणालीको वर्तमान सन्दर्भमा राज्यको हरेक तहमा समावेशी सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए । उनले लोहार जातिलाई परम्परागत शिल्पकलामा निपूर्ण, समाज निर्माणमा योगदान दिने समुदायको रूपमा चिनाउँदै यस जातिलाई राज्यले विशेष प्राथमिकतामा राखेर सेवा-सुविधा दिनुपर्ने माग राखेका छन् ।
कार्यक्रममा सहभागिता जनाएका मकवानपुरका लोहार समुदायका सदस्यहरूले नवगठित समितिले समुदायको आवाज बुलन्द बनाउने र भविष्यमा सामाजिक तथा सांस्कृतिक रूपमा ‘पिलर’ को रूपमा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
यस समितिको गठनसँगै मकवानपुरमा लोहार समुदायको संगठित अभियान औपचारिक रूपमा सुरू भएको छ ।
काठमाडौं ।
नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डको सहयोगमा चल्ने चित्रको मार्फतबाट जनजनमा जनचेतना जगाउने परिकल्पनाका साथ सुरु गरिएको ‘जनचेतना नेपाल’ले असार २७ गते शुक्रबारको दिन श्री भीमसेन गोला माध्यमिक विद्यालयमा ‘विद्यार्थीहरूको सहभागितामा एकदिवसीय चलचित्र कार्यशाला २०८२’ सम्पन्न भएको छ ।
जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौलाको परिकल्पनामा, विपिन किरणको शब्द, बाबु बोगटीको आवाज तथा संगीतमा तयार गरिएको ‘कुरीतिलाई पन्छ्याउँदै’ नामक जनचेतनामूलक गीतबाट सुरु भएको कार्यक्रममा कवि सुरज पराजुलीले सोही अवधारणाको कविता प्रस्तुत गरेको थिए ।
कार्यक्रममा जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौला सभापतिको पदमा आसिन थिए भने प्रमुख अतिथिको रुपमा नाट्यकर्मी, चलचित्रकर्मी, चलचित्र तथा नाटक निर्देशक, वरिष्ठ अभिनेता आशान्त शर्मा उपस्थित थिए । साथै विशिष्ट अतिथिमा अभिनेत्री, समाजसेवी मुना निरौला त्रिपाठी, वरिष्ठ अधिवक्ता समाजसेवी वासुदेव रिजाल, समाजसेवी, अभिनेता कविन्द्र त्रिपाठी, कवि,लेखक निर्देशक तथा अभिनेता सुरज पराजुली, शिक्षाप्रेमी, समाजसेवी बिमला ढुङ्गाना, जनचेतना नेपालका राष्ट्रिय पर्वेक्षक तथा सामाजिक व्यक्तित्व सचित खतिवडा, भीमसेन गोला माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम पौड्याल लगायत विभिन्न कला संस्कृतिका धरोहरहरूको उपस्थिति रहेको थियो । त्यसैगरी सोही विद्यालयका शिक्षक नवराज न्यौपाने र गणेश पहरी अतिथिको रुपमा उपस्थित रहेका थिए ।
जिज्ञासु विद्यार्थीहरूको विभिन्न जिज्ञासाहरूलाई मेटाउँदै प्रमुख अतिथि आसन्त शर्माले चलचित्र र नाटक बीचको फरक, चलचित्र र नाटकमा हुने विभिन्न किसिमका उपकरणहरूको प्रयोग, प्रविधिको प्रयोग, नेपाली चलचित्र तथा विश्व चलचित्रको इतिहास, अभिनयका कौशल, कलाकार तथा पात्रहरूको भिन्नता र नाट्य तथा चलचित्रमा विद्यमान रहेका सङ्घर्षका कुराहरु बताएका थिए ।
कार्यक्रमका विशिष्ट अतिथिहरू मुना निरौला त्रिपाठी, बासुदेव रिजाल, कविन्द्र त्रिपाठी, लगायतले चलचित्र तथा नाट्य क्षेत्रसँग सम्बन्धित रहेर आफ्नो धारणा व्यक्त गरेका थिए । साथै विद्यालयका प्रधानाध्यापक बलराम पौड्याल, शिक्षक नवराज न्यौपाने तथा शिक्षक गणेश पहरीको उपस्थितिमा कार्यक्रम अझ ज्ञानवर्धक बन्नमा टेवा पुग्यो ।
कार्यक्रमका सभापति बालकृष्ण निरौलाले आफ्ना गुरु मोहन निरौलाले दिएको मार्गनिर्देशनको सम्झना गर्दै चलचित्र विकास बोर्डले गरेका नयाँ कामको प्रशंसामा बिकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरेका विभिन्न १० वटा कामको बारेमा चर्चा गरेका थिए । चलचित्र विधेयक, चलचित्र दिवस, आमाको पोस्टर अङ्कित हुलाक टिकट, ३३ वटा कामहरु डिजिटल रुपमा अनलाइनबाट नै सेवा सुरूआत, नेपाली चलचित्रमा पहिला शीर्षकको महत्त्वपूर्ण ऐतिहासिक पुस्तक प्रकाशन, पटकथा संग्रहालय, चलचित्रकर्मी क्षमता अभिवृद्धि वर्ष, सर्वाधिक व्यापार गर्ने २५ वटा चलचित्रहरूको सम्मान आदी विषयमा उनले चर्चा गरेका थिए । निरौलाले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै भव्य र सभ्य रुपमा कार्यक्रम सम्पन्न गरेका थिए ।
असार
एभरेष्ट इन्जिनियरिङ कलेज सानेपामा आज सम्पन्न गोष्ठीका प्रमुख वक्ता अमेरिकाको टेक्सास ए एण्ड एम अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रा.डा. माया प्रकास भट्टले सरकारले साथ दिएमा काठमाडौंको बागमती नदीलाई ६ महिना भित्र निर्मल गर्ने प्रविधि आफुसँग भएको दावी गरेका छन्।
त्रिभुवन विश्वविद्यालय तथा जापानको नागोया विश्वविद्यालयबाट स्नातकोत्तर गरी अमेरिकाका विभिन्न विश्वविद्यालयहरूबाट विद्यावारिधि तथा पोष्ट डक गरी अनुसन्धान तथा शिक्षण कार्यमा दुई दशक भन्दा बढि सेवा गरिसकेका प्रा.डा. भट्टले आफुले गरेका अनुसन्धान परिणामहरू तथा आफू सहितले विकास गरेका प्रविधिहरू प्रयोग गर्ने अवसर दिएमा नेपालका समस्याहरू समाधानमा सकेको योगदान गर्ने इच्छा प्रकट गरे। शुरुमा आयोन एक्सचेन्ज प्रविधिबाट नदीको पानीमा प्रदुषणको मात्रा घटाउने र त्यसपछि क्रमश आरओ, नानो फिल्टर जस्ता प्रविधिहरू प्रयोग गरी जतिसुकै दुषित पानी पनि प्रयोग गर्न मिल्ने गरी निर्मलीकरण गर्न सकिने कुरा आफ्नो अनुसन्धानबाट आइसकेको र त्यसको व्यवहारिक प्रयोग समेत सफल भइसकेको तथ्याङ्क प्रा.डा. भट्टले प्रस्तुत गरे।
अमेरिका तथा अन्य देशहरूमा भएको अनुसन्धानमा सम्मिलित भएर विभिन्न व्यवहारिक प्रविधिहरू विकास गरिसकेका प्रा.डा. भट्टले आफ्नै व्यक्तिगत पहलमा काठमाडौंको बागमती नदीको प्रदुषणको अध्ययन गरिरहेको र के कति कारणले उक्त नदीको पानी दुषित भइरहेको भन्ने विषयमा तथ्याङ्कको विश्लेषण समेत प्रस्तुत गरे। कुनै समयमा अहिलेको बागमती भन्दा आठ गुणा बढी प्रदुषित फ्रान्सको सीन नदी प्रविधिकै प्रयोगबाट केही दिन अगाडि निर्मल भएको घोषणा गरी सर्वसाधारणको लागि नदीमा पौडिन खुला गरेको छ। युरोपको राइन नदी कुनै बेला अहिलेको बागमती भन्दा कयौं गुणा बढी प्रदुषित थियो तर अहिले निर्मल भई पौडिन योग्य भएको छ।
विश्वव्यापी जलको उपलब्धता, गुणस्तर, चुनौती तथा समाधान विषयमा भएको गोष्ठीमा त्रिभुवन विश्वविद्यालय किर्तिपुर र त्रिचन्द्र क्याम्पसका स्नातकोत्तर विद्यार्थीहरू, तथा नेपाल इन्जिनियरिङ कलेज भक्तपुर र एभरेष्ट इन्जिनियरिङ कलेजका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति थियो। मूल प्रस्तुती पश्चात त्रिभुवन विश्वविद्यालय किर्तिपुर र त्रिचन्द्र क्याम्पसका स्नातकोत्तर विद्यार्थीहरूले आआफ्नो थेसिसको विषय गोष्ठीमा प्रस्तुतिको विषयसँग सम्बन्धित भएकोले विभिन्न जिज्ञासाहरू राखेका थिए।
नेपालका विद्यार्थीहरूले विद्यावारिधी वा अनुसन्धानका प्रस्तावहरू पेश गरेमा सकारात्मक तवरले विश्वविद्यालयमा सिफारिस गर्ने तथा नेपालीहरूसँग अनुसन्धानमा सहकार्य गर्न तत्पर रहेको जानकरी दिँदै प्रा.डा. भट्टले आफ्नो ज्ञान तथा सीपको प्रयोग नेपाल गर्न सकिने बताए। जल तथा मौसमविद् समाज नेपालसँगको सहकार्यमा एभरेष्ट इन्जिनियरिङ कलेजले आयोजना गरेको उक्त गोष्ठी कार्यक्रम पश्चात एभरेष्ट इन्जिनियरिङ कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले प्रा.डा. माया प्रकास भट्टलाई कलेजको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए।
आरके श्रीवास्तव,राैतहट,२८ गते असार ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रिय सदस्य राजाबाबु साह आज जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच साहले औपचारिक रूपमा जसपा नेपालको सदस्यता ग्रहण गरेका हुन् ।
उनलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको सदस्यता प्रदान गर्दै टिकामाला लगाई पार्टीमा स्वागत गरेका छन् ।
कार्यक्रममा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, जसपाका वरिष्ठ उपाध्यक्ष गोविन्द चौधरी, नेता राजकिशोर यादव तथा जयमंगल साह लगायतको उपस्थिति रहेको थियो ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै राजाबाबु साहले अब आफू मधेसको हक अधिकार र सामाजिक न्यायका लागि जसपा नेपालमार्फत सङ्गठित रूपमा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले वर्तमान अवस्थामा मधेसको राजनीतिक सशक्तीकरणका लागि वैकल्पिक राजनीतिक धार आवश्यक रहेको बताएका छन् ।
जसपा नेपालले हालै विभिन्न क्षेत्रका युवा नेताहरूलाई पार्टीमा आकर्षित गर्दै आएको छ । साहको प्रवेशलाई पार्टीले युवासशक्तिकरण र संगठन सुदृढीकरणतर्फको महत्वपूर्ण पाइला मानेको छ ।
आरके श्रीवास्तव,राैतहट,२८ गते असार ।
रौतहटकाे कटहरियामा आजदेखि टि–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ । बाैधीमाई क्रिकेट क्लब कटहरियाकाे आयाेजना र कटहरिया वडा नम्बर ४ काे सहयोगमा प्रतियोगिताकाे दाेस्राे सिजन सुरू भएको छ । पाँच दिनसम्म चल्ने प्रतियोगितामा कटहरिया नगरका टिमहरूसँगै अन्य पालिकाका १८ वटा टिमहरूको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेल बलुवा र बहादुरपुरबीच सम्पन्न भयो, जसमा टस जित्दै बहादुरपुरले ब्याटिङ रोजेको थियो । प्रतियोगिताको उद्घाटन सत्रलाई ईप्रका कटहरियाका ईन्चार्ज विनोद राना मगर तथा स्थानीय जनप्रतिनिधिहरूले सम्बोधन गरेका थिए ।

कटहरिया–४ का वडा अध्यक्ष चन्दन कुशवाहाले उद्घाटन समारोहमा बोल्दै कटहरियामा पछिल्लो ५० वर्षदेखि क्रिकेटको इतिहास रहेको बताउँदै त्यसको परिणामस्वरूप रोहित सोनल जस्ता प्रतिभाशाली खेलाडीहरू जन्मिएको बताए । उनले ‘मिसन ८४’ अन्तर्गत टोल ग्राउन्डको स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिँदै, सीमित बजेट (२० लाख) मै शिक्षा, खेलकुद र प्रतिभा विकासमा काम गरिएको बताए ।

“एसईईमा ए प्लस ल्याउने विद्यार्थीलाई सम्मान गरेका छौं, वादविवाद तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेका छौं,” कुशवाहाले भने, “खेलकुद सामग्री वितरणदेखि लिएर क्रिकेट प्रतियोगिता हुँदै आएको छ।”

त्यस्तै, वडा नं. ३ का अध्यक्ष श्यामाकान्त यादवले युवाका लागि खेलकुद अपरिहार्य भएकोले आफू सधैं सहयोग गर्न तयार रहेको बताए । वडा सदस्य रामईश्वर यादवले खेलाडीहरूलाई खेलकुद सम्बन्धी समस्या नडराई साझा गर्न सुझाव दिएका थिए । वडा सदस्य दिलीप साहले वडा अध्यक्ष कुशवाहा स्वयं खेलाडी भएकाले कटहरियामा क्रिकेटको विकासका लागि अहोरात्र लागिपरेको बताए ।
कार्यक्रममा गायक सोनु कुशवाहाले “हमर चन्दन भईया कटहरियाके शान हबे, जनताके जान हबे” बोलको गीत गाएर माहोल उत्साही बनाएका थिए । उनले अध्यक्ष कुशवाहाको सोचमा सबै कटहरियावासीको साथ रहने विश्वास व्यक्त गरेका थिए ।
ईप्रका कटहरियाका ईन्चार्ज विनोद राना मगरले पनि खेलकुद स्वास्थ्य र अनुशासनका लागि अत्यावश्यक भएको बताउँदै युवालाई खेलमा लाग्न प्रेरित गरेका थिए ।
प्रतियोगिता आगामी पाँच दिनसम्म कटहरियाको विभिन्न टोल–टोलमा सम्पन्न हुने आयोजकले जनाएको छ ।
काठमाडौं ।
सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक भएको छ । गायक रोशन टमट्टा र गायिका संगीतबडुवालको स्वरमा प्रस्तुत गीतले लोकशैलीमा आधारित समसामयिक सन्देश बोकेको छ ।गीतका शब्द र संगीत स्वयं संगीत बडुवालले तयार गर्नुभएको हो । दीपक संगमबिगीतको संगीत जत्तिकै आकर्षक भिडियो पक्ष पनि तयार पारिएको छ । भिडियोमादीपकसंगम बिसी, मिराजविक्रम सिंह, संगीता बडुवाल, हेमराज अधिकारी (खन्ट्या खलास),गणेश जीसी र मीना बडुवालको अभिनय छ ।मिराजविक्रम सिंहको निर्देशन र नृत्य निर्देशनमा तयार भएको भिडियोमा छायांकनर रंग संयोजन अमित बीकेले गर्नुभएको छ भने दृश्य सम्पादन राजेश बोहराले गर्नुभएकोछ ।शैली, लय र प्रस्तुतिकरणका दृष्टिले उत्कृष्ट बनेको यो गीतले विशेषगरी देउडागीतप्रेमी दर्शक–स्रोतामाझ लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ । गीतकोभिडियो गायक रोशनको अफिसियल युट्यूबमार्फत सार्वजनिक गरिएको हो ।
वीरगञ्ज (पर्सा), २५ असार : खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले खानेपानीको गम्भीर अभाव सिर्जना भएको वीरगञ्ज महानगरपालिका सहित तराई–मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गरिने बिश्वास व्यक्त गर्नु भएको छ ।
आज मन्त्री यादवले वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा, टोल तथा घर घरमा पुगेर निरीक्षण तथा अनुगमन गरि तत्कालै खानेपानीको समस्या समाधान गर्न आफु लागि परेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “वीरगन्जसहित तराई–मधेसमा देखिएको खानेपानीको समस्या समाधान गर्न म पहल गरिरहेको छु । सयौँ ठाउँमा डिप बोरिङ जडान भइ खानेपानी आपूर्ति भइरहेका छन् । अन्य समस्या ग्रस्थ क्षेत्रमा पनि डिप बोरिङ जडानको कार्य सुरु भएकाले यहाँको समस्या चाडै समाधान हुनेछ ।”
खानेपानीको समस्या ग्रस्थ भएका यहाँका विभिन्न वडा, गाउँ तथा टोलहरुमा निरीक्षण गर्नु हुँदै मन्त्री यादवले पछिल्लो समय जनताले भोगिरहेको खानेपानीको अभावले आफू निकै चिन्तित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “वीरगञ्जसहित तराई–मधेसमा देखिएको खानेपानीको समस्या समाधान गर्न म स्थलगत रुपमा अनुगमनमा निस्किएको छु । जनताको अत्यावश्यक आवश्यकताको रूपमा रहेको खानेपानीको समस्या समाधानमा कुनै कसर बाँकी राखिने छैन । सरकारको तर्फबाट तीव्र पहल भइरहेको छ ।”
आज मन्त्री यादव सहितको टोलीले वीरगञ्ज महानगरपालिकाका–११ का श्रीपुर, नयाँ बस्ती, रानीघाट, ओमआश्रम, वडा नं १२ का मुर्ली नएका टोला, ब्रह्मचोक, वडा नं १२ का राधेमाई, पण्डितटोल, तीजार्थटोल, मुरली गाउँ, नएको टोल, वडा नं १४ का बहुँअरी राधेमाई, पिपरा, वडा नं १५ का भिष्वा नयाँ बस्ति, लक्ष्मनुवा, वडा नं २१ का तत्वाटोल, ताजपुर, कोईरिया टोल ,परवानापूर वडा नं २४ का रामगढवा, रानीघाट, नयाँ बस्ती, बहुँवरी, वडा नं २६ को सुगौली, अटराहा, वडा नं २५ को डाईपोर्ट, सिरसिया वडा नं १७ को अलौँ, वडा नं १० को घडिहरवा, रानीघाट, वडानं ९ लगायत विभिन्न टोल र घरघरमा अनुगमन तथा निरीक्षण गर्नु भएको थियो ।
जलवायु परिर्वतनका कारण यहाँका पानीका चापाकल सुक्दै गएका र खानेपानीको चरम अभाव भएपछि मन्त्री यादव सहित नेपाल खानेपानी संस्थानका कर्मचारीको टोलीले समस्या समाधानका उपाय सहित अनुगमन तथा निरीक्षण गरेको थियो ।
स्थानीय तहसँग सहकार्य गर्दै यहाँको खानेपानीको समस्या समाधान गर्न आफु पूर्ण प्रतिबद्ध रहेको समेत मन्त्री यादवले विश्वास दिलाउनुभयो ।
उहाँले भन्नुभयो, “यो संकटको समाधानका लागि आवश्यक रणनीति, स्रोत परिचालन र दीर्घकालीन योजना निर्माणमा मेरो पहल जारी रहनेछ । विपतको समयमा सबैको साथ तथा सबैको हाथको आशा पनि राखेको छु ।”
सागर संगम ठाकुर, रौतहट,असार २५ गते
रौतहटको देवाही गोनाही नगरपालिका–९, धरहरीस्थित श्री जय किसान माध्यमिक विद्यालयमा कक्षा १० (एसईई) परीक्षामा सफल विद्यार्थीहरूलाई विशेष सम्मान तथा बिदाइ गरिएको छ । २०८१ सालको एसईई परीक्षामा सो विद्यालयबाट सहभागी भएका २१० जना विद्यार्थीमध्ये १२७ जना सफल भएका थिए ।

बुधबार आयोजित उक्त विशेष समारोह विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामनन्द साहको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह तथा विशिष्ट अतिथिका रूपमा वडा अध्यक्ष वीर बहादुर साह उपस्थित थिए ।

कार्यक्रममा सफल विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएकाे छ । प्रमुख अतिथि मेयर साह, विशिष्ट अतिथि वडा अध्यक्ष साह, विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामनन्द साह तथा प्रधानाध्यापक संजय प्रसाद गुप्ताले संयुक्त रूपमा विद्यार्थीहरूलाई सम्मानपत्र वितरण गरेका थिए।

प्रधानाध्यापक गुप्ताले एसईई परीक्षामा ‘ए प्लस (A+)’ ल्याउने १० जना विद्यार्थीहरूलाई विशेष शुभकामना दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए । साथै, सबै विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न प्रेरणा दिँदै निरन्तर अध्ययनमा लाग्न आग्रह गरे ।
कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक तथा स्थानीयहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताका बीचमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।