काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बुधबार (असार ३२) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ ।
नयाँ मूल्यसूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५७.५० रुपैयाँ पर्नेछ । यी स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४५.५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
भारतबाट इन्धनको मूल्य बढेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ । सभार बाह्रखरी
कामरेन्द्र वर्मा,काठमाडौं,३० गते असार ।
सामाजिक सुरक्षा प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (ICAN) र सामाजिक सुरक्षा कोष (SSF) बीच समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थानका कार्यकारी निर्देशक सीए बिमल डंगोल र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक सीए कबिराज अधिकारीले आइतबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थानका अध्यक्ष प्रवीण कुमार झाको उपस्थितिमा सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षर समारोहमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान र सामाजिक सुरक्षा कोषका अन्य वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।

समझदारीपत्र अनुसार दुवै संस्थाले आपसी सहकार्यमा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमहरूको प्रवर्द्धन, वित्तीय व्यवस्थापनमा पारदर्शिता, दक्ष जनशक्ति विकास, तालिम तथा जनचेतनामूलक क्रियाकलापहरू सञ्चालन गर्नेछन् ।

कार्यक्रममा बोल्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान अध्यक्ष झाले नेपालमा सामाजिक सुरक्षाको दायरा विस्तार गर्न पेशागत संस्थाको भूमिकालाई प्रभावकारी बनाउन यो समझदारी महत्वपूर्ण कडी हुने बताए । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक अधिकारीले चार्टर्ड एकाउन्टेन्ट्स समुदायको प्राविधिक योगदान सामाजिक सुरक्षा प्रणालीको मजबुतीका लागि अपरिहार्य रहेको उल्लेख गरेका छन् ।
यस सहकार्यले सामाजिक सुरक्षाको पहुँचलाई अझ सुदृढ गर्दै श्रमिकहरूको हितमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
प्रिमेश सिवाकोटी,चन्द्रपुर ,२९ गते असार ।
रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेलाका स्थानीय बासिन्दा जङ्गली हात्तीको बढ्दो आतङ्कका कारण त्रसित बनेका छन् । शनिबार राति पाँचवटा हात्तीको समूह गाउँमा पसेर चार वटा घर भत्काएपछि आक्रोशित स्थानीयले आइतबार डिभिजन वन कार्यालय रौतहटमा धर्ना दिँदै हात्ती नियन्त्रण गर्न माग गरेका छन् ।
पीडित गाउँलेले वन कार्यालयले हात्ती नियन्त्रणका लागि कुनै ठोस पहल नगरेको आरोप लगाउँदै कार्यालयको घेराउ गरेका हुन्। उनीहरूले हात्तीलाई नियन्त्रणमा लिई सुरक्षित स्थानमा सार्न र पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका छन् ।
शनिबार रातिको घटनामा स्थानीय दिपा बल, दिलबहादुर राई, लाल बाबू मुक्तान र किरण बम्जनको घरमा हात्तीले क्षति पुर्याएको स्थानीय शंकर चौधरीले जानकारी दिए । उनका अनुसार हात्तीको समूह हरेक रात गाउँमा प्रवेश गरी घर र सम्पत्तिमा क्षति पुर्याउने गरेको छ ।

स्थानीय धनबहादुर पुलामीले भने, “रातभरि जाग्राम नगरेको भए मानवीय क्षति हुन सक्थ्यो। घर र बालबच्चा जोगाउन रातभर जाग्राम बस्न बाध्य छौं।”
अर्का स्थानीय राजु पाण्डेले वन कार्यालयको भूमिकालाई लक्षित गर्दै, “हात्ती नियन्त्रण गर्न नसक्नु वन प्रशासनको गैरजिम्मेवारीपनको पराकाष्ठा हो,” भन्दै आक्रोश व्यक्त गरे ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले भने, हात्ती नियन्त्रणका लागि निकुञ्ज तथा सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको जानकारी दिए ।
तर स्थानीयको माग अझ स्पष्ट छ— हात्ती नियन्त्रणका लागि तत्काल कदम चालियोस्, पीडितलाई राहत दिइयोस्, र दीर्घकालीन समाधानका लागि प्रभावकारी रणनीति निर्माण गरियोस् ।
जंगलसँग टाँसिएको जुडिबेलामा वर्षौंदेखि जङ्गली हात्तीको जोखिम रहँदै आए पनि पछिल्ला दिनहरूमा हात्तीको गतिविधि र आक्रमण बढ्दो क्रममा छ। यसले गाउँमा भयावह अवस्था सिर्जना गरेको छ ।
सुरक्षा चुनौती, वन प्रशासनको निष्क्रियता र प्रभावकारी समाधानको अभावबीच जुडिबेलावासीको आक्रोश र पीडा दिन प्रतिदिन चुलिँदै गएको छ ।
काठमाडौं, २९ गते असार ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले तराई मधेस सहित काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानीको देखिएको समस्याको समाधान गर्न सरकारले चासो नदिएको बताएका छन् । प्रधानमन्त्रीदेखी मन्त्रीहरुले विदेशबाट मिनिरल वाटर मगाएर खाने तर नेपाली जनताले शुद्धखानेपानी समेत नपाउँने दुखद बिषय भएको टिप्पणी उनले गरे ।
प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठकमा उनले पानीको हाहाकार हुँदा समेत सरकार गम्भिर नभएको भन्दै यस बारेमा सरकारले जवाफ दिनुपर्ने बताए । साहले प्रश्न गरे, ‘म सरकारलाई सोध्न चाहन्छु सुकुम्बासी बस्तीमा खानेपानी किन रोकेको ?’
दुई तिहाईको शक्तिशाली सरकार मानवता विरोधी र जवादेही सरकार नभएको टिप्पणी उनले गरे । संविधानमा खानेपानीलाई मौलिक हक भनिएको भए पनि सरकारले किन सुकुम्बासी बस्तीमा खानेपानी रोकेको भन्दै उनले यस बारेमा सरकारसंग जवाफ मागेका छन् ।
‘सभामुख महोदय, काठमाडौंको सुकुम्बासीहरु झण्डै एक सातादेखी खानेपानीका लागि आन्दोलित छन् । प्रत्येक दिन काठमाडौंको केयूकेएलको कार्यालय अगाडी खानेपानी माग्दै घेराउ र धर्ना उनीहरुले गरिरहेका छन् । म सरकारलाई सोध्न चाहन्छु सुकुम्बासीलाई खानेपानी किन रोक्नुभयो ?,’ आजपा अध्यक्ष साहले प्रश्न गर्दै भने, ‘तपाईहरु आफ्ना लागि विदेशबाट महंगा मिनिरल वाटर मगाएर खानुपर्ने तर नेपाली जनता नर्मल पानीका लागि पनि तडपिनुपर्ने ? म जान्न चाहन्छु नेपाल सरकारको सुकुम्बासीप्रति कस्तो धारणा हो ? के सुकुम्बासी मान्छे हो की होइन ? गरिबहरु मान्छे हो की होइन ? हो भने यही ठाउँको महलमा पानीको सप्लाई जाने र सुकुम्बासी बस्तीमा रोक्ने काम सरकारले किन गरेको हो ?’
सरकारले यथासिघ्र सुकुम्बासी बस्तीमा खानेपानीको व्यवस्था गर्नुपर्ने उनले बताउ । सरकार अलिकति पनि जवाफदेही र सम्बेदनशील छ भने सुकुम्बासी बस्तीमा तुरुन्त खानेपानीको व्यवस्था गर्नुपर्ने उनले बताए । खानेपानीका लागि आन्दोलन गरिरहेका सुकुम्बासीको आन्दोलन तुरुन्त सम्बोधन गर्न समेत उनले सरकारलाई आग्रह गरेका छन् । साथै सुकुम्बासीप्रति विभेदन गर्न समेत उनले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आग्रह गरे । विभेद नगरी सुकुम्बासीलाई पनि खानेपानी उपलब्ध गराउँनुपर्ने उनले बताए ।
यस्तै उनले तराई मधेसमा खानेपानीको हाहाकार रहेको बताउदै सरकारले त्यसतर्फ तुरुन्त ध्यान दिनुपर्ने बताए । ‘इनार सुकेको छ, चापाकलमा पानी आउँदैन्, बोरिङहरुमा समेत पानी आउँन छोडेको छ । मान्छे पानीबिना तडपिरहेको छ, काकाकुलको अवस्था छ । यस्तो अवस्थामा यसबारेमा सरकारले के गरिरहेको छ ? सरकारले यसबारेमा जवाफ देओस् भन्ने म आग्रह गर्न चाहन्छु,’ आजपा अध्यक्ष साहले भने ।
सरकारले कि संसदलाई गनिरहेको छैन वा सरकार बहिरो रहेको टिप्पणी उनले गरे । तराई मधेसमा पानीको हाहाकार हुँदा समेत सरकार किन अन्धो भएको भन्दै उलने जवाफ माग गरेका छन् । खानेपानीको अभाव बारेमा खानेपानी मन्त्री, सरकारले गरिमामय संसदमा जवाफ दिनुपर्ने र देखिएको समस्या तुरुन्त समाधान गर्नुपर्ने माग उनले गरे । यदी पानी जीवन हो भने सरकाले मान्छेको जीवनसंग खेलवाड गर्ने अधिकार नभएको उनले बताए ।
काठमाडौं, २९ गते असार ।
आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले खानेपानीको माग गर्दै आज (आईतबार) पाँचौदिन पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालय घेराउ एवं धर्ना दिइएको छ । कार्यालय अगाडी धर्ना दिदै उनीहरुले सरकारका बिरुद्धमा चर्को नाराबाजी गरेका छन् ।
सुकुम्बासी संघले काठमाडौंको त्रिपुरेश्वर स्थित केयूकेएलको कार्यालय घेराउ गर्दै शुद्धखानेपानीको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । सुकुम्बासी बस्तीमा खानेपानीको माग गर्दै उनीहरुले यसअघि ध्यानाकर्षणपत्र बुझाएका थिए ।
यसबारेमा सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको सुकुम्बासी संघका अध्यक्ष कालबहादुर विकले जनाएका छन् । ‘सरकारले की खानेपानी दिनुपर्यो की खानेपानी मन्त्रीले राजीनामा दिनुपर्यो । असक्षम मन्त्रीले कुर्सीमा टासिएर कहिलेसम्म बस्ने हो,’ विकले प्रश्न गरे ।
सहभागिहरुले हातहातमा खाली गाग्री बोकेर हामीलाई खानेपानी देउ भन्दै केयूकेएलको कार्यालय घेराउ गरेका छन् । उनीहरुले सरकारका बिरुद्धमा चर्को नारावाजी समेत गरेका छन् । ‘घरघरमा पानी दे, एक घर एक धारा यो नै हो हाम्रो नारा, खानेपानीको विभेद अन्त्य गर, खानेपानी आर्शिवाद होइन अधिकार हो, खानेपानी नदिने सरकार बेकार हो, खानेपानी चोर कुर्सी छोड’ लगायतका नारावाजी गर्दै आन्दोलन भइरहेको छ ।
‘आजको २१औं शताब्दिमा आफ्नै देशका नागरिकलाई खानेपानीको हकबाट वञ्चित गर्ने मानवता विरोधी कार्य विरुद्ध हामी काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा धर्ना तथा विरोधको कार्यक्रम गर्न बाध्य भएका छौं । हामी हाम्रो मागको बारेमा सरकार र सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएपछि कार्यालय घेराउ गर्नु परेको हो,’ सुकुम्बासी संघका अध्यक्ष विकले भने ।
तराई मधेसदेखी काठमाडौंको सुकुम्बासी बस्तीमा समेत खानेपानीको अभाव भएकोले सरकारले यथासिघ्र खानेपानीको व्यवस्था गर्नुपर्ने आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् । खानेपानी नेपाली जनताको मौलिक हक भए पनि निकम्मा सरकारले चासो नदिएको उनले बताए ।
संसददेखी सडकसम्म पानीको माग गर्दै सरकारको चर्को आलोचना भईरहेको छ । काठमाडौंको सुकुम्बासी बस्ती देखी तराई मधेसका जिल्लामा खानेपानीको माग गर्दै चर्कोरुपमा आवाज उठिरहेको छ ।
संसदमा सांसदहरुले तराई मधेसका जिल्लामा इनार, चापाकल सुकेकाले खानेपानीको अभाव भएको भन्दै त्यसको व्यवस्थापनमा सरकारले चासो नदिएको गुनासो सांसदहरुले गरेका छन् । यस्तै अहिले धान रोप्ने बेलामा पानी नपाएर किसानले धान रोप्न नपाएको बारेमा समेत सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
बज्जिकाञ्चल संवाददाता,रौतहट,२९ गते असार ।
रौतहट जिल्लाको गरुडा नगरपालिका–९ स्थित श्री माध्यमिक विद्यालय, श्रीपुर नयाँ गम्हरियामा अध्ययनरत कक्षा १० की एक छात्रालाई आपत्तिजनक सन्देश पठाएको आरोपमा सोही विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साहलाई स्थानीय अभिभावक र विद्यार्थीहरूले कुटपिट गरेका छन् ।
आरोपअनुसार शिक्षक साहले १७ वर्षीया छात्रालाई फेसबुक म्यासेन्जरमार्फत “हैपी बर्थ डे, आई लभ यु मेरी जान” भन्ने सन्देश पठाएका थिए। सन्देशको विषयमा जानकारी पाउनेबित्तिकै आक्रोशित अभिभावक र विद्यार्थीहरूको भीड आइतबार बिहान विद्यालय परिसरमै पुगेर शिक्षक साहलाई कुटपिटमा उत्रिएको थियो ।
घटनाको क्रममा भीडले विद्यालय परिसरमा तोडफोड गर्दै पार्किङमा राखिएका केही मोटरसाइकलमा समेत क्षति पुर्याएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन कार्कीले जानकारी दिए ।
घटनापछि स्थिति तनावग्रस्त बनेको थियो । अवस्था नियन्त्रणमा लिन प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा खटिएको टोलीले एक राउन्ड अश्रुग्यास प्रयोग गरी भीड तितरबितर पारेको थियो ।
डीएसपी कार्कीका अनुसार शिक्षक साह हाल प्रहरी नियन्त्रणमा छन् र घटनाबारे अनुसन्धान भइरहेको छ। “यदि पीडित पक्षबाट जाहेरी दिइयो भने कानुनी प्रक्रिया अघि बढाइनेछ,” उनले भने ।
यता, केही स्थानीय व्यक्तिहरू घटनालाई आपसी छलफलमार्फत मिलाउने प्रयासमा लागेका छन्। तर प्रहरीले भने कानुनी प्रक्रियाअनुसार जाहेरीकै आधारमा मुद्दा अघि बढाउने स्पष्ट पारेको छ ।
यस घटनाले विद्यालय जस्तो संवेदनशील शिक्षण संस्थामा नैतिकता र विद्यार्थी-सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ। अभिभावकहरूले यस्ता गतिविधि दोहोरिन नदिन दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
आरके श्रीवास्तव,राैतहट,२९ गते असार ।
लोकतान्त्रिक पत्रकार संघले आफ्नो संशोधित विधान अनुसार दिपक कुमारलाई भारतको बिहार प्रमुख संयोजक पदमा मनोनयन गरेको छ । संघका अध्यक्ष कामरेन्द्र वर्माद्वारा जारी गरिएको बधाई सन्देशमा दिपक कुमारलाई मनोनयन गरिएको जानकारी दिँदै उनको कार्यकाल सफल र उल्लेखनीय हुने विश्वास व्यक्त गरिएको छ ।
बधाई सन्देशमा लेखिएको छ, “देश, मधेश, पत्रकार एवं पार्टीको हितमा यहाँको कार्यकाल उल्लेखनीय रहने छ भन्ने विश्वासका साथ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।”
नवनियुक्त संयोजक दिपक कुमारलाई संघका पदाधिकारी, पत्रकार तथा शुभेच्छुकहरूले पनि सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन् । लोकतान्त्रिक पत्रकार संघले पत्रकार हितका मुद्दाहरूमा सक्रिय भूमिका खेल्दै आएको छ ।
सागर संगम ठाकुर, रौतहट, असार २८ गते
रौतहटको गरुडा नगरपालिका–८ जिगडियामा एक दिने नि:शुल्क आँखा शिविर सम्पन भएको छ।
स्थित जमिया दरुल उलोम मदर्शामा शुक्रवार एक दिने निःशुल्क आँखा शिविरको आयोजना गरियो ।नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवा गौरको आयोजना तथा डाक फाउण्डेशनको आर्थिक सहयोगमा वडा नम्बर -८ जिगडिया स्थित जमिया दरुल उलोम मदर्शामा शुक्रबार शिविर सम्पन भएको हाे । विहान ९ बजे देखि सुरु भएको शिविरमा गौर आँखा अस्पतालका नेत्र चिकित्सकहरु द्वारा ३७५ जनालाई आँखाको परिक्षण गरिएकाे थियो ।
एकदिने शिविरमा गरिएको परिक्षणमा ४० जनामा मोतिया विन्दुको रोग फेला परेकाे शिविरमा सहभागी डाक्टर सतेन्द्र पाण्डेले जानकारी दिनु भयो । वहाँका अनुसार माेतियाबिन्दु भएका विरामीहरुलाई आईतवार नि:शुल्क रुपमा शैल्यक्रिया गरिने बताए । शिविरमा १५४ जना विरामीलाई चश्मा तथा २८७ जनालाई औषधी वितरण गरिएको शिविरका कार्यक्रम संयोजक समेत रहेका पाण्डेले भने । उनका अनुसार मोतिया विन्दु भएका विरामीहरुलाई बसबाट अस्पतालमा लगेर शैल्यक्रिया आईतवार देखि हुने बताए । लायन्स क्लव रौतहट, चन्द्रनिगाहपुर ९५२४५, लायन्स क्लव रौतहट, चन्द्रपुर १७२५११, लायन्सक्ल क्लव चन्द्रनिगाहपुर गे्रटर १५५७६९, लायन्स क्लव समनपुर ०६६९७८, लायन्स क्लव चनद्रपुर प्राइड, लायन्स क्लव चन्द्रपुर फेमिना १४८२७६, लायन्स क्लव चन्द्रपुर ग्रिण सिटी १५०७०४, लायन्स क्लव भिजन नेपाल १११६६६, लायन्स क्लव चन्द्रपुर मेडिकोजको स्थानीय आयोजना रहेको शिविर कार्यक्रम संयोजक पाण्डेले जानकारी दिए ।
आरके श्रीवास्तव,राैतहट,२८ गते असार ।
मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा हालसम्मकै उच्च बजेट खर्च गरेर ऐतिहासिक सफलता हात पारेको छ । प्रदेश सरकारले उक्त वर्षमा चालु तथा पुँजीगत खर्च गरी कुल ७१.४८ प्रतिशत बजेट खर्च गर्न सफल भएको हो, जुन प्रदेश सरकार गठनपछिको सबैभन्दा उच्च खर्च प्रतिशत हो ।
यस उत्कृष्ट उपलब्धिको नेतृत्व गरेका अर्थमन्त्री सुनिलकुमार यादव (‘जितेन्द्र’) लाई सामाजिक सञ्जालदेखि जनस्तरसम्मबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ । रौतहटबासीहरूले उहाँको कार्यदक्षताको खुलेर प्रशंसा गरिरहेका छन् ।
रौतहट निवासी एक सामाजिक अभियन्ता एवम् पत्रकार संजय सहनी लेख्छन्: “हालसम्मको सफल अर्थमन्त्री हाम्रो रौतहटबासी आदरणीय जितेन्द्र दाईलाई बधाई तथा शुभकामना दिन चाहन्छु । मधेस प्रदेशको विकासका लागि तपाईं अझ शसक्त भएर लाग्नुस्, रौतहटबासीको साथ र आशीर्वाद तपाईंको साथमा रहिरहनेछ ।”
सात वर्षको तुलनात्मक विश्लेषण
मधेस प्रदेश सरकार गठनपछिका पछिल्ला सात वर्षको बजेट खर्च विवरण यसप्रकार रहेको छ ।
आर्थिक वर्ष र खर्च प्रतिशत यसप्रकार रहेको छ । २०७५/७६ मा ५१.७५%,२०७६/७७ मा ४०.६६%,२०७७/७८
मा ६५.४६%,२०७८/७९ मा ६३.८३%,२०७९/८० मा ५७.३२%,२०८०/८१ मा ५५.६४% रहेको छ । जबकि चालु आर्थिक वर्ष २०८१/८२ मा ७१.४८% रहेको छ ।
यसले देखाउँछ कि आर्थिक अनुशासन, कार्यान्वयन क्षमताको सुधार र दक्ष नेतृत्वका कारण बजेट खर्चमा सकारात्मक परिवर्तन आएको हो । साथै, खर्च दर बढेसँगै ‘फ्रिज’ हुने रकम उल्लेखनीय रूपमा घट्दै गएको छ । जसले नीति कार्यान्वयनमा सुधार आएको स्पष्ट संकेत गर्दछ।
यस ऐतिहासिक सफलताले मधेस प्रदेशमा विकास योजनाहरूले गति लिएको तथा जनताले सरकारप्रति विश्वास राख्न थालेको संकेत दिन्छ ।
अर्थमन्त्री यादवले भने, “बजेट खर्च वृद्धि गर्नुको मुख्य उद्देश्य भनेको जनता प्रत्यक्ष लाभान्वित हुने खालका विकास कार्यक्रमहरू समयमै कार्यान्वयन गर्नु हो । हामीले बजेट निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियालाई व्यवस्थित बनाएका छौं ।”