२०८३ बैशाख ९
२०८३ बैशाख ९

आरके श्रीवास्तव,राैतहट,०६ गते साउन । 

रौतहटको गरुडा नगरपालिका–४ स्थित नापी कार्यालय नजिकै चेकजाँचको क्रममा प्रहरीले ठूलो परिमाणमा लागुऔषध जस्तो देखिने गाँजा बरामद गरेको छ । मङ्गलवार बिहान करीब ८:३० बजे चपुर–गौर सडकखण्डमा चेकजाँचको क्रममा एक कार भागेपछि प्रहरीले उक्त सवारी साधन झाझपुल नजिकै सडकको पश्चिम साइडमा खाल्टोमा करीब १० फिट तल फसेको अवस्थामा फेला पारेको थियो ।

चेकजाँच गर्दा ग ३ च ६८९६ नम्बरको रातो रङको कारको डिक्कीमा प्लास्टिकका १३ वटा पोका फेला परेका छन् ।  जसमा अन्दाजी १३३ केजी लागुऔषध गाँजा जस्तो देखिने पदार्थ लुकाइएको थियो । गाडी चालक भने घटनास्थलबाट फरार भएको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाडी र लागुऔषध इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएको छ । फरार चालकको पहिचान र खोजी कार्य तीव्र रूपमा भइरहेको ईप्रका गरूडाका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

प्रहरीले लागुऔषध कारोबार नियन्त्रण गर्ने उद्देश्यले सडकमा निगरानी र चेकजाँच कार्यलाई अझ सशक्त बनाइरहेको जनाएको छ।

 

आरके श्रीवास्तव, रौतहट, साउन ५ गते । 

रौतहटको फतुवा विजयपुर नगरपालिका–२ स्थित श्री माध्यमिक विद्यालय सितलपुरले पछिल्ला दिनहरूमा उल्लेखनीय सुधार हासिल गरेको छ। यस सफलतामा वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव (संजय) को नेतृत्वदायी भूमिका निर्णायक रहेको छ ।

शिक्षालाई प्राथमिकता दिने प्रतिबद्धतासहित अध्यक्ष यादवको सक्रिय पहलमा विद्यालयमा थुप्रै सुधारात्मक कार्यहरू सम्पन्न भएका छन्। स्थानीय स्रोतको अधिकतम उपयोग, वडा कार्यालय तथा नगरपालिकासँगको सहकार्यबाट विद्यालयमा शैक्षिक र भौतिक सुधार सम्भव भएको हो।

विद्यालयको आफ्नै आम्दानीबाट झण्डै ३ लाख रुपैयाँ खर्चेर विद्यालयकाे कम्पाउण्ड वाल निर्माण निर्माण भएको हाे । भने नगरपालिकाकाे सहयाेगमा मूल गेटमा रंगरोगन गरिएको छ ।  जसले विद्यालयलाई आकर्षक र सुरक्षित बनाएको छ ।

बालबालिकाको प्रारम्भिक शिक्षालाई प्रभावकारी बनाउन नगरपालिकाको सहयोगमा बाल विकास कक्षाकोठाको व्यवस्थापन पनि गरिएको छ । अन्य आवश्यक भौतिक सुधार कार्यहरू वडा कार्यालयको सक्रियतामा सम्पन्न भएका हुन् । स्तरीय साैचालय पनि निर्माण गरिएकाे छ ।

वडा अध्यक्ष यादवले भने, “समुदाय र जनप्रतिनिधिबीचको सहकार्यबाट मात्रै शिक्षा क्षेत्रमा दिगो सुधार सम्भव छ । विद्यालय सुधार हाम्रो साझा दायित्व हो र म यसको लागि सधैं अग्रसर रहन्छु।” उनले आगामी दिनमा विद्यालयमा थप पूर्वाधार विकासका योजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक मुकेश यादवले पनि सकारात्मक परिवर्तन ल्याउन समर्पित भएर काम गरिरहेका छन्। उनको नेतृत्वमा शिक्षण सिकाइको गुणस्तर सुधारसँगै विद्यालयको समग्र वातावरणमा सुधार आएको छ ।

स्थानीय बासिन्दाहरूले विद्यालयमा भइरहेको सुधार कार्यप्रति सन्तोष व्यक्त गर्दै वडा अध्यक्ष यादवको नेतृत्वको खुलेर प्रशंसा गरेका छन् । उनीहरूका अनुसार यस्तो समन्वय र नेतृत्वले मात्रै शिक्षाको स्तरमा वास्तविक परिवर्तन सम्भव छ ।

राजेन्द्र महताे,सिराहा,५ गते साउन । 

प्रदेश टाइम्स राष्ट्रिय दैनिकका सम्पादक रामपुकार यादवमाथि भएको दुर्व्यवहार र ज्यान मार्ने धम्कीको घटनाले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न गरेको छ ।

विष्णुपुर गाउँपालिकासँग सम्बन्धित समाचार लेखेको निहुँमा यादवलाई स्थानीयवासी सन्तोष यादव, पवन यादव र निर्माण व्यवसायी लालविहारी यादवले मादक पदार्थ सेवनको अवस्थामा गालीगलौज, दुर्व्यवहार तथा फोनमार्फत ज्यान मार्ने धम्की दिएको पीडित यादवले बताएका छन् ।

सम्पादक यादवले आफ्नो पत्रिकामा गाउँपालिकाबाट वितरण हुनुपर्ने चेकहरू अन्यत्रबाट बाँडिएको विषयमा समाचार प्रकाशित गरेका थिए। सोही विषयलाई लिएर योजनाबद्ध रूपमा पत्रकारमाथि दवाव र आक्रमण गरिएको हो भन्ने आरोप छ ।

नेपाल पत्रकार महासंघ, सिराहा शाखाले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीहरूलाई अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ । महासंघले विज्ञप्तिमार्फत यस्ता घटनाहरू पत्रकारिता क्षेत्रका लागि अपमानजनक र अस्वीकार्य भएको स्पष्ट गर्दै सम्पूर्ण सञ्चारकर्मीहरूलाई धैर्य, एकता र प्रेस स्वतन्त्रताका पक्षमा संगठित हुन आह्वान गरेको छ ।

महासंघले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी समेत दिएको छ ।

 

काठमाडौं, ५ गते साउन ।
आम जनता पार्टी (आजपा) निकटको आइटी आर्मीको चौथो स्थापना दिवसको अवसरमा आज (सोमबार) बिभिन्न कार्यक्रम गरी देशैभरी मनाइदैछ । पार्टीको युवा संगठनले आज देशैभरी बिभिन्न रचनात्मक कार्य गर्दै स्थापना दिवस मनाएका छन् ।

काठमाडौं सहित देशैभरी बिभिन्न मठमन्दिरमा सरसफाई गरिएको छ । अस्पतालहरुमा विरामीलाई फलफुल वितरणका साथै खानेपानी वितरण कार्य गरिएको छ । यस्तै बृक्षारोपनका साथै आजै साझ बिभिन्न ठाउँमा दिप प्रज्वलन कार्यक्रम समेत राखिएको आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले जनाएका छन् ।

बाराको काटघाट स्थित शिवमन्दिरमा भक्तजनहरुलाई जुस वितरण गरिएको छ । आजपा एवं आइटी आर्मीका नेताकार्यकर्ताले मन्दिरमा पुगेर भक्तजनहरुलाई जुस वितरण गरेको छ ।

काठमाडौं स्थित आजपा केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आइटी आर्मीको स्थापना दिवसको अवसरमा मिठाई खुवाएर शुभकामना व्यक्त गरेका छन् । आजपा अध्यक्ष साहले युवाहरुमा राजनीतिप्रति सकारात्मक सोच अभिबृद्धि भई देश बदलावका लागि जारी दलतन्त्र बिरुद्धको तेस्रो जनआन्दोलन छिटै नै सफल हुने विश्वास व्यक्त गरेका छन् ।

‘२१ औ शताब्दीको डाटा पुंजीवादको युगमा नेपालको श्रेष्ठता माथी उठाऊने संकल्प सहित गठित हाम्रो गौरवशाली संगठन आईटी आर्मीको ४ औं स्थापना दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दै युवाहरूमा राजनीतिप्रति सकारात्मक सोंच अभिवृद्धि भई देश बदलावका लागि जारी दलतन्त्र बिरुद्धको तेश्रो जनआन्दोलन छिटै सफल हुने बिश्वास व्यक्त गर्दछु,’ आजपा अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

यस्तै आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले अबको परिवर्तन दलतन्त्रको बिरुद्ध, जनतन्त्रको पक्षमा हुने, अबको क्रान्ति केवल गाली र घृणामा होइन, ज्ञान र नेतृत्वमा आधारित हुने, अबको आन्दोलन तेश्रो जनआन्दोलन हुनेछ, जुन राष्ट्रको नवनिर्माणको आधार हुने विश्वास व्यक्त गरेका छन् ।

‘आजको २१औं शताब्दी भनेको प्रविधिमैत्री डाटा पुँजीवादको युग हो – जहाँ सूचना नै शक्तिको स्रोत हुन्छ । यही यथार्थलाई आत्मसात गर्दै राष्ट्रको स्वाभिमान, स्वाधीनता र श्रेष्ठता सहित सामाजिक न्यायमा आधारित समावेशिता, सुशासन, बदलाव, विकास र समृद्धिका लागि स्थापित हाम्रो गौरवशाली संगठन आईटी आर्मीको आज हामी चौथो वार्षिकोत्सव मनाउँदैछ ।

 

यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उत्तरोत्तर प्रगति, स्वस्थ जीवन र सशक्त नागरिक चेतनाको असिम शुभकामना व्यक्त गर्दछु । यस संगठनको स्थापना केवल प्रविधिमा दक्ष युवाको निर्माण मात्र होइन, राजनीतिप्रति सकारात्मक एवं सृजनशील सोच र शैलीमा अभिवृद्धि गर्दै एक नविन, नेतृत्वदायी र नतिजामुखी नयाँ नेपाल निर्माणको आधार खडा गर्नु पनि हो,’ आइटी आर्मीका अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

कामरेन्द्र वर्मा,काठमाडौं,०५ गते साउन । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरसहित शीर्ष नेताहरूले लोकतान्त्रिक महिला संघकी महासचिव संध्या कर्णका ससुराबुवाको १३ औं पुण्यतिथिमा उपस्थित भई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पुण्यतिथिको अवसरमा आयोजित स्मृति सभामा अध्यक्ष ठाकुरसँगै पार्टीका महासचिव एवं प्रवक्ता मनिष कुमार मिश्र, महासचिव सितल यादव,लाेकतान्त्रिक पत्रकार संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्मा, कार्यालय सचिव  नेता प्रदीप पाठक, सत्येन्द्र मिश्र, शैलेन्द्र ठाकुर, र नरेन्द्र राय लगायत लोसपा नेपालका थुप्रै नेताहरूको उपस्थिति रहेको थियो ।

स्मृति सभामा स्वर्गीय दिवंगत आत्माको शान्तिको कामना गर्दै मन्तव्य दिइएको थियो । वक्ताहरूले उहाँको जीवनदर्शन, समाजसेवामा समर्पण र पारिवारिक मूल्यबोधको चर्चा गर्दै उहाँले छोडेको विरासतलाई भावपूर्ण सम्झना गरेका थिए ।

कार्यक्रममा स्थानीय समाजसेवी, राजनीतिकर्मी, परिवारका सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । श्रद्धाञ्जली सभा एक भावुक वातावरणमा सम्पन्न भएको थियो ।

आरके श्रीवास्तव,राैतहट,०५ गते साउन । 

रौतहटकाे कटहरिया नगरपालिका वडा नम्बर ५ मा सडक पक्कीकरण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ । वडाध्यक्ष सर्फलाल गुप्ताको पहलमा गल्ली गल्लीका कच्ची सडकहरू अहिले ढलान भई व्यवस्थित बन्दै गएका छन् ।

वडाका विभिन्न टोलहरूमा ढलानको काम धमाधम भइरहेको छ । स्थानीयवासीहरू भन्छन्, “पहिला वर्षाैँसम्म हिलो र धुलोमा हिँड्नुपर्थ्याे, अहिले भने ढलान भएका सडकमा सजिलै हिँडडुल गर्न पाएका छाैं।”

वडाध्यक्ष गुप्ताले आफ्नो नेतृत्वमा ‘विकास र सुविधा जनताकाे घर आँगनमै’ भन्ने नारालाई सार्थक बनाउँदै आएको जनगुनासो छ । पहिलो कार्यकालमै वडाको आधारभूत पूर्वाधारमा व्यापक सुधार ल्याएपछि जनताले उनलाई दोस्रो कार्यकालका लागि पनि मौका दिएका थिए ।

“जनताले दिएको विश्वास र जिम्मेवारीप्रति म गम्भीर छु। वडामा हरेक टोलसम्म सडक, नाला, विजुली, खानेपानीजस्ता सेवाहरू पुर्‍याउन लागिपरेका छौं,” वडाध्यक्ष गुप्ताले बताए ।

हाल ढलान भएका सडकहरूलाई दिगो बनाउने र नियमित मर्मतकाे योजना पनि वडा कार्यालयले अघि सारेकाे छ । स्थानीय तह, प्रदेश सरकारकाे बजेट सदुपयोग गर्दै वडाध्यक्ष गुप्ताले कटहरिया–५ लाई विकासको नमुना वडा बनाउने दाबी गरेका छन् ।

कामरेन्द्र वर्मा,काठमाडौं,०५ गते साउन । 

भारत सरकारको अनुदान सहयोगमा नेपालका विभिन्न जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्यान्वयन गरिने पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा आज हस्ताक्षर सम्पन्न भएको छ । काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा सम्बन्धित परियोजना कार्यान्वयन निकायबीच उक्त समझदारी सम्पन्न भएको हो ।

यी परियोजनाहरुको कुल अनुमानित लागत करिब ३९ करोड नेपाली रुपैयाँ रहेको छ । शिक्षा तथा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित अघि बढाइएका यी पाँच परियोजनामा चारवटा विद्यालय भवन तथा एकवटा अस्पताल भवन निर्माण हुने छन् ।

परियोजनाहरुमा धनुषा, बटेश्वर–३ मा रहेको श्री जनशक्ति माध्यमिक विद्यालयको भवन निर्माण,पर्सा, पोखरियामा रहेको श्री महोवनी पद्म माध्यमिक विद्यालयको भवन निर्माण,अछाम, मेल्लेखमा रहेको श्री बासुकी माध्यमिक विद्यालयको भवन निर्माण,बारा, प्रसौनी–२ मा रहेको बेंगा साह माध्यमिक विद्यालय भवन, छात्रावास र पुस्तकालय निर्माण,मनाङ, नासोँ–५ मा रहेको पाँच शैयाको अस्पताल भवन निर्माण रहेको छ ।

यी परियोजनाहरु सम्बन्धित नगरपालिका, गाउँपालिका तथा नेपाल सरकारका स्थानीय निकायहरूमार्फत कार्यान्वयन गरिनेछ ।

राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यी संरचनाहरुको निर्माणले स्थानीय जनतालाई गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।”

सन् २००३ यता भारतले नेपालभरि ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाएको छ ।  जसमध्ये ४९६ परियोजना सफलतापूर्वक सम्पन्न भइसकेका छन् । बाँकी परियोजनाहरु विभिन्न चरणमा रहेका छन् ।

भारत र नेपालबीचको ऐतिहासिक, भौगोलिक तथा साँस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने प्रयासस्वरूप यस्ता परियोजनाहरु कार्यान्वयनमा ल्याइएका हुन् । भारतीय सहयोगले नेपाली जनताको सशक्तिकरण र पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

 

राजिव राय,महोत्तरी,०४ गते साउन ।

नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता माननीय शरतसिंह भण्डारी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–११, कालिपुरमा अवस्थित ऐतिहासिक शनिदेव मन्दिरमा आयोजित भव्य कलशयात्रामा सहभागी हुनुभयो।

कार्यक्रमका अवसरमा मन्त्री भण्डारीले मन्दिरका पुजारी मोहन महतोबाट वैदिक विधिपूर्वक शनिदेवको पूजा अर्चना गरी आशीर्वाद ग्रहण गर्नुभयो।

उक्त कार्यक्रममा भूमि समस्या समाधान आयोग महोत्तरीका जिल्ला अध्यक्ष तथा लोसपा नेपालका केन्द्रीय सदस्य पिताम्वर महतो,केन्द्रीय सदस्य देव नारायण महतो, नगर अध्यक्ष उपेन्द्र महतो, नगर उपाध्यक्ष दिप नारायण राय पटेल, युवा नेता प्रमोद महतो गौशाला नगरपालिकाका वडा अध्यक्ष रामपृत महतो लगायत हजारौं श्रद्धालु भक्तजन र पार्टी कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कलशयात्रामा सहभागी महिलाहरू परम्परागत भेषभूषामा कलश बोकी आकर्षक झाँकीमा देखिन्थे भने युवाहरूको सांगीतिक टोलीले वातावरण झनै भक्ति र उल्लासमय बनाएको थियो। कार्यक्रममा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको सन्देश समेत प्रवाह भएको जनाइएको छ।

बज्जिकाञ्चल संवाददाता,धनुषा,०४ गते साउन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, धनुषा जिल्ला समितिको आयोजनामा जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता लोसपा नेपाल धनुषा जिल्ला अध्यक्ष जिबेन्द्र झाले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि रूपमा पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरको गरिमामय उपस्थितिले कार्यक्रमलाई विशेष बनायो ।

कार्यक्रममा विशिष्ट अतिथि रूपमा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा लोसपाका वरिष्ठ नेता शरद सिंह भण्डारीको उपस्थिति रहेको थियो । साथै पार्टीका महासचिव परमेश्वर साह,संसदीय दलका नेता जयनुल राईन, सचिवद्वय सदाशिव मिश्र र ज्ञानेन्द्र झा, प्रदेश समिति उपाध्यक्षद्वय राम ज्ञान मण्डल र अरुण पाठक, लगायत अन्य थुप्रै नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा पार्टीको वर्तमान राजनीतिक परिस्थिति, संगठन विस्तार, कार्यकर्ता सुदृढीकरण तथा भावी रणनीति सम्बन्धमा गहन छलफल र मार्गनिर्देशन गरिएको थियो । नेताहरूले जनतामाझ पार्टीको विश्वसनीयता र सशक्त उपस्थिति निर्माण गर्न सबै कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।

उक्त कार्यकर्ता भेटघाट कार्यक्रमले पार्टीभित्र एकता, सहकार्य र नयाँ ऊर्जा थपेको सहभागीहरूले बताएका छन् ।

धनुषाको राजनीतिक वातावरणमा लोसपाको सशक्त उपस्थिति पुनः पुष्टि गर्नेगरी यो कार्यक्रम सफल र उत्साहजनक भएको आयोजकले जनाएको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,०४ गते साउन ।

कटहरिया म्युजिकल एफ.एम.का समाचार वाचक तथा कटहरिया मिडिया प्रा.लि.का सञ्चालक रविन्द्र प्रजापतिको असामयिक निधनप्रति लोकतान्त्रिक पत्रकार संघ रौतहटले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

कटहरिया नगरपालिका–५ निवासी युवा तथा होनहार सञ्चारकर्मी प्रजापतिको ३० वर्षको उमेरमै असामयिक निधन भएको खबरले सम्पूर्ण पत्रकारिता क्षेत्र शोकाकुल बनेको संघले जनाएको छ ।

स्व. प्रजापति कर्मनिष्ठ, प्रतिभाशाली र समर्पित सञ्चारकर्मीका रूपमा चिनिन्थे । उनले स्थानीय सञ्चार माध्यममा उल्लेखनीय योगदान पुर्‍याएका थिए ।

संघका अध्यक्ष आरके श्रीवास्तवले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धासुमन अर्पण गरेका छन् । साथै, संघले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै भगवानले परिवारलाई यो दुःखद घडी सामना गर्ने शक्ति प्रदान गरून भन्ने कामना गरेको छ ।

शनिबार साँझ प्रजापति झुण्डिएर आत्महत्या गरेका थिए । ३० वर्षीय पत्रकार प्रजापति शनिबार राती आफ्नै घरमा झुण्डिएको अवस्थामा फेलापरेका थिए । उनको बुवा हरी पण्डित लगायत परिवारको मानिसले तत्कालै पासो काटेर उपचारको लागि ग्रान्डी अस्पताल गरुडामा लागेका थिए । तर अस्पतालका डाक्टरले प्रजापती लाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक पत्रकार प्रजापतिको शव पोष्टमार्टम पछि दाहसंस्कारका लागि परिवारजनकाे जिम्मा लगाएकाे हाे । आज साँझ उनकाे दाहसंस्कार पनि गरिएको
पारिवारिक स्राेतले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।