२०८३ बैशाख ८
२०८३ बैशाख ८

आरके श्रीवास्तव,राैतहट,२७ गते साउन । 

रौतहटकाे फतुवा बिजयपुर नगरपालिका–३ का स्थानीयहरूले हाल भाडामा सञ्चालनमा रहेको वडा कार्यालयलाई गाउँमै रहेको आवि मेवाको पुरानो भवनमा सार्न माग गरेका छन् । आज वडामा आयोजित भेटघाट कार्यक्रममा कार्यवाहक नगरप्रमुख अम्बेया खातुनसमक्ष उनीहरूले औपचारिक रूपमा यो माग अघि सारेका हुन् ।

वडा सदस्य नन्दु बैठाको नेतृत्वमा उपस्थित स्थानीयहरूले उक्त भवन हाल खाली रहेको र सार्वजनिक सम्पत्तिको सदुपयोग हुने भन्दै वडा कार्यालय त्यहीँ सार्न प्रस्ताव गरेका थिए ।

कार्यवाहक नगरप्रमुख खातुनले उक्त मागलाई गम्भीरतापूर्वक लिने बताउँदै यस विषयमा वडा अध्यक्ष रामईश्वर यादवसँग छलफल गर्ने आश्वासन दिइन् । साथै, यो विषय कार्यपालिका बोर्डको बैठकमा पनि पेस गरिने जानकारी दिइन् । उनले स्वास्थ्य सेवा पहुँचमा ल्याउनका लागि आधारभूत स्वास्थ्य सेवा केन्द्रको व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाइन् । कार्यक्रममा प्रदेश सांसद प्रत्यासी मो. सेराज पनि सहभागी थिए । उनले जनताको मागप्रति आफूहरू संवेदनशील रहेको धारणा राखेका थिए ।

यसैबीच वडा अध्यक्ष रामईश्वर यादवले प्रतिक्रिया दिँदै भवन स्थान सुरक्षित भएमा आफू कार्यालय सार्न तयार रहेको बताए । तर पुरानो विद्यालय भवन प्रयोग गर्नुअघि त्यसलाई आवश्यक रूपमा व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिए ।

उनले वडामा रहेको ऐलानी जग्गामा नयाँ वडा कार्यालयको निर्माणका लागि यस वर्ष नै बजेट छुट्याउने तयारीमा रहेको जानकारी दिए । “वडा कार्यालय जसरी पनि आफ्नै भवनमा लैजाने योजना छ,” यादवले बताए ।

स्थानीय जनताले सार्वजनिक सेवाको सहज पहुँच र सरकारी स्रोतको दिगो प्रयोगका लागि वडा कार्यालय सार्नुपर्ने माग गर्दै आएको पृष्ठभूमिमा यो विषय पुनः प्राथमिकतामा आएको हो ।

आरके श्रीवास्तव,राैतहट,२७ गते साउन । 

रौतहटको फतुवाबिजयपुर नगरपालिका वडा नं. ९ मा भुमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको समाधानका लागि “वडा सहजीकरण समिति” काे बैठक सम्पन्न भएको छ ।

वडा अध्यक्ष राकेश यादव (पप्पु) को अध्यक्षतामा बसेको बैठकले वडामा रहेका सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीका समस्याहरूलाई प्राथमिकताका साथ समाधान गर्ने निर्णय गरेको छ । बैठकमा विगतमा राष्ट्रिय भूमि आयोगद्वारा थालिएको तर अधूरो अवस्थामा रोकिएको कार्यलाई निरन्तरता दिँदै पूरा गर्ने सहमति समेत भएको छ ।

बैठकमा वडाका सचिव बिल्टु राय यादव, सहसचिव हरिनारायण चौधरी, राष्ट्रिय भूमि आयोगका प्रतिनिधि प्रेम साह, नगरपालिकाका अमिन राजकिशोर यादव, वडा सदस्यहरू लगायत स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले वडाभित्र रहेका भूमिसम्बन्धी समस्या समाधानका लागि समन्वयात्मक ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

बैठकमा अव्यवस्थित बसोबासीहरूको तथ्यांक संकलन, नक्सांकन तथा अभिलेखीकरणको कार्यलाई तीव्रता दिने, छानबिन गरी वास्तविक लाभग्राहीको पहिचान गर्ने र भूमि व्यवस्थापनको दीर्घकालीन योजना तयार गर्ने निर्णय पनि गरिएको छ ।

स्थानीय सरकार र सरोकारवाला निकायबीचको सहकार्यमा अब छिट्टै भूमिहीन तथा सुकुम्बासीहरूलाई कानूनी रूपमा व्यवस्थित गरिने अपेक्षा गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,२७ गते साउन । 

राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर ५ र ७ स्थित दुई वटा शिवचर्चा मण्डललाई सामाग्री वितरण गरिएकाे छ । हर्षाहा र सन्तपुरकाे साे मण्डललाई आज एक विशेष कार्यक्रमबीच धार्मिक तथा सांस्कृतिक सामग्री वितरण गरिएको छ ।

एक कार्यक्रमका बिच कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले साे सामाग्री वितरण गरिएकाे हाे । उहाँले धार्मिक र सांस्कृतिक मूल्यको संरक्षण र सम्वर्द्धनका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वितरण गरिएका सामग्रीहरूमा हरमुनियम, मादल, झाल, माइक सेट, हर्न, एम्प्लिफायर लगायत रहेका छन् । यी सामग्रीहरू पेटभर्वा, टेंग्राहा, विजयपुर र रामदासीमा सक्रिय शिवचर्चा मण्डलहरूलाई पनि क्रमशः वितरण गरिनेछ ।

आर्थिक वर्ष २०८१/८२ मा नगरसभाबाट स्वीकृत बजेटले खरिद भएको ती सामाग्रीहरू वितरण गरिएको हाे । सो अवसरमा प्रदेश सभा सदस्य पदका प्रत्यासी मोहम्मद सेराज पनि कार्यक्रममा सहभागी हुनुभएको थियो । उहाँले धार्मिक संस्थाहरूले संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले राज्य र स्थानीय तहले यस्ता संस्थालाई सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले भने, “नगरपालिकाले धर्म र संस्कृतिको संरक्षणमा विशेष ध्यान दिइरहेको छ । यस किसिमका कार्यक्रमहरूले सामाजिक एकता र सांस्कृतिक चेतनालाई बढावा दिने विश्वास लिएको छु।”

जिन्सी शाखा प्रमुख हरिन्द्र प्रसाद यादवले सामग्री वितरण सम्बन्धी व्यवस्थापकीय पक्षबारे जानकारी गराउँदै भने, “सुनियोजित रूपमा आवश्यकताको मूल्याङ्कन गरेर सामग्री वितरण गरिएको हो, जसले मण्डलहरूको दैनिक धार्मिक क्रियाकलापलाई सहज बनाउनेछ।”

उनले भने,नगरभरिकाे ७ वटा टिमलाई उक्त सामाग्रीहरू वितरण गरिने बताए ।

यस कार्यक्रमले स्थानिय समुदायमा धार्मिक चेतना र सांस्कृतिक गौरव अभिवृद्धि गर्ने अपेक्षा लिइएको छ ।

काठमाडौँ, २६ साउन :

 

खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ ।

आज मन्त्री यादवको विशेष निमन्त्रणामा मन्त्रालयमा आउनु भएका भारतीय सरकारका विज्ञ टोलीहरूबीच मधेश प्रदेशमा देखिएको खानेपानी सङ्कट र त्यसको दीर्घकालीन समाधानका विषयमा गहन छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त टोली भोलि मङ्गलबारदेखि तराई–मधेसका सङ्कटग्रस्त जिल्लाहरूमा पुगेर स्थलगत रुपमा अनुगमन गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना निर्माणमा खटिनेछ ।

उक्त छलफलका क्रममा मन्त्री यादवले खानेपानीको सङ्कट सबैभन्दा तीव्र रूपमा वीरगञ्ज महानगरपालिकामा देखिएको छ भने बारा र अन्य जिल्लाका विभिन्न वडाहरूमा पनि पानी अभावले गम्भीर चुनौतीहरू निम्त्याइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विशेष गरी खानेपानीको सङ्कट सबैभन्दा तीव्र रूपमा वीरगञ्ज महानगरपालिकामा देखिएको र पानी अभावले गम्भीर चुनौतीहरू निम्त्याइरहेका छन् । त्यहाँको समस्या समाधान गर्न आवश्यक छ ।”

यसैगरी उहाँले नेपाल सरकार मधेश प्रदेशका जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन प्रतिबद्ध रहेको जानकारी गराउनुभयो ।

भारत सरकार जलशक्ति मन्त्रालयसँग केही महिना अघि हस्ताक्षर भएको समझदारी पत्र (एमओयु) को फलस्वरूप आजको सहकार्य सम्भव भएको र यसले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको मन्त्री यादवको भनाई छ ।

आजको उक्त भारतीय विज्ञ टोलीसँगको बैठकमा मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, कमलराज श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, उपमहानिर्देशक नारायण प्रसाद आचार्य, मेलम्ची विकास समितिका प्रमुख रत्नप्रसाद लामिछाने सहभागी रहनु भको थियो ।

यसैगरी भारतीय विज्ञ टोलीका तर्फबाट देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राई, जगदम्बा प्रसाद, लखनऊ खानेपानी विभाग र सरसफाइ सल्लाहकार आशिष पाण्डे लगायतको सहभागीता रहेको थियो ।

आरके श्रीवास्तव,राैतहट,२६ गते साउन । 

लोकतान्त्रिक पत्रकार संघको संशोधित विधान अनुसार धनुषाका वरिष्ठ सञ्चारकर्मी  धिरेश कुमार दत्तलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको छ । संघको तर्फबाट जारी मनोनयन पत्रमा दत्तलाई पदभार ग्रहण गरेको जानकारी दिइएको छ र उनको कार्यकाल सफल हुने विश्वास व्यक्त गरिएको छ ।

संघका अध्यक्ष कामरेन्द्र वर्माले दत्तलाई मनोनयन गरिएको सहर्ष जानकारी गराउँदै देश, मधेश, पत्रकारिता क्षेत्र र पार्टीको हितमा उल्लेखनीय योगदान रहने विश्वास व्यक्त गरेका छन् ।

धिरेश कुमार दत्त हाल दत्त आरके मिडिया नेटवर्क, कलर्स एफएम १०२.४ मेगाहर्ज, अनलाइन टिभी र कलर्स खबरमा आबद्ध भई सञ्चार क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

उनको मनोनयनसँगै धनुषा लगायत मधेश क्षेत्रका पत्रकारिता क्षेत्रमा थप ऊर्जा र सकारात्मक सन्देश प्रवाहित भएको स्थानीय सञ्चारकर्मीहरूले जनाएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेसको बोलबम संस्कृतिले मधेस र काठमाडौंलाई जोडन सफल भएको बताएका छन् ।

ओम बोलबम काँवरिया संघ काठमाडौंले आज काठमाडौंको जोरपाटीमा आयोजित ११औँ सत्यनारायण भगवानको पूजामा सहभागि आजपा अध्यक्ष साहले मधेसको बोलबम संस्कृती काठमाडौंमा स्थापित भएको बताए ।

‘शिवको पवित्र धर्ती काठमाडौंमा बोलबम संस्कृति स्थापित भएको छ । तपाईहरु निजि सम्पती खर्च गरेर शिवभक्ती, समाज एवं विश्वको कल्याणमा लाग्नुभएको छ । सत्यनारायण, सरस्वती पुजा, छठ पर्व, लक्ष्मी पुजा, विश्वकर्मा पुजा, ब्रह्मबाबाको पुजा तपाई हामीले निजि सम्पती खर्च गरेर पनि धर्मसंस्कृती जोगाउन सफल भएका छौं,’ आजपा अध्यक्ष साहले भने, ‘तर सरकार र राज्य यस बारेमा मौन छ । सरकारी मान्छेहरु चाडपर्वको नाममा १३ महिनाको तलबभत्ता खाएर पनि उनीहरुले संरक्षण गर्न सकेका छैनन् ।’

मधेसमा धुमधामसंग मनाउने बिभिन्न चाडपर्व अहिले काठमाडौंको पवित्र धर्तीमा पनि मनाउन थालिएको बताउदै उनले अब आउने दिनमा मधेसको गाउँ गाउँमा ग्राम देवताको रुपमा पुजा गरिने ब्रह्मबाबाको मन्दिर पनि काठमाडौंमा स्थापना गर्न आवश्यक रहेको बताए ।

काठमाडौंमा ब्रह्मबाबाको मन्दिर नभएको बताउदै मौलापुर नगरपालिकाले काठमाडौंमा ब्रह्मबाबाको मन्दिर स्थापना गर्न खोजेको उनले बताए । ‘हामी सबैको ग्राम देवता, हामीले ग्राम देवताको रुपमा पुजा गर्दै आएको ब्रह्मबाबाको मन्दिर छिटै नै तपाईहरुको साथ सहयोगले काठमाडौं स्थापना हुने विश्वास मलाई छ,’ आजपा अध्यक्ष साहले भने ।

मुलुकमा भ्रष्टाचार, अनियमितता, कर आतंक, लुट बढदै गइरहेको बताउदै उनले भगवान शिवले ति लुटेरा, भ्रष्टाचारीहरुलाई नास गर्ने विश्वास हुने व्यक्त गरे । असत्यमाथि सत्यको सधै बिजयी हुने बताउदै समाजमा बिकृती, विसंगती, आपराध बढदै गए भगवानले उनीहरुको नास गर्दै आएको इतिहास रहेको भन्दै उनले रामायण, महाभारतको स्मरण गरे ।

ओम बोलबम काँवरिया संघ काठमाडौंका अध्यक्ष रामऔतार पंडितको अध्यक्षतामा भएको कार्यक्रममा नारायण सुवेदी, सुभाष साह, विर्सेनप्रसाद कुशवाहा, सुनिल ठाकुर, रन्जु साह, बालकृष्ण सापकोटा, वीरेन्द्र ठाकुर, अर्चना झा, गौरिशंकर साह, रामायण गुप्ता, सुजल लामा लगायतको विशेष सहभागिता रहेको थियो ।

आरके श्रीवास्तव,राैतहट,२६ गते साउन ।

राैतहटकाे फतुवा विजयपुर नगरपालिकाले हालसालै केहि स्थानीय सञ्चारमाध्यमहरुमा कार्यवाहक नगरप्रमुख अमवेया खातुन, प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव र अन्य कर्मचारीहरूलाई लक्षित गरी प्रकाशित समाचारप्रति खण्डन जारी गरेको छ । नगरपालिका कार्यालयले २०८२ साल साउन २६ गते पत्रकार सम्मेलन गर्दै सार्वजनिक रूपमा उक्त समाचारहरू भ्रामक, अपुष्ट र तथ्यहीन रहेको स्पष्ट पारेको छ ।

नगरपालिकाका अनुसार, प्रशासकीय प्रमुख भरत प्रसाद यादव दैनिक रूपमा कार्यालयमा उपस्थित भई नियमित रूपमा कामकाज गर्दै आएका छन् र कार्यशैलीमा पारदर्शिता तथा जवाफदेहिता अपनाइएको छ । सार्वजनिक खरिद प्रक्रिया, कर्मचारीको हाजिरी, र कार्यक्रम सञ्चालन सम्बन्धी कार्यहरू सबै सम्बन्धित कानुन र नगरसभाको निर्णयअनुसार नै गरिएको व्यहोरा खण्डनपत्रमा उल्लेख छ।

योजना शाखामा रामाशंकर यादवलाई अस्थायी रूपमा जिम्मेवारी दिनु परेको विषयमा पनि प्रष्ट पार्दै भनिएको छ ।  पूर्व योजना प्रमुख विल्टु राय यादव कार्यालयमा नियमित रूपमा नआएको र निजमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकोले वैकल्पिक व्यवस्था गर्नुपरेको हो ।

त्यस्तै, सरकारी गाडीको दुरुपयोग, अनावश्यक पेट्रोल वितरण र बजेटको अपचलनका आरोपहरू समेत अस्वीकार गर्दै खण्डनमा भनिएको छ कि प्रमुख प्रशासकीय अधिकृतले कानुनअनुसार प्राप्त सेवा सुविधा मात्र प्रयोग गरेका छन्, अनावश्यक खर्च नभएको र कुनै अतिरिक्त चालक पनि नराखिएको स्पष्ट पारिएको छ ।

सबैभन्दा भ्रष्ट भन्ने आरोपप्रति कडा आपत्ति जनाउँदै फतुवा विजयपुर नगरपालिकाले हालै वार्ड नं.११ को सार्वजनिक कार्यक्रममा भरत यादवको इमान्दारी र आर्थिक अनुशासनको प्रशंसा सार्वजनिकरूपमै गरिएको उदाहरण दिँदै उक्त आरोप आधारहीन भएको स्पष्ट गरेको छ ।

नगरपालिकाले स्थानीय सञ्चारमाध्यमहरूलाई सत्य, तथ्य र प्रमाणमा आधारित समाचार प्रकाशन गर्न अनुरोध गर्दै अपुष्ट सूचना सार्वजनिक नगरिदिन आग्रह समेत गरेको छ ।

काठमाडौं ।
महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन गरिएको छ । काठमाडौंमा आइतबार एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राडा.कुलप्रसाद कोइरालको प्रमुख आतिथ्यता र वरिष्ठ पत्रकार, साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा उक्त गीतको भिडियो स्विच अन गरेर विमोचन गरिएको हो ।

कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको यो गीत महाकाव्यकार दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट साभार गरिएको हो । राजु कार्कीको संगीत संयोजन, एसबी मुस्कानको संगीत सञ्चयक, प्रकाश मिश्रको संगीत सम्पादक रहेको गीतलाई अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो । राजन खरेलको छायांकन एवं दृश्य सम्पादन रहेको गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाललाई फिचरिङ गरिएको छ । गीतको दृश्य सम्पादन कक्ष कलिउड हव रहेको छ । गीतको भिडियो संगीतकार एवं गायक सन्तोषको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
मिलाप मासिकको आयोजना र चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीले सहजीकरण गर्नुभएको कार्यक्रममा कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले कीर्तिमानी संगीतकार श्रेष्ठले साहित्यलाई संगीतसँग जोडर पृथक काम गर्दै आएको चर्चा गर्दै त्यसको पछिल्लो कडिका रूपमा श्वेतपत्र महाकाव्यको यो गीत रहेको बताउनुभयो । श्वेतपत्र महाकाव्यमा भएका श्लोकलाई गीतका रूपमा प्रस्तुत गर्नका लागि आफूले धेरै मिहिनेत गरेको सुनाउँदै संगीतकार तथा गायक श्रेष्ठले आफ्नो पृथक कार्य गर्ने शैलीलाई पछ्याउँदै जाँदा यो गीत तयार भएको जिकिर गर्नुभयो । उहाँले गजलकार घनेन्द्र ओझासँगको सहकार्यमा गजलको स्वर्ण दशक कार्यक्रम गरिरहेको जानकारी गराउँदै श्वेतपत्रबाट अन्य केही गीत पनि श्रोता/दर्शकमाझ ल्याउने तयारीमा रहेको बताउनुभयो ।

महाकाव्यकार दाहालले श्वेतपत्र महाकाव्यको चर्चा गर्दै आफूले विभिन्न ठाउँ र परिवेशमा कतै वाही-वाही पाएको र कतै गाली खाएको बताउनुभयो । उहाँले भारतका केही ठाउँमा जाँदा यो कृतिका विषयमा अनावश्यक झण्झट बेहोर्नु परेको पनि सुनाउनुभयो । वरिष्ठ संगीतकार राजु सिंहले साहित्यलाई संगीतसँग जोडनु एकदमै राम्रो काम भएको भन्दा स्रष्टा सर्जकलाई बधाई तथा शुभकामना दिनुभयो । उहाँले नेपाली संगीत इतिहासको चर्चा गर्दा नयाँ–नयाँ प्रयोगले यस क्षेत्रलाई अझ समृद्ध तुल्याएको बताउनुभयो ।

श्वेतपत्रको परिचर्चा गर्दै साहित्यकार तथा पद्मकन्या क्याम्पस नेपाली विभाग प्रमुख डा.अम्बिका अर्यालले कृतिले नेपाल, सिक्किम र भुटानलाई तीन दिदी बहिनीको संवादलाई प्रस्तुत गरेको बताउँदै यसको अझै चर्चा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महाकाव्यले व्यक्त गर्न खोजेको सन्देश राम्रो रहेको बताउँदै केही सुझावसमेत प्रस्तुत गर्नुभएको थियो ।

यस्तै, साहित्यकार प्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले आफूले धेरै पल्ट श्वेतपत्र महाकाव्य पढेको बताउँदै लेखक दाहालका अन्य धेरै कृति भए पनि यो अब्बल रहेको चर्चा गर्नुभयो । गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले वरिष्ठ साहित्यकारका रूपमा आफूले दाहाललाई चिन्दै जान्दै आएको भए पनि आजदेखि गीतकारका रूपमा उहाँको परिचय थपिएकोमा बधाई दिनुभयो । गजलकार घनेन्द्र ओझाले नेपाली साहित्यमा गजलको चर्चा गर्दै गजल स्वर्णदशकका बारेमा आफ्ना भनाइ राख्नुभएको थियो ।

डा.यज्ञेश्वर निरौलाले महाकाव्यकार दाहालका कवितासंग्रह ‘श्रद्धाञ्जलि’, खण्डकाव्य ‘रश्मी’, काव्य ‘योद्धा’, कवितासंग्रह ‘हावर्डको चौतारीमा’, महाकाव्य ‘स्वेतपत्र’, कविता संग्रह ‘म त बन्दी भएको छु’, नियात्रा ‘यात्राको सिकिर्नी’, उपन्यास ‘अहोरात्र’ र भूमिकासंग्रह ‘सिर्जनामा दृष्टि’ जस्ता कृतिका बारेमा आफू परिचित रहेको बताउँदै ‘स्वेतपत्र’का बारेमा आफ्ना धारणा राख्नुभएको थियो । डा.निरौलाले ‘स्वेतपत्र’ महाकाव्यबाट लिइएको गीत ह्रस्व दीर्घका नियमलाई ख्यालगर्दै एकदमै राम्रोसँग गायन भएको बताउनुभयो ।
प्रमुख अतिथि प्राडा.कोइरालाले उहाँका अन्य कृतिभन्दा महाकाव्य ‘स्वेतपत्र’ र उपन्यास ‘अहोरात्र’ विशेष भएको चर्चा गर्दै विद्रोही चेतनाको नवीन महाकाव्य कृतिका लागि साहित्यकार दाहाललाई शुभकामना दिनुभयो । उहाँले महाकाव्य लेखनको नियमको चर्चा गर्दै ‘स्वेतपत्र’ उत्कृष्ट भएको जिकिर गर्नुभयो ।

कार्यक्रमका सभापति प्रा.पुरुषोत्तम दाहालले महाकाव्यकार खेमनाथसँग आफ्नो पुरानो सम्बन्ध रहेको चर्चा गर्दै नेपाली साहित्यमा उहाँको योगदानको प्रशंसा गर्नुभयो । ‘स्वेतपत्र’ महाकाव्यबाट लिइएको गीत र यसको भिडियो राम्रो बनेको बताउँदै उहाँले सम्बन्धित सबैलाई बधाई तथा शुभकामना दिनुभएको थियो । ‘स्वेतपत्र’ महाकाव्यमा ४५ भन्दा बढी प्रज्ञाहरूले समालोचना गरेको कृति पाठकमाझ पनि आएको छ ।

कार्यक्रममा साहित्यकार लेखनाथ पोख्रेल, डा.बुनु दाहाल, वरिष्ठ कलाकार उत्तम केसी, धरान २०२५ प्रवेशिका समूहका नेतृत्वकर्ता समाजसेवी भुपेन्द्र कार्की, डा.अंकुर दाहाल, उषा दाहाल, साहित्यकार रमेश दाहाल, चलचित्र जाचपास समितिका सदस्य कुवेर गिरी, मिलाप फाउण्डेशनकी अध्यक्ष एवं गीतकार गीता अधिकारी, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, कृष्णराज गौतम, विनोद देवकोटा, भरत दाहाल, राजु दाहाल, घनश्याम दाहाललगायत विशिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

काठमाडौं:

प्रेमको यात्रा कहिलेकाहीँ फूलजस्तै सुगन्धित लाग्छ तर अन्त्यमा त्यहि प्रेमले काँडाले जस्तै पिडादायी घाउ दिन्छ । प्रेमको यात्रामा प्रेम थोरै, निराशा, विरह, बेदना, आँसु, वियोग धेरै सहन पर्छ । माया, प्रेममा मिलन भन्दा पनि निराशाको खेल हुन्छ भन्ने भावको गीत “भो यो माया, ले व्यक्त गरेको छ । गीतले प्रेममा टुटेका आशा र एक्लोपनको बन्धन बोलेको छ । नारायण सुवेदी ‘आभास’को स्वर तथा समीप आचार्यको शब्द र संगीतमा सार्वजनिक भएको गीत “भो यो माया” ले यही यथार्थलाई हृदयस्पर्शी ढंगले प्रस्तुत गरेको अनुभूति गीत हेर्दा तथा सुन्दा महशुष हुन्छ । उदयराज पौडेलको एरेञ्जमेन्ट, किशोर थापाको मिक्सिङ,मास्टरिङ र मोनीश चाम्लिङको रेकर्डिङले गीतलाई पूर्णता दिएको छ । साथै, सरंगीमा हेमन्त रसाइली र बाँसुरीमा रत्न बीकेको बेजोड वाद्य संयोजनले गीतमा मौलिकता थपेको छ ।

भिडियो तर्फ कलाकारहरु किरण तामाङ र ललिता थापाले प्रेम र पीडाको मार्मिक कथा प्रस्तुत गरेका छन् । कर्ण बहादुर खड्काको छायाँकन, सुन्दर क्षेत्रीको सम्पादन र मिना बुढाथोकी सावित्रीको निर्देशनले यो भिडियोलाई उत्कृष्ट कलाकृति बनाएको छ ।

गीतकार आचार्यले गीतमा कहिले मायालुको छायाँमा नै हराउने, कहिले त्यहि मायामा छलकपट भेटिने, कहिले बाटो विराएर भौतारिने त कहिले मायामा गरिएका बाचा बन्धनमा दरार आउने जस्ता अवस्थाहरूलाई बिम्ब र प्रतीकमार्फत उजागर गरेका छन् । गीतमा प्रेममा धोका पाएको पात्रको पीडालाई भावनात्मक रूपमा व्यक्त गरिएको छ जसले श्रोतालाई प्रेमको मीठाससँगै त्यसले ल्याउने पीडा र बिछोडको गहिरो यथार्थमा डुबाउँछ।

गीत ‘भो यो माया’ मा प्रेमको बाटोमा आएको भ्रम र दिशाहीनतालाई प्रष्टाइएको छ । प्रेमको यात्रा सधै एकनासको हुदैन, विभिन्न आरोह अवरोहहरु आउँछन् तर सहजतामा रमाउने र असहजतामा साथ छोड्ने गर्दा प्रेमिल मनमा पिडावोध हुन्छ, प्रेममा उकालो जस्तो कठिन र ओरालो जस्तो सहज परिस्थिति दुवै हुन सक्छ तर बाटो हराउँदा त्यसले पीडा मात्र दिन्छ । सहज, असहज दुवै परिस्थितिमा प्रेमिल रहन सके मात्र प्रेम सफल हुन्छ भन्ने सन्देश पनि गीतमा रहेको छ ।
मंसिरमा बिहे गर्ने कुरा, चाडै फर्कि आउने कुराले मनमा एउटा दरिलो विस्वास दिलाएको थियो तर दिएको वाचा र त्यसको टुटाईले सम्वन्धमा ठुलो खाडल परेको छ जुन भावलाई गीतमा अत्यन्त मार्मिक रूपमा व्यक्त गरिएको छ । प्रेमको यात्रा यति कठिन भइसकेको छ कि अब सहन सक्ने शक्ति सकिएको अनुभूति भएको छ । मायामा ‘आफै रुनु पर्ने’ अवस्था ले मायामा साथको अपेक्षा भए पनि अन्ततः एक्लै पीडा भोग्नुपर्ने बास्तविकता र विडम्बना दर्शाइएको छ । माया निस्वार्थ हुनु पर्छ, समर्पित भाव हुनु पर्छ, मायामा छलकपट हुनु हुदैन मायामा हुने ‘छल’ ‘जालझेल’ ले मायामा धोका भएको जनाउँछ भने मायामा आउने ‘भल’ ले अप्रत्याशित घटना, बिपरीत परिणाम वा नसोचेको चोटको अर्थ दिन्छ। गीतले यी भावहरुलाई प्रष्ट गरेको छ । ‘छल’ र’ भल’ दुवै मायामा दरार ल्याउने विम्व हुन् ।

गीतले प्रेमको आकर्षण र विछोडको अप्रिय सत्य दुबैलाई प्रस्तुत गरेको छ । माया सुरुवातमा मीठो खेल जस्तो लागे पनि अन्त्यमा यसले जेलझैँ बाँध्छ, पिर र आँसु मात्र दिन्छ । सत्य यहि हो कि माया सजिलो हुँदैन र यसबाट टाढा हुनु नै मुक्ति हो । गीतका हरफहरूले प्रेमको मीठासभन्दा बढी प्रेमले दिने पीडा, धोका र निराशाको गहिरो अनुभूतिको चित्रण गरेको छ । गीतकारले प्रेमलाई अनेकौं रूपमा सम्बोधन गर्दै यसको असली अनुहार उघारेका छन् ।

गीत सुन्दै जाँदा, श्रोता स्वयं प्रेमको मीठो सुरुवातबाट तीतो अन्त्यसम्मको यात्रामा सहभागी भएको अनुभूति हुन्छ ।’भो यो माया’ केवल एउटा गीत मात्र होइन, धेरैले भोग्ने अधूरा प्रेमकथाको सामूहिक स्वर हो जहाँ मायाले सुरुवातमा सपनाको संसार सजाउँछ तर अन्त्यमा आँसु, विरह, बेदना र सम्झनाको बन्धन बाँधेर हृदयलाई कैदी बनाइदिन्छ । गीतको सम्पूर्ण संरचना प्रेमको एउटा चक्र आशा, विश्वास, धोका र पीडालाई गहिरो भावमा खिचेको छ। समीप आचार्यको शब्द र संगीतमा नारायण सुवेदी आभासको स्वर मिसिँदा ‘भो यो माया’ श्रोताको मनमा लामो समयसम्म गुञ्जिरहने गीत बनेको छ।

गीत
भो यो माया,
पुग्योहो यो माया,
आफै रुनु पर्ने कस्तो हो यो माया।

कहिले नदेखु, तिम्रो छायाँ पनि,
खेल रहेछ, तिम्रो माया पनि,
जेल यो माया,
झेलहो यो माया,
आफै रुनु पर्ने कस्तो हो यो माया॥

उकाली बिर्सियेउ, ओराली झरेसी
गोरेटो भुलीछेउ, दोबाटो भेटेसी
तिर यो माया,
पिरहो यो माया,
आफै रुनु पर्ने कस्तो हो यो माया॥।

यो आउने मंसिरमा, बिहे गर्छु भन्थेउ
दुई–चार दिनैमा, फर्की आउछु भन्थेउ
छल यो माया,
भल यो माया,
आफै रुनु पर्ने कस्तो हो यो माया॥॥

भो यो माया,
पुग्यो हो यो माया
जेल यो माया,
झेल हो यो माया,
तिर यो माया,
पिर हो यो माया
छल यो माया,
भल यो माया

काठमाडौं ।
नेपाल–भारत विकास मञ्चले काठमाडौंमा ‘दक्षिण एसियामा आतंकवादको अवस्था र दीर्घकालीन समाधान’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ । आइतबार काठमाडौंको बतिसपुतलीस्थित होटल तपसमा भएको सो विचार गोष्ठीमा विभिन्न राजनीति दलका शीर्ष नेताहरुले आआफ्नो धारणा राखेका थिए ।
विचार गोष्ठीमा पूर्वपरराष्ट्रमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आतंकवादी गतिविधि न्यून गर्न भारतले अगुवाइ गर्नुपर्ने बताएका छन् । यादवले आतंकवादी गतिविधिलाई कुनै पनि वादसँग जोडेर हेर्न नहुने समेत जिकिर हुन् ।
आतंकवादी गतिविधि राष्ट्रवाद, धर्म वा पृथकतावादी आन्दोलनका नाममा जन्मिए पनि यसको स्वरूप सदैव अमानवीय र मानव विरोधी भएको अध्यक्ष यादवले बताए । “दक्षिण एसियामा कुनै पनि देश आतङ्कवादबाट अछुतो छैन, तर पाकिस्तान र अफगानिस्तानमा यसको प्रभाव धेरै छ। भुटान, भारत र बङ्गलादेशमा पनि यसको गतिविधि देखिन्छ,” उनले भने ।
यस्तै, सो कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आतंकवादलाई जन्मन दिनु नहुने भन्दै आफ्नो अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले बन्दुक चलाएको उदाहरणहरू रहेको भन्दै आतंक सिर्जना गरिएको प्रमाण भएको बताए । दक्षिण एसिया क्षेत्र भनेको आतङ्कवादी उत्पादन गर्ने क्षेत्र भएको उल्लेख गर्दै नेपालमा कुनै पनि प्रकारका आतंक हुन नहुने बताए ।
नेपाल—भारतबिचको जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको सम्बन्ध नभएको पनि बताए । उनले भने, ‘आतङ्कवादलाई जन्मन दिनु हुँदैन । समयमै यसबारे सोच्नुपर्छ । कहिले कहीँ राज्य आतङ्क पनि सिर्जना हुन्छ । व्यक्ति आतङ्क, राज्य आतङ्क, समूह आतङ्क विभिन्न हुन्छन् । राज्य आतङ्क पनि कहिले कहीँ हुँदो रहेछ । नागरिकमाथि राज्यले आतङ्कपूर्ण हमला, गतिविधि र व्यवहार गर्दछ । आफ्नै देशमा पनि भएका छन् ।’
त्यसैगरी, नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षामन्त्री डा.मीनेन्द्र रिजालले दक्षिण एसियामा शान्ति र स्थिरताका लागि भारत–चीन सम्बन्ध मजबुत हुनु अपरिहार्य भएको बताएका छन् ।
उनले देशभित्रको राजनीतिक विषयलाई आतङ्कवादसँग जोडेर हेर्न नहुने बताउँदै माओवादीको सशस्त्र आन्दोलनलाई राजनीतिक विद्रोहको रूपमा व्याख्या गरे । उनले भारतमाथि हुने कुनै पनि आतङ्क वा सुरक्षा सम्बन्धी आक्रमणमा नेपालको भूमि प्रयोग नहुने स्पष्ट पार्दै भारतको लागि मात्र होइन, कुनै पनि मुलुकविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिइने स्पष्ट पारे ।
भारत र नेपालको सम्बन्धलाई कुनै पनि मुलुकसँग दाँज्न नसकिने बताउँदै नेता रिमालले अन्य मुलुकहरूसँग पनि सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए । साथै उनले भारत–चीन सम्बन्धमा कटुता बढे नेपालका विकास निर्माणदेखि अन्य क्षेत्रमा असर पर्ने चेतावनी दिए ।
कार्यक्रममा अन्य वक्ताहरुले दक्षिण एसिया आतंकवादको हटस्पट बन्दै गएको र यस्तो समस्याको स्थायी समाधानका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी समन्वय आवश्यक रहेको औँल्याइएका थिए ।
विचार गोष्ठीमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आतंकवाद केवल सुरक्षा चुनौती मात्र नभई राजनीतिक, सामाजिक, आर्थिक र भूराजनीतिक आयामसँग जोडिएको जटिल समस्या भएको उल्लेख गरे ।
उनले अफगानिस्तान, पाकिस्तान, भारत, बङ्गलादेश, नेपाल, श्रीलङ्का, भुटान र माल्दिभ्स सम्मिलित दक्षिण एसिया क्रस–बोर्डर आतंकवाद, पृथकतावादी आन्दोलन, धार्मिक कट्टरपन्थ र राज्य प्रायोजित गतिविधिबाट प्रभावित भएको जिकिर गरे ।
त्रिपाठीले आतंकवादका कारण मानवीय क्षति, आर्थिक अवरोध, सामाजिक असन्तुलन र क्षेत्रीय अस्थिरता तीव्र भएको बताए ।
नेपाल–भारत विकास मञ्चका अध्यक्ष रामकिशोर सिंहको अध्यक्षमा भएको कार्यक्रम सञ्चालन निर्मला सुवेदीले गरेकी थिइन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।