२०८३ बैशाख १०
२०८३ बैशाख १०

आरके श्रीवास्तव,राैतहट,०६ गते असार । 

रौतहट — माधवनारायण नगरपालिकाले आफ्नो १०औं नगरसभा भव्य समारोहका बीच सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५३ करोड ३५ लाख ८९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

 

नगरप्रमुख बैजनाथ प्रसाद यादवले नगरसभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै स्थानीय विकासका लागि समावेशी र समग्र दृष्टिकोणले अघि बढ्ने प्रतिबद्धता जनाए। उनले बजेटमार्फत कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिएका छन् ।

उनका अनुसार बजेटको स्रोतमा संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान, ससर्त र विशेष अनुदान, प्रदेश सरकारबाट प्राप्त वित्तीय अनुदान, तथा राजस्व बाँडफाँट लगायतका विविध स्रोत समावेश छन् । चालू तथा पुँजीगत खर्चका लागि छुट्याइएको रकमले नगरको पूर्वाधार, सामाजिक सेवा र धार्मिक–पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास नगर प्रमुख यादवले व्यक्त गरेका छन् ।

नगरसभामा नगरपालिकाका उपप्रमुख निर्मलादेवी रमन, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव, सबै वडाध्यक्ष, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्य, स्थानीय पत्रकार, सुरक्षाकर्मी र अन्य सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

नगरपालिकाले यस आर्थिक वर्षमा विशेषगरी माधवनारायण क्षेत्रको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व उजागर गर्न योजना बनाएको उल्लेख गरिएको छ ।

 

काठमाडौं, ६ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले सरकारले बजेट पैतृक सम्पत्तिजस्तो गरी वितरण गरेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले विनियोजित बजेटप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले जनताको पसिनाबाट तिरिएको करलाई समान रुपमा विनियोजन नगरिएको भन्दै आपत्ति जनाए ।

‘आज सरकारी बजेट निजीजस्तो भएको छ । जनताले तिरेको कर पसिना हो कि नेताज्यूहरुको पैतृक सम्पत्ति हो भन्ने प्रश्न खडा भएको छ । जसरी पैतृक सम्पत्तिलाई परिवारको सदस्यहरुले भागबन्डा गर्छन्, त्यसैगरी नेताज्यूहरुले भागबण्डा गरेर दुरुपयोग गरिरहेका छन् । किन समान वितरण भएन ? अहिले सबै मन्त्रालयको हेर्ने हो भने त्यही हालत छ,’– उनले भने ।नेता साहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट विनियोजनप्रति असन्तुष्टि व्यक्त गरे । उनले भौतिक मन्त्रालयको विनियोजित रकम एक खर्ब ५१ अर्ब रहेको र त्यसलाई १६५ निर्वाचन क्षेत्रमा बाँड्दा ९१ करोडभन्दा एक निर्वाचन क्षेत्रले पाउने बताए । यसरी बजेट पाउने हक ती क्षेत्रका जनतालाई हुने उनको भनाइ छ । ‘मेरो क्षेत्रको त्यो हक होला नि ? सबै क्षेत्रका जनताको त्यो समान हक होला नि ? किन परेन ? के त्यो क्षेत्रमा सडक आवश्यक छैन ?’ प्रश्न गर्दै उनले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले तिरेको राजश्व फिर्ता गर्न सुझाव दिए । जनताको प्रधानमन्त्री बन्नेहरुले यो हदसम्मको बेइमानी गर्न नहुने उनको भनाइ छ । ‘थोरै पनि लाज लाग्छ प्रधानमन्त्रीलाई भने त्यहाँको जनताको राजश्व फिर्ता गर्नुस् । त्यहाँको जनताको तपाईँ प्रधानमन्त्री होइन । त्यहाँको मन्त्री पनि होइन । यदि तपाईँ सबैको हो भने किन बेइमानी गर्नुभयो ?’ प्रश्न गर्दै नेता साहले भने ।

साथै, यातायातमा बृद्ध, बृद्धा र विद्यार्थीहरुलाई काठमाडौंमा मात्रै छुट उपलब्ध गराइएको उनले बताए । काठमाडौं बाहिरका नागरिकहरुले पनि यातायातमा छुटको सुविधा पाउनुपर्ने उनले बताए । नेता साहले सरकारी उद्योगहरु घाटामा हुने र निजी उद्योगहरुले चाहिँ कर तिर्नुपर्ने अवस्था रहेको बताए । सरकारी उद्योगहरु सबै घाटामा जाँदा निजी उद्योगसँग कर लिनु उचित नहुने उनको भनाइ छ ।

‘म दुई तिहाइको सरकारलाई सोध्न चाहन्छु– तपाईँहरुले खोलेको सरकारी उद्योग घाटामा छ । तपाईँहरुले चलाएको ट्रेन घाटामा छ, तपाईँहरुले उडाएको प्लेन घाटामा छ । सरकारले घाटा गरिराख्न निजी कारोबार गर्ने व्यवसायीसँग ट्याक्स लिन मिल्छ कि मिल्दैन ? यदि सरकारको उद्योगमा घाटा छ भने व्यक्तिको उद्योगसँग ट्याक्स लिन मिल्छ कि मिल्दैन ? सरकारी हवाई क्षेत्रमा घाटा गरिराख्दा निजी एयरलाइन्ससँग ट्याक्स लिन मिल्छ कि मिल्दैन ?’ नेता साहले भने ।

कामरेन्द्र वर्मा,काठमाडौं,०६ गते असार । 

नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा असार ६ गते लुम्बिनीमा ११ औं अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न गरेको छ । भगवान् बुद्धको पवित्र जन्मस्थल तथा युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा आयोजना गरिएको उक्त बृहत् योग प्रदर्शनमा स्थानीयवासी, सरकारी प्रतिनिधि, योग अभ्यासकर्ता र विभिन्न संघसंस्थाबाट प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती र संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी सहभागी हुनुहुन्थ्यो । दुबै विशिष्ट अतिथिहरूले भारत र नेपालबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको यस प्रकारको कार्यक्रमको सराहना गर्दै भारतीय राजदूतावासलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले योगको उत्पत्ति भारतमा भए पनि अहिले विश्वव्यापी रूपमा यसको महत्व र अभ्यास बढिरहेको उल्लेख गर्नुभयो । वहाँले संयुक्त राष्ट्रसंघले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मान्यता दिएको प्रसंग उल्लेख गर्दै लुम्बिनी जस्तो शान्ति र आध्यात्मिकताको प्रतीक स्थानमा यस्तो कार्यक्रम हुनुको विशेष महत्व रहेको बताउनुभयो । साथै, लुम्बिनी विकास कोषप्रति धन्यवाद ज्ञापन गर्दै उनले लुम्बिनीलाई विश्वव्यापी आध्यात्मिक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारीहरू तथा ५०० भन्दा बढी योग अभ्यासमा रुचि राख्ने सहभागीहरूले विभिन्न योग आसन र ध्यान अभ्यासमा भाग लिएका थिए ।

यो कार्यक्रम भारतीय राजदूतावासद्वारा नेपालका विभिन्न शहरहरूमा आयोजना गरिँदै आएका ११ औं अन्तर्राष्ट्रिय योग दिवसका कार्यक्रमहरूको एक अङ्ग हो । यसै क्रममा राजदूतावासले असार ७ गते पोखरा महानगरपालिकासँगको सहकार्यमा पोखरा रंगशालामा पनि विशाल योग प्रदर्शनको आयोजना गर्ने जानकारी दिएको छ ।

आरके श्रीवास्तव,राैतहट,०६ गते असार ।
रौतहट – गरुडा नगरपालिकाको १३ औं नगरसभा तथा नवौं बजेट अधिवेशन आज भव्य रूपमा सम्पन्न भएको छ । नगरसभा कार्यक्रमको अध्यक्षता नगरप्रमुख कन्थमनी जयसवालले गर्नुभएको थियो ।

सभामा नगर उपप्रमुख पुनम चौधरीले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु. ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ को संशोधित बजेट, कार्यक्रम तथा योजनाहरू प्रस्तुत गर्नु भएको थियोे । प्रस्तुत बजेटलाई नगर सभाबाट सर्वसम्मत रूपमा पारित गरिएको छ ।

नगर प्रमुख जयसवालका अनुसार बजेटले शिक्षा, स्वास्थ्य, कृषि, सडक, रोजगारी, लघु उद्यम, पशु सेवा, महिला तथा बालबालिका, अपाङ्गता, दलित तथा पिछडिएको वर्गका पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । साथै, कृषकहरूको हितमा जारी कृषि सहुलियत नीतिलाई यस वर्ष पनि निरन्तरता दिइने जानकारी गराइएको छ ।

कार्यक्रमको उद्घाटन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले गर्नुभएको थियो । मन्त्री गुप्तालाई नगरप्रमुख जयसवालले ५१ किलोकाे मालाले स्वागत गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ भने नेकपा एमालेका जिल्ला इन्चार्ज अजय कुमार गुप्तालाई समन्वयको लागि विशेष धन्यवाद प्रकट गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताले संघीय निजामती विधेयकमा कमा र फुलस्टप पनि परिवर्तन नहुने बताएका छन् । गरुडा नगरपालिकाको बजेट अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मन्त्री गुप्ताले संघीय निजामती विधेयक छिट्टै प्रतिनिधि सभामा पेश हुने र पास भएर राष्ट्रिय सभामा जाने बताएका छन् ।

नगर प्रमुखले उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सुरक्षाकर्मी, नागरिक समाज, सञ्चारकर्मी, कर्मचारी तथा नगरवासी सबैलाई कार्यक्रम सफल बनाउन गरेको योगदानका लागि आभार व्यक्त गरिएको छ ।

मेयर जयसवालले गरुडा नगरको समुन्नत, समावेशी र समृद्ध भविष्य निर्माणका लागि सबैको साथ र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएकाे छ ।

आरके श्रीवास्तव,राैतहट,०५ गते असार ।
राैतहट – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यालय, बबरमहलमा आज “युवा जोडौं अभियान २०८२” सम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ ।

छलफलमा पार्टीका महासचिव एवं प्रवक्ता मनिष कुमार मिश्र, सचिव ब्रजेन्द्र मिश्र (वुलन) र लोकतान्त्रिक युवा संघका अध्यक्ष सुजन यादवको उपस्थिति रहेको थियो । कार्यक्रममा अभियानका उद्देश्य, रणनीति र कार्ययोजनाका विषयमा व्यापक विचारविमर्श भएको बताइएको छ ।

महासचिव मिश्रले युवालाई पार्टीसँग सशक्त ढंगले आबद्ध गराउँदै लोकतान्त्रिक आन्दोलनलाई नयाँ ऊर्जा दिने अभियानको आवश्यकता औंल्याए । सचिव मिश्रले युवालाई संगठित गरी उनीहरूको सृजनशीलता र क्षमतालाई राष्ट्रिय विकासमा परिचालन गर्नुपर्ने धारणा व्यक्त गरे । सोही अवसरमा लोकतान्त्रिक युवा संघका अध्यक्ष सुजन यादवले “२०८२ मा ८२ हजार युवा” जोड्ने लक्ष्य हासिल गर्नका लागि स्थानीयस्तरमा अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिए ।

पार्टीले निकट भविष्यमा देशभर अभियानलाई व्यापक बनाउने, जिल्ला र प्रदेशस्तरमा युवा भेला गर्ने तथा डिजिटल प्लेटफर्ममार्फत युवालाई सक्रिय सहभागी बनाउन विशेष कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

काठमाडौं, ५ असार ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले बजेटको असमान वितरण गरेर सरकारले अन्याय गरेको बताएका छन् । साथै उनले चोर र लुटेरा नेताहरुबाट मुलुकलाई मुक्त गर्नुपर्ने आवश्यक्ता रहेको उनले बताए । नेपाली जनताले तिरेको करको रिटर्नी नपाएको गुनासो उनले गरे ।

आज (बिहीबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले नेताहरुको क्षेत्रमा बजेट खन्याउने र बाँकी जनताहरु हेरेको हेर्यै हु्ने अवस्था रहेको उनले बताए । देशको बजेट नेपाली जनताको रगत पसिनाबाट बनेको पनि उनले सरकारलाई स्मरण गराए । देशको बजेटमा सबैको समान लगानी रहेको बताउँदै उनले विनियोजन पनि समान हुनुपर्ने बताए ।

‘एउटा व्यापारीकोमा गएर हामीले पैसा दियौं भने उसले पैसावापत सामान दिन्छ । एउटा मजदुरले कहीँ गएर काम गर्यो भने काम गरेवापतको ज्याला पाउँछ । नेपाली जनताले तिरेको करको चाहीँ रिटर्न चाहिन्छ कि चाहिँदैन ? सबै नेपाली जनताको समान हक हो कि होइन ?,’ प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘यदि समान हक छ भने म सोध्न चाहन्छु– अहिलेको १९ खर्ब ६४ अर्ब रुपैयाँलाई यदि १६५ निर्वाचन क्षेत्रमा बाँडियो भने ११ अर्ब ९० करोड रुपैयाँ हुन्छ । यस्तो अत्याचार किन भयो ? नेताजीको क्षेत्रमा पूरै बजेट खन्याइयो, अरु सांसदहरु हेरेको हेर्यैजस्तो भयो । नेपाली जनताले तिरेको कर नेताहरुको भुँडी भर्नलाई हो ? जनताहरु हेरेको हेर्यै हुने नेताजीहरु मालामाल हुने । यो असमानता देखिएको छ । सरकारले न्याय गरिरहेको छ कि अपराध गरिराखेको छ ? नेपाली जनतासँग पैसा लिने रिटर्न नदिने ?’

नेपाल चलाउन नेता बनेको कि नेपाल बेच्न नेता बनेको भन्ने प्रश्न खडा भएको उनले बताए । नेपाली जनताले अहिले साँच्चै नेतृत्व हो कि चोर हो भनेर खोजीरहेको उनले बताए । जनताले सबै दिनु्पर्ने र बजेटभने एक ठाउँमा मात्रै खन्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताए । नेता साहले नेतृत्वलाई चोरको संज्ञा दिँदै चोरहरुको हातबाट देशलाई मुक्त गराउन आवश्यक भएको बताए ।

‘हाम्रो उत्पादनहरु महँगो भयो । हाम्रो व्यवसायहरु चौपट भइराखेको छ । किन भने करको कर छ, कर आतंक छ । जनताले सबै दिनुपर्ने, चोरहरुको हातबाट देशलाई मुक्त गराउन जरुरी छ । कुशल नेतृत्व भयो भने बेइमानी हुँदैन,’ आजपा अध्यक्ष साहले भने ।

यस्तै उनले सम्मानिय सदनको गरिमामाथि उठाउन उनले सम्भामुखसंग आग्रह समेत गरे । दिनलाई रात बनाउने काम भईरहेको बताउदै उनले सरकारको असमान बजेट बितरण जनताको हितमा नभएको टिप्पणी गरेका छन् । जल, जंगल, नदिखोलामा नेता र नेताका आसेपासेहरुको लुट चलिरहेको समेत उनले बताए ।

आरके श्रीवास्तव,राैतहट,०५ गते असार । 

कटहरिया-राैतहटकाे कटहरिया नगरपालिकाकाे वडा नम्बर ८ मा बर्थिङ्ग सेन्टरको शिलान्यास गरिएको छ । वडाध्यक्ष समिश विक्रम शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख अजय प्रकाश जयसवालले शिलान्यास गर्दै स्थानीय स्तरमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउने दिशामा यो योजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

नगर प्रमुख जयसवालले भन्नुभयो, “स्वास्थ्य सेवा सबैका लागि सहज र सुलभ हुनुपर्छ । बर्थिङ्ग सेन्टरको निर्माणपछि अब आमाहरूलाई टाढासम्म धाउनु नपर्नेछ । नगरपालिकाले आधारभूत स्वास्थ्य पूर्वाधारको सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ । यो केन्द्रले मातृ तथा नवजात शिशु मृत्युदर घटाउने कार्यमा टेवा पुर्‍याउनेछ ।”

चालू आर्थिक वर्ष २०८१/८२ मा २० लाख रुपैयाँको लागतमा नगरस्तरीय योजनाअन्तर्गत बर्थिङ्ग सेन्टर निर्माण हुन लागेको हो । यसअघि आर्थिक वर्ष २०८०/८१ मा विनियोजित २२ लाख रुपैयाँबाट केन्द्रको कम्पाउण्ड वाल निर्माण भइसकेको वडाध्यक्ष शाहले जानकारी दिएका हुन् । आगामी आर्थिक वर्षमा सुविधा सम्पन्न बर्थिङ्ग सेन्टर सुचारू गर्ने लक्ष्य रहेको उनकाे भनाई छ । आवश्यक बजेट व्यवस्थापन गरिने उनलेे बताए ।

वडाध्यक्ष समिश विक्रम शाहले भने, “यो बर्थिङ्ग सेन्टर हाम्रो वडावासीका लागि धेरै आवश्यक थियो । हामीले यसलाई प्राथमिकतामा राखेर योजना अघि बढाएका हौं । अब निर्माण सम्पन्न भएपछि गर्भवती महिलाहरूलाई सहज पहुँच र गुणस्तरीय सेवा मिल्नेछ ।”

शिलान्यास कार्यक्रममा स्थानीय बिरेन्द्र साह कलवार, मुकुन्द यादव, रामभरोस यादव लगायतका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । स्थानीयहरूले पनि बर्थिङ्ग सेन्टर निर्माणप्रति खुशी व्यक्त गर्दै छिटो निर्माण सम्पन्न गर्न आग्रह गरेका छन् ।

आरएन पटेल,रौतहट, २०८२ असार ४ गते ।
रौतहटमा करेन्ट लागेर एक जना गर्भवती महिलाको मृत्यु भएको छ। सुत्ने कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट प्रवाह भइ गर्भवती महिलाको मृत्यु प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका वडा नम्बर ३ डमार पोखरीया टोल निवासी शेख सफुलाको श्रीमती अन्दाजी वर्ष ३० को गुलनाज खातुन रहेको बताइएको छ। निज खातून सुत्ने कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बुधवार साँझ करिब साढे ४ बजेको समयमा करेन्ट लागेर घाइते भएकी गुलनाजलाई उपचारको लागि प्रादेशिक अस्पताल गौर ल्याइएको थियो। अस्पतालमा उपचार गर्ने क्रममा इसिजी गर्दा करिब ५ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले जानकारी दिनु भएको छ ।

 

विष्णुदेव सरदार,सिराहा, असार ४ गते ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सप्तरीको महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा शिक्षा मन्दिरको मर्यादा माथि खुला खेल भइरहेको तथ्य सार्वजनिक भएको छ।

हिजो मंगलबार असार ३ गतेका दिन महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा (एल.एल.बी.) कानुन संकाय अन्तर्गतको प्रवेश परीक्षामा काठमाडौंबाट आएका टोलिले ६० जना परीक्षार्थीलाई मोबाइल चलाउनुका साथै चिट चोराउनु, तथा अन्य गतिविधि गरिरहेको पाइए पछि सबैको परिक्षा रद्द गरि कारबाही गरिएको छ ।

क्याम्पस प्रमुख सुशीलकुमार कर्णकै संरक्षणमा व्यापक रूपमा परीक्षा चोरी भएको पुष्टि भएसँगै सोही क्याम्पसका ६० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ।

श्रोतका अनुसार, त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालनमा रहेको स्नातक तहको वार्षिक परीक्षामा अत्यन्त सुनियोजित ढंगले चोरी गराइएको थियो। परीक्षा हलमा प्रश्नपत्रकै प्रतिलिपि बाहिर पठाइने, समाधान गराएर परीक्षार्थीलाई उपलब्ध गराइने, र प्रध्यापक तथा कर्मचारीहरूको प्रत्यक्ष संलग्नता रहने गरी सो कार्य सञ्चालन गरिएको थियो। पछिल्लो समय यस क्याम्पसको गतिविधिलाई मध्यनगर गर्दै चेक जाँच क्रममा फ्रड भेटिएको हो ।

क्याम्पसका प्रमुख सुशीलकुमार कर्णले यस सम्पूर्ण प्रक्रियामा मौन समर्थन मात्र होइन, प्रत्यक्ष संलग्नता देखाएको आरोप लागेको छ। विद्यार्थीहरूलाई अवैध सहायता उपलब्ध गराउने प्रध्यापकलाई उन्मुक्ति दिइएको र बारम्बार पैसाको आडमा चोरी चलाउनेलाई छानबिन प्रक्रिया अगाडि बढाइएको केही देखिदैन् ।

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले उक्त परीक्षाका ६० परीक्षार्थीहरूको परीक्षा तुरुन्तै रद्द गर्ने निर्णय गरेको छ।
अब यी ६० परीक्षार्थीहरु १ वर्षको लागि स्थगित भएका छन् ।
यत, आज बुधबार महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजका सहायक क्याम्पस प्रमुख उमेशकुमार यादवलाई मो. ९८६४०२३३९२९ सम्पर्क गर्दा उनलेे – भने त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय काठमाडौंबाट आएका २ जनाले मिलेर सबै परीक्षार्थीको परीक्षा रद्द गरेको बताउनुभयो ।

क्याम्पस प्रमुखको बारेमा सोध्दा उनले- भने चैत १९ गते बिन्देश्वरी बहुमुखी क्याम्पसको नवनियुक्त प्रमुख सहप्राध्यापक डा. सुशिलचन्द्र कर्णले पदभार ग्रहण गरेका छन् ।
विश्वविद्यालयको उपकुलपति कार्यालयको चैत्र १३ गतेको कार्यकारिणी परिषदको निर्णयअनुसार कर्णलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको छ । प्रमुख कर्ण गणित विषयका सहप्राध्यापकको रूपमा लामो समयदेखि अध्यापन गर्दै आएका छन् ।
तत्कालीन क्याम्पस प्रमुख राजिवकुमार मिश्रको पदावधि माघ २८ गते समाप्त भएदेखि क्याम्पस प्रमुख पद रिक्त रहेको थियो । यस अघि निमित क्याम्पस प्रमुखको जिम्मेवारी रामअशिष यादवले पाएका थिए ।
यो सँगै लहानको संतोष गुप्ता यसै क्याम्पसबाट प्रत्येक्ष पीडा खेपेका उहाँ भन्नुहुन्छ “क्याम्पस प्रमुखले नै चोरी जस्तो घृणित कार्य गर्छन् । मैले महेन्द्र बिन्देश्वरी क्याम्पस राजविराजबाट १ वर्षे वि.एड. गर्दा पैसा फ्याँक्दा खुलेयाम चोरी हुन्थ्यो । अहिले पनि पहाडभन्दा मधेशका जिल्लाहरुका आँगिक तथा निजी, सरकारी क्याम्पसहरुमा चोरी बाढी आएको दिख्न सकिन्छ ।
त्यसतै अर्का व्यक्ता रामबिहारी साहले भन्नुहुन्छ ” वकिलको सर्टिफिकेट लिन पहाडभन्दा मधेशमा सहज छ, चाहे त्यो संकाय जुनसुकै होस् । एकदिन पनि क्याम्पस नगई कन् पैसाको भरमा हातोहात त्रिभुवन विश्वविद्यालयको प्रथम श्रेणीको प्रमाणपत्र दिने गर्छन् कलेजहरुले ।

अहिले भौतिक तथा अनलाइन अनलाइन उपस्थितिभन्दा पनि स्लिपिङ्गमा कलेजहरुले सर्टिफिकेट दिने गरेको छ।
श्रोतका अनुसार क्याम्पसको बजेट पारदर्शिताविहीन , स्नातक , स्नातकोत्तरसम्मको परीक्षामा विद्यार्थीबाट अवैध पैसा असुल गरि चोरी , कर्मचारी छनोटमा पक्षपात गर्ने, र विद्यार्थीका शैक्षिक माँग प्रति बेवास्ता हुँदै आएको छ।
अत: क्षेत्रलाई बदनाम बनाउने यस्ता व्यक्तिमाथि तुरुन्त छानबिन गरी कानूनी कारवाही गरिनुपर्ने आवाज उठेको छ। अब प्रश्न उठेको छ—सुशीलकुमार कर्णजस्ता पात्रहरूले चलाइरहेको शिक्षा संस्थाको भविष्य के हुनेछ?

आरके श्रीवास्तव,राैतहट,०४ गते असार । 

अन्तर्राष्ट्रिय योग दिवस २०२५ को अवसरमा भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) र दुर्गाभगवती गाउँपालिका रौतहटको संयुक्त आयोजनामा आज पिपरा भलोहिया स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा एक दिवसीय योग शिविर सम्पन्न भएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाली कांग्रेस, मधेश प्रदेश संसदीय दलका नेता एवं पूर्व भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादव तथा मधेश प्रदेशसभा सदस्य नागेन्द्र प्रसाद साहको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, स्थानीय जनप्रतिनिधिहरू, समाजका अगुवा, नागरिक समाजका सदस्यहरू, विद्यालयका शिक्षक-विद्यार्थी लगायत ४५० भन्दा बढी व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

महावाणिज्यदूत देवी सहाय मिनाले उद्घाटन मन्तव्य दिँदै योगले व्यक्तिगत स्वास्थ्य मात्र होइन, वातावरणीय सन्तुलनमा समेत टेवा पुर्‍याउने उल्लेख गर्नुभयो । वहाँले सन् २०१४ मा नेपाल लगायतका १७७ देशले संयुक्त राष्ट्रसंघमा सहप्रस्ताव पेश गरी योग दिवस मनाउने सहमति जनाएको स्मरण गराउँदै “एक पृथ्वी, एक स्वास्थ्यका लागि योग” भन्ने यस वर्षको मूल नाराको महत्व बारेमा समेत जानकारी दिनुभयो ।

सो अवसरमा अर्थमन्त्री यादवले योगले मानिसको जीवनलाई स्वस्थ र सुखी बनाउने बताउँदै दैनिक योग अभ्यासको आवश्यकता औंल्याउनुभयो । नेता कृष्ण प्रसाद यादवले आजको जीवनशैलीमा बढ्दो आलस्यपनले स्वास्थ्य समस्या बढाएको उल्लेख गर्दै दीर्घायु र स्वस्थ जीवनको लागि योग अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो । गाउँपालिका अध्यक्ष  शम्भु सिंहले विद्यार्थीहरूलाई मानसिक सन्तुलन र अध्ययनमा एकाग्रता कायम राख्न दैनिक योगलाई जीवनशैलीमा समावेश गर्न सुझाव दिनुभयो ।

उक्त विद्यालयको एक भवन भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको स्मरण गर्दै, कार्यक्रमले नेपाल-भारत विकास साझेदारीको प्रतीकस्वरूप थप सन्देश दिएको आयोजकहरूले जनाएका छन् ।

 

महावाणिज्य दूतावास, बीरगंजले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्थाहरू र सहभागीहरूलाई आभार व्यक्त गर्दै आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।