कटहरिया । बंगलादेशमा राजनीतिक तनाव बढ्दै जाँदा विदेश राज्यमन्त्री हुमायुँ कबिरको घरमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको छ । यसअघि बिहीबार प्रदर्शनकारीले अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसको घरमा पनि आगो लगाएका थिए ।
पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने तयारी र उनको दल अवामी लिगले गरेको देशव्यापी बन्द आह्वानपछि बंगलादेशका विभिन्न जिल्लामा आगजनी, तोडफोड र आक्रमणका घटना भएका छन् । प्रधानमन्त्री तारिक रहमानले हिंसात्मक गतिविधिका लागि अवामी लिग र हसिनालाई जिम्मेवार ठहर गरेका छन् ।
हिंसाका क्रममा गोपालगञ्जमा बंगलादेश नेसनलिस्ट पार्टीका दुई सांसदका घरमा तोडफोड र आगजनी गरिएको छ । कम्तीमा ६ वटा बस तथा पिकअप गाडी जलाइएको छ भने रेलमार्गको केही भागमा पनि क्षति पुर्याइएको छ ।
सरकारले सुरक्षा व्यवस्था कडा बनाउँदै सात जिल्लामा सीमा सुरक्षा बलका ९७ टोली परिचालन गरेको बताएको छ । प्रहरीले ढाकामा अवामी लिगसँग सम्बन्धित रहेको आशंकामा २४ घण्टाभित्र पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसहित १०७ जनालाई पक्राउ गरेको छ ।
सन् २०२४ को विद्यार्थी आन्दोलनपछि सत्ता गुमाएकी शेख हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने इच्छा व्यक्त गरेपछि राजनीतिक तनाव थप बढेको हो । हसिना सन् २०२४ अगस्टदेखि भारतमा बस्दै आएकी छन् । उनको बंगलादेश फिर्ती बारे भारतसँग कुटनीतिक विवाद भने कायम रहेको छ । एभरेष्ट न्यूज एजेन्सी
कटहरिया। नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज शुक्रबार नेप्से ७.३८ अंकले घटेर २६२१.२९ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५२ कम्पनिका एक करोड ६ लाख २ हजार ४६८ कित्ता शेयर ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार ४७० मा कारोबार भएको थियो । आज बैंकिंग, म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी डोल्टी पावरको शेयर ५.१४ प्रतिशतले बढेको छ भने भूगोल इनर्जीको शेयर ४.२६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मुक्तिनाथ म्युचुअल फण्डको शेयर ८.५० प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमइ बैंकको २० करोड २२ लाख बराबरको कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंकको १४ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचन संविधान र कानुनको व्यवस्थाअनुसार गर्नुपर्ने बताएका छन् ।
स्थानीय तहको निर्वाचन मिति बारे निर्वाचन आयोगले आयोजना गरेको राजनीतिक दलहरूसँगको छलफलमा उनले निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी हुनुपर्नेमा जोड दिएका हुन् ।
उनले विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका व्यवस्थापनबारे उठेका गुनासा दोहोरिन नदिन आयोगको ध्यानाकर्षण गराए । साथै, विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न पनि सरकार र आयोगले आवश्यक पहल गर्नुपर्ने बताए ।
प्रचण्डले स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभा निर्वाचन मङ्सिरमा गर्ने आयोगको प्रस्ताव उपयुक्त देखिएको उल्लेख गर्दै पार्टीभित्र थप छलफलपछि औपचारिक धारणा सार्वजनिक गर्ने बताए ।
निर्वाचन दुई चरणमा गर्ने विषयमा पनि आयोगको प्रस्ताव अध्ययन गरी पार्टीमा छलफल गरेपछि निर्णय लिने उनले बताएका छन् । एभरेष्ट न्यूज एजेन्सी,
कटहरिया । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सकिनुको कारण एकैपटक दुई लाखभन्दा बढी प्रयोगकर्ताले टिकट खरिद गर्न खोज्नु रहेको स्पष्टीकरण दिएको छ ।
विज्ञप्तिमार्फत क्यानले फाइनल खेलको टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्न खोजेको जनाएको छ । तर, क्रिकेट मैदानको क्षमताअनुसार टिकट संख्या सीमित भएकाले बिक्री खुला भएको केही मिनेटमै सबै टिकट सकिएको क्यानको भनाइ छ ।

तर शुक्रबार दिउसो १ बजेदेखि टिकट बिक्री खुल्ने बताए पनि सो समय अघिनै इसेवामा सोल्ड आउट देखाएपछि दर्शकले निराशा व्यक्त गरेका थिए । टिकट बिक्री खुल्नुअघि नै बिक्री माध्यममा ‘सोल्ड आउट’ देखिएपछि दर्शकले असन्तुष्टि जनाएका छन् । धेरै दर्शकले टिकट खरिद गर्न नपाएको भन्दै सामाजिक सञ्जालमा गुनासो गरेका छन् ।
क्यानले नेपाली क्रिकेटप्रति दर्शकले देखाएको अपार माया, साथ र उत्साहप्रति आभार व्यक्त गर्दै टिकट नपाएका समर्थकसँग क्षमासमेत मागेको छ । टिकट खरिद गर्न नसकेका समर्थकलाई क्यानले आधिकारिक अनलाइन माध्यम तथा सिद्धार्थ बैंकमार्फत एनपीएललाई सहयोग गर्न आग्रह गरेको छ ।
तेस्रो संस्करणको एनपीएल फाइनलमा शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
धादिङ । धादिङको रुबीभ्याली गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन् ।
गएराति रुबीभ्याली गाउँपालिका–४ कलदाङस्थित लापाबाट बोराङतर्फ जाँदै गरेको बा.प्र.०२०३३ च ७१६९ नम्बरको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेको थियो ।
दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालकसहित अन्य नौ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि बोराङ स्वास्थ्य चौकी पठाइएको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति तय गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।
आयोगले आज बिहान साढे ११ बजेका लागि राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिलाई छलफलमा बोलाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छलफल आयोगको कार्यालयमा हुनेछ ।
छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आमन्त्रण गरिएको छ । आयोगले स्थानीय तहसँगै प्रदेशसभा निर्वाचन पनि गर्ने विषयमा दलहरूको धारणा माग्ने तयारी गरेको छ ।
२०७९ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा सकिँदैछ । त्यसअघि निर्वाचन सम्पन्न गर्ने तयारीस्वरूप आयोगले राजनीतिक दलहरूसँग परामर्श अघि बढाएको हो ।
स्थानीय तह निर्वाचन ऐनअनुसार कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ। यसअनुसार आगामी फागुन–चैतमा निर्वाचन गर्नुपर्ने हुन्छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गर्नेदेखि भोटेकोशी बाढी प्रभावितका लागि चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्नेसम्मका सात निर्णय गरेको छ ।
मङ्सिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा मङ्सिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्दै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा तथा तत्कालीन उद्धार र राहतका लागि चीन सरकारबाट प्राप्त हुने २० लाख अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषबाट शीघ्र ऋण सुविधा अन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको ब्याजरहित सहुलियतपूर्ण ऋण पनि सरकारले स्वीकार गर्ने भएको छ ।
बैठकले देशभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, सरकारले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०) स्वीकृत गरेको छ। ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड, २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ पनि मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएका छन् ।
यी हुन् मन्त्रिपरिषद्का सात निर्णय :
१- प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा मङ्सिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
२- भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २० लाख अमेरिकी डलर नगद अनुदान स्वीकार गर्ने।
३- अन्तर्राष्ट्रिय मुद्रा कोषबाट शीघ्र ऋण सुविधा अन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको ब्याजरहित सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
४- देशभर नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने ।
५- राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०) स्वीकृत गर्ने ।
६- ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड, २०८३ स्वीकृत गर्ने।
७- राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ स्वीकृत गर्ने ।
एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट क्रिकेटका क्रममा आचारसंहिता उल्लङ्घन गरेको भन्दै बंगलादेशका खेलाडी तौहिद हृदोयलाई खेल शुल्कको ४० प्रतिशत जरिवाना गरिएको छ ।
बुधबार जोहानेसबर्गमा भएको खेलमा खराब प्रकाशका कारण खेल रोकिएपछि अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै आक्रामक व्यवहार गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले उनलाई कारबाही गरेको हो ।
हृदोयले खेलका क्रममा अम्पायरको निर्णयप्रति असन्तुष्टि देखाउनेसम्बन्धी आचारसंहिताको नियम उल्लङ्घन गरेका थिए । उनको अनुशासन अभिलेखमा दुई नकारात्मक अङ्कसमेत थपिएको छ ।
उनले आफ्नो गल्ती स्वीकार गर्दै प्रस्तावित कारबाही मानेपछि औपचारिक सुनुवाइ गर्नुपरेन । पछिल्लो २४ महिनामा यो उनको पहिलो गल्ती हो ।
दुई खेलको टेस्ट शृङ्खलाअन्तर्गत पहिलो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ९ विकेटले पराजित गरेको थियो । दोस्रो टेस्ट नोभेम्बर २३ देखि सेन्चुरियनमा सुरु हुनेछ । एभरेष्ट न्यूज एजेन्सी