२०८३ कार्तिक २
२०८३ कार्तिक २

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–८, मोतीपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

बुधबार बिहान १०ः५५ बजे सिन्धुरेघारीबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको म.प्र. ०३–००१ क २८७८ नम्बरको मुन लाइट एकेडेमीको बसले स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । सरकारले गठन भएको पहिलो ६ महिनामा ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको नीतिगत सुधार, विद्युत् प्रसारण विस्तार, सिँचाइ सुविधा वृद्धि र विपद् पूर्वसूचना प्रणाली सुदृढीकरणमा काम गरेको जनाएको छ ।

मन्त्रालयका अनुसार नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक संसद्मा पुगेको छ भने जलस्रोतसम्बन्धी विधेयक अघि बढाइएको छ। विद्युत् विकास नीति, विद्युत् विधेयक र सिँचाइ विधेयकको प्रारम्भिक मस्यौदासमेत तयार गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना गरी विद्युत् उत्पादन, प्रसारण, वितरण तथा व्यापारका लागि छुट्टाछुट्टै कम्पनी बनाउने कार्ययोजना तयार भइरहेको मन्त्रालयले जनाएको छ। विद्युत् अनुमतिपत्र र विद्युत् खरिद सम्झौताको समीक्षा सम्पन्न गरी प्रतिवेदन प्राप्त भएको छ। सरकारले विद्युत् नियमन तथा उपभोक्ता सेवामा सुधार गर्न नयाँ निर्देशिका र मापदण्डसमेत जारी गरेको छ।

नेपाल र भारतबीच विद्युत् आदानप्रदान क्षमता बढाउने सहमति भएको छ। ढल्केबर–मुजफ्फरपुर र ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनबाट नेपालले भारतबाट आयात गर्न सक्ने विद्युत् क्षमता १ हजार मेगावाटबाट १ हजार ४०० मेगावाट र निर्यात क्षमता १ हजार १०० मेगावाटबाट १ हजार ६५० मेगावाट पुर्‍याउने सहमति भएको छ। नयाँ बुटवल–गोरखपुरसहित विभिन्न अन्तरदेशीय प्रसारण लाइनको निर्माण तथा क्षमता विस्तारका योजना पनि अघि बढाइएका छन्।

सिँचाइतर्फ सिक्टा आयोजनामा ६ महिनामा १३ किलोमिटर नहर निर्माण गरी थप १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ। बबई सिँचाइ आयोजनाबाट थप ६०० हेक्टर, महाकाली आयोजनाबाट १ हजार १५५ हेक्टर, बड्कापथ आयोजनाबाट ६१० हेक्टर र रानी जमरा कुलरिया आयोजनाबाट १५० हेक्टर जमिनमा सिँचाइ सुविधा थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ। सरकारले बबई र भेरी–बबई आयोजना आगामी दुई आर्थिक वर्षभित्र तथा अन्य राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ।

विद्युत् प्रसारण र वितरणतर्फ विभिन्न आयोजना निर्माण तथा सञ्चालनमा ल्याइएका छन्। बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ भने बाह्रबिसे र नयाँ खिम्ती सबस्टेसन आंशिक सञ्चालनमा ल्याइएको छ। मस्र्याङ्दी करिडोरअन्तर्गत मार्कीचोक–भरतपुर प्रसारण लाइन र काठमाडौँको चोभार सबस्टेसन सञ्चालनमा आएका छन्। हेटौँडा–ढल्केबर प्रसारण लाइनका लामो समयदेखि अवरुद्ध टावर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ।

जलविद्युत् विकासतर्फ २३ आयोजनालाई कुल १ हजार ६२३ मेगावाट क्षमताको सर्वेक्षण अनुमतिपत्र र चार आयोजनालाई ३०.५९ मेगावाट क्षमताको उत्पादन अनुमतिपत्र जारी गरिएको छ। ३९ जलविद्युत् आयोजनाको कुल ९५१.३४२ मेगावाट क्षमताको ग्रिड प्रभाव अध्ययन सम्पन्न भएको छ। माथिल्लो अरुण, उत्तरगङ्गा, तनहुँ, बुढीगण्डकी र किमाथाङ्का अरुणलगायत आयोजना अघि बढाउन अनुमति, अध्ययन, जग्गा अधिग्रहण तथा निर्माणसम्बन्धी काम भइरहेको मन्त्रालयले जनाएको छ ।

वैकल्पिक ऊर्जातर्फ ग्रामीण क्षेत्रमा लघु तथा साना जलविद्युत् र सौर्य प्रणालीमार्फत विद्युत् पहुँच विस्तार गरिएको छ । ३१५ सौर्य सिँचाइ पम्प जडान भएका छन् भने घरायसी बायोग्यास, विद्युतीय चुलो र सुधारिएको चुलो गरी १ लाख १९ हजार ५०० स्वच्छ खाना पकाउने प्रविधि जडान तथा वितरण गरिएको छ। विभिन्न संस्थामा १८ हजार ५७५ किलोवाटभन्दा बढी क्षमताको छानामाथि जडान गरिने सौर्य विद्युत् प्रणाली स्थापना भएको विवरणमा उल्लेख छ।

बाढी तथा मौसम पूर्वसूचना प्रणालीमा पनि सुधार गरिएको छ। भदौ १० गते भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका बेला प्रभावित क्षेत्रका बासिन्दालाई करिब ७ लाख सन्देश पठाएर सतर्क गराइएको थियो। त्यसपछि थप ७ लाख सन्देश पठाइएको मन्त्रालयको विवरणमा उल्लेख छ। प्रमुख नदीको बाढी पूर्वानुमान अवधि तीन दिनबाट पाँच दिन र साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान अवधि २४ घण्टाबाट ४८ घण्टा पुर्‍याइएको छ। मौसमसम्बन्धी सूचना दिन चौबीसै घण्टा सेवा सञ्चालन गरिएको छ।

मन्त्रालयले नागरिक सहायता, डिजिटल सेवा र जलवायु वित्तका क्षेत्रमा पनि काम अघि बढाएको जनाएको छ। नागरिकका गुनासा सम्बोधन गर्न निःशुल्क टेलिफोन नम्बर ११५१ र कृत्रिम बुद्धिमत्तामा आधारित ‘एआई साथी’ सञ्चालनमा ल्याइएको छ। जलवायु परिवर्तनबाट हुने क्षति सम्बोधन तथा ऊर्जा रूपान्तरणका लागि अन्तर्राष्ट्रिय कोषमा विभिन्न परियोजना प्रस्ताव पेस गरिएका छन्। यी उपलब्धि मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको प्रगति विवरणमा आधारित छन् । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । नेकपाका सांसद बर्षमान पुनले साउदी अरेबियाका लागि प्रस्तावित राजदुत गिरीबहादुर सुनारलाई आफ्नो नाम फिर्ता लिन आग्रह गरेका छन् ।

संसदीय सुनुवाईका क्रममा पुनले सुनारविरुद्ध लागेका आरोप गम्भीर भएकाले आफैले नाम फिर्ता लिन सुझाव दिएका हुन् ।

पुनले अभियन्ताकै पहिचान बनाएका व्यक्तिमाथि महिलाविरुद्ध हिँसाको आरोप लाग्नु गम्भीर भएको बताए ।

त्यस्तै एमाले सांसद पदमा अर्यालले पनि सुनारमाथि लागेको आरोप गम्भीर भएको बताउदै राजदुतको मापदण्ड अनुसार नभएको उल्लेख गर्दै महिलाको कुरा सुन्दा र निवेदनमा उल्लेख भएको विषय गम्भीर भएको बताएकी थिइन् । सुनारमाथि लागेका आरोपको अध्ययन नै गर्नुपर्ने भन्दै सुनारले दिने प्रमाण पनि आफुहरुका लागि सहयोगी हुने बताएकी थिइन् ।

सुनारले भने आफूमाथि लागेका आरोप निराधार भएको दाबि गर्दै आफुसँग सबै प्रमाण भएको बताएका थिए ।

सुनारमाथिको सुनुवाई र उनीमाथि लागेका आरोपमा छलफल जारी रहेको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’को पहिलो चरणको छायांकन सकिएको छ । असोज २ गतेबाट काभ्रेको धुलिखेलमा सुरु भएको सिनेमाको पहिलो चरणको छायांकन सकिएको हो ।

पहिलो सेड्युलको छायांकनका क्रममा कलाकार मदनकृष्ण श्रेष्ठ आफैँ सेटमा बसेका छन् । उनले सेटमा बसेर प्रत्येक सिनको अवलोकन गरेका छन् । आवश्यक सुझाव समेत उनले दिएका छन् ।

“उहाँ आफ्नो जीवनीमा बनेको सिनेमाको छायांकन हेरेर निकै भावुक पनि हुनु भएको छ । उहाँ सिनेमाको काम देखेर सन्तुष्ट पनि हुनुहुन्छ,” निर्देशक मिलन चाम्सले भने, “जसको कथामा सिनेमा बनिरहेको छ, उहाँ स्वयं सेटमा हुँदा हामीलाई थप सहज पनि भएको छ ।”

दोस्रो चरणको छायांकन दसैँ लगत्तै सुरु हुने निर्देशक चाम्सले जानकारी दिएका छन् । ‘म मदनकृष्ण’मा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गरिरहेका छन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।

अरुण क्षेत्री हरिवंश आचार्यको रोलमा देखिनेछन् । हरिवंश मदनकृष्णको कलाकारिताको जोडी हुन् । यो जोडीलाई मह जोडीको नाम दिइएको छ । अरुणको अपोजिटमा वर्षा राउत देखिनेछिन् । उनले हरिवंश आचार्यको श्रीमतीको भूमिका निर्वाह गर्नेछिन् ।

मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह–अवरोहलाई समेटेर निर्माण हुने बायोपिक सिनेमा ‘म मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गरिरहेका छन् । चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका छन् । चलचित्र ‘म मदनकृष्ण’ चैत ४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, विनोद न्यौपाने, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी, हिउँवाला गौतमलगायतको पनि अभिनय रहनेछ । बाल कलाकारमा जेविस र जेविन श्रेष्ठ छन् ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् । पदम बहादुर श्रेष्ठ (बाबु श्रेष्ठ)को डीओपी रहेको चलचित्रमा मिलन श्रेष्ठ सम्पादन, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक, भरत कँडेल साउन्ड डिजाइन रहेका छन् ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट र काठमाडौं बाहिर रोहित कट्टले र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्नेछ । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको पूर्वी सहर धहरानस्थित सरकारी स्वामित्वको तेल कम्पनी साउदी अरामकोको प्रशासनिक भवनमा आक्रमण गरेका छन् ।

साउदी ऊर्जा मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबार राति भएको आक्रमणपछि भवनमा सीमित आगलागी भएको थियो। घटनामा मानवीय क्षति भएको छैन ।

समाचार संस्था रोयटर्सका अनुसार कम्पनीको मुख्यालय परिसरमा रहेको एउटा कार्यालय भवनमा क्षेप्यास्त्र प्रहार भएको थियो । त्यसबाट भवनका माथिल्ला तीन तलामा क्षति पुगेको बताइएको छ । साउदी नेतृत्वको गठबन्धनले धहरानमा अवरोध गरिएको क्षेप्यास्त्रका टुक्रा आवासीय क्षेत्रमा खसेको जनाएको छ । राजधानी रियादमा पनि हुथी विद्रोहीका क्षेप्यास्त्र र ड्रोन अवरोध गरी नष्ट गरिएको साउदी अधिकारीहरूले बताएका छन् ।

क्षेप्यास्त्रका टुक्रा खस्दा रियादमा चार जना घाइते भएका छन्। घाइते हुनेमा दुई महिला, एक पुरुष र एक बालक छन् । घटनामा राजधानीका १५ घरमा सामान्य क्षति पुगेको साउदी नागरिक सुरक्षा निकायले जनाएको छ । यमनमा पुनः चर्किएको गृहयुद्धका क्रममा साउदी अरेबिया र हुथी विद्रोहीबीच आक्रमण तीव्र बनेको छ । यमनका हुथी विद्रोहीले साउदी अरेबियाले सरकारी सेनालाई समर्थन गरेको भन्दै क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गर्दै आएका छन्।

यसअघि हुथी प्रवक्ता याह्या सारीले साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानामा गरेको आक्रमणको जवाफ कडा हुने चेतावनी दिएका थिए । उनले धहरानस्थित अरामको मुख्यालय र रियादको तेल प्रशोधन केन्द्र सम्भावित निशानामा रहेको बताएका थिए ।

साउदी नेतृत्वको गठबन्धनले हुथी विद्रोहीको आक्रमण क्षमता कमजोर बनाउने उद्देश्यले सानानजिकैको इन्धन भण्डारण केन्द्रसहित विभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ ।

यमनको द्वन्द्व क्षेत्रीय तनावसँग पनि जोडिएको छ। साउदी अरेबियाले हुथी विद्रोहीविरुद्धको सैन्य अभियानलाई तीव्र बनाएको छ भने इरानले रियाद र हुथी विद्रोहीबीच मध्यस्थता गर्ने प्रस्ताव अघि सारेको छ । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । संखुवासभाको उत्तरी तथा दुर्गम क्षेत्र भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार भएसँगै स्थानीय बासिन्दाले थप भरपर्दो विद्युत् सेवा पाउने भएका छन् । यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु गरिएको हो ।

राष्ट्रिय प्रसारण लाइन विस्तारपछि भोटखोला गाउँपालिकाको कार्यालय र हटियास्थित अस्पतालमा थ्री फेज मिटर जडान गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याइएको छ । यसबाट स्थानीय बासिन्दासँगै सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानी–पिसानी मिल तथा घरेलु उद्योग प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाको किमाथांकासम्म पनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने प्रक्रिया अघि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरणले उक्त क्षेत्रमा विद्युत् पुर्याउन आवश्यक ठेक्का प्रक्रिया अगाडि बढाइसकेको छ । चालु आर्थिक वर्षभित्रै किमाथांकामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति पु¥याउने लक्ष्य राखिएको छ ।

संखुवासभामा विद्युत् पहुँच विस्तारलाई प्राथमिकतामा राखेर प्राधिकरणले दुर्गम बस्तीहरूमा राष्ट्रिय प्रसारण प्रणाली विस्तारको काम निरन्तर अघि बढाइरहेको छ । जिल्लाका करिब ९५ प्रतिशत घरधुरीले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गरिरहेका छन्। बाँकी घरधुरीमा भने लघु जलविद्युत् तथा सौर्य ऊर्जामार्फत विद्युत् सेवा उपलब्ध हुँदै आएको छ ।

हटियामा राष्ट्रिय प्रसारण लाइन पुगेपछि भोटखोलाका दुर्गम बस्तीलाई राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने अभियानले थप गति लिने अपेक्षा गरिएको छ । अब किमाथांकासम्म प्रसारण लाइन विस्तार गर्ने लक्ष्य पूरा भएमा चीनसँग सीमा जोडिएको यस दुर्गम क्षेत्रको विद्युत् पहुँच विस्तारमा अर्को महत्वपूर्ण उपलब्धि हासिल हुनेछ । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाईदुबईको विमान अपहरण गरी दुर्घटनाग्रस्त गराउने कथित षड्यन्त्रको अनुसन्धानका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) प्रहरीले माल्दिभ्सका दुई सहचालकलाई पक्राउ गरेको छ ।

माल्दिभ्सको समाचार पोर्टल अधाधूका अनुसार उनीहरूलाई अक्टोबर ३ मा हिरासतमा लिइएको हो । यसअघि सेप्टेम्बर ३० मा भएको घटनामा ओमानका सहचालक हम्माम अल–हम्मामीले भारतीय विमान चालक स्मित मच्छारमाथि धारिलो हतियारले आक्रमण गरी विमान नियन्त्रणमा लिन खोजेको आरोप छ ।

विमानमा यात्रु र चालक दलका गरी १७४ जना सवार थिए । आक्रमणमा घाइते भएका मच्छारले प्रतिकार गरेपछि चालक दल र यात्रुहरूले आरोपितलाई नियन्त्रणमा लिएका थिए । त्यसपछि विमानलाई साउदी अरबको तबुक विमानस्थलमा आपत्कालीन अवतरण गराइएको थियो ।

यूएईका अधिकारीहरूले घटनालाई सम्भावित आतंकवादी आक्रमणको प्रयासका रूपमा अनुसन्धान गरिरहेका छन् । पक्राउ परेका दुई माल्दिभियन पाइलटको घटनामा संलग्नता र उनीहरूमाथिका आरोपबारे भने आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।

यस घटनाको व्यापक षड्यन्त्रबारे अनुसन्धान गर्न भारतको राष्ट्रिय अनुसन्धान निकायले पनि मुद्दा दर्ता गरेको छ । आक्रमणमा घाइते भएका मच्छारको अबुधाबीस्थित अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्यमा सुधार आएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पिछडिएको क्षेत्रका तीन पदको मतगणना सम्पन्न भएको छ । सम्पन्न मतगणनाबाट सहमहामन्त्री, केन्द्रीय सदस्य (खुला) र केन्द्रीय सदस्य (महिला) पदमा तीन जना निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार सहमहामन्त्री (पिछडिएको क्षेत्र) मा जीवनबहादुर शाही तीन हजार ९०६ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी जनक राज गिरीले एक हजार ३७०, नारायणप्रसाद भट्टराईले ७२१, राजन कुँवरले ३२४ र रामबहादुर बिस्टले २६० मत पाएका छन् ।

त्यस्तै, केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र, खुला) मा दिपकजंग शाह दुई हजार २६१ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी तपेन्द्र खड्काले दई हजार ४४, कालीबहादुर सहकारीले ८७७, ईश्वरबहादुर मल्लले ७८१ र विरेन्द्रराज गिरीले ५३४ मत पाएका छन् ।

त्यसैगरी, केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र, महिला) मा सुशीला मिकत दुई हजार ९८६ मतसहित निर्वाचित भएकी छन् । उनका प्रतिष्पर्धी जुना कुमारी दानीले दुई हजार १० र शान्तिकुमारी बोहरा पुजाराले एक हजार ५३३ मत पाएका छन् । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक विद्यालयका शिक्षकहरूको सरुवा प्रक्रियामा  फेरबदल गरिएको छ। ‘शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३” ले मूल नियमावलीको नियम ९९ मा संशोधन गर्दै शिक्षक सरुवाका नियमहरूलाई फेरबदल गर्न लागिएको हो ।

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि ‘एक वर्ष पूरा भएका’ र अनिवार्य अवकाश हुन ‘एक वर्षभन्दा बढी समय बाँकी रहेका’ शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरुवाका लागि निवेदन दिन सक्नेछन् ।

विशेष अवस्थाबाहेकका साधारण स्थायी शिक्षकहरूको हकमा यसअघि राखिएको तीनवर्षे अवधि घटाएर अब एक वर्ष सेवा अवधि पूरा भएपछि नै सरुवा गर्न बाधा नपर्ने व्यवस्था गरिएको छ ।

यसको अर्थ अब कुनै पनि स्थायी शिक्षकले नयाँ विद्यालयमा हाजिर भएको वा नियुक्ति पाएको एक वर्षमै सामान्य रूपमा सरुवा पाउन सक्ने छैनन्। यसअघि यो तीन वर्ष पुगेपछि मात्र हुने व्यवस्था थियो । सरुवाका लागि आएका निवेदनहरूमाथि विचार गर्दा मानवीय र विशेष अवस्थालाई पहिलो प्राथमिकतामा राखिनेछ ।

संशोधित नियमअनुसार “ख” र “ग” वर्गका अपाङ्गता भएका शिक्षक, अरूको सहारा बिना हिँडडुल गर्न नसक्ने फरक क्षमताका व्यक्ति, गर्भवती महिला र दुई वर्षभन्दा कम उमेरका बच्चा भएका महिला शिक्षकलाई सरुवामा ‘पहिलो प्राथमिकता’ दिइनेछ। अन्य सामान्य शिक्षकहरूको हकमा भने विद्यालयले नै प्राथमिकताक्रम तय गर्नेछ ।

यसैगरी, दुई विद्यालय वा शिक्षकहरूबीच हुने पारस्परिक सरुवाको हकमा पनि निवेदन दिने शिक्षकहरूको कम्तीमा एक वर्ष सेवा अवधि अनिवार्य रूपमा बाँकी हुनुपर्ने सर्त राखिएको छ। यसमा पनि यसअघि राखिएको तीन वर्षे बाध्यकारी अवधिलाई घटाएर एक वर्षमा झार्न प्रस्ताव गरिएको हो ।

नियमावलीले ‘विशेष अवस्था’ लाई पनि थप प्रस्ट्याएको छ। यसअन्तर्गत स्थायी विपद्मा परेका शिक्षक, आकस्मिक वा आपत्कालीन अवस्थाका कारण ज्यान जोगाउनुपर्ने स्थिति, वा शिक्षकको पति/पत्नी, छोराछोरी वा आमाबुवालाई गम्भीर बिरामी भई निरन्तर हेरचाह गर्नुपर्ने अवस्थालाई समेटिएको छ। यस्तो अवस्था विशेषज्ञ डाक्टर वा मानसिक स्वास्थ्य विशेषज्ञबाट प्रमाणित भएको हुनुपर्नेछ ।

यसैगरी, सरकारले तोकेको कडा रोग लागेको वा मेडिकल बोर्डले सिफारिस गरेको फरक क्षमता भएका शिक्षकले पनि यो सुविधा पाउनेछन् । नयाँ संशोधन लागू भएपछि साविकको नियमावलीमा रहेको उपनियम (१५) लाई भने पूर्ण रूपमा हटाउन प्रस्ताव गरिएको छ। एभरेष्ट न्यूज एजेन्सी

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।