२०८३ कार्तिक २
२०८३ कार्तिक २

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अमेरिकाको वासिङ्टन डीसीमा विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गासँग उच्चस्तरीय भेटवार्ता गरेका छन् ।

विश्व बैंकको मुख्यालयमा भएको भेटमा नेपालमा आएको विनाशकारी बाढीबाट भएको क्षति, उद्धारपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि विश्व बैंकको निरन्तर सहयोगबारे छलफल भएको छ ।

अर्थमन्त्री वाग्लेले नेपाल र विश्व बैंकबीच लामो समयदेखि कायम सहकार्य, ऐक्यबद्धता र सहयोगका लागि विश्व बैंकप्रति आभार व्यक्त गरेका थिए। उनले बाढीबाट भएको ठूलो क्षतिको अवस्थालाई ध्यानमा राख्दै नेपालको पुनःस्थापना, पुनर्वास र पुनर्निर्माणका प्रयासमा विश्व बैंकको निरन्तर सहयोग आवश्यक रहेको बताएका थिए।

भेटका क्रममा विश्व बैंक अध्यक्ष बाङ्गाले बाढीबाट प्रभावित नेपाल सरकार तथा परिवारप्रति समवेदना व्यक्त गरेका थिए। उनले बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा विश्व बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

यसअघि अर्थमन्त्री वाग्लेले मिलेनियम च्यालेन्ज कर्पोरेसनका सञ्चालनसम्बन्धी कार्यवाहक उपाध्यक्ष जेसन स्मलसँग पनि भेटवार्ता गरेका थिए । वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासमा भएको भेटमा नेपालमा मिलेनियम चुनौती सम्झौताअन्तर्गत सञ्चालन भइरहेका आयोजनाको कार्यान्वयन अवस्था र निर्धारित समयमा आयोजना सम्पन्न गर्ने विषयमा छलफल भएको थियो ।

मिलेनियम चुनौती कर्पोरेसनसँगको भेटपछि अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगमकी प्रमुख नीतिगत सल्लाहकार क्यारोलिन विकले पनि अर्थमन्त्री वाग्लेसँग भेट गरेकी थिइन्। भेटमा नेपाल–अमेरिका आर्थिक तथा विकास सहकार्यका विषयमा छलफल भएको थियो ।

उक्त छलफलमा नेपालमा लगानी विस्तार तथा निजी क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने सम्भावनाबारे पनि कुराकानी भएको थियो। नेपाल र अमेरिकाबीच आर्थिक तथा विकास क्षेत्रमा सहकार्य बढाउने विषयलाई भेटमा प्राथमिकताका साथ उठाइएको थियो ।

अर्थमन्त्री वाग्लेले वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासको पनि भ्रमण गरेका थिए। कार्यवाहक राजदूत शरदराज आरनले अर्थमन्त्री वाग्लेलाई राजदूतावासका गतिविधि तथा प्रदान गरिँदै आएका सेवाबारे जानकारी गराएका थिए ।

भेटका क्रममा नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप मजबुत बनाउन आर्थिक कूटनीतिलाई प्राथमिकता दिनुपर्नेमा अर्थमन्त्री वाग्लेले जोड दिएका थिए । उनले राजदूतावासका अधिकारीलाई प्रभावकारी तथा उत्तरदायी सेवा प्रवाहलाई निरन्तरता दिँदै आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता दिन आग्रह गरेका थिए ।

भेटवार्तामा कार्यवाहक राजदूत आरन, सहसचिव अमृत लाम्साललगायत नेपाली राजदूतावासका अधिकारीहरूको सहभागिता रहेको थियो ।

विश्व बैंक समूहका अध्यक्ष बाङ्गाको निमन्त्रणामा अर्थमन्त्री वाग्ले अक्टोबर ३ मा वासिङ्टन डीसी पुगेका थिए। उनी अक्टोबर ६ मा काठमाडौं फर्किने कार्यक्रम रहेको नेपाली राजदूतावासले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यसम्पादनप्रतिको जनसमर्थन ऐतिहासिक न्यून विन्दुमै कायम रहेको छ । रोयटर्स तथा इप्सोसले गरेको पछिल्लो सर्वेक्षणअनुसार ट्रम्पको राष्ट्रपतीय कार्यसम्पादनलाई समर्थन गर्ने अमेरिकीको संख्या ३२ प्रतिशतमा सीमित भएको छ ।

छ दिनसम्म गरिएको सर्वेक्षणमा ट्रम्पको पक्षमा देखिएको समर्थन अघिल्लो सेप्टेम्बरको सर्वेक्षणकै स्तरमा रहेको हो । यसअघि पनि ३२ प्रतिशत समर्थन ट्रम्पको राजनीतिक जीवनकै सबैभन्दा न्यून स्तरका रूपमा देखिएको थियो ।

ट्रम्पलाई सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ठूलो संख्यामा साथ दिएका हिस्पानिक मतदातामाझ पनि उनको लोकप्रियता घटेको सर्वेक्षणले देखाएको छ । हिस्पानिक समुदायका केवल २४ प्रतिशतले ट्रम्पको कार्यसम्पादनलाई समर्थन गरेका छन् । यो ट्रम्पका दुई कार्यकालमध्ये सबैभन्दा न्यून समर्थन हो ।

सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले हिस्पानिक मतको करिब आधा हिस्सा प्राप्त गरेका थिए । सन् २०२० मा भने उनले करिब एकतिहाइ हिस्पानिक मत मात्रै पाएका थिए। तर पछिल्ला महिनामा महँगी र जीवनयापनको बढ्दो लागतका कारण उनको समर्थन कमजोर बनेको सर्वेक्षणले देखाएको छ ।

ट्रम्पको कमजोर लोकप्रियताको असर उनको रिपब्लिकन पार्टीमा पनि देखिएको छ । आगामी नोभेम्बर ३ को मध्यावधि निर्वाचनमा ४४ प्रतिशत दर्ता मतदाता डेमोक्र्याटिक पार्टीलाई र ३७ प्रतिशत रिपब्लिकन पार्टीलाई मतदान गर्ने पक्षमा देखिएका छन् । स्वतन्त्र मतदातामाझ पनि डेमोक्र्याटिक पार्टी ३७ प्रतिशत समर्थनसहित अगाडि छ । रिपब्लिकन पार्टीलाई २१ प्रतिशत स्वतन्त्र मतदाताको समर्थन रहेको छ भने २८ प्रतिशत अझै निर्णयमा पुगिसकेका छैनन् । हिस्पानिक दर्ता मतदातामध्ये ५२ प्रतिशतले डेमोक्र्याटिक पार्टीलाई मतदान गर्ने बताएका छन् भने केवल २६ प्रतिशत रिपब्लिकन पार्टीको पक्षमा छन् । ट्रम्प राष्ट्रपति बनेपछि हिस्पानिक मतदातामाझ डेमोक्र्याटिक पार्टीको यो सबैभन्दा ठूलो अग्रता भएको सर्वेक्षणमा उल्लेख छ ।

मध्यावधि निर्वाचनबाट अमेरिकी संसद्का दुवै सदनमा आगामी दुई वर्षका लागि कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण हुनेछ । रिपब्लिकन पार्टीले निर्वाचनमा कमजोर प्रदर्शन गर्न सक्ने आकलन भइरहेका बेला डेमोक्र्याटिक पार्टीले प्रतिनिधिसभामा बहुमत हासिल गर्न सक्ने अनुमान बढेको छ । सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण चुनौतीमा पर्न सक्ने देखिएको छ ।

सर्वेक्षणमा सहभागी अमेरिकीका लागि आगामी निर्वाचनमा मतदान गर्ने निर्णयमा जीवनयापनको बढ्दो खर्च सबैभन्दा प्रमुख मुद्दा बनेको देखिएको छ । इन्धनको मूल्य बढेसँगै उपभोक्ता महँगीसमेत बढेको सर्वेक्षणमा उल्लेख छ ।

यसैबीच ५० वर्ष वा सोभन्दा बढी उमेरका मतदातामाझ रिपब्लिकन पार्टीको पुरानो अग्रता पनि घटेको छ। यस उमेर समूहमा रिपब्लिकन पार्टीलाई ४४ प्रतिशत र डेमोक्र्याटिक पार्टीलाई ४२ प्रतिशत समर्थन रहेको छ । गत डिसेम्बरमा भने रिपब्लिकन पार्टीको अग्रता आठ प्रतिशत विन्दु थियो ।

मध्यावधि निर्वाचनमा ५० वर्षभन्दा माथिका मतदाताको सहभागिता सामान्यतया बढी हुने भएकाले यो समूह दुवै दलका लागि महत्वपूर्ण मानिन्छ । ५० वर्षभन्दा कम उमेरका मतदातामाझ भने डेमोक्र्याटिक पार्टी १८ प्रतिशत विन्दुले अगाडि रहेको छ । रोयटर्स तथा इप्सोसको उक्त सर्वेक्षणमा अमेरिकाभरका ४ हजार ५०६ वयस्क सहभागी थिए । अनलाइनमार्फत गरिएको सर्वेक्षणको त्रुटि सीमा करिब दुई प्रतिशत विन्दु रहेको छ । एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । नेपाली काँग्रेसले उपसभापतिमा वरिष्ठसहित पाँच जनाको व्यवस्था गरेपछि आकांक्षीहरु देखिएका छन् ।

अहिलेसम्म वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुसाललाई चुनौती दिएको देखिएको छैन ।

बाँकी तीन सभापतिमा भने डा. मीनेन्द्र रिजालसहित संसदीय दल नेता भीष्मराज आङ्देम्बे, चन्द्र भण्डारी, प्रवक्ता देवराज घिमिरे, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, धनराज गुरूङ, जीवन परियार, ज्ञानेन्द्र कार्की, विनोद चौधरी र गोविन्द भट्टराई लगायतले उम्मेदवारी दिने तयारी गरेका छन् ।

काँग्रेस महाधिवेशन अन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुदैछ भने विहिबार निर्वाचन हुने कार्यतालिका रहेको छ । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । समितले आज बैठक बिहान ११: १५ बजेदेखि शुरु हुने जानकारी दिएको छ ।

आजको बैठकमा प्रस्तावित राजदूत उपर प्राप्‍त उजुरी खोल्ने र प्रस्तावित राजदूतहरूबाट पेश भएको कार्ययोजना सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ ।

यसअघि असोज ८ गते बसेको बैठकले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूतको सुनुवाई प्रक्रिया अगाडी बढाउने निर्णय गर्दै उजुरी आव्हान गरेको थियो ।

असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ । जसमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरेको छ । त्यस्तै, संयुक्त अधिराज्यका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबराराणा, जापानका लागि जिज्ञनकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनलाई प्रस्तावित राजदूतका रूपमा अघि सारिएको छ । जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल तथा दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठको नाम सिफारिस गरिएको छ । यसैगरी, श्रीलंकाका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गरिएको छ ।

संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित देशबाट सहमति प्राप्त गर्ने प्रक्रिया अघि बढ्ने र त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ  एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ ।

विश्व बैंकका अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले अध्यक्ष बाङ्गासँग नेपालको पुनर्निर्माण, आर्थिक सुधार तथा सामाजिक संरक्षणका विषयमा छलफल गरेका हुन् ।

भेटका क्रममा अर्थमन्त्री वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका लागि आवश्यक सहयोगबारे छलफल गरेका थिए । त्यसैगरी, बृहत् आर्थिक सुधार, बीमा तथा सामाजिक संरक्षणका क्षेत्रमा समेत गरी करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनका विषयमा घनीभूत छलफल भएको थियो ।

भेटमा विश्व बैंकका अध्यक्ष बाङ्गाले नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि अघि बढाएका कदमको प्रशंसा गर्दै पूर्वाधारमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । साथै, स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न आवश्यक रहेको बताएका थिए ।

अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक तथा अन्तर्राष्ट्रिय वित्त निगमलगायत विकास साझेदारसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिएका थिए । नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो ।

भेटवार्तामा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदसहित विश्व बैंकका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो  एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौँ । विश्वभर हरेक वर्ष अक्टोबर ६ मा अन्तर्राष्ट्रिय भूविविधता दिवस मनाइन्छ । पृथ्वीका निर्जीव प्राकृतिक पक्षको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

सन् २०२१ मा युनेस्कोको ४१औँ महासभाले अक्टोबर ६ लाई अन्तर्राष्ट्रिय भूविविधता दिवसका रूपमा घोषणा गरेको थियो। सन् २०२६ को दिवसको नारा ‘हाम्रो घरआँगनमै भूविविधता’ रहेको छ ।

भूविविधताअन्तर्गत खनिज, चट्टान, जीवाश्म, माटो, अवसाद, भू–आकृति तथा पानीका प्राकृतिक प्रणालीजस्ता पृथ्वीका निर्जीव तत्व पर्छन् । यिनको सम्बन्ध पारिस्थितिक प्रणाली, कृषि र जैविक विविधतासँग प्रत्यक्ष रहने गर्दछ ।

भूविविधताले जलवायु परिवर्तन बुझ्न, प्राकृतिक स्रोतको व्यवस्थापन गर्न तथा प्राकृतिक विपद्को जोखिम न्यूनीकरणमा समेत सहयोग पुर्‍याउँछ । यस दिवसले पृथ्वीको संरक्षण, दिगो व्यवस्थापन तथा युनेस्को विश्व भू–उद्यानको विकासबारे विश्वव्यापी जनचेतना बढाउने उद्देश्य राखेको छ  एभरेष्ट न्यूज एजेन्सी,

 

असोज २० गते

रौतहट । रौतहटका अतिरिक्त हुलाक कर्मचारीले लामो समयदेखि न्यून पारिश्रमिकमा काम गर्नुपरेको भन्दै श्रमअनुसारको सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

उनीहरूका अनुसार अहिले बिहान ९ देखि साँझ ५ बजेसम्म कार्यालयमा काम गर्नुपर्ने भए पनि मासिक ७ हजारदेखि ८ हजार रुपैयाँ हाराहारी मात्रै पारिश्रमिक पाउने गरेका छन्। यसले दैनिक खर्च चलाउनसमेत कठिन भएको कर्मचारीहरूको गुनासो छ।

फतुवा विजयपुर नगरपालिका–२ दुधियास्थित इलाका हुलाक कार्यालयका अतिरिक्त हुलाक कर्मचारी तथा पत्रवितरक आनन्द पौडेलले आफू २० वर्षदेखि सेवामा रहे पनि पारिश्रमिक र सेवा–सुविधामा अपेक्षित सुधार नभएको बताए।

मिठुअबा अतिरिक्त हुलाककी पत्रवितरक बिमला देवीले १२ वर्षदेखि काम गरे पनि ७ हजार २ सय रुपैयाँको पारिश्रमिकले परिवार धान्न मुस्किल भएको बताइन्।

कर्मचारीहरूले पोसाक तथा आवश्यक सामग्री जुटाउनसमेत समस्या रहेको जनाएका छन्। आफूहरूलाई बेवास्ता गर्दै विभिन्न स्थानीय तहमा करार कर्मचारी राख्दा राज्यको खर्च बढेको उनीहरूको भनाइ छ।

काम गर्ने समय बढे पनि पारिश्रमिकमा सुधार नभएको भन्दै अतिरिक्त हुलाक कर्मचारीले उचित पारिश्रमिक र सेवा–सुविधाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। रामआधार यादव

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।