सर्लाही । उखु किसानलाई करिब २२ करोडभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ (क्रिमिनल बेनिफिट) लिएको आरोपमा दर्ता भएको मुद्दामा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पश्चिम नवलपरासी, रामग्राम नगरपालिका–२ बस्ने शैलेन्द्र गुप्ता र जिल्ला सर्लाही, हरिपुर नगरपालिका–१ घर भई हाल पश्चिम नवलपरासी बस्ने विनोद साह कलवार रहेका छन् ।
उखु किसानलाई लामो समयदेखि करिब २२ करोडभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ लिएको आरोपमा दर्ता भएको मुद्दामा फरार रहेका दुवै जनालाई पक्राउ गरिएको हो ।
उनीहरूविरुद्ध आपराधिक लाभ (क्रिमिनल बेनिफिट) सम्बन्धी कसुरमा अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार अहिराजलाई जबर्जस्ती करणी मुद्धामा दोषी ठहर गरेको हो ।
इजलासले सजाय निर्धारणका लागि साउन ३२ गते पेशी तोकेको छ । राजेश अहिराज मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख, पत्रकार तथा मधेशवादी अभियन्ता हुन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । नेपाल आयल निगमले बुधबारदेखि देशभर पुनः १४.२ किलोग्राम तौलको खाना पकाउने ग्यास सिलिन्डर बिक्री वितरण सुरु गरेको जनाएको छ।
निगमका अनुसार भारतका विभिन्न ग्यास भर्ने केन्द्र र प्रशोधन केन्द्रबाट ग्यास आपूर्तिमा सुधार आएपछि तथा उपभोक्ताबाट १४.२ किलोग्रामको सिलिन्डरको माग बढेकाले बुधबारदेखि साविककै तौलको ग्यास बिक्री गर्ने व्यवस्था गरिएको हो । यस सिलिन्डरको मूल्य दुई हजार ६० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
यसअघि आपूर्ति व्यवस्थापन सहज बनाउन निगमले गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ किलोग्राम ग्यास भरेर बिक्री–वितरण गर्ने व्यवस्था लागू गरेको थियो । निगमले केही समयसम्म बजारमा ७.१ किलोग्राम र १४.२ किलोग्राम दुवै प्रकारका सिलिन्डर उपलब्ध हुन सक्ने जनाएको छ । त्यसैले उपभोक्तालाई ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य यकिन गरेर मात्रै खरिद गर्न आग्रह गरिएको छ ।
निगमका अनुसार हाल भारतबाट नियमित रूपमा खाना पकाउने ग्यास आयात भइरहेकाले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न पनि उपभोक्तासँग अनुरोध गरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १५ जनालाई सजाय निर्धारण गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले कसुर अभियोगमा दोषी ठहर गर्दै सजाय तोकेको हो ।
अदालतले कसुर अनुसार कैद र जरिवाना भनी अलग अलग सजाय किटान गरे पनि जुन कसुरमा सबभन्दा बढी कैद सजाय तोकिएको छ, उनीहरूले त्यो मात्र भुक्तान गरे हुने कानुनी प्रावधान रहेको छ । जरिवानाको हकमा भने सबै कसुरमा तोकिएको जरिवाना तिर्नुपर्ने व्यस्था छ । नेपालको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को ११ को २ र ३ मा यस सम्बन्धि व्यवस्था गरिएको छ ।
अदालतले तोकेको सजाय अनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे, इन्द्रकुमार राई र आङटावा शेर्पाले ४ वर्ष कैद बस्नु पर्ने भएको छ ।
अदालतले उनीहरूलाई ठगीमा २ वर्ष कैद र २० हजार जरिवाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिवाना, राज्यविरूद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना, त्यस्तै अतिरिक्त ६ , महिना कैद र एकीकृत कसुरतर्फ ४ वर्ष कैद र ४० हजार जरिवाना तोकेको छ । यसमध्ये अधिकतम कैद ४ वर्ष रहेकाले सो समय जेलमा बस्नुपर्ने भएको छ ।
त्यसैगरी नक्कली भुटानी शरणार्थी प्रकरणमा मतियार ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई २ वर्ष कैद बस्नुपर्ने भएको छ । खाँणलाई किर्तेमा एक वर्ष कैद र १० हजार जरिबाना, ठगीमा ढेड वर्ष कैद र १५ हजार जरिबाना, संगठित अपराधमा ६ महिना कैद र पाँच हजार जरिबाना तथा एकीकृत कसुरमा २ वर्ष कैद र २० हजार जरिबानाको सजाय भएको छ । थप तीन महिना जेल साय समेत गरिएको छ । खाँणले बढी कैद सजाय तोकिएको एकीकृत कसुरमा २ वर्ष कैद भुक्तानी गर्नुपर्ने भएको छ ।
त्यस्तै, विक्रम भन्ने गोविन्द कुमार चौधरी, सन्देश शर्मा र सागर राईलाई पनि ४ वर्ष कैद हुनेछ भने भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई २ वर्ष कैद हुनेछ । यो प्रकरणका योजनाकार सानु भण्डारी र केशव दुलालले ४ वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालतको फैसला अनुसार नरेन्द्र केसी, शमसेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेलले १ वर्ष कैद तोकिएको छ ।
२०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, पूर्वगृहसचिव पाण्डे सहित ३० जनाविरूद्ध ठगी, लिखत किर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराध सम्बन्धी कसुर लगाउँदै सरकारी वकिलले मुद्दा दायर गरेको थियो । जस मध्ये रामशरण केसी, टंककुमार गुरूङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले सफाई पाएका थिए ।
काठमाडौं जिल्ला अदालतको यो फैसलाविरुद्ध थुनामा रहेका र बाहिर रहेका कसुरदारले अब उच्च र सर्वोच्चमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । वैज्ञानिकहरूले प्रयोगशालामा कृत्रिम रूपमा मानव शुक्राणु विकास गर्ने दिशामा महत्वपूर्ण सफलता हासिल गरेका छन् । अनुसन्धानकर्ताले मानव स्टेम सेलबाट भविष्यमा परिपक्व शुक्राणु बन्न सक्ने प्रारम्भिक शुक्राणु कोशिका विकास गर्न सफल भएका हुन् । यो उपलब्धिले पुरुष बाँझोपनको कारण बुझ्न र भविष्यमा प्रजनन उपचारको नयाँ आधार तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अमेरिकाको पेन्सिल्भेनिया विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको यो अध्ययन वैज्ञानिक पत्रिका सेल स्टेम सेलमा प्रकाशित भएको छ । अनुसन्धानका क्रममा वैज्ञानिकहरूले पहिलोपटक मानव स्टेम सेलबाट तयार गरिएका प्रारम्भिक शुक्राणु कोशिकालाई विशेष जैविक वातावरणमा जीवित मुसाको शरीरमा विकास गराएका हुन् । उनीहरूको मुख्य उद्देश्य अहिले परिपक्व शुक्राणु उत्पादन गर्नु नभई मानव शुक्राणु बन्ने प्रारम्भिक जैविक प्रक्रिया राम्रोसँग बुझ्नु रहेको बताइएको छ ।
अनुसन्धानकर्ताका अनुसार यस प्रविधिबाट पुरुष बाँझोपनसम्बन्धी अनुसन्धानमा ठूलो सहयोग पुग्नेछ। हाल पुरुष बाँझोपनका करिब ४० प्रतिशत घटनामा वास्तविक कारण पत्ता लाग्न सकेको छैन। प्रारम्भिक शुक्राणु विकासको प्रक्रिया स्पष्ट रूपमा बुझ्न सके आनुवंशिक तथा जैविक कारण पहिचान गर्न सहज हुने र भविष्यमा नयाँ उपचार विधि तथा औषधि विकासको बाटो खुल्ने विश्वास गरिएको छ। यद्यपि प्रयोगशालामा तयार गरिएका यी कोशिका पूर्ण रूपमा कार्यक्षम छन् वा छैनन् भन्ने कुरा आगामी अध्ययनबाट पुष्टि गर्नुपर्ने अनुसन्धानकर्ताको भनाइ छ।
यस अध्ययनमा वैज्ञानिकहरूले मानव कोशिकालाई पुनः कार्यक्रम गरी बहुक्षमता स्टेम सेलमा रूपान्तरण गरेका थिए । त्यसपछि विशेष जैविक संकेतको प्रयोग गरेर ती कोशिकालाई प्रारम्भिक प्रजनन कोशिकामा परिवर्तन गरिएको थियो। ती कोशिकालाई विकासशील मुसाको अण्डकोषका सहायक कोशिकासँग मिसाएर मुसाको मिर्गौलामाथि बनाइएको विशेष जैविक थैलीमा प्रत्यारोपण गरिएको थियो, जहाँ कोशिकाले अनुकूल वातावरण पाएर विकास गरेका थिए।
करिब छ महिनापछि ती कोशिकाले अण्डकोषजस्तै नलीयुक्त संरचना बनाउँदै स्पर्मेटोगोनिया अवस्थासम्म विकास गरेको अनुसन्धानमा उल्लेख गरिएको छ । यही प्रारम्भिक कोशिकाबाट पछि परिपक्व शुक्राणु बन्ने प्रक्रिया सुरु हुने भएकाले यसलाई मानव प्रजनन विज्ञानमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। साथै, विकसित कोशिकामा सक्रिय भएका जीनहरू सामान्य मानव स्पर्मेटोगोनियासँग धेरै हदसम्म मिल्दोजुल्दो रहेको पनि अनुसन्धानले देखाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जारी फिफा विश्वकप फुटबल अन्तर्गत पहिलो सेमिफाइनलमा आजराती फ्रान्स र स्पेन आमनेसामने हुँदैछन् । अमेरिकाको डलास रंगशालामा हुने यो खेल नेपाली समय अनुसार आजराती १२: ४५ बजेदेखि शुरु हुदैछ ।
प्रतियोगिताका दुई प्रमुख उपाधि दाबेदार मानिएका यी टोलीबीचको प्रतिस्पर्धालाई विश्वकपकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एकका रूपमा हेरिएको छ । यस खेलको विजेताले उपाधिका लागि इङ्ग्ल्यान्ड वा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।
फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै यस विश्वकपमा लगातार छैटौं जित निकालेको थियो । अब स्पेनलाई पराजित गर्न सके फ्रान्स विश्वकप इतिहासमा लगातार सात खेल जित्ने दोस्रो युरोपेली टोली बन्नेछ । यसअघि इटालीले सन् १९३४ र १९३८ को विश्वकपमा लगातार सात जित हासिल गरेको थियो । विश्वकपको अन्तिम चारमा फ्रान्सको यो आठौं यात्रा हो । जर्मनीपछि सबैभन्दा धेरै पटक सेमिफाइनल पुगेको टोली पनि फ्रान्स नै हो । सन् १९९८, २००६, २०१८ र २०२२ मा फ्रान्सले लगातार चारपटक सेमिफाइनल जितेको छ । पछिल्ला तीन सेमिफाइनलमा उसले कुनै गोल पनि खाएको छैन । यदि फ्रान्स फाइनलमा पुग्न सफल भयो भने जर्मनी र ब्राजिलपछि लगातार तीन विश्वकप फाइनल खेल्ने तेस्रो राष्ट्र बन्नेछ । फ्रान्सका कप्तान किलियन एम्बाप्पे यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मोरक्कोविरुद्ध खेल्दा सामान्य समस्या देखिए पनि स्पेनविरुद्ध खेल्नेछन् ।
यस प्रतियोगितामा उनले आठ गोल गरिसकेका छन् । गोल्डेन बुटको दौडमा उनी लियोनेल मेसीसँग बराबरीमा छन् । विश्वकपका नकआउट चरणमा एम्बाप्पेको कुल गोल संख्या १२ पुगेको छ, जुन अहिलेसम्मकै सर्वाधिक हो । यद्यपि उनले यसअघि खेलेका दुवै सेमिफाइनलमा भने गोल गर्न सकेका छैनन् । एम्बाप्पे र उस्मान डेम्बेलेबीचको समझदारी पनि फ्रान्सका लागि बलियो पक्ष बनेको छ । उनीहरूले एकअर्काका लागि १९ अवसर सिर्जना गरिसकेका छन्, जुन विश्वकप इतिहासकै उत्कृष्ट साझेदारीमध्ये एक हो ।
अर्कोतर्फ स्पेनले यस विश्वकपमा उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गरेको छ । क्वार्टरफाइनलमा बेल्जियमलाई २-१ ले हराउदा चार्ल्स डे केटेलारेले गरेको हेडर नै प्रतियोगिताभर स्पेनले खाएको एकमात्र गोल हो । बेल्जियमविरुद्धको खेल अतिरिक्त समयमा जाने देखिएको अवस्थामा वैकल्पिक खेलाडी मिकेल मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनल पुर्याएका थिए । उनी विश्वकप इतिहासमा नकआउट चरणका दुई खेलमा वैकल्पिक खेलाडीका रूपमा विजयी गोल गर्ने पहिलो खेलाडी बनेका छन् । सन् २०१८ विश्वकपयता स्पेनले प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेका २७ खेलमध्ये केवल एक खेल मात्र हारेको छ । सन् २०२२ को विश्वकपमा जापानसँग पराजित भएपछि स्पेन लगातार १४ खेलमा अपराजित छ । यस अवधिमा उसले केवल पाँच गोल मात्र खाएको छ र नौ खेलमा कुनै गोल खाएको छैन । स्पेन सन् २०१० पछि पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो ।
दुवै टोलीमा कुनै खेलाडी प्रतिबन्धमा छैनन् । फ्रान्सले विलियम सालिबा, दायो उपामेकानो र ओरेलिए चुआमेनीको शारीरिक अवस्थामाथि विशेष निगरानी राखेको छ । चुआमेनी मांसपेशीको समस्याका कारण पछिल्ला दुई खेल गुमाएका थिए । त्यस्तै स्पेनका निको विलियम्स चोटमुक्त भएपछि खेल्ने अपेक्षा गरिएको छ भने येरेमी पिनो पनि काँधको चोटबाट फर्किन सक्ने सम्भावना छ ।
विश्वकपमा फ्रान्स र स्पेनबीच यो दोस्रो भेट हुनेछ । यसअघि सन् २००६ को अन्तिम १६ को खेलमा फ्रान्सले ३-१ को जित निकालेको थियो । तर पछिल्ला १० अन्तर्राष्ट्रिय भेटमध्ये स्पेनले सात खेल जितेको छ भने फ्रान्सले केवल दुई खेलमा सफलता पाएको छ । स्पेनले पछिल्ला दुई भेटमा लगातार जित निकालेको छ ।
युरोकप २०२४ को सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ ले हराएको थियो । त्यसपछि गत वर्ष राष्ट्र लिगको अन्तिम चारको रोमाञ्चक खेलमा पनि स्पेनले फ्रान्सलाई ५-४ ले पराजित गरेको थियो ।
स्पेनका युवा स्टार लामिन यमालले सेमिफाइनलअघि भनेका छन्- ‘फ्रान्स लगातार तेस्रो विश्वकप फाइनलमा पुग्ने कि हामी उनीहरूलाई लगातार तेस्रो पटक हराउने भन्ने कुरा मैदानमै तय हुनेछ । जे भए पनि हामी फ्रान्ससँग डराएका छैनौँ ।’एभरेष्ट न्यूज एजेन्सी
चितवन । अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा आइतबार साँझदेखि पहिरो र लेदो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार सडक अवरुद्ध हुँदा सडकखण्डको बीचमा अलपत्र परेका यात्रु तथा सवारीसाधनलाई आइतबार रातिसम्म पहिरो पन्छाएर सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको थियो ।
तर लगातार वर्षा भइरहेका कारण यस क्षेत्रमा थप पहिरो जाने उच्च जोखिम रहेको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिको आपत्कालीन बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको जनाएको छ ।
हाल जलविरे नजिक पुनः पहिरो खसेको छ । अन्य स्थानमा खसेको पहिरो र लेदो हटाउन सम्बन्धित क्षेत्रमा आवश्यक उपकरण र मेसिन परिचालन गरिसकिएको सडक डिभिजनले जनाएको छ ।
यस सडकमार्ग हुँदै यात्रा गर्ने यात्रुलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्दै सुरक्षित रूपमा यात्रा गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । बैठकमा विभिन्न वार्षिक प्रतिवेदन पेस, विधेयक प्रस्तुत तथा अन्तर्राष्ट्रिय सन्धिमाथि छलफल र अनुमोदनसम्बन्धी प्रस्तावहरू अघि बढाइने कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले विभिन्न वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री गौतमले न्याय परिषद्को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, न्याय सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा लोक सेवा आयोगको छैसट्ठीऔँ वार्षिक प्रतिवेदन (२०८१ साउनदेखि २०८२ असारसम्म) सदनमा पेस गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नेछन् । त्यसपछि उक्त विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, प्रधानमन्त्री शाहको तर्फबाट मन्त्री गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
त्यसैगरी बैठकमा अन्तर्राष्ट्रिय सन्धिमाथि पनि छलफल र अनुमोदनसम्बन्धी प्रक्रिया अघि बढाइनेछ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै उक्त प्रोटोकल अनुमोदन गरियोस् भन्ने प्रस्ताव पनि राख्नेछन् ।
त्यसैगरी मन्त्री यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१) माथि सामान्य छलफल गरियोस् र अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालको कुल वस्तु निर्यात १२.३ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ७७.८ प्रतिशतले बढेको थियो ।
गन्तव्यका आधारमा भारततर्फको निर्यात १३.६ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ९.२ प्रतिशतले वृद्धि भएको छ। भने चीनतर्फको निर्यातमा ३५.८ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, अलैंची, च्याउचाउ, ब्रान्डलगायतका वस्तुको निर्यात बढेको छ। तर जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र हस्तकलाका सामग्रीलगायतका वस्तुको निर्यात घटेको छ । समीक्षा अवधिमा कुल वस्तु आयात १५.२ प्रतिशतले वृद्धि भई १८ खर्ब ९४ अर्ब १० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा वस्तु आयात १३.१ प्रतिशतले बढेको थियो ।
मुलुकगत आधारमा भारतबाट हुने आयात ११.८ प्रतिशत, चीनबाट हुने आयात २१.५ प्रतिशत र अन्य मुलुकबाट हुने आयात १८.९ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, चाँदी, यातायात उपकरण, सवारी साधन तथा स्पेयर पार्ट्स, रासायनिक मल, भटमासको कच्चा तेललगायतका वस्तुको आयात बढेको छ । त्यस्तै खाने तेल, हट रोल्ड सिट इन क्वायल, लसुन, एमएस तार, छड, बार, क्वायल, एमएस बिलेटलगायतका वस्तुको आयात घटेको छ ।
चालु आर्थिक वर्षको ११ महिनामा कुल वस्तु व्यापार घाटा १५.७ प्रतिशतले वृद्धि भई १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ६.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १४.७ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १५.१ प्रतिशत रहेको थियो ।
११ महिनामा भारतबाट परिवर्त्य विदेशी मुद्रामा भुक्तानी गरी १ खर्ब ८० अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ६७ अर्ब ३० करोड रुपैयाँ बराबर रहेको थियो ।
बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको हिस्सा क्रमशः ६९.३ प्रतिशत, ३० प्रतिशत र ०.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी वस्तुको हिस्सा क्रमशः ६७.३ प्रतिशत, ३१.७ प्रतिशत र १ प्रतिशत रहेको थियो ।
त्यस्तै, कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको हिस्सा क्रमशः ३८.८ प्रतिशत, ५१.८ प्रतिशत र ९.४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी अनुपात क्रमशः ३९.४ प्रतिशत, ५१.६ प्रतिशत र ९ प्रतिशत रहेका थिए । वार्षिक बिन्दुगत आधारमा २०८३ जेठ महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक ४.२ प्रतिशतले वृद्धि भएको छ भने आयात मूल्य सूचकांक २१ प्रतिशतले बढेको छ ।
त्यस्तै, २०८३ जेठ महिनामा नेपालको व्यापारको सर्त (टर्म्स अफ ट्रेड) १३.९ प्रतिशतले घटेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको जानकारी दिएको छ ।
हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशमा अधिकांश बादल र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका धैरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा, मधेश प्रदेश तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई , कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केहि स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । एभरेष्ट न्यूज एजेन्सी