काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको आज अनावरण गरेका छन् ।
ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएको प्रतिमाको एमालेको सचिवालय बैठक अघि उक्त अनावरण भएको हो ।
अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी थिए । कलाकार लालकाजी लामाले उक्त प्रतिमा निर्माण गरेका हुन् ।न्युज कारखाना
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल शुरु गरेका छन् ।
सभापति देउवाले महामन्त्रीद्वयले पेश गरेको प्रस्ताव बारे केहीबेर अघि देखि देउवा निवास बुढानिलकण्ठमा छलफल शुरु भएको हो । यस अघि मंगलबार भएको छलफलमा महामन्त्री थापा र शर्माले आफ्नो प्रस्तावबाट पछि नहट्ने अडान लिए पछि निष्कर्षमा पुगेको थिएन ।
पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषयमा छलफल गर्न लागेका हुन् ।
पार्टी केन्द्रीय समितिमा महामन्त्रीद्वयको प्रस्तावमा छलफल जारी रहेका बेला सभापति देउवाले यस प्रस्तावलाई परिमार्जित गर्न चाहेको बुझिएको छ ।
महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुने छ । सभापति देउवाले चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहेका छन् । त्यस्तै देउवा पक्षले महामन्त्री शर्माले राखेको प्रस्ताव मान्य नहुने भन्दै सो प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्दै आएका छन् ।
महामन्त्रीद्वयको प्रस्तावमा सहमति हुन नसक्दा मंगलबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक भदौ १६ गते बोलाएको छ । न्युज कारखाना
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अपराहन्न १ बजे बस्ने बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय संगठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनियता बढाउन आवश्यक भएको’ विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
उक्त प्रस्तावको समर्थकमा डोलप्रसाद अर्याल, सन्तोष परियार, तोसिमा कार्की, हरि ढकाल, मनिष झा, निशा डांगी, विनिता कठायत, शिव नेपाली, अशोक कुमार चौधरी, सुमना श्रेष्ठ, डा. चन्दा कार्की (भण्डारी), गणेश पराजुली र विन्दवासिनी कांसकार रहनेछन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८० पेस गर्ने कार्यसूची छ ।
त्यस्तै सभामुख देवराज घिमिरेले संविधानसभाका सदस्य श्रवणकुमार अग्रवालको निधनमा शोक प्रस्ताव पस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । न्युज कारखाना
काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीका उच्च अधिकृतले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका छन् ।
नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीसहित पाँचजना उच्च अधिकृतले उमेरहदका कारण गरिएको अवकास रोक्न रिट निवेदन दायर गरेको र उक्त रिटमाथि आज सुनुवाइ हुदै छ ।
प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजी ५६ वर्ष उमेर पूरा भएमा अवकाशमा हुने व्यवस्था रहेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवाली ५६ वर्षे उमेर हदका कारण भदौ २६ गते अवकाशमा जान लागेका थिए। अन्य अधिकृतहरू त्यसअघि नै अवकाशमा जान लागेका थिए। उनीहरूलाई प्रहरी किताबखानाले अवकाशको चिठी पठाइसकेको थियो।
अदालतमा विचारधीन मुद्दाहरू रहेको हुँदा दर्जागत उमेरहका कारण गरिएको अवकाश रोक्न रिट निवेदनमा माग गरिएको छ ।न्युज कारखाना
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पोलिटब्युरो सदस्य चयनका लागि गरेको निर्वाचनको परिणाम आएको छ ।
पदाधिकारीको परिणाम बुधबार आएको थियो भने पोलिटब्युरो सदस्यको परिणाम पनि आज आएको छ ।
प्राप्त मतपरिणाम अनुसार विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै जीवनराम श्रेष्ठ १९५, रमा आलेमगरले १९४ र रामकुमारी झाँक्रीले १८२ मत पाएर विजयी भएका छन् । ८४ जना विजयी हुदा सबै भन्दा कम मत १०७ ल्याउने पाँच जना रहेका छन् । न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ को ड्राफ्टलाई लिएर संसदमा प्रश्न उठाएको छ ।
मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा पेश गरेको ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ अमूक ल फर्ममा ड्राफ्ट भएको भन्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रश्न उठाएकी छन् । सांसद श्रेष्ठले उक्त विधेयक अमूक ल फर्ममा ड्राफ्ट भएको पाइएको भन्दै खारेजीको माग गरेकी छन् ।
उनले भनिन्- ‘विधेयकको अथरमा अमुक ल फर्मको नाम छ । के अर्थ मन्त्रालयको माइक्रोसफ्ट वर्ड सबै त्यो ल फर्मले किन्दिएको हो कि ? त्यो विधेयक नै ल फर्ममा गएर ड्राफ्ट गरिएको हो ? यस्तो महत्वपूर्ण विधेयक, नेपालको जुनसुकै विधेयक पनि नेपालको कर्मचारीले ड्राफ्ट गर्छ कि, सरकारले ड्राफ्ट गर्छ कि ल फर्मले ड्राफ्ट गर्छ ? आउट सोर्स गरिएको भए, आउट सोर्सको डक्यूमेन्टेसन चाहियो । यो धितोपत्र सम्बन्धि विधेयक अमुक ल फर्ममा डेभलप गरिएको भए यो खारेज गरेर फेरि अर्को दर्ता गर्नुपर्यो ।’
सो विधेयकको प्रपटिजमा पाइनियर ल फर्मको नाम देखाएको र सो ल फर्म पूर्व सभामुख एवं नेकपा एमाले नेता स्वर्गीय नेता सुवास नेम्वाङको हो ।न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांस्कृतिक चाड गौरा पर्व मनाउने सन्दर्भमा टुँडिखेलमा भएको घटनाबारे ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सो पार्टीका सांसद हरि ढकालले टुँडिखेलमा युवाहरुले गरेको विरोधलाई अन्यथा रुपमा नहेरी लोकतान्त्रिक अभ्यासका रुपमा मात्र लिनुपर्ने सुझाव दिएका हुन् ।
उनले भने, ‘त्यो घटनालाई सरकारले अराजकताका रुपमा ग्रहण गरी त्यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याइनु हुन्न । मुलुकमा भइरहेका कतिपय असान्दर्भिक र अनियमितासँग जोडेर युवाहरुले गरेका त्यस्ता विरोधका घटनामा राजनीतिक दल र सरकार संयमित हुनुपर्छ ।’
सोमबार टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध केहि युवाहरुले नाराबाजी गरेका थिए ।
प्रहरीले नारबाजी गर्ने दुई युवक सुर्खेतका गोपीराम (गोपीकृष्ण) जैसी र अछामका रामबहादुर बुढालाई पक्राउ गरेपछि यो विषयलाई रास्वपाले संसदमा उठाएको छ ।न्युज कारखाना
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्र र एमालेका सांसदहरुबीच विवाद भएपछि संसद बैठक अवरुद्ध भएको छ ।
नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा माओवादी जनयुद्धलाई हिंसा भन्ने शब्द प्रयोग गरेको विषयमा माओवादी केन्द्रका सांसदहरुले आपत्ति गरेका थिए ।
त्यसपछि संसदमा माओवादी केन्द्र र एमालेका सांसदहरुबीच भनाभन भएको थियो । सभामुख देवराज घिमिरेले हिंसा भन्ने शब्द असंसदीय भएको नभएको बारे छानबिन गर्न सचिवालयलाई निर्देशन
दिएपनि विवाद बढेको थियों । माओवादी केन्द्रक प्रमुख सचेतक हितराज पाण्डेले संसद नियम अनुसार संसद नचलेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । न्युज कारखाना
काठमाडौं । सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएक छन् ।
सभामुख घिमिरेले बुधबार सो विधेयक प्रमाणीकरण अग्रेर राष्ट्रपतिसमक्ष पठाएको सभामुखको सचिवालयले जानकारी दिएको छ । उक्त विधेयक यसअघि नै संघीय संसद्को दुवै सदनबाट सर्वसम्मत पारित भइसकेको छ ।
अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि सो विधेयक ऐनको रुपमा लागू हुनेछ ।न्युज कारखाना
काठमाडौँ । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देलाई प्रधानसेनापति नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपतिले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देलाई प्रधानसेनापति नियुक्त गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपतिले प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।न्युज कारखाना