राजेश पासवान/३१ असोज।
रौतहट। रौतहटको वृन्दावन नगरपालिका–८ बहुअरीस्थित दलित बस्तीमा रहेको दलित धर्मशालामा शैक्षिक सामग्री वितरण, सचेतनामूलक कार्यक्रम तथा शुभकामना आदानप्रदान सम्पन्न भएको छ।
जय श्री सलहेश युवा समाज, मलेसिया शाखाको आयोजना तथा बाबा सलहेश मिडिया प्रा.लि., वृन्दावन–८, रौतहटको सहकार्यमा आयोजित कार्यक्रममा दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो।
‘शिक्षा, सामाजिक उत्थान, आर्थिक विकास, छुवाछूतमुक्त समाज निर्माण तथा हकअधिकारको समानताका लागि संगठित प्रयास’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा ‘एकता हाम्रो शक्ति, सेवा हाम्रो भक्ति, समृद्ध समाज हाम्रो अभियान’ भन्ने सन्देशसमेत प्रवाह गरिएको थियो। कार्यक्रममा शुभकामना आदानप्रदानसमेत गरिएको थियो।
बाबा सलहेश मिडिया प्रा.लि.का सञ्चालक राजेश पासवान (निर्माणी) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जय श्री सलहेस युवा समाज सेवा नेपालका संयोजक सोभितकुमार पासवान प्रमुख अतिथि तथा धनुषाको शहीदनगर नगरपालिका–४ का इन्चार्ज रामकिशोर पासवान विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा कलाकार मुकेश पासवानलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा करिब १२० जना बालबालिका तथा उनीहरूका अभिभावकहरूको सहभागिता रहेको थियो। साथै, ठूला अभिभावकहरूको पनि उपस्थिति रहेको थियो। सहभागीमध्ये ५१ जना बालबालिकालाई जनही सातवटा कापी, कलम र पेन्सिल वितरण गरिएको आयोजकले जनाएको छ। बालबालिकालाई शिक्षाप्रति आकर्षित गराउने, नियमित अध्ययनका लागि प्रेरित गर्ने, उनीहरूको शैक्षिक भविष्य निर्माणमा सहयोग पुर्याउने तथा उनीहरूको विद्यालय टिकाउ बनाउने उद्देश्यले सामग्री वितरण गरिएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष राजेश पासवान (निर्माणी) ले समुदायमा विद्यमान सामाजिक विकृति तथा विसङ्गतिबारे प्रोजेक्टरमार्फत उदाहरणसहित जानकारी गराउँदै बालबालिका र अभिभावकलाई सचेत गराएका थिए। उनले बालबालिकालाई शिक्षाप्रति रुचि बढाउन, नियमित अध्ययन गर्न र आफ्नो भविष्य निर्माणमा विशेष ध्यान दिन आग्रह गरे।
उनले बालबालिका पढ्ने समयमा अनावश्यक खेलकुद, तास तथा गलत सङ्गतमा अल्झिने र कुलत तथा लागुऔषध सेवनको जोखिममा पर्न सक्ने उल्लेख गर्दै अभिभावकलाई आफ्ना छोराछोरीको गतिविधिमा निगरानी राख्न आग्रह गरे। बालबालिकालाई समयमै सम्झाउने, पढाइप्रति रुचि जगाउने र असल संस्कार सिकाउने जिम्मेवारी परिवार तथा समाज दुवैको भएको उनको भनाइ थियो।
‘आजका बालबालिका भोलिका हाम्रा कर्णधार हुन्। उनीहरूको भविष्य उज्ज्वल बनाउन शिक्षा पहिलो प्राथमिकतामा पर्नुपर्छ। त्यसैले अभिभावक, समाज र सरोकारवाला सबैले बालबालिकाको शिक्षामा ध्यान दिन आवश्यक छ,’ उनले भने।
अध्यक्ष पासवानले वैदेशिक रोजगारीमा रहेर पसिना बगाउँदै आर्जन गरेको रकमबाट केही हिस्सा समाजसेवामा खर्च गर्दै बालबालिकाका लागि कापी, कलम र पेन्सिल उपलब्ध गराउने जय श्री सलहेस युवा समाज, मलेसिया शाखाप्रति आभार व्यक्त गरे। विदेशमा रहेर पनि आफ्नो समुदायको शैक्षिक विकास र सामाजिक उत्थानमा योगदान पुर्याउनु सराहनीय कार्य भएको उनले बताए।
त्यसैगरी, कार्यक्रममा बोल्दै जय श्री सलहेस युवा समाज सेवा नेपालका संयोजक सोभितकुमार पासवानले नेपालका विभिन्न स्थानमा छरिएर रहेका पासवान समुदायका व्यक्तिलाई एकताबद्ध गर्ने, आपसी सहयोग र सहकार्य बढाउने तथा समुदायमा आइपर्ने आपत्–विपत्का बेला आर्थिक सहयोग, शैक्षिक सामग्री र राहत सामग्री उपलब्ध गराउँदै आएको जानकारी दिए।
उनले शिक्षा, सामाजिक उत्थान, आर्थिक विकास, छुवाछूतमुक्त समाज निर्माण र समान हकअधिकारका लागि संगठित प्रयास गर्नुका साथै दलित तथा पासवान समुदायको राजनीतिक प्रतिनिधित्व बढाउनु पनि संस्थाको उद्देश्य रहेको बताए। समुदायका सदस्यलाई हकअधिकारबारे सचेत बनाउने, नेतृत्व विकासमा प्रोत्साहित गर्ने तथा सामाजिक र राजनीतिक क्षेत्रमा सहभागिता बढाउन आवश्यक रहेको उनको भनाइ थियो।
संयोजक पासवानले कार्यक्रममा सहभागी हुन नसकेका अन्य बालबालिकालाई आगामी दिनमा शैक्षिक सामग्री वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले बालबालिकाका लागि ब्याग वितरण गर्नुका साथै वृन्दावन नगरपालिका–८ स्थित बहुअरीको दलित बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममार्फत बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नुका साथै शिक्षाको महत्त्व, सामाजिक विकृति न्यूनीकरण, अभिभावकको जिम्मेवारी, सामुदायिक एकता र समुदायको समग्र विकासबारे सचेतनामूलक सन्देश प्रवाह गरिएको थियो। साथै, शुभकामना आदानप्रदान गर्दै सहभागीहरूले आपसी सद्भाव, एकता र सामाजिक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोलले पराजित गरेको छ । बेटिसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै लिगमा लगातार नवौँ जित निकालेको हो ।
बार्सिलोनाका लागि लामिन यामलले १०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । रियल बेटिसका भालेन्टिन गोमेजले २७औँ मिनेटमा बराबरी गोल गरे पनि रोड्रीले ४१औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।
दोस्रो हाफमा गाब्रिएल जेससले ५१औँ मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता बढाए । त्यसको दुई मिनेटपछि एज अब्देले गोल गर्दै बेटिसलाई खेलमा फर्काउने प्रयास गरे ।
खेलको ६२औँ मिनेटमा एरिक गार्सियाले गोल गरेपछि बार्सिलोनाले ४–२ को अग्रता बनायो । डानी ओल्मोले ८१औँ मिनेटमा अर्को गोल थपेपछि बार्सिलोनाले ५–२ को प्रभावशाली जित सुनिश्चित गर्यो ।
दोस्रो हाफको ५४औँ मिनेटमा बार्सिलोनाका यामलमाथि टाउकोले प्रहार गरेको घटनामा रियल बेटिसका फाकुन्डो बर्नालले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो ।
यस जितसँगै बार्सिलोनाले लिगका अपराजित रहदै ९ खेलमा २७ अङ्क जोडेको छ । रियल बेटिस भने १९ अङ्कसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् ।
बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।
आजको दिन शास्त्रसम्मतरूपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविदहरु बताउछन् ।
सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशु बलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशु बलि पनि शास्त्रीय भएको धर्मशास्त्रीहरुको भनाई छ ।
ब्राह्मणका लागि भने पशु बलि वर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशु बलिको महत्व रहेको धर्मशास्त्रविद्हरुको भनाइ छ । दुर्गा सप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशु बलिलाई अशास्त्रीय भन्न नमिल्ने बताइएको छ ।
राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशु बलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ । यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ । यसै कारण आजको दिन विधिपूर्वक पशु बलि दिइने गरिएको हो ।
आजैका दिन राति कालरात्रिका रूपमा पशु बलिको विधि र पूजाआराधनासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।
आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बङ्गलामुखीलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानदेखि भीड लाग्ने गर्छ ।
यसैगरी उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्दछ ।
आजको दिन कलपुर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।
देवीका शस्त्रअस्त्रसहित चतुरङ्गीणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशु बलि नचढाउनेहरुले भने आज पूजा कोठामा आ–आफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल संवाददाता,रौतहट, असोज ३० गते ।
रौतहटको कटहरिया नगरपालिकामा मन्त्रालयबाट नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका उपसचिव कमल ज्ञवालीको कार्यशैलीलाई लिएर विवाद उत्पन्न भएको छ। नगरपालिकामा हाजिर नै नभई कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख मानदेव ठाकुरसँगको समन्वयमा पालिकाको खाता सञ्चालन गरी उनी फर्किएको आरोप लागेको छ।
नगरपालिकामा यसअघि देखि नै विभिन्न समस्या रहँदै आएका बेला नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा आएका ज्ञवालीले समस्याको समाधान गर्न पहल नगरेको भन्दै नगरप्रमुख अजयप्रकाश जयसवालले असन्तुष्टि व्यक्त गरेका छन्।
बडादशैँको समयमा तलबभत्ता नपाएको भन्दै नगरपालिकामा कार्यरत करारका कर्मचारीहरूले ज्ञवाली आउनुअघि नै कार्यालयमा तालाबन्दी गरेका थिए। कर्मचारीको तलबभत्ता भुक्तानी, सेवाग्राहीको सामाजिक सुरक्षा भत्ता वितरण तथा अत्यावश्यक सेवाको सञ्चालनजस्ता विषयमा समस्या कायम रहेकै अवस्थामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको कार्यशैलीले थप अन्योल सिर्जना गरेको नगरप्रमुख जयसवालको भनाइ छ।
त्यस्तै, कटहरिया नगरपालिका–५ मा सञ्चालित खानेपानी आयोजनाको विद्युत् महसुल भुक्तानी हुन नसक्दा नेपाल विद्युत् प्राधिकरणको मौलापुर वितरण केन्द्रले विद्युत् लाइन काटेको छ। यसका साथै केही लाभग्राहीले अझै सामाजिक सुरक्षा भत्ता पाउन नसकेको बताइएको छ।
चाडपर्वको समयमा कर्मचारीले तलबभत्ता नपाउनु, सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ हुनु र खानेपानीजस्तो अत्यावश्यक सेवा प्रभावित हुनु गम्भीर विषय भएको नगरप्रमुख जयसवालले बताएका छन्। उनका अनुसार, यस्ता समस्या समाधान गर्नुको सट्टा पालिकालाई थप अस्तव्यस्त बनाइएको छ।
नगरपालिकामा हाजिरसमेत नभई खाता सञ्चालन गरिएको र कार्यालयको जिम्मेवारी सम्हालेर समस्याको समाधान गर्नुपर्ने अवस्थामा सम्बन्धित अधिकारी फर्किएको विषयलाई लिएर कर्मचारी तथा जनप्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
खाता सञ्चालनबारे कोष तथा लेखा नियन्त्रक कार्यालयको स्पष्टीकरण
यस विषयमा कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख मानदेव ठाकुरसँग प्रतिक्रिया लिँदा उनले प्रमुख प्रशासकीय अधिकृत हाजिर भए वा नभएको जानकारी आफूलाई नभएको बताएका छन्। मन्त्रालयको सरुवा पत्रका आधारमा नगरपालिकाको खाता सञ्चालन गरिएको उनको भनाइ छ।
यद्यपि, प्रमुख प्रशासकीय अधिकृतको हाजिरीको अवस्था, खाता सञ्चालनका लागि अपनाइएको प्रक्रिया तथा यसमा सम्बन्धित निकायहरूको भूमिकाबारे थप स्पष्टता आवश्यक देखिएको छ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीको मोबाइल फोन स्विच अफ रहेकाले उनको भनाइ प्राप्त हुन सकेन। उनको प्रतिक्रिया प्राप्त भएमा समाचारमा समेटिनेछ।
नगरपालिकामा देखिएका समस्या समाधान गर्नुपर्ने जिम्मेवारी बोकेका अधिकारीहरूबीच समन्वयको अभाव हुँदा त्यसको प्रत्यक्ष असर कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारण सेवाग्राहीमा परेको नगरप्रमुख जयसवालको भनाइ छ। अब सम्बन्धित निकायले खाता सञ्चालनको प्रक्रिया, कर्मचारीको तलबभत्ता, सामाजिक सुरक्षा भत्ता तथा खानेपानी सेवासम्बन्धी समस्याबारे स्पष्ट पार्दै आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।
बज्जिकाञ्चल संवाददाता,रौतहट, असोज ३० गते ।
दशैंजस्तो महान् चाडपर्वका बेला कटहरिया नगरपालिकाका वडा नं. ४ र ५ का सर्वसाधारणलाई खानेपानीको समस्या हुन नदिन नगरप्रमुख अजय प्रकाश जयसवालको पहलमा विद्युत् लाइन सुचारु गराउन आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
कटहरिया नगरपालिका अन्तर्गतका वडा नं. ४ र ५ मा खानेपानी सञ्चालनका लागि प्रयोग हुँदै आएको विद्युत् लाइन काटिएपछि स्थानीय बासिन्दालाई चाडपर्वको समयमा खानेपानीको समस्या भएको अवस्थालाई मध्यनजर गर्दै नगरप्रमुखले यसको समाधानका लागि पहल गरेका हुन् ।

नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले असोज २९ गते नेपाल विद्युत् प्राधिकरण, मौलापुर वितरण केन्द्रलाई पत्राचार गर्दै खानेपानीको विद्युत् लाइन तत्काल सुचारु गरिदिन आग्रह गरेको थियो । साथै, विद्युतको बाँकी बक्यौता रकमको यकिन विवरण उपलब्ध गराउनसमेत अनुरोध गरिएको छ ।
नगरपालिकाको अनुरोधपछि जिल्ला प्रशासन कार्यालय, रौतहटले पनि खानेपानीको विद्युत् लाइन दशैं अवधिभर सुचारु गराउन नेपाल विद्युत् प्राधिकरणलाई पत्र पठाएको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलद्वारा जारी पत्रमा नगरपालिकाले बाँकी बक्यौता रकम भुक्तानी गर्न प्रतिबद्धता जनाएको उल्लेख गर्दै दशैं अवधिभरका लागि विद्युत् सेवा सुचारु गराउन आवश्यक सहयोग गर्न आग्रह गरिएको छ ।

चाडपर्वको समयमा सर्वसाधारणलाई स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित हुन नदिन नगरप्रमुखले देखाएको सक्रियताले स्थानीयको आधारभूत आवश्यकतालाई प्राथमिकता दिएको सन्देश दिएको छ । विद्युत् लाइन काटिँदा खानेपानी आपूर्तिमा पर्न सक्ने असरलाई समयमै सम्बोधन गर्न नगरपालिका र जिल्ला प्रशासनबीच समन्वयसमेत भएको छ ।
नगरपालिकाले विद्युत् प्राधिकरणसँग बक्यौताको विवरण माग गर्दै भुक्तानीको प्रतिबद्धता जनाएको र जिल्ला प्रशासन कार्यालयले समेत सहजीकरणका लागि पहल गरेपछि खानेपानी सेवा पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ ।
नगरप्रमुखको पहलमा अघि बढाइएको यस प्रयासले दशैंको समयमा वडा नं. ४ र ५ का बासिन्दालाई खानेपानीको समस्या हुन नदिन स्थानीय सरकारको जिम्मेवारीबोध र जनताप्रतिको संवेदनशीलता झल्काएको छ।
बज्जिकाञ्चल संवाददाता,रौतहट,३० गते असाेज ।
रौतहटको कटहरियामा बडादसैँ तथा दुर्गा पूजा मेलाको अवसरमा आयोजित बेलन्यौतन कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजनहरूलाई निःशुल्क निम्बु पानी वितरण गरिएको छ ।

कटहरिया स्थित निराला जेनरल स्टोरका सञ्चालक महाशक्ति निराला र सिंगापुर बेभरेज नेपालको संयुक्त सहकार्यमा सो सेवा उपलब्ध गराइएको हो । दुर्गा पूजा मेलाको अवसरमा बेलन्यौतन पूजाका लागि उपस्थित भएका ठूलो संख्याका श्रद्धालु भक्तजनहरूलाई शीतलता प्रदान गर्ने उद्देश्यले सिंगापुर बेभरेज नेपालबाट उत्पादित निम्बु पानी वितरण गरिएको सञ्चालक निरालाले जानकारी दिनुभयो ।
मेलामा सहभागी हजारौँ भक्तजनहरूले निम्बु पानी ग्रहण गर्दै आयोजक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन् । धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै सामाजिक सेवाको भावले यस्ता कार्यक्रमहरू आयोजना गरिएको सञ्चालक निरालाले बताउनुभयो ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,३० गते असाेज ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–१ स्थित बैरगनियाँ चोक दुर्गा पूजाको अवसरमा आकर्षक बत्तीहरूले झिलिमिली बनेको छ । स्थानीय युवाहरूको सक्रियतामा चोकलाई विभिन्न रंगका मनमोहक बत्तीहरूले सजाइएको हो ।
दुर्गा पूजालाई विशेष र आकर्षक बनाउन युवाहरूले देखाएको सक्रियताले बैरगनियाँ चोकको सौन्दर्य थप बढाएको छ । बत्तीको आकर्षक सजावटले चोकको वातावरण रमणीय बनेको छ भने यसले पर्वको उत्साह र रौनकसमेत बढाएको छ ।
धार्मिक तथा सांस्कृतिक पर्वका अवसरमा स्थानीय युवाहरूले देखाएको सहभागिता र सक्रियताले सामुदायिक एकता, सहकार्य र सामाजिक सद्भावको सन्देश दिएको छ ।
दुर्गा पूजाको अवसरमा बैरगनियाँ चोकलाई झिलिमिली बनाइएको जानकारी पत्रकार रूपेश यादवले दिनुभएको छ
काठमाडौं । दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाईदुबईको विमान अपहरण गरी दुर्घटनाग्रस्त गराउने कथित षड्यन्त्रको अनुसन्धानका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) प्रहरीले माल्दिभ्सका दुई सहचालकलाई पक्राउ गरेको छ ।
माल्दिभ्सको समाचार पोर्टल अधाधूका अनुसार उनीहरूलाई अक्टोबर ३ मा हिरासतमा लिइएको हो । यसअघि सेप्टेम्बर ३० मा भएको घटनामा ओमानका सहचालक हम्माम अल–हम्मामीले भारतीय विमान चालक स्मित मच्छारमाथि धारिलो हतियारले आक्रमण गरी विमान नियन्त्रणमा लिन खोजेको आरोप छ ।
विमानमा यात्रु र चालक दलका गरी १७४ जना सवार थिए । आक्रमणमा घाइते भएका मच्छारले प्रतिकार गरेपछि चालक दल र यात्रुहरूले आरोपितलाई नियन्त्रणमा लिएका थिए । त्यसपछि विमानलाई साउदी अरबको तबुक विमानस्थलमा आपत्कालीन अवतरण गराइएको थियो ।
यूएईका अधिकारीहरूले घटनालाई सम्भावित आतंकवादी आक्रमणको प्रयासका रूपमा अनुसन्धान गरिरहेका छन् । पक्राउ परेका दुई माल्दिभियन पाइलटको घटनामा संलग्नता र उनीहरूमाथिका आरोपबारे भने आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।
यस घटनाको व्यापक षड्यन्त्रबारे अनुसन्धान गर्न भारतको राष्ट्रिय अनुसन्धान निकायले पनि मुद्दा दर्ता गरेको छ । आक्रमणमा घाइते भएका मच्छारको अबुधाबीस्थित अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्यमा सुधार आएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खुलातर्फ महामन्त्री पदमा विजयी उदयशमशेर राणाले आफूलाई मत दिएर निर्वाचित गराउने महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन् ।
राणाले आफूलाई विश्वास गरेर सुम्पिएको जिम्मेवारी पार्टी रूपान्तरण, सङ्गठन सुदृढीकरण र देशको समृद्धिका लागि इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफ्नो विजयलाई व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाली कांग्रेसलाई समयानुकूल, जनउत्तरदायी र सुदृढ बनाउने साझा सङ्कल्पका रूपमा व्याख्या गरेका छन् । लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी सबै साथीप्रति सम्मान व्यक्त गर्दै उनले उनीहरूको विचार, योगदान र अनुभवलाई पार्टीको साझा यात्राको महत्त्वपूर्ण पुँजीका रूपमा लिएको बताएका छन् ।
‘नेपाली कांग्रेसको सुन्दरता नै यही हो, प्रतिस्पर्धामा अनेक विचार भए पनि पार्टी र राष्ट्रको भविष्य निर्माणमा साझा प्रतिबद्धता हुन्छ,’ राणाले भनेका छन् । उनले सबै मिलेर कांग्रेसलाई अझ सुदृढ बनाउँदै समुन्नत नेपाल निर्माणको यात्रामा अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापालाई दुर्व्यवहार गरेको आरोपमा पाँच विद्यार्थी नेता पक्राउ परेका छन् भने तत्काल रिहा गर्न विद्यार्थी संगठनले माग गरेका छन् ।
त्रिवि उपकुलपति भोला थापालाई दुर्व्यवहार गरेको आरोपमा उपकुलपतिको कार्यालय परिसरबाट आरआर क्याम्पसका स्ववियु सभापति लोकेश खड्का, विश्वविद्यालय क्याम्पसका स्ववियु सचिव हिक्मत बुढा, स्ववियु सदस्य कुलबहादुर बुढा, स्ववियु सदस्य तेजप्रकाश सञ्जेल र विद्यार्थी रमन उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई बिना कारण पक्राउ गरिएको भन्दै विद्यार्थी संगठनले विरोध जनाएका छन् । शुक्रबार साँझ ११ वटा विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गरी तत्काल रिहा गर्न माग गरेका छन् । पाँचै विद्यार्थीलाई बिनासर्त रिहा नगरे आन्दोलनमा उत्रिने विद्यार्थी संगठनले जनाएका छन् ।
रिहाको माग गर्ने ११ वटा विद्यार्थी संगठनमा नेविसंघकी अध्यक्ष करुणा कटुवाल, अनेरास्ववियुका अध्यक्ष दिपक धामी, अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश शर्मा सापकोटा, अनेरास्ववियुका अध्यक्ष महेश श्रेष्ठ, अखिल समाजवादीका अध्यक्ष नरेन्द्र सी, अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र शाह, अखिल छैठौका अध्यक्ष सुबास जिसी, अखिल (क्रान्तिकारी) का अध्यक्ष महेश श्रेष्ठ, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका अध्यक्ष ह्याल तामाङ, विद्यार्थी सरोकार नेपालकी अध्यक्ष सुनिता बुढाथोकी र विद्यार्थी जनमत संघका अध्यक्ष पोषण कुमार यादव रहेका छन् । एभरेष्ट न्यूज एजेन्सी,