२०८३ कार्तिक ४
२०८३ कार्तिक ४

पोखरा । पोखरा बसपार्क क्षेत्रको संरचना व्यवस्थापन र सुकुम्वासी बस्तीको तथ्याङ्क प्रमाणीकरणको काम तीव्र पारिएको छ । सम्बन्धित निकायले भ्रमपूर्ण सूचना र भड्काउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ ।

पोखरा बसपार्कभित्र रहेको पेट्रोल पम्पको मेसिन सुरक्षित रूपमा छोपिने तथा भूमिगत इन्धन भण्डारण ट्याङ्की रहेको क्षेत्रको विशेष सुरक्षा गरिने जनाइएको छ । त्यसबाहेकका अन्य संरचना भने हटाइनेछन् ।

सेती नदीतर्फ रहेको बास्तोला कम्प्लेक्ससहित बाँकी संरचना शनिबार हटाउने कार्य सुरु गरिने र संरचना हटाइसकेपछि त्यहाँ रहेका निर्माण सामग्री व्यवस्थापन गरी क्षेत्र पूर्ण रूपमा सफा गरिने बताइएको छ ।

यता, सुकुम्वासी बस्ती व्यवस्थापनअन्तर्गत ५७२ परिवारमध्ये ३३७ परिवारको कागजात प्रमाणीकरण सम्पन्न भएको छ । गलत वा झुट्टा विवरण पेस गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिदै सुकुम्वासी बस्तीको व्यवस्थापन नगरी हटाउने काम नगरिने स्पष्ट पारेको छ । साथै, लालपुर्जा भएका जग्गाधनीहरूको छानबिन कार्य पनि तीव्र गतिमा अघि बढाइएको जनाएको छ ।

महानगरले अनधिकृत सूचना प्रवाह तथा राजनीतिक उद्देश्यले गरिने गतिविधिमाथि निगरानी बढाइने बताएको छ । गैर-सुकुम्वासी व्यक्तिहरूलाई सुकुम्वासी नेताका रूपमा प्रस्तुत नहुन पनि आग्रह गरिएको छ । विवरण प्रमाणीकरण प्रक्रिया पूरा भएपछि सुकुम्वासी बस्तीलाई व्यवस्थित रूपमा स्थानान्तरण गरिने जनाइएको छ ।एभरेष्ट न्यूज एजेन्सी

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक क्षेत्रमा भत्काउन बाँकी रहेका घर तथा भवनमा आगामी आइतबारदेखि पुनः डोजर चलाइने भएको छ ।

सडक विभागअन्तर्गत सडक डिभिजन हेटौँडाले त्रिभुवन राजपथको मितेरी पुलदेखि गण्डक चोकसम्म सडकको केन्द्ररेखाबाट दायाँ-बायाँ २५-२५ मिटर सडक सीमाभित्र रहेका बाँकी संरचना हटाउने तयारी गरेको हो ।

यसअघि वैशाख ६ र ७ गते पहिलो चरणमा करिब एक हजार दुई सय घर तथा भवनमा आंशिक रूपमा डोजर चलाइएको थियो। त्यसपछि केही घरधनीले आफैं संरचना हटाए पनि घण्टाघर, माइस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मका अधिकांश घर तथा भवन अझै खाली नगरिएको जनाइएको छ ।

सडक विभागले यसअघि सूचना जारी गर्दै सम्बन्धित घरधनीलाई निश्चित समयभित्र आफैं संरचना हटाउन आग्रह गरेको थियो । तर तोकिएको अवधि बितिसक्दा पनि संरचना नहटाइएकाले अब विभाग आफैंले डोजर प्रयोग गरेर बाँकी संरचना हटाउने निर्णय गरेको हो ।

यसका लागि सडक डिभिजन हेटौँडाले वीरगञ्ज महानगरपालिकालाई पत्राचार गर्दै आवश्यक जनशक्ति, सुरक्षा तथा समन्वयमा सहयोग गर्न अनुरोध गरेको छ । सडक विभागले सडक ऐन, २०३१ अनुसार सडक सीमा संरक्षण अभियानअन्तर्गत यो कार्य अघि बढाउन लागेको जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

शुक्रबार बिहान करिब ४ बजे विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरेपछि उनी नजिकै रहेको मनोज सहनीको घरमा चोरी गर्न प्रवेश गरेका थिए । सोही क्रममा घरधनीकी श्रीमतीले देखेपछि हल्ला गरेपछि घटना बाहिर आएको हो ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–६ का १८ वर्षीय जुमुन मियाँ रहेका छन् । प्रहरीका अनुसार उनको साथबाट मधेश प्रदेश ०४–००१ च ०३६७ नम्बरको पिकअप गाडी बरामद गरिएको छ । प्रारम्भिक अनुसन्धानमा उक्त गाडी २०८३ जेठ १९ गते इलाका प्रहरी कार्यालय हरिवन क्षेत्रबाट हराएको गाडी भएको खुलेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार सडक ढलान योजनाको काम सम्पन्न भएपछि भुक्तानी प्रक्रिया अगाडि बढाउने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीलाई दुःख हैरानी दिँदै यादवले ७२ हजार रुपैयाँ घुस मागेका थिए । उजुरीका आधारमा बर्दिबासस्थित अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट ७२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानबाट सडक ढलान योजना सम्झौताअनुसार सम्पन्न भइसकेपछि पनि भुक्तानी रोक्दै घुस मागी रकम लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार ७२ हजार रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना र कानुनबमोजिम कैद सजायको माग गर्दै शुक्रबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

अशोक यादव,रौतहट, जेठ २५ ।

रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित समनपुर–गरुडा सडकखण्डमा सवारी साधनको ठक्करबाट ज्यान गुमाएका प्रमोद सहनीलाई न्यायको माग गर्दै सोमबार स्थानीयवासी तथा आफन्तहरूले प्रदर्शन गरेका छन् ।

गरुडा नगरपालिका–९ मलाहीटोल निवासी ४३ वर्षीय प्रमोद सहनीको आइतबार बिहान अज्ञात सवारी साधनको ठक्करबाट मृत्यु भएको थियो ।

घटनापछि दोषी सवारी चालकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन्।

सोमबार दिउँसो प्रदर्शनकारीहरूले गौर–चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा मेथुर चोकमा शव राखेर सडक अवरुद्ध गरेका थिए । प्रदर्शनका कारण केही समय उक्त सडकखण्डमा यातायात सेवा प्रभावित बनेको थियो।

प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार मृतक सहनीको शव गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित सडकमा साइकलसहित फेला परेको थियो ।

उनको बाँया खुट्टा साइकलको ह्यान्डलमा अड्किएको अवस्थामा रहेको तथा टाउकोमा गम्भीर चोट देखिएको प्रहरीले जनाएको छ । प्रहरीले अज्ञात सवारी साधनले ठक्कर दिएको प्रारम्भिक अनुमान गर्दै घटनामा संलग्न सवारी साधन र चालकको खोजी कार्य जारी रहेको जनाएको छ ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको थियो । स्थानीयवासीहरूले पीडित परिवारलाई न्याय नदिइए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

यता प्रहरीले घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र दोषीको पहिचान तथा पक्राउका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ ।

आरके श्रीवास्तव, रौतहट, जेठ २५ ।

रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–८ स्थित श्री आधारभूत विद्यालय बुनियादमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ ।

सोमबार आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुक्तिनारायण चौधरीले आर्थिक वर्ष २०८२÷०८३ अन्तर्गत प्राप्त छात्रवृत्ति रकमबाट विद्यालयमा अध्ययनरत सम्पूर्ण छात्र–छात्रालाई प्रतिविद्यार्थी ४ सय रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको जानकारी दिनुभयो ।

प्रधानाध्यापक चौधरीले छात्रवृत्तिले विद्यार्थीहरूमा पठनपाठनप्रति थप उत्साह र जिम्मेवारीको भावना विकास हुने विश्वास व्यक्त गर्दै विद्यालयले आगामी दिनमा पनि विद्यार्थी केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

उहाँले छात्रवृत्ति वितरण कार्य पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गरिएको समेत जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष नितेश चौधरीले शिक्षा क्षेत्रको विकास स्थानीय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

उहाँले छात्रवृत्तिले विद्यार्थीहरूलाई नियमित रूपमा विद्यालय आउन तथा अध्ययनमा रुचि बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि वडा कार्यालयको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू, स्थानीय अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

छात्रवृत्ति वितरण कार्य पारदर्शी र व्यवस्थित ढंगले सम्पन्न भएको भन्दै उपस्थित अभिभावकहरूले विद्यालय व्यवस्थापनप्रति धन्यवाद व्यक्त गरेका छन् । विद्यालयले आगामी दिनमा पनि विद्यार्थीहितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद आज मुस्लिम समुदायले मनाउदैछन् ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

यस अवसरमा जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको बताइन्छ । ऐतिहासिक बकर ईद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताइन्छ ।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिन्छन् ।

धार्मिक मान्यताअनुसार अल्लाहका नवी(दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्न पर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ ।

उनले धेरै जनावर कुर्बानी गरे तर अल्लााह खुशी भएका थिएनन् । अन्तिममा  आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान(बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा बाँडी  वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

मकवानपुर । आफ्नै श्रीमती ४२ वर्षीया ओम कुमारी भुजेलको हत्या गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल तरकारी मण्डी डेरा गरी बस्ने मनहरी गाउँपालिका-३ घर भएका ४५ वर्षीय रामलाल ब्लोनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रामलाले कुटपिट गर्दा ओम कुमारी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी ओम कुमारीको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,

जनकपुरधाम । मधेश प्रदेश सरकार विस्तारमा सत्ता गठबन्धन दलहरुमा विवाद भएको छ ।

मन्त्रालय भागबण्डामा विवाद भएपछि सोमबार गरिने भनेको सरकार स्थगित भएको छ । सोमबार नेकपा एमालेका शारदा थापा, मनोज सिंह र लखन लाल दासले शपथ लिने तयार गरेको अवस्थामा सत्ता साझेदार दल नेकपाले असन्तुष्टि जनाएपछि सरकार विस्तार रोकिएको हो ।

नेकपाले अर्थ मन्त्रालयसहित चार मन्त्रालयको अडान राखेको बताइएको छ भने भागबण्डामा नेकपालाई अर्थसहित तीन मन्त्रालय दिने सहमति भएको बताइएको थियो । त्यस्तै एमालेले चार मन्त्रालय र कांग्रेसलाई मुख्यमन्त्रीसहित चार मन्त्रालयको सहमति भएको थियो ।

मधेशमा यसअघि सत्ता साझेदार रहेका जनमत र जसपा नेपाललाई बाहिर राख्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवले गत सोमबार नेकपा एमाले र नेकपाको समर्थनमा विश्वासको मत लिएका थिए ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।