२०८३ कार्तिक २
२०८३ कार्तिक २

काठमाडौँ  । बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।

नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेर अघि मात्रै उक्त टनेलबाट उहाँलाई उद्धार गरेको हो । उनलाई उद्धार गरेर नुवाकोटको त्रिसुलीस्थित मैथिल ब्यारेकमा ल्याइँदैछ । उनलाई भोटेकोशी बाढीपछि ११औं दिनमा उद्धार गरिएको हो ।

पोखरा । कास्कीको पोखरा महानगरपालिका–१८ गैरीचौतारास्थित फेवातालमा खसेको भारतीय नम्बरको कारबाट दुई जनाको सकुशल उद्धार गरिएको छ भने दुई जनाको मृत्यु भएको छ ।

पोखराको लेकसाईडतर्फ आउँदै गरेको बीआर ०५ बीबी ६७५९ नम्बरको कार गति अनियन्त्रित भई सो तालमा खसेको थियो ।

सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमाण्डमा गोताखोरसहितको टोली खटिएको थियो ।

उक्त कारमा सवार भारत घर बताउने २७ वर्षिय अनमोल कुमार यादव र ३३ वर्षिय सुरज यादवलाई नेपाल प्रहरी र स्थानीय वासिन्दाले उद्वार गरी उपचारको लागि पोखरास्थित जिएमसी अस्पताल लगिएको छ । उनीहरुको अवस्था भने मध्यम रहेको छ ।

त्यस्तै, सो कारमा सवार भारत घर भएका २६ वर्षिय नवदीप कुमार यादव र २६ वर्षिय प्रियान्सु पाण्डेलाई सशस्त्र प्रहरीको गोताखोरले उक्त तालबाट अचेत अवस्थामा बाहिर निकालेको थियो । सो पश्चात उनीहरुलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा बिहान करीव ६ बजेर २० मिनेटको समयमा मृत्यु घोषणा गरिएको हो । सो तालमा खसेको कारलाई समेत क्रेनको माध्यमबाट बाहिर निकालिएको छ ।एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई तत्काल २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

संगठनका अनुसार राष्ट्रसेवकका तर्फबाट १५ लाख, राहतसम्बन्धी कार्यविधिअनुसार ५ लाख र सशस्त्र प्रहरी बल नेपाल विपद् प्रकोप राहत कोषको मापदण्डअनुसार थप ५ लाख गरी कुल २५ लाख रुपैयाँ उपलब्ध गराइनेछ ।

त्यस्तै, मृतक कर्मचारीले कल्याण कोषबाट लिएको र भुक्तानी गर्न बाँकी सम्पूर्ण ऋण मिनाहा गर्ने तथा उनका सन्ततिलाई पायक पर्ने नेपाल एपीएफ विद्यालयमा कक्षा १० सम्म अध्ययनका लागि शैक्षिक शुल्क छुट दिने निर्णय गरिएको छ ।

बाढीका कारण मृतक सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका अन्य सदस्यको समेत मृत्यु भएको भए प्रतिव्यक्ति १ लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ । बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीको स्मृतिमा उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने निर्णय पनि गरिएको छ ।

मृतक कर्मचारीका आश्रित परिवारका एक–एक जना सदस्यलाई सीपमूलक तालिम प्रदान गरिनेछ । त्यस्तै, सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका पाँच जना सशस्त्र प्रहरी कर्मचारीलाई जनही ५० हजार रुपैयाँ राहत दिइने भएको छ । बाढीबाट प्रभावित अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा १ लाख, घरबारविहीन भएमा १ लाख तथा आंशिक भौतिक क्षति वा घाइते भएका कर्मचारीलाई ५० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराउने निर्णय गरिएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संगठनका तर्फबाट १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ । कर्मचारीको तलबबाट समेत निश्चित रकम कट्टा गरी राहत कोषमा जम्मा गरिनेछ ।

जसअनुसार सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकले १५ दिनको, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिनको, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकले १० दिनको, जुनियर अधिकृतले ७ दिनको, वरिष्ठ हवलदारदेखि जवानसम्मले ५ दिनको तथा सशस्त्र प्रहरी परिचरले ३ दिनको तलब बराबरको रकम योगदान गर्नेछन् ।

तर, सीमा सुरक्षा चौकी टिमुरे र सुरक्षा आधार मैलुङमा कार्यरत रही सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरी कर्मचारीको हकमा भने तलब कट्टा नगरिने भएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १२६ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, सुदूरपश्चिम र कोशी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ भने लुम्बिनी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १२६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३३ जना घाइते भएका छन् भने कोशीमा १६ जना, काठमाडौँ उपत्यकामा १९ जना, सुदूरपश्चिममा ९ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा ३८ जना, कर्णालीमा ४ जना र गण्डकीमा २ जना घाइते भएका छन् । एभरेष्ट न्यूज एजेन्सी,

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कामा माइक्रोबसको ठक्करबाट १५ वर्षीया बालिकाको मृत्यु भएको छ ।

विहिबार बिहान बाटो काट्ने क्रममा सु.प.प्र.०१–००१ ख ४०८५ नम्बरको माइक्रोबसले ठक्कर दिँदा स्वस्तिका न्यौपाने घाइते भएकी थिइन्। उनको उपचारका क्रममा बिहान ११: ०७ बजे टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले माइक्रोबस चालक प्रताप चौधरीलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको नेपाल प्रहरीको नीति निर्माण समितिको बैठकले प्रहरी नियमावलीअनुसार उपलब्ध हुने सेवा–सुविधाका अतिरिक्त राहतस्वरूप प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋणसमेत मिनाहा गर्ने निर्णय गरेको छ ।

यस्तै, दिवंगत प्रहरी कर्मचारीका परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम तथा रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णय गरिएको छ । दिवंगत प्रहरी कर्मचारीका सन्ततिलाई नेपाल प्रहरी विद्यालयमा शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णयसमेत बैठकले गरेको छ ।

भोटेकोशी बाढीमा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई राहत तथा सामाजिक सुरक्षाका थप व्यवस्था गर्ने उद्देश्यले उक्त निर्णय गरिएको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

लमजुङ । बेंसीसहर नगरपालिका–६ खरखरेभिरमा पहिरो खस्दा बेंसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

अविरल वर्षापछि गएराति पहिरो खसेपछि मनाङ जोड्ने मुख्य सडक बन्द भएको हो । बेंसीसहरदेखि करिब साढे ३ किलोमिटर दूरीमा सडक अवरुद्ध हुँदा मनाङ तथा मर्स्याङ्दी गाउँपालिकातर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन् ।

प्रहरीले लोडर र एक्साभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको जानकारी दिएको छ । सडक खुलाउन समय लाग्न सक्ने भएकाले प्रहरीले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

काठमाडौं । राजधानी प्रवेश गर्ने नागढुंगा–नौबिसे सडक खण्डअन्तर्गत पातले वन क्षेत्रमा सडक भासिएपछि यातायात प्रभावित भएको छ ।

सडक भासिएपछि उक्त खण्डमा एकतर्फी यातायात सञ्चालन गरिएको छ । हाल पेट्रोलियम पदार्थ बोकेका ट्यांकरलाई मात्र उक्त मार्गबाट चल्न दिइएको र अन्य सवारीसाधनलाई सुरुङमार्गबाट पठाउने तयारी भइरहेको सडक विभागले जनाएको छ ।

सडक विभागका अनुसार पुरानो पर्खाल भत्किएका कारण सडक भासिएको हुन सक्ने प्रारम्भिक अनुमान छ । घटनास्थलमा प्राविधिक टोली पुगेर अध्ययन गरिरहेको र अध्ययनपछि क्षतिको कारण तथा मर्मत योजना तय गरिने जनाइएको छ ।

सडकको अवस्था सामान्य नहुँदासम्म यात्रुलाई सुरुङमार्ग प्रयोग गर्न र सावधानी अपनाउन विभागले आग्रह गरेको छ । नागढुंगा–नौबिसे सडकमा हुने अवरोधले राजधानीबाट पश्चिम तथा तराईतर्फ जाने हजारौँ यात्रु र सवारीसाधन प्रभावित हुने गरेका छन् ।

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोमा बेपत्ता भएका नौ कोरियाली नागरिकसहित अन्यको खोजीका लागि दक्षिण कोरियाले विशेष उद्धार टोली नेपाल पठाएको छ ।

४४ सदस्यीय कोरियाली विपद् उद्धार टोली बुधबार काठमाडौं आइपुगेको हो । टोलीमा परराष्ट्र मन्त्रालय, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग र अग्नि उद्धार अधिकारीहरू सहभागी छन् । टोलीले नेपाली अधिकारीसँग सहकार्य गर्दै करिब १० दिन खोज तथा उद्धार अभियान सञ्चालन गर्नेछ । उनीहरु अहिले रसुवा पुगिसकेका छन् ।

टोलीले पाँचवटा उद्धार कुकुरसहित उच्च क्षमताका ड्रोन, भग्नावशेषमा पुरिएका व्यक्तिको आवाज तथा दृश्यबाट पहिचान गर्न सक्ने उपकरण र ताप पहिचान गर्ने उपकरण ल्याएको कोरियन टाइम्सले उल्लेख गरेको छ ।

भदौ १० मा रसुवामा आएको बाढीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माणस्थलबाट नौ कोरियाली नागरिक बेपत्ता भएका थिए । तीमध्ये छ जना दोसान इनर्जीबिलिटी र तीन जना कोरिया दक्षिण-पूर्वी विद्युत् कम्पनीका कर्मचारी रहेका छन् ।

नेपाली सुरक्षाकर्मी तथा कोरियाली उद्धार टोलीले हेलिकोप्टर, ड्रोन, उद्धार कुकुर र अन्य उपकरण प्रयोग गरी रसुवाको धुन्चे क्षेत्रमा खोजी गरिरहेका छन् । कठिन भौगोलिक अवस्था, ठूलो क्षेत्रफल तथा माटो र भग्नावशेषका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको छ ।

दक्षिण कोरियाली अधिकारीहरूले बेपत्ताहरूको मोबाइल फोनको स्थान पहिचान गर्ने विकल्पबारे पनि नेपाली अधिकारीसँग छलफल भइरहेको बताएका छन् । कम्पनीहरूले समेत हवाई खोजी तीव्र बनाएका छन् । पछिल्लो अपडेट अनुसार भोटेकोशी बाढीपछि ११ सय भन्दा बढीको शव फेला परिसकेको छ भने ४ हजार भन्दा बढी अझै सम्पर्कविहिन रहेका छन् ।

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन पोखरा महानगरपालिकाले राहत सामग्री संकलन अभियान सञ्चालन गरिरहेको छ ।

महानगरले बाढीपीडितका लागि आवश्यक लत्ताकपडा, खाद्यान्न, बन्दोबस्तीका सामग्री, औषधि तथा स्वास्थ्य सामग्री र उद्धार सामग्री संकलन गरिरहेको जनाएको छ ।

भदौ १८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रको डोममा राहत सामग्री संकलन केन्द्र सञ्चालनमा रहने भएकाले महानगरले सहयोग गर्न इच्छुक व्यक्ति, संघसंस्था, व्यवसायी, सामाजिक अभियन्ता तथा सम्पूर्ण सहयोगीलाई आफूले उपलब्ध गराउन चाहेको सामग्रीसहित संकलन केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ ।

महानगरपालिकाले स्वतःस्फूर्त रूपमा राहत सामग्री उपलब्ध गराउने सबैलाई धन्यवादसमेत दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी,

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।