काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन् । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेदवारहरूमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन् ।
जसअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा भोला थापा नियुक्त भएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट नियुक्त भएका छन् । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाललाई नियुक्त गरिएको छ ।
त्यसै गरी, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपति पदमा नियुक्त भएका छन् ।
नवनियुक्त उपकुलपतिहरूलाई शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले आज मन्त्रालयमा नियुक्ति पत्र प्रदान गरे ।
खुला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको हो । उपकुलपतिको नाम सिफारिस गर्न शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर उपकुलपति छनौट गरिएको हो ।
‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम पहिलो पटक एकीकृत प्रक्रियामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको थियो ।
सरकारले गत वैशाख २४ गते त्रिभुवन विश्वविद्यालयसहित आठ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको थियो ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । सरकारले पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन बनाएको छ ।
नेपाल आयल निगमले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली संशोधन गरेर पम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना र ५ दिनदेखि १५ दिनसम्म पेट्रोल, डिजेल वितरण रोक्का गर्ने कानुनी व्यवस्था गरिएको हो ।
पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउदा बुधबार बिहानदेखि दिनभर देशभर इन्धन आपूर्ति असहज भएको थियो । अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज गर्ने व्यवसायीलाई कारबाही गर्ने कानुनी आधारसमेत नभेटिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार साँझ नै नयाँ कानुनी व्यवस्था गरेको हो ।
बुधबार साँझ नै निगमको सञ्चालक समिति बैठक बसेर पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, ०७५ को दफा २९ घ (१) मा ‘बिक्रेताले नोजल सुक्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने’ भन्ने वाक्य थपिएको छ ।
उक्त कसुरमा पहिलो पटकलाई ३ लाख जरिवाना र ५ दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का, दोस्रो पटकलाई ६ लाख जरिवाना लिई १० दिन आपूर्ति बन्द र तेस्रो पटक भए १० लाख जरिवाना लिई १५ दिनलाई आपूर्ति बन्द गर्ने व्यवस्था राखिएको छ । यो व्यवस्थाका कारण आउदा दिनमा कुनै पनि पेट्रोलपम्प उचित कारण बिना बन्द गरेको भेट्टिए कारबाही हुने सुनिश्चित भएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । हरेक वर्ष जुलाई ३ मा विश्वभर ‘अन्तर्राष्ट्रिय प्लास्टिक झोला प्रयोगमुक्त दिवस’ मनाइन्छ । वातावरणलाई हानि पुर्याउने एकपटक मात्रै प्रयोग हुने प्लास्टिक झोलाको प्रयोग घटाउने उद्देश्यका साथ यो दिवस मनाउने गरिन्छ ।
यो दिवस ‘जिरो वेस्ट युरोप’ नामक संस्थाको पहलमा सुरु भएको हो । संस्थाले दैनिक जीवनबाट एकपटक प्रयोग गरेर फालिने प्लास्टिकको प्रयोग पूर्ण रूपमा हटाउने अभियान सञ्चालन गर्दै आएको छ ।
संस्थाका अनुसार सन् २०१० मा युरोपेली सङ्घमा प्रयोग भएका करिब ९५ अर्ब ५० करोड प्लास्टिकका झोलामध्ये ९२ प्रतिशत एकपटक मात्रै प्रयोग हुने खालका थिए । यसले वातावरणमा ठूलो असर पारेको भन्दै प्लास्टिकको प्रयोग घटाउन अभियान सुरु गरिएको थियो ।
यो दिवस सन् २००८ मा ‘रेजिरो’ नामक संस्थाले पहिलो पटक सुरु गरेको थियो । सुरुमा यो अभियान स्पेनको क्याटालोनिया क्षेत्रमा मात्र मनाइएको थियो । त्यसको एक वर्षपछि ‘जिरो वेस्ट युरोप’ ले यसलाई युरोपेली सङ्घभर विस्तार गर्दै अन्तर्राष्ट्रिय अभियानका रूपमा अघि बढाएको थियो । त्यसपछि विभिन्न देशहरूले एकपटक प्रयोग हुने प्लास्टिकको प्रयोग घटाउने नीति तथा कार्यक्रम लागू गर्न थाले ।
युरोपेली सङ्घले सन् २०१५ मा प्लास्टिक झोलासम्बन्धी निर्देशिका लागू गरेको थियो । यसको लक्ष्य सन् २०१८ सम्म प्रतिव्यक्ति वार्षिक प्लास्टिक झोलाको प्रयोग ९० वटामा सीमित गर्ने र सन् २०२५ सम्म त्यसलाई घटाएर ४० वटामा पुर्याउने रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज राष्ट्रिय सभाको बैठक दिउसो १: १५ बजेदेखि शुरु हुदैछ ।
आज राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले आर्थिक विधेयक २०८३ र राष्ट्र ऋण उठाउने विधयक २०८३ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरु सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।त्यस्तै आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको कार्यसूची रहेको छ ।
आजको बैठकमा विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमध्ये विभिन्न मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि समूहीकृत रुपमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, गृह मन्त्रालय, उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय , राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आतोगको कार्यालयको विनियोजन शिर्षकमा छलफल हुदैछ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरुलाई डिजिटल प्लेटफर्म बारे अभिमुखीकरण कार्यक्रम आज गर्ने भएको छ ।
रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार रास्वपालाई डिजिटल बनाउँदै लैजाने प्रकृयाअन्तर्गत निर्माण भएको प्लसआरएसपी नामक सिस्टमबारे प्रतिनिधि सभा सदस्यहरुलाई जानकारी दिने र साइबर सुरक्षासम्बन्धी सचेतना समेत दिनेगरी सभापति रवि लामिछानेको उपस्थितिमा आज संसदीय दलको कार्यालय सिंहदरवारमा अभिमुखीकरण कार्यक्रम हुने भएको हो ।
बैठकलगत्तै हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य सिस्टममा अपडेट गराउनुपर्ने, एकअर्कासँग भेटघाटका लागि अनलाइनबाटै समय माग गर्न सकिने, संसदमा बोल्ने विषयवस्तु समेत सोही सिस्टममा अपडेट हुनुपर्ने, निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाटजस्ता कार्यक्रमको जानकारी समते सोही पोर्टलमा गराउनुपर्ने, नागरिकले सम्बन्धित निर्वाचन क्षेत्रका सांसदसँग त्यही माध्यमबाट गुनासा राख्न सक्ने र त्यसको ट्रयाकिङ हुने र त्यसकै आधारमा सांसदको कार्यसम्पादन मूल्याङ्कन हुने जस्ता फिचरहरु रहेको बुर्लाकोटीले जानकारी दिएका छन् ।
कार्यक्रम आज बिहान साढे १० बजेदेखि शुरु हुने उनले बताएका छन् ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आज बिहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
आज सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत आजको बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । गृह मन्त्रालयले देशभर सञ्चालित होटल तथा रेष्टुरेन्टमा खाद्य गुणस्तर, स्वच्छता, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जवाफदेहितासम्बन्धी विशेष निर्देशन जारी गरेको छ ।
मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गर्दै होटल तथा रेष्टुरेन्टमा उपलब्ध गराइने खानाको गुणस्तर र सरसफाइ कायम गर्न निर्देशन दिएको हो ।
होटल तथा रेष्टुरेन्टमा उपलब्ध गराइने खानाको गुणस्तर र सरसफाइ अत्यन्त कमजोर रहेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासो प्राप्त भएपछि गम्भीर ध्यानाकर्षण भएको जनाउदै नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकारको संरक्षण राज्यको प्राथमिक दायित्व भएकाले सरोकारवाला निकायसँग समन्वय गरी समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
गृहमन्त्रीको निर्देशनअनुसार देशभरका जिल्ला प्रशासन कार्यालयलाई उच्च प्राथमिकताका साथ विभिन्न व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले होटल तथा रेष्टुरेन्टमा उपलब्ध गराइने खानाको गुणस्तर र खाद्य स्वच्छताको नियमित, सघन तथा आकस्मिक अनुगमन गर्न अनुगमनलाई औपचारिकतामा सीमित नराखी परिणाममुखी बनाउन र नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने वा प्रचलित कानुन उल्लङ्घन गर्ने व्यक्ति तथा संस्थामाथि कानुनअनुसार कडा कारबाही गर्न निर्देशन दिएको छ ।
त्यसैगरी, प्रत्येक जिल्ला प्रशासन कार्यालयमा नागरिकका गुनासा सहज रूपमा दर्ता गर्न सकिने हटलाइन वा द्रुत सेवा डेस्क तत्काल स्थापना गर्न र प्राप्त हुने प्रत्येक गुनासोलाई उच्च प्राथमिकतामा राखी तत्काल सुनुवाइ र समाधान गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयले स्थानीयस्तरका समस्या प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयबाटै समाधान गर्नुपर्ने भन्दै सामान्य गुनासोका लागि समेत नागरिकले मन्त्रालय वा केन्द्रसम्म धाउनुपर्ने अवस्था अन्त्य गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।
जिल्लाको कार्यसम्पादन मन्त्रालयले प्रत्यक्ष अनुगमन गर्ने भएकाले कुनै पनि प्रकारको लापरवाही वा उदासीनता स्वीकार्य नहुने चेतावनी पनि दिइएको छ ।
मन्त्रालयले उक्त निर्देशनको पूर्ण कार्यान्वयन गर्न स्थानीय प्रशासनलाई आग्रह गर्दै नागरिक केन्द्रित शासन व्यवस्था, बजारमा विधिको शासन र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्रभावकारी रूपमा सुनिश्चित गर्न पनि निर्देशन दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । लोकप्रिय सन्देश आदानप्रदान मञ्च ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयता थप मजबुत बनाउन नयाँ प्रयोगकर्ता नाम सुविधा सार्वजनिक गर्ने घोषणा गरेको छ । यो सुविधामार्फत अब प्रयोगकर्ताले आफ्नो फोन नम्बर नदिई अरूसँग सम्पर्क गर्न सक्नेछन् ।
कम्पनीका अनुसार यो सुविधा यसै वर्षको अन्त्यसम्म सबै प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । तर इच्छुक प्रयोगकर्ताले यसै सातादेखि आफ्नो रोजाइको प्रयोगकर्ता नाम सुरक्षित गर्न सक्नेछन् ।
ह्वाट्सएपले नयाँ सुविधा विशेषगरी गोपनीयतालाई ध्यानमा राखेर विकास गरिएको जनाएको छ । नयाँ साथी, सहपाठी, छिमेकी वा कुनै कार्यक्रममा भेटिएका व्यक्तिसँग कुराकानी गर्न फोन नम्बर दिनुपर्ने बाध्यता अब हट्नेछ । यसले व्यक्तिगत नम्बर सार्वजनिक नगरी सुरक्षित रूपमा संवाद गर्न सहज बनाउने कम्पनीको विश्वास छ ।
समूहगत कुराकानीमा पनि यो सुविधा उपयोगी हुने बताइएको छ । उदाहरणका लागि, कुनै विद्यालय, खेलकुद टोली वा समुदायको समूहमा सहभागी हुँदा अपरिचित व्यक्तिलाई आफ्नो फोन नम्बर देखाउन नपरी केवल प्रयोगकर्ता नाममार्फत समूहमा आबद्ध हुन सकिनेछ ।
ह्वाट्सएपका प्रमुख कुणाल शाहले आफूले आफ्नो प्रयोगकर्ता नाम सुरक्षित गरिसकेको जानकारी दिँदै यो सुविधा चाँडै विश्वभरका प्रयोगकर्ताका लागि उपलब्ध गराइने बताएका छन् ।
हाल ह्वाट्सएपका तीन अर्बभन्दा बढी प्रयोगकर्ता रहेका कारण एउटै नाम धेरैले रोज्ने सम्भावना रहेको कम्पनीले जनाएको छ । त्यसैले सबैलाई आफ्नो इच्छाअनुसारको नाम रोज्ने अवसर दिन अग्रिम रूपमा नाम सुरक्षित गर्ने व्यवस्था गरिएको हो । एपभित्र उपलब्ध हुने प्रयोगकर्ता नाम सुझाव प्रणालीले खाली रहेका नामका विकल्प पनि देखाउनेछ ।
साना व्यवसाय, सामग्री निर्माता र विभिन्न संस्थाले आफ्नो फेसबुक वा इन्स्टाग्राममा प्रयोग गरिरहेको प्रयोगकर्ता नाम ह्वाट्सएपमा पनि प्रयोग गर्न सक्ने सुविधा दिइनेछ ।
कम्पनीले गोपनीयता थप सुरक्षित बनाउन कुनै सार्वजनिक नामावली वा खोजी सूची नराखिने स्पष्ट पारेको छ । कसैले पहिलो पटक सम्पर्क गर्न सम्बन्धित व्यक्तिको ठ्याक्कै प्रयोगकर्ता नाम थाहा हुनुपर्नेछ । साथै, इच्छाअनुसार प्रयोगकर्ता नाम साँचो नामक अतिरिक्त सुरक्षा पनि प्रयोग गर्न सकिनेछ । यसलाई सक्रिय गरेपछि उक्त साँचोबिना कसैले पहिलो सन्देश पठाउन सक्नेछैन । प्रयोगकर्ता नाम सुरक्षित गर्न ह्वाट्सएपको नयाँ संस्करणमा गएर सेटिङ्स → खाता → प्रयोगकर्ता नाम मा प्रवेश गर्नुपर्नेछ । आगामी केही महिनामा यो सुविधा क्रमशः सबै देशमा विस्तार गरिने कम्पनीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १: १५ बजेदेखि राष्ट्रिय सभाको बैठक शुरु हुदैछ ।
आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आफ्नो मन्त्रालयसँग सांसदहरुले राखेका प्रश्नहरुको मौखिक उत्तर दिने कार्यसूची रहेको छ ।
त्यसैगरी आज सांसद रेनु चन्दले ‘प्रविधिको प्रयोग गरि हुने लैंगिक हिँसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच गर्न आवश्यक नीतिगत कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । आज संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दैछ ।
आज प्रतिनिधि सभा अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । त्यसैगरी आज संयुक्त समिति संसदीय सुनुवाइ समिति (संयुक्त) को पनि बैठक बस्दैछ ।
बिहान ११ बजेका लागि बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२७ लाई आरोग्य वर्षका रुपमा मनाउन लागेको सन्दर्भमा सोको तयारी सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ भने नेपाल नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयलाई दिइएको निर्देशन कार्यान्वयनको अवस्था र तत्पश्चात् प्राप्त थप उपलब्धी सम्बन्धमा छलफलको समेत कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान ९ बजेका लागि बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
त्यस्तै बिहान साढे ९ बजेका लागि बोलाइएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको आन्तरिक कार्यविधिका सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी बिहान साढे ९ बजेका लागि बोलाइएको समिति संसदीय सुनुवाइ समितिको बैठकमा आगामी सुनुवाइ सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी गर्ने सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी