२०८३ कार्तिक ४
२०८३ कार्तिक ४

 

काठमाडौ, २६ साउन ।

पूर्वमुख्य सचिव केशवराज राजभण्डारीको शब्द सृजना रहेको ‘पुतली बनी बस्न आयौ’को भिडियो सार्वजनिक गरिएको छ ।

शुभबहादुर सुनामको संगीत तथा गायिका संगीता शाक्यको स्वर रहेको सो गीतलाई राजेश कुमार श्रेष्ठले एरेन्ज गरेका छन् ।

निशा कार्की, अमन श्रेष्ठ, सचिना अर्याल, विवेक ठाकुर, डा. सचिन झालगायतको अभिनय रहेको उक्त गीतको भिडियोलाई जनक खड्काले छायांकन तथा निर्देशन गरेका छन् ।

 

प्रेमीसँगको बिछोडलाई प्रस्तुत गरिएको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् ।
भिडियाे लिंक : https://youtu.be/F7NXQuuhMPk

 

मुम्बई, २८ साउन ।

शुक्रबारबाट रिलिज भएको अक्षय कुमारको फिल्म ओएमजी २ लाई लिएर विवाद सुरु भएको छ ।

 

अक्षय कुमारलाई भगवान शिवको दूतको रूपमा देखाएकोमा मानिसहरूमा चर्को आक्रोश छ। धेरैले यसलाई भगवान शिव र हिन्दू देवताहरूको अपमान भनेका छन्। अक्षय कुमारप्रतिको घृणा यति बढेको छ कि एक हिन्दू संगठनले अभिनेतालाई थप्पड मार्नेलाई २० लाख रुपैयाँ दिने घोषणा पनि गरेको छ ।

 

आगराको एक हिन्दू संगठनले भगवान शिवको दूतको भूमिका खेलेर जनताको भावनामा चोट पुर्‍याउने बलिउड सुपरस्टारलाई थप्पड हानेलाई २० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । अर्कोतर्फ, राष्ट्रिय हिन्दू परिषद भारतले बिहीबार अक्षय कुमारको पुत्ला र फिल्मको पोस्टर जलायो र सिनेमाघर अगाडि प्रदर्शन गर्न पनि पछि नहट्ने बताएको छ ।

 

अक्षय कुमारको ओएमजी २ ले रिलिजको पहिलो दिन मात्रै १० करोड कमाएको छ ।

 

भगवान शिवको सन्देश वाहकको भूमिका निभाएका अक्षय कुमारलाई थप्पड हान्नेलाई सो संस्थाका अध्यक्ष गोविन्द पराशरले अवार्ड दिने जनाएका छन् । उनले आफ्नो जुत्तामा माइचको जालो राखेर अक्षयले भगवान शिवको अपमान गरेको दाबी गरेका छन् । फिल्ममा सारी लगाएर फोहोर पोखरीमा नुहाउने र यी सबै कुराले भगवानको छविलाई कलंकित गर्छ। फिल्मको आलोचना गर्ने र भावनासँग खेलबाड गर्ने कार्य पाप भएको उनको भनाई छ ।

‘ओएमजी’ सन् २०१२ मा रिलिज भएको थियो र यसको दमदार कथाका कारण यो फिल्मले बक्स अफिसमा धेरै कमाई गरेको थियो । योसँगै चलचित्र ‘ओएमजी २’ को सिक्वेल पनि हलमा रिलिज भएको छ । यद्यपि अक्षयको यो फिल्मको अग्रिम बुकिङ सुस्त छ ।

मुम्बई, २७ साउन । सन्नी देओलको गदर २ ले पहिलो दिनमै धमाका मच्चाएको छ ।

 

हिजाे अगस्ट ११ मा रिलिज भएको यो फिल्मको सर्वत्र चर्चा छ । गदरका फ्यानहरू यसको सिक्वेललाई लिएर निकै उत्साहित भएका छन । अहिले फिल्मको दोस्रो भाग रिलिज भएसँगै यसले पनि निकै माया पाइरहेको छ ।

 

फिल्मलाइ दर्शकहरूले अत्याधिक रूचाए पछि सलमान खानले पनि साे चलचित्रकाे तारिफ गर्न छोडेनन् । उनले सामाजिक सञ्जालमा गदर २ को बारेमा पोस्ट गरेका छन् । गदर २ को पोस्टर सेयर गर्दै सलमान खानले लेखेका छन्, ‘ढाई किलो का हात ४० करोडको ओपनिङ बराबर। सन्नी पाजी गजब। गदर २ को सम्पूर्ण टिमलाई बधाई छ।

 

फिल्म गदर २ को बारेमा कुरा गर्दा रिपोर्टका अनुसार फिल्मले पहिलो दिन ४० देखि ४५ करोड सम्मको कमाई गरेको छ । पहिलो दिन मै फिल्मले बक्स अफिसमा धमाका मच्चाएको छ । तर, फिल्मले पहिलो दिन कति कमाइ गरेको छ भन्ने आधिकारिक तथ्यांक भने सार्वजनिक गरिएको छैन ।

 

फिल्मको स्टारकास्टको कुरा गर्दा सन्नी देओल बाहेक यसमा अमिषा पटेल, उत्कर्ष शर्मा, सिमरत कौर र मनिष वाधवा जस्ता कलाकार छन् । यो सन्नी देओल र अमिषा पटेलको २००१ मा आएको फिल्म गदरः एक प्रेम कथाको सिक्वेल हो। गदर सर्वकालीन ब्लकबस्टर बनेको छ।

 

काठमाडौं, २६ साउन ।

नेपाली चलचित्र ‘बगान’ पाँचौँ सातामा प्रदर्शनरत छ । साता बढ्दै गर्दा यसको दर्शक पनि बढेका छन् । दर्शककै ‘वर्ड अफ माउथ’को कारण सफल भईरहेको ‘बगान’ हेर्न हलमा परिवार नै देखिने गरेका छन् । दर्शकले चलचित्रमा आमा बन्नु भएकी करिश्मासँगै छोरीको भूमिकामा रहेकी नव अभिनेत्री प्रमिला कार्कीको तारिफ गरेका छन् । प्राय दर्शक यी दुवैलाई आफ्नो कथा व्यक्त गरेको भन्दै धन्यवाद दिईरहेका छन् ।

 

नेपालको सफलता पश्चात चलचित्र अमेरिकाको विभिन्न सहरमा प्रदर्शन हुने भएको छ । गीतकार तथा निर्माता सुरेश वाग्लेले अगस्टबाट प्रदर्शन प्रारम्भ हुने जानकारी दिए । उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय प्रदर्शन सुरू गरेका छौँ । अमेरिकासँगै विभिन्न देशमा हुने प्रदर्शनको विषयमा समेत जानकारी गराउने छौं ।’ उनले अगस्ट १८ र १९ मा बोस्टनमा रहेको रिजेन्ट थियटरमा विशेष प्रदर्शनी हुने जानकारी दिए । यसपश्चात न्यूयोर्क, ड्याल्स, ह्युस्टन, अस्टिन, लस एन्जल्स, क्यालीफोर्निया, ह्यारिस्वर्ग, कोलोराडो, एटलान्टा लगायतका सहरमा प्रदर्शनको तयारी भईरहेको गीतकार वाग्लेले बताए ।

 

‘नेपालमा पाईरहेको प्रतिक्रियाले विदेशमा कहिले प्रदर्शन हुन्छ भन्ने धेरै जिज्ञासा अईरहेको थियो । अहिले हामी बगान टिम नै चलचित्र लिएर अमेरिकामा छौँ’, उनले भने । चलचित्रका निर्देशक सरोज खनाल र अभिनेत्री प्रमिला अमेरिकामा हुने प्रदर्शनीमा सहभागी हुनेछन् ।

 

अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गर्नुभएको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

 

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो । ‘बगान’का निर्माता तथा गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।

 

ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । यसको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।

 

काठमाडौं, २६ साउन।

साहित्यकार तथा सञ्चारकर्मी ‘जदौ’ दाहाल यज्ञनिधिको नाममा स्थापना भएको पुरस्कार साहित्यकार निनु चापागाईंलाई प्रदान गरिएको छ।

 

दाहाल यज्ञनिधिको पाँचौ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि इतिहासकार ज्ञानमणि नेपालले एक लाख ५० हजार राशिको पुरस्कार साहित्यकार चापागाईंलाई प्रदान गरेका हुन्।

 

सोही अवसरमा दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कारबाट तीन जना छात्र छात्रा सम्मानित हुनुभएको छ। दरबार हास्कुलको कक्षा ८ मा उर्तिण हुँदा नेपाली विषयमा सबैभन्दा बढी जीपीए ल्याउने छात्रतर्फ निखिलकुमार साह (३.८०) र छात्रतर्फ समान लुनिभा कार्की (३.३३) सम्मानित भएका हुन्। २० हजार राशिको यो पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको हो।

 

बिहीबार दाहाल यज्ञनिधिको व्यक्तित्व र कृतित्व केन्द्रित अन्तरक्रिया सम्पन्न भएको थियो। अन्तरक्रियामा प्रा.डा. वद्रीविशाल भट्टराई, प्रमोद प्रधान, डा. रमेश शुभेच्छु र दिनेश लुइटेलले कार्यपत्र प्रस्तुत गरे।  कार्यक्रममा गायिका लोचन भट्टराईले दाहाल यज्ञनिधिको गीत गाइन भने देवकुमारी लुइटेलले कविता वाचन गरिन्।

 

सदनका अध्यक्ष सुधा दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार प्रा.डा. माधव पोखरेल, डा. विष्णु राई, प्रल्हाद पोखरेल, पत्रकार पुरुषोत्तम दाहालगायत नेपाली साहित्य र कला क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता थियो।

 

‘दाहाल यज्ञनिधि सुधा सदन’ नाममा ५१ लाख रूपैयाँको अक्षयकोशमा राखिएको छ।  अक्षयकोशबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष एक जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिँदै आएको छ। बालप्रतिभाका रुपमा दुई प्रतिभालाई सम्मान गरिँदै आएको छ।

 

वि.सं. २०१० साल साउन ८ गते खोटाङमा जन्मिएका नेपाली साहित्य र पत्रकारिता क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो। उनका .‘जदौका निबन्ध’ (२०६९), जदौका ३४ निबन्ध (२०७६), खुला आकाश, गीति एल्बम (२०७६),  दाहाल यज्ञनिधिका कविता (२०७८), जदौ (२०७६) जीवनी र व्यक्तित्व केन्द्रित कृति प्रकाशित छन्।

 

मुम्बई, २६ साउन ।

बिग बोस ओटीटी २ टाउन अफ द टाउन बनेको छ। दिग्गज निर्देशक महेश भट्ट शोमा प्रवेश गरे। उनी फेमिली वीकमा छोरी पूजा भट्टलाई भेट्न गएका थिए । उनले घरका सबै प्रतियोगीहरूलाई भेटे र उनीहरूलाई माया गरे।

 

परिवारका सबै सदस्यलाई भेटेपछि उनले छोरी पूजा भट्टलाई भेटेका थिए । छोरीलाई भेट्दा उनी भावुक देखिन्थे । जब उनले आफ्नी छोरीलाई घरमा भेटे, उनले पूजा भट्टको जन्मको बारेमा एउटा किस्सा साझा गरे। उनले भने, ‘पूजा हुँदा म २३ वर्षको थिएँ । मसँग पैसा थिएन। अस्पतालका लागि १२ सय रुपैयाँ तिर्नुपर्ने भयो । यो पैसा कसरी तिर्ने भन्ने चिन्तामा थिएँ । मैले पूजाकी आमालाई भेटेँ जब म स्कूलमा थिएँ र १६ वर्षको थिएँ ।

 

महेशले थप भने,  ‘विहान घरको एउटा कुनामा बसेको देखेँ । यहाँ शान्तिको अनुभूति भइरहेको छ। मन तोडेर यहाँ आएका छौ। महेशले आफूले २३ वर्षको उमेरमा पूजालाई चिठी लेखेको पनि बताए । महेशले आफूलाई पूजामा गर्व भएको बताए ।’ सो क्रममा दुवैजना भावुक पनि देखिएका छन् ।

 

मुम्बइ, २५ साउन ।

यो साता सिनेमा प्रेमीका लागि विशेष रहने छ । यो साता धेरै सुपरस्टारहरु बक्स अफिसमा भिड्दैछन् ।

 

यो साता १–२ होइन बहु प्रतिक्षित चार फिल्म रिलिज हुँदैछन् । सन्नी देओलको फिल्म गदर २, अक्षय कुमारको ओएमजी २, रजनीकान्तको जेलर र चिरञ्जीवीको फिल्म भोला शंकर यही हप्ता रिलिज हुँदैछन् । यी चार चलचित्रको अग्रिम बुकिङ पनि सुरू भइसकेको छ तर रजनीकान्तले सबै कलाकारलाई अग्रिम बुकिङमा पछाडि छोडेका छन् ।

पछिल्लो तथ्यांक अनुसार रजनीकान्तको फिल्म जेलरको अग्रिम बुकिङ सबैभन्दा बढी भएको छ । बुक माई शो पोर्टलबाट मात्रै अनलाइन टिकट बिक्रीको संख्यामा रजनीकान्तको जेलरका लागि ९ लाख अग्रिम टिकट बिक्री भएको छ । अर्कोतर्फ अग्रिम बुकिङको मामिलामा सन्नी देओलको गदर २ दोस्रो नम्बरमा छ । गदर २ को कुल ३ लाख टिकट बिक्री भइसकेको छ । तेस्रो नम्बरमा चिरञ्जीवीको भोला शंकर रहेको छ जसको हालसम्म ७० हजार टिकट बिक्री भइसकेको छ । अक्षय कुमारको फिल्म ओएमजी २ अन्तिम अर्थात चौथो नम्बरमा छ ।

 

ओएमजी २ को अग्रिम बुकिङमा हालसम्म ४५ हजार टिकट बिक्री भइसकेको छ । आगामी दिनमा यी सबै चलचित्रको अग्रिम बुकिङ बढ्ने अपेक्षा गरिएको छ । गदर २ सन् २००१ मा आएको गदरको सिक्वेल हो । यो ब्लकबस्टर फिल्म थियो । योसँगै रजनीकान्त पनि जेलरबाट दुई वर्षपछि पर्दामा फर्कदैछन् । उनी पछिल्लो पटक फिल्म अन्नातेमा देखिएका थिए । अक्षय कुमार मात्र ओएमजी २ सन् २०१२ मा आएको ओएमजीको सिक्वेल हो। उही समयमा चिरञ्जीवी अन्तिम पटक फिल्म वालटेयर वीरैयामा देखिएका थिए।

 

चितवन, २४ साउनन ।

चितवनमा हुन लागेको फिल्मी अवार्डको तयारी तीव्र रुपमा भइरहेको छ । चितवनमा लक्की मिडिया हाउस चितवनले पहिलोपटक लक्की फिल्मी फिल्मी अवार्ड गर्दै छ । अवार्ड कार्यक्रमको प्रचार प्रसारको लागि अहिले मिडिया हाउसको टिम देश दौडाहामा छ । मोफसल टुरको कार्यक्रमपश्चात अहिले देशका मुख्य सहरमा अवार्डको प्रचार भइरहेको छ । आयोजकका अनुसार अवार्डको तयारी अन्तिम चरणमा पुगेको छ ।

 

अवार्डलाई सम्पूर्ण कलाकार, फिल्मीकर्मीको प्रतिनिधित्व हुने गरी देशका विभिन्न जिल्लामा प्रचार प्रसार गरी समेत फर्केको र अन्य जिल्लामा पनि प्रचार प्रसारलाई निरन्तरता दिईएको छ । अर्वाड कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नेगरी तयारी तीव्र पारिएको आयोजक संस्था लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की  ‘लक्की’ ले जानकारी दिए । ‘विगत केही महिनादेखि हामी अवार्डको प्रचार प्रसार र देश दौडाहामा थियौं,’ उनले भने, ‘अब बांँकी कामको लागि जुटेका छौं ।’

 

अवार्डका लागि आवश्यक पर्ने विभिन्न चरणहरु पार गर्दै अहिले कलाकारहरुको नोमिनेसनको काम भइरहेको उनले बताए । निर्णायक मण्डलले काम गरिरहको जानकारी दिँँदै उनले विभिन्न विधामा अवार्ड वितरण हुने भएकाले सोही अनुसारको नोमिनेसन र छनौटको काम तीव्र रुपमा अगाििड बढेको जानकारी दिए ।

 

नेपाली सिनेमा जगतको संरक्षण र जर्गेना गर्ने उद्देश्यसहित फिल्मी अवार्ड गर्न लागिएको कार्कीको भनाइ छ । ‘यो तरिकाको अवार्ड नेपालमै पहिलो पटक हुन्छ । जहाँ सबै कलाकारकर्मी, कलाप्रेमीले सम्मान र अपनत्व पाउनु हुन्छ,’ कार्कीले भने ।

 

अवार्डमा दुई दर्जनभन्दा बढी कलाकर्मी सम्मानित हुने उनले जानकारी दिए । चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्ने लक्ष्यसहित चितवनमा फिल्मी अवार्ड कार्यक्रम गर्न लागेको उनले बताए ।

लक्की मिडिया हाउसले गर्न लागेको फिल्मी अवार्डमा देशभरका सिने कलाकारहरुको जमघट चितवनमा हुने कार्कीले जानकारी दिए ।

 

काठमाडौं, २३ साउन।

कवि भूपी शेरचनबारे लेखिएको पुस्तक ‘भूपी’ लोकार्पण गरिएको छ। काठमाडौंको म्यारियट होटलमा मंगलबार आयोजित एक विशेष कार्यक्रममा प्राध्यापक अभि सुवेदी, वनस्पतिविद् वैज्ञानिक तीर्थबहादुर श्रेष्ठ, भूपीपत्नी कान्ति शेरचन र भूपीकी छोरी एवम् लेखक कविता शेरचनले पुस्तक लोकार्पण गरे।

लोकार्पण कार्यक्रममा सुरुमा पत्रकार एवम् लेखक देवेन्द्र भट्टराईले लेखक कविता शेरचनसँग संवादसमेत गरे। संवादमा शेरचनले आफ्ना पिता भूपीका विषयमा आम रुपमा प्रचलित कतिपय धारणा एवम् वास्तविकताबारे प्रकाश पारिन्। र पुस्तक लेखनको औचित्यसमेत प्रस्ट्याइन्।

‘मलाई एकदुई कक्षा पढ्दा भूपी शेरचनकी छोरी हुँ भन्न नपरे हुन्थ्यो जस्तो लाग्थ्यो,’ रक्सी पिएको विषयमा आफ्ना बाबुको बढी आलोचना भएको सम्झिँदै उनले भनिन्, ‘तर चारपाँच कक्षा पढ्ने बेलासम्म मेरो स्कुलका शिक्षकदेखि समाजका लब्धप्रतिष्ठित व्यक्ति सबै म त तिम्रो बुबाको ठूलो फ्यान हुँ नि भन्दै आएपछि उहाँको छोरी हुँ भनेर चिनिनमा गर्व लाग्न थाल्यो।’

आफ्नो घरमा जति पनि मानिस आउँथे, उनीहरु सबै भूपीका प्रशंसक भएको देखेपछि त झनै बुबाको महत्ता आफूले झनै बढी बुझेको उनको भनाइ छ। ‘तर समाजमा बुबालाई एउटा असल कविका रुपमा मात्र नबुझेर जँड्याहाका रुपमा प्रस्तुत गर्दा भने मलाई अति पीडा दिन्थ्यो,’ उनले भनिन्, ‘बुबाको विषयमा जति विषय बाहिर आएका कतिपय भने बुबाले लेखेको कविता जस्तै हल्लैहल्लामा आएका छन्।’

कार्यक्रममा भूपीका विषयमा प्राध्यापक अभि सुवेदीले पनि धारणा राखे। कवि भूपी शेरचनका विषयमा यसरी पुस्तक आउला भनेर नसोचेको र त्यो पनि अंग्रेजीमा आउँदा आफू थप चकित परेको उनले बताए। ‘भूपी दाइलाई रक्सीसँग जोडेर जति लेखियो, त्यो चाहिनेभन्दा बढी थियो भन्ने मलाई लाग्छ,’ उनले भने, ‘यो समाजमा रक्सी नखाने को छ ? यस विषयमा भूपी दाइलाई अलि बढी नै नकारात्मक रुपमा प्रस्तुत गरिनु हुन्नथ्यो भन्ने मलाई लाग्छ।’

भूपीले आफ्नो समयमा देशको अवस्था र मानिसहरुको वास्तविकतालाई जीवन्त रुपमा कवितामा उतार्ने गरेको सन्दर्भलाई पनि प्राध्यापक सुवेदीले जोडे। साथै उनैकी छोरीले लेखेको यस पुस्तकले आफूले बुझेका बुबा र समाजले चिनेका बुबाका सन्दर्भलाई बडो राम्रोसँग प्रस्तुत गरेको उनले जनाए।

कृषि वैज्ञानिक तीर्थबहादुर श्रेष्ठले पनि कार्यक्रममा भूपीबारे रोचक प्रसंग सुनाए। नेपाल प्रज्ञा प्रतिष्ठानमा सँगसँगै प्राज्ञ हुँदाका सन्दर्भदेखि भूपीले लेख्ने गरेका कविताका विषयमा उनले चर्चा गरे। आफूलाई नेपालीमा लेख्न प्रेरित गर्ने व्यक्तित्व पनि भूपी नै रहेको उनले जनाए। ‘म विज्ञानको विद्यार्थी, रिपोर्ट आदि विषय अंग्रेजीमै लेख्नुपर्ने, नभए साइन्स नहुने,’ उनले भने, ‘तर भूपीजीले आफूले अध्ययनअनुसन्धान गरेका विषय नेपालीमा पनि लेख्नुस् भनेपछि म नेपाली भाषामा लेखरचना लेख्नतिर लागेको हुँ।’

पुस्तकमा कविता शेरचनले आफूले चिनेका बुबा, उनले भोगेको समाज, उनलाई लागेका लाञ्छना आदिलाई सूक्ष्म किसिमले प्रस्तुत गरेको पनि श्रेष्ठले बताए। ‘पुस्तकमा आमा नहुनुको पीडा मात्र देखाइएको छैन,’ श्रेष्ठले भने, ‘आमाटोकुवाका रुपमा आफूलाई लाञ्छना लाग्दा भूपी विक्षिप्त बनेका आदि विषयलाई पनि बडो मार्मिक रुपमा प्रस्तुत गरिएको छ।’

पुस्तकलाई ढाका टोपी जसरी बुनिएको श्रेष्ठले जनाए। ‘कविरुपी भूपीका सन्दर्भलाई तानरुपी शब्दले रोचक रुपमा जोडिएको छ,’ उनले भने। एउटी छोरीले आफ्ना बाबुलाई तटस्थ रहेर प्रस्तुत गरेको पनि उनले बताए।  अन्धविश्वास र विकृतिलाई छाडेर अगाडि बढ्नुपर्छ भन्ने सन्देशसमेत पुस्तकले दिएको श्रेष्ठले जनाए।

कार्यक्रममा भूपीपत्नी कान्ति शेरचनले पनि विगत सम्झिइन्। भूपीले जुनसुकै रचना लेखिसकेपछि आफूलाई सुनाउने गरेको उनले बताइन्। साथै भूपीको निधन भएको ३५ वर्षपछि आफ्नी छोरीले बाबुलाई सम्झिएर यति सुन्दर पुस्तक लेखेकामा आफूलाई गौरवबोध भएको पनि उनको भनाइ छ। ‘भूपीजीका विषयमा छोरीले यसरी पुस्तक लेख्दा मलाई साह्रै खुसी लागेको छ,’ उनले भनिन्।

कार्यक्रममा फाइनप्रिन्टका नीरज भारीले सर्वकालीन कवि भूपी शेरचनका विषयमा लेखिएको यति गहन कृति प्रकाशन गर्न पाउँदा आफूहरुलाई अति खुसी लागेको बताए।

 

मुम्बई, २४ साउन ।

साउथ सिनेमालाई ठूलो धक्का लागेको छ ।

 

साउथ सिनेमा उद्योगका चर्चित निर्देशक सिद्दिकीले ६३ वर्षको उमेरमा संसारलाई बिदा भएका छन् । निर्देशक सिद्दिकीले अगस्ट ८ गते अस्पतालमा अन्तिम सास लिए । उनको हृदयघातका कारण निधन भएको हो । सिद्दिकीले सलमान खानको हिन्दी फिल्म ‘बॉडीगार्ड’ निर्देशन गरेका थिए ।

 

रिपोर्टका अनुसार सिद्दिकीलाई सोमबार हृदयघातका कारण हतार हतार कोचीको अस्पतालमा भर्ना गरिएको थियो। तर अस्पताल पुग्दासम्म उनको अवस्था निकै गम्भीर भइसकेको थियो । सोही क्रममा अस्पतालका चिकित्सकले सिद्दिकीलाई बचाउन हरसम्भव प्रयास गरे पनि उनलाई बचाउन सकेनन् ।

 

जानकारीका अनुसार सिद्दिकीको पार्थिव शरीर आज बिहान ९ बजेदेखि ११ः३० बजेसम्म कादवनथरास्थित राजीव गान्धी इन्डोर स्टेडियममा राखिनेछ । त्यसपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि घरमै राखिनेछ, त्यसपछि बुधबार साँझ ६ बजे सिद्दिकीको दाहसंस्कार गरिने छ ।

 

उनले ‘सिद्दिकी लाल’को जोडीबाट निर्देशनमा डेब्यु गरेका हुन् । उनको पहिलो फिल्म टाइमलेस कमेडी रामजी राव स्पिकिङ सन् १९८९ मा आएको थियो। यसबाहेक उनका फिल्ममा ‘हरिहर नगर’ (१९९०), ‘गडफादर’ (१९९१), ‘भियतनाम कालोनी’ (१९९२), ‘काबुलीवाला’ (१९९३), र ‘हिटलर’ (१९९६) र ‘बॉडीगार्ड’ छन्।

 

सिद्दिकीले ‘बॉडीगार्ड’ को हिन्दी रिमेक निर्देशन गरेका थिए । जसमा सलमान खान मुख्य भूमिकामा देखिएका थिए । यस फिल्मको तमिल संस्करण पनि सिद्दिकीले निर्देशन गरेका थिए, जसको नाम ‘कावलन’ थियो। जसमा विजयले मुख्य भूमिका निर्वाह गरेका थिए ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।