२०८३ कार्तिक ३
२०८३ कार्तिक ३

काठमाडौँ, १६ कात्तिक ।

चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँबाट सुरू गरिएको छ । काठमाडौँमा अधिकांस र जनकपुरमा केही छायाङ्कन हुने कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले जानकारी दिए ।

‘हामीले शृङ्खला थप्न हतार गरेनौँ । कथा अगाडी बढाउने आइडियामा निर्माण समुह सहमत भएपछि सुरू गरेका हौँ । यसको छायाङ्कन सेड्युल ४५ दिन तय गरेका छौँ’, कार्यकारी निर्माता बानियाँले भने ।

 

अघिल्लो दुई शृङखलाकै लेखक तथा निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भईरहेको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहनेछ ।

 

यसपटक कथाको डिमाण्ड अनुसार नै अभिनेता आचार्यलाई कास्ट गरिएको निर्देशक भट्टराईले बताए । उनले भने,‘दुई शृङ्खलामा जात्रा भएपछि महाजात्रा गर्न चाहिने कलाकार उहाँ नै हुनुहुन्थ्यो । एउटा घटनाको जात्रा थियो । दुई टिमको घटनामा जात्रैजात्रा बन्यो । त्यो हिसाबले महाजात्रा धेरै घटनाको कथावस्तु हो ।’ उनले अघिल्ला दुई शृङ्खलाको तुलनामा यसपटक पटकथा सशक्त रहेको दावी समेत गरे ।

 

‘जात्रा’ मा गायकको रुपमा जोडिएका अभिनेता आचार्यले यस शृङ्खलासँग आफू नजिक रहेको बताए । ‘प्रदीप भाईको डेब्यु चलचित्र भएकाले पनि म यो शृङ्खलासँग नजिक थिएँ । यसपटक कलाकारको रुपमा जोडिएको छु । कथा, विषयवस्तु राम्रो छ,’ अभिनेता आचार्यले भने ।

 

जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिएको चलचित्रलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । ‘जात्रा’ चलचित्रको लोकप्रियताले छायाङ्कन नहुँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन, आशिष अविरलले सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

मुम्बइ, १६ कार्तिक ।

बलिउडका किंग खान अर्थात् शाहरुख खान आजबाट ५८ वर्षका भएका छन् ।

 

अभिनेताको जन्मदिन उनका फ्यानका लागि पर्वभन्दा कम हुँदैन । हरेक पटक झै यस पटक पनि बलिउडका बादशाहका हजारौं फ्यान सुपरस्टारको एक झलक पाउन र उनलाई जन्मदिनको शुभकामना दिन मन्नतबाहिर ठूलो संख्यामा जम्मा भएका छन् ।

 

किंग खान पनि गए राति आफ्नो घरको बालकनीमा आएर फ्यानहरुलाई बधाई तथा जन्मदिनको शुभकामना दिएकोमा धन्यवाद दिएका छन्।

 

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा मन्नतको गेटबाहिर फ्यानहरूको लाइन देख्न सकिन्छ । उनीहरुमध्ये कोही फोनबाट तस्विर र भिडियो खिचिरहेको देखिएका थिए भने कसैको हातमा किङ खानको पोस्टर थियो ।

मुम्बइ, १४ कार्तिक ।

टाइगर श्राफ र कृति सेनन अभिनित फिल्म ‘गणपत’ सन् २०२३ को सबैभन्दा प्रतिक्षित फिल्म बनेको थियो र त फ्यानहरु यसको रिलिजको उत्सुकताका साथ पर्खिरहेका थिए ।

 

तर, यो चलचित्र हलमा पुग्दा दर्शकले रूची देखाएनन ।  यो फिल्म रिलिजको पहिलो दिनदेखि नै टिकट विन्डोमा टिक्न संघर्ष गरिरहेको छ । अहिले अवस्था यस्तो छ कि सो फिल्मलाइ लाखमा पनि कमाउन मुस्किल छ । आउनुहोस् यहाँ थाहा पाउनुहोस्  ‘गणपत’ ले रिलिजको ११ औं दिनमा कति कलेक्शन गर्यो ।

 

सप्ताहन्तमा फिल्मको कमाई बढ्ने अपेक्षा गरिएको भए पनि त्यस्तो केही भएन र ‘गणपत’ले दोस्रो शनिबार १७ लाख र दोस्रो आइतबार १८ लाख रुपैयाँ मात्रै कमाएको छ । अब ‘गणपत’ रिलिजको ११ औं दिन अर्थात दोस्रो सोमबारको कमाईको प्रारम्भिक तथ्यांक आएको छ ।

 

सकनिल्कको प्रारम्भिक ट्रेन्ड रिपोर्ट अनुसार ‘गणपत’ले रिलिजको ११ औं दिन अर्थात दोस्रो सोमबार १० लाख रुपैयाँ मात्रै कमाएको छ । यससँगै  टाइगर श्राफको फिल्मको ११ दिनमा कुल कमाई १२.४० करोड पुगेको छ ।

 

यो फिल्मको कमाई हेर्दा अहिले बक्स अफिसमा यसको खेल पूर्ण रुपमा सकिएको र यो फिल्मले बक्स अफिसमा १३ करोड मात्रै कमाउन सक्ने देखिन्छ ।

काठमाडौं, २ कात्तिक ।

चलचित्र विकास बोर्डले छलफलका लागि सार्वजनिक गरेको चलचित्र विधेयकको मस्यौदाले फिल्म उद्योगको हित नगर्ने फिल्मकर्मीले बताएका छन् । चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदाप्रति उनीहरुले आपत्ति पनि प्रकट गरे ।

 

चलचित्र पत्रकार संघले काठमाडौंमा आयोजना गरेको चियापान तथा चलचित्र विधेयकको संवाद कार्यक्रममा बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती सापकोटाले प्रस्तावित मस्यौदा संविधानविपरित रहेको बताए । उनले यसका व्यवस्था, अक्षर र भावना पूर्णतः संविधान विपरित रहेको बताउदै यसलाई सच्याएरअघि बढ्नुपर्ने धारणा राखे । उनले जिल्ला–जिल्लामा फिल्म सेन्सर बोर्ड गठन गर्ने प्रस्तावप्रति पनि आपत्ति प्रकट गरे ।

 

विधेयकका मस्यौदाकार तथा फिल्म निर्माता आकाश अधिकारीले २०२६ सालको ऐनभन्दा अहिलेको विधेयकलाई प्रगतिशिल र समयसापेक्ष बनाउन आफूहरुले प्रयत्न गरेको बताए । उनले घरेलु फिल्मको संरचनागत सुधारदेखि अन्तर्राष्ट्रियकरणसम्मका चासोलाई विधेयकले समेट्ने बताए ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले मस्यौदालाई लिएर भएको असन्तुष्टिलाई टुंग्याउन चलचित्र संघसंस्थासँग परामर्श भइरहेको बताए । उनले चाँडै नै छलफलबाट निष्कर्स निकाल्ने बताए । प्रस्तावित विधेयकले संचार मन्त्रालयका कर्मचारीको नियन्त्रण झनै कसिलो गराउने र यसले चलचित्र विकास बोर्डको स्वायत्तता खोस्ने उनको धारणा रहेको थियो ।

 

कार्यक्रममा उपस्थित संचार र अर्थ मन्त्रालयका प्रतिनिधि भने यसबारे बोल्न अनुमति नभएको भन्दै  केही बोल्न चाहेनन् । पत्रकार विष्णु शर्माले विधेयकबारेको छलफलको सहजीकरण गरेका थिए । चलचित्र पत्रकार संघका उपाध्यक्ष कुवेर गिरीको सभापतित्व र महासचिव रघुनाथ सापकोटाले संचालन गरेको कार्यक्रममा संघका अधयक्ष समीर बलामीले स्वागत मन्त्व्य राखेका थिए ।

 

कार्यक्रममा फिल्म निर्माता आकाश अधिकारी, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ,चलचित्र संघका पुर्व अध्यक्ष प्रदीप उदय,निर्देशक ऋषि लामिछाने, सेन्सर बोर्डको सदस्य ऋषि राज आचार्य, चलचित्र विकास बोर्ड सदस्य राजु केसी, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली,कलाकार संघका अध्यक्ष मोहन निरौला,वितरक करण श्रेष्ठ,निर्देशक नवल नेपाल लगायत थुप्रै ब्यक्तिको उपस्थिती रहेको थियो ।

काठमाडौं, १कात्तिक  ।

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरीले हालै सम्पन्न १९औँ एशियाली खेलकुद प्रतियोगितामा पदक विजेता तथा प्रशिक्षकहरुलाई सम्मान गरेका छन् ।

नेपाललाई विभिन्न खेलमा पदक जिताएपनि सरकारद्वारा वेवास्ता गरिएको भन्दै सांसद चौधरीले खेलाडीहरुको आत्मसम्मान् र उत्प्रेरणा बढाउने उदेश्यले सम्मान गरेका हुन् । सांसद चौधरीका अनुसार विभिन्न विधाका खेलाडी तथा प्रशिक्षकहरु गरेर ८५ जनालाई सम्मानीत गरिएको छ । सोही कार्यक्रमको अबसरमा थारु जातिका विभिन्न अन्तर्राष्ट्रिय खेलाडीहरुलाई पनि सम्मानित गरिएको छ ।

‘हाम्रो देशलाई खेलाडीहरुले विभिन्न खेल मार्फत विश्वभर चिनाइरहेका छन् । तर, सरकारले उनीहरुलाई आवश्यक तालिम, प्रशिक्षण पनि राम्रोसँग दिएको पाइँदैन् । खेलाडीहरुका थुप्रै समस्याहरु छन्, आवश्यक र उचित सेवा सुबिधा पनि दिइँदैन’, उनले भने, ‘सरकारले आगामी दिनमा आम खेलाडीहरुको तमाम समस्या बुझेर त्यसको समाधान गर्दै उच्च सम्मान दिएर उत्प्रेरित गर्दै जानुपर्छ ।’

सरकारले खेल क्षेत्र र खेलाडीहरुका हकहितको संरक्षण नगरेका कारण पछिल्लो समय नेपाली खेलाडीहरु पलायन हुन थालेको बताउँदै यस्तो परिस्थितिको सिर्जना हुँँदा राष्ट्रलाई अतुलनीय क्षति हुने सांसद चौधरीको तर्क छ ।

चीनको होङ्झाओमा भएको एसियाली खेलकुद प्रतियोगितामा नेपालले एक रजत र एक कांस्य पदक जितेको थियो ।  कराँते खेलाडी एरिका गुरुङले महिला कुमुते ६८ केजीभन्दा माथिको तौलसमूहमा रजत पदक जितेकी थिइन् ।  एसियाली खेलकुदमा महिला कबड्डी टोलीले पनि कांस्य पदक जितेको छ । महिला कबड्डी टोली एसियाली खेलकुदको पहिलो सहभागितामै कांस्य पदक जितेको हो । त्यसैले यो पदक पनि नेपाली खेलकुदका लागि ऐतिहासिक बनेको छ ।

प्रतियोगितामा कराते तर्फ रजतपदक विजेता एरिका गुरुङले यस्ता कार्यक्रमले खेलाडीको मनोवल उच्च हुने भन्दै खुसी व्यक्त गरिन् ।

‘खेल मार्फत देशलाई चिनाउन पाउँदा खुसी लागेको छ । देशका लागि खेलेर फर्कँदा यसरी पाउने सम्मानले आगामी दिनमा थप मिहिनेत गर्दै अघि बढ्ने उत्प्रेरणाा मिल्छ’, गुरुङले भनिन् ।

कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद संघका अध्यक्ष दिपक श्रेष्ठ, कबड्डी प्रशिक्षक पार्वती राई, कराते प्रशिक्षक बिर कृष्ण शाही, छोरी डङ्गोल, कुशल श्रेष्ठ, कबड्डी कास्य पदक विजेताका सम्पूर्ण खेलाडीहरु लगायतको उपस्थिती रहेको थियो ।

काठमाडौं, १ कार्तिक ।

टी-२० विश्वकप छनोट अघिको अभ्यास खेलका रूपमा रहेको त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा युएई नेपालसँग सात विकेटले पराजित भएको छ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।

नेपालको जितमा कप्तान रोहित पौडेलले ५१ रनको अविजित अर्धशतकीय इनिङ खेल्दा दिपेन्द्र सिंह ऐरीले ३४ रनको अविजित इनिङ खेले। त्यसअघि ओपनर कुशल भुर्तेलले १४ रन बनाउँदा आशिफ शेख २३ रनमा आउट भए। त्यस्तै कुशल मल्लले ११ रन बनाएका थिए। युएईका लागि निलन्सा केशवानाले १-१ विकेट लिएका थिए।

 

युएईका लागि बसिल हमीदले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेल्दा अली नसिरले ३२ रन बनाए। त्यस्तै असिफ खानले १५ रन बनाउँदा कप्तान मुहम्मद वासिमले १७ रन बनाए। नेपालका लागि करण केसीले ३ विकेट लिंदा गुल्सन झाले २ तथा सोमपाल कामी र अभिनास बोहोराले समान १-१ विकेट लिएका थिए।

काठमाडौँ, १ कात्तिक ।

जात्रा’ र ‘जात्रै जात्रा’ को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो शृङ्खला फिल्म ‘महाजात्रा’ मा नयाँ कलाकार जोडिएका छन् । नयाँ शृङ्खलामा हरिवंश आचार्य जोडिएको खबर केही समय अगाडी नै सार्वजनिक भइसकेको छ भने दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्ग्देल समेत जोडिएका छन् ।

 

उनीहरूले आफ्नो लुक्स टेस्ट गरिसकेका छन् भने छायाङ्कनको लागि आफ्नो पात्रबारे पूर्ण रुपमा तयार भइसकेका छन् । फिल्मका अभिनेता तथा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँका अनुसार उनीहरूको आगमनले टिमको लाइनअप अझैँ बलियो बनेको छ ।

‘हामीले आर्टिस्टको लाइनअपलाई बलियो बनाएका छौँ । शृङ्खला प्रति बढ्दो दर्शकको विश्वासले गर्दा पनि स–सानो भूमिकामा समेत उहाँहरुको प्रिय कलाकारलाई कास्ट गरिरहेका छौँ’, कार्यकारी निर्माता बानियाँले भने ।

 

कात्तिक १३ गतेबाट छायाङ्कन गर्ने तयारीमा रहेको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ भने यसलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्दैछन् । यो फिल्मका अघिल्ला भागले घरेलु फिल्ममा कसरी कमेडी पनि यथार्थपरक र परिस्थितिजन्य हुन्छ भन्ने पुष्टि गरेको थियो ।

स्थापित ब्राण्ड र दर्शकको विश्वासिलो समुहसँग सहकार्य गर्न पाउँदा आफू उत्साहित रहेको अभिनेत्री गौमायाले बताइन । उनले भनिन्,‘एउटा कलाकारको रुपमा उहाँहरूसँग काम गर्ने इच्छा पुरा हुँदैछ । दर्शक समक्ष नयाँ भूमिकामा प्रस्तुत हुने कुराले उत्साहित छु ।’

 

यसमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, अरविन्द खड्का, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहनेछ ।  महापुरुष र जात्रा शृंखला जस्ता सुपरहिट फिल्म दिएको कारण षट्कोण आर्ट्सको फिल्म पनि दर्शकमाझ प्रतीक्षित छ ।

फिल्म छायाङ्कन नहुँदै फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

काठमाडौं, ३० असाेज ।

कान्तिपुर फिल्म एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’को शुभारम्भ गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ सुरुवात गरेको हो ।


‘कान्तिपुर सिनेमाज्’मा इन्टरनेटको माध्यमबाट संसारभर रहेका दर्शकले मोबाइल फोन, एन्ड्रोइड, आईओएस, वेभ र स्मार्ट टीभीबाट ‘कान्तिपुर सिनेमाज’मा रहेका कन्टेन्ट सजिलै हेर्न सक्नेछन् ।


‘कान्तिपुर सिनेमाज्’मा दर्शकले सुरुवातमा ‘ज्याकी आईएम ट्वान्टी वान’ र ‘जुलेबी’ फिल्म हेर्न सक्नेछन् । यस्तै, सिरिज ‘ब्रह्माण्ड’ र ‘लभसूत्र’ पनि हेर्न पाउनेछन् । सर्ट फिल्म ‘मदर’, ‘खरानी’, ‘ऋतु’ र ‘मिस सेक्रेट’ लगायत पनि एपमा उपलब्ध छन् ।


कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । ओलीले शुभकामना दिदै नयाँ प्रविधिलाई आत्मसाथ गर्दै सुरु भएको प्लेटफर्मले सफलता पाउने विश्वास व्यक्त गरे । उनले भने–‘नेपालमा भारत र चीनको जस्तो ठूलो जनसंख्या छैन । यसैले, यहाँ थुप्रै फिल्म चलेर पनि कलाकारहरुलाई जीवन जिउन गाह्रो छ । धेरै जनसंख्या भएको मुलुकमा एउटा गीत चलेपनि जिन्दगी बन्छ । तर, यहाँ दीपकराज गिरी जस्ता कलाकारहरुलाई अझै भोली के हुने हो भन्ने चिन्ता छ ।’ ओलीले यस्तो परिस्थितीको बिचमा सुरु भएको ‘कान्तिपुर सिनेमाज्’ले विश्वभर रहेका नेपालीहरुको मन जित्न सक्ने भन्दै शुभकामना दिएका थिए ।
कान्तिपुर फिल्म एकेडेमीका सीईओ प्रकाश पुरीले ‘कान्तिपुर सिनेमाज’मा मासिक २९९ रुपैयाँ तिरेर सबै सामाग्री हेर्न सकिने जानकारी दिए ।


पुरीले अनलाइन पेमेन्ट गरेर सब्स्क्रिप्सन गर्न सकिने बताउँदै ‘कान्तिपुर सिनेमाज’ नेपालको पहिलो सब्स्क्रिप्सन ढाँचाको ओटीटी प्लेटफर्म भएको दाबी गरे । ‘यो प्लेटफर्ममा नयाँ नेपाली फिल्म, सर्ट फिल्म र सिरिजहरू हेर्न पाउनुहुनेछ ।’ उनले अगाडि भने–‘संसारभर यस्ता खालका ओटीटी प्लेटफर्महरू छन् । जुन आज हलको विकल्पका रूपमा स्थापित भइसकेका छन् ।’ उनले, यस्तै प्रकारको प्लेटफर्मको विकास आफूहरुले गर्न चाहेको पनि बताए ।


कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘कान्तिपुर सिनेमाज’ दर्शक र मेकर दुवैका लागि उपयुक्त प्लेटफर्म हुन सक्ने बताए । विश्वभर रहेका नेपाली सिनेमाका पारखीका लागि ओटीटी राम्रो माध्यम भएको भन्दै उनले यसले नेपाली सिनेमालाई थप विस्तार गर्ने विश्वास व्यक्त गरे ।


नेपाली सिनेमाको ओटीटी रिलिज गर्न पनि मेकर तयार हुने अवस्था सिर्जना गर्न ‘कान्तिपुर सिनेमाज’ सफल हुने उनको धारणा थियो । यसले विश्वभरका नेपालीलाई जोड्ने माध्यमको काम गर्ने भुवनको भनाई थियो ।
कार्यक्रममा बोल्दै हाँस्य कलाकार दीपकराज गिरीले ओटीटी प्लेटफर्म संचालन गर्नु भनेको एउटा ठूलो चुनौतीको काम भएको भन्दै यसमा सफलता पाउनेमा विश्वास व्यक्त गरे ।


सानो बजार रहेकाले कन्टेन्टको आवश्यकता हुने र नयाँ सिनेमा पाउनु र दर्शकलाई दिन सक्नु नै ओटीटीका लागि मुख्य चुनौती भएको गिरीको भनाई थियो ।

यस्तै, कार्यक्रममा बोल्दै टेलिभिजन प्रस्तोता सुरज सिंह ठकुरीले ओटीटीबाट अन्य मुलुकका नागरिकहरुलाई पनि नेपाली बिषयवस्तुमा आकर्षित गर्न सकिने बताए । यसका लागि सब–टाइटल राखेको खण्डमा राम्रा सामाग्रीले नेपालीको मात्र नभएर विदेशीहरुको पनि मन जित्न सक्ने उनको भनाई थियो ।

मुम्बइ, २४ असाेज ।

गत हप्ता प्यालेस्टिनी अतिबादी समूह हमासले गरेको अचानक आक्रमणपछि गाजा पट्टीमा हमासविरुद्ध इजरायलको आक्रमण तीव्र भएको छ। युद्धको चौथो दिनसम्ममा तीन हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

 

सो युद्धका कारण दुइ देशीय सीमामा बसोबास गर्ने दुबै देशका जनता सो आक्रमणबाट आफ्ना प्रियजन गुमाए पछि शोकमा छन्। हमासको निरन्तर आक्रमण र गाजाको ‘पूर्ण नियन्त्रण’ लिनको लागि इजरायलको बलियो अभियानको बीचमा निर्दोष मानिसहरू विरुद्ध बर्बरताका कथाहरू देखा परिरहेका छन्।

 

यसै सन्दर्भमा, भारतीय टिभी अभिनेत्री मधुरा नाइकले आफ्ना काका र उनका छोराछोरीको ‘क्रूरतापूर्वक हत्या’ भएको बताएकी छन्। इन्स्टाग्राममा सेयर गरेको भिडियो सन्देशमा भारतीय मूलकी यहूदी नागिन अभिनेत्रीले भनिन्, ‘मेरो परिवारले भोगेको पीडालाई शब्दले व्यक्त गर्न सक्दिन् । आजसम्म इजरायल पीडामा छ र सडकमा छ, क्रोधसहित हमासको आगोमा जलिरहेको छ।’ नायिकाले अगाडी भनिन्, ‘महिला, बालबालिका, वृद्ध, कमजोर सबैलाई निशाना बनाइएको छ ।’

 

उनले आफ्नी बहिनी र आफ्नो परिवारको तस्बिर पोस्ट गरेकी थिइन, त्यसपछि सामाजिक सञ्जालमा उनी ट्रोल भएकी थिइन । उनले भनिन, ‘यसले पनि प्यालेस्टाइन समर्थक एजेन्डा कति गहिरो छ भन्ने देखाउँछ। म यहूदी हुँ भनेर मलाई अपमानित गरिएको छ।’

 

ओडाया र उनको परिवारकाे घटनाले जारी सबैभन्दा रक्तपातपूर्ण इजरायल–हमास युद्धहरूको क्रूरता देखाउँछ। धेरै बालबालिका अहिले अनाथ भएका छन् र लगातार रकेट आक्रमण र प्रतिशोधात्मक हवाई आक्रमणमा धेरैको मृत्यु भएको छ। यस युद्धका दुवै पक्षका मृत्यु, डर र विनाशको अन्धकारले ढाकेका छन्।

 

यहुदी कानून बमोजिम शव निकाल्ने परोपकारी संस्था जाकाका स्वयंसेवक मोती बुक्जिनले भने कि हमासका बन्दुकधारीहरूले बिरी किबुत्जमा मात्रै १०० भन्दा बढी व्यक्तिको हत्या गरेका थिए।

काठमाडौं, २३ असोज ।

‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ मूल ध्येय लिएर सञ्चालन भइरहेको रियलिटी शो ‘एनआरएन द सिङगर’ अन्तिम चरणमा प्रवेश गरेको छ। सोमबार राति स्पेस फोर के टेलिभिजनमार्फत उत्कृष्ट १० जनाको प्रस्तुती पछि फाइनलमा प्रतिस्पर्धा गर्ने ५ जनाको टुंगो लागेको हो। यी ५ जनाले अब अक्टोबर १५ तारिखमा काठमाडौंमा हुने ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्ने छन्। उत्कृष्ट १० बाट कर्मा दोङ तामाङ, विष्णु क्षत्री, सुवासचन्द्र पुनमगर, गुना मगर निसु र युक्ती विमलीले ग्रान्ड फिनालेका लागि स्थान पक्का गरेको कार्यक्रम उत्पादक युनिटेकका सुरज राइले जानकारी दिए।

 

काभ्रे घर भइ जापान बस्ने ३० वर्षीय कर्मा दोङ तामाङ अहिले जापानमा विद्यार्थी भिसामा रहेर काम गरिरहेका छन्। विदेशमा बसेपनि नेपाली गिस संगीतबाट कहिल्यै टाढा नभएका तामाङले फिनालेमा पुग्नका लागि राजु लामाको चर्चित गीत ‘गाउँकी चेली साह्रै नै राम्री फरिया र चोलोमा झनै राम्री’ बोलको गीत प्रस्तुत गरेका थिए।

 

पर्वतमा जन्मिएका विष्णु क्षत्री १५ वर्षदेखि युरोपको नर्वेमा बस्दै आएका छन्। विदेशमा काम गर्दै गर्दा पनि नेपाली गीत संगीतलाई माया गरेका क्षत्रीले त्यहाँ हुने कार्यक्रममा आफ्नो प्रस्तुतीले नेपाली समूदायमा राम्रो छाप छाड्न सफल एनआएन द सिङगरको फाइनलमा पुग्दै आफूलाई फेरि एक पटक अब्बल सावित गरेका छन्। उनले फाइनल पुग्नका लागि रामकृष्ण ढकालको आरोह एल्बमको ‘हिरा काट्ने हिरैमा राखेर’ बोलको गीतलाई सुन्दर ढंगले प्रस्तुत गरेका थिए।

 

भोजपुरमा जन्मिएकी गुना मगर वैदेशिक रोजगारीका लागि कतारको दोहामा रहेकी छिन्। आफ्नो गाउँघर बन पाखालाई सम्झदै कामबाट थोरै फुर्सद हुँदा गीत संगीतका माध्यमबाट आफूलाई विदेशी भूमीमा चिनाउने प्रयास गर्दै गरेकी गुनाले फिनालेमा स्थान बनाउनका लागि इन्डियन आइडल जितेका प्रसान्त तामाङले गोरखा पल्टन चलचित्रका लागि गाएको ‘ज्यान सुहाउन लाको चोली तानसेन बजारैको बोलक’ गीत प्रस्तुत गरिन्।

 

बेलायतमा जन्मिएकी युक्ती विमली नेपाली भाषामा पोख्त नभए पनि सानै उमेरदेखि नेपाली संगीतमा भने रुची राख्थिन्। वेलायतमा हुने विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुमा प्रस्तुती दिएको युक्ति विमलीले ग्रान्ड फिनालेमा स्थान बनाउन शिशिर योगीको ‘ छाडेर काम सारा एक मानिस खोजी रहेछु’ बोलको चर्चित राष्ट्रिय गीत प्रस्तुत गरेकी थिइन्।

 

रोल्पामा जन्मिएका सुवासचन्द्र पुन मगर परम्परागत सोरठी नाचका गुरु आफ्नै हजुरबुवा र बाबा भएका कारण गीट्ट संगीतमा यिनको रुची बढेको हो। उनी अहिले रोजगारीको शिलसिलामा पोर्चुगलमा रहेका मगरले फिनालेमा स्थान बनाउनका लागि रोहित थापाले गाएको ‘ घर त मेरो यहाँ होइन’ बोलको गीत प्रस्तुत गरेका थिए।

 

समग्रमा १० जनाले प्रस्तुती दिएकोमा फिनालेका लागि ५ जना छनोट भएका हुन्।  उत्कृष्ट १० बाट ग्रान्ड फिनाले मा पुग्दा ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गरेको थियो। तर अब ग्रान्ड फिनालेमा ५ जनाबीच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ पहिलो उपाधि जित्ने छ।

 

उपाधि जित्नले नगद रु  ५ लाख प्राप्त गर्दा फस्ट रनरअपले रु २ लाख  र सेकेन्ड रनरअपले रु १ लाख नगद पुरस्कारका  साथै ट्रफि र प्रमाणपत्र पाउने एनआरएन द सिङ्गरका प्रमुख संयोजक गोविन्द प्रसाद गौतमले जानकारी दिए।  ग्रान्ड फिनाले फिनाले घटस्थापना का दिन असोज २८ गते (अक्टोबर १५) मा काठमाडौंमा आयोजना गरिने कार्यक्रमका उपसंयोजक प्रवीण गुरुङले बताए।

 

“प्रवासमा रहेका उत्कृष्ट प्रतिभा पहिचान गरी नेपाली भाषा, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा दर्शकहरुले देखाउनु भएको स्नेहबाट हामी अत्यन्तै उत्साहित भएका छौं,” गैरआवासीय नेपाली संघ (एनआरएनए आइसीसी) का सचिव तथा संघको संस्कृति तथा सम्पदा समितिका अध्यक्ष एवं एनआरएन द सिंङगरका प्रमुख संयोजक गौतमले भने। झन्डै २ वर्ष पहिलेदेखि तयारी गरिएको यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न उनले सबैलाई आग्रह पनि गरे।

 

एनआरएनएबाट उत्कृष्ट सिंगरको खोजीका लागि जज (निर्णायक) को रुपमा वरिष्ठ गायक तथा सर्जक शम्भु राई (नेपाल),  शर्मिला बर्देवा (युके) र रुपककुमार शाही समुदा (अस्ट्रिया) रहेका छन्।

खल्ती एपबाट कसरी भोट गर्ने ?

 

आफुले मन पराएका उत्कृष्ट प्रतिभा छनोट गर्न सबै भन्दा पहिले खल्ति एप डाउनलोड गर्नु पर्ने छ।  उक्त एप खोले पछि इन्टरटेनमेन्ट सेक्सनमा ‘एनआरएन द सिंगर’ देखिने छ। त्यसपछि आफुलाई  मन पर्ने प्रतिस्पर्धीलाई ट्याप गरेर भोट गर्न सकिने छ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।