काठमाडौं,०१ चेत्र ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा २५०, भारतीय सुन्तला ९०, आभोकाडो ५०० र स्ट्रबेरी भुईऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६०, भारतीय ठूले गोलभेडा ७०, अदुवा २००, रातो आलु ३५ र रातो भारतिय आलु ३७ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २५, लौका ६०, कागती २२०, लोकल काक्रो १००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १८० रुपैयाँ प्रतिकेजी कायम भएको छ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा २५, हाइब्रीड सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ७० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ र टाटे सिमी ९० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ४० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग र रायोको साग ३० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग र जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज ३० र पुदीना २५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २२०, हरियो लसुन ९० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ६०, भिण्डी १०० र हरियो धनिया ५० रुपैयाँ पाइने समितले जनाएको छ।
उता, ताजा छडी माछा २६० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ।न्युज कारखाना
ललितपुर,१ चैत ।
ललितपुरको नागबहालमा आउने आजबाट उपत्यकाका ३२ महाविहार (बहाःबही) हरुका एक सय २५ देवीदेवताको दर्शन एवम पूजा गर्न पाइने भएको छ ।
चापाँगाउँ, बुंङ्गमती, कीर्तिपुर, काठमाडौं र भक्तपुर महाविहारमा रहेका देवीदेवताको एक स्थान प्रदर्शनी गर्ने र दर्शन गर्न पाउने यस्तो अवसर यो पाँच वर्षपछि जुरेको हो । पाँच वर्षको एकचोटी फागुण शुक्ल तृतीया र चौथीको दिन सम्यक महादान पर्व हुने परम्परा छ । सोही अनुरुप सम्यक महादान पर्वको मुख्य दिन चैत्र १ गते विहीबार बिहान ४ बजेदेखि दिउँसो १ बजेसम्म देवीदेवताको दर्शन तथा पुजाआजा गराउने कार्यक्रम रहेको हिरण्यवर्ण महाविहार सुधार समितिका अध्यक्ष पुष्पराज बज्राचार्यले जानकारी दिए ।
दिउँसो नागबहाल परिसरमा रहेको ढुङ्गेधारामा धाः बाजा र बाँसुरी बाजाको प्रदर्शन गरिने जनाइएको छ । समितिका अध्यक्ष बज्राचार्यका अनुसार दिउँसो २ बजेदेखि ४ बजेसम्म भूमीशोधन पुजाका साथै दानप्रदान गर्ने कार्यक्रम तय गरिएको छ । सोही दिन बज्रयानी बौद्ध परम्परा अनुसार मौलिक पोशाकमा सजिएका हिरण्यवर्ण महाविहारका बीस स्थविर आजु (जेष्ठ) आजुलाई पनि दान दिने गरिन्छ । सम्यक दानमा सहभागी भएका गृहस्थ भिक्षुहरू बज्राचार्य तथा शाक्यहरूलाई समेत धानचामल, लड्डु पुरी र दक्षिणा दान दिइन्छ । यस दान कार्यमा सम्यक दानका दाताका परिवारका सदस्य, आफन्तलगायतले आ–आफ्नो गच्छेअनुसार दान दिने प्रचलन रहँदै आएको छ ।

यसरी दान प्रदान गर्दा पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । यही दान दिने कार्य नै सम्यक पर्वको मुख्य सार रहेको अध्ययेता लोकरत्न शाक्यले बताए । ‘सम्यक महादान लिच्छिविकालीन अमूर्त संस्कृति हो । सम्यक महादान पर्वले दानको महत्व, बौद्ध संस्कृति र संस्कारको राम्ररी अभिव्यक्त गरेको छ’ अध्येयता शाक्यले भने । सम्यक महादान पर्वको अघिल्लो दिन अर्थात् फागुण ३० गते बुधबार राति भने बढी रौनकता छाउने गर्दछ । राति १० बजेदेखि १ बजेसम्ममा विभिन्न स्थानबाट भक्तजनहरुको लावालस्कर, परम्परागत धा बाजाका साथ देवीदेवताहरुलाई खटमा राखेर, बोकेर नागबहाल पु¥याउने गरिन्छ । ‘बढी भीडभाड हुने, धाः बाजाको गुञ्जनसंगै पुरै माहौलले छोप्ने भनेको यही बेला हो’ अध्यक्ष बज्राचार्यले भने ।
नागबहालमा देवी देवता पुरयाउनु अघि विभिन्न स्थानबाट ल्याइएका देवीदेवतालाई मंगलबजारस्थित पाटन दरबार क्षेत्रमा राखिनेछ । त्यसपछि टंगलस्थित जेष्ठवर्ण महाविहार टंगःबहाः गएर बसुन्धरादेवीलाई रथमा राखेर जात्रा गरिसकेपछि पाटन दरबार क्षेत्रमा राखिएको देवीदेवतालाई नागबहालमा क्रमबद्ध रुपमा देवीदेवताको विराजमान गराइने परम्परा रहेको छ । त्यस्तै सम्यक दान प्रदान गर्नका लागि राखिने देवताको लर्कोमा अतीत बुद्धका रुपमा गौतम बुद्ध भन्दा अघिका दिपंकर बुद्ध र वर्तमान बुद्धका रुपमा गौतम बुद्ध र भविष्यको बुद्धका रुपमा मैत्री बुद्धको भव्य सुर्वणमय मूर्ति पनि राखिन्छ।सम्यक दानमा खीर,लाखामरी गरी मीठाईका विविध परिकार सामग्री,रोटी फलफूल दान दिने गरिन्छ ।

यसका लागि पम्परागत रुपमा गर्नुपर्ने विधि र प्रक्रियाहरु फागुण १ गतेदेखि शुरु भएको समितिका प्रचारप्रसार संयोजक विश्वन्तर शाक्यले जानकारी दिए । सम्यक महादान पर्व अगावै विभिन्न धार्मिक विधि र परम्पराहरु गर्नुपर्ने पनि प्रचारप्रसार संयोजक शाक्यको कथन रहेको छ । संयोजक शाक्यका अनुसार सो पर्वमा देवीदेवतालाई चढाउन रोटी पकाउने काम धार्मिक विधिपूर्वक फागुण २ गतेदेखि शुरु गरिएको थियो।फागुण ३ गते नागबहालमा प्रतिस्थापित बासुकी र चम्पक नागराजको प्राण प्रतिष्ठा निकालिएको थियो। फागुण २४ गते योसि द्यः ठड्याउने तथा हलिपताका फहराइएको थियो भने फागुण २८ गते सम्यक महादानमा भाग लिन परम्परा अनुसार विभिन्न महाविहारमा गएर निमन्त्रणा गरिने छ ।सो पर्वका लागि पुजा व्यवस्थापन, अतिथि सत्कार, शान्ति सुरक्षा, आर्थिक, गरी १० वटा समिति गठन गरिएको छ।
ललितपुरमा ७ सय ७३ वर्षअघि ठकुरीवंशका राजा भाष्करदेवको पालादेखि सम्यक महादान पर्व निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ।वि.सं १८६१ सम्म वर्षेनी भइरहेको सम्यक महादान पर्व त्यसपछि पाँच वर्षमा एकचोटी सञ्चालन हुँदै आएको छ।अब हुन लागिएको ५४ औं सम्यक महादान पर्व हो।
यस्तो छ किवदन्ती
सम्यक महादान पर्व भगवान गौतम बुद्धको उपदेश दानपारमिता र त्यसको महत्वसंग सम्बन्धित रहेको छ । यसपर्वको शुरुआतसंग एउटा किवदन्ती चर्चामा रहेको छ । ठकुरी वंशका राजा भाष्करदेवका एक जना सन्तान समयक्रममा निकै गरिब बन्दै गएको थियो।भरिभारो नाम गरेका ती व्यक्तिले आफ्नो गरिबी लुकाउन गोबर जम्मा गर्न थाले। भलिभारो गरिब भएपनि बुद्ध धर्मप्रति निकै आस्था र समर्पित थिए।धर्मप्रति आस्थाले गर्दा उनले जम्मा गर्न थालेको गोबर पछि सुनमा परिणत भएको थियो । त्यस धन दान दिन दीपंकर बुद्धका प्रतिमाहरु, आर्यतारा आदि देवदेवीहरु र चैलक, श्रामणेर, ब्रम्हचर्य भिक्षु, शाक्य भिक्षु, वज्राचार्य इत्यादिहरुलाई आमन्त्रण गरी सम्यक महादान पर्व आयोजना गरेको थियो।धर्मकै कारणले सम्पति प्राप्त भएको विश्वास गर्दै सम्यक महादान पर्व आयोजना गरिएको जनविश्वास रहेको छ। हिरण्यवर्ण महाविहारको बंशावलीमा उल्लेखित यस किवदन्तीको प्रमाणिक आधार नभए पनि यसले आफूमा भएको दान सम्पति दान दिने उद्देश्यले सम्यक महादान चलाईएको भने सन्देश दिन खोजेको बौद्ध विद्धानहरुको कथन रहेको छ ।न्युज कारखाना
काठमाडौं, १ चैत ।
होटल तथा खाजा घर सञ्चालन गरी नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल काठमाडौं बस्ने ३८ वर्षीय हिरन राई छन्।
उनलाई बुधबार मानव बेचबिखन तथा ओसारपसार ब्युरोले पक्राउ गरेको हो।
ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार गोकर्णेश्वर नगरपालिका-५ शिवचोकमा उनले कालिञ्चोक स्टाफ होटल तथा खाजा घर सञ्चालन गरिरहेका थिए।
फुयाँलका अनुसार उक्त होटलबाट दुई जना नाबालिकालाई उद्धार गरिएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार राईले आर्थिक अवस्था कमजोर भएका नाबालिकालाई होटलमा ल्याउने गरेका थिए।
ग्रामीण भेगका ती नाबालिका कम पढेलेखेका हुन्थे। उनले खाजा घरमा ल्याएर सरसफाइको काम लगाइदिने, आकर्षक तलब-सुविधा दिन्छु भन्ने गरेका थिए।
‘सुरूमा सफाइको काममै लगाउँथे, पछि फकाएर खाजा घरमा आएका ग्राहकसँग मादक पदार्थ सेवन गराउँथे,’ ब्युरो प्रवक्ता फुयाँल भन्छन्, ‘ग्राहकहरूसँगै खाने-बस्ने र बढी बिल उठाउने काममा लगाउने गरेको खुलेको छ।’
राईले खाजा घरमा आउने ग्राहकलाई बालिकाहरू रोज्न लगाउँथे। रोजेकी बालिकालाई शारीरिक सम्पर्क राख्न दबाब दिन्थे।
‘बालिकाहरूलाई खाजा घरमा कोठा निर्माण गरी सोही स्थानमा र ग्राहकको माग तथा परिस्थिति अनुसार पहिल्यै रकम लिई अन्यत्र समेत बेश्यावृत्तिका लागि पठाई आर्थिक लाभ खाजा घर सञ्चालकले लिने गरेको खुल्न आएको छ,’ फुयाँलले भने।
यस घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजतलास तथा थप अनुसन्धान भइरहेको उनले बताए। राईलाई अदालतबाट हिरासतमा राख्न अनुमति लिई अनुसन्धान थालिएको छ।न्युज कारखाना
काठमाडौं, ३० फागुन ।
नेकपा एमालेका सांसद तथा सचिव योगेश भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म वर्तमान सरकार कायम रहने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कायम रहने बताएका हुन्।
अहिलेको संसदको लागि यो सरकार बनाउनु अन्तिम विकल्प भएको उनको दाबी छ। अब अर्को सरकार बनाउन एमालेले कोसिस नगर्ने उनले प्रस्ट पारे। एमालेको समर्थनमा आज १५७ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मतमा मत दिएका छन्।
सरकारले मुलुकमा व्याप्त समस्याको सकारात्मक निकास दिने विश्वास व्यक्त गरे। सरकारले जनतामा भएको निराशालाई आशामा बदल्ने उनको भनाइ छ। ‘अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित गर्ने। अर्थतन्त्रलाई सन्तुलित बनाउने। र, अन्य कतिपय सामाजिक, आर्थिक समस्यालाई हल गर्ने र संसद्बाट आवश्यक विधेयक संसद्मा टेबुल गर्ने, त्यसलाई पास गर्ने र विशेष गरी संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन लगायतका संघीयताका कार्यान्वयनसँग सम्बन्धित ऐनहरूलाई छिटोभन्दा छिटो संसद्बाट अगाडी बढाउने हो। शान्ति प्रक्रियालाई तार्किक निष्कर्षबाट टुंग्याउने,’ उनले भने।न्युज कारखाना
भरतपुर,३० फागुन ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १३ राईनोकुञ्जमा वन डढेलो नियन्त्रण तथा अग्नि प्रशिक्षण कार्यक्रम गरिएकाे छ ।
राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान चितवनको आयोजना र वडा नम्बर १३ को आर्थिक सहयोगमा तालिम प्रदान गरिएको हो । बेलशहर मध्यवर्ती सामुदायिक वनको परिसरमा प्रशिक्षण प्रदान गरिएको थियो । समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा सञ्जाल मृगकुन्ज रत्ननगरका अध्यक्ष वसन्त रानाले वन डढेलोका कारण डँढेलेबाट हुने विपत र यसको समाधान बाहेक प्रशिक्षण र फिल्ड अभ्यास गराएका थिए ।
चितवन राष्ट्रिय निकुञ्जका रेन्जर सुमन भट्टराईले वनमा आगजनी गर्ने लाई हुने कानुनी कारबाही हुने बताए । कार्यक्रममा महादेव रानाभाटको संयोजकत्वमा १७ जनाको अग्नि नियन्त्रण दस्ता गठन गरिएको छ। कार्यक्रममा भरतपुर १३ का वडा सदस्य चेत बहादुर तामाङले दस्तालाई अग्नि नियन्त्रण मा सशक्त लाग्न अनुरोध गरे ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगर वडा नम्बर तेह्र का वडाध्यक्ष प्रकाश दवाडीले वन सम्पदा संरक्षणले मानवहित गर्ने भएकोले सबै सचेत भएर लाग्न जरुरी रहेको बताए ।
लुकीछिपी वन, नदी र वन्यजन्तुलाई असर पार्ने कुनै गतिविधि नगर्न सबैलाई अनुरोध गरे । अध्यक्ष दवाडीले भने, ‘आगोले मानिसले आधुनिक विकास गर्न सक्यो तर यसको दुरुपयोगले विनाश पनि हुन्छ । वनमा जाँदा चुरोट सल्काउने जथाभाबी फाल्ने कार्य गर्न भएन,वन मा घाँस को पालुवाको लोभले डँढेलो लगाउन हुँदैन,केही गरी आगो बस्तीमा पुगे धन जनको ठुलो क्षति पनि हुने हुँदा सबै ले गम्भीर हुनुपर्छ। वन सिमसार र वन्यजन्तुलाई संरक्षण गर्न सक्रिय पर्या पर्यटन को माध्यमबाट आय आर्जन गर्न सकिने हुँदा वन जोगाउन आवश्यक छ ।’
कार्यक्रममा उपलब्ध अग्नि नियन्त्रणका सबै सामाग्री प्रमुख अतिथि दवाडीले बेलशहर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष शोभाखर अधिकारीलाई हस्तान्तरण गरे ।
कार्यक्रमका संयोजक महादेव रानाभाटको सभापतित्वमा सम्पन्न गरिएको थियो। राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान का संस्थापक अपिल घिमिरेले सहयोगी संस्था र सहभागी सबैलाई धन्यवाद व्यक्त गरे । याे वर्ष को वार्षिक क्यालेन्डर अनुसार को दोस्रो कार्यक्रम सम्पन्न गरिएको उनले बताए ।
न्युज कारखाना
काठमाडौं, ३० फागुन ।
नेपाल सांस्कृतिक महासंघले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। नेपाली कांग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक संघको बुधबार बसेको बैठकले सल्लाहकारमा शाहसहित साहित्यकार डा. ध्रुवचन्द्र गौतम, चित्रकार किरण मानन्धर, साहित्यकार महेश प्रसाईं र गायक कृष्णसुधा ढुंगाना मनोनयन गरेको हो।
बैठकले महासंघका सभापति तीर्थबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति पनि गठन गरेको छ। अर्जुन गिरीको संयोजकत्वमा अनुशासन समिति, गंगाबहादुर पाण्डेको संयोजकत्वमा न्यायिक समिति र शर्मिला बोहराको संयोजकत्वमा विधागत संघसंस्था समन्वय विभाग गठन गरिएको छ।
प्रभातमणि ओझाको संयोजकत्वमा आर्थिक विभाग, विपिन किरणको संयोजकत्वमा कार्यक्रम संयोजन विभाग, कुवेर गिरीको संयोजकत्वमा प्रचारप्रसार विभाग, कुमार बस्नेतको संयोजकत्वमा विदेश विभाग र कृष्णगोपाल केसी संयोजकत्वमा महासंघ विधान संशोधन महासमिति गठन गरेको हो।न्युज कारखाना
भक्तपुर, ३० फागुन ।
एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिताका विजयीहरु पुरस्कृत भएका छन् । एशियन पेन्ट्स नेपाल क्यालिडोस्कोप इन्ट्रा कलेज राउण्ड अफ एशियन पेन्ट्स आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन स्टुडेन्ट्स अवार्ड २०२३ को ११ औं संस्करणका प्रतिस्पर्धीहरमध्ये उत्कृष्ट पाँंचजना विद्यार्थीहरु पुरस्कृत भएका हुन् ।

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा आर्किटेक्चर विषयका चौथो वर्षका विद्यार्थीहरूबीच सम्पन्न भएको प्रतियोगितामा १६ जना विद्यार्थी सहभागी रहेका थिए ।

सहभागीमध्ये उत्कृष्ट ५ विद्यार्थीलाई पुरस्कृत गरिएको हो । विद्यार्थीहरूलाई उत्प्रेरित गर्न उत्कृष्ट पुरस्कारहरूको व्यवस्था थियो ।

प्रतियोगितामा सुश्री पूजा राई सर्वात्कृष्ट विद्यार्थी हुन सफल भइन् । उनले नगद रु ५० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।

प्रतियोगितामा फस्ट रनर अप सुश्री स्पर्श शर्मा भइन् र उनले नगद रु २५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।

सेकेण्ड रनर अपमा सुश्री अंशु प्रजापति विजेता भई नगद रु १५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । सान्त्वना पुरस्कार सुश्री सलिना थापा र सुवास चन्दले पाए । उनीहरुले नगद रु पाँंचपाँच हजार र प्रमाणपत्र प्राप्त गरे ।

आर्किटेक्चर विभाग नेक सन् २०१२ देखि एसियन पेन्ट्स नेपालसँग आबद्ध छ । यहाँं सन् २००८ ब्याचको लागि पहिलो एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगिता आयोजना गरिएको थियो ।

नेपाल इन्जिनियरिङ कलेज राउण्ड डिजाइन प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट पाँच विजेताले राष्ट्रियस्तरको एशियन पेन्ट्स आर्किटेक्चर डिजाइन प्रतियोगितामा अन्य विभिन्न कलेजका उत्कृष्ट ५ आर्किटेक्चर विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।

यस प्रतियोगिताको विजेताले भविष्यको हिरोको उपाधि प्राप्त गर्ने जनाइएको छ । शीर्ष १५ विजेताहरूले एशियन पेन्ट्स नेपालको वार्षिक क्यालेन्डर मार्फत आर्किटेक्चर उद्योगमा वास्तुकलामा एक्सपोजर पाउने छन् ।न्युज कारखाना

काठमाडौं, ३० फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
मत विभाजनद्वारा सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । मत विभाजनको परिणामअनुसार बैठकमा २६८ जना सांसद उपस्थित रहेका र प्रस्ताव पक्षमा १५७, विपक्षमा ११० र मत दिन्नँ भन्ने तटस्थमा १ मत खसेको सभामुख घिमिरेले जानकारी दिए ।
प्रस्तावको पक्षमा खसेको १५७ मत बहुमत पुगेकाले प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको सभामुख घिमिरेले बैठकमा जानकारी गराए । न्युज कारखाना
काठमाडौं, ३० फागुन ।
सत्तारुढ गठबन्धनमा आवद्ध एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पुरानो तोडेर नयाँ गठबन्धन बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य अनैतिक भएको टिप्पणी गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वास गर्नै नसकिने व्यक्ति रहेको भन्दै नयाँ गठबन्धन बनाउने कार्य अनैतिक भएको बताएका हुन् ।
‘फागुन १८ गते मैले प्रधानमन्त्रीसँग भेट गरेको छु । त्यही दिन व्यक्तिगत कामको सिलसिलामा जापान गएँ । दुई दिनपछि हेर्छु यहाँ त गठबन्धन बदलेको छ । चारवटा दलको हस्ताक्षर भएको छ । हामी एकीकृत समाजवादीको तर्फबाट यो देशमा पार्टीभित्रको व्यक्तिवादको विरुद्ध विद्रोह गरेर आफैँले बनाएको पार्टी तोडेर, विष पिएर तपाईंहरूलाई साथ दिएका थियौँ । तपाईंले बाढीले बगाएर ल्याएको मुढो छोडेझैँ छोडेर हिँड्नुभयो । योभन्दा अनैतिकता के हुन्छ ?,’ बैठकमा उनले प्रश्न गरे । न्युज कारखाना
काठमाडौं, ३० फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति तथा उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेबारे अभिव्यक्ति दिएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आफूलाई विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको आरोपलाई खण्डन गर्ने क्रममा गृहमन्त्री लामिछाने इंगित अभिव्यक्ति दिएका हुन् ।
बैठकमा बोल्ने क्रममा सांसदहरूले ‘उथलपुथल भनेको सहकारी ठगीको आरोप लागेकालाई गृहमन्त्री बनाउने हो ?’ भनेर गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डल आफूतिर आए प्रधानमन्त्री बनाउन तयार हुने र नआए भ्रष्टाचारी भन्दै कारबाही गर्नुपर्ने यो कस्तो डबल स्ट्यान्ड भनेर प्रश्न गरे ।
‘तीनैलाई प्रधानमन्त्री बनाउन हिँडेको देखिरहेका छौँ । आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी, कारबाही गर्नुपर्छ, यस्तो डबल स्ट्यान्ड,’ प्रधानमन्त्री प्रचण्डले भने । न्युज कारखाना