२०८३ कार्तिक २
२०८३ कार्तिक २

काठमाडौँ । जारी फिफा विश्वकपको समूह ‘जी’ को सुरुवाती खेलमा दुवै टोली बराबरीमा रोकिएपछि न्युजिल्यान्ड र इजिप्ट अब क्यानडामा हुने महत्वपूर्ण खेलमा आमनेसामने हुँदै छन् । यो खेल समूह चरणको समीकरण बदल्न सक्ने निर्णायक मानिएको छ ।

यो खेल नेपाली समय अनुसार आज बिहान ६: ४५ बजेदेखि शुरु हुदैछ ।

इजिप्टले सुरुवाती खेलमा बेल्जियमसँग बराबरी खेलेको थियो भने न्युजिल्यान्ड पनि इरानसँग दुई पटक अग्रता जोगाउन नसक्दा खेल बराबरीमै सकिएको थियो । यससँगै समूह ‘जी’ का चारै टोली एक-एक अंकमा छन् ।

न्युजिल्यान्डका लागि इलिजाह जस्ट उत्कृष्ट लयमा देखिएका छन् । उनले इरानविरुद्ध दुई गोल गर्दै विश्वकप खेलमा दुईभन्दा बढी गोल गर्ने पहिलो न्युजिल्यान्ड खेलाडी बनेका छन् । पहिले अर्ध-व्यवसायिक टोली मानिने न्युजिल्यान्ड पछिल्ला वर्षमा प्रतिस्पर्धी टोलीका रूपमा उदाएको छ । उनीहरूले पछिल्ला चार विश्वकप खेल लगातार बराबरी खेलेका छन्।

टोलीका कप्तान क्रिस उडले इरानविरुद्ध जस्टका दुवै गोलमा अवसर सिर्जना गरेका थिए । उनले आक्रामक दबाब पनि बनाउँदै टोलीलाई अग्रसर गराएका थिए ।

यता इजिप्टका लागि इतिहास अझै कठिन छ । सन् १९३४ देखि विश्वकप खेल्न थाले पनि उनीहरू अझै पहिलो जितको खोजीमा छन् ।

बेल्जियमविरुद्धको खेलमा इमाम आशुरले १९ मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, जुन इजिप्टको विश्वकपमा सबैभन्दा छिटो गोल हो। तर त्यो अग्रता टिकेन ।

पहिलो पटक विश्वकपमा इजिप्ट हाफ टाइमसम्म अग्रतामा भए पनि मोहम्मद हानीको आफ्नै गोलले बेल्जियमलाई खेलमा फर्कायो र इजिप्टको जितको अवसर गुम्यो ।

अफ्रिकाको सात पटकको च्याम्पियन इजिप्टका लागि अहिले पनि सबैभन्दा ठूलो आशा मोहम्मद सलाह हुन् । उनले छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए र बेल्जियमविरुद्ध पनि गोलमा भूमिका खेलेका थिए ।

१८ वर्षका युवा फरवार्ड हम्जा अब्देलकरीमले पनि डेब्यु गर्दै इजिप्टको नयाँ पुस्ताको संकेत दिएका छन् । तर प्रशिक्षक होसम हसनले फेरि सलाहसँग ओमर मरमौसलाई आक्रमणमा उतार्ने सम्भावना छ ।

न्युजिल्यान्ड र इजिप्टबीचको भेट अहिलेसम्म विश्वकपमा भएको छैन । न्युजिल्यान्डले कुनै पनि अफ्रिकी टोलीसँग विश्वकपमा खेलेको यो पहिलो अवसर हुनेछ । तर समग्रमा इजिप्ट न्युजिल्यान्डविरुद्ध अपराजित छ । उनीहरूले पहिले दुई जित र एक बराबरी निकालेका छन्। पछिल्लो भेट भने दुई वर्षअघि काइरोमा भएको मैत्रीपूर्ण खेलमा इजिप्टले १-० ले जितेको थियो ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । बेल्जियम र इरान दुवैले आफ्नो पहिलो विश्वकप खेलमा पछाडि परेको स्थितिबाट बराबरी निकाल्दै संघर्षपूर्ण अंक बाँडेपछि, आज राति हुने खेल उनीहरूका लागि निकै निर्णायक बन्ने भएको छ । समूह जी अन्तर्गत हुने यो खेलमा पराजय स्वीकार गर्न दुवै टोलीलाई कुनै पनि हालतमा सहज छैन । लस एन्जल्समा हुने यो खेल नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि शुरु हुने छ ।

यो दुवै राष्ट्रबीचको पहिलो भेट हुनेछ, जसले खेललाई थप रोचक बनाएको छ ।

बेल्जियमलाई समूहबाट अगाडि बढ्ने बलियो दाबेदार मानिए पनि प्रशिक्षक रुडी गार्सिया आफ्नो टोलीको पहिलो खेलको प्रदर्शनबाट सन्तुष्ट छैनन् । इजिप्टविरुद्धको खेलमा बेल्जियमले इमान अशुरको सुन्दर गोलपछि पछि परेको थियो । खेलमा लामो समयसम्म आक्रामकता नदेखिएको बेल्जियमले दोस्रो हाफपछि मात्र गति लिएको थियो । रोमेलु लुकाकुको मैदान प्रवेशपछि खेलको स्वर बदलिएको थियो । उनको दबाबका कारण मोहम्मद हानीले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा सकिएको थियो । यो बराबरीसँगै बेल्जियमको विश्वकपमा लगातार जितविहीन यात्रा तीन खेल पुगेको छ । यसअघि उनीहरू पछिल्ला चारमध्ये तीन खेलमा जित निकाल्न सकेका छैनन् । यद्यपि तथ्यांक विश्लेषण गर्ने समूहले बेल्जियमलाई समूहबाट अगाडि बढ्ने करिब ९० प्रतिशतभन्दा बढी सम्भावना देखाएको छ । इरानको सम्भावना भने करिब ४७ प्रतिशत आसपास छ ।

इरानले पनि आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको थियो । इरानका लागि रमिन रेजाइयान र मोहम्मद मोहेबीले गोल गरेका थिए । इरानले विश्वकपको पहिलो खेलमा हार टार्न सकेको यो मात्र तेस्रो पटक हो । यसअघि सन् २०१४ मा नाइजेरियासँग गोलरहित बराबरी र सन् २०१८ मा मोरक्कोविरुद्ध १-० को जित निकालेको थियो ।

तर इरानले विश्वकपमा लगातार पहिलो दुई खेलबाट अंक जोड्ने इतिहास भने बनाउन सकेको छैन । यदि यस खेलमा पनि हार टार्न सके उनीहरूका लागि नयाँ उपलब्धि हुनेछ ।

इरानले शीर्ष १५ वरियताभित्रका टोलीसँग विश्वकपमा खेलेका अधिकांश खेलमा कठिन परिणाम भोगेको छ । तीमध्ये केही मात्र खेलमा उनीहरूले सकारात्मक नतिजा निकालेका छन्, जसमा सन् १९९८ मा अमेरिकाविरुद्धको जित र सन् २०१८ मा पोर्चुगलसँगको बराबरी प्रमुख हुन् ।

यता बेल्जियमको मुख्य समस्या गोल गर्न नसक्नु हो । पछिल्ला खेलहरूमा धेरै प्रयास गरे पनि उनीहरूले अपेक्षित रूपमा गोल गर्न सकेका छैनन् ।

टिमका युवा खेलाडी जेरेमी डोकुले इजिप्टविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ड्रिब्लिङ, बल नियन्त्रण र विपक्षीलाई दबाबमा राख्ने काममा प्रभाव देखाएका थिए । अब बेल्जियमको मुख्य आशा भने लुकाकुको गोल फर्ममा फर्किने क्षमतामा हुनेछ । उनी लामो समयदेखि विश्वकपमा गोल गर्न सकेका छैनन् ।

इरानका लागि भने अनुभवी खेलाडी रमिन रेजाइयान निर्णायक बन्न सक्छन् । अघिल्लो खेलमा उनले गोल र असिस्ट दुवै गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । यो खेल दुवै टोलीका लागि समूह चरणको भविष्य निर्धारण गर्ने महत्वपूर्ण भिडन्त हुने देखिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ई मा आज राति जर्मनी र आइभरी कोस्ट आमनेसामने हुँदैछन् ।  टोरन्टोमा हुने यो खेल नेपाली समय अनुसार राति १: ४५ बजेदेखि शुरु हुदैछ ।

दुवै टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिन लागेका हुन् । चार पटकका विश्व विजेता जर्मनीले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको नयाँ टोली कुरासाओलाई ७-१ ले पराजित गरेको थियो । यो जितसँगै उनीहरूले पछिल्ला १० खेलमा लगातार जित निकाल्ने यात्रा कायम राखेका छन्, जुन सन् १९७९ देखि १९८० पछि देखिएको सबैभन्दा लामो जितको सिरिज हो ।

उता आइभरी कोस्टले भने निकै संघर्षपूर्ण जित हात पारेको थियो । इक्वेडरसँगको खेलमा उनीहरूले अन्तिम समयमा अमाद डियालोको गोलमार्फत १-० को जित निकाल्दै तीन अंक जोडेका थिए ।

जर्मनीका लागि फेलिक्स नेमेचा, निको श्लोटरबेक, जमाल मुसियाला, नाथानियल ब्राउन र डेनिस उन्डाभले पहिलो खेलमा गोल गरेका थिए भने काइ हाभर्ट्सले दुई गोल थपेका थिए । हाभर्ट्स पछिल्ला चार ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार गोल गर्ने एक मात्र जर्मन खेलाडी बनेका छन् । यस अवधिमा उनको गोल संख्या आठ पुगेको छ, जुन उनका सहकर्मीभन्दा दोब्बर हो ।

तर रक्षापंक्तिमा जर्मनी केही कमजोर देखिएको छ । उनीहरूले पछिल्ला सात विश्वकप खेलमा क्लिन सिट राख्न सकेका छैनन् । साथै सन् २००६ पछि पहिलो दुई खेल लगातार जित्ने अवसर पनि उनीहरूलाई यो पटक आएको छ ।

आइभरी कोस्टका लागि भने यो अवसर ऐतिहासिक हुन सक्छ । उनीहरू पहिलो पटक एउटै विश्वकप संस्करणमा लगातार दुई जित निकाल्ने लक्ष्यमा छन् । साथै पहिलो पटक लगातार क्लिन सिट राख्ने प्रयासमा पनि छन् ।

इक्वेडरविरुद्धको खेलमा उनीहरूले १२ प्रहार सामना गरे पनि गोल हुन दिएनन् । अन्तिम समयमा अमाद डियालोले विल्फ्रेड सिङ्गोको पासलाई गोलमा परिणत गर्दै जित दिलाएका थिए । यो गोल विश्वकपमा विकल्प खेलाडीबाट आएको सबैभन्दा ढिलो निर्णायक गोलमध्ये एक मानिएको छ ।

यदि अमादले जर्मनीविरुद्ध सुरुवाती टोलीमा स्थान पाए भने उनी लगातार दुई खेलमा गोल गर्ने आइभरी कोस्टका दोस्रो खेलाडी बन्न सक्नेछन् । दुवै टोली यसअघि केवल एक पटक मात्र आमनेसामने भएका छन् । सन् २००९ मा भएको मैत्रीपूर्ण खेल २–२ को बराबरीमा सकिएको थियो ।

इतिहास हेर्दा जर्मनीले अफ्रिकी टोलीविरुद्ध खेलेका विश्वकप खेलमध्ये धेरैमा राम्रो नतिजा निकालेको छ भने आइभरी कोस्टले युरोपेली टोलीविरुद्ध सीमित सफलता मात्र पाएको छ ।

अब दुवै टोलीका लागि यो खेल समूह चरणको निर्णायक मोड बन्न सक्ने अपेक्षा गरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलमा छिटो बाहिरिने खतरामा रहेका टर्की र पाराग्वेबीच आज बिहान निर्णायक भिडन्त हुने भएको छ । सान फ्रान्सिस्कोमा हुने यो खेल नेपाली समय अनुसार  आज बिहान ८: ४५ बजेदेखि शुरु हुदैछ ।

पाराग्वे पहिलो खेलमै आयोजक अमेरिकासँग ४-१ गोल अन्तरले ले पराजित भएको थियो । टर्की भने अस्ट्रेलियासँग २-० होलले हारेको थियो । टर्कीले विश्वकप इतिहासमा दोस्रो पटक मात्रै गोल गर्न नसकेको अवस्था हो, जसले उनीहरूको आक्रमण कमजोर देखिएको छ ।

यद्यपि टर्कीले खेलमा आक्रामक प्रयास धेरै गरेको थियो । प्रशिक्षक भिन्चेन्जो मोन्टेलाको टोलीले मध्य भागबाट खेल तोड्ने धेरै पासहरू खेलेको थियो र ३० प्रहार पनि गरेको थियो । तीमध्ये आठ प्रहार रियल माद्रिदका आर्दा गुलेरबाट आएका थिए । तर अस्ट्रेलियाका नवोदित गोलरक्षक प्याट्रिक बिचले आठ उत्कृष्ट बचाउ गर्दै टर्कीलाई रोकिदिएको थियो । टर्की यसअघि स्पेनसँग ६-० ले पराजित भएपछि लगातार आठ खेल अपराजित रहेको थियो । तर अब लगातार दुई हारको जोखिम पनि देखिएको छ, जुन अवस्था उनीहरूले २०२४ मार्चपछि भोगेका छैनन् ।

अर्कोतर्फ पाराग्वेले पछिल्ला चार विश्वकप खेलमा जित निकाल्न सकेको छैन । अमेरिका विरुद्धको खेलमा उनीहरू पहिलो हाफमै ३–० ले पछि परेका थिए । उनीहरूको रक्षात्मक खेल पनि कमजोर देखियो, जसमा धेरै गल्तीहरू भए । प्रशिक्षक गुस्ताभो अल्फारोको टोलीले दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना र ब्राजिल जस्ता ठूला टोलीलाई हराउँदै राम्रो छाप छोडेको थियो । तर विश्वकपमा उनीहरूको प्रदर्शन निराशाजनक बन्दै गएको छ ।

पाराग्वेका युवा खेलाडी जुलियो एनसिसो यस खेलमा महत्वपूर्ण मानिन्छन् । उनले आफ्नो देशका लागि सबैभन्दा कम उमेरमा विश्वकप योगदान गर्ने खेलाडीमध्ये नाम लेखाइसकेका छन् । उनीसँगै मिगेल अल्मिरोन र एन्टोनियो सानाब्रिया पनि आक्रमणमा जिम्मेवारीमा रहनेछन् ।

टर्की भने कप्तान हाकान चालनोग्लुको नेतृत्वमा धैर्यपूर्वक खेल नियन्त्रण गर्ने शैलीमा देखिन्छ । फेर्दी कादिओग्लु टर्कीको बायाँ भागमा मुख्य खेलाडी बनेका छन्, जसले अष्ट्रेलिया विरुद्ध धेरै अवसर सिर्जना गरेका थिए । यो खेलले दुई फरक शैली आमनेसामने ल्याउनेछ । टर्की बल नियन्त्रण र योजनाबद्ध खेलमा विश्वास गर्छ भने पाराग्वे छिटो आक्रमण र सीधा खेलमा भर पर्छ ।

टर्की र पाराग्वे पहिलो पटक विश्वकपमा आमनेसामने हुँदैछन् । यसअघि सन् १९९५ मा चिलीमा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुदैछन् ।

आज पहिलो सेमिफाइनलमा नेपालले बंगलादेशको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार अपराहन्न सवा ४ बजेदेखि हुदैछ ।

समुह ए बाट नेपालले दुवै खेल जितेर समुह बिजेताको रुपमा सेमिफाइनलमा पुगेको छ भने बंगलादेश समुह बी मा २ खेलमा एक जित र एक हारसहित उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै आजै दोस्रो सेमिफाइनलमा भारत र भुटान पनि खेल्दैछन् । यो खेल राति सवा ८ बजेदेखि शुरु हुने छ ।

समुह ए बाट भुटान २ खेलमा एक जित र एक हारसहित उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो भने समुह बी बाट भारतले दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै प्रतियोगिताको फाइनल खेल आगामी शुक्रबार हुने तालिका रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । गुजरात टाइटन्स जारी आइपिएलको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो क्वालिफायर खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

राजस्थानले दिएको २१५ रनको लक्ष्य पछाएको गुजरातले १८.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । गुजरातको जितमा कप्तान शुभमन गिलले १०४ रनको शतकीय पारी खेलेका थिए भने साइ सुदर्शनले ५८ रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउदै २१४ रन बनाएको थियो । राजस्थानका लागि वैभव सुर्यबंशीले ९६ रन बनाए भने रविन्द्र जडेजाले ४५ र डोनोभान फरेराले ३८ रन बनाएका थिए ।

यो जितपछि गुजरात फाइनलमा पुगेको छ र अब उपाधिका लागि रोयल च्यालेन्जर्स बैंगलुरुसँग आइतबार खेल्ने छ । त्यस्तै हारसँगै राजस्थान रोयल्स भने बाहिरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जारी काभा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुदैछ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने फाइनल खेलमा इरान र काजकिस्तान खेल्दैछन् । फाइनल खेल अपराहन्न साढे ४ बजेदेखि शुरु हुने छ ।

इरानले नेपाललाई र काजकिस्तानले सेमिफाइनलमा भारतलाई पराजित गरेर फाइनलमा पुगेका हुन् । त्यस्तै तेस्रो स्थानका लागि आजै नेपाल र भारतबीच खेल हुदैछ । यो खेल दिउसो १ बजे हुनेछ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जारी आइपिएलको दोस्रो क्वालिफायरमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल आज साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । दोस्रो क्वालिफायरको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टिमको यस सिजनको आइपिएल यात्रा समाप्त हुने छ ।

लिग चरणमा राजस्थानले अहमदाबादमा भएको अवे खेल जितेको थियो भने गुजरातले जयपुरमा त्यसको बदला लिएको थियो ।

गुजरात पहिलो क्वालिफायरमा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरुसँग ९२ रनले पराजित हुँदै दोस्रो क्वालिफायर खेल्न लागेको हो । उता राजस्थानले इलिमिनेटरमा सनराइजर्स हैदराबादलाई ४७ रनले हराउँदै दोस्रो क्वालिफायरमा पुगेको हो ।

यस सिजन नयाँ चण्डीगढमा भएका पाँच खेलमा पहिलो इनिङ्सको औसत योग २२० रन रहेको छ । २२३ रनको लक्ष्य समेत सहज रूपमा पछ्याइएको छ । तर नकआउट चरणको दबाबपूर्ण खेल भएकाले टस जितेर पहिले ब्याटिङ गर्नु फाइदाजनक हुन सक्ने अनुमान गरिएको छ ।

गुजरात टाइटन्स टोलीमा साई सुदर्शन, शुभमन गिल (कप्तान), जोस बटलर, वासिङ्टन सुन्दर, निशान्त सिन्धु, जेसन होल्डर, राशिद खान, अर्शद खान, कागिसो रबाडा, मोहम्मद सिराज र प्रसिद्ध कृष्णा रहेका छन् । राहुल तेवतियालाई प्रभाव खेलाडीका रूपमा राखिएको छ । त्यस्तै राजस्थान रोयल्स टोलीमा यशस्वी जैसवाल, वैभव सूर्यवंशी, ध्रुव जुरेल, रियान पराग (कप्तान), डोनोभान फरेरा, दासुन शनाका, रविन्द्र जडेजा, जोफ्रा आर्चर, नान्द्रे बर्गर, बृजेश शर्मा र यशराज पुञ्जा रहेका छन् ।

खेलअघि दुवै टोली उपाधिनजिक पुग्ने लक्ष्यसहित मैदानमा उत्रिने भएकाले प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । राजस्थान रोयल्स जारी आइपिएलको दोस्रो क्वालिफायरमा पुगेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले सनराइजर्स हैदरावादलाई ४७ रनले पराजित गरेर दोस्रो क्वालिफायरमा पुगेको हो ।

राजस्थान रोयल्सले दिएको २४४ रनको लक्ष्य पछाएको सनराइजर्सले १९.२ ओभरमा अल आउट हुदै १९६ रन बनाएको थियो ।

सनराइजर्सका लागि नितिश रेड्डीले ३८, सलिल अरोराले ३५ र इशान किशनले ३३ र शिभांग कुमारले २७ रन बनाएका थिए । त्यस्तै राजस्थानका बलर जोफ्रा आर्चरले ३ विकेट लिएका थिए भने नान्द्रे बर्गर, सुशान्त मिश्रा र रविन्द्र जडेजाले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउदै २४३ रन बनाएको थियो । राजस्थानका लागि वैभव सुर्यबंशीले २९ बलमा ९७ रन बनाएका थिए । उनले आफ्नो इनिंगमा १२ छक्का र ५ चौका प्रहार गरेका थिए । त्यस्तै ध्रुव जुरेलले २१ बलमा ५० रन बनाएका थिए भने यशश्वी जैसवालले २९ र कप्तान रियान परागले २६ रन बनाएका थिए ।

अब राजस्थानले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग शुक्रबार खेल्ने छ । यस खेलको विजेताले आइतबार हुने फाइनल खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग खेल्ने छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । टेस्ट क्रिकेटमा चाँडै ठूलो परिवर्तन देखिन सक्ने संकेत देखिएको छ । अब दिनको समयमा खेलिने टेस्ट खेलमा पनि गुलाबी बल प्रयोग गर्ने विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले छलफल सुरु गरेको छ।

हालसम्म गुलाबी बल केवल दिन-रात टेस्ट खेलमा मात्र प्रयोग हुँदै आएको थियो । तर हालै जिम्बाब्वेको हरारेमा बसेको आईसीसी क्रिकेट समितिको बैठकमा दिनको टेस्ट खेलमा रातो बलको सट्टा गुलाबी बल प्रयोग गर्न सकिने प्रस्तावमाथि छलफल भएको बताइएको छ ।

प्रतिवेदनअनुसार खराब प्रकाश वा वर्षाका बेला रातो बल स्पष्ट नदेखिने समस्या खेलाडी र अम्पायरले झेल्दै आएका छन् । यस्तो अवस्थामा गुलाबी बल बढी स्पष्ट देखिने भएकाले यसको प्रयोग विस्तार गर्ने सुझाव आएको हो ।

आईसीसी बैठक मे २१ मा बसेको थियो भने अब फेरी मे ३०- ३१ मा अहमदावादमा सकिएको थियो । त्यसपछि आगामी अक्टोबर १ देखि नयाँ नियम लागू हुन सक्ने चर्चा सुरु भएको छ । यद्यपि अन्तिम निर्णय भने आईसीसी बोर्डको स्वीकृतिपछि मात्रै हुने बताइएको छ ।

क्रिकेट समितिले गुलाबी बल प्रयोग गर्नुअघि दुवै टोलीको सहमति आवश्यक हुने धारणा राखेको छ । रातो र गुलाबी बलको व्यवहार फरक हुने भएकाले त्यसले ब्याटिङ र बलिङ दुवैमा असर पार्न सक्ने बताइएको छ । यदि यो नियम लागू भएमा टेस्ट क्रिकेटको परम्परागत स्वरूपमै ठूलो परिवर्तन आउने विश्वास गरिएको छ। साथै खराब प्रकाशका कारण खेल रोक्नुपर्ने समस्या पनि कम हुन सक्ने अपेक्षा गरिएको छ।एभरेष्ट न्यूज एजेन्सी

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।