काठमाडौँ । पशुपतिनाथको मुख्य मन्दिरमा गैर हिन्दु प्रवेश गरेको घटनामा जोडिएका इटहरीकी प्रियङ्का परियार र ओसीम अन्सारी पक्राउ परेका छन् ।
पशुपति क्षेत्र विकास कोषले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई इटहरीबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।
केही दिनअघि परियार र अन्सारी पशुपतिनाथ मन्दिर पुगेका थिए। उनीहरूले मन्दिर परिसरमा भिडियोसमेत बनाएका थिए। सामाजिक सञ्जालमा उक्त भिडियो सार्वजनिक भएपछि उनीहरूको विषयमा चर्चा भएको थियो ।
परियार र अन्सारी प्रेम विवाह गरेका दम्पती हुन् । परियारले आफूले श्रीमानलाई आफ्नो धार्मिक आस्थाको केन्द्र पशुपतिनाथ दर्शन गराउन लगेको बताएकी छन् । श्रीमानलाई सँगै मन्दिर लैजानुलाई अन्य उद्देश्यबाट नबुझ्न उनले आग्रह गरेकी छन्। अन्सारी इटहरी–८ का स्थायी बासिन्दा हुन् ।
यस घटनामा पशुपति क्षेत्र विकास कोषले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कोषले पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वारबाट एक जोडी प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि छानबिन समिति गठन गरेको छ । कोषका अनुसार २०८३ असोज १९ गते ‘प्रिन्स केसी’ नामको टिकटक खाताबाट आफूलाई मुस्लिम जनाउने एक जोडी पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वारबाट प्रवेश गरेको भिडियो सार्वजनिक भएको थियो । हिन्दु धर्मावलम्बीलाई मात्र प्रवेश अनुमति रहेको व्यवस्थाबारे जानकारी हुँदाहुँदै यस्तो घटना भएको भन्दै कोषले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
घटनामा संलग्न व्यक्ति तथा भिडियो सार्वजनिक गर्ने व्यक्तिमाथि आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गर्ने निर्णय गरिएको कोषले जनाएको छ । सुरक्षा व्यवस्थामा कहाँ कमजोरी भयो भन्ने पत्ता लगाउन रामशोभित नायकको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा गंगासागर बानियाँ, संगीता कुमारी राम, केदारमान भण्डारी र रुपा शाही बास्तोला सदस्य रहेका छन्। समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
कोषले पशुपति मन्दिर परिसरको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने निर्णयसमेत गरेको छ । घटनाका क्रममा कोषका कर्मचारी, सुरक्षाकर्मी तथा नेपाल सरकारका विभिन्न सुरक्षा निकायबाट खटिएका सुरक्षाकर्मीबाट कमजोरी भएको भन्दै कोषले क्षमायाचना गर्ने निर्णय गरेको छ ।
कोषले पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक गरिमा कायम राख्दै दर्शनार्थी, भक्तजन, तीर्थयात्री, पर्यटक तथा आमनागरिकको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाएको छ । साथै धार्मिक आस्था, आपसी सहिष्णुता र सद्भाव कायम राख्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । देशका ७४ जिल्लामा स्क्रब टाइफस संक्रमण देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रोगको निगरानी, परीक्षण, उपचार र जनचेतनामूलक गतिविधिलाई तीव्र बनाएको छ ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२६ को जनवरीदेखि हालसम्म ७४ जिल्लाबाट १० हजार २१० जना संक्रमित भएका छन् । तीमध्ये ७ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।
संक्रमणको अवस्था हेर्दै महाशाखाले असारदेखि सातै प्रदेशका सबै जिल्लाका साथै केही स्थानीय तहका प्रमुख र प्रदेश सचिवसँग स्क्रब टाइफस रोकथाम तथा नियन्त्रणबारे छलफल गर्दै आएको जनाएको छ । ईडब्लुएआरएस र सोर्मास लगायतका रोग निगरानी प्रणालीमार्फत संक्रमणको अवस्था र प्रवृत्तिको नियमित अनुगमन भइरहेको मन्त्रालयले जनाएको छ ।
संक्रमण बढी देखिएका क्षेत्रमा परीक्षण तथा उपचारका लागि आवश्यक सामग्री र औषधि उपलब्ध गराउने कामसमेत भइरहेको छ ।
स्क्रब टाइफस परीक्षणका लागि आवश्यक द्रुत परीक्षण किट प्रदेश तथा स्थानीय तहमा पठाइएको छ भने स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा ५ हजार परीक्षण किट बफर स्टकमा राखिएको छ । आवश्यक एन्टिबायोटिकलगायत औषधिसमेत उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । रोगको समयमै पहिचान र प्रभावकारी उपचारका लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा समेत मन्त्रालयले जोड दिएको छ । असार महिनामा मात्रै करिब १ हजार चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्क्रब टाइफसको निदान तथा उपचारसम्बन्धी तालिम र अभिमुखीकरण दिइएको छ ।
यससँगै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमार्फत रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी स्वास्थ्य शिक्षा सामग्री प्रसारण भइरहेको छ। संक्रमण बढी देखिएका क्षेत्रमा निगरानी, परीक्षण, उपचारको पहुँच विस्तार, स्वास्थ्यकर्मी परिचालन र स्थानीय तहसँगको समन्वयलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस बर्षको बडादसैँसँग सम्बन्धित विभिन्न साइत तथा धार्मिक विधिको समय सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको विवरणअनुसार घटस्थापनादेखि विजयादशमी, टीका, देवी विसर्जनलगायतका प्रमुख कार्यका लागि साइत निर्धारण गरिएको छ ।
समितिका अनुसार असोज २५ गते शनिबार नवरात्रारम्भ तथा घटस्थापना हुनेछ । घटस्थापनाका लागि बिहान ११: ४७ बजेको समय निर्धारण गरिएको छ । यस दिनबाट बडादसैँको मुख्य धार्मिक अनुष्ठान सुरु हुनेछ । त्यसैगरी असोज २६ गते सोमबार झण्डा फेर्ने कार्यक्रम रहेको छ । यसका लागि पश्चिम मोहडा निर्धारण गरिएको छ । असोज २९ गते बुधबार श्री पचलीभैरव यात्रा हुनेछ ।
असोज ३१ गते शनिबार फूलपाती भित्र्याउने तथा श्री तुलजाभवानी यात्रासहितका धार्मिक विधि हुनेछन् । सो दिन श्री तुलजाभवानी यात्राका लागि बिहान ७: ३० बजे र स्थिरासनका लागि बिहान १०: ३२ बजेको समय निर्धारण गरिएको छ । त्यसपछि कार्तिक १ गते आइतबार महाअष्टमी तथा कालरात्रि मनाइनेछ । त्यसपछि कार्तिक ३ गते मंगलबार महानवमी तथा विजयादशमीका प्रमुख धार्मिक विधि सम्पन्न हुनेछन् ।
विजयादशमीका दिन देवी विसर्जन बिहान ८: ४८ बजे गर्ने साइत तोकिएको छ । त्यसपछि टीका लगाउने तथा टीका लगाइ माग्ने व्यक्ति पश्चिम फर्किने समय बिहान १०: २६ बजे निर्धारण गरिएको छ। सोही दिन श्री तुलजाभवानी यात्रा, स्थिरासन तथा खड्गयात्रासमेत हुने समितिको विवरणमा उल्लेख छ। श्री तुलजाभवानी यात्राका लागि बिहान १०: ४१ बजे र स्थिरासनका लागि दिउँसो ११” ५२ बजेको समय तोकिएको छ।
समितिले कार्तिक ८ गते आइतबार अखिलबलीपूर्ति तथा कोजाग्रतपूजा हुने जनाएको छ । यससँगै २०८३ सालको बडादसैँसँग सम्बन्धित मुख्य धार्मिक विधि तथा कार्यक्रमको क्रम पूरा हुनेछ ।
समितिले सार्वजनिक गरेको सूचनामा सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता नपर्ने उल्लेख गरिएको छ । बडादसैँका विभिन्न धार्मिक तथा सांस्कृतिक विधि परम्पराअनुसार सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले समितिले सम्बन्धित साइत तथा समय सार्वजनिक गरेको समितिले जानकारी दिएको छ एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जानकारी दिएको छ ।
हाल देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै ठाँउ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाँउमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भईरहेको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भ-भागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भू-भागको थोरै स्थानमा र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा तथा मधेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग ,हावाहुरी र असिना सहित मध्यमवर्षाको सम्भावना छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै, राति कोशी प्रदेश सबै भू-भाग तथा देशको हिमाली र पहाडी भू-भाग साधारणतया बादल लाग्ने छ। देशको तराई भु-भागमा आंशिक बादल लाग्नेछ। देशको तराई भू-भागमा बिहानीपख हुस्सु/कुहिरो पनि समभावना छ । देशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ । कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भु-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना छ । देशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ एभरेष्ट न्यूज एजेन्सी,
आजको राशिफल बिस २०८३ असोज २१ गते बुधबार ईस २०२६ अक्टोबर ७ नेपाल सम्बत ११४६ ञलागा द्वादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष द्वादशी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, शुभ योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ५९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ४३ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंको सक्रियता सही दिशामा प्रयोग भयो भने छोटो समयमै महत्वपूर्ण काम अघि बढाउन सकिनेछ। कार्यक्षेत्रमा अचानक आएको जिम्मेवारीले सुरुमा दबाब दिए पनि त्यसले क्षमता देखाउने अवसर दिनेछ। वरिष्ठ व्यक्तिसँग आफ्ना योजना राख्दा स्पष्ट तथ्य प्रस्तुत गर्नु लाभदायक हुनेछ। व्यापारमा नयाँ ग्राहक वा कारोबारको सम्भावना देखिए पनि निर्णयअघि आवश्यक जानकारी जुटाउनुहोस्। आर्थिक रूपमा आम्दानी ठीक रहे पनि यात्रासँग सम्बन्धित खर्च आउन सक्छ। परिवारमा व्यस्तताबीच पनि आफ्ना मानिसका लागि समय निकाल्नु आवश्यक छ। प्रेममा हतारमा प्रतिक्रिया दिनुभन्दा कुरा पूरा सुनेर जवाफ दिनु राम्रो हुनेछ। मानसिक चञ्चलता घटाउन दिनचर्या व्यवस्थित राख्नुहोस् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शुक्रको अनुकूल प्रभावले आज व्यवहारिक विषयलाई सहज ढंगले मिलाउन सहयोग गर्नेछ। काममा लामो समयदेखि प्रतीक्षा गरिएको निर्णय अघि बढ्न सक्छ। सहकर्मी वा साझेदारसँग जिम्मेवारी स्पष्ट पार्दा भविष्यको विवादबाट बच्न सकिनेछ। व्यापारमा ग्राहकको रुचि बुझेर सेवा वा योजनामा सानो परिवर्तन गर्दा फाइदा हुन सक्छ। आर्थिक पक्षमा बचतको नयाँ योजना सुरु गर्ने सोच बन्नेछ। परिवारमा घरायसी कामका कारण व्यस्तता बढे पनि वातावरण सकारात्मक रहनेछ। प्रेम सम्बन्धमा साथीसँग भविष्यका योजनाबारे गम्भीर कुराकानी हुन सक्छ। घाँटी वा पाचनसँग सम्बन्धित सामान्य समस्या भए खानपानमा ध्यान दिनुहोस् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बुध तपाईंको राशिसँग सम्बन्धित ग्रह भएकाले आजको दिन विशेष सक्रिय रहनेछ। बोल्ने, लेख्ने, सम्झाउने वा नयाँ विचार प्रस्तुत गर्ने काममा सफलता मिल्न सक्छ। कार्यक्षेत्रमा एउटै विषयलाई फरक दृष्टिकोणबाट हेर्दा समाधान भेटिनेछ। अध्ययन वा नयाँ सीप सिक्नेका लागि पनि समय अनुकूल छ। व्यापारमा फोन, सन्देश वा भेटघाटबाट आएको एउटा सम्पर्क भविष्यमा उपयोगी बन्न सक्छ। आर्थिक कारोबार गर्दा रकमभन्दा पनि सर्त र कागजातमा ध्यान दिनुहोस्। साथीभाइसँगको संवादले नयाँ अवसरको संकेत दिन सक्छ। प्रेममा रमाइलो कुराकानीले सम्बन्धमा ताजापन ल्याउनेछ। धेरै सोच्ने बानीले मानसिक थकान नबढाओस् भन्नेमा सचेत रहनुहोस् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चन्द्रमाको प्रभावले आज आफ्नो मनको कुरा स्पष्ट बुझ्न केही समय आवश्यक पर्न सक्छ। कार्यक्षेत्रमा अरूको दबाबमा निर्णय लिनुभन्दा आफ्नै प्राथमिकता तय गर्नु राम्रो हुनेछ। घरबाट आएको कुनै सल्लाहले कामसम्बन्धी महत्वपूर्ण निर्णयमा सहयोग गर्न सक्छ। व्यापारमा ग्राहकसँगको सम्बन्ध मजबुत बनाउन व्यक्तिगत ध्यान दिनु लाभदायक हुनेछ। आर्थिक रूपमा घरपरिवारसँग जोडिएको खर्च आउन सक्छ, तर आवश्यक खर्च व्यवस्थापन गर्न सकिनेछ। परिवारमा भावनात्मक विषयमा खुला कुराकानी हुनेछ। प्रेममा पुरानो असमझदारी समाधान गर्ने राम्रो अवसर मिल्न सक्छ। पर्याप्त पानी, आराम र नियमित भोजनमा ध्यान दिनु स्वास्थ्यका लागि उपयोगी हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सूर्यको प्रभावले आत्मविश्वास कायम रहनेछ, तर बुधबारको ग्रह प्रभावले सुन्ने क्षमता र संवादको शैलीलाई बढी महत्व दिनेछ। काममा आफ्नो निर्णय थोपर्नुभन्दा सम्बन्धित व्यक्तिको धारणा बुझ्दा सहयोग बढ्नेछ। नेतृत्वदायी जिम्मेवारीमा रहेकाले आज कूटनीतिक व्यवहारबाट राम्रो परिणाम निकाल्न सक्नेछन्। व्यापारमा प्रचार, ग्राहक सम्पर्क वा नयाँ योजनाबारे छलफलका लागि दिन उपयोगी छ। आर्थिक रूपमा आकर्षक प्रस्ताव आउन सक्छ, तर नाफाको सम्भावनासँगै जोखिम पनि मूल्याङ्कन गर्नुहोस्। परिवारमा तपाईंको व्यस्तताबारे गुनासो आउन सक्छ। प्रेममा ध्यान र समय दिनु नै आजको सबैभन्दा राम्रो उपाय हुनेछ। शरीरमा थकान भए कामको बीचमा विश्राम लिनुहोस् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज बुधको प्रभावले तपाईंलाई सूक्ष्म विषयमा केन्द्रित रहन सहयोग गर्नेछ। कागजी प्रक्रिया, हिसाबकिताब, अनुसन्धान वा योजना निर्माणका काम राम्रोसँग पूरा गर्न सकिनेछ। कार्यालयमा अरूले छुटाएको सानो विवरण पहिचान गरेर समस्या समाधान गर्न सक्नुहुन्छ। व्यापारमा खर्चको अनुगमन गर्दा अनावश्यक चुहावट रोक्न सकिनेछ। आर्थिक रूपमा सानो बचत पनि भविष्यमा उपयोगी हुने संकेत छ। परिवारमा व्यवहारिक जिम्मेवारी पूरा गर्दा सम्मान बढ्नेछ। प्रेममा धेरै विश्लेषण गर्नुभन्दा सहज रूपमा भावना व्यक्त गर्नु राम्रो हुनेछ। लामो समय बसिरहनुपर्ने काम छ भने शरीर चलायमान राख्नुहोस् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सामाजिक सम्पर्क तपाईंको लागि उपयोगी बन्न सक्छ। शुक्र र बुधको प्रभावले सम्बन्धलाई संवादमार्फत अवसरमा बदल्ने क्षमता बढाउनेछ। काममा सहकर्मी वा साझेदारसँग मिलेर अघि बढ्दा एक्लै गरेको प्रयासभन्दा राम्रो परिणाम आउन सक्छ। व्यापारमा नयाँ सम्झौता वा सहकार्यको प्रस्ताव आउन सक्छ, तर सबै सर्त राम्ररी बुझेर मात्र सहमति गर्नुहोस्। आर्थिक रूपमा आयका नयाँ बाटा खोज्ने सोच जाग्नेछ। परिवारमा कसैको व्यक्तिगत समस्यामा तपाईं मध्यस्थ बन्नुपर्नेछ। प्रेम सम्बन्धमा खुला संवादले भविष्यका योजनाबारे स्पष्टता ल्याउनेछ। मानसिक तनाव कम गर्न सामाजिक भेटघाट वा मनपर्ने सिर्जनात्मक काम उपयोगी हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मंगलको प्रभावले निर्णय लिने क्षमता बलियो बनाउनेछ, तर बुधको दिन भएकाले आवेगभन्दा सूचना र प्रमाणलाई प्राथमिकता दिनुहोस्। काममा प्रतिस्पर्धी वातावरण भए पनि तपाईंको दृढताले आफ्नो पक्ष बलियो बनाउन सकिनेछ। व्यापारमा बजारको अवस्थाबारे नयाँ जानकारी प्राप्त हुन सक्छ, जसलाई भविष्यको रणनीति बनाउन प्रयोग गर्नुहोस्। आर्थिक रूपमा जोखिमपूर्ण कारोबारमा आकर्षित नहुनु राम्रो हुन्छ। परिवारमा तपाईंको स्पष्ट बोलीले विवाद निम्त्याउन सक्ने भएकाले शब्द छनोटमा ध्यान दिनुहोस्। प्रेममा शंका उत्पन्न भए अनुमान गर्नुभन्दा सोधेर स्पष्ट हुनु राम्रो हुनेछ। शारीरिक रूपमा ऊर्जा राम्रो रहनेछ, तर अत्यधिक श्रम नगर्नुहोस् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बृहस्पतिको प्रभावले आज ज्ञान र अनुभवबाट सही निर्णय लिन सहयोग गर्नेछ। अध्ययन, प्रशिक्षण, यात्रा वा नयाँ विषयसँग जोडिएको काम अघि बढाउन सकिनेछ। कार्यक्षेत्रमा वरिष्ठ वा अनुभवी व्यक्तिसँग भएको कुराकानीले भविष्यको बाटो स्पष्ट गर्न सक्छ। व्यापारमा टाढाका ग्राहक वा बाहिरी क्षेत्रसँग जोडिएको अवसर आउन सक्छ। आर्थिक रूपमा दीर्घकालीन लगानी वा बचतबारे सोच्न सकिने दिन हो, तर हतारको निर्णय नगर्नुहोस्। परिवारमा खुसीको वातावरण रहनेछ। प्रेममा एकअर्काको व्यक्तिगत स्वतन्त्रतालाई सम्मान गर्दा सम्बन्ध अझ बलियो बन्नेछ। मानसिक उत्साह राम्रो रहे पनि शरीरलाई आवश्यक आराम दिनुहोस् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शनिको प्रभावले आज अनुशासन र धैर्यलाई प्राथमिकता दिनुपर्नेछ। कामको बोझ बढी देखिए पनि व्यवस्थित रूपमा अघि बढ्दा दिनको अन्त्यसम्म महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ। अधुरा कामलाई टुंग्याउन आज विशेष ध्यान दिनु राम्रो हुन्छ। व्यापारमा पुराना प्रक्रियाको समीक्षा गर्दा खर्च घटाउने उपाय भेटिन सक्छ। आर्थिक रूपमा नियमित दायित्व पूरा गर्ने विषयलाई प्राथमिकता दिनुहोस्। परिवारमा भविष्यसँग सम्बन्धित गम्भीर कुराकानी हुन सक्छ। प्रेम सम्बन्धमा धेरै अपेक्षा राख्नुभन्दा आफ्नो जिम्मेवारी पूरा गरेर विश्वास कायम गर्नु राम्रो हुनेछ। कम्मर वा जोर्नीमा असहजता भए अत्यधिक शारीरिक दबाब नदिनुहोस् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज नयाँ सोच र पुरानो अनुभवलाई जोडेर काम गर्ने दिन हो। कार्यक्षेत्रमा नयाँ तरिका अपनाउने प्रस्तावले ध्यान खिच्न सक्छ। आफूलाई मात्र सही ठान्नुभन्दा अरूको सुझाव समेट्दा योजनामा सुधार आउनेछ। व्यापारमा नयाँ सम्पर्कबाट सम्भावित कारोबारको संकेत मिल्न सक्छ। आर्थिक रूपमा प्रविधि, सञ्चार वा व्यक्तिगत रुचिसँग जोडिएको खर्च हुन सक्छ। परिवार वा साथीभाइको सहयोगले कुनै अलमल हट्नेछ। प्रेममा अचानक आएको सन्देश वा भेटले खुसी बढाउन सक्छ। धेरै समय एकै ठाउँमा बस्दा शरीरमा जकडन आउन सक्ने भएकाले हल्का गतिविधि गर्नु राम्रो हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
चन्द्रमा र बृहस्पतिको प्रभावले आज अन्तर्ज्ञानसँगै भावनात्मक परिपक्वता बढाउनेछ। अरूले दिएको सल्लाहमध्ये कुन कुरा उपयोगी हो भन्ने छुट्याउने क्षमता रहनेछ। काममा सिर्जनात्मक दृष्टिकोण अपनाउँदा सामान्य समस्याको असामान्य समाधान भेटिन सक्छ। व्यापारमा विश्वासमा आधारित सम्बन्धले लाभ दिलाउनेछ, तर आर्थिक कारोबारमा लिखित प्रमाण राख्नु उचित हुन्छ। खर्च बढ्ने सम्भावना भए पनि प्राथमिकता मिलाएर व्यवस्थापन गर्न सकिनेछ। परिवारमा आत्मीय कुराकानीले मन प्रसन्न बनाउनेछ। प्रेम सम्बन्धमा संवेदनशील विषय उठे पनि शान्त भएर कुरा गर्दा नजिकपन अझ बढ्नेछ। मानसिक शान्तिका लागि प्रकृतिमा समय बिताउनु वा ध्यान गर्नु लाभदायक हुनेछ एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अमेरिकाको वासिङ्टन डीसीमा विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गासँग उच्चस्तरीय भेटवार्ता गरेका छन् ।
विश्व बैंकको मुख्यालयमा भएको भेटमा नेपालमा आएको विनाशकारी बाढीबाट भएको क्षति, उद्धारपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि विश्व बैंकको निरन्तर सहयोगबारे छलफल भएको छ ।
अर्थमन्त्री वाग्लेले नेपाल र विश्व बैंकबीच लामो समयदेखि कायम सहकार्य, ऐक्यबद्धता र सहयोगका लागि विश्व बैंकप्रति आभार व्यक्त गरेका थिए। उनले बाढीबाट भएको ठूलो क्षतिको अवस्थालाई ध्यानमा राख्दै नेपालको पुनःस्थापना, पुनर्वास र पुनर्निर्माणका प्रयासमा विश्व बैंकको निरन्तर सहयोग आवश्यक रहेको बताएका थिए।
भेटका क्रममा विश्व बैंक अध्यक्ष बाङ्गाले बाढीबाट प्रभावित नेपाल सरकार तथा परिवारप्रति समवेदना व्यक्त गरेका थिए। उनले बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा विश्व बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
यसअघि अर्थमन्त्री वाग्लेले मिलेनियम च्यालेन्ज कर्पोरेसनका सञ्चालनसम्बन्धी कार्यवाहक उपाध्यक्ष जेसन स्मलसँग पनि भेटवार्ता गरेका थिए । वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासमा भएको भेटमा नेपालमा मिलेनियम चुनौती सम्झौताअन्तर्गत सञ्चालन भइरहेका आयोजनाको कार्यान्वयन अवस्था र निर्धारित समयमा आयोजना सम्पन्न गर्ने विषयमा छलफल भएको थियो ।
मिलेनियम चुनौती कर्पोरेसनसँगको भेटपछि अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगमकी प्रमुख नीतिगत सल्लाहकार क्यारोलिन विकले पनि अर्थमन्त्री वाग्लेसँग भेट गरेकी थिइन्। भेटमा नेपाल–अमेरिका आर्थिक तथा विकास सहकार्यका विषयमा छलफल भएको थियो ।
उक्त छलफलमा नेपालमा लगानी विस्तार तथा निजी क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने सम्भावनाबारे पनि कुराकानी भएको थियो। नेपाल र अमेरिकाबीच आर्थिक तथा विकास क्षेत्रमा सहकार्य बढाउने विषयलाई भेटमा प्राथमिकताका साथ उठाइएको थियो ।
अर्थमन्त्री वाग्लेले वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासको पनि भ्रमण गरेका थिए। कार्यवाहक राजदूत शरदराज आरनले अर्थमन्त्री वाग्लेलाई राजदूतावासका गतिविधि तथा प्रदान गरिँदै आएका सेवाबारे जानकारी गराएका थिए ।
भेटका क्रममा नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप मजबुत बनाउन आर्थिक कूटनीतिलाई प्राथमिकता दिनुपर्नेमा अर्थमन्त्री वाग्लेले जोड दिएका थिए । उनले राजदूतावासका अधिकारीलाई प्रभावकारी तथा उत्तरदायी सेवा प्रवाहलाई निरन्तरता दिँदै आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता दिन आग्रह गरेका थिए ।
भेटवार्तामा कार्यवाहक राजदूत आरन, सहसचिव अमृत लाम्साललगायत नेपाली राजदूतावासका अधिकारीहरूको सहभागिता रहेको थियो ।
विश्व बैंक समूहका अध्यक्ष बाङ्गाको निमन्त्रणामा अर्थमन्त्री वाग्ले अक्टोबर ३ मा वासिङ्टन डीसी पुगेका थिए। उनी अक्टोबर ६ मा काठमाडौं फर्किने कार्यक्रम रहेको नेपाली राजदूतावासले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यसम्पादनप्रतिको जनसमर्थन ऐतिहासिक न्यून विन्दुमै कायम रहेको छ । रोयटर्स तथा इप्सोसले गरेको पछिल्लो सर्वेक्षणअनुसार ट्रम्पको राष्ट्रपतीय कार्यसम्पादनलाई समर्थन गर्ने अमेरिकीको संख्या ३२ प्रतिशतमा सीमित भएको छ ।
छ दिनसम्म गरिएको सर्वेक्षणमा ट्रम्पको पक्षमा देखिएको समर्थन अघिल्लो सेप्टेम्बरको सर्वेक्षणकै स्तरमा रहेको हो । यसअघि पनि ३२ प्रतिशत समर्थन ट्रम्पको राजनीतिक जीवनकै सबैभन्दा न्यून स्तरका रूपमा देखिएको थियो ।
ट्रम्पलाई सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ठूलो संख्यामा साथ दिएका हिस्पानिक मतदातामाझ पनि उनको लोकप्रियता घटेको सर्वेक्षणले देखाएको छ । हिस्पानिक समुदायका केवल २४ प्रतिशतले ट्रम्पको कार्यसम्पादनलाई समर्थन गरेका छन् । यो ट्रम्पका दुई कार्यकालमध्ये सबैभन्दा न्यून समर्थन हो ।
सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले हिस्पानिक मतको करिब आधा हिस्सा प्राप्त गरेका थिए । सन् २०२० मा भने उनले करिब एकतिहाइ हिस्पानिक मत मात्रै पाएका थिए। तर पछिल्ला महिनामा महँगी र जीवनयापनको बढ्दो लागतका कारण उनको समर्थन कमजोर बनेको सर्वेक्षणले देखाएको छ ।
ट्रम्पको कमजोर लोकप्रियताको असर उनको रिपब्लिकन पार्टीमा पनि देखिएको छ । आगामी नोभेम्बर ३ को मध्यावधि निर्वाचनमा ४४ प्रतिशत दर्ता मतदाता डेमोक्र्याटिक पार्टीलाई र ३७ प्रतिशत रिपब्लिकन पार्टीलाई मतदान गर्ने पक्षमा देखिएका छन् । स्वतन्त्र मतदातामाझ पनि डेमोक्र्याटिक पार्टी ३७ प्रतिशत समर्थनसहित अगाडि छ । रिपब्लिकन पार्टीलाई २१ प्रतिशत स्वतन्त्र मतदाताको समर्थन रहेको छ भने २८ प्रतिशत अझै निर्णयमा पुगिसकेका छैनन् । हिस्पानिक दर्ता मतदातामध्ये ५२ प्रतिशतले डेमोक्र्याटिक पार्टीलाई मतदान गर्ने बताएका छन् भने केवल २६ प्रतिशत रिपब्लिकन पार्टीको पक्षमा छन् । ट्रम्प राष्ट्रपति बनेपछि हिस्पानिक मतदातामाझ डेमोक्र्याटिक पार्टीको यो सबैभन्दा ठूलो अग्रता भएको सर्वेक्षणमा उल्लेख छ ।
मध्यावधि निर्वाचनबाट अमेरिकी संसद्का दुवै सदनमा आगामी दुई वर्षका लागि कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण हुनेछ । रिपब्लिकन पार्टीले निर्वाचनमा कमजोर प्रदर्शन गर्न सक्ने आकलन भइरहेका बेला डेमोक्र्याटिक पार्टीले प्रतिनिधिसभामा बहुमत हासिल गर्न सक्ने अनुमान बढेको छ । सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण चुनौतीमा पर्न सक्ने देखिएको छ ।
सर्वेक्षणमा सहभागी अमेरिकीका लागि आगामी निर्वाचनमा मतदान गर्ने निर्णयमा जीवनयापनको बढ्दो खर्च सबैभन्दा प्रमुख मुद्दा बनेको देखिएको छ । इन्धनको मूल्य बढेसँगै उपभोक्ता महँगीसमेत बढेको सर्वेक्षणमा उल्लेख छ ।
यसैबीच ५० वर्ष वा सोभन्दा बढी उमेरका मतदातामाझ रिपब्लिकन पार्टीको पुरानो अग्रता पनि घटेको छ। यस उमेर समूहमा रिपब्लिकन पार्टीलाई ४४ प्रतिशत र डेमोक्र्याटिक पार्टीलाई ४२ प्रतिशत समर्थन रहेको छ । गत डिसेम्बरमा भने रिपब्लिकन पार्टीको अग्रता आठ प्रतिशत विन्दु थियो ।
मध्यावधि निर्वाचनमा ५० वर्षभन्दा माथिका मतदाताको सहभागिता सामान्यतया बढी हुने भएकाले यो समूह दुवै दलका लागि महत्वपूर्ण मानिन्छ । ५० वर्षभन्दा कम उमेरका मतदातामाझ भने डेमोक्र्याटिक पार्टी १८ प्रतिशत विन्दुले अगाडि रहेको छ । रोयटर्स तथा इप्सोसको उक्त सर्वेक्षणमा अमेरिकाभरका ४ हजार ५०६ वयस्क सहभागी थिए । अनलाइनमार्फत गरिएको सर्वेक्षणको त्रुटि सीमा करिब दुई प्रतिशत विन्दु रहेको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । नेपाली काँग्रेसले उपसभापतिमा वरिष्ठसहित पाँच जनाको व्यवस्था गरेपछि आकांक्षीहरु देखिएका छन् ।
अहिलेसम्म वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुसाललाई चुनौती दिएको देखिएको छैन ।
बाँकी तीन सभापतिमा भने डा. मीनेन्द्र रिजालसहित संसदीय दल नेता भीष्मराज आङ्देम्बे, चन्द्र भण्डारी, प्रवक्ता देवराज घिमिरे, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, धनराज गुरूङ, जीवन परियार, ज्ञानेन्द्र कार्की, विनोद चौधरी र गोविन्द भट्टराई लगायतले उम्मेदवारी दिने तयारी गरेका छन् ।
काँग्रेस महाधिवेशन अन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुदैछ भने विहिबार निर्वाचन हुने कार्यतालिका रहेको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । समितले आज बैठक बिहान ११: १५ बजेदेखि शुरु हुने जानकारी दिएको छ ।

आजको बैठकमा प्रस्तावित राजदूत उपर प्राप्त उजुरी खोल्ने र प्रस्तावित राजदूतहरूबाट पेश भएको कार्ययोजना सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ ।
यसअघि असोज ८ गते बसेको बैठकले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूतको सुनुवाई प्रक्रिया अगाडी बढाउने निर्णय गर्दै उजुरी आव्हान गरेको थियो ।
असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ । जसमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरेको छ । त्यस्तै, संयुक्त अधिराज्यका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबराराणा, जापानका लागि जिज्ञनकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनलाई प्रस्तावित राजदूतका रूपमा अघि सारिएको छ । जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल तथा दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठको नाम सिफारिस गरिएको छ । यसैगरी, श्रीलंकाका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गरिएको छ ।

संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित देशबाट सहमति प्राप्त गर्ने प्रक्रिया अघि बढ्ने र त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ ।
विश्व बैंकका अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले अध्यक्ष बाङ्गासँग नेपालको पुनर्निर्माण, आर्थिक सुधार तथा सामाजिक संरक्षणका विषयमा छलफल गरेका हुन् ।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका लागि आवश्यक सहयोगबारे छलफल गरेका थिए । त्यसैगरी, बृहत् आर्थिक सुधार, बीमा तथा सामाजिक संरक्षणका क्षेत्रमा समेत गरी करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनका विषयमा घनीभूत छलफल भएको थियो ।
भेटमा विश्व बैंकका अध्यक्ष बाङ्गाले नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उनले नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि अघि बढाएका कदमको प्रशंसा गर्दै पूर्वाधारमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । साथै, स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न आवश्यक रहेको बताएका थिए ।
अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक तथा अन्तर्राष्ट्रिय वित्त निगमलगायत विकास साझेदारसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिएका थिए । नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो ।
भेटवार्तामा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदसहित विश्व बैंकका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो एभरेष्ट न्यूज एजेन्सी,